जेन–जीको एजेन्डा नेकपासँगै छ, युवाकै नेतृत्वमा परिवर्तन सम्भव: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताले उठाएका परिवर्तनका एजेन्डा नेकपासँगै रहेको दाबी गर्दै देश रूपान्तरणको नेतृत्व अब युवाले लिनुपर्ने बताउनु भएकाे छ ।
सोलुखुम्बुमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै सक्रिय रहने अठोट व्यक्त गर्दै युवालाई आत्मविश्वासका साथ अघि बढ्न आह्वान गर्नुभयाे ।
“म ७२ वर्ष चलिराखेको छु, अझै केही वर्ष भिड्छु भन्ने जोश छ भने तपाईंहरू ४० वरिपरिका युवासँग त प्रशस्त समय र अवसर छ,” उहाँले भन्नुभयाे, “नेतृत्व तपाईंहरूको हातमा जानैपर्छ ।”
प्रचण्डले जेन–जी पुस्ताले उठाउँदै आएका सुशासन, रोजगारी, समानता र परिवर्तनका मुद्दा नेकपाको राजनीतिक एजेन्डासँग पूर्ण रूपमा मेल खाने बताउनु भएकाे छ । “जेन–जी आन्दोलनका एजेन्डा नेकपासँग छन्, त्यसैले युवाको साथ हामीसँग छ,” उहाँले दाबी गर्नु भयाे ।
सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचनमा विश्वको ध्यान केन्द्रित हुने प्रचण्डको भनाइ छ । “सोलुखुम्बुमा कसले जित्छ भन्नेमा संसारको चासो हुन्छ,” उहाँले भन्नुभयाे, “त्यसैले यहाँको नतिजाले अन्तर्राष्ट्रिय सन्देश पनि दिन्छ ।”
उहाँले विगतमा सोलुखुम्बुलाई विशेष प्राथमिकतामा राखेर हेरेको उल्लेख गर्दै भविष्यमा पनि जिल्लाको विकासमा निरन्तर ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । प्रचण्डले सोलुखुम्बुबाट नेकपाका उम्मेदवार युवा पुस्ताका आशालाग्दा नेता असिम राई भएको उल्लेख गर्दै मतदातालाई जिताउन आग्रह पनि गर्नुभयाे । “अब नेतृत्व युवा पुस्तामा जानुपर्छ, असिम राई त्यसको प्रतिनिधि हुन्,” उहाँले भन्नुभयाे ।
हालको निर्वाचन व्यवस्थाको रक्षा गर्दै जनताको अवस्था परिवर्तन गर्ने उद्देश्यका साथ नेकपासँग २३ दल एकताबद्ध भएको जानकारी दिँदै प्रचण्डले यो चुनाव सत्ता केन्द्रित नभई परिवर्तन केन्द्रित रहेको स्पष्ट पार्नु भयाे । “यो चुनाव पद र शक्तिका लागि होइन, जनताको जीवन बदल्ने अभियान हो,” प्रचण्डले भन्नुभयाे ।
सोलुखुम्बुको चुनावमा विश्वकै ध्यान पर्ने भएकाले लोकतन्त्र, परिवर्तन र युवाको भविष्यका लागि नेकपालाई विजयी गराउन उहाँले मतदातासँग अपिल गर्नुभयाे ।
उपलब्धिको जगमा टेकेर समुन्नत समाज निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गरौँ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद दिवसको अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । प्रचण्डले जारी गर्नुभएको सन्देशमा नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, भीमदत्त पन्त, जनयुद्ध, जनआन्दोलन, मधेस–थारू आन्दोलन तथा पछिल्लो जेन–जी आन्दोलनसम्मका सहिदहरूको बलिदानको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गरी लोकतन्त्र, समानता, न्याय तथा सुशासन स्थापना गर्नु रहेको बताउनुभयो । उहाँले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्मको उपलब्धि सहिदहरूकै अमूल्य बलिदानको परिणाम भएको उल्लेख गर्दै भने, “तर सहिदहरूको सपना अझै पूर्ण भएको छैन । सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताको संघर्ष जारी छ ।” प्रचण्डले सहिद दिवसलाई आत्मसमीक्षा, जनताको पक्षमा दृढ रहने र अधुरा सपना पूरा गर्ने नयाँ संकल्प गर्ने अवसरका रूपमा लिन आह्वान गर्नुभयो । उहाँले उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न सबैलाई आग्रह गर्नुभएको छ । “आउनुहोस्, उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गरौँ,” प्रचण्डको सन्देशमा भनिएको छ ।
मुग्लिन–नारायणगढ सडकमा बस पल्टिँदा ३८ घाइते
चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने स्थानमा आज बिहान करिब ३:१० बजे दाङबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्। प्रहरीले घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याएको छ। मौलाकालिका अस्पताल भरतपुरमा १५, पुरानो मेडिकल कलेजमा १३, नयाँ मेडिकल कलेजमा ४ र जनता केयर अस्पताल मुग्लिनमा ६ जनाको उपचार भइरहेको छ। बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले सुचारु भइसकेको छ।
माथिल्लो मुस्ताङमा भारी हिमपात : कोरला नाकाबाट आयात–निर्यात ठप्प, सडक अवरुद्ध
काठमाडौं — मंगलबार राति माथिल्लो मुस्ताङमा परेको भारी हिमपातका कारण नेपाल–चीन सीमानाका कोरला पूर्ण रूपमा प्रभावित भएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार बुधबारदेखि यो नाकाबाट हुने सबै आयात–निर्यात कारोबार ठप्प छ। जोमसोम–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेका कारण सडक अवरुद्ध भएको छ। यसले भन्सार कार्यालयको नियमित कामकाजसमेत प्रभावित भएको छ। चीनबाट मालवस्तु ल्याउन गएका एक दर्जन कन्टेनर छोसेरस्थित भन्सारमा थन्किएका छन् भने केही कन्टेनर चिनियाँ पक्षमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कागबेनी–कोरला सडकको करिब ९० किलोमिटर खण्डमा हिउँ जमेकाले सडक सञ्चालनमा केही दिन लाग्न सक्छ। कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट हिउँ पन्छाउने उपकरण परिचालन गरिने बताएका छन्। हिमपातपछि माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीसम्म तापक्रम झरेको छ। अत्यधिक चिसोले जनजीवन कष्टकर बनेको छ भने पशुचौपाया तथा गोठालालाई पनि समस्या परेको छ। कोरला नाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारीहरू पनि घर फर्किएका छन्। यो वर्ष माथिल्लो मुस्ताङमा यो तेस्रो पटकको हिमपात हो।
अमेरिकी भिसाको दुरुपयोग नगर्न नेपाली दूतावास अमेरिकाको अनुरोध
न्यूयोर्क— संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकहरूलाई अमेरिकी सरकारले प्रदान गर्ने सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास, परिवार सहायता, शैक्षिक सहायता जस्ता सुविधाहरू अवैधानिक रूपमा वा गलत विवरण पेश गरी प्रयोग नगर्न नेपाली दूतावासले अत्यन्त जरुरी सूचना जारी गरेको छ। यस्तो कार्यले भिसा वा ग्रिनकार्ड स्टाटस रद्द हुन सक्ने तथा नेपालप्रति अमेरिकी भिसा नीति थप कडा हुन सक्ने चेतावनी दिइएको छ। दूतावासका अनुसार, अमेरिकी अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार विभिन्न प्रयोजन (अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय वा परिवार भेटघाट) का लागि अमेरिका पुगेका नेपालीहरूले गैरकानुनी तवरले वा झूटा विवरण दिएर यस्ता सहुलियत सुविधा लिँदा प्रत्यक्ष रूपमा आप्रवासन स्टाटसमा असर पर्ने र रद्द समेत हुन सक्छ। सन् २०२४ मा अमेरिका गएका नेपालीहरूको तथ्यांकले नै नेपालीहरूलाई अमेरिकी सरकारी सहायता लिनेहरूको उच्च सूचीमा राखेको उल्लेख गर्दै दूतावासले यो चेतावनी दिएको हो। यसै सन्दर्भमा अमेरिकी सरकारले हालै नेपाली नागरिकहरूका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा जारी गर्न स्थगित गरेको छ। जनवरी २१, २०२६ देखि लागू हुने गरी उच्च दरमा सार्वजनिक सहायता (पब्लिक बेनिफिट्स) प्रयोग गर्ने जोखिम भएका ७५ देशहरू (नेपालसहित) का नागरिकहरूका लागि इमिग्रेन्ट भिसा जारी गर्न पूर्ण रूपमा रोकेको छ। यद्यपि, आवेदन दिन र अन्तर्वार्ता दिन सकिन्छ तर भिसा जारी गरिने छैन। यो निर्णय अमेरिकी करदाताको खर्चमा सहायता लिने जोखिम उच्च भएका राष्ट्रियताहरूको समीक्षा गर्नका लागि गरिएको हो। थप कडाइस्वरूप, बी१/बी२ (पर्यटक/व्यवसायिक) भिसाका लागि नेपाली आवेदकहरूलाई जनवरी २१, २०२६ देखि लागू हुने गरी अमेरिकी डलर ५,००० देखि १५,००० सम्मको रिफन्डेबल भिसा बन्ड (धरौटी) राख्नुपर्ने प्रावधान लागू गरिएको छ। यो पाइलट कार्यक्रमअन्तर्गत उच्च ओभरस्टे दर भएका देशहरूमा लागू भएको हो, जसमा नेपाल पनि समावेश छ। योग्य ठहरिएका आवेदकहरूलाई अन्तर्वार्ताको समयमा कन्सुलर अफिसरले बन्डको रकम निर्धारण गर्छन् र भिसा जारी हुनुअघि Pay.gov मार्फत भुक्तानी गर्नुपर्छ। यदि समयमै अमेरिका छोडेमा यो रकम फिर्ता हुन्छ। दूतावासले बी१/बी२ भिसामा ओभरस्टे गर्ने, तोकिएको भन्दा फरक काम (जस्तै रोजगारी) गर्ने जस्ता दुरुपयोगका घटनाहरू बढेको उल्लेख गर्दै यसले नेपालको छविमा गम्भीर नकारात्मक असर पार्ने र भविष्यमा अमेरिका जान चाहने नेपालीहरूलाई भिसा प्राप्ति अझ कठिन हुने बताएको छ। दूतावासको अनुरोध : संयुक्त राज्य अमेरिकामा रहेका सबै नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा वा गलत सूचना दिएर कुनै पनि सहुलियत सुविधामा निर्भर नहुन/नगराउन तथा बी१/बी२ भिसाको दुरुपयोग नगर्न हार्दिक अनुरोध गरिएको छ। यस्ता कार्यले व्यक्तिगत आप्रवासन स्टाटस मात्र होइन, समग्र नेपाली समुदाय र मुलुकको प्रतिष्ठामा पनि दीर्घकालीन असर पार्न सक्छ।
विभिन्न ठाउँमा चुनावी सभा गर्ने नेकपाको तयारी, संयोजक प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई प्रभावकारी रूपमा सफल बनाउन अर्को हप्तादेखि देशव्यापी चुनावी अभियानलाई तीव्रता दिने भएको छ। पार्टीले यो निर्वाचनलाई जसरी पनि सफल बनाउनुपर्ने अडान राख्दै आएको छ । नेपाली कम्युनिष्ट पार्टीले जेनजी आन्दोलनपछि सबैभन्दा पहिले सार्वजनिक कार्यक्रम गरेको थियो । पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का अनुसार, नेपाली कम्युनिष्ट पार्टी जेनजी आन्दोलनपछि सबैभन्दा सक्रिय र जनमुखी अभियान चलाउने शक्ति बनेको छ। नेकपाले जेनजी आन्दोलनपछि अन्य राजनीतिक दलभन्दा पहिले सार्वजनिक अभियान नै सञ्चालन गरेको थियो । पार्टीले चुनावी सभाहरूको तयारी तीव्र पारेको छ, जसमा प्रमुख शहर तथा जिल्लाहरूमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमहरूको तयारी गरिएको नेताहरुले बताएका छन् । त्यसरी सभा गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरिने नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । यी सभाहरूमा संयोजक प्रचण्ड, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ 'प्रकाश' लगायतका शीर्ष नेताहरूले प्रत्यक्ष रूपमा जनतासँग जोडिने गरी अभियान सञ्चालन गर्नेछन्। पार्टीले फागुन २१ को निर्वाचनलाई सुरुदेखि नै ुजसरी पनि गर्नुपर्छु भन्ने मान्यता राख्दै आएको छ। हालैका दिनहरूमा देशभर पार्टी एकता, विभिन्न कम्युनिस्ट घटकहरूको समायोजन, समाहित तथा नयाँ कार्यकर्ता तथा समर्थकहरूको पार्टी प्रवेशको लहर चलेको छ। यो लहरले पार्टीको संगठनात्मक विस्तार र जनआधारलाई थप मजबुत बनाएको छ। पार्टीका सहसंयोजक माधवकुमार नेपालले हालैका कार्यक्रमहरूमा जनताले नेकपालाई पहिलो पार्टी बनाउन चाहेको बताउँदै मेचीदेखि महाकालीसम्म अभियान चलिरहेको जिकिर गरेका छन् । फागुन २१ मा हुने यो निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। नेकपाले यो अवसरलाई सदुपयोग गर्दै जनताको विश्वास जित्ने र निर्वाचनमा निर्णायक भूमिका खेल्ने लक्ष्य राखेको छ।
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस: तीन पत्रकार सम्मानित
काठमाडौँ- प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ। काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा नेपालगन्जका नरेन्द्रजंग पिटरलाई कृष्ण सेन इच्छुक स्मृति पुरस्कार, सिरहाका मणिलाल विश्वकर्मा लाई शक्ति तारा स्मृति पुरस्कार र ललितपुरकी रुवी श्रेष्ठलाई बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो। प्रत्येकलाई सम्मानपत्रसहित २५ हजार रुपैयाँ नगद दिइएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपाका नेता तथा पूर्वसभामुख अग्नी सापकोटाले पुरस्कार वितरण गरेका थिए। प्रेस सेन्टरका अध्यक्ष कमल गिरीले जानकारी दिएअनुसार कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बलराम थापा, आईसीटी फोरमका अध्यक्ष निर्मल ज्ञवाली, महासचिव मनोज घर्तीमगरलगायतले मन्तव्य राखेका थिए।
बाँकी विषयहरु थाँती राखेर निर्वाचनमा केन्द्रित हुन नेता–कार्यकर्तालाई अग्नि सापकोटाको आग्रह
काठमाडौँ — नेकपा नेता अग्नि सापकोटाले पार्टीभित्रका विवाद र बहसका विषयहरूलाई थाँती राखेर अब निर्वाचनमा केन्द्रित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस कार्यक्रममा बोल्दै उनले फागुन २१ मा निर्वाचन केन्द्रित भएर अर्जुनदृष्टि लगाउनुपर्ने जोड दिए। सापकोटाले वामपन्थी शक्तिलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै नेकपालाई थप एकताबद्ध बनाउनुपर्ने बताए। उनले नेकपाको लोकप्रियता बढ्दै गएको दाबी गर्दै अन्य प्रियतावादहरू ‘पानीको फोका’ जस्तै फुट्ने उल्लेख गरे। साथै, कम्युनिस्ट दलहरूमाथि फैलाइएको भ्रमलाई व्यवस्थित रूपमा चिर्नुपर्नेमा जोड दिए।
काठमाडौं-६ : हिमाल शर्माको चुनावी कमाण्डर सुदेश पराजुली
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौं क्षेत्र नम्बर ६ मा ६६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा युवा नेता सुदेश पराजुलीलाई जिम्मेवारी दिइएको छ । यो समिति क्षेत्रका अगुवा कार्यकर्ता भेलाबाट गठन गरिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार हिमाल शर्मा छन् । शर्मा र पराजुली दुवै पूर्व विद्यार्थी नेता हुन्— शर्माले अखिल (क्रान्तिकारी) र पराजुलीले अनेरास्ववियुको अध्यक्षता गरेका थिए । यी दुई संगठनका मूल पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी) बीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो ।
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस : प्रेस स्वतन्त्रता र जनपक्षीय पत्रकारिताप्रति प्रतिबद्धता
काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमका साथ मनाउँदै छ । ऐतिहासिक जनयुद्धको पृष्ठभूमिमा स्थापना भएको संगठनले आफ्नो स्थापना दिवसको अवसरमा प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित तथा उत्पीडित जनताको आवाज सशक्त रूपमा उठाइरहने प्रतिबद्धता पुनः दोहोर्याएको छ । २०६१ साल माघ १५ अर्थात आजकै दिन रोल्पाको इरिबाङमा अखिल नेपाल क्रान्तिकारी पत्रकार संघका रूपमा स्थापना भएको प्रेस सेन्टर नेपालले परिवर्तनको आन्दोलनसँगै जनपक्षीय पत्रकारितालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । जनयुद्ध र जनआन्दोलनका क्रममा आम जनसमुदायमा मुक्ति र लोकतान्त्रिक चेतना फैलाउन संगठनको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ । स्थापना दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रेस सेन्टर नेपालले परिवर्तनको पक्षमा कलम चलाउँदै बलिदान दिनुभएका आदर्श अग्रज महान सहिद कृष्ण सेन ‘इच्छुक’प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, आन्दोलनका क्रममा घाइते, अपाङ्ग, बेपत्ता तथा योगदानकर्ताप्रति सम्मान व्यक्त गरिएको छ । संगठनले स्थापना दिवसको अवसरमा संस्थापक नेतृत्व, पूर्वअध्यक्ष, संयोजक, पूर्वपदाधिकारी, वर्तमान केन्द्रीय समिति, प्रदेश तथा जिल्ला समितिका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ । संगठनलाई यहाँसम्म ल्याइपुर्याउने सबैप्रति सम्मान प्रकट गर्दै ऐतिहासिक दायित्वप्रति पुनः प्रतिवद्धता जनाइएको छ । विज्ञप्तिमा जनयुद्ध र जनआन्दोलनको बलमा एकात्मक तथा केन्द्रीकृत राजतन्त्रको अन्त्य गरी संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनपत्रकारिताको उल्लेखनीय भूमिका रहेको उल्लेख गरिएको छ । जनपक्षीय पत्रकारिताले नेपाली पत्रकारिताको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको संगठनको निष्कर्ष छ । हाल देशमा यथास्थितिवादी, प्रतिगामी तथा प्रतिक्रियावादी शक्तिहरूको गतिविधिका कारण सुशासन, सामाजिक न्याय र समृद्धिजस्ता संविधानका प्राथमिकता ओझेलमा पर्दै गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दल फुट्ने–मिल्ने क्रम, लोकतन्त्रको नाममा नयाँ दलहरूको उदय, २०७९ मंसिर २३–२४ का आन्दोलन तथा पछिल्ला राजनीतिक घटनाक्रमलाई त्यसैको परिणामका रूपमा संगठनले व्याख्या गरेको छ । समयको मागअनुसार प्रगतिशील र वामपन्थी शक्तिहरूबीच एकताको प्रयास अघि बढिरहेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित २० भन्दा बढी कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनु आम नागरिकका लागि नयाँ आशाको संकेत भएको प्रेस सेन्टर नेपालको ठहर छ । संगठनले उक्त आशालाई व्यवहारिक कार्यान्वयनको तहसम्म पुर्याउन जनपत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । त्यसका लागि संगठनलाई अझ बलियो, एकीकृत र सशक्त बनाउँदै अघि बढ्ने अठोट व्यक्त गरिएको छ । प्रेस सेन्टर नेपालले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहितको रक्षा तथा उत्पीडित जनताको आवाज मुखरित गर्न सदैव अग्रपंक्तिमा उभिरहने स्पष्ट पारेको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीद्वारा जारी शुभकामना सन्देशमा २७औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सदस्य, शुभेच्छुक तथा पत्रकार समुदायलाई हार्दिक शुभकामना व्यक्त गरिएको छ ।
विप्लव पक्षलाई अझै अवसर बाँकी छ, वास्तविक घर यही हो, यताउता भौतारिएर केही हुँदैन: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै बृहत् कम्युनिस्ट एकतामा सामेल हुन आग्रह गर्नुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले बताउनुभयो, “कुनै आवेगमा नभई राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट आन्दोलनका घटकहरूलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरिएको हो ।” उहाँले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्योलको भुमरीमा परेको बताउनुभयो । उहाँले थप्नुभयो, “जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो लाग्यो । हामीले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोज्यौं । विप्लव पक्षलाई अझै अवसर बाँकी छ । वास्तविक घर यही हो, यताउता भौतारिएर केही हुँदैन । आत्मसमीक्षा गरेर एकतामा आए स्वागत गर्न तयार छौं ।” प्रचण्डले अहिले देश असहज परिस्थितिमा रहेको र एकताबद्ध भएर देशव्यापी अभियानमा नगए अर्को दुर्घटनामा जान सक्ने भएकाले कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने जोड दिनुभयो । उहाँले अन्य कम्युनिस्ट घटकहरूलाई पनि एकतामा सामेल हुन आह्वान गर्नुभएको छ । कार्यक्रममा विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताहरूलाई नेकपामा प्रवेश गराइएको थियो ।
विप्लव निकट चर्चित नेता चिरञ्जीवी ढकाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट नेता तथा पूर्व विद्यार्थी संगठन अध्यक्ष चिरञ्जीवी ढकालले पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीसँगै विप्लव माओवादीको विद्यार्थी संगठन अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोशी लगायतका नेताहरू पनि नेपाली कम्युनिस्ट पार्टीमा सामेल भएका हुन् । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित औपचारिक कार्यक्रममार्फत उनीहरूलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । ढकालसँगै विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट आठ जना केन्द्रीय सदस्यहरू पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका ढकाल काठमाडौंका स्थायी बासिन्दा हुन् । उनी विप्लव र प्रकाण्ड दुवै नेताको नजिकका मानिन्थे । दाङमा सम्पन्न तत्कालीन अखिल (क्रान्तिकारी) को २१औं राष्ट्रिय सम्मेलनबाट उनी सर्वसम्मत केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । एमसीसीविरुद्धको आन्दोलनलगायत विभिन्न संघर्षका क्रममा उनी पटक-पटक पक्राउ परिसकेका छन् ।
कुनै पनि व्यक्ति बेरोजगार हुनुपर्ने अवस्था सदाका लागि अन्त्य हुनेछ: बामदेव गौतम
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै उनले विजयी भएपछि पार्टी सरकारले बेरोजगारीको अन्त्य गर्दै समाजवादको आधार तयार पार्ने बताए । उनले वामपन्थी शक्तिहरूबीचको एकता अभियानलाई अघि बढाएर हरेक विद्रोहलाई शान्तिमा परिणत गर्ने प्रयास गरिएको पनि उल्लेख गरे । गौतमले भने, “हाम्रो पार्टीले फागुन २१ को निर्वाचनमा बहुमत हासिल गर्छ । बहुमतपछि समाजवादको आधार सृजना गरेर देखाउँछौं । कुनै पनि व्यक्ति बेरोजगार हुनुपर्ने अवस्था सदाका लागि अन्त्य हुनेछ । सभ्यता र समृद्धि हासिल गरेर देखाउँछौं ।” उनले साना कम्युनिस्ट पार्टीहरूलाई मिलाएर आफ्नो पार्टीलाई समुद्रको रूपमा विकास गरेको पनि बताए ।
सोसल मिडियामा स्टन्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडियामा स्टन्टबाजी गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले रास्वपामा विचार र सिद्धान्तको खडेरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घण्टी बजाएर मात्रै केही हुनेवाला छैन । सोसल मिडियामा स्टन्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ ।” सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले युवा तथा पुराना कमरेडहरूलाई समाजवादी भवन निर्माण गर्न आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “एकताबाट मात्रै देश र जनताको हित हुन्छ ।”
आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह
काठमाडौँ । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन घोषणापत्रमा समेट्न माग गर्दै आट्विनको टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ। भेटका क्रममा आट्विनको टोलीले महिला तथा बालिकामाथि हुने हिंसा, मानव बेचबिखन, सुरक्षित आप्रवासन, पीडितको संरक्षण तथा न्याय सुनिश्चिततासम्बन्धी विषयमा स्पष्ट नीतिगत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै लिखित सुझावपत्र संयोजक प्रचण्डसमक्ष बुझाएको थियो। भेटमा बोल्दै संयोजक प्रचण्डले प्रतिनिधित्व, समावेशीकरणलगायत संविधानले सुनिश्चित गरेका अधिकारहरू आफूहरूले नेतृत्व गरेको संघर्षकै उपलब्धि भएको बताए। उनले यी अधिकारलाई कागजमै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न पार्टीले अझ सशक्त रूपमा संघर्ष जारी राख्ने विश्वास दिलाउँनुभयो । महिला अधिकार, समानता र सामाजिक न्याय नेपाली कम्युनिष्ट पार्टीको मूल एजेण्डा रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले आट्विनले उठाएका विषयहरूलाई पार्टीको नीति, कार्यक्रम तथा घोषणापत्रमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आट्विनसँग आबद्ध महिला अधिकारकर्मी तथा अभियन्ताहरूको समूहले संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिस डाँडामै पुगी भेट गरेको हो ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य महोदत्त अधिकारी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौं । नेकपा (एमाले) परित्याग गरेका गण्डकी प्रदेश कमिटी सदस्य महोदत्त अधिकारी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीका स्थायी बासिन्दा अधिकारीलाई नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले पार्टीमा भव्य स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउने क्रममा अधिकारीको प्रवेशले थप ऊर्जा प्रदान गरेको बताएका छन् । यसअघि पनि विभिन्न पार्टी परित्याग गरी नेकपामा नेता–कार्यकर्ताहरू समाहित भएका छन् । अधिकारीको प्रवेशले गण्डकी प्रदेशमा नेकपाको संगठन विस्तारमा सहयोग पुग्ने विश्वास पार्टीले लिएको छ ।

