पम्फा भुसालद्वारा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा

काठमाडौँ । नेकपा नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारी नदिने घोषणा गरेकी छन्।

null

उनले आइतबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, “यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु। म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेकी छु र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेकी छु। अब यो राजनीतिक अनुभव र सिकाइलाई पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ।”

भुसालले पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन आफू सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै अपवादबाहेक पहिले अवसर पाइसकेकाहरूले यसपटक प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवारी नदिनु उपयुक्त हुने मत पनि व्यक्त गरेकी छन्।

प्रधानमन्त्री सुशीला कार्कीको देउवा, ओली र प्रचण्डसँग छलफल : ‘यो घर तपाईंहरूकै हो, निर्वाचन सफल पारौं’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै बालुवाटारमा छलफल गरेकी छिन्। शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन्। बालुवाटारलाई देखाउँदै उनले भनिन्, ‘यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रबाट आएकी व्यक्ति हुँ। राष्ट्रपतिज्यूबाट निर्वाचन गराउने कार्यादेश पाएअनुसार हामी तयारीमा जुटेका छौं।’ उनले बालुवाटार आएर सहयोग गरेकोमा तीनै नेताप्रति धन्यवाद व्यक्त गर्दै प्रशासनिक कामबाट अलग भएर पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुन रक्षा मन्त्रालयबाहेक अन्य मन्त्रालयहरू अन्य मन्त्रीहरूलाई जिम्मेवारी दिएको जानकारी पनि गराइन्। ‘मैले यहाँहरूलाई बोलाएर अनुरोध गर्न खोजेको के हो भने यो निर्वाचन जसरी पनि सफल पारौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबै यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने मैले महसुस गरेकी छु। यस्तो वातावरण बन्दै गएको देख्छु, यो स्वागतयोग्य छ।’ निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको तथा सुरक्षाकर्मीको मनोबल बढेको उनले बताइन्। ‘अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रका लागि निर्वाचन सफल पारौं,’ प्रधानमन्त्री कार्कीको आग्रह थियो, ‘यो हामी सबैको साझा जिम्मेवारी हो। यही अनुरोध गर्न मैले यहाँहरूलाई आज बोलाएकी हुँ।’

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता : समयमै निर्वाचन गराउनेबारे छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत रहेका नेपालसँग भेट गरेका हुन्। उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा झण्डै एक घण्टासम्म कुराकानी भएको थियो। भेटमा समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई समेटेर निर्वाचन सम्पन्न गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट : एकको मृत्यु, पाँच घाइते

रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परी कटहरिया–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो । विस्फोट अत्यन्त शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा पनि क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ । घाइतेहरूको पहिचान र विस्फोटको ठोस कारण अझै खुल्न बाँकी छ । दुर्घटनामा घाइते तथा मृतकको संख्या थप बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ । घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ । सम्भावित थप क्षति रोक्न सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिई सुरक्षा व्यवस्था कडा पारेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि थप टोली परिचालन गरिएको जानकारी दिएका छन् । यसैबीच, स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण यस्तो ठूलो दुर्घटना भएको आरोप लगाएका छन् ।

सुदूरपश्चिममा एकै दिनका सवारी दुर्घटनामा चारको मृत्यु, केही घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीमा मात्र दुई जनाको मृत्यु भएको छ । कैलालीका दुई दुर्घटना : लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित कैलाशधाम तीर्थस्थल नजिक पूर्व–पश्चिम राजमार्गमा से ४ प ६७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको पिलरमा ठोक्किएको थियो । दुर्घटनामा चालक २६ वर्षीय अनिष भण्डारीको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको छ । पछाडि सवार १५ वर्षीय तुफान भण्डारी सामान्य घाइते भएका छन् । यस्तै, बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा से ७ प ८१६५ नम्बरको मोटरसाइकल पुलको किनारमा ठोक्किँदा चालक २४ वर्षीय विशाल कठरियाको मृत्यु भएको छ । पछाडि सवार २४ वर्षीया रिता कठरिया घाइते भएकी छिन् । उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ । कञ्चनपुरको दुर्घटना : शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा महेन्द्रनगरबाट झलारीतर्फ जाँदै गरेको म १ त ९३१ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०२–००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक ४५ वर्षीय गुड्डु बि.क.को मृत्यु भएको छ भने पछाडि सवार बिरराम पोखरेल घाइते भएका छन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराको दुर्घटना : आलिताल गाउँपालिका–४ जालिटुडास्थित बुडर–जोगबुढा सडक खण्डमा राति करिब ९ बजेतिर जोगबुढाबाट बुडरतर्फ जाँदै गरेको म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको भि.न.पा. ००१ ह ४०८ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा अटोमा सवार २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको छ भने २१ वर्षीया सबिता थापा मगर घाइते भएकी छिन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अटो चालक फरार छन् ।

प्रतिनिधिसभा निर्वाचन : सिन्धुली २ बाट नेकपा संयोजक प्रचण्ड उम्मेद्वार सिफारिस

सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । पार्टीको कार्यदलका एक सदस्यका अनुसार क्षेत्र नम्बर २ बाट प्रचण्डसहित पार्टीका नेताहरू हरिबोल गजुरेल, महेश्वर दाहाल र पानीराजको नाम पनि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । त्यस्तै, समावेशी प्रतिनिधित्वअन्तर्गत महिलाको कोटाबाट अनिता कुमारी राईको नाम सिफारिस गरिएको छ भने जनजाति प्रतिनिधित्वका लागि सुमन राना मगरको नाम प्रत्यक्षतर्फ अघि सारिएको छ । यसैगरी, सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारका लागि निवर्तमान सांसद राजन दाहालसँगै जानुका तिमल्सिना, चित्रबहादुर लुङ्गेली, डिकेन्द्र सुवेदी र विजय खड्काको नाम सिफारिस गरिएको छ ।

प्रधानमन्त्री कार्कीको सक्रियता : देउवा, ओली र प्रचण्डसँग आज निर्वाचन छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग निर्वाचनबारे छलफल गर्ने भएकी छिन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीतल निवासमा भएको प्रधानमन्त्रीसहित तीन दलका नेताहरूको भेटघाटको निरन्तरतास्वरूप यो छलफल हुन लागेको हो । शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए । सोही क्रममा मन्त्री खरेलले आज अपराह्न ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीको भेट तथा छलफलको कार्यक्रम रहेको जानकारी गराएका थिए । यसअघि मन्त्री खरेलसहित कानुनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न राजनीतिक दलका कार्यालयहरूको स्थलगत अनुगमन गरेका थिए । पुस ८ र ९ गते नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी लगायतका कार्यालयहरूको अनुगमन गरेपछि मन्त्री खरेलले प्रमुख दलका शीर्ष नेताहरूको निवासमै पुगेर निर्वाचन वातावरण बनाउने प्रयासलाई निरन्तरता दिएका हुन् । सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहे पनि दलहरूले शान्ति–सुरक्षा लगायतका विषयमा प्रश्न उठाउँदै आएका छन् । विशेषगरी नेकपा (एमाले) ले यस्ता विषयमा चासो देखाएको बेला सरकारका मन्त्रीहरू दलका नेता तथा कार्यालयहरूमा पुगेर निर्वाचनको उपयुक्त वातावरण निर्माण गर्न सक्रिय भएका छन् ।  

एमाले छोडेर लक्ष्मी गुरुङ नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौँ  । नेकपा (एमाले) की सांस्कृतिक विभागकी केन्द्रीय सदस्य लक्ष्मी गुरुङ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ । सिन्धुली निवासी गुरुङलाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमबीच नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गर्नुभएको हो । एमालेबाट अलग्गिएर नेकपामा जोडिनुभएकी गुरुङले पार्टी प्रवेशपछि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो योगदान रहने बताउनुभएको छ । 

मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले संसद् पुनर्स्थापनाको पछाडि नलाग्न आग्रह गर्नुभयो । भयरहित वातावरणमा निष्पक्ष निर्वाचनको माग जनताले गरिरहेको भन्दै उहाँले राजनीतिक दलहरू त्यसको तयारीमा जुट्नुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कम्युनिस्टहरूले मात्र देशको विकास र जनताको पक्षमा प्रभावकारी काम गर्न सक्ने दाबी गर्नुभयो । त्यसैले कम्युनिस्ट शक्तिबीच एकता वर्तमानको प्रमुख आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै देशको विद्यमान सङ्कट समाधान गर्न समान वैचारिक दृष्टिकोण भएका वाम शक्तिहरूबीच ध्रुवीकरण शुरू भइसकेको पनि उल्लेख गर्नुभयो । यो कार्यक्रममा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो

एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापा, पर्सा जिल्ला नेकपा एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारु सहित ५६ जनालाई नेकपामा स्वागत गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने विभिन्न तहका नेताकार्यकर्तालाई संयोजक प्रचण्ड, सहसंयोजक नेपाल लगायतका नेताहरूले खादा र माला लगाएर स्वागत गर्नुभयो। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुले अब पर्सा जिल्लाबाट एमाले बढारिने दाबी गर्नुभयो। उहाँले पर्सामा नेकपाको प्रभाव अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले यस प्रवेशले पर्सा जिल्लामा नेपाली कम्युनिष्ट पार्टी थप सशक्त बन्ने बताउनुभयो। उहाँले पर्सामै भव्य कार्यक्रमका बीच पार्टी प्रवेश गराउने योजना भए पनि समय अभावका कारण केन्द्रीय कार्यालय पेरिसडाँडामै कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ। मन्त्री खरेल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनकै निवासमा पुगेका थिए। भेटमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। यसै दिन मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

डा. मित्र परियार नेकपामा प्रवेश, दलित मुक्ति आन्दोलनलाई नयाँ उचाइ दिने प्रतिबद्धता

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका पूर्वउपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। आज बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित आफ्नै निवासमा डा. परियारलाई पार्टीमा स्वागत गरेका थिए। केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष परियारको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष हर्क साम्पाङले उनलाई कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। त्यसपछि परियार पार्टीबाट अलग भएका थिए। डा. परियारलाई स्वागत गर्दै संयोजक प्रचण्डले उनजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा पाउनु गर्वको विषय भएको बताए। डा. परियारले जनयुद्ध तथा गणतन्त्र स्थापनामा प्रचण्डको योगदानबाट आफू प्रभावित भएको उल्लेख गर्दै अब दलित मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन योगदान दिने प्रतिबद्धता जनाए।

माओत्सेतुङको १३३ औँ जन्मजयन्ति: ‘आज पनि माओका विचार मार्गदर्शक’-प्रचण्ड

काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता संयाेजक माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी अभिवादन व्यक्त गर्दै आज पनि माओका विचार मार्गदर्शक आवश्यक रहेकाे बताउनु भएकाे छ । उहाँले समुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायलाई शुभकामना दिँदै माओका विचार, संघर्ष र राजनीतिक दर्शन आजको विश्व परिवेशमा अझ सान्दर्भिक रहेको उल्लेख गर्नुभएको हाे ।  शुभकामना सन्देशमा संयाेजक दाहालले विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढिरहेको र जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको अवस्था चित्रण गर्नुभएको छ । यस्तो परिस्थितिमा माओत्सेतुङले प्रस्तुत गर्नुभएको सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण, जनताको स्वामित्वमा आधारित लोकतन्त्रको अवधारणा र राष्ट्रिय स्वाधीनताको पक्षधर विचार आज पनि उत्तिकै उपयोगी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार माओले देखाउनुभएको बाटो केवल ऐतिहासिक स्मृतिमा सीमित विषय नभई उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने व्यावहारिक मार्गदर्शनसमेत हो । उहाँले माओका विचारलाई वर्तमान युगका चुनौतीसँग जोडेर बुझ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सन्देशमा उहाँले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भइसकेको उल्लेख गर्दै यस प्रक्रियाले वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताउनुभएको छ । मार्क्सदेखि लेनिन र माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका योगदानहरूको संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्नु र समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नु कम्युनिस्ट क्रान्तिकारीहरूको मुख्य कार्यभार भएको उहाँको भनाइ छ । माओलाई स्मरण गर्दा अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिविरुद्ध निर्मम वैचारिक तथा राजनीतिक सङ्घर्ष अपरिहार्य रहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविक र सार्थक अर्थ भएको उहाँले उल्लेख गर्नुभएको छ । माओ दिवसको अवसरमा उहाँले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गर्नुभएको छ । अन्त्यमा दाहालले कमरेड माओप्रति श्रद्धासुमन अर्पण गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  

कास्की–३ बाट प्रचण्डलाई सर्वसम्मत सिफारिस

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की–३ बाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। कास्की–३ को क्षेत्रीय कमिटी बैठकले प्रचण्ड नलड्ने अवस्थामा विकल्पका रूपमा उनकी बुहारी सिर्जना त्रिपाठीसहित थप १५ जनाको नाम पनि सिफारिस गरेको केन्द्रीय सदस्य रामजी बराल ‘जीवन’ र क्षेत्रीय संयोजक भीम क्षितिजले बताएका छन्। प्रचण्ड कास्कीको लेवाडेमै जन्मिएका हुन्। बैठकले उहाँलाई आफ्नो जन्मथलोबाट चुनाव लड्न आमन्त्रण गर्ने उद्देश्यले सर्वसम्मत सिफारिस गरेको क्षितिजले जनाए। सिर्जना त्रिपाठीले बैठकमै उम्मेदवारीको चाहना व्यक्त गरेकी थिइन्। उनी तत्कालीन माओवादी केन्द्रकी गण्डकी प्रदेश कमिटी सदस्य हुन्। सिफारिसमा परेका अन्यमा रामजी बराल ‘जीवन’, दुर्गा विक, कृष्ण नेपाली, भीम क्षितिजलगायत छन् भने जेन्डर क्लस्टरबाट शहरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारीको नाम पनि समावेश गरिएको छ।

रुकुम पश्चिमबाट गोपाल शर्मा ‘अनल’ नेकपाको प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टीको जिल्ला समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेता गोपाल शर्मा ‘अनल’ लाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले सर्वसम्मत रूपमा उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ झक्कुप्रसाद घर्तीमगर (अभियान), सुरज कुमार परियार, गीता नेपाली र झरणा शाही तथा राष्ट्रियसभातर्फ बुद्धिप्रसाद शर्मा (अनन्त) लाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको अनलले बताउनुभयो ।

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग संयोजक प्रचण्डको आग्रह

काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौसम परिवर्तनका कारण तराई–मधेशमा चलेको शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएको हिमपातले जनजीवन कष्टकर बनेको भन्दै प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउन तीनै तहका सरकारसँग अपील गर्नुभएको छ।   प्रचण्डले सामाजिक सञ्जालमार्फत भन्नुभयो, “यसबाट खासगरी समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता बढी पीडित भएका छन्। यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पुर्‍याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गर्दछु।” उहाँले थप बताउनुभयो, “प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन दिन चाहन्छु।” देशका विभिन्न भागमा पछिल्लो समय तीव्र चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ।