बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित
काठमाडौँ— बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित विशेष कार्यक्रममा दुवै पार्टीका नेताहरूबीच औपचारिक सहमति भएको हो।
नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिपत्रको पहिलो बुँदामा चुरे भावर पार्टी नेकपामा पूर्ण रूपमा समाहित हुने उल्लेख छ। यससँगै चुरे भावरका नेता तथा कार्यकर्ताहरू नेकपाको संगठनमा समायोजन हुनेछन्।
सहमतिका अन्य बुँदाहरूमा चुरे क्षेत्रको संरक्षण, तराई–मधेसका जनताको अधिकार र राष्ट्रिय एकताको सवाललाई नेकपाले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउने क्रममा यो समाहित महत्वपूर्ण कदम भएको बताए।
यसअघि पनि नेकपामा विभिन्न साना कम्युनिस्ट समूहहरू समाहित हुँदै आएका छन्। चुरे भावर पार्टीको यो कदमले तराई क्षेत्रमा नेकपाको प्रभाव बढाउने अपेक्षा गरिएको छ।



हरिबोल गजुरेललाई नेपाली कम्युनिष्ट पार्टीले किन गर्यो कारबाही ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पटक पटक पार्टीको निर्णयविरुद्ध काम गरेपछि नेता हरिबोल गजुरेलसहितका नेताहरूमाथि कारबाही गरे । गजुरेलसहितका नेताहरुले अहिले आफूलाई अन्याय भएको भन्दै गुनासो गरिरहेका छन् । पार्टीको आधिकारिक निर्णय र पटक(पटकको निर्देशनलाई बेवास्ता गर्दै बागी उम्मेदवार उठाएको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा गजुरेल कारबाहीमा परेका हुन् । सिन्धुली क्षेत्र नम्बर-२ मा सुरुमा जिल्ला समितिले संयोजक प्रचण्डको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो । त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राजन दाहालले प्रचण्ड आउने भएपछि आफू सिन्धुली १ मा सर्ने बताएका थिए । सोही अनुसार पार्टीले सिन्धुली २ मा प्रचण्ड र सिन्धुली-१ मा राजन दाहालको नाम पहिलो नम्बरमा राखेको थियो । पछि प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बन्ने निश्चित भएपछि प्रदेश समितिले सिन्धुली-२ मा राजन दाहालको नाम पहिलो नम्बरमा राखेको थियो । तर, हरिबोल गजुरेलसहितका नेताहरूको योजनामा महेश्वर दाहाललाई बागी उम्मेदवारका रूपमा खडा गरिएको थियो । गजुरेल आफैँ उक्त क्षेत्रका आकांक्षी रहेका र पार्टीको लाभको पदमा पटक-पटक रहेका नेता हुन् । यसबाहेक, उनको घर-परिवारबाट अन्य पार्टीका उम्मेदवार भएकाले पनि बागी उम्मेदवारी उठाएको आरोप लागेको छ । बागी उम्मेदवारी दर्ता भएपछि संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले गजुरेल, महेश्वर दाहाल र जिल्लास्थित पार्टी नेतृत्वलाई काठमाडौं बोलाएर उम्मेदवारी फिर्ताका लागि लिखित आग्रह गरेका थिए । तर, पटक-पटकको प्रयास र निर्देशनलाई बेवास्ता गर्दै उम्मेदवारी कायम राखेपछि अन्ततः गजुरेलसहितका नेताहरूमाथि कारबाही गरिएको हो । पटक-पटक पार्टी निर्णयविरुद्ध गएको र अनुशासनहीनता देखाएकै कारण गजुरेल कारबाहीमा परेका हुन् । यसअघिको चुनावमा जनाधार नभएको भन्दै जिल्ला पार्टीले नै सिफारिस नगरेपछि उनी उम्मेदवार बन्नबाट बञ्चित भएका थिए ।
नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभएको छ । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताउनुभयो। उहाँले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पार्नुभयो। जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गर्नुभयो । संयोजक प्रचण्डले जेन्जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको बताउँभयो । जेन्जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको उहाँले बताउनुभयो। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताउँनुभयो । मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उहाँले उल्लेख गर्नुभयो। गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित जस्तै भएको संयोजक प्रचण्डले बताउँनुभयो । उम्मेदवारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो। पार्टीले दिएका उम्मेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टिहरू संवादबाट हल गरिएको र नमिलेका एक दुई ठाउँमा अनशासनको कारबाहीमार्फत क्रमशः समाधान हुँदै गएको उल्लेख गर्दै उहाँले निर्वाचनको नतिजा पार्टीकै पक्षमा आउने मिहनेत गर्दा पहिलो दल बन्ने विश्वास व्यक्त गर्नुभयो। बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ। त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचन उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टोली गठन गरिएको पार्टीले जनाएको छ।
नेकपाकाे राष्ट्रिय सभा संसदीय दलकाे नेतामा बेदुराम भुसाल नियुक्त
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ । पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजिनामा दिएर निर्वाचन को उम्मेदवार बनेपछी राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो ।
स्वच्छ र निष्पक्ष निर्वाचन भएमा आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्छ: संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशलाई संकटबाट मुक्त गर्न निष्पक्ष निर्वाचनमार्फत आफ्नो पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो। “निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्न सक्छ,” उहाँले भन्नुभयो, “अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गरौं। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ।” उहाँले पछिल्लो समय एमाले लगायत विभिन्न वामपन्थी दलका नेताहरू नेकपामा प्रवेश गर्ने क्रम तीव्र भएको उल्लेख गर्दै चुनावी अवाञ्छित गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभयो।
विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार सूर्य मान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। कपार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गर्नुभयो। पार्टी प्रवेश गर्ने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यले आफूहरू वैचारिक स्पष्टतासहित राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत अन्य दलबाट प्रस्ताव आए पनि नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्वप्रति प्रतिबद्ध भई गोलबद्ध भएको बताउनुभयो । नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी संयोजक प्रचण्डले देश वर्तमान संकटबाट मुक्त गराउन नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको बताउनुभयो। चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका चलखेल रोक्न सकिए आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने सम्भावना प्रबल रहेको उहाँको भनाइ थियो। “निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्न सक्छ,” प्रचण्डले भन्नुभयो, “कमरेडहरू, अगाडि बढौँ। यो पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिन्छ। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।”
अनुशासन कारबाही: हरिबोल गजुरेलसहित यी ७ नेता नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्कासन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत गतिविधि गरेको आरोपमा सात जना कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिने तथा त्यस्ता उम्मेदवारको प्रस्तावक, समर्थक र प्रचारक बनेका व्यक्तिहरूमाथि पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही गर्दै निष्कासन गरिएको हो।
लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौं । लेखक, नागरिक अगुवा तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा पुगेर उनलाई सह–संयोजक माधवकुमार नेपालसहितका नेताहरूले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । प्रचण्डले पाठकको प्रवेशले खुसी र गर्व महसुस भएको बताए भने नेपालले उनको उपस्थिति सशक्त हुने अपेक्षा व्यक्त गरे । कार्यक्रममा बेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठलगायत नेता उपस्थित थिए । पाठकको नागरिकतामा नाम दीपककुमार पाठक हो । उनका ‘उर्गेनको घोडा’ र ‘मांगेना’ पुस्तक चर्चित छन् । अघिल्लो निर्वाचनमा झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दिँदै केपी शर्मा ओलीविरुद्ध लडेका उनले ३५६ मत प्राप्त गरेका थिए ।
नेकपाप्रति देशभर लहर चलेको छ, जनताले पहिलो पार्टी बनाउन चाहेका छन्: माधवकुमार नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराएर पहिलो पार्टी बनाउन चाहेको दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिस्ट पार्टीलाई । मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ, लहर चलिरहेको छ ।” नेपालले युवा पुस्ता (जेनजी) को चाहना र जनताको भावनाअनुसार काम गर्ने भएकाले नेकपाप्रति जनलहर चलेको जिकिर गर्नुभयो । उहाँले ओखलढुङ्गाले यो लहरको अगुवाइ गर्नुपर्ने बताउँदै यो जिल्लाले हिमाल, पहाड र तराई सबैलाई तरंगित पार्ने र कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
एमालेको विभेदकारी,अहंकारी र निरंकुश प्रवृत्तिविरुद्ध भएको विद्रोहलाई देशभर फैलाउनुपर्छ : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका ओखलढुङ्गा एमालेका जिल्ला अध्यक्ष जीवी खड्कासहित ३८ जना नेता–कार्यकर्तालाई स्वागत गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वमा देखिएको विभेदकारी, अहंकारी र निरंकुश प्रवृत्तिविरुद्ध भएको यो विद्रोहलाई देशभर फैलाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा प्रचण्डले भन्नुभयो, “यो असन्तुष्टि टिकटको मात्र होइन, नेतृत्वमा देखा परेको विभेदकारी र अहंकारी प्रवृत्ति हो । एमालेमा देखा परेको विभेदकारी अहंकार र निरंकुशताको विरुद्ध तपाईंहरूले विद्रोह गर्नुभयो । तपाईंहरूलाई धेरै–धेरै धन्यवाद । यसलाई देशभर फैलाउनुपर्ने जिम्मेवारी आएको छ ।” प्रचण्डले आफू र माधवकुमार नेपालले सुरुदेखि नै चुनावको वातावरण बनाउन प्रयास गरेको स्मरण गर्दै भन्नुभयो, “आज देश चुनावमय भएको छ । देशलाई फेरि अर्को खालको अनिश्चिततातर्फ जान नदिने जिम्मेवारी हामीले लिनुपर्छ ।” उहाँले बामपन्थी, कम्युनिस्ट र समाजवादीहरूको एकतामा जोड दिँदै भन्नुभयो, “प्रतिक्रियावादीको षड्यन्त्रलाई रोक्ने एक मात्र उपाय देशभक्तिपूर्ण, क्रान्तिकारी र समाजवादीहरूको एकता नै हो ।” प्रचण्डले ओखलढुङ्गाको यो घटनालाई महत्वपूर्ण सन्देशको रूपमा व्याख्या गर्दै भन्नुभयो, “बिहानले दिउँसो देखाउँछ भनेझैं एमालेमा रहेका सच्चा क्रान्तिकारीहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सक्छन् भन्ने सन्देश ओखलढुङ्गाले दिएको छ ।” उहाँले नयाँ पुस्ताका युवाहरूले पनि नेकपाको एजेन्डालाई नै बोक्ने पार्टी ठानेर ठाउँ–ठाउँमा प्रवेश गरिरहेको उल्लेख गर्दै लाखौं जनताको सहभागितासहित पार्टी अघि बढिरहेको बताउनुभयो ।
यी हुन् नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्ने ओखलढुङ्गा एमालेका अध्यक्षसहित ३८ नेता–कार्यकर्ता
काठमाडौं । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष जीवी खड्कासहित उपाध्यक्ष, सचिव र कुल ३८ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले एमाले छाडेको घोषणा गरेका हुन् । सोही दिन उनीहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई स्वागत गरेका छन् । एमालेले ओखलढुङ्गाबाट प्रतिनिधिसभा निर्वाचनमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरू असन्तुष्ट बनेका थिए । यसअघि अम्बिरबाबु गुरुङले पनि एमाले छाडेर नेकपाबाट उम्मेदवारी दर्ता गराएका थिए । यो घटनाले ओखलढुङ्गाको चुनावी मैदानमा नेकपाको स्थिति थप बलियो भएको छ ।
सल्यानमा आजपाका उम्मेदवारको उम्मेदवारी फिर्ता, नेकपा उम्मेदवार रमेश मल्ललाई समर्थन
सल्यान । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट उम्मेदवारी दिएका आम जनता पार्टीका उम्मेदवार मानसिंह कामीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेशकुमार मल्ललाई समर्थन गरेका छन् । उम्मेदवारी फिर्तासँगै मल्ल र कामीबीच ३ बुँदे सहमति भएको छ । सहमति पत्रमा राजनीतिक स्थायित्व र आर्थिक क्रान्तिका लागि भ्रष्टाचार तथा वित्तीय शोषणको अन्त्य गर्न प्रतिबद्ध रहने, लघुवित्त पीडितहरूका माग सम्बोधन गर्न पहल गर्ने लगायतका बुँदाहरू समावेश छन् । यो समर्थनले सल्यानको चुनावी मैदानमा नेकपा उम्मेदवार मल्लको स्थिति बलियो भएको छ ।
एमाले ओखलढुंगाको अध्यक्षसहित सिंगो कार्यसमिति नेपाली कम्युनिष्ट पार्टीमा समाहित
काठमाडौं । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्षसहित सिंगो जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार दिउँसो नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा आयोजित विशेष कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई स्वागत गर्दै पार्टीमा भित्र्याएका छन् । एमालेका जिल्ला अध्यक्ष जीबी खड्कासहित उपाध्यक्ष, सचिव लगायतका नेताहरू नेकपामा प्रवेश गरे । यसअघि पनि ओखलढुङ्गाबाट एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ नेकपामा प्रवेश गरिसकेका छन् । यो प्रवेशले ओखलढुङ्गाको चुनावी राजनीतिमा नयाँ तरंग ल्याएको विश्लेषण गरिएको छ । नेकपाले ओखलढुङ्गाबाट अम्बिरबाबु गुरुङलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ भने एमालेले अन्य नेतालाई अघि सारेको छ ।
कालीकोटमा जीवन बुढाको उम्मेदवारी फिर्ता, नेपाली कम्युनिष्ट पार्टीका शाहीलाई सहयोग गर्ने
कालीकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोट निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्र बहादुर शाहीलाई पूर्ण समर्थन तथा सहयोग गर्ने घोषणा गरेका छन् । बुढाले कम्युनिस्ट आन्दोलनको एकता र जिल्लाको विकासका लागि यो निर्णय लिएको बताएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताको निवेदन पेस गरिसकेका छन् । महेन्द्रबहादुर शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपाका प्रभावशाली नेता हुन् ।
ओखलढुंगामा स्वतन्त्र उम्मेदवारी फिर्ता, नेपाली कम्युनिष्ट पार्टीका गुरुङलाई समर्थन
ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गरेका छन् । नेकपाभित्र टिकटको दाबेदार रहेका तामाङ एमालेबाट विद्रोह गरेर नेकपामा प्रवेश गरेका गुरुङलाई टिकट दिएपछि असन्तुष्ट बनेका थिए र स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर पछि गुरुङले यसअघि जनप्रतिनिधि तथा मन्त्री हुँदाको कामबाट प्रभावित भएर जिल्लाको विकासका लागि गुरुङको योगदान महत्वपूर्ण हुने विश्वास गर्दै उम्मेदवारी फिर्ता लिएको तामाङले बताएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताको निवेदन पेस गरिसकेका छन् । यसले ओखलढुङ्गाको चुनावी मैदानमा नेकपा उम्मेदवार गुरुङको स्थिति बलियो बनाएको छ ।
दाङ-३ मा गोपाल ओलीको उम्मेदवारी फिर्ता, नेकपा उम्मेदवार धनबहादुर मास्कीलाई समर्थन
घोराही, दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका गोपाल ओली (प्रवीण) ले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार धनबहादुर मास्की (राजेश) लाई पूर्ण समर्थन गरेको घोषणा गरेका छन् । ओलीले उम्मेदवारी फिर्ता लिँदै कम्युनिस्ट आन्दोलनको एकता र मजबुतीका लागि यो निर्णय लिएको बताएका छन् । उनले सामाजिक सञ्जाल तथा स्थानीय स्रोतहरूमार्फत यो जानकारी सार्वजनिक गरेका हुन् । यससँगै क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार मास्कीको स्थिति थप बलियो भएको विश्लेषण गरिएको छ । धनबहादुर मास्की लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य तथा पूर्वमन्त्री हुन् । यसअघि उनले प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका थिए । नेकपाले दाङका तीनै क्षेत्रमा उम्मेदवारी दिएको छ भने मास्कीलाई क्षेत्र ३ बाट टिकट दिएको हो ।

