आज धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सभा : प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने
धनगढी – नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय थप्न नेपाली कम्युनिष्ट पार्टीले कैलालीको धनगढीमा आज एकता सभा आयोजना गर्दैछ। हालै गठित यो पार्टीले विभिन्न कम्युनिष्ट धारका संगठनहरूको एकीकरणलाई थप मजबुत बनाउने लक्ष्यसहित यो सभाको आयोजना गरेको छ।
सभा दिउँसो १२ बजे धनगढीमा सुरु हुने आयोजकले जनाएका छन्। सभालाई पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रचण्डसहितका नेताहरू धनगढीतर्फ प्रस्थान गरेका छन्। यो सभाले पार्टीको एकताको सन्देशलाई राष्ट्रव्यापी बनाउने अपेक्षा गरिएको छ।
हालै मात्र विभिन्न कम्युनिष्ट पार्टी तथा समूहहरूको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टीको जन्म भएको हो। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का केही समूहहरू र अन्य स्वतन्त्र कम्युनिष्ट नेताहरूको सहभागितामा गठित यो पार्टीमा अझै पनि एकीकरणको प्रक्रिया चलिरहेको छ। पार्टीका नेताहरूका अनुसार, यस एकताले वामपन्थी शक्तिहरूलाई एकजुट बनाएर राष्ट्रिय राजनीतिमा नयाँ गतिशीलता ल्याउनेछ।
सभामा सहभागी हुनेहरूमा स्थानीय स्तरका कार्यकर्तादेखि राष्ट्रिय नेतासम्मको उपस्थिति रहनेछ। सभाको प्रत्यक्ष प्रसारण विभिन्न सञ्चार माध्यमहरूबाट हुनेछ।
मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश: भन्छिन्, 'अनुहार जलेपनि सपना जलेको छैन'
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी तेजाब आक्रमण पीडित तथा मानवअधिकार अभियन्ता मुस्कान खातुनले आफूमाथि भएको आक्रमणले अनुहार त जलाइदियो, तर सपना भने नजलेको बताएकी छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यो भावना व्यक्त गरिन् । 'जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाइदियो, तर मेरो सपना जलाएको छैन,' उनले भनिन् । उनले युवा पुस्तालाई एकजुट हुन आग्रह गर्दै भनिन्, 'सम्पूर्ण जेनजीलाई भन्न चाहन्छु, जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।' मुस्कानले नेपालमा महिलाहरूले भोग्नुपरेका विभिन्न प्रकारका हिंसाको अन्त्यका लागि निरन्तर संघर्ष गरेको उल्लेख गर्दै तेजाब आक्रमण मात्र होइन, अन्य हिंसाहरू पनि उत्तिकै गम्भीर समस्या भएको बताइन् । 'यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर मैले पाँच वर्षसम्म लगातार काम गरेँ र तेजाब आक्रमण रोक्न सफल पनि भएँ । तर तेजाब आक्रमण मात्र हिंसा होइन, दिदीबहिनीहरूले धेरै प्रकारका हिंसा खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसाको अन्त्य जरुरी छ,' उनले थपिन् । मुस्कानको सम्बोधनको मुख्य अंश मेरो नाम मुस्कान खातुन हो । म तेजाब आक्रमणविरुद्धको अभियन्ता तथा मानवअधिकारकर्मी हुँ । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर मैले पाँच वर्षसम्म लगातार काम गरेँ र तेजाब आक्रमण रोक्न सफल पनि भएँ । तर मलाई लाग्छ, तेजाब आक्रमण मात्र हिंसा होइन । दिदीबहिनीहरूले धेरै प्रकारका हिंसा खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसाको अन्त्य जरुरी छ । आज म जेनजि भएकाले सम्पूर्ण जेनजिका विचार बुझेर भन्न चाहन्छु । जेनजिले चाहेको हाम्रो देश प्रगतिशील होस् । देशमा भएको भ्रष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा जोडिएको छु । सम्पूर्ण जेनजिलाई अनुरोध गर्छु कि हामी एकताबद्ध हुन जरुरी छ । हामी एकजुट भए देश प्रगति गर्नेछ, भ्रष्टाचारको अन्त्य हुनेछ र भायोलेन्स पनि समाप्त हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाँचौं, देशका लागि मरौं । म नेपाली भएकाले सबैभन्दा पहिला हाम्रो देश चिनिन्छ । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि 'म नेपाली हुँ' भनेर गर्व गर्न जरुरी छ । यहाँ उपस्थित प्रचण्ड र माधवकुमार नेपालज्युलाई धेरै–धेरै धन्यवाद । जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाइदियो, तर मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजिलाई भन्न चाहन्छु, जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ । नेकपा एकतामा जोडिएकी मुस्कानको यो सम्बोधनले युवा पुस्तामा उत्साह जगाएको छ । पार्टीका नेताहरूले उनको योगदानको प्रशंसा गर्दै हिंसामुक्त समाज निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यी हुन् नेपाली कम्युनिष्ट पार्टीमा आज समाहित हुने विभिन्न पार्टी तथा समूह
काठमाडौं,– नेपालको वामपन्थी राजनीतिमा नयाँ अध्याय थप्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा चार प्रमुख समूहहरू आज औपचारिक रूपमा समाहित हुँदैछन्। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरुले समाहित हुने पार्टी तथा समूहलाई स्वागत गर्ने र सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा) को एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह यी समूहहरू हुन्। यो एकीकरणले नेकपालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह, काठमाडौंमा सुरु भएको छ । कार्यक्रममा राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा एकीकरण पक्षधर समूह र शरद रसाइलीको नेतृत्वमा नेकपा माओवादी विद्रोही समूह समाहित हुने आयोजकहरूले जनाएका छन्। यस एकीकरणले मधेसवादी र कम्युनिस्ट धारबीचको साझा मोर्चालाई मजबुत बनाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ। नेकपामा समाहित हुने प्रमुख समूह र नेताहरू एकता कार्यक्रममा सहभागी हुने समूह तथा व्यक्तिहरूको विवरण निम्नानुसार छ: क्र.सं. समूह/व्यक्तित्वको नाम विवरण १ जनजागरण पार्टी नेपाल वीपी खनालको अध्यक्षतामा पूरै पार्टी समाहित हुँदै। २ नेकपा (बहुमत) विद्रोही समूह गोपाल परियारसहितको टिम समाहित। ३ नेकपा (माओवादी) विद्रोही समूह शरद रसाइलीसहितको टिम समाहित। ४ जेनजी समूह मुस्कान खातुनको नेतृत्वमा १०० जना सदस्य समाहित। ५ जसपा एकीकरण पक्षधर समूह अध्यक्ष राजेन्द्र श्रेष्ठसहित नेताहरू: रणध्वज कन्दङ्वा, परशुराम बस्नेत, दुर्गामणि देवान, डा. पुस्पराज कर्णिकार, कृष्णबहादुर धजु, अशोककुमार यादव, कमला विश्वकर्मा, प्रेम नारायण थापा, लाल बहादुर तामाङ, कर्णबहादुर बुढा मगर, न्हुच्छेलाल महर्जन र पंचलाल महर्जन। यो एकीकरणपछि नेकपाको संगठनात्मक संरचना र राजनीतिक प्रभावकारिता बढ्ने बताइएको छ।
जसपाका मधेश प्रदेश अध्यक्ष अशोककुमार यादव गरे पार्टी परित्याग, नेकपामा प्रवेश गर्ने तयारी
काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन्। मधेस केन्द्रित दलहरूबाट अब मधेसको विकास र अधिकारको रक्षा सम्भव नभएको निष्कर्ष निकालेर उनले यो कदम चालेका हुन्। आज जारी गरेको विज्ञप्तिमा यादवले जसपाको मधेस प्रदेश समिति अध्यक्ष तथा साधारण सदस्य पदबाट तत्काल राजीनामा दिएको घोषणा गरेका छन्। यादव विगतमा जसपा सर्लाहीबाट मधेस प्रदेशसभामा निर्वाचित सांसद थिए। नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नका लागि उनले जसपा छाडेको नेकपाका एक नेताले जानकारी दिए।
नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपासहित विभिन्न समूहबीच आज एकता घोषणा कार्यक्रम
काठमाडौं – नेपालका प्रमुख कम्युनिष्ट र समाजवादी राजनीतिक दलहरूका विभिन्न विद्रोही तथा एकीकरण पक्षधर समूहहरूबीच आज एकताको औपचारिक घोषणा हुने भएको छ। कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र एकीकरण पक्षधरको तर्फबाट राजेन्द्र श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यो एकताले वामपन्थी राजनीतिमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ। एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना हुने भएको छ। नेपाली कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) को बहुमत र विप्लव समूह, जनता समाजवादी पार्टीको एकीकरण पक्षधर समूह तथा जनजागरण पार्टी नेपालका नेताहरूको संयुक्त पहलमा यो एकता प्रक्रिया अगाडि बढेको हो। कार्यक्रममा सहभागी हुने प्रत्येक समूहबाट उच्च संख्यामा प्रतिनिधिहरूको उपस्थिति रहनेछ। एकता पक्षधरहरूका अनुसार, यो एकताले नेपालको राजनीतिक स्थिरता र वाम एकताको लागि महत्वपूर्ण आधार तयार पार्नेछ। यो एकता घोषणा कार्यक्रममा वक्तव्यहरू, एकताको साझा घोषणापत्रको विमोचन र नेताहरूबीचको संयुक्त प्रतिबद्धता व्यक्त गरिने आयोजकहरूले जनाएका छन्। कार्यक्रमको लागि राजनीतिक विश्लेषकहरूले यो नेपालको वामपन्थी आन्दोलनमा नयाँ ऊर्जा थप्ने र सत्तारुढ गठबन्धनलाई चुनौती दिन सक्ने टिप्पणी गरेका छन्। आयोजकहरूले सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई समाचार संकलन तथा निरीक्षण गर्न अनुरोध गरेका छन्।
हालसम्म प्रतिनिधिसभाकाे निर्वाचनमा भाग लिन १०६ दलको निवेदन, चार दिन थपियो समय
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १ देखि १० मंसिरसम्म निर्धारण गरिएको अवधीभित्र १०६ दलले निवेदन दिएका छन् । केही दलले अझै पनि दर्ता प्रक्रिया पुरा गर्न नसकेपछि निर्वाचन आयोगले बुधबार चार दिन समय थपेको छ । अब दलहरूले मंसिर १४ गतेसम्म दर्ता निवेदन दिन सक्नेछन् । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका अनुसार बुधबार मात्रै २६ दलले दर्ताका लागि निवेदन दिएका छन्। प्राप्त निवेदनहरूको छानबिन मंसिर १८ गतेसम्म सम्पन्न गर्ने र मंसिर २० गते दर्ता स्वीकृत दलहरूको नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले तय गरेको छ । आयोगका पदाधिकारीका अनुसार नयाँ गठन भएका केही राजनीतिक दल दर्ता प्रक्रियामा रहेकाले उनीहरूलाई सहभागी गराउन समय थपिएको हो । आयोगका प्रवक्ता नारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप तथा विभिन्न राजनीतिक दललगायत सरोकारवालाबाट प्राप्त अनुरोधका आधारमा आयोगको मंसिर १० गतेको बैठकले दर्ता अवधि मंसिर १४ गतेसम्म थप गरेको छ ।’ यसैबीच, निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३७ पुगेको छ । बुधबार सविन सिग्देल नेतृत्वको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदयी पार्टी र सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका छन् । जेन–जी आन्दोलनपछि मात्रै दर्ता भएका नयाँ दलको संख्या अब २१ पुगेको आयोगले जनाएको छ । यद्यपि, महाशाखाका अनुसार अझै १८ दल दर्ता प्रक्रियामै रहेका छन् ।
मिसिल आगजनीका फैसलामा क्षतिको अभिलेख राखिने
काठमाडौं । जेनजी आन्दोलनका क्रममा अदालतका मिसिल जलेको घटनापछि फैसलामा क्षतिको अभिलेख राख्ने प्रक्रिया सुरु भएको छ । भदौ २४ गते भएको आगजनी एवं तोडफोडका कारण नष्ट भएका मिसिलको सक्कल अभिलेख नपाइएको जानकारीसहित अबदेखि मुद्दाको पूर्णपाठमै सो विवरण उल्लेख गर्न थालिएको हो । विशेष परिस्थितिका कारण नष्ट भएका कागजातको प्राप्ति तथा प्रमाणीकरणसम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरिएको थियो । सर्वोच्च अदालतमा मात्र फैसलाभएका तर पूर्णपाठ लेख्न बाँकी रहेका ३ हजार ६८७ मिसिल नष्ट भएका थिए । ती मुद्दामा रहेको टिपोट, इजलास अधिकृतद्वारा तयार मसौदा र मुद्दा व्यवस्थापन प्रणालीबाट निकालिएको विवरणका आधारमा पूर्णपाठ तयार गर्ने प्रक्रिया सुरु भएको अदालतले जनाएको छ । हालै टे«डमार्क विवादसम्बन्धी एक मुद्दाको पूर्णपाठमा अदालतले मिसिल जलेकै कारण उपलब्ध टिपोट र तथ्यका आधारमा फैसला लेखिएको द्रष्टव्य खण्डमा उल्लेख गरेको छ। सो पूर्णपाठमा भनिएको छ— “फैसलाको पूर्णपाठ तयार नहुँदै २०८२ भदौ २४ गते अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण मुद्दाको सक्कल मिसिल नभेटिएकाले इजलासद्वारा अध्ययन गरिएका टिपोट तथा मुद्दा व्यवस्थापन प्रणालीबाट प्राप्त विवरणका आधारमा निर्णय तयार गरिएको हो ।” सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मिसिल जलेका मुद्दामा मात्र त्यस्तो द्रष्टव्य राखिनेछ । “जलेको मिसिलमा भने मात्रै आगजनीको बेहोरा लेखिने हो, अन्यमा त्यस्तो हुँदैन,” प्रवक्ता कोइरालाले भने । निर्देशिकाअनुसार मिसिल जलेका मुद्दाको पूर्णपाठ सङ्क्षिप्त रुपमा पनि तयार गर्न सकिने व्यवस्था छ । सर्वोच्चको संवैधानिक इजलास, मुद्दा फाँट, अभियान फाँट, रिट शाखालगायतमा रहेका धेरै चालु मिसिल समेत नष्ट भएका थिए। जलेको मिसिल पुनःखडा गर्ने कार्यलाई सर्वोच्चले प्राथमिकताका साथ अघि बढाएको छ । मंसिर १ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत मंसिर १० गतेसम्म १ हजार ५४० मिसिल प्राप्त भएको अदालतले जनाएको छ । यसका लागि अदालतले मुद्दाका पक्ष, सरकारी वकिल र सरोकारवाला पक्षसँग आवश्यक कागजात माग गरेको थियो । प्राप्त कागजात परीक्षण र प्रमाणीकरण गर्ने विधि पनि तयार गरिएको छ । जेनजी आन्दोलनका क्रममा देशभरका २३ अदालतमा भौतिक संरचना तथा मिसिलमा ठूलो क्षति पुगेको थियो । आगजनी र तोडफोडबाट चालु, अभिलेख र तहसिल शाखामा रहेका करिब साढे ९ लाख—जम्मा ९ लाख ३३ हजार ८२३—मिसिल पूर्ण रूपमा नष्ट भएका थिए । सर्वोच्चमा मात्रै भदौ २३ गतेसम्म कायम २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ मिसिल जलेका छन् । चालु ४ हजार २०० मिसिल सुरक्षित रहेको अदालतले दिएको जानकारी छ । अभिलेखतर्फ एक लाख ९७ हजार मिसिल जलेका छन् । मातहतका अदालतमा ६ हजार ५३३ चालु मिसिल, ७ लाख ६ हजार ७१ अभिलेख मिसिल र ४ हजार १८५ तहसिल मिसिल पूर्ण रूपमा नष्ट भएका छन् ।
म किसान–मजदुरको छोरा र जनताको सेवक हुँ , प्रधानमन्त्री बन्ने रुचि छैन : संयोजक प्रचण्ड
धादिङ — नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधै काम गर्ने बताउँनुभएको छ । उहाँले बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिष्ट पार्टीकाबारेमा विस्तृत धारणा राख्नुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले गरेको काम र जनताप्रतिको सेवा भावबाट आफु प्रभावित भएको बताउँदै प्रचण्डले भन्नुभयो , “सम्बोधनको क्रममा उहाँले आफ्नो भावना व्यक्त गर्नुभयो । म भगवान होइन। तपाईहरुको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हु। तै पनि कृष्ण थपलिया जीले मलाई जुन रुपमा प्रस्तुत गर्नुभयो उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु।” थपलियाले व्यक्त गरेको सम्मान र भावना प्रति कदर व्यक्त गर्दै उहाँले धन्यवाद दिनुभयो। समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि संयोजक प्रचण्डले भन्नुभयो “मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन। प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन। तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन।”उहाँले पाण्डेले व्यक्त गरेको भरोसाप्रति आभार व्यक्त गर्दै जनताले चाहने र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताउनुभयो । सम्बोधनको क्रममा संयोजक प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा आफुले प्रधानमन्त्रीका रुपमा गरेको प्रयास र लगानी जुटाउने कोशिसको स्मरण गर्नुभयो। उहाँले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताउँदै भन्नुभयो, “म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु।”प्रधानमन्त्री भएका समयमा सिंहदरबारमा परियोजनाका मोडालिटी र आर्थिक संयोजनबारे तीन पटकभन्दा बढी उच्चस्तरीय बैठक भए पनि इच्छाअनुसार गति दिन नसकिएको उहाँले बताउनुभयो । गाउँपालिकालाई देशकै एक नम्बरमा स्थान दिलाउन अध्यक्ष थपलियाको नेतृत्व र जनताको साहस प्रशंसनीय रहेको भन्दै प्रचण्डले प्रसंसा गर्नुभयो । ‘बेनिघाट रोराङ देशभरि ‘बेरुजु–विहीन’ र उच्च कार्यक्षमता भएको पालिका भनेर चिनिएको छ, र यसले अन्य स्थानीय तहलाई प्रेरणा दिएको छ।’ उहाँले भन्नुभयो ।आफु देशका विभिन्न स्थानमा जाँदा पनि बेनिघाट रोराङलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको स्मरण समेत उहाँले गर्नुभयो । प्रचण्डले गणतन्त्र स्थापनापछि देशले ऊर्जा, भौतिक पूर्वाधार, स्वास्थ्य र जीवन प्रत्याशामा अभूतपूर्व प्रगति गरेको बताउनुभयो । ९० प्रतिशत घरधुरी विद्युत पुग्नु, लाखौँ किलोमिटर सडक विस्तार र सरदर आयु ७१–७२ वर्ष पुग्नु जनताको त्याग र राजनीतिक संघर्षको परिणाम भएको उहाँको धारणा थियो । तर पछिल्ला वर्षमा भ्रष्टाचार मौलाउँदै गएको, राज्यको ध्यान रोजगारी सिर्जनाभन्दा वैदेशिक श्रममा मोडिएको कारण केही शक्तिहरूले प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।देशमा २३ र २४ गते भएको घट्नालाई स्मरण गर्दै संयोजक प्रचण्डले युवा आन्दोलन र त्यसपछिका घटनामा राज्यको लापरबाहीले ‘राज्यविहीनता’ जस्तै अवस्था सिर्जना भएकोप्रति व्यक्त गर्नुभयो ।शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग रोक्न पहिलो वक्तव्य आफूले नै निकालेको याद दिलाउँदै सुरक्षा व्यवस्थापन, राज्यले गर्ने बल प्रयोगमा कमजोरी हुँदा ठूलो क्षति भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । संयोजक प्रचण्डले संविधान खारेज गर्न खोज्ने, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारूले प्राप्त गरेको अधिकार कमजोर पार्न खोज्ने शक्तिहरू सक्रिय रहेकोले त्यसका विरुद्ध बामपन्थी र लोकतान्त्रिक शक्तिहरुसँग मिलेर प्रतिवाद गर्ने जानकारी दिनुभयो । त्यसका लागि वामपन्थी मात्र होइन, सबै लोकतान्त्रिक शक्तिहरू मिलेर ‘सशक्त मोर्चा’ निर्माण गरिने उहाँले बताउनुभयो । अहिले देश वर्तमान अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेको उल्लेख गर्दै यो अवस्थाबाट देशलाई पार लगाउन “निर्वाचन नै उत्तम विकल्प” भएको उहाँले विचार व्यक्त गर्नुभयो । सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको स्मरण गर्दै संविधानलाई सही ट्रयाकमा फर्काउने उपाय निर्वाचनमा सरकार केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले तत्कालिन सरकारका प्रमुख एमाले अध्यक्ष केपी शर्मा ओली कै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको बताउँदै ढाट झुट र छलछाम गर्ने तिर नलागि संविधानलाई ट्रयाकमा ल्याउन देशमा निर्वाचनको वातावरण बनाउने तर्फ लाग्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो । नयाँ प्रशासकीय भवनलाई ‘मौलिक र विशेष’ भन्दै उहाँले स्थानीय तहबाट अझ प्रभावकारी सेवा प्रवाहको अपेक्षा व्यक्त गर्नुभयो।बेनीघाट गाउँपालिका र धादिङबासीलाई गाउँमै सिंहदरबार आएकोमा बधाई दिँदै राष्ट्रिय सहमति, स्थिरता र जनमैत्री शासनका लागि एकजुट हुन अपिल गर्नुभयो ।
टिट्वेन्टी विश्वकपको तालिका सार्वजनिक: नेपालका सबै खेल मुम्बइमा, पहिलो खेल इग्ल्याण्डविरुद्ध
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ को टी-२० विश्वकपको पूर्ण तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा आयोजित विशेष समारोहमा यो घोषणा गरिएको हो । प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाका ८ सहरमा आयोजना हुनेछ, जसमध्ये भारतका ५ र श्रीलंकाका २ सहर समावेश छन् । पूर्व भारतीय कप्तान रोहित शर्मालाई यसको ब्रान्ड एम्बेसडर तोकिएको छ । उद्घाटन खेलमा आयोजक भारतले अमेरिकासँग भिड्नेछ, भने भारत-पाकिस्तानको चिरपरिचित भिडन्त फेब्रुअरी १५ मा कोलकातामा हुनेछ । ग्रुप चरणमा दैनिक ३ खेल खेलाइनेछन् । नेपाललाई समूह 'सी' मा राखिएको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेश छन् । नेपालको पहिलो खेल माघ २५ गते इंग्ल्यान्डसँग मुम्बईमा हुनेछ । भारत भने समूह 'ए' मा अमेरिका, नेदरल्यान्ड्स, नामिबिया र पाकिस्तानसँगै परेको छ । कुल २० टोली सहभागी हुने यो विश्वकपमा ५५ खेल हुनेछन् । फाइनल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यदि पाकिस्तान नकआउट चरणमा पुग्यो भने तिनका खेलहरू श्रीलंकामा सर्नेछन् । युरोपेली टोली इटालीले पहिलो पटक टी-२० विश्वकप खेल्न लागेको छ । आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज पछिल्लो विश्वकपको सुपर ८ बाट छनोट भएका छन् । बाँकी टोलीहरू क्वालिफायरबाट आएका हुन् ।
'देश बडो अफ्ठ्यारो स्थितिमा छ, बचाउने जिम्मेवारी सबैको हो' : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश अहिले गम्भीर संकटको सामना गरिरहेको बताउनुभयो । मुस्लिम समुदायसँग नेपाली कम्युनिस्ट पार्टीका विषयमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गत २३ र २४ भदौका आन्दोलनहरूले देशमा उत्पन्न भएको अफ्ठ्यारो अवस्थाबारे जोड दिनुभयो । विशेषगरी २४ भदौको विध्वंसकारी घटनापछि सम्पूर्ण नेपाली समुदायको आत्मनिर्णयको अधिकारमाथि नै प्रश्नचिह्न खडा भएको उहाँले भन्नुभयो । राष्ट्रलाई निश्चित भूगोलभित्र बसोबास गर्ने विविध जातजाति, धर्म, संस्कृति र भाषाका व्यक्तिहरूको योगफल ठान्ने दाहालले राष्ट्रिय एकताको महत्त्वमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "अहिले देश बडो अफ्ठ्यारो स्थितिमा छ । तपाईंहरूले पनि महसुस गर्नुभएको होला । २४ भदौको विध्वंसपछि सिंगै नेपाली समुदायको आत्मनिर्णयको अधिकारमाथि प्रश्नचिह्न खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल हो भन्ने बुझ्नुपर्छ । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।" कार्यक्रममै सहसंयोजक माधवकुमार नेपालले पनि देशलाई जोगाउन सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । विभिन्न समयमा भिडलाई उत्तेजित पार्ने तत्त्वहरू सक्रिय रहेको उल्लेख गर्दै उहाँले तिनबाट सावधान रहन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, "सबैभन्दा पहिला नेपाली हौं भन्ने भावना जगाउन जरुरी छ ।"
नेकपालाई जेनजी पुस्ताले आफ्नो अभिभावकको रूपमा लिन थालेका छन्: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिन थालेको दाबी गर्नुभएकाे छ । मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रचण्डले जेनजी आन्दोलनको प्रारम्भिक चरणमै नेकपाले समर्थन जनाएपछि युवा पुस्तामा दलप्रति विश्वास बढेको बताउनुभयाे । उहाँका अनुसार आन्दोलनका बेला युवाका ‘सही आवाज’ दमन हुन नदिन सरकारलाई पहिलो चेतावनी नेकपाबाटै दिइएको र त्यसपछि युवासँग गरिएको निरन्तर संवादका कारण जेनजी पुस्ताले नेकपालाई ‘असली अभिभावक’का रूपमा हेर्न थालिएकाे हाे । प्रचण्डले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सम्हाल्न, राष्ट्रको स्वाधीनता जोगाउन र वामपन्थी शक्तिलाई एकताबद्ध गर्न नेकपा गठन गरिएको बताउनु भयाे । उहाँले अब भाषणभन्दा काममा जोड दिने दाबी गर्दै भन्नुभयाे, “हामीले गर्नुपर्ने काम धेरै छ । अब भाषण कम गर्दै काम धेरै गर्दै अगाडि बढ्छौं । युवाहरूले देखेका सपना पूरा गर्ने संकल्पसहित नेपाली कम्युनिस्ट पार्टी अघि बढेको छ ।” उहाँले आगामी पुस १२ देखि देशका विभिन्न शहरमा ‘एकता सभा’ आयोजना हुने जानकारी पनि दिनुभयाे । पहिलो सभा कैलालीको धनगढीमा गरिने र त्यसपछि क्रमशः विभिन्न शहर हुँदै विराटनगरसम्म सभा निरन्तर हुने उहाँकाे भनाइ छ । एकता सभामार्फत निर्वाचनको वातावरण निर्माण गर्न नागरिक, दल र सरकारलाई अपिल गर्दै आवश्यक दबाब सिर्जना गरिने प्रचण्डले उल्लेख गर्नुभयाे । ढिलोचाँडो सबै “सच्चा कम्युनिस्ट र वामपन्थी शक्ति” नेकपाभित्र समाहित हुँदै जाने दाबी पनि प्रचण्डकाे छ ।
दोलखा एमालेका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश, प्रचण्डद्वारा स्वागत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखा जिल्लामा सक्रिय हुँदै आएका एमालेका पूर्व जिल्ला कमिटी सचिव र शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलाल औपचारिक रूपमा नेकपामा प्रवेश गरेका छन् । दुलाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वागत गर्दै पार्टी प्रवेश गराइएको प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए । उनका अनुसार दुलाल दोलखा जिल्लामा एमालेभित्र प्रभावशाली नेताका रूपमा रहेको र हालसम्म विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका खेलिरहेका थिए । पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता विशाल खड्का, रेनु दाहाल, साबिक नेकपा (एस) का नेता तथा तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, भीम दाहाललगायतका नेताहरू उपस्थित थिए । दुलाल एमाले जिल्ला कमिटी अध्यक्षको पदमा पराजित भएपछि पार्टीभित्र केही समयदेखि निष्क्रिय जस्तै रहेका थिए । दुलालको आगमनले दोलखामा नेकपाको संरचना तथा संगठन विस्तारमा थप ऊर्जा र प्रभाव पर्ने अपेक्षा गरिएको छ । पार्टी नेताहरूले दुलालको प्रवेशलाई स्थानीय राजनीति र आगामी संगठनात्मक तयारीका हिसाबले महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । आयोगका अनुसार यही मङ्सिर १ गते १२, मङ्सिर २ गते पाँच, मङ्सिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए । सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका थिए । आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको नेसपाबीच मंसिर ११ गते पार्टी एकता हुने
काठमाडौँ। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राजेन्द्र श्रेष्ठ संघीय परिषद् अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) बीच मंसिर ११ गते एकता घोषणा हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टीकाअनुसार काठमाडौंको राष्ट्रिय सभा गृहमा दिउँसो एकबजे नेकपा र श्रेष्ठ नेतृत्वको जसपाबीच पार्टी एकता घोषणा हुने भएको हो। यसअघि १० गते गर्ने तयारी गरिएको थियो । जसपाको मधेस प्रदेश र लुम्बिनी प्रदेशबाहेकका समितिको बहुमतले पार्टी एकतामा आफूहरुको सहभागिता हुनुपर्ने बताएपछि एकता घोषणा कार्यक्रम एक दिन सारिएको हो । भोलि पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको जसपाका संघीय परिषद् अध्यक्ष श्रेष्ठले बताउनु भयो । एकता सभाको तयारीका लागि मङ्सिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिएको छ। एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का छ जना नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्। जसपाको संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (काँडाङवा) र परशुराम बस्नेतसहितका नेताहरू यो प्रक्रियामा सामेल हुन लागेका हुन्। यस्तै, जसपा केन्द्रीय सल्लाहकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने सहमति भएका छन्। जनजागरण आन्दोलनपछि जसपामा नीति, सिद्धान्त तथा माग–मुद्दाहरू मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चाबन्दी वा तालमेल गर्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिलाई दिइएको थियो। तर, बैठक नै नबोलाएर यो विषयलाई अनिर्णित राखिएको भन्दै श्रेष्ठसहितका छ नेताले हस्ताक्षर गरेको जानकारी–पत्रमा उल्लेख छ। उक्त पत्रमा भनिएको छ, 'दिनानुदिन सञ्चालन गर्नुपर्ने कार्यकारिणी समितिको स्थगित बैठक हालसम्म नबोलाएको हुँदा चालु केन्द्रीय कार्यकारिणी समितिको कार्यसूची नं. १९(ख) लाई टुंगो लगाइएको छैन। यसमा असहमति राख्दै जनजागरण आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू नै खतरामा पर्न सक्ने भएकाले विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर उपलब्धिहरूको रक्षा तथा थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने हाम्रो धारणा छ।' सोही निर्णयअनुसार केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूले जसपाबाट आ–आफ्नो पदिय जिम्मेवारीबाट अलग हुँदै नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
देशभर आठ लाखभन्दा बढी नयाँ मतदाता थपिए
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्तामा उल्लेखनीय उत्साह देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ८ लाख ३७ हजार ९४ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन् । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सरकारले अध्यादेशमार्फत दर्ता प्रक्रिया सुरु गरेयता दर्ता संख्या तीव्र गतिमा बढेको हो । सरकारको आग्रहपछि आयोगले कात्तिक ३० गते तोकिएको समयसीमा मङ्सिर ५ गतेसम्म लम्बाएको थियो । अनलाइनमार्फत ३ लाख ४४ हजार ९१४ ले दर्ता गरेका छन् ।जसमा १ लाख ९२ हजार ८९० पुरुष, १ लाख ५१ हजार ९८० महिला र ४४ अन्य छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत ४ लाख ९२ हजार १८० दर्ता भएका छन् । जसमा २ लाख ८० हजार ३६५ पुरुष, २ लाख ११ हजार ७९८ महिला र १७ अन्य रहेका छन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रविधिको प्रयोगले दर्ता प्रक्रिया अझ सहज भएको छ । राष्ट्रिय परिचयपत्र बाहकलाई बायोमेट्रिक नचाहिने व्यवस्था भएकाले थप उत्साह देखिएको बताइएको छ । आयोगकाअनुसार कात्तिक १८ सम्म १ करोड ८१ लाख ६८ हजार २३० मतदाता रहेका थिए भने मङ्सिर ५ गतेसम्म प्रविष्टिअनुसार संख्या १ करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । दोहोरो दर्ता हुन सक्ने भएकाले अद्यावधिकपछि मात्र वास्तविक तथ्याङ्क आउने आयोगले स्पष्ट पारेको छ । आयोगले मङ्सिर २१–२७ सम्म दाबी–विरोध, दोहोरो दर्ता, मृतक वा नागरिकता त्याग गरेका व्यक्तिका नाम हटाउन निवेदन दिन आग्रह गरेको छ । छानबिनपछि पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ ।

