नेपाली कम्युनिष्ट पार्टीद्वारा उम्मेदवार छनोटका लागि विशेष सर्कुलर, यस्ता छन् मापदण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन तयारीलाई तीव्र बनाउँदै उम्मेदवार छनोटका लागि योग्यता तथा मापदण्ड तय गरेको छ ।
पार्टीले हिजो आन्तरिक विशेष परिपत्र जारी गर्दै आगामी फागुन २१ गते प्रतिनिधि सभा तथा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी योग्यता, मापदण्ड र सिफारिस प्रक्रियासहित सबै प्रदेश कमिटीहरूमा विशेष आन्तरिक सर्कुलर गरेको हो ।
पार्टी स्रोतका अनुसार उक्त सर्कुलरले निर्वाचनलाई व्यवस्थित, पारदर्शी र वैचारिक रूपमा सुदृढ बनाउन महत्वपूर्ण आधार तय गरेको छ। यसले नेकपा अब निर्वाचनको औपचारिक तयारी चरणमा प्रवेश गरिसकेको स्पष्ट संकेत दिएको छ।
कानुनी योग्यता र संवैधानिक मापदण्डमा जोड
सर्कुलरअनुसार प्रतिनिधि सभा उम्मेदवारका लागि २५ वर्ष र राष्ट्रिय सभा उम्मेदवारका लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारको नाम मतदाता नामावलीमा दर्ता भएको हुनुपर्नेछ भने संविधान र कानुनले अयोग्य ठहर गरेका व्यक्ति उम्मेदवार बन्न नपाउने स्पष्ट गरिएको छ। साथै, राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहमा वहालवाला पदाधिकारी उम्मेदवार बन्न अयोग्य हुने उल्लेख छ।
आर्थिक स्वच्छता र पारदर्शितालाई प्राथमिकता
नेकपाले उम्मेदवार छनोटमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको देखिन्छ। अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भइसकेका व्यक्ति उम्मेदवार बन्न नपाउने, कर–राजस्व चुक्ता र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने, कालोसूचीमा नरहेको हुनुपर्ने जस्ता कडा मापदण्ड तय गरिएको छ। उम्मेदवारले सम्पत्ति तथा आय–स्रोत सार्वजनिक गर्न र निर्वाचन आयोगको स्वघोषणा प्रक्रिया पूरा गर्न तयार हुनुपर्ने व्यवस्था गरिएको छ।
सामाजिक आचरण र नैतिकताको कडाइ
सामाजिक आचरण, नैतिकता र व्यवहारलाई पनि उम्मेदवारको प्रमुख मापदण्ड बनाइएको छ। जातीय, लैंगिक, धार्मिक, भाषिक विभेद, घरेलु हिंसा, मानव बेचबिखन, यौन उत्पीडन, बालश्रमजस्ता गम्भीर सामाजिक अपराधमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार नबनाउने स्पष्ट नीति लिइएको छ।
वैचारिक प्रतिबद्धता र जनसमर्थन अनिवार्य
पार्टीले उम्मेदवार राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट, पार्टी नीति–कार्यक्रमप्रति प्रतिबद्ध, आन्दोलनमा निरन्तर योगदान दिएको र जनतामा लोकप्रिय हुनुपर्ने मापदण्ड पनि तोकेको छ। सामाजिक प्रतिष्ठा, सार्वजनिक संवाद क्षमता र संगठनात्मक अनुभवलाई विशेष महत्व दिइएको छ।
समावेशी सिफारिस प्रक्रिया
सिफारिस प्रक्रियामा महिला, युवा ९जेन–जी०, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक समुदायलाई विशेष ध्यान दिन निर्देशन दिइएको छ। शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्वपीडित, घाइते र आर्थिक रूपमा विपन्न वर्गलाई प्राथमिकतामा राख्ने उल्लेख छ। एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने नीति पनि स्पष्ट गरिएको छ।
निर्वाचन तयारीमा नेकपाको संकेत
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो विस्तृत र कडा मापदण्डसहितको सर्कुलरले नेकपा निर्वाचनलाई गम्भीर रूपमा लिँदै संगठन सुदृढीकरण र उम्मेदवार छनोटमा अनुशासन कायम गर्न चाहेको देखाउँछ। सरकारद्वारा निर्वाचन मिति घोषणा भएसँगै जारी गरिएको यो सर्कुलरले पार्टी अब मैदानमा उत्रने तयारीमा रहेको स्पष्ट सन्देश दिएको छ।
यससँगै नेकपाभित्र आगामी निर्वाचनलाई लिएर संगठनात्मक सक्रियता र राजनीतिक सरगर्मी थप बढ्ने अपेक्षा गरिएको छ।
हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु
हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला–सुर्खेत, हुम्ला–नेपालगञ्ज र हुम्ला–काठमाडौंसम्म बस सेवा सुरु गरिएको छ। हुम्लादेखि सुर्खेतसम्मको भाडा ५ हजार, नेपालगञ्जसम्म ५ हजार र काठमाडौंसम्म ६ हजार ५ सय रुपैयाँ तोकिएको उनले बताए। सोही प्रालिले मुगुबाट पनि काठमाडौंसम्म बस सेवा सञ्चालन गरेको जनाएको छ।
भक्तपुरको बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
ललितपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन्। उनीहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा नं. २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रोसन तथा एमाले सूर्यविनायकका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, ध्रुव के.सी., रुकुश बेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत छन्। नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा उहाँले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गर्नुभयो। सोही अवसरमा पार्टीमा सहभागी हुनुभएका नेताहरूले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
अनेरास्ववियू (क्रान्तिकारी)द्वारा केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि कारबाही माग
काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले नेपाल ट्रस्टको बहुमूल्य सार्वजनिक जग्गा यती समूहसम्बद्ध कम्पनीलाई बदनियतपूर्वक लिजमा दिने प्रक्रियामा संलग्न भएको आरोप लगाउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ। अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “दरबारमार्गस्थित नेपाल ट्रस्टको बहुमूल्य सार्वजनिक जग्गा यती समूहसम्बद्ध कम्पनीलाई बदनियतपूर्वक लिजमा दिने प्रक्रिया मिलाइदिएबापत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले ‘घुस’ स्वरूप घरजग्गा प्राप्त गरेको तथ्य सार्वजनिक हुनु गम्भीर आपराधिक तथा दण्डनीय विषय हो। यस सम्बन्धमा प्रकाशित समाचारप्रति अनेरास्ववियू (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको छ।” विज्ञप्तिमा अगाडि भनिएको छ– नेपाल ट्रस्ट ऐन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी प्रचलित कानुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को ठाडो उल्लङ्घन गर्दै सार्वजनिक सम्पत्तिलाई निजी लाभका लागि प्रयोग गर्नु राज्यसत्ता र शक्तिको दुरुपयोगमार्फत गरिएको संगठित आर्थिक अपराध हो। भक्तपुरस्थित रोजभिलेज हाउजिङमा घर ‘घुस’ स्वरूप प्राप्त गरेको प्रमाण सार्वजनिक भइसक्दा पनि सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीको दायरामा नल्याइनु स्वयं राज्य संयन्त्रले अपराधलाई संरक्षण गरेको प्रमाण हो। विज्ञप्तिमा थप उल्लेख छ– गोकर्ण रिसोर्ट, तहाचल र चितवनस्थित नेपाल ट्रस्टका जग्गाहरू नियमविपरीत लिजमा दिनु तथा गोकर्ण रिसोर्टको लिज अवधि बाँकी रहँदै वि.सं. २०७६ मा सन् २०५० सम्मका लागि लिज अवधि थपिनु राज्यसत्ता र शक्तिको चरम दुरुपयोग, अधिकारको नाङ्गो अपव्यय र योजनाबद्ध नीतिगत भ्रष्टाचार हो। यस सम्पूर्ण प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष संरक्षण र राजनीतिक हस्तक्षेप रहेको आशंका बलियो रूपमा उठेको छ। राजेश बज्राचार्यलाई अविलम्ब पक्राउ गरी निष्पक्ष अनुसन्धान अघि बढाउन र यस घोटालामा संलग्न सबै राजनीतिक संरक्षणकर्ता, निर्णयकर्ता र लाभग्राहीहरूलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरिएको छ। यस गम्भीर आर्थिक अपराधलाई ढाकछोप गर्ने, अनुसन्धान कमजोर बनाउने वा दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास भएमा अनेरास्ववियू (क्रान्तिकारी) कानुनी संघर्षसहित देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत दिएको छ।
नेपाली कम्युनिष्ट पार्टीद्वारा विभिन्न जिल्लामा पार्टी एकता सन्देश सभा, काठमाडौंमा पुस ५ मा
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीले पार्टी एकताको सन्देश प्रवाह गर्न देशव्यापी रूपमा आयोजना गर्दै आएको ‘पार्टी एकता सन्देश सभा’ अब राजधानी केन्द्रित हुँदैछ । यही पुस ५ गते काठमाडौंमा विशाल पार्टी एकता सन्देश सभाको आयोजना गरिएको छ र तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । विभिन्न प्रदेश र जिल्लामा यसअघि नै सभाहरू सम्पन्न भइसकेका छन् भने केही जिल्लामा बाँकी छन् । प्रादेशिक स्तरका सभाहरू पनि सफलता पूर्वक सम्पन्न भएका छन् । ती सभाहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, भीम रावललगायत शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । काठमाडौंको यो सभालाई पनि प्रचण्डसहित यिनै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीले यो सभालाई कम्युनिस्ट एकताको सशक्त सन्देश दिने ऐतिहासिक अवसरको रूपमा लिएको छ । तयारी धमाधम भइरहेको र ठूलो संख्यामा कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीले पार्टी एकताको सन्देश प्रवाह गर्न विभिन्न जिल्लामा पार्टी एकता सन्देश सभाको आयोजना गरिरहेको छ । विभिन्न जिल्लामा सम्पन्न भएका छन् भने अरु केही जिल्लामा बाँकी रहेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । यो अभियानले कम्युनिस्ट आन्दोलनमा नयाँ ऊर्जा भर्ने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन् ।
भीम रावलले दिए एमाले प्रतिनिधिलाई सुझाव: ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति अन्त्यको अवसर
काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता डा. भीम रावलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न सुझाव दिएका छन्। एमालेको जारी ११औं महाधिवेशनका सन्दर्भमा रावलले प्रतिनिधिहरूलाई यो अवसरलाई पार्टी संगठनलाई जनताको हितमा उपयोगी बनाउने दिशातर्फ प्रयोग गर्न आग्रह गरेका हुन्। १०औं महाधिवेशनलाई सम्झँदै उनले भनेका छन्, ‘अहिलेको घटनाक्रमबाट त्यसबेला मैले उठाएका कुराहरू कति सही थिए भन्ने स्पष्ट भएको छ। धेरैले केपी शर्मा ओलीको निरंकुश र स्वेच्छाचारी प्रवृत्ति तथा व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। त्यसैले ११औं महाधिवेशनलाई त्यस्तो प्रवृत्तिबाट पार्टी मुक्त गर्दै देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रूपमा प्रतिनिधिहरूले सदुपयोग गर्न सके उचित हुनेछ।’ उनले १०औं महाधिवेशनमा केपी शर्मा ओलीले निर्वाचनलाई स्वच्छ वातावरणमा सञ्चालन नगरी प्रतिनिधिहरूको चुनिने र चुनिने अधिकारमा अवरोध गरेको आरोप पनि लगाएका छन्। यसैबीच, एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। यसपटक केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।
सरकारले भारतीय २०० र ५०० रुपैयाँका नोट लान–ल्याउन प्रतिबन्ध हटायो
काठमाडौं । नेपाल सरकारले भारतीय २०० र ५०० रुपैयाँ दरका नोट लान–ल्याउन लगाइएको प्रतिबन्ध हटाएको छ। मन्त्रिपरिषद्को हालैको बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्मका २०० र ५०० दरका नोट नेपाल–भारत ओसारपसार गर्न पाउने व्यवस्था गरेको हो। यससँगै सन् २०१६ को भारतको नोटबन्दीपछि जारी भएका नयाँ नोटहरू मात्र चलनचल्तीमा ल्याउन सकिने प्रावधान राखिएको छ। “नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारु भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले बताए। यसअघि भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले विदेशी विनिमय व्यवस्थापन नियमावली संशोधन गर्दै २०० र ५०० दरका नोट नेपाल–भारत लान–ल्याउन अनुमति दिएको थियो। भारतले यो सुविधा खुला गरेपछि नेपाल सरकारले पनि प्रतिबन्ध हटाउने निर्णय गरेको हो। भारतले सन् २०१६ मा नोटबन्दी गर्दा पुराना ठूला दरका नोट प्रतिबन्धित गरेपछि नेपालमा रहेका त्यस्ता नोटको सटही नदिएको थियो। त्यसैले नेपालले १०० रुपैयाँभन्दा माथिका सबै भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो। खुला सीमाना र दुवै देशबीचको व्यापारिक निर्भरतालाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको हो। तर सन् २०१६ को नोटबन्दीका बेला नेपालमा रहेका पुराना ठूला दरका नोट (बैंकिङ प्रणालीमा मात्र करिब ५ करोड भारु) अझै सटही हुन बाँकी छ।
कृष्ण गोपालको प्रश्न: मदन भण्डारीको पार्टीमा विद्या नअटाउने यो भन्दा अर्को कुनै अपराध हुन्छ ?
काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा सचिव पदमा आफ्नो दाबी अघि सारेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । उनले ओलीकै कारण एमाले कमजोर भएको निष्कर्ष निकालेर पार्टीको अर्को समूहमा आफू खुलेको बताएका छन् । उनी सचिवका उम्मेद्वार पनि भएका छन् । विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै श्रेष्ठले मदन भण्डारीको विचार अघि बढेको पार्टीमा विद्या भण्डारी समेत नअटेको भन्दै उनले गुनासो गरे । उनले भने, ‘मदन भण्डारीको विचारकै कारण विकास भएको नेकपा एमालेभित्र विद्या भण्डारी अटेन । यो भन्दा अपराध र त्रुरता के हुन्छ ? उहाँजस्तै म पनि थिएँ । तर म पनि अट्न सकिनँ । ओलीजीको व्यवहारिक पक्षबाट अत्यन्तै पीडित भएँ ।’ अहिले कुनै पनि व्यक्तिलाई भगवान मान्ने कुरा नभएको उनको भनाइ थियो ।
निर्वाचनका लागि सरकार–दलहरूबीच घनिष्ट संवाद आवश्यक : माधवकुमार नेपाल
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमबार बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफूहरू निर्वाचनको पक्षमा रहे पनि सरकार र राजनीतिक दलहरूबीच गहन वार्ता हुन नसकेको बताए। नेता नेपालले भने, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था छ।” उनले आफ्नो पार्टी चुनावको तयारीमा जुटिरहेको तर सरकार र दलहरूबीचको संवाद पर्याप्त नभएको टिप्पणी गरे। जेनजी आन्दोलनपछि राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिए पनि पछिल्ला दलहरूका कार्यक्रमहरूले त्यो भाष्य गलत साबित गरेको उनको भनाइ थियो। नेपाली जनता सधैं राजनीतिक आस्थामा रहेको उल्लेख गर्दै उनले निर्वाचन सम्पन्न गर्न सरकारले दलहरूसँग संवाद गर्नु आवश्यक रहेको बताए। वर्तमान अवस्थामा ‘चुनावमा नै देश जाने हो कि होइन ?’ भन्ने प्रश्न खडा भएको उनको भनाइ छ।
ओलीसँग असन्तुष्ट लेखराज भट्ट सचिवको उम्मेदवार नबन्ने
काठमाडौं । अध्यक्षका दाबेदार केपी शर्मा ओली समूहबाट सचिव पदमा नाम फाइनल भएका लेखराज भट्टले आफू उम्मेदवार नबन्ने बताएका छन्। नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ओलीले पदाधिकारीहरूको नाम टुङ्गो लगाएका थिए। त्यस क्रममा सचिव पदमा नाम टुङ्गो लागेका भट्टले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। उनी पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन्। ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम फाइनल भएको छ। प्रदीप ज्ञवालीले महासचिवमा पनि आकाङ्क्षा राखेका थिए। तर अन्तिममा उनलाई उपाध्यक्षमा सहमति गराई महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ। पोखरेलले अन्तिम समयसम्म दाबी नछाडेपछि ज्ञवालीलाई उपाध्यक्षमा लगेर पोखरेललाई महासचिव बनाइएको हो। ओलीको रोजाइमा पनि पोखरेल नै परेका छन्। उपमहासचिवतर्फ तीन जना निर्वाचित हुनेमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुङ्गो लागेको छ। सचिवमा नौ जना निर्वाचित हुने व्यवस्था छ। ओली समूहबाट सचिव पदका उम्मेदवारमा पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम फाइनल भइसकेको छ। लेखराज भट्टले उम्मेदवार नबन्ने घोषणा गरेपछि उनको सट्टामा अर्को उम्मेदवार चयन गर्नुपर्ने भएको छ।
सरकारलाई चुनाव केन्द्रित काम गर्न राष्ट्रपतिकाे सुझाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान निर्वाचन सफलतामा केन्द्रित गर्न सरकारलाई स्पष्ट सुझाव दिएका छन् । उनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अनिवार्य रहेको उल्लेख गर्दै त्यसतर्फ राज्यका सबै संयन्त्र जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई असर पार्न सक्ने कुनै पनि गतिविधि, निर्णय वा कार्यशैलीबाट सरकार सचेत रहनुपर्ने बताए । उक्त जानकारी राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले दिए । राष्ट्रपति पौडेलले तोकिएको मितिमा निर्वाचन सम्पन्न हुनु संविधानको कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले निर्वाचन प्रक्रियालाई प्रभावित नगर्ने गरी सरकारका दैनिक गतिविधि, नीति तथा कार्यक्रम सञ्चालन गर्न समेत सुझाव दिए । साथै, चुनावको वातावरण सहज बनाउन सबै राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनले आपसी समन्वयमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रपतिले निर्वाचनलाई लक्षित गरी अघिल्ला निर्वाचनको अनुभवबाट सिक्दै यसपटक अझ बढी तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई निर्देशन दिएका थिए । शान्ति, सुरक्षा र सुव्यवस्थाको सुनिश्चितताले मात्र नागरिकलाई निर्भीक भएर मतदान गर्ने वातावरण निर्माण हुने उनको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमा देशको समग्र सुरक्षा अवस्था, चुनौती र भावी रणनीतिबारे उल्लेख गरिएको जनाइएको छ । राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा उत्पन्न हुन सक्ने आन्तरिक र बाह्य सुरक्षा चुनौतीहरूको यथोचित मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने मूल आधार नै समयमै हुने निर्वाचन भएकाले त्यसको सफलतामा कुनै कसर बाँकी नराख्न सबै पक्षलाई आह्वान गरिन ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा कर्णाली नेकपा संसदीय दल नेता चयनमा चासो
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा आयोजित ‘एकता सभा’ का क्रममा प्रचण्डसहित सहसंयोजक माधवकुमार नेपाल र नेता कालिबहादुर मल्लको उपस्थितिमा बसेको संसदीय दलको बैठकमा प्रचण्डले दल नेता चयन र आगामी रणनीतिबारे छलफल गरेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भई बनेको नेकपामा कर्णाली प्रदेशसभामा हालसम्म संसदीय दलका पदाधिकारी चयन हुन सकेका छैनन् । प्रचण्डले पदाधिकारी चयन दलभित्रै सहमतिका आधारमा गर्न र प्रतिपक्षी भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सहमति नजुटे प्रदेश पार्टी कमिटीले निर्णय लिने उनको भनाइ छ । बैठकमा माधवकुमार नेपालले भने यस विषयमा औपचारिक धारणा राखेनन् । केवल सांसदहरूसँग परिचयात्मक छलफल गरेका थिए । कर्णाली प्रदेशसभामा नेकपासँग १४ सांसद (माओवादी १३ र समाजवादी १) छन् र यो दोस्रो ठूलो दल हो । दल नेताका लागि विन्दमान विष्ट, कृष्णबहादुर जिसी, मंगल शाही, महेन्द्र केसी र दुर्ग रावतलगायतले दाबी गरेका छन् ।
चम्पादेवी हाइकिङमा ढलेका भारतीय राजदूतको मुटुको अपरेसन सफल
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बेहोस भएपछि मुटुको सफल अपरेसन गरिएको छ। धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ती राजदूत श्रीवास्तवको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार, उनलाई हर्ट अट्याक भएको थियो र मुटुको देब्रे नशामा ब्लकेज देखिएकोले स्टेन राखेर नशा खोलिएको छ। सर्जरी सफल भएको र उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ। भारतीय दूतावासका अनुसार, हाइकिङकै क्रममा राजदूत एक्कासी ढलेपछि अवस्था गम्भीर बनेको थियो। तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको थियो। हाइकिङमा दूतावासका दुई जना अधिकारी पनि उनका साथमा थिए। ढलेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षकको नेतृत्वमा दुई दर्जन सुरक्षाकर्मी भस्मेसुर डाँडातर्फ खटिएका थिए। टोलीमा रहेका एक सुरक्षाकर्मीले भने, "भिराली पहरा र जंगलले लोकेसन पुग्न गाह्रो भयो। हामी पुग्दा उहाँ बेहोस नै हुनुहुन्थ्यो।" अस्पतालले राजदूतको अवस्था सुधारोन्मुख रहेको जनाएको छ।
प्रचण्डद्वारा एनपीएल-२ विजेता लुम्बिनी लायन्सलाई बधाई ज्ञापन: क्रिकेटले देशलाई एकताबद्ध पारेको छ
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)-२ को रोमाञ्चक उपाधि जित्ने लुम्बिनी लायन्सलाई हार्दिक बधाई व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको धारणामा उनले नेपाली क्रिकेटको सफलताले देशलाई विश्वमञ्चमा उजागर गरेको बताएका छन् । प्रचण्डले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत लेखेका छन्, "नेपाल प्रिमियर लिग–२ मा सबैलाई चकित पार्दै उपाधि जित्न सफल भएकोमा टिम लुम्बिनी लायन्सलाई हार्दिक बधाई । उत्कृष्ट प्रदर्शनसहित फाइनलमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सलाई सम्मान व्यक्त गर्दछु । साथै सहभागी अन्य सबै टिमको निरन्तर प्रगतिको कामना ।" उनको धारणामा क्रिकेटको भूमिकालाई जोड दिँदै भनिएको छ, "क्रिकेटले आज नेपाललाई जोडेको छ, देशको शिर विश्वसामु उँचो बनाएको छ । आगामी दिनमा नेपाली क्रिकेटले अझ ठूलो फड्को मारोस्, हार्दिक शुभकामना ।" यो भनाइले नेपाली क्रिकेटको विस्तार र राष्ट्रिय एकताको सन्देश बोकेको छ ।
सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै एनपिएल क्रिकेटको उपाधि लुम्बिनीलाई
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको रोमाञ्चक फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर उपाधि जितेको छ । यो जितसँगै लुम्बिनीले लगातार दोस्रो पटक फाइनलमा पुगेर ट्रफी कब्जा गरेको छ, भने सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष उपविजेतामै सीमित रह्यो । टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यानहरू निराशाजनक प्रदर्शन गरे । पूरै टिम १३ दशकमा सबै विकेट गुमाएर मात्र ८५ रन जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको लुम्बिनी लायन्सले ८६ रनको सजिलो लक्ष्य ९ दशकमा ४ विकेट गुमाएर पूरा गर्यो । यससँगै लुम्बिनीले सहज जित निकाल्दै उपाधि कायम राख्यो । लुम्बिनीको इनिङमा ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरेर टिमलाई मजबुत आधार प्रदान गरे । उनले मात्र १३ बल खेल्दै ४२ रनको आक्रामक पारी खेले । अर्का ओपनर डार्सी शर्टले १३ बलमा १४ रन थपे, भने नटआउट निरोशन डिक्वेलाले १२ बलमा ११ रन बनाए । कप्तान रोहित पौडेलले १२ बलमा १६ रनको योगदान दिए । सन्दिप जोराले शून्य रनमा आउट भए पनि, नटआउट रहेका दिलिप नाथले १ रन थपे । लुम्बिनीले २ अतिरिक्त रन पनि प्राप्त गरेको थियो । बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए । हेमन्त धामीले २ विकेट हात पारे भने अविनाश बोहराले १ विकेट लिए । तर, सुदूरका बलरहरूले लुम्बिनीलाई रोक्न नसक्दा टिम हार्न बाध्य भयो ।
म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौं, तर केही गरेनन् भन्छन्: माधवकुमार नेपाल
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरूको बचाउ गर्दै आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरू भएको दाबी गर्नुभयो । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौं, तर केही गरेनन् भन्छन् ।’ मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्त्वपूर्ण परियोजनाहरू कम्युनिस्ट सरकारकै पालामा भएको उहाँको दाबी छ । जनअपेक्षा अनुसार जति काम हुनुपर्ने थियो, त्यो नभएको हुन सक्ने स्वीकार गर्दै उहाँले भन्नुभयो, ‘जति गर्न सक्नुपर्थ्यो त्यो नभएका होलान्, तर केही नभएको होइन । हामीले शिर निहुराउनुपर्ने अवस्था छैन ।’ सम्बोधनका क्रममा नेता नेपालले अबको पार्टी इमानदारहरूको पार्टी हुने बताउनुभयो । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन भने तथा साझा भावना अगाडि बढाउन सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर नै पार्टी एकता गरेका हौं ।’

