काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई पितृशोक, प्रचण्डद्वारा समवेदना प्रकट

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको प्रति नेपाली कम्युनिस्ट पार्टी नेपालका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नु भएकाे छ । 

प्रचण्डले फेसबुक मार्फत एक सानाे विज्ञप्ति जारी गर्दै मेयर साहका बुबाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे हाे । 

उहाँले दुःखद घडीमा साह परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएकाे छ । 

प्रचण्डले भन्नुभएकाे छ- “काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहलाई पितृशोक परेकोमा गहिरो दुःख व्यक्त गर्दछु । दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकग्रस्त परिवारजनलाई धैर्य तथा शक्ति मिलोस् ।”

नेकपाको एकता सन्देश सभा पोखरामा सुरु, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

पोखरा  – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभा पोखरामा सुरु भएको छ । चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आयोजना भएको सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  पूर्वप्रधानमन्त्री प्रचण्डसहितका पार्टीका शीर्ष नेताहरु बिहान पोखरा पुगेका थिए । सभाले पार्टीको एकताको सन्देशलाई प्रदेशभरि फैलाउने अपेक्षा गरिएको आयोजक समिति सदस्य दीननाथ शर्माले उल्लेख गरे। 

व्यापारीको नाममा एमाले र राजावादीद्वारा नेपाली कम्युनिष्ट पार्टीको सभा विथोल्ने प्रयास

पोखरा । नेपाली कम्युनिस्ट पार्टीले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीको नाममा एमाले र राजावादीहरुले अवरोधको प्रयास गरेका छन् । पर्चा, पोष्टरसहित संगठितरुपमा सभास्थलमा अवरोधको प्रयास भएको हो ।  जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर एकता सन्देश सभा आयोजना गरे पनि व्यवसायीको नाममा एमाले र राजावादीहरुले अवरोधको प्रयास गरेका नेपाली कम्युनिष्ट पार्टीका स्थानीय कार्यकर्ता विज्ञान श्रेष्ठले बताए ।  नेकपाले स्थानीय निकायबाटसमेत अनुमति लिएको छ ।  सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेतृत्वले सम्बोधन  गर्ने तयारी छ । 

स्मृतिमा कमरेड सुनिल र निर्मम: जब शाही सेनाले जहाज र दुईवटा हेलिकप्टरबाट आक्रमण गर्यो...

रमेश मल्ल अब जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको पार्टीको निष्कर्ष थियो। संघर्षको मुख्य साधनको रूपमा रहेको जनमुक्ति सेनालाई सात डिभिजनमा विस्तार गर्ने पार्टीको निर्णय भएको थियो। पार्टी निर्णयअनुसार तत्कालीन राप्ती क्षेत्रलाई “केन्द्रीय आधार इलाका” नामाकरण गरिएको थियो। केन्द्रीय आधार इलाकामा मुख्य कार्यक्षेत्र रहने गरी पार्टीले निर्माण गरेको पाँचौँ डिभिजनको घोषणा कार्यक्रम रोल्पा र सल्यानको सिमाक्षेत्रमा पर्ने रोल्पा जिनावाङको मनिमारे (हाल गङगादेव गाउँपालिका–३) मा राखिएको थियो। २०६२ साल मङ्सिर १४ गते निर्धारित कार्यक्रम मनिमारेमा सुरु भयो। उक्त कार्यक्रममा जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन ‘पासाङ’, त्यस क्षेत्रका पार्टी इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’, डिभिजन इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लगायतका अतिथिहरू उपस्थित हुनुहुन्थ्यो। अखिल (क्रान्तिकारी) का क्षेत्रीय संयोजकको रूपमा मलाई पनि अतिथि दीर्घामा बोलाइएको थियो। डिभिजनको रोलकल सुरु भयो। जनमुक्ति सेनाको ताँती सिङ्गो मनिमारेको फाँटभरि फैलिएको थियो। GPMG समूह भने कार्यक्रम सुरक्षाको लागि डाँडाको टुप्पोमा खटिएको थियो। जनमुक्ति सेनाको पाँचौँ डिभिजन घोषणा भयो। कमरेड किमबहादुर थापा ‘सुनिल’ उक्त डिभिजनका कमान्डर घोषणा गरिनुभयो। कार्यक्रम करिब अन्त्यतिर पुग्दै थियो। त्यसैबेला मनिमारेको आकाशमा शाही सैनिक जहाज, MI–17 हेलिकप्टर र अर्को सानो लडाकु हेलिकप्टर एकपछि अर्को गरी देखा परे। जनमुक्ति सेनाका कमान्डरहरूको भनाइअनुसार अगाडिको जहाज जासुसीका लागि प्रयोग भएको र पछाडि आएका दुई हेलिकप्टर आक्रमणका लागि थिए। शाही सेनाले दुईवटा हेलिकप्टरबाट एकैपटक फायरिङ सुरु गर्‍यो। MI–17 हेलिकप्टरले ८१ मिमि मोर्टारका सेलहरू खसालिरहेको थियो भने सानो हेलिकप्टरले HMG बाट गोलीको बर्सा गरिरहेको थियो। हाम्रो GPMG समूहले डाँडाबाट प्रत्याक्रमण सुरु गर्‍यो। मनिमारे एकाएक रणभूमिमा परिणत भयो। MI–17 हेलिकप्टरमा GPMG को बुलेट लाग्दा झिल्का निस्किएका देखिन्थे। त्यसपछि शाही हेलिकप्टर आकाशमा उचाइ लिँदै उड्न थाल्यो। हाम्रो डिभिजन मनिमारेको चौर छोडेर विभिन्न कभरतिर जाँदै थियो। हेडक्वाटर टिमका कमरेड पासाङ, विप्लव, सुदर्शन, सुनिललगायत केहि चौरको बीचमा रहेको खरको छानो भएको झुप्रोभित्र प्रवेश गर्नुभयो भने कोहि नजिकैको खोल्सोतिर। म पनि अतिथि दीर्घाबाट नेतृत्वको टिमसँगै झुप्रोमा पुगेको थिएँ। खरको छानोमाथि गोलाको वर्षा भइरहेको थियो। हामी भने झुपडीको सानो भित्तामा हेलिकप्टर आक्रमणको आर्क अनुसार घुम्दै–घुम्दै कभर बदल्दै थियौँ। हेलिकप्टर अर्को साइडमा पुगेको बेला कमान्डर कमरेड सुनिलले नेतृत्वलाई खोल्साको कभरतिर लाग्न सल्लाह दिनुभयो। तर उहाँ स्वयं भने त्यही झुप्रोमै रहनुभयो र हेलिकप्टरको गतिविधि अवलोकन गर्न थाल्नुभयो। फाइटर हेलिकप्टर चौरको पूर्वी आकाशमा उड्दै थियो। कमरेड सुनिल गोठ/झुप्रोको ढोकाबाट बाहिर निस्केर साइडको भित्तोबाट हेलिकप्टरको मूभमेन्ट हेर्न खोज्नुभयो। मैले पछाडिबाट “कमरेड, त्यता नजानुहोस्!” भन्दै थिएँ। त्यसैबेला HMG को बुलेट उहाँको देब्रे कन्चटमा लाग्यो र उहाँ भुइँमा पछारिनुभयो। गोली दायाँ कन्चटबाट ठूलो भ्वाङ पारेर निस्किएको थियो। उहाँको मुखबाट “ऐया” बाहेक केही शब्द निस्कन सकेन। उहाँको स्टाफलगायत साथीहरूले उहाँको शरीरलाई ढोकानजिक ताने र हेलिकप्टर पश्चिम दिशामा पुगेको बेला पार्थिव शरीर बोकेर खोल्सातिर लाग्यौँ। यसरी एउटा महान नेता, शिक्षक र कुशल कमान्डर सदाका लागि हामीबीचबाट विदा हुनुभयो। त्यही बेला हामीभन्दा केही मिटर तल, मेरो बाल्यकालदेखिको गाउँका दाजु, राजनीतिक आन्दोलनका प्रेरक र जनमुक्ति सेनाका कम्पनी कमान्डर कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’ पनि पेटमा गोली लागेर शहीद भइसक्नुभएको रहेछ। त्यो खबरले मलाई अझै बेचैन बनायो। जब झिसमिसे साँझ पर्यो, युद्धभूमिमा परिणत मनिमारे शान्त हुँदै थियो। तर भक्कानिएको भावना र समवेदनाका छालले भने हाम्रो मौनता निरन्तर तोडिरहेको थियो। डिभिजन घोषणा कार्यक्रमकै दिन आफ्नै कमान्डरको सहादत, यो त सोच्नै नसकिने पीडा थियो। अर्कोतिर बाल्यकालदेखिका दाजु समान अग्रज कमरेड निर्ममको सहादत, यी दुबै दुःखद घटनाले मुटु चिरियो। तर पनि, उक्त शोकलाई शक्तिमा रूपान्तरण गर्दै अघि बढ्नुबाहेक हाम्रो सामु विकल्प थिएन। हामीले उहाँहरू प्रति श्रद्धाञ्जली अर्पण गर्यौँ र बाटो नछाड्ने कसम खायौँ। आज हामी त्यस यता २० वर्ष पार गरेर यहाँ आइपुगेका छौँ। एकात्मक राजतन्त्रको स्थान अहिले संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको छ। नागरिकहरू लोकतन्त्रको सुदृढीकरणका लागि निरन्तर संघर्षरत छन्। उहाँहरू भौतिक रूपमा हुनुहुन्न, तर जनताको नजरमा अमर बन्नुभएको छ। हामी बाँचेका छौँ, गल्ती गर्न सक्छौँ, तर उहाँहरू महान बन्नुभयो। मनिमारेमा अहिले सुनिल-निर्मम सहिद स्मृति पार्क बनेको छ र सहिदहरूको स्मृतिमा कार्यक्रम भैरहन्छन। महान शहीद कमरेड किमबहादुर थापा ‘सुनिल’ र कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सुनिल स्मृति गाउँपालिका, रोल्पाका पूर्व उपाध्यक्ष महान सहिद कमरेड सुनिलको जीवनसाथी आदरणीय दिदी बागमती थापा लगायत सम्पूर्ण परिवारजन तथा सल्यानमा रहनुभएका कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’की ममतामयी आमा रती पुन, उहाँको जीवनसाथी हेमन्ता बुढाथोकी, छोरीहरू सारदा पुन, गायत्री पुन र छोरा भरत पुनप्रति हार्दिक सम्मान एवम् समवेदना प्रकट गर्दछु।

विचारको शवयात्रा: बाबुराम र जनार्दनको वैचारिक पतन

भीष्म थापा बाबुराम भट्टराई र जनार्दन शर्माले हालै नयाँ प्रगतिशील अभियान घोषणा गरेका छन् । उनीहरुले आफूहरुलाई फरक देखाउन कतिपय आरोप र आलोचना तेर्स्याएका छन् तर धेरैका लागि नयाँ यो राजनीतिक स्वरूप नयाँ होइन, बरु पुरानै भट्किएको यात्राको अर्को भङ्गुर मोड मात्र बनेर देखा परिरहेको छ। नेपालको क्रान्तिकारी आन्दोलनमा एउटा समय थियो जब यी दुवै पात्र क्रान्तिको मुटुमा थिए, जनयुद्धको आदर्श बोकेर हजारौँ युवाका आशा फुलाएका थिए, तर आज उनीहरूको नयाँ घोषणाले धेरैलाई कठोर प्रश्न गर्न बाध्य बनाएको छ- —के वास्तवमै यी मानिसहरू फेरि जनताका लागि आएका हुन्, या आफ्नो भट्किएको राजनीतिक अस्तित्वलाई जिउँदो राख्न मात्र नयाँ नामको वस्त्र ओढिरहेका छन्? के इतिहासले किनारा लगाइसकेको पुराना व्यक्तित्वहरू ‘प्रगतिशील' शब्दमा पुनर्जीवन खोजिरहेका छैनन्? अनि महत्वपूर्ण प्रश्न—के त्यो ‘प्रगतिशीलता' स्वयं प्रगतिशील छ, कि केवल भ्रमको अर्को अध्याय? जनार्दन शर्माले माओवादी आन्दोलनबाट बाहिरिएका छन्, र बाबुराम भट्टराईसँग हात मिलाएका छन्, त्यसले अर्को गहिरो प्रश्न उठाउँछ—जनयुद्धका नारा र उर्जाले तिनलाई नेतृत्वसम्म पुर्‍यायो, तर त्यही जनयुद्धका आदर्शलाई पछाडि सारेर यिनीहरू कहाँतिर हिंडिरहेका छन्? जनयुद्ध एउटा राजनीतिक घटना मात्र थिएन; त्यो असमानतासँगको ऐतिहासिक विद्रोह थियो। त्यसका प्रत्येक पाइलामा शहीदहरूको आँसु थियो, घाइतेहरूको जीवनभर नबिस्ताउने पीडा थियो, र आम सर्वहारा वर्गको सपना थियो। अनि आज यही युद्धका दुई प्रमुख पात्रहरू आफ्नै विरासतबाट भाग्दै, आफ्नै भूमिबाट विचलित हुँदै नयाँ ‘प्रगतिशीलत' बनाउँदै हिँडेको दृश्य देख्दा—के यो केवल राजनीतिक विचलन हो, या गहिरो नैतिक पतन? दार्शनिक हेराक्लाइटस भन्थे— “एकै नदीमा दुईपटक खुट्टा राख्न सकिँदैन।” तर बाबुराम र जनार्दन दुबैले बारम्बार त्यही नदीमा फर्केर नयाँ नामका पुल बनाउने अभिनय गर्दै छन्। कहिले नयाँ शक्ति, कहिले समाजवादी मोर्चा, कहिले गठबन्धन, अनि अहिले फेरि ‘प्रगतिशील अभियान। प्रश्न उठ्छ—के राजनीतिक सिद्धान्त एक प्रकारको टुंगो होइन? के नेतृत्व निरन्तरताको संवेदनशीलता होइन? के इतिहासले प्रमाणित गरेको वैचारिक मार्ग त्यागेर, अनुशासन र विश्वासलाई ध्वस्त पारेर, नयाँ नयाँ प्रयोग गर्नु नै क्रान्तिकारीपन हो? निस्सन्देह होइन। यस्तो प्रयोगशीलता केवल आत्म-भ्रम हो। एक दार्शनिकले भनेका छन्— “जसले सिद्धान्त छोड्छ, अन्ततः उसले आफैँलाई छोडेको हुन्छ” आज यी नेतृत्वहरू यही वाक्यको जीवित उदाहरणजस्तै देखिन्छन्।लेनिनकै भनाईमा, राष्ट्र पुनर्निर्माणको नाममा जुनसुकै नयाँ बाटो खोज्दा पनि, सिद्धान्त विना हिँडियो भने अन्त्यमा दिशाहीन अँध्यारो मात्र भेटिन्छ—के अहिलेको विचलन यही मार्ग होइन? सबैभन्दा पीडादायी प्रश्न जुन आज जनताको मनमा उब्जिएको छ —किन उनीहरूले शहीद र घाइतेहरूलाई धोका दिए? जब जनयुद्ध चलिरहेको थियो, उनीहरू स्वयम् अगाडि थिए, नारा दिंदै, सिद्धान्त लेख्दै, कार्यक्रम बनाउँदै, सर्वहाराको भविष्य चित्रित गर्दै। त्यही युद्धमा अनगिन्ती युवाले जीवन दिए। घाइते बनेका हजारौं योद्धाहरू आज पनि घाउ बोकेर बाँचिरहेका छन्। मार्क्सले भन्नुभएको थियो—“वर्गसंघर्ष कुनै विकल्प होइन, इतिहासको गतिशीलता हो।” तर बाबुराम भट्टराई नै पछि आएर भन्न थाले —वर्ग संघर्ष अब उपयोगी छैन, समाजवाद पुरानो भयो, मार्क्सवाद अप्रासंगिक भयो। प्रश्न उब्जिन्छ —के विचारको "आधुनिकीकरण" वास्तवमा यही हो? के ‘परिमार्जन या अद्यावधिक" हुनु भनेको मूल आधार त्याग गर्नु हो? मार्क्सवादलाई आफैले दशकौं प्रचार गरिसकेपछि त्यसलाई पुरानो भन्ने व्यक्तिमा वैचारिक स्थिरता कसरी देख्न सकिन्छ? मार्क्सवाद त्याग गर्नु केवल एक सिद्धान्त त्याग्नु होइन—सर्वहारा वर्गको दृष्टि, इतिहासको उत्पीडनप्रतिलो संघर्ष, र क्रान्तिको आत्मालाई नै त्याग्नु हो। यस्तो परित्यागले नेतृत्वलाई केवल वैचारिक भ्रमको अन्धकारमा पुर्‍याउँछ, जहाँ न त सिद्धान्त बाँकी रहन्छ, न जनता, न इतिहास। के यस्तै अन्धकारमा आज बाबुराम–जनार्दनको राजनीतिक छवि हराएँको छैन? नीत्शेले भन्थे—“मानिसले आफू नै भएको सत्य धान्न सकेन भने, उसले परिवर्तनकै नाममा धेरै झूट बोकेर बाँच्न थाल्छ।” बाबुराम र जनार्दनको हालको गतिविधिलाई हेर्दा यो वाक्य अत्यन्त सान्दर्भिक लाग्छ। उनीहरूले आफू बोलेका आदर्श, आफू लेखेका सिद्धान्त, र आफू उठाएका नारालाई नै अस्वीकार गर्दै नयाँ ‘तर्क’ बनाइरहेका छन्। तर त्यो तर्क विचारको विकास होइन; त्यो तर्क आफूबाट भाग्ने कला मात्र हो। आफूले कोरेको इतिहास आफैँले नचिन्ने नेतृत्व कस्तो नेतृत्व हो? आफूले बनाएको क्रान्तिको संरचना आफैँले भत्काउन खोज्ने व्यक्तिलाई जनताले कसरी विश्वसनीय ठानून्? अर्को गहिरो प्रश्न—आज घोषणा गरिएको प्रगतिशील अभियान वास्तवमै प्रगतिशील छ? कि केवल निराश राजनेताको पुनरागमनको प्रयास? यदि प्रगतिशीलता जनयुद्ध छोडेर, मार्क्सवाद अस्वीकार गरेर, सर्वहारा दृष्टि परित्याग गरेर, आफूलाई अघिल्लो राजनीतिक असफलताबाट बचाउन बनाइएको आवरण मात्र हो भने—के यस्तो प्रगतिशीलता वास्तवमै प्रगतिशील हो? के प्रगतिशीलता इतिहासविहीन हुन सक्छ? के सिद्धान्तहीन प्रगतिशीलता सम्भव छ? प्रगतिशीलताको आत्मा त समाजको संरचनात्मक रूपान्तरणमा हुन्छ, न कि नयाँ नाम र नयाँ जालमा। यसैले प्रश्न उठ्छ—के यी दुवै नेताले वास्तवमै समाज परिवर्तन खोजिरहेका छन्, या आफ्नो राजनीतिक अस्तित्व पुनर्जीवित गर्न नयाँ वस्त्र ओढिरहेका छन्? सोक्रेटसले भनेका थिए—“अनैतिक नेतृत्वले ज्ञानको आवरण त ओढ्छ तर सत्य वहन गर्न सक्दैन।” बाबुराम र जनार्दनले आज ज्ञान, लेखन, भाषण सबै राखे पनि—के सत्य राख्न सकेका छन्? यदि सत्य राख्थे भने, जनयुद्धको इतिहासलाई यसरी छाड्थे? शहीद र घाइतेलाई यसरी बिर्सन्थे? आफ्नो नै विचारलाई यसरी अस्वीकार गर्थे? आफ्नो नै सिद्धान्तलाई यसरी खारेज गर्थे? कतै उनीहरू ज्ञान त राखिरहेका छन्, तर सत्य गुमाइसकेका त होइनन्? राजनीतिक पतन केवल बाहिरबाट देखिने अवनति होइन; त्यो भित्रैबाट जन्मिने वैचारिक थकान, नैतिक बिर्सन, जनप्रतिको दायित्व नबुझ्ने अन्धकार हो। बाबुराम–जनार्दनको हालको कदम यही थकान र अन्धकारको विस्तारझैँ देखिन्छ। सिद्धान्त भनेको मौसमअनुसार बदलिने वस्त्र होइन; सिद्धान्त जीवनभरका लागि उठाइएको उत्तरदायित्व हो। तर जब सिद्धान्त त्यागिन्छ, विचार भासिन्छ, अनि नेतृत्व केवल नाम र बाटामा सीमित हुन्छ। आज उनीहरू ठीक यस्तै मोडमा उभिएका छन्—जहाँ न त आदर्श छ, न दिशा, न जनता। केवल शब्द छन, अभियान छ, तर आत्मा छैन। क्रान्तिमा लागेका हरेक घाइतेहरू सोधिरहेका छन् —हाम्रो बलीदानको मूल्य के? शहीदका आमाबाबु आँखा भिजाउँदै सोधिरहेका छन्—हाम्रो छोरा–छोरीको रगतले बनाएको मार्ग आज किन भत्काइयो? क्रान्तिमा उठेका युवाहरू भन्छन्—हामीले विश्वास गरेका गुरुहरू नै किन बाटोभ्रष्ट भए? के बाबुराम र जनार्दन यी प्रश्नहरूको सामना गर्न तयार छन्? यदि छैनन् भने—के नेतृत्वको नैतिकता अझै बाँकी छ? यसरी हेर्दा उनीहरूको वैचारिक पतन केवल राजनीतिक अस्थिरता होइन; यो अस्तित्वगत विस्मरण हो। एउटा समय थियो, जब उनीहरूले आफूलाई इतिहासको धारामा ल्याएका थिए। आज उनीहरू इतिहासकै विरुद्ध उभिएका छन्। एउटा समय थियो, जब उनीहरू सर्वहाराको आवाज बनिरहेका थिए। आज उनीहरू त्यो आवाजबाट टाढिँदै छन्। एउटा समय थियो, जब उनीहरू क्रान्तिको मार्गदर्शक थिए। आज उनीहरू त्यो मार्ग नै अन्धकारले छोपिएको ठाउँमा फरक दिशातिर मोड्दै छन्। अन्ततः प्रश्न यही छ—के नेतृत्वले आफ्नो नै विरासत छोडेर नयाँ इतिहास लेख्न सक्छ? के विचार त्यागेर प्रगतिशीलता सम्भव छ? के शहीदहरूको बलिदान बिर्सेर नयाँ अभियान सफल हुन सक्छ? के मार्क्सवाद परित्याग गरेर सर्वहारा वर्गको प्रतिनिधित्व गर्न सकिन्छ? र सबैभन्दा ठूलो प्रश्न—के इतिहासले अन्ततः यिनलाई क्षमा गर्नेछ? यी प्रश्नहरू उत्तर खोजिरहेका छन्। र अहिलेको अवस्थादेखि स्पष्ट यस्तो देखिन्छ—नेता बाटोभ्रष्ट हुँदा इतिहास मौन बस्दैन; इतिहास बोल्छ। र आज इतिहास बोल्दै छ—कि बाबुराम र जनार्दनको वैचारिक पतन केवल राजनीतिक पुनर्संयोजनको घटना होइन, यो नैतिक विघटनको गहिरो दाग हो, जसलाई समयले भुल्दैन, र जनताले माफ गर्दैन। एगेल्सले भन्नुभएको थियो: क्रान्तिको विशाल थ्योरी बोकेर हिँड्ने तर व्यवहारमा त्यसको प्रतिकूल कदम चाल्नेहरूलाई यो वचन कति चोट लाग्ला?

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज पोखरामा: प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्ने

पोखरा  – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभा आज  चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आयोजना हुँदैछ। सभा  दिउँसो एक बजे सुरु हुने भएको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीले यो जानकारी दिँदै तयारी तीनवटै तहमा प्रभावकारी रूपमा अगाडि बढाइएको जनाएको छ। जनपरिचालन, स्वयंसेवक, प्रचार–प्रसार, आर्थिक तथा मञ्च व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको महाधिवेशन आयोजक समिति सदस्य गायत्री गुरुङले बताइन्।  सभामा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता भीम रावललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। यो सभाले पार्टीको एकताको सन्देशलाई प्रदेशभरि फैलाउने अपेक्षा गरिएको आयोजक समिति सदस्य दीननाथ शर्माले उल्लेख गरे।

बिगतका कमजोरी खोतल्ने र त्यसलाई सच्चाउने प्रतिबद्धता गर्न आएका हौँ : संयोजक प्रचण्ड

लमही – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरु जनतासँग आत्मालोचना गर्न आएको बताउनु भएको छ । लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले बिगतका कमीकमजोरी खोतल्ने र त्यसलाई सच्चाउने प्रतिबद्धता गर्न आफूहरु आएको बताउनु भयो ।  उहाँले भन्नुभयो, 'हामीले समीक्षा गरेर नै एकताबद्ध भएका हौँ। यो एकता सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ । यो आत्मालोचना सभा पनि हो। हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ।'   लुम्बिनी प्रदेशस्तरीय एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदलिनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो। जेन जेड आन्दोलनले विगतमा आफूहरूले गरेको कामको समीक्षा गर्न दबाब बढाएको उहाँको भनाइ छ ।  हजारौँ जेन जेड युवाहरूले नेकपालाई अभिभावक मानेर पार्टी प्रवेश गरिरहेको उहाँले बताउनु भयो । आफूहरू बदलिएर जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्दै प्रचण्डले विगतका कमजोरी सच्चाएर जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाउनु भएको छ ।  माधव नेपालसँगको एकता हठात् वा अकस्मात् नभएको उहाँले बताउनुभयो। नेकपाका सहसंयोजक माधव नेपालसँगको सहकार्य झण्डै ४० वर्ष पुरानो भएको उहाँले भन्नुभयो। माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दर्जन बढी वामपन्थी घटकहरूबीच भएको एकताको बचाउ गर्दै प्रचण्डले माधव नेपालसँग विगतदेखि नै सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। एकीकृत समाजवादी लगायतका घटकहरूसँग एउटा चुनाव जित्नका लागि मात्र एकता नगरेको जिकिर गर्दै उहाँले जेन जेड आन्दोलनपछि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता महसुस भएकाले एकताको कदम चालिएको बताउनुभयो। प्रचण्डले भन्नुभयो, "आजको कुरा होइन, २०४१/०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायतविरोधी आन्दोलनको बारेमा संवाद र सहकार्य गर्ने गर्थ्यौं। ०४२ सालदेखि ०४६ सालमा, अनि जनयुद्ध सुरु भएपछि पनि हामी लगातार संवादमा भइ नै राख्यौं।" माधव नेपालसँगको एकता अकस्मात् वा हठात् नभएको भन्दै बचाउ गर्दै उहाँले थप्नुभयो, "संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्यौं। हाम्रो संवाद, सहकार्य आजको होइन, केही महिना वा वर्ष अगाडिको मात्रै होइन, झण्डै ४०–४१ वर्ष अगाडिदेखि लगातार भएका सहकार्य, संवाद र आन्दोलनका बीचबाट एकताको एउटा नयाँ परिस्थिति सिर्जना भएको हो। हठात् भएको कसैलाई लागेको छ भने त्यो होइन।" केही घन्टाभित्र देश जल्ने अवस्था आउनेगरी देश कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने उहाँले जोड दिनुभयो। यस एकताले वामपन्थी शक्तिहरूको नयाँ ऊर्जा सिर्जना गर्ने अपेक्षा गरिएको छ।

१९ वर्षमुनीको एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनलमा, मलेसिया ९ विकेटले पराजित

काठमाडौं – नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ। मलेसियाले दिएको सानो लक्ष्य ५२ रन नेपालले मात्र ७ ओभर र ५ बलमा एक विकेटको क्षतिमा सहजै पूरा गरेको थियो। त्यसअघि, यूएईको अजमानमा अवस्थित सेभेन डिस्ट्रिक्ट ग्राउन्ड नम्बर २ मा टस जितेर ब्याटिङ गर्ने निम्तो पाएको मलेसिया १७ ओभर र २ बलमा मात्र ५१ रन बनाउँदै अलआउट भएको थियो। साउदी अरेबिया र हङकङलाई हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको नेपालले यो जितसँगै फाइनलको यात्रा तय गरेको हो। आजै भइरहेको यूएई र ओमानबीचको अर्को सेमिफाइनलको विजेतासँग नेपालले फाइनल भिड्नेछ। फाइनलमा पुग्ने दुवै टोली आगामी एसीसी १९ वर्षमुनिको एशिया कपका लागि छनोट भएका छन् भने तेस्रो हुने टोलीलाई पनि एशिया कपमा स्थान मिल्नेछ। यो प्रतियोगिताको फाइनल खेल पर्सि सोमबार हुनेछ, जसले गर्दा १९ वर्षमुनिको एशिया कप डिसेम्बरमा यूएईमै सुरु हुन लागेको छ। नेपालको यो प्रदर्शनले युवा क्रिकेटरहरूको उज्ज्वल भविष्यको संकेत गरेको छ।

नेपाली कम्युनिष्ट पार्टीको अपिल: वाम-लोकतान्त्रिक शक्तिहरू एकजुट भएर राष्ट्रिय संकट टारौं (पूर्णपाठ)

काठमाडौं– विभिन्न १५ कम्युनिस्ट पार्टीहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूलाई एकता र सहकार्यको प्रक्रियामा तत्काल सहभागी हुन अपिल गरेको छ। शनिबार जारी गरेको अपिलमा पार्टीले हालको जटिल राजनीतिक, आर्थिक तथा भूराजनीतिक परिस्थितिको समाधानका लागि राष्ट्रिय सहमति र संवैधानिक दिशामा अघि बढ्नुपर्नेमा जोड दिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरण जस्ता महत्त्वपूर्ण मुद्दामा सबै शक्तिहरू एकजुट हुन आग्रह गर्दै नेकपाले जनआन्दोलनपछिको राजनीतिक अस्थिरताप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। पार्टीले जनक्रान्तिका उपलब्धिहरू जोगाउँदै आगामी निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै समाजवादी मोर्चामार्फत सुरु भएको एकताको प्रक्रियालाई 'ऐतिहासिक निर्णय' को रूपमा मूल्यांकन गरेको छ। यसै सन्दर्भमा, सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूलाई यो एकतामा साथ दिने अपिल गरेको छ। नेकपाले यो एकताले राष्ट्रिय एकताको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेको छ।   नेपाली कम्युनिष्ट पार्टीको अपील आदरणीय जनसमुदाय, सात दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनभित्रको विचारधारात्मक र राजनीतिक संघर्षको आरोह अवरोहसँगै पार्टी एकता, संघर्ष, विभाजन र पुनएकीकरणका शिक्षाहरुलाई आत्मसात गर्दै, पूँजिवादी जनवादी क्रान्तिको उपलब्धिकारुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरागर्ने उद्देृश्यमा आधारित रहँदै विभिन्न १५ कम्युनिष्ट र समाजवादी पार्टीहरुबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको छ । पछिल्लो जेन जी आन्दोलनसमेतको पृष्ठभूमिमा पुनर्गठित नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पार्टी पंक्ति र समर्थक शुभचिन्तकसहित आम न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिवादन गर्दछौं । यस अवसरमा हाम्रो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रसहित आमूल परिवर्तन, सामाजिक न्याय र राष्ट्रिय स्वाधिनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनलगायत उत्पीडित वर्ग, समुदायको मुक्ति आन्दोलन र पछिल्लो जेनजी आन्दोलनका क्रममा प्राणोत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै वेपत्ता योद्दाहरुप्रति उच्च सम्मान प्रकट गर्नुका साथै घाइते अपांग योद्दाहरुप्रति सम्मानसहित सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । आन्तरिक अर्थराजनीतिक समस्या र नयाँ भूराजनीतिसमेतका कारण देशको राजनीतिक परिस्थिति निकै गम्भीर र संवेदनशील रहेको छ । जनक्रान्तिबाट स्थापित नयाँ राजनीतिक व्यवस्था र पुरानो उत्पादन प्रणालीबीच अन्तर्बिरोधका कारण जनताको अवस्थामा अपेक्षित परिवर्तन हुन सकिरहेको छैन । यो स्थितिमा एकातर्फ प्रतिगामी यथास्थितिवादी शक्तिहरुबाट जनक्रान्तिका उपलब्धिहरुमाथि धावा बोल्ने प्रयास हुँदै आइरहेको छ भने अर्कोतर्फ जनक्रान्तिका उपलब्धिहरुको रक्षासहित सुशासन र आर्थिक सामाजिक रुपान्तरणको जनचाहना विभिन्न रुपमा प्रकट हुँदै आइरहेको छ । आज राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रश्न थप संवेदनशील बन्दै गइरहेको छ । राष्ट्रिय सहमति निर्माण गर्दै संवैधानिक बाटोबाट जनआकांक्षालाई सम्बोधन गर्न जिम्मेवार पहल आजको आवश्यकता बन्न पुगेको छ । परिस्थितिको यो गाम्भीर्यतालाई मनन गर्दै राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न र जन आकांक्षालाई मूर्तरुप दिन हामी प्रयत्नशील रहँदै आयौं । सरकारमा रहँदा हाम्रा तर्फबाट सुशासन, सामाजिक न्यायसहितको आर्थिक विकास एवं समृद्धिको अभियान सुरु गरिएको थियो । प्रतिगामी यथास्थितिवादी शक्तिहरुले उक्त अभियानलाई रोक्न सरकार परिवर्तनको अस्त्र प्रयोग गरे । प्रतिपक्षीय मोर्चामा रहँदा समेत सडक र सदनबाट सरकारलाई निरन्तर खबरदारी गरि नै रह्यौं । कांग्रेस एमालेको सरकारको गतिविधिका कारण लोकतन्त्रमाथि नै संकट आउन सक्ने र जनअसन्तुष्टि सडकमा विष्फोट हुनसक्ने अवस्थाप्रति हाम्रो तर्फबाट लगातार सचेत गराउँदै आएका थियौं । सरकारले हाम्रो खबरदारीको गाम्भीर्यता र संवेदनशीलतालाई पटक्कै बोध गरेन । दुई तिहाईको अहंकार र दुईदलीय तानाशाहीको मीठो सपनाबाट सरकार ब्यूझन सकेन । फलतः अर्थराजनीतिक समस्या र तत्कालिन सरकारका जनविरोधी क्रियाकलापबाट संगठित हुँदै गएको जनअसन्तुष्टि जेनजी आन्दोलनका रुपमा प्रकट हुन पुग्यो । जनताको असन्तोष र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुका लागि यो उपयुक्त अवसर बन्न पुग्यो । गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेनजी प्रदर्शन नरसंहारमा रुपान्तरित हुन पुग्यो । भदौं २४ गते देशका प्रमुख ऐतिहासिक सम्पदाहरु सहित सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुको निवास, बैंक, वित्तिय संस्था, मिडिया तथा व्यवसायहरुमा भीषण आगजनी, लूटपाट, तोडफोड गरिनुका साथै भौतिक आक्रमण समेत गरियो । जुन नियोजित र योजनावद्ध थियो । त्यसका वावजूद जेनजी आन्दोलन बस्तुतः राजनीतिक दलहरुलाई खबरदारी, सुशासन, सामाजिक न्याय र अझ उन्नत लोकतन्त्रप्रति नयाँ पुस्ताको चाहना र आकांक्षाको अभिव्यक्ति थियो । जेन जी आन्दोलनको यो भावनालाई एकथरिले बुझ्नै चाहिरहेका छैनन् । अर्को एकथरिले आफ्नो निहित स्वार्थ र प्रतिगामी उद्देश्यपूर्तिको साधन बनाउने कोशिस गरिरहेका छन् । यसप्रकारका प्रवृत्तिहरुप्रति सचेत रहँदै संवैधानिक प्रक्रियाबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढन जेनजीलगायतका नवयुवाहरुमा हाम्रो पार्टी विशेष आग्रह गर्दछ । जेन जी आन्दोलनसँगै उत्पन्न गम्भीर परिस्थितिमा गैर दलीय सरकार बनेपछि तत्कालको अनिश्चयपूर्ण तुँवालो केही हटेपनि जनक्रान्तिका उपलब्धिहरु र राष्ट्रमाथिको संकट पूर्णरुपले हटिसकेको छैन । बिभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई हतोत्साहित गर्ने, सभा सम्मेलन गर्न अवरोध सिर्जना गर्ने, निर्वाचनलाई कुनै बहानामा बिथोल्ने या निर्वाचन परिणामलाई अनुकुल बनाउन प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलका सम्भावनाहरु अझैपनि विद्यमान छन् । तथापि मुलुकलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा निर्वाचन सम्पन्न गराउनु पर्ने कुरामा नेपाली कम्युनिष्ट पार्टी दृढ रहँदै आएको छ । हाम्रो पार्टी संविधान, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा साझा पहलकदमीका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग विशेष अपील गर्दछ । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौतीहरु थपिँदै गएको वर्तमान सन्दर्भमा वामपन्थी, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकीकृत गर्दै नेतृत्व प्रदान गर्नुपर्ने वस्तुगत आवश्यकतालाई आत्मसात गर्दैै समाजवादी मोर्चामार्फत् पार्टी एकतामा रुपान्तरण गर्ने ऐतिहासिक निर्णयमा पुगेका छौं । यो एकता जनक्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै मुलुक र वामपन्थी लोकतान्त्रिक आन्दोलन सामु देखिएका नयाँ अवसर र चुनौती सम्बोधन गर्ने ऐतिहासिक संकल्प हो । एकताको यो पहल केवल १५ समूहको गणितीय जोड मात्र नभएर विभाजित अवस्थामा रहेको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकतावद्ध गर्दै समाजवादको दिशामा अघि बढ्ने अर्को ऐतिहासिक प्रक्रियाको थालनी हो । सही विचार, राजनीतिक कार्यक्रम र सबैखाले अनुभव र उर्जाको संकेन्द्रण पार्टी एकताको सार हो । श्रमजीवी वर्गको मुक्तिको वैचारिक अस्त्र मार्क्सवाद–लेनिनवाद हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त हो ।  मार्क्सवादी लेनिनवादी सिद्धान्तको आलोकमा एक्काइसौं शताब्दीका नवीन विशेषता, विगतका प्रतिक्रान्तिका अनुभव, नेपाली पूँजिवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद हाम्रो रणनीतिक कार्यक्रम हो । यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आलोकमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने संकल्प हाम्रो एकताका मुख्य आधारहरु हुन । श्रमजीवी सर्वहारा वर्ग र उत्पीडित वर्ग समुदायको पहिचान र हितको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक मूल्यसहितको संघीय समाजवादी राज्य, सहभागितामूलक समावेशी र समानुपातिक शासनप्रणाली, उत्पादनका साधनमाथि सार्वजनिक, सामुदायिक र नीजि स्वामित्व भएको उत्पादन प्रणालीसँगै सबैखाले प्रतिक्रियावादी हस्तक्षेप र शोषणका रुपहरुको अन्त्य गर्ने आर्थिक नीति, शिक्षा र स्वास्थ्यमा मूलतः राज्यको दायित्व बढाउँदै समाजमा विद्यमान सबैखाले असमानता र विभेदको अन्त्य गर्ने सामाजिक सांस्कृतिक नीति, स्वतन्त्र, सन्तुलित, असंलग्न परराष्ट्र नीति नेपाली विशेषताको समाजवादका आधारभूत पक्ष हुन । थप छलफल र अन्तक्रिया गर्दै पार्टीको एकताको राष्ट्रिय महाधिवेशनबाट यसलाई थप समृद्ध तुल्याइनेछ । यो प्रक्रियामा आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न पार्टीका सम्पूर्ण पंक्ति, समर्थक शुभचिन्तकहरुमा आग्रह गर्दछौं । – स्वतन्त्रता (जनवाद) र अनुशासन (केन्द्रीयता) को समुचित सन्तुलनमा आधारित जनवादी केन्द्रीयता पार्टीको संगठनात्मक सिद्धान्त र विधि हुनेछ । नेपाली विशेषताको समाजवादद्वारा निर्देशित वैचारिक मूल्यहरुबाट जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई थप समृद्ध गरिनेछ । आदरणीय जनसमुदाय, विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनर्गठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएको एकता, ध्रवीकरण र सहकार्यको यो प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुलाई आव्हान गर्दछौं ।    

तस्बिरमा हेर्नुस् नेपाली कम्युनिष्ट पार्टीको देउखुरीमा आयोजित एकता सन्देश सभा

लमही । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा दाङको देउखुरीमा सुरु भएको छ । देउखुरीको लमहीमा आयोजित सभालाई संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  लमहीको बगैँचामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्डसहितका नेताहरु बिहान लमही पुगेका हुन् । केहीबेरअघि सुरु लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभामा सहभागी हुन दाङ र आसपासको क्षेत्रबाट हजारौँको सहभागिता रहेको छ । 

एकता सन्देश सभाका लागि प्रचण्डसहितका नेताहरु देउखुरीमा (तस्बिरसहित)

लमही । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरु दाङको देउखुरी पुगेका छन् । पार्टीले लमहीको बगैँचामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्डसहितका नेताहरु बिहान लमही पुगेका हुन् ।  लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभालाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने तयारी छ । लमहीका श्यामसुन्दर चौधरीको घरमा खाना आएर प्रचण्डसहितका नेताहरु कार्यक्रम स्थलमा पुगिसकेका छन् ।  केहीबेरमा लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा आयोजना हुँदैछ । सभामा सहभागी हुन दाङ र आसपासको क्षेत्रबाट हजारौँको सहभागिता रहेको छ । 

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभा आज देउखुरीमा : प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

देउखुरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बृहत कम्युनिष्ट एकीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आज लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा दाङको देउखुरीमा आयोजना गर्दैछ। यो सभा देशव्यापी एकता अभियान अन्तरगत आज दिउँसो १ बजे दाङको देउखुरीमा विशाल सभाको आयोजना गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।  सन्देश सभाका लागि पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितका शीर्ष त्यसतर्फ लागेका छन् । सभालाई प्रचण्डसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  सभामा सहभागी हुन दाङ र आसपासका जिल्लाबाट हजारौँको सहभागिता रहनेछ । नेकपाको यो अभियानले विभिन्न कम्युनिष्ट धारका पार्टीहरूको एकीकरणलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।  

प्रेस सेन्टर कालीकोटका अध्यक्ष वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा निधन

कालिकोट — कालिकोटका उदयमान पत्रकार तथा सामाजिक अभियन्ता वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा परी ज्यान गएको छ। प्रेस सेन्टर कालिकोटका अध्यक्ष तथा ताडीस्थित रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा कार्यक्रम प्रमुखका रूपमा परिचित ३४ वर्षीय आचार्यको असामयिक निधनले कालिकोट र कर्णालीका सञ्चारकर्मी स्तब्ध भएको छन् । शुभकालिका–६ हाउडीका स्थायी बासिन्दा तथा हाल सुर्खेतको वीरेन्द्रनगर–१ मा बसोबास गर्दै आएका आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटरलाई मङ्सिर ११ गते राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को वडा कार्यालय अगाडिको सडकखण्डमा कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको मोटरसाइकल चालक २३ वर्षीय यामबहादुर शाहीले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका आचार्यलाई तत्काल प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर, उपचारको क्रममै उनको मृत्यु भएको अस्पताल पुष्टि गरेको छ। मोटरसाइकल चालक शाही पनि टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डीएसपी गोविन्द पौडेलले जानकारी दिए। आचार्य सामाजिक सरोकारका मुद्दामा सक्रिय रहँदै समाचार उत्पादन र पत्रकारितामा योगदान दिँदै आएका थिए। केही दिनअघि मात्र पत्रकार कृष्णराज धमलासँग रमाइलो भिडियो बनाएका थिए। उनका श्रीमती, विद्यालयमा अध्ययनरत छोरा र छोरी छन्। परिवारका सबै सदस्य अहिले सुर्खेतमै छन् र गहिरो शोकाकुल अवस्थामा छन्। आचार्यको निधनले कालिकोटमा 'कालो दिन' जस्तो महसुस भएको स्थानीयहरूले बताएका छन्। कर्णालीका सञ्चारकर्मीहरूले उनको योगदानलाई स्मरण गर्दै शोक व्यक्त गरेका छन्।

धनगढीबाट सुरु भएको नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा कुन प्रदेशमा कहिले ?

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले पार्टी एकताको सन्देश आम जनसमुदायमा पुर्‍याउने उद्देश्यले शुक्रबार कैलालीको धनगढीमा एकता सन्देश सभा सफलता पूर्वक सम्पन्न गरेको छ। यो सभाले पार्टीको एकताको महत्वलाई जोड दिँदै विभिन्न तहका नेता तथा कार्यकर्ताहरूलाई एकजुट हुने अपिल गरेको छ। अन्य प्रदेशहरूमा पनि यस्ता सभाहरूको आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। सभालाई पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालसहितका वरिष्ठ नेताहरूले सम्बोधन गरेका थिए। प्रचण्डले सम्बोधनका क्रममा पार्टी एकताले मात्र राष्ट्रिय राजनीतिमा स्थिरता र विकासको गति तीव्र बनाउन सकिने बताउँदै कार्यकर्ताहरूलाई आगामी निर्वाचनतर्फ केन्द्रित हुन आह्वान गरे। यस्तै, नेपालले एकताको सन्देशलाई आधार बनाएर पार्टीभित्रका वैचारिक बहसहरूलाई समन्वयात्मक ढङ्गले सुल्झाउनुपर्नेमा जोड दिए। सभामा सहभागीहरूले एकताको पक्षमा नारा लगाउँदै उत्साहजनक सहभागिता जनाएका थिए। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार, एकता सन्देशलाई प्रदेशव्यापी रूपमा फैलाउन विभिन्न प्रदेशहरूमा सन्देश सभाहरूको कार्यक्रम तय भएको छ। यी सभाहरूमा पनि प्रचण्ड, नेपाल लगायतका नेताहरूको सम्बोधन रहनेछ। कार्यक्रमहरू निम्नानुसार छन् : प्रदेश मिति (मंसिर) स्थान लुम्बिनी प्रदेश १३ देउखुरी गण्डकी प्रदेश १४ पोखरा प्रदेश नं. १ (कोशी) १५ विराटनगर उपत्यका विशेष प्रदेश १७ काठमाडौं कर्णाली प्रदेश १८ सुर्खेत मधेश प्रदेश २० जनकपुर प्रवास प्रदेशहरू (संयुक्त भर्चुअल) २१ अनलाइन संघीय सम्पर्क समन्वय प्रदेश २२ काठमाडौं बाग्मती प्रदेश २३ हेटौँडा यी सभाहरूले पार्टीको एकताको सन्देशलाई ग्रामीण तथा शहरी क्षेत्रसम्म पुर्‍याउने लक्ष्य राखेको छ। पार्टीका नेताहरुले यी कार्यक्रमहरूबाट एकताको भावना मजबुत बन्ने र आगामी राजनीतिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्। 

‘राष्ट्रको संकट समाधान गर्न वाम–देशभक्त एकता अपरिहार्य’ : प्रचण्ड

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य भएको बताउनुभएको छ ।  आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै उहाँले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गर्नुभयो । सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।  गणतन्त्र स्थापना पश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उहाँको भनाई थियो ।  “सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ । त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ,” संयोजक प्रचण्डले भन्नुभयो ।   उक्त सभामा सम्बोधन गर्ने क्रममा प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताउँदै यसअघि आज जस्ता सभामा ठूलै रकम खर्च गर्नुपर्ने भए पनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकिएको बताउनु भयाे ।  ‘आज हामीलाई कता कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अलि ठूलै रकम खर्च गर्नुपरेको थियो तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौं तर जनसमुदायले साथ दिनुभयाे,’ उहाँले भन्नुभयाे ।  एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउँदै प्रचण्डले एमालेतिर पनि ध्यान रहेको बताउनु भयाे । १५ वटा वाम घटकबीच एकता हुनु नेपालको इतिहासमै पहिलो रेकर्ड भएको प्रचण्डले दाबी गर्नुभएकाे छ । देशभरका क्रान्तिकारीले नेपाली कम्युनिस्ट पार्टीलाई आशा र नयाँ भरोसाका साथ हेरिरहेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे, ‘यत्ति भयो पुग्यो भन्नेमा हामी छैनौं, हामी अझै पनि वृहत् वामन्थी एकता हुनुपर्दछ र यो राष्ट्रको रक्षाको निम्ती, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ती हामीले अन्य वामपन्थी शक्तिहरूसँग पनि, हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ, एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै नै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ ।’ एमालेबाट नेकपामा प्रवेश गरेकालाई धन्यवाद दिँदै प्रचण्डले एमालेभित्र रहेका सबै देशभक्त, वामपन्थी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान गर्नुभयाे । ‘हामीले नेपाली कम्युनिस्ट पार्टी भन्ने नाम त्यत्तिकै राखेका होइनौं, सबैलाई अट्न सक्ने, सबैको अधिकार, सबैको क्षमता प्रयोग हुनसक्ने नेपाली कम्युनिस्ट, सबै अट्न सक्छ, अब यहाँ माओवादी छैन, कोही समाजवादी छैन, कोही के केन्द्र छैन, कोही अर्को छैन सबै नेपाली कम्युनिस्ट, त्यसकारण अब पुच्छर झुण्डाइराख्न पर्ने आवश्यकता छैन, हामी सबै नेपाली कम्युनिस्ट,’ उहाँले भन्नुभयाे । 

नेकपा एकता सन्देशसभा धनगढीमा सुरु (फाेटाे)

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको पार्टी एकता सन्देश सभा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ । धनगढीको कर्भडहल क्षेत्रमा आयोजित सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले नेतृत्वदायी सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा स्थानीय तहदेखि प्रदेशभरका कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ । सभाअघि धनगढी चौराह र क्याम्पस चोक क्षेत्रबाट रंगीन झाँकी, नाराबाजी र झण्डासहितको र्‍याली निकालिएको थियो । र्‍याली शहरका विभिन्न मार्ग परिक्रमा गर्दै कर्भडहलमा पुगेर सभामा परिवर्तित भएको आयोजकहरूले जानकारी दिएका छन् । गत कात्तिक १९ गते काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जन वाम घटकबीच एकता घोषणा भएको थियो । त्यसपछि नवगठित नेकपाले देशभर ‘पार्टी एकीकरणको सन्देश जनता सम्म’ पुर्‍याउने लक्ष्यसहित सातै प्रदेशमा एकता सभा गर्ने निर्णय गरेको थियाे ।  त्यसैअनुसार शुक्रबार धनगढीबाट सुरु भएको एकता अभियानअन्तर्गत भोलि (शनिबार) लुम्बिनी प्रदेशको दाङ देउखुरीमा दोस्रो सभा हुने तालिका छ । यस्तै मंसिर १४ गते गण्डकी प्रदेशको पोखरामा, मंसिर १५ गते कोशी प्रदेशको विराटनगरमा, मंसिर १७ गते उपत्यका विशेष प्रदेशअन्तर्गत काठमाडौंमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेत, मंसिर १९ गते संघीय समन्वय प्रदेशअन्तर्गत काठमाडौंमा, मंसिर २० गते मधेश प्रदेशको जनकपुरमा सभा हुनेछ । यसबाहेक मंसिर २१ गते प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रममार्फत एकता सन्देश प्रसारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । नवगठित नेकपाले यी कार्यक्रमहरूलाई पार्टी एकीकरणको राजनीतिक कार्यदिशा र आगामी रणनीति जनतासमक्ष स्पष्ट पार्ने अवसरका रूपमा उपयोग गर्न लागेको जनाएको छ ।