सोनाम ल्होछारले पहिचान, संस्कृति र न्यायको संघर्षलाई थप ऊर्जा दिन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेपालका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८६२ औँ सोनाम ल्होछारको अवसरमा तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएकाे छ । 

५ माघ २०८२ (ने.सं. ११४६, सिल्लाथ्व पारू) का अवसरमा जारी शुभकामना सन्देशमा उनले सोनाम ल्होछारलाई केवल नयाँ वर्षको उत्सवमा सीमित नराखी पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीकका रूपमा उल्लेख गर्नुभएकाे छ । 

प्रचण्डले डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागतसँगै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश बोकेको बताउनुभएकाे छ । “सोनाम ल्होछारले निरन्तर संघर्ष, अग्रगमन र सकारात्मक रूपान्तरणको प्रेरणा दिन्छ,” सन्देशमा उल्लेख छ ।

उहाँले तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय तथा बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको उल्लेख गर्दै यही विविधतामाथि राष्ट्रिय एकताको मजबुत आधार निर्माण भएको बताउनुभयाे । 

शुभकामना सन्देशमा उहाँले सामाजिक न्याय, समानता, समावेशिता र उत्पीडित समुदायका अधिकारका लागि अझै संघर्ष जारी रहेको स्मरण गराउँदै सोनाम ल्होछारले विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानलाई थप दृढ बनाओस् भन्ने कामना व्यक्त गर्नुभएकाे छ । 

अन्त्यमा उहाँले तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य, दीर्घायु, सम्मानपूर्ण जीवन र समृद्ध भविष्यको शुभेच्छा प्रकट गर्नुभएकाे छ । 

null

रवि लामिछानेको मुद्दामा सरकारको निर्णयविरुद्ध १६ विद्यार्थी संगठनको आपत्ति

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। २०८२ माघ ८ गते जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले विभिन्न अदालतमा विचाराधीन रहेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछाने, छविलाल जोशी तथा जीबी राईसम्बद्ध व्यक्तिहरूलाई उन्मुक्ति दिने निर्णय सर्वोच्च अदालतको नजिरविपरीत रहेको बताएका छन्। यस्तो निर्णय राज्यसत्ता र कानुनको चरम दुरुपयोग भएको उनीहरूको ठहर छ। वक्तव्यमा भनिएको छ– सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आर्थिक अपराधका अभियुक्तहरूलाई उन्मुक्ति दिने सरकारी अभ्यासले नेपालको अन्तर्राष्ट्रिय छविमा थप धक्का पुग्नेछ। विद्यार्थी संगठनहरूले रवि लामिछानेसहितका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको निष्पक्ष छानबिन तथा अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। संयुक्त विद्यार्थी संगठनहरूले विशेषगरी २०६४ यताका सबै उच्चपदस्थ कर्मचारी तथा सार्वजनिक पदमा नेतृत्व गरेका राजनीतिक व्यक्तिहरूको सम्पत्ति छानबिन र भ्रष्टाचारविरुद्ध कारबाहीका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन्। अपराधको प्रोत्साहन र अपराधीलाई उन्मुक्ति दिनु लोकतन्त्रका मूल्य र परिकल्पनाविपरीत हुने उनीहरूको भनाइ छ। वक्तव्यमा विगतका राजनीतिक आन्दोलनका मुद्दालाई राजनीतिक आवरणमा राखेर गम्भीर आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिन खोज्नु गलत भएको उल्लेख गर्दै, यस्ता गतिविधि नगर्न सरकारलाई चेतावनीसमेत दिइएको छ। संयुक्त विद्यार्थी संगठनहरूले ३ करोड नेपाली जनताको वास्तविक लोकतन्त्र, सुशासनसहितको कानुनी राज्य र न्यायको पुनःस्थापनाका लागि संयुक्त विद्यार्थी आन्दोलन आवश्यकताअनुसार संघर्ष अघि बढाउन पुनः उद्वेलित भएको जनाएका छन्। वक्तव्यमा महान्यायाधिवक्ता संजिव भण्डारीको राजीनामा, रवि लामिछानेको मुद्दाको निष्पक्ष अनुसन्धान, भ्रष्टाचारको अन्त्य र न्याय प्रणालीमा आमूल रूपान्तरण गरी सुशासन कायम गर्न सरकारलाई जोडदार माग गरिएको छ। संयुक्त प्रेस वक्तव्यमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल नेपाल विद्यार्थी फेडरेसन, जनपक्षीय विद्यार्थी युनियन नेपाल, राष्ट्रिय विद्यार्थी मञ्च, विद्यार्थी स्वयंसेवक नेपाललगायत विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा संयोजकहरूको हस्ताक्षर रहेको छ।

कांग्रेस देउवा पक्षको माग : मुद्दा टुंगो नलागेसम्म निर्वाचन कार्यक्रम स्थगित गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा टुंगो नलागेसम्म फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका सबै कार्यक्रम स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । आइतबार मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित पूर्वमहान्यायधिवक्ता खम्मबहादुर खाती र अधिवक्ता केशवराज जोशीले आयोगमा निवेदन दर्ता गराएका हुन् । निवेदनमा माघ ६ मा पेशी तोकिएको रिट मुद्दाको फैसला नआउँदासम्म मनोनयन दर्तालगायत निर्वाचन कार्यतालिका स्थगन गर्न माग गरिएको छ । निर्वाचन आयोगले माघ २ मा गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएकोमा देउवा पक्षले आइतबार सर्वोच्चमा रिट दायर गरेको छ । सोही दिन (माघ ६) मनोनयन दर्ताको मिति तोकिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले बागलुङ २ मा ज्ञामनाथ गैरेलाई दियो टिकट

बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ बाट ज्ञामनाथ गैरेलाई उम्मेदवार बनाएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आइतबार गैरेलाई टिकट हस्तान्तरण गरेका हुन् । बौद्धिक व्यक्तित्वका धनी गैरेसँग दुई दशकभन्दा बढी संगठनात्मक अनुभव छ ।

नेपाली कम्युनिष्ट पार्टीले बागलुङ १ मा कृष्ण केसीलाई दियो टिकट

बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य कृष्ण केसीलाई उम्मेदवार बनाएको छ । पार्टी नेता दिनानाथ शर्माले आइतबार केसीलाई टिकट हस्तान्तरण गरेका हुन् । केसी २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।

बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिए, बर्दिया–१ बाट चुनाव लड्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न लागेकाले आजै राजीनामा दिएको बताइएको छ । गौतमले राजीनामा दिएसँगै नेकपाले बर्दिया–१ बाट उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि राष्ट्रिय सभामा रहेका गौतमले प्रतिनिधिसभातर्फ चुनावी मैदानमा उत्रने तयारी गरेका हुन् । नेकपाले विभिन्न क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाउने क्रम जारी राखेको छ ।

राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी श्रेष्ठको राजीनामा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न लागेकाले राजीनामा दिएका हुन् । श्रेष्ठ २०७६ माघमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा अर्जुन थापालाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट ४२ वर्षीय अर्जुन थापालाई उम्मेदवार बनाएको छ । धारापानी, धवलागिरि गाउँपालिका–७ का निवासी थापा १० हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने स्वतन्त्र रक्तदाता समूहका नेतृत्वकर्ता तथा सामाजिक अभियन्ता हुन् । अघिल्लो निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्दै प्रदेशमा २ सिट जितेको थियो भने प्रतिनिधिसभामा कांग्रेसलाई समर्थन गरेको थियो ।

नेपाली कम्युनिष्ट पार्टीले प्यूठानमा दियो कृष्णध्वज खड्कालाई टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानबाट कृष्णध्वज खड्कालाई उम्मेदवार बनाएको छ । यसअघि तत्कालीन एकीकृत समाजवादीका भोजविक्रम बुढालाई टिकट दिने निर्णय भए पनि पछि हटाएर तत्कालीन माओवादीका लुम्बिनी प्रदेशसभा सदस्य खड्कालाई टिकट दिइएको हो । खड्काले टिकट पाएको पुष्टि गर्दै मनोनयन दर्ताका लागि प्युठान जाने तयारीमा रहेको बताएका छन् । मनोनयन दर्ता माघ ६ गते हुँदैछ ।

नेकपाले कञ्चनपुर–१ बाट विना मगरलाई प्रतिनिधिसभा उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट विना मगरलाई उम्मेदवार बनाएको छ । पार्टीले सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाउने क्रममा मगरलाई यो क्षेत्रबाट टिकट दिएको हो । विना मगर यसअघि पनि राजनीतिमा सक्रिय रहेकी नेतृ हुन् । उनी उक्त क्षेत्रमा लोकप्रीय छन् । 

नेकपाले नवलपरासी (पश्चिम)–२ बाट देवेन्द्र पौडेल ‘सुनील’लाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट देवेन्द्र पौडेल ‘सुनील’लाई उम्मेदवार बनाएको छ । उनी यसअघि बागलुङ–२ बाट निर्वाचित सांसद हुन् ।

नेकपाले सिन्धुपाल्चोक–२ बाट युवराज दुलाललाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवराज दुलाल (शरद)लाई उम्मेदवार बनाएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दुलाललाई टिकट हस्तान्तरण गरेका हुन् । मनोनयन दर्ता माघ ६ गते हुँदैछ । चौतारा साँगाचोकगढीका स्थायी बासिन्दा दुलाल बागमती प्रदेशसभा सदस्य हुन् । उनी २०७४ र २०७९ मा सिन्धुपाल्चोक–२ (क) बाट दुईपटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । दुई कार्यकालमा उनी सामाजिक विकास (२०७४–२०७७) र भौतिक पूर्वाधार विकास मन्त्रालय (२०७९–२०८१) को जिम्मेवारीमा रहेर सरकारमा सहभागी भएका थिए । यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका थिए । एमालेले यसपटक शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । यसैगरी, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपाले माधव प्रसाद सापकोटा (सुबोध)लाई टिकट दिएको छ । सापकोटा जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाका सदस्य हुन् ।

नेपाली कम्युनिष्ट पार्टीले रुपन्देही-२ बाट विश्वदीप पाण्डेलाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट युवा नेता विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ । यो क्षेत्र देशभरि चर्चित मानिन्छ । यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलले यहाँबाट निर्वाचन लड्दै आएका थिए । उनी यसपटक पाल्पा सरेका छन् । एमालेले रुपन्देही–२ मा बासुदेव घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । लामो समयदेखि राजनीतिमा सक्रिय पाण्डे युवाहरूमाझ लोकप्रिय छन् । रुपन्देहीका सामाजिक कार्यमा पाण्डेको ठूलो योगदान रहेको छ । नेकपाले युवाहरूको भावना समेट्न र जित्ने सम्भावना बोकेका उम्मेदवारलाई प्राथमिकता दिँदै पाण्डेलाई टिकट दिएको हो ।

यी हुन् नेपाली कम्युनिष्ट पार्टीका कर्णाली र सुदूरपश्चिमका उम्मेदवारहरु

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुंगो लगाएको छ ।  कालिकोट र मुगुमा भने उम्मेदवार टुंगिन बाँकी छ । अन्य प्रदेशका उम्मेदवार पनि आजै टुंगो लाग्ने पार्टीले जनाएको छ । सुदूरपश्चिम प्रदेश अछाम–१ : डा. भीम रावल अछाम–२ : शरदसिंह भण्डारी कञ्चनपुर–१ : विना मगर कञ्चनपुर–२ : लालबहादुर खड्का कञ्चनपुर–३ : मानबहादुर सुनार कैलाली–१ : रामलाल थारु डगौरा कैलाली–२ : राजेन्द्र साउद कैलाली–३ : वीरमान चौधरी कैलाली–४ : हरिराम चौधरी उत्सव कैलाली–५ : प्रेमबहादुर आले डडेलधुरा–१ : मानसिंह माल दार्चुला–१ : लक्ष्मणदत्त जोशी बझाङ–१ : मीनबहादुर कुँवर बैतडी–१ : परमानन्द भट्ट डोटी–१ : त्रिलोचन भट्ट बाजुरा–१ : प्रकाशबहादुर शाह कर्णाली प्रदेश डोल्पा–१ : धनबहादुर बुढा दैलेख–१ : अम्बरबहादुर थापा दैलेख–२ : योगेन्द्रबहादुर शाही सुर्खेत–१ : जीतबहादुर राना सुर्खेत–२ : झगबहादुर मल्ल जुम्ला–१ : नरेश भण्डारी रुकुम पश्चिम–१ : गोपाल शर्मा अनल सल्यान–१ : प्रकाश ज्वाला हुम्ला–१ : डा. दीपेन्द्र रोकाय कालिकोट–१ : टुंगिन बाँकी मुगु–१ : टुंगिन बाँकी

नेकपाले सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा ‘सुबोध’लाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट युवा नेता माधव सापकोटा ‘सुबोध’लाई उम्मेदवार बनाएको छ । सापकोटा सोही क्षेत्रका निवर्तमान सांसद हुन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान उनलाई टिकट हस्तान्तरण गरेका हुन् । निर्वाचनको मनोनयन दर्ता यही माघ ६ गते हुँदैछ ।

राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरको संसद् भवन जेनजी आन्दोलनमा ध्वस्त भएकाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा अधिवेशन सञ्चालन हुने भएको हो । आजको बैठक बिहान ११ बजे बोलाइएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र नेपाली कांग्रेसका दिवंगत सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ (१) बमोजिम माघ ४ गते अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते १८औं अधिवेशन अन्त्य भएको थियो । यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचन तयारी गरेको छ । एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै राष्ट्रियसभामा नयाँ सदस्य आउने अवस्थामा यो अधिवेशनलाई महत्वपूर्ण मानिएको छ ।