तीन करोड नेपाली एकताबद्ध भएमा संसारको जुनसुकै शक्तिलाई पराजित गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं  – नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रवासी नेपालीहरूलाई एकताबद्ध भएर राष्ट्र निर्माणको यात्रामा योगदान दिन आह्वान गर्नुभएको छ।  'प्रवास एकता सन्देश सभा'लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन समुदायमा आधारित समाजवादको अवधारणालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो।

 

प्रचण्डले नेपालमा समृद्धिको यात्रा गर्न सम्भव रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई हब बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "नेपाल बनाउनु पर्छ भन्ने संकल्प लिनुपर्छ। समुदायमा आधारित समाजवाद तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्छ।" यसका लागि राष्ट्रको स्वाधीनता र आत्मसम्मानका लागि नेपाली जनता अझ बढी जागरुक बन्नुपर्ने उहाँको भनाइ थियो।

विश्वव्यापी परिवर्तनको सन्दर्भमा प्रचण्डले तीन करोड नेपालीलाई एकताबद्ध बनाएमा संसारको कुनै पनि शक्तिलाई पराजित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, 'अहिले हामीले हतियार वा आणविक भट्टी बनाएर युद्ध गर्न सम्भव छैन । तर, तीन करोड नेपाली एकताबद्ध भएमा संसारको जुनसुकै शक्तिलाई पराजित गर्न सकिन्छ ।' उहाँले इतिहासमा ठूला–ठूला शक्तिहरूसँग जनताको एकताबाट विजयी प्राप्त भएको उदाहरणलाई आत्मसात गर्दै आगाडि बढ्नुपर्ने जोड दिनुभयो।

प्रवासी नेपालीहरूको मुद्दालाई विशेष जोड दिँदै प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई नेपाल फर्किने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूको हितको रक्षा गर्न र उनीहरूलाई आवश्यक अधिकार प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। नागरिकताको समस्याले नेपालमा लगानी गर्ने वातावरण अझै बनेको नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, "संविधानले प्रत्याभूत गरेको नागरिकताको अधिकारअन्तर्गत केही प्रतिनिधि पात्रहरूलाई मैले नै नागरिकता प्रदान गरेको थिएँ। तर, आवश्यक नीति नबन्दा  उक्त नागरिकता अधिकार बीहिन जस्तो भएको छ।"

यसैगरी, विदेशमा बसोबास गर्ने नेपालीहरू एक तिहाइ जनसंख्यामा रहेको सन्दर्भमा उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने उहाँको मत थियो। उहाँले आफ्नो पार्टीले प्रवासी नेपालीहरूको मताधिकारका लागि निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो। यस प्रयासले प्रवासी समुदायलाई राजनीतिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई जारी गरेकाे २० बुँदे निर्देशनमा के छ ?

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११  गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।  निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ । राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसदमा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नेछ ।  यस्तै, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि गर्न पाइनेछैन । मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्ने, राजनीतिक दलको घोषणा पत्र लगायतका दस्तावेजमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्नुपर्नेछ । महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि आरक्षण गरिएका पद बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तिमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्नुपर्नेछ । राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चितता गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य नपाइने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवम् प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार गर्न पाइने छैन । राजनीतिक दलले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ । राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशीता, निर्वाचनको महत्व र मतदान गर्ने तरीकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्नुपर्ने र त्यस्तो आचारसंहिता सम्बन्धित दल, दलका पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्नेछ । त्यस्तो आचारसंहिता पालना नगर्ने दलका पदाधिकारी, सदस्य तथा कार्यकर्तालाई दललको विधान बमोजिम कारवाही गर्नुपर्ने भन्ने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ । राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवम् जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा बिभिन्न जात,जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिँसात्मककार्य गर्न बन्देज गरिएको छ । सरकारी, सार्वजनिक, सामुदायिक वा नीजि सम्पतिको तोडफोड हानि नोक्सानी वा क्षति पुर्‍याउने वा पुर्‍याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक दलले निर्वाचन घोषणापत्र बनाइ आयोगमा पेश गर्ने र सो घोषणापत्रको आधारमा निर्वाचन प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक दलहरूले राजनीतिक गतिविधि गर्दा बालबालिकालाई प्रयोग नगर्ने नगराउने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै, दलले राजनीतिक वा निर्वाचनसँग सम्बन्धित गतिविधि गर्दा एक दलले अर्को दललाई वाधा अरोध गर्ने, थुनछेक गर्ने वा गराउने, निषेध गर्ने वा गर्न लगाउने जस्ता अलोकतान्त्रिक कार्य गर्न पाइनेछैन । 

देउवा-ओली भेटवार्ता: राष्ट्रिय सभा निर्वाचन र समसामयिक विषयमा छलफल

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास महाराजगञ्ज पुगेका छन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार दिउँसो साढे ३ बजे भेटवार्ता हुने कार्यक्रम थियो, र अहिले उनीहरूबीच छलफल भइरहेको छ। भेटमा ओली र देउवाका अलावा आरजु राणा र राधिका शाक्य पनि सहभागी छन्। भदौ २३–२४ गते भएको जेनजी आन्दोलनपछि दुई नेताबीच यो पहिलो औपचारिक भेटवार्ता हो। त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो, तर आन्दोलनपछि भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। भेटवार्तामा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। यसैबीच, भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा उनमाथि भएको आक्रमणपछि उनी सिंगापुरमा उपचार गराएर फर्केका थिए। यो भेटले गठबन्धन पुनर्स्थापनाको सम्भावना बढाउने राजनीतिक विश्लेषकहरूको मत छ। थप विवरणका लागि दुवै दलका नेताहरूको प्रतिक्रिया पर्खनुपर्ने अवस्था छ।

प्रधानमन्त्रीको आव्हानमा आज सर्वपक्षीय बैठक, नेकपाबाट शक्ति बस्नेत र प्रकाश ज्वाला सहभागी हुने

काठमाडौं – आगामी निर्वाचनको तयारी र सुरक्षाका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख पाँच राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक बोलाएकी छन्। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दिएको जानकारीअनुसार, यो सर्वपक्षीय छलफलले निर्वाचन प्रक्रिया सहज र शान्तिपूर्ण बनाउन आवश्यक रणनीतिमा केन्द्रित हुनेछ। बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) सहितका पाँच प्रमुख दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रत्येक दलका तर्फबाट दुई–दुई जना प्रतिनिधि बोलाइएको मन्त्री खरेलले बताए। नेकपाको तर्फबाट बैठकमा शक्तिबहादुर बस्नेत र प्रकाश ज्वालाले प्रतिनिधित्व गर्ने पार्टीले जनाएको छ। अन्य दलहरूका प्रतिनिधिहरूको विवरण तत्काल उपलब्ध नभए पनि, बैठकले निर्वाचनको मिति घोषणा, मतदाता शिक्षा, सुरक्षा व्यवस्था र सम्भावित चुनौतीहरूको सम्बोधनमा विशेष जोड दिने अपेक्षा गरिएको छ। निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका उच्च अधिकारीहरू पनि उपस्थित हुनेछन्। सरकारका एक अधिकारीका अनुसार, यो बैठकले राजनीतिक दलहरूबीचको सहकार्यलाई मजबुत बनाउने र निर्वाचनलाई निष्पक्ष तथा हिंसारहित बनाउने उद्देश्य राखेको छ। विगतका निर्वाचनहरूमा देखिएका सुरक्षा समस्याहरूलाई ध्यानमा राख्दै यो छलफलले ठोस कार्ययोजना तयार पार्न योगदान पुर्‍याउने विश्वास गरिएको छ। यो बैठकले नेपालको राजनीतिक वातावरणलाई थप सकारात्मक बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता निवेदन दिएका सबै १३ दलको दर्ता स्वीकृत गरी उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यस निर्वाचनमार्फत रिक्त भएका १८ पद पूर्ति हुनेछन् भने अर्को एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १३ दलले दर्ता निवेदन दिएका थिए । सबै दलको दर्ता स्वीकृत गर्दै आयोगले निर्वाचनमा भाग लिने दलहरूको क्रमसमेत निर्धारण गरेको छ । २०७९ सालको प्रतिनिधि सभा समानुपातिक प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा पुराना दलहरूको क्रम निर्धारण गरिएको छ भने नयाँ दर्ता भएका दललाई दल दर्ता निवेदनको दर्ता क्रमअनुसार मतपत्रमा स्थान दिइनेछ । आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्रमा क्रमशः नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी–नेपाल पाँचौँ स्थानमा रहनेछन् । त्यसपछि जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टीको क्रम पर्नेछ । नयाँ दर्ता भएका दुई दल—नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टी- भने मतपत्रको पुछारतिर सूचीकृत हुनेछन् । यी दुई दलसहित नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन । आयोगका अनुसार सबै दललाई प्रदान गरिएको निर्वाचन चिह्न सातै प्रदेशमा एउटै रहनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा कोशीबाट ३, मधेशबाट ४, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट २–२ र लुम्बिनीबाट ३ सदस्य निर्वाचित हुनेछन् । साथै एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेको छ । राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ । सभा सदस्य निर्वाचन ऐनअनुसार पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि रिक्त पदको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

भरतपुरमा देशकै लामो ८८ किमीको रिङरोड निर्माण जारी, महानगर प्रमुख दाहालले गरिन् अनुगमन

भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन देशकै सबैभन्दा लामो ८८.६ किलोमिटर लम्बाइको महानगरीय रिङरोड (चक्रपथ) को बुधबार स्थलगत अनुगमन गरिएको छ। महानगरपालिकाकी प्रमुख रेनु दाहालको नेतृत्वमा सडक डिभिजन कार्यालय चितवनको टोलीले संयुक्त रूपमा यो परियोजनाको निरीक्षण गरेको हो। अनुगमनका क्रममा निर्माण कार्य जारी छ, जसले स्थानीय स्तरमा यातायात सुगमता र आर्थिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ। महानगर प्रमुख रेनु दाहालले अनुगमनपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार, यो रिङरोडको गुरुयोजना तयार भइसकेको छ र यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त नेशनल हाईवे (NH) सँग समावेश गरिएको छ। "देशकै सबैभन्दा लामो ८८ किमी लम्बाइ रहेको चक्रपथ (भरतपुर महानगरीय रिङ्ग रोड) को बुधबार स्थलगत अनुगमन गरिएको छ। भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालयको टोलीले संयुक्त रूपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। रिङ्ग रोड निर्माणको काम लगभग सम्पन्नको चरणमा रहेको छ। महानगर रिङरोडको गुरुयोजना तयार भई नेशनल हाईवे (NH) सडकमा समावेश समेत भएको छ," प्रमुख दाहालले लेखेकी छन्। यो परियोजना नेपालकै सबैभन्दा लामो महानगरीय रिङरोडका रूपमा चिनिन्छ, जसको कुल लागत करिब ८ अर्ब २० करोड रूपैयाँ अनुमान गरिएको छ। सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा सञ्चालित यो योजनाले भरतपुरलाई एकीकृत शहरी पूर्वाधारसँग जोड्नेछ।   महानगर प्रमुख दाहालको कार्यकालमा भरतपुरले सडक पूर्वाधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। विगत चार वर्षमा ६१० किलोमिटर सडक कालोपत्रे, ६ लेनको सडक निर्माण र हुलाकी सडकको १९ किलोमिटर विस्तारजस्ता काम सम्पन्न भएका छन्। यसअघि ६६ किलोमिटर लम्बाइको रिङरोड सञ्चालनमा रहे पनि, यो नयाँ ८८ किमी चक्रपथले मेघौली–गोलाघाट सहायक राजमार्गसँग जोडिएर चितवनको यातायात सञ्जाललाई मजबुत बनाउनेछ। प्रमुख दाहालले यसलाई "भरतपुरको समृद्धि यात्राको महत्वपूर्ण खम्बा" को रूपमा वर्णन गर्दै आएकी छन्। अनुगमन टोलीले निर्माण स्थलहरूको गुणस्तर जाँच गर्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएको छ। यस परियोजनाले स्थानीय किसानहरूको कृषि उत्पादन बजारसम्म पुर्‍याउन, पर्यटन प्रवर्द्धन गर्न र शहरी भीडभाड घटाउन सहयोग पुर्‍याउने अपेक्षा छ। सडक डिभिजन कार्यालयका अनुसार, यो रिङरोड पूर्ण रूपमा सञ्चालनमा आएपछि भरतपुर महानगरलाई नेपालकै उत्कृष्ट शहरी पूर्वाधार भएको नगरका रूपमा स्थापित गर्न योगदान दिनेछ। भरतपुर महानगरपालिका सञ्चालित यो परियोजना प्रमुख दाहालको नेतृत्वमा भएको विकासको प्रतीक मानिन्छ।  

सर्वोच्च जलाउनेको बयान : ‘राजनीतिक आस्थाका आधारमा फैसला गर्न थाल्यो भनेर जलाएका हौं’

काठमाडौं – जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा सर्वोच्च अदालतमा आगजनी र हतियार लुटपाट गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्राट परियार, एलेक्स पराजुली, ब्राउन श्रेष्ठ र ज्योती थापा घताने छन्। प्रहरी अनुसन्धानमा उनीहरूले भीडमा बहकिएर घटना गरेको बयान दिएका छन्। आरोपी ज्योतीले भने सर्वोच्चले राजनीतिक आस्थाका आधारमा छानीछानी फैसला गर्न थालेपछि पुनर्संरचना आवश्यक ठानेर आगो लगाएको बताएकी छन्। सम्राटको आपराधिक पृष्ठभूमि खुलेको छ, जसमा ठगी र बैंकिङ कसुरका मुद्दा छन्। एलेक्स र ब्राउनले प्रहरीबाट लुटेको हतियार सर्वोच्चभित्र प्रदर्शन गरेका थिए। प्रहरीले हतियार बरामद गर्न सकेको छैन, उनीहरूले सेनालाई बुझाएको दाबी गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले थप दोषी पहिचान र खोजी जारी रहेको बताए। घटनामा सिंहदरबार जलाउने समूह नै डाइभर्ट भएको देखिएको छ।

सांस्कृतिक विविधताबाट राष्ट्रिय एकता सुदृढ हुने विश्वाससहित  उधौली र योमरी पुन्हिकाे अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौं । किरात समुदायको मुख्य पर्व उधौली, नेवार/ज्यापु समुदायले मनाउने योमरी पुन्हि (ज्यापू दिवस) तथा हिन्दू धर्मावलम्बीहरूले पालना गर्ने धान्यपूर्णिमाको अवसरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई विशेष शुभकामना दिनुभएकाे छ ।  तीनवटै महत्वपूर्ण चाडपर्व एकै दिन पर्दै गर्दा प्रचण्डले जारी गर्नुभएकाे शुभकामना सन्देशमा सांस्कृतिक विविधता, सहअस्तित्व र सामाजिक सद्भावको महत्त्वलाई विशेषरूपमा जोड दिनुभएकाे छ । उहाँका अनुसार प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकका रूपमा मनाइने यी पर्वहरूले नेपाली समाजमा गहिरो सांस्कृतिक मूल्य र साझा पहिचान निर्माणमा निरन्तर भूमिका खेलेका छन् । प्रचण्डले नेपालको सांस्कृतिक विविधतालाई मुलुकको वास्तविक सम्पत्ति भन्दै त्यसको संरक्षण तथा सम्मानमार्फत मात्र समावेशी राष्ट्र निर्माण सम्भव हुने टिप्पणी गर्नुभएकाे छ । “सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्र समावेशी तथा सहभागितामूलक राष्ट्र निर्माण सम्भव छ,” सन्देशमा उल्लेख गर्नुभएकाे छ ।  उहाँका अनुसार विभिन्न जाति–समुदायका चाडपर्वहरूले गाउँदेखि शहरसम्मका नेपालीलाई एक सूत्रमा बाँध्दै आएको उल्लेख गर्दै मुलुकको दीर्घ सामाजिक विकास यात्रामा सामूहिक चेतना तथा अन्तरसम्बन्ध निर्माणमा यिनै विविधताले महत्वपूर्ण योगदान दिंदै आएको बताउनु भएकाे छ ।  देश अहिले जटिल र अनिश्चिततापूर्ण राजनीतिक मोडमा हुँदासमेत यस्ता चाडपर्वहरूले समाजमा सकारात्मक ऊर्जा, आपसी विश्वास र सहिष्णुताको वातावरण निर्माण गर्न मद्दत गर्ने प्रचण्डको विश्वास छ । उहाँले भन्नुभएकाे छ, “वर्तमान जटिल राजनीतिक परिस्थितिका बीचमा सामूहिकता, एकता र सहअस्तित्वका प्रतीक यी चाडपर्वहरूले अग्रगामी रूपान्तरणका पक्षधरबीच आपसी विश्वास, राष्ट्रिय एकता र सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास गर्दछु ।” शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मंगलमय शुभेच्छा व्यक्त गर्नुभएकाे छ । यस्ता चाडपर्वहरूले आपसी सद्भाव, सहिष्णुता, मिलन र एकताबोधलाई अझ मजबुत बनाओस् भन्ने आकांक्षा पनि व्यक्त गरिएको छ ।  

विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो: अध्यक्ष दाहाल

काठमाडौँ ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबिच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।  किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको यःमरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उनले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामनासमेत गरेका छन् ।  अध्यक्ष दाहालद्वारा जारी सन्देशमा भनिएको, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त स्वाधीन राष्ट्र हो । हाम्रो संविधानले हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ । हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन् ।  हामी सबै नेपाली भए पनि अलग–अलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएका छौँ । विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो ।’  कृषि प्रणालीमा आधारित उँधौली पर्वमा किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने र पितृलाई स्मरण गर्दै धुमधामसहित मनाउने गर्दछन् । यस पर्वमा उनीहरूले सांस्कृतिक पहिरन, मौलिक संस्कृतिमा आधारित बाजागाजासहित गीत गाउँदै, नाच्दै रमाइलो गर्दछन् । उँधौली पर्वजस्तै नेवार समुदायमा यःमरि पुन्हि पनि कृषि प्रणालीसँग सम्बन्धित छ । नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासमा यो पर्व मनाउने चलन छ ।  उनले भने, ‘आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवर्द्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा रहेका उँधौली पर्व, यःमरि पुन्हि तथा ज्यापू दिवसका अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

किराँती समुदायकाे आज महान पर्व उधौली

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो ।  आज संयुक्त रूपमा यस समुदायका सबैले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन्। किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।  भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।  ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ ।  पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।  वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रूपमा समेत लिइने अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ । उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् । यःमरी पूर्णिमा  आजकै दिन नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अर्थ र कानुनमन्त्रीको भेटघाट

काठमाडौं  – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा भएको भेटमा राष्ट्रिय सभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्‌बीचको समन्वय तथा सहकार्यलगायतका समसामयिक विषयमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ।

३४‍ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सम्मान र अधिकार सुनिश्चिततामा जोड दिँदै प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौं । ३४‍औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश–विदेशमा रहेका सम्पूर्ण अपाङ्ग समुदायप्रति हार्दिक सम्मान र शुभकामना व्यक्त गर्नुभएकाे छ ।  दिवसको सन्दर्भमा जारी सन्देशमा उहाँले यो दिन संयुक्त राष्ट्रसंघले सन् १९९२ मा घोषणा गरेको औपचारिकता मात्र नभई नेपालले संविधानमार्फत प्रत्याभूत गरेका अधिकार तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि प्रतिवद्धता दोहोर्याउने अवसर रहेको पनि बनाउनु भएकाे छ । उहाँका अनुसार मुलुकको राजनीतिक यात्राका कठिन मोडहरू—विशेषगरी जनयुद्धलगायत परिवर्तनका निर्णायक आन्दोलनमा सहभागी भएर अपाङ्ग बनेका हजारौँ व्यक्तिहरूको योगदान अमूल्य छ । “उहाँहरूको साहस, दृढता र समर्पणले हामीलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको छ,” प्रचण्डले भन्नुभएकाे छ ।  देश अहिले राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै दाहालले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्रनिर्माणको मुख्य आधार बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएकाे छ । उहाँका अनुसार समावेशी विकास, पहुँच–सहितका पूर्वाधार, उपचार, शिक्षा तथा रोजगारीमा समान अवसर र सम्मानजनक जीवनका आधारहरू सुनिश्चित नगरिकन समृद्ध नेपाल निर्माण सम्भव छैन । यस अवसरमा उहाँले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथि हुने सामाजिक विभेद अन्त्य गर्न, उपचार तथा जीविकोपार्जनको ग्यारेन्टी गर्न र सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण निर्माणमा सरकार, राजनीतिक दल, सामाजिक संस्था तथा समुदाय सबैले हातेमालो गर्न आग्रह गर्नुभएकाे छ । 

केशरमहल चोकमा कारकाे ठक्कर : पैदलयात्रीको घटनास्थलमै मृत्यु, ट्राफिक प्रहरी गम्भीर घाइते

काठमाडौं । काठमाडौंको केशरमहल चोकमा मंगलबार अपराह्न ३ बजे कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने ट्राफिक प्रहरी एक जना गम्भीर घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार, बा १ च ०३० २३४८ नम्बरको कारले ट्राफिक कोणमा ठक्कर दिएको थियो । ठक्करबाट घाइते पैदलयात्री पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । यसैबीच, ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत हवल्दार परशुराम ठाकुरको दुवै खुट्टा र छातीमा चोट लागेको छ । उनी नेपाल प्रहरी अस्पतालमा उपचाररत छन् । प्रहरीले घटनाको अनुसन्धान र कार चालकविरुद्ध कारबाही अघि बढाएको जनाएको छ ।  

ओलीको स्वेच्छाचारिता : ताप्लेजुङका दुई नेता निलम्बन

काठमाडौं। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीले ताप्लेजुङका दुई नेतालाई महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा अवरोध गरेको आरोपमा पद निलम्बन गरेको छ । कोसी प्रदेश कमिटीले मणिशंकर पोमु (प्रदेश सल्लाहकार सदस्य तथा पूर्व पर्यटन विभाग सचिव) र बलबहादुर साम्सोहाङ (पूर्वमन्त्री) लाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न समय दिएको छ । यो अवधिभर उनीहरूलाई पदबाट निलम्बन गरिएको छ । स्पष्टीकरण सन्तोषजनक नभए थप कारबाही हुने प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए । उनका अनुसार, स्पष्टीकरण पत्रमा उनीहरूमाथि निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला गरेको आरोप लगाइएको छ । यो घटना महाधिवेशन प्रतिनिधि चयनको क्रममा भएको थियो, जसमा ताप्लेजुङमा सहमतिमा प्रतिनिधि चयन गरिएको थियो । प्रदेश कमिटीले जिल्ला कमिटीको सिफारिस र छानबिनका आधारमा यो निर्णय लिएको खतिवडाले नेपालखबरसँग भने । 'हामीले घटनाको विवरण बुझ्न मात्र स्पष्टीकरण सोधेका हौँ, पार्टी सदस्यता निलम्बन भनेको होइन,' खतिवडाले स्पष्ट पारे । निलम्बित पोमुले भने, 'जस्तोसुकै परिस्थितिमा सामना गर्न तयार छौँ । सांगठनिक अराजकताविरुद्ध निरन्तर लड्छौँ ।' यो घटनाले महाधिवेशन तयारीमा आन्तरिक विवाद बढेको देखिन्छ, जसलाई केहीले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारितासँग जोडेर हेरेका छन् । दुवै नेताहरू योगेश भट्टराई निकट मानिन्छन्

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकता सन्देश सभाको आयोजना गर्ने

जनकपुरधाम । १६ वटा राजनीतिक दलहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर २० गते जनकपुरधामको तिरहुतिया गाछिमा भव्य 'एकताको सन्देश सभा' आयोजना गर्ने भएको छ । सांगठनिक सुदृढीकरण र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि आयोजित यो सभामा नेकपाका शीर्ष नेताहरूको उपस्थिति रहनेछ । पार्टीका नेता महेन्द्रराय यादवले सभाले एकताको प्रक्रियालाई थप मजबुत बनाउने र निर्वाचनका लागि तयारीको सन्देश दिने बताए । प्रदेशका ८ वटै जिल्लामा सहजकर्ताहरू खटाइएका छन्, जसले आम नागरिकहरूलाई सभामा सहभागी गराउन सहजीकरण गरिरहेका छन् । अनुमानअनुसार ४० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।  

राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र नपुग्ने रहेछ, जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ: प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र नपुग्ने बताउँदै जनताको ‘राष्ट्रिय फौज’ बनाउनु पर्ने बताउनु भएकाे छ । विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने उहाँले नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताउनु भएकाे हाे । सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठूला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामथ्र्य नभएको, तर जनताको तागत भने रहेको बताउनु भयाे ।  ‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भन्नुभयाे, ‘अहिले तत्काल ठूला शक्तिसँग लड्न मिसाइल बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’ प्रचण्डले भदौ २४ गते भएको घटनालाई ‘असाधारण संकट’ को संज्ञा दिनुभयाे । उहाँले उक्त दिन ऐतिहासिक धरोहरहरु जलेर ध्वस्त भएको र देश झन्डै दुई दिनसम्म राज्यविहीनताको अवस्थामा पुगेको दाबी गर्नुभयाे । ‘त्यो विध्वंस र षड्यन्त्रले नेपाल असाधारण संकटमा गयो । त्यसको साक्षी म र माधवकुमार नेपाल थियौं,’ उहाँले भन्नुभयाे, ‘नारायणहिटी सरसफाइ भएर राजा ल्याउने वा सेनाले सत्ता लिने भन्ने खालका सन्त्रासको परिस्थिति सिर्जना भएको थियो ।’ उहाँले अहिले पनि राष्ट्र संकटमै रहेको उल्लेख गर्नुभयाे ।  प्रचण्डले जेनजीको आन्दोलनले पुराना राजनीतिक दलहरुलाई झकझक्याएको स्वीकार गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘जेनजी पुस्ताका युवाहरुको आन्दोलनले हामीलाई आत्मसमीक्षा गर्न प्रेरित गर्यो । कहाँ गल्ती भयो भनेर सोच्न बाध्य बनायो ।’ अब विचार बुढो र तन्नेरी नहुने भन्दै उनले छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने बताउनुभयाे ।  ‘हामी धेरै पछि परिसकेका छौं । अब जेनजीहरुसँग वार्ता र संवाद गरौं, सबै आफैंले जानेजस्तो नगरौं,’ प्रचण्डले भन्नुभयाे, ‘अहिले जेनजीहरुले हाम्रो अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’ प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी दिनुभयाे । उहाँले चुनाव गराउने म्यान्डेट पाएको सरकारले दीर्घकालीन असर पर्ने खालका सन्धि सम्झौता गर्न नहुने बताउनु भयाे । ‘यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरित हुन्छ,’ उहाँले भन्नुभयाे, ‘हामी चुनावमा होमिसक्यौं । सरकारले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाओस् ।’ सम्बोधनको अन्त्यमा प्रचण्डले आफ्नो उमेरमाथि प्रश्न उठाउनेहरुलाई कडा चुनौती दिनुभयाे । ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सरसाइज कति गर्ने हो, म युवाहरुसँग गर्न चाहेको छु,’ प्रचण्डले भन्नुभयाे, ‘भुईंफुट्टा, इतिहासविहीन र विचारविहीनले गरेको हो–हल्लाको पछि नलाग्नुहोला ।’ उहाँले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी गर्नुभयाे ।