विश्वकप क्रिकेट : नेपाल सामु इग्ल्याण्डको १८५ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध १८५ रनको विजयी लक्ष्य पाएको छ ।

वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ५५ रन (४ चौका, ४ छक्का) र कप्तान ह्यारी ब्रूकले ३२ बलमा ५३ रन (४ चौका, ३ छक्का) बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन (१ चौका, ४ छक्का) को आक्रामक इनिङ खेले ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । डेब्युट्यान्ट शेर मल्लले ओपनर फिल साल्टलाई पहिलो बलमै आउट गर्दै १ विकेट लिए भने सन्दीप लामिछानेले पनि १ विकेट हात पारे ।

बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

शेर मल्ल, आरिफ शेख, लोकेश बम र नन्दन यादवले यस खेलबाट टी–२० विश्वकपमा डेब्यू गरेका छन् । सोमपाल कामी भने बेन्चमा रहे ।

प्रचण्डको शुभकामना : हरेक बल, हरेक रन, हरेक विकेटमा सम्पूर्ण नेपाल तपाईंहरूसँगै छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आईसीसी टी–२० विश्वकपमा आज इङल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विजयको हार्दिक शुभकामना व्यक्त गरेका छन् । फेसबुकमार्फत सार्वजनिक सन्देशमा प्रचण्डले लेखेका छन्, “जारी आईसीसी टी–२० विश्वकपमा आज हाम्रो गौरवशाली राष्ट्रिय टिमले इङल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा म पूर्ण विश्वस्त छु ।” उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले सबैलाई गर्व अनुभूति गराएको बताउँदै भनेका छन्, “हरेक बलमा, हरेक रनमा, हरेक विकेटमा सम्पूर्ण नेपाल तपाईंहरूसँगै छ । विजयको लागि हार्दिक शुभकामना !!” मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे नेपाली टिमले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै विश्वकपको आफ्नो अभियान सुरु गर्दैछ ।

नेपालले टी–२० विश्वकपको सुरुवात इङल्यान्डविरुद्ध खेलेर गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डविरुद्ध आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ । मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपालले इङल्यान्डसँग खेल्नेछ । नेपालले समूह चरणका सबै चार खेल वानखेडे स्टेडियममै खेल्नेछ । यो नेपालको तेस्रो र लगातार दोस्रो विश्वकप सहभागिता हो । टोलीमा १० पुराना र नयाँ खेलाडी छन् । आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादवले विश्वकपमा डेब्यु गर्नेछन् । सोमपाल कामी भने तीनवटै विश्वकप खेल्ने एकमात्र खेलाडी बन्ने तयारीमा छन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्दैछन् । विश्वकपअघि नेपालले युएई र क्यानडासँग वार्मअप म्याच जितेको थियो । श्रीलंका र भारतमा अभ्यास गरेको टोली उच्च मनोबलमा छ । इङल्यान्डले नेपालविरुद्ध सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ र प्लेइङ–११ सार्वजनिक गरिसकेको छ । नेपाल इङल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँगै समूहमा छ । इङल्यान्ड र वेस्ट इन्डिज दुई–दुई पटकका च्याम्पियन हुन् भने इटाली डेब्यु गर्दैछ । स्कटल्यान्ड २०१६ पछि लगातार विश्वकप खेल्दै आएको छ । विश्वकपको पहिलो दिन शनिबार पाकिस्तानले नेदरल्यान्ड्स, वेस्ट इन्डिजले स्कटल्यान्ड र भारतले अमेरिकालाई हराएको थियो । आइतबार अफगानिस्तान–न्युजिल्यान्ड, श्रीलंका–आयरल्यान्ड र नेपाल–इङल्यान्ड खेल हुनेछन् ।

भदौ २३ र २४ का अतिवादी शक्तिहरूबाट मुलुकले कुनै हालतमा निकास पाउँदैन : रन्जित तामाङ

दमक । झापा निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङले सबै प्रकारका अतिवादबाट देश र जनताले मुक्ति पाउनुपर्ने बताएका छन् । आइतबार कमल गाउँपालिकाको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै तामाङले भने, “यदि देशमा कानुनी शासन पूर्ण रूपमा प्रत्याभूत हुने हो भने आज उम्मेदवार बनेका धेरै साथीहरू जेलमा बस्नुपर्ने हुन्थ्यो ।” उनले अतिवादी शक्तिहरूबाट मुलुकले कुनै हालतमा निकास नपाउने दाबी गरे । नेकपाका युवा नेता तामाङले भदौ २३ गतेका कारक र भदौ २४ गतेका कारक दुवैबाट जनता आजित भइसकेको बताए । तामाङले मुलुकलाई सही, सन्तुलित र अग्रगामी विचार तथा नेतृत्व आवश्यक रहेको उल्लेख गरे । नेकपाको मूल निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले क्षेत्रका चारवटै पालिका र वडामा चुनावी अभियान तीव्र पारिएको जानकारी दिए । झापा–५ मा तामाङसँगै नेकपा (एमाले) बाट अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), नेपाली कांग्रेसबाट मन्धरा चिमरिया र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मीप्रसाद संग्रौला मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन् ।

चर्चित अभिनेता सुनिल थापाको निधनप्रति नेकपा संयोजक प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका मुर्धन्य व्यक्तित्व तथा ‘राते काइँला’ का नामले चर्चित वरिष्ठ अभिनेता सुनिल थापाको निधनले सम्पूर्ण नेपाली सिने क्षेत्र स्तब्ध बनेको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत यो दुःखद खबरप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रचण्डले भन्नुभयो, “नेपाली चलचित्र क्षेत्रका मुर्धन्य व्यक्तित्व सुनिल थापा हामीबाट सधैंका लागि विदा हुनुभएको खबरले अत्यन्त दुःखी बनाएको छ । कीर्तिशेष थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनुभएको योगदान हामी सबैका लागि चिरस्मरणीय रहनेछ ।” वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । उहाँ ६८ वर्षका हुनुहुन्थ्यो । नेपाली चलचित्रमा खलनायकको भूमिकालाई नायककै स्तरमा स्थापित गर्न सफल थापाले ‘चिनो’ जस्ता चर्चित चलचित्रमा ‘राते काइँला’ को भूमिकाबाट दर्शकको मन जित्नुभएको थियो । यसबाहेक उहाँले भारतीय चलचित्र तथा वेब सिरिजहरूमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनले नेपाली सिनेमा जगतमा अपूरणीय क्षति पुगेको छ । विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले पनि उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक व्यक्त गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको घोषणा पत्रमा सुशासन र रोजगारीलाई प्राथमिकता

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनका लागि चुनावी घोषणा पत्र तयार पार्दैछ। पार्टीले सुशासन र रोजगारी लाई मुख्य प्राथमिकतामा राखेर घोषणा पत्र निर्माण गरिरहेको जनाएको छ। पार्टीका नेताहरूका अनुसार, घोषणा पत्रको मस्यौदा अन्तिम चरणमा पुगेको छ। केही विषयहरूमा अन्तिम मिलान बाँकी रहे पनि एक–दुई दिनभित्रै सार्वजनिक गर्ने तयारी छ। नेकपाका नेता प्रमेश हमालले बताएअनुसार, घोषणा पत्रमा समुदायमा आधारित समाजवाद, सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन जस्ता विषयहरूलाई केन्द्रमा राखिएको छ। पार्टीले मुलुकको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने, आत्मनिर्भरता बढाउने, सहकारी तथा सार्वजनिक क्षेत्रलाई जोड दिने र रोजगारीमुखी नीतिहरू अघि सार्ने तयारी गरेको छ। नेता देव गुरुङले पनि मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै सुशासनलाई पहिलो एजेन्डा बनाएर उत्पादनमुखी अर्थतन्त्र, कृषि बजार विस्तार, ठूला उद्योग तथा गेम चेन्जर परियोजनालाई प्राथमिकता दिने बताएका छन्।   फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले यो घोषणा पत्रमार्फत जनताको आकांक्षा सम्बोधन गर्ने र यथार्थपरक तथा कार्यान्वयनयोग्य कार्यक्रम प्रस्तुत गर्ने  जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीले एक दुई दिनमा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

वरिष्ठ अभिनेता सुनिल थापाको हृदयाघातबाट निधन

काठमाडौं : वरिष्ठ तथा लोकप्रिय कलाकार सुनिल थापा (राते काइला) को निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान हृदयाघातका कारण उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्। 'राते काइला' पात्रबाट चर्चित थापा लामो समयदेखि नेपाली तथा भारतीय (बलिउड र भोजपुरी) चलचित्र उद्योगमा सक्रिय थिए। उनी शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। उनको असामयिक निधनले नेपाली कला तथा फिल्म जगतलाई स्तब्ध बनाएको छ। थापाले 'चिनो', 'राँको', 'सपना' जस्ता नेपाली फिल्महरूमा खलनायकको भूमिकामा विशेष छाप छोडेका थिए भने 'मेरी कोम', 'द फेमिली म्यान' जस्ता भारतीय प्रोजेक्टमा पनि काम गरेका थिए।

आइसिसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि सुरु

एजेन्सी । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आज ९२४ माघ २०८२० भारत र श्रीलङ्कामा सुरु हुँदैछ, जसमा २० टोलीहरू प्रतिस्पर्धा गर्छन्।  प्रतियोगिता ७ फेब्रुअरी मा उद्घाटन भएको यस संस्करण ८ मार्च सम्म जारी रहनेछ र कुल ५५ खेलहरू खेलिनेछन्। उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स बीचको भिडन्त हुनेछ।  प्रतियोगिताको फाइनल भारतको अहमदाबाद मा आयोजना हुनेछ। यस विश्वकपमा नेपालसहित प्रमुख क्रिकेट राष्ट्रहरू सहभागी छन्।

नयाँ-नयाँ भनेर हल्ला फैलाइएको छ, नेपाली कम्युनिष्ट पार्टी भन्दा नयाँ अर्को पार्टी छैन: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका युवा नेता माधव सापकोटा ‘सुबोध’ले पछिल्लो ३ वर्षमा सदनमा गलत प्रवृत्तिविरुद्ध खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ ।  पेप्सीकोलामा नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समिति तथा प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “माधव सापकोटा सुवोधले गलत प्रवृत्तिविरुद्ध सदनमा पछिल्लो ३ वर्षमा प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको छ । मैले आशा गर्ने केही युवा मध्ये माधव सापकोटालाई देखेको छु । अब उहाँलाई के बनाउनु पर्छ मैले सोचिसकेको छु ।” प्रचण्डले नेकपा देशको असाधारण परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यले आफू र माधवजीले सोचेर बनाएको पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “२६ वटा पार्टी र समूह जोडिएर नेकपा बनेको छ । एमालेबाट हाम्रो पार्टीमा आउनेको लहर छ । उहाँहरुलाई मैले उपयुक्त जिम्मेवारी दिएको छु । अबको सदनमा उहाँहरुले जित्नुहुन्छ ।” सिन्धुपाल्चोक जिल्लालाई इतिहासमा राम्रो भूमिका खेल्ने तथा पार्टीका लागि महत्वपूर्ण जिल्ला भएको बताउँदै उहाँले भन्नुभयो, “सिन्धुपाल्चोक जिल्ला इतिहासमा राम्रो भूमिका र सुपरिचित छ । हाम्रो लागि पनि धेरै महत्वपूर्ण जिल्ला मध्येमा पर्छ । सुख दुखमा मैले पनि सिन्धुपाल्चोकका जनतासँग सहकार्य गर्ने अवसर पाएको छु ।” आजकल सामाजिक सञ्जालमा ‘नयाँ नयाँ’ भनेर हल्ला फैलाइएको भन्दै प्रचण्डले नेकपालाई नै सबैभन्दा नयाँ पार्टी भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “आज भोलि नयाँ नयाँ भनेर सोसियल मिडिया तिर हल्ला गरिएको छ । हामीभन्दा नयाँ अरु कोही छैन । नेपाली कम्युनिस्ट पार्टी नै सबैभन्दा नयाँ हो । किनकि यो गणतन्त्रको बहाक हो । संघीयताको बहाक हो । महिला, जनजाति, दलित, मधेसी, मुस्लिमलगायत अल्पसंख्यकको अधिकार स्थापित गर्ने पार्टी हो ।”  

कानुनको अगाडि सबै समान छन् भन्ने कुरा व्यवहारमै लागू हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रहेको भन्दै त्यसविरुद्ध सशक्त सुशासन अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । सर्लाहीको बर्थवा नगरपालिका–स्थित कोइरी टोलमा आयोजित सर्लाही निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारले देशलाई जर्जर बनाएको र जनतालाई निराश बनाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कानुनको अगाडि सबै समान छन् भन्ने कुरा व्यवहारमै लागू हुनुपर्छ,” दोषी जो भए पनि कारबाही गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्लो पटक सरकारमा रहँदा भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन तस्करी, बाँसबारी जग्गा घोटाला लगायतका मुद्दामा अनुसन्धान अघि बढाएको र सार्वजनिक/सरकारी जग्गा अतिक्रमणविरुद्ध कडा कदम चालेको स्मरण गराउनुभयो । श्रेष्ठले सुशासन अभियान अघि बढ्दै गर्दा कांग्रेस र एमालेले साथ दिनुको सट्टा अवरोध सिर्जना गरेको आरोप लगाउँदै त्यसैका कारण सरकार ढालिएको र विकास तथा समृद्धिको गति रोकिएको बताउनुभयो । उहाँले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा उभिन मतदातालाई आग्रह पनि गर्नुभयो । नारायणकाजी श्रेष्ठ सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ भने क्षेत्र नं. ४ बाट डा. रजनीश यादव नेकपाको उम्मेदवार रहनुभएको छ ।

‘सबै पार्टी र उम्मेदवार उस्तै हुन्’ भन्ने भाष्य गलत, सबै उस्तै हुँदैनन् र होइनौं : माधव सापकोटा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समय राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको कडा खण्डन गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक रूपमा यस्ता भ्रम चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘आज एउटा भाष्य बनाइँदैछ भने सबै पार्टीहरू र सबै उम्मेदवार उस्तै उस्तै हुन् भन्ने । सबैलाई दिनको एउटा पोस्ट लेखेर यसलाई गम्भीरतापूर्वक खण्डन गरौँ । सबै उस्तै हुँदैनन् र होइनौं ।’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनुभएका सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताउनुभयो । विशेष गरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौं ।’ उहाँले थप्नुभयो, ‘कुन वटा कार्यालय कहाँ पर्छ भन्ने जानकारी थाहा नहुनेले के गर्छन् ? यस्तो हाँस्यास्पद कुरा गर्ने र हामीलाई तुलना गरे भने यो कुरा न्यायसंगत हुँदैन ।’ नयाँ उम्मेदवारहरूलाई सरकारी कार्यालयहरूको आधारभूत जानकारी समेत नभएको भन्दै उहाँले उनीहरूका कुरालाई ‘हात्तीछाप चप्पल र हात्ती उस्तै हो ?’ जस्तो हाँस्यास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले जनतालाई यसबारे बुझाउन जरुरी छ । जोड जोडले ठूलो स्वरले सुन्ने गरी भन्नुपर्छ । पार्टीका तर्फबाट गल्ती कमजोरी भएका छन् । सबैभन्दा पहिला जनतासँग गएर आत्मालोचना गरेर रुपान्तरणका लागि तयार हुने पार्टी पनि हामी नै हौं ।’ पार्टीका विगतका कमजोरी स्वीकार गर्दै सापकोटाले जनतामाझ आत्मालोचना गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

एमाले परित्याग गर्दै बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर शेर्पासहित सयौँ जना नेकपामा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा थप सयौँ कार्यकर्ता समाहित भएका छन् । नेकपा सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति तथा प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा पेप्सीकोलामा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा नेकपा एमाले बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित सयौँ जना नेकपामा प्रवेश गर्नुभएको छ । कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवेश गरेकाहरूलाई पार्टीमा हार्दिक स्वागत गर्नुभयो । उहाँले पार्टीमा समाहित भएकाहरूलाई उचित जिम्मेवारी प्रदान गरिने बताउनुभयो ।

संयोजक प्रचण्डको प्रश्न : नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म २५ वटा घटकलाई पार्टीमा एकताबद्ध गराइसकेको बताउनुभयो । नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशका अधिकांश क्षेत्रमा नेकपाले चुनाव जित्ने वातावरण बन्दै गएको र पार्टी पहिलो बन्ने सम्भावना देखिएको जिकिर गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै उहाँले नयाँ भन्नेहरूमा कुनै विचार वा सिद्धान्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ र पुरानोको कुरा गरेका छन् के हो नयाँ ? नयाँ र पुरानोको निधो विचार र एजेन्डाले गर्छ, गणतन्त्रभन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ ? नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ । सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ ? नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ ?’ उहाँले नेकपालाई पुरानै कित्तामा राख्ने प्रयास भएको भन्दै रास्वपालाई नै सबैभन्दा पुरानो बताउनुभयो । उहाँले थप्नुभयो, ‘तपाईँहरू उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ? त्यसैले हामी भन्छौँ नयाँ हामी हो, गणतन्त्र र सङ्घीयता भन्दा नयाँ अरू केही छ । देशको नेतृत्व अब हामीले गर्ने हो भन्ने आत्मसाथका साथ भन्न सक्नुपर्छ ।’

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा सिंहदरबार नयाँ संसद् भवन निर्माण प्रगतिमा चासो

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन नयाँ संघीय संसद् भवनको प्रगतिबारे राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले गम्भीर चासो व्यक्त गरेका छन् । उनले निर्माण व्यवसायी (तुन्दी–सेक जेभी), सहरी विकास मन्त्रालयका पदाधिकारी तथा संसद् सचिवालयका अधिकारीहरूसँग आज दिउँसो साढे ३ बजे राष्ट्रिय सभाको अध्यक्ष कार्यकक्षमा संयुक्त छलफल गर्दैछन् । यो भवनमा आगामी निर्वाचनबाट निर्वाचित नयाँ प्रतिनिधिसभाको बैठक राख्ने तयारी छ । विगतमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १९ वर्षदेखि भाडामा बस्दै आएको संसद् सचिवालय अब आफ्नै आधुनिक भवनमा सर्ने भएपछि भाडाको तनावबाट मुक्त हुनेछ । भवन अत्याधुनिक सुविधासम्पन्न छ । यसमा ७०० सिट क्षमताको प्रतिनिधिसभा हल (सभाहल ४०० + बाल्कोनी ३००), राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट, ३५० सिट क्षमताको संयुक्त लबी, १० वटा राजनीतिक दलका लागि संसदीय दल कार्यालय तथा बैठक कक्ष, प्रधानमन्त्री/सभामुख/अध्यक्ष आदिका लागि अति विशिष्ट कक्ष, पुस्तकालय, क्यान्टिन, बगैंचा, प्रेस/छपाइ भवन, ७०० सवारी पार्किङ, सुरक्षा संरचना आदि छन् । विशेष भवन आयोजनाले निर्माण जिम्मा लिएको यो परियोजनाले संसद्लाई भाडामुक्त बनाउने अपेक्षा गरिएको छ ।

भारतको मेघालय कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, ४ जना घाइते

खोटाङ । भारतको मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी खोटाङको बाराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका एउटै परिवारका दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर छन् । उनीहरू घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिएका छन् । घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर, ४५ वर्षीय बमबहादुर खपाङ्गी मगर, ४० वर्षीय कर्णबहादुर खपाङ्गी मगर र उदयपुरका ललितबहादुर मगर छन् । नरबहादुर र बमबहादुरको अवस्था गम्भीर रहेको छ । रोजगारीका लागि गत पुस ३ गते मेघालय गएको ७ जनाको नेपाली टोलीमध्ये बाराहपोखरी–१ वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । उनले नै फोनमार्फत घटनाको जानकारी आफन्तलाई गराएका थिए ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

धनगढी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु भएपछि कुल मृतक १३ जना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिएका छन् । थप मृत्यु हुनेमा बझाङका बिसनदत्त जोशी (१७), दिपकराज जोशी (२८), किसनदत्त जोशी (४६), केशवराज भट्ट (२७) र बैतडीका सुशील जोशी (१४) छन् । यसअघि घटनास्थलमा ६ जना र कोटिला स्वास्थ्यचौकीमा २ जनाको मृत्यु भएको थियो । बिहीबार राति ८ बजे पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको बस (सु.प्र.०२००१ ख १११९) पुर्चौंडी–७ बडगाउँको मोडमा सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा २५ जना घाइतेको डडेलधुरा अस्पतालमा, ५ जना गम्भीर घाइतेको धनगढीमा र ४ जना सामान्य घाइतेको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र बझाङमा उपचार भइरहेको छ । बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिइएको छ । उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । बेहुलाबेहुली भने अर्को जिपमा रहेकाले सकुशल छन् । थप अनुसन्धान जारी छ ।