एमाले नेताहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा आउन पूर्वप्रधानमन्त्री झलनाथ खनालको आग्रह

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा सामेल हुन आग्रह गरेका छन् ।

वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एकीकृत हुनुको विकल्प नरहेको बताए । "एमालेका साथीहरू, तपाईँहरूको बाटो पनि यही हो । एकताबद्ध भएर एउटा कम्युनिस्ट पार्टी निर्माण गरौँ । एउटा देशमा हजारौं सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्," उनले भने ।

विगतका तिता कुराहरु छोडेर अब मार्क्सवाद–लेनिनवादमा आधारित नेपाली विशेषताको समाजवादतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले एमालेको आगामी महाधिवेशनमा भाग लिने नेताहरूलाई मूल प्रवाहमा सामेल हुन अपिल गरे । "अब टुटेर, फुटेर होइन, एकजुट भएर निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा एक हुनुपर्छ," खनालले थपे ।

सम्बोधनमा उनले मुलुकमा विदेशी हस्तक्षेप बढेर राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको टिप्पणी गर्दै जनतालाई गाँस, बास, कपास र शिक्षाको सहज पहुँच दिन समाजवाद अपरिहार्य रहेको तर्क गरे । कम्युनिस्टहरू एकजुट भएर राष्ट्रिय रूपमा अपराजित शक्ति बन्नुपर्नेमा उनले जोड दिए ।

चर्चिलको पुस्तक: जब कामरेडले आफ्नो काम आफैँ गरेको देख्छन् साम्राज्यवादीलाई धक्का लाग्छ

एजेन्सी। चर्चिलले आफ्नो प्रसिद्ध पुस्तक 'Memoirs of the Second World War' मा लेखेका छन्, जब साम्राज्यवादीले कामरेडले आफ्नो काम आफैँ गरेको देख्छन् उनीहरुलाई धक्का लाग्छ । उक्त पुस्तकको एक अंशलाई यहाँ प्रस्तुत गरिएको छ।  ‘एंग्लो–रुसी सम्झौतामा हस्ताक्षर गर्न म मस्को गएको थिएँ। मस्को छोड्नु एक दिनअघि अचानक मेरो कोठामा स्टालिन र मोलोटोभ उपस्थित भए। स्टालिनले भने, “लडाइँ त धेरै भयो– एउटा राम्रो सम्झौता पनि भयो। तपाईं त भोलि नै जानुहुन्छ, आज हामी अलिकति रमाइलो गरौं। मेरो घरमा आउनुहोस्।”’ चर्चिल अगाडि लेख्छन्, ‘रुसका महान तानाशाहले आफ्नो स्थानमा निम्तो दिँदैछन्, निश्चय पनि आज कुनै विशेष कुरा देख्न पाइन्छ। स्टालिनले भने, “तपाईंलाई कुनै पहरेदार लैजान आवश्यक छैन, मेरोसँग त छँदैछ, तपाईं एक्लै आउनुहोस्।” क्रेमलिनभित्र जाँदैछौं, सिपाहीहरूको सलाम मिलिरहेको छ। अलिकति पछि एउटा सानो, पहेंलो रंगको दुईतले घरको अगाडि गाडी रोकियो। स्टालिनले मलाई त्यो घरको तल्लो तल्लामा लगे। उनले भने, “माथिल्लो तल्लामा मेरो गुरु अर्थात् लेनिन बस्नुहुन्थ्यो, त्यसैले म त्यसको प्रयोग गर्दिनँ, बरु त्यसलाई एउटा संग्रहालय बनाइदिएँ। तल्लो तल्लामा तीन कोठा छन्, एउटामा म र मेरी श्रीमती, दोस्रोमा छोरी बस्छिन् र तेस्रोमा पार्टी सदस्यहरूको बैठक हुन्छ।”’ चर्चिल लेख्छन्, ‘मलाई त ठूलो धक्का लाग्यो। महान रुसका महान तानाशाह तीन कोठाको फ्ल्याटमा बस्छन्! त्यसमध्ये पनि एउटै कोठा मात्र उनी र उनकी श्रीमतीका लागि छुट्ट्याइएको छ! यद्यपि स्टालिनले भने, “मलाई अलिकति समय दिनुहोस्, तपाईंका लागि खाना बनाउनु छ।” मैले भने, “तपाईंसँग कुनै रसोइया छैनन्??” स्टालिनले भने, “छैनन्, म र मेरी श्रीमती मिलेर खाना बनाउँछौं।” फेरि एउटा धक्का! महान रुसका महान अधिनायकले आफैं खाना बनाउँछन्! चर्चिल अगाडि लेख्छन्, “राम्रो कुरा हो। आज तपाईकी श्रीमतीले एक्लै खाना बनाउनुहोस् र तपाईं मेरो छेउमा बस्नुहोस्। अझै पनि आश्चर्य बाँकी थियो।” स्टालिनले भने, “म असहाय छु। उनी घरमा छैनन्, कारखाना गइन्। कपडा मिलमा काम गर्छिन्। पाँच बजे छुट्टी हुन्छ, तब घर आउँछिन्।” यो सुनेर म त पूरै स्तब्ध भएँ। महान अधिनायककी श्रीमती कारखानामा काम गर्छिन्!’ साम्राज्यवादीहरू, जसलाई न केवल हरामखोरीको बानी छ, यति कामचोर र विलासी पनि छन् कि आफ्नो नाक सफा गर्न सेवक चाहन्छन्, जब उनीहरूले कमरेडहरूलाई आफ्नो निजी काम आफैं गर्दै गरेको देख्छन् भने उनीहरूलाई धक्का लाग्नेछ।

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज सुर्खेतमा: प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

सुर्खेत – नेपाली कम्युनिष्ट पार्टीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज एकता सन्देश सभा आयोजना गर्दैछ। दिउँसो १ बजे वीरेन्द्रनगरस्थित घन्टाघर चोकमा हुने यो सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँगै सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता भिमरावल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। प्रचण्डसहित पार्टीका केन्द्रीय नेताहरू सुर्खेततर्फ प्रस्थान गरेका छन्। सभामा पूर्व प्रधानमन्त्री तथा संयोजक प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा सह–संयोजक माधवकुमार नेपाल, पूर्व गृहमन्त्री वामदेव गौतम, पूर्व गृहमन्त्री डा. भीमबहादुर रावल, पूर्वमन्त्री प्रेमबहादुर सिंह र कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ। यसबाहेक स्थानीय तथा राष्ट्रिय कलाकारहरूको पनि सहभागिता रहने नेकपाले जनाएको छ। यो सभा पार्टी गठनपछि देशभर सञ्चालन गरिएको एकता सन्देश सभाको श्रृङ्खलाअन्तर्गत कर्णाली प्रदेशमा आयोजित हुने हो। यसअघि पार्टीले धनगढी, दाङ, पोखरा र जनकपुरमा यस्तै सभा सम्पन्न गरिसकेको छ। केही दिनअघि मङ्सिर १८ गते निर्धारित सभा पूर्णिमा मेलाका कारण सारिएको थियो, जसलाई पछि मङ्सिर २७ मा यकिन गरिएको हो। कर्णाली प्रदेश समितिका अनुसार, यो सभाबाट नेतृत्वको एकीकृत सन्देश प्रवाह हुनेछ भने आगामी रणनीतिका बारेमा पनि घोषणा गरिने अपेक्षा गरिएको छ। प्रदेशभरका कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायको उत्साहपूर्ण सहभागिताका लागि आयोजकले अपिल गरेका छन्। पार्टीले मङ्सिर महिनालाई 'एकता अभियान महिना' का रूपमा चित्रण गर्दै प्रदेशदेखि स्थानीय तहसम्म एकता सन्देश सभा सञ्चालन गर्ने निर्णय गरेको थियो। यो अभियानमार्फत बिखण्डनकारी शक्तिहरूविरुद्ध जनएकताको सन्देश बोकेर अघि बढ्ने पार्टीको योजना छ। सभामा सहभागी हुने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय गरिएको छ। यो सभाले कर्णालीका जनतालाई पार्टीको एकतापूर्ण यात्राप्रति थप उत्साहित बनाउने विश्वास गरिएको छ।  

देशभरकाे नेकपाको एकता सन्देशसभाले पार्टीको नीति र विचार जनतामाझ पुर्याउँदै

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकता सन्देशसभा गरिरहेको छ । पार्टी एकताको सन्देशलाई पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न जिल्ला तहमा एकता सन्देशसभा भइरहेको उक्त पार्टीको केन्द्रीय सदस्य ज्ञामनाथ गैरै ‘अनिल’ले जानकारी दिए । यही मङ्सिर १४ गते प्रदेश राजधानी पोखरामा प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरेको नेकपाले त्यसयता म्याग्दी, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ र पर्वतमा एकता सन्देशसभा सम्पन्न गरिसकेको छ । शनिबार बागलुङ र नवलपुरमा एकता सन्देशसभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताउनुभयो । मुस्ताङ र मनाङमा कार्यक्रम तय हुन बाँकी रहेको उनको भनाइ छ । प्रदेशस्तरीय एकता सन्देशसभा पोखरामा भइसकेकाले कास्कीको छुट्टै कार्यक्रम आयोजना नहुने भएको हो । पोखरामा भएको गण्डकी प्रदेशस्तरीय एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत शीर्षस्थ नेताहरूले सम्बोधन गरेका थिए । जिल्लास्तरमा भएका एकता सन्देशसभामा पनि केन्द्रीयस्तरका नेताहरू सहभागी भइरहेका छन् । शनिबार बागलुङ सदरमुकाममा हुने एकता सन्देशसभालाई उक्त पार्टीका नेता पम्फा भुसाल, देवेन्द्र पौडेल, दिलकुमारी पन्तलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । एकता सन्देशसभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउने काम नेकपाले गरिरहेको केन्द्रीय सदस्य गैरैले बताए । “नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रूपमा प्रवाह भइरहेको छ, यसले पनि निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ”, उनले भने । यही मङ्सिर २९ गते पालिकास्तरमा एकता सन्देश सभा गरिने नेकपाले जनाएको छ ।

जसपाको भोजपुर जिल्ला समिति नै नेपाली कम्युनिष्ट पार्टीमा समाहित

भोजपुर  – जनता समाजवादी पार्टी (जसपा), नेपालको भोजपुर जिल्ला समिति पूर्ण रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा विलय भएको छ। केन्द्रीय सदस्य ध्रुव राईको नेतृत्वमा रहेको जिल्ला समितिका २० भन्दा बढी सदस्यहरूले आधिकारिक रूपमा नेकपामा सामेल हुने घोषणा गरेका छन्। जिल्ला समितिका अध्यक्ष तथा अन्य पदाधिकारीहरू सहितको यो विलयले स्थानीय राजनीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। जसपा भोजपुरका पूर्व अध्यक्षहरू तथा सक्रिय सदस्यहरूले नेकपाको वैचारिक आधार र संगठनात्मक संरचनालाई समर्थन गर्दै यो कदम चालेको बताएका छन्। विलयको घोषणापत्रमा हस्ताक्षरित सदस्यहरूमा ध्रुव राई, प्रेम सापकोटा, जितबहादुर कार्की, जिल्ला अध्यक्ष तथा अन्य पदाधिकारीहरू समावेश छन्। नेकपाका जिल्ला संयोजकले नयाँ सदस्यहरूलाई स्वागत गर्दै पार्टीको क्रियाकलापमा सक्रिय सहभागिता अपेक्षा गरेको प्रतिक्रिया दिएका छन्। यसअघि पनि विभिन्न जिल्लाहरूमा यस्ता विलयहरू भएका थिए, जसले नेकपाको आधार विस्तारमा योगदान पुर्‍याएको छ।

मन्त्रिपरिषद् बिस्तारको तयारी: यी हुन् सम्भावित चार मन्त्री, शपथ आजै

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। नियुक्त चार मन्त्रीहरूको शपथ दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने निश्चित भएको छ। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, नयाँ मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन्। भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक हुन् भने श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन्।

पर्वतहरूलाई प्रकृतिका अमूल्य धरोहर मानेर तिनको संरक्षण गर्न आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पर्वतहरूलाई प्रकृतिका अमूल्य धरोहर मानेर तिनको संरक्षण आवश्यक भएकोमा जोड दिएका छन् । “पर्वतहरूले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्छन् । तर जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको छ । यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटोक्षय र खाद्य असुरक्षाको रूपमा देखा परेको छ,” सन्देशमा उनले भनेका छन् । ८३ प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित नेपाल जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै संयोजक दाहालले हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवन जोखिममा पर्नुजस्ता पीडाहरू विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम भएको बताएका छन् ।

समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई सबैले साझा सङ्कल्प बनाउनु पर्छ: संयाेजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युष्टि पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा सङ्कल्प बनाउनु आजको अपरिहार्य आवश्यकता भएको बताउनु भएकाे छ ।  ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रिक बन्न नसक्ने पनि उल्लेख गर्नुभयाे ।  उहाँले भन्नुभयाे, “द्वन्द्वकालका पीडितहरूले न्याय, सत्यको खोजी र परिपूरण पाउनु मानव अधिकारको अविभाज्य विषय हो । सङ्क्रमणकालीन न्यायलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याएर पीडितको घाउमा मलम लगाउने कामलाई हामी कुनै पनि हालतमा पछि सार्न सक्दैनौँ । यो हाम्रो राजनीतिक र नैतिक दुवै दायित्व हो ।” पूर्वप्रधानमन्त्री प्रचण्डले मानव अधिकारको साँचो अर्थ आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हरेक व्यक्तिको जन्मसिद्ध अधिकारको प्रत्याभूति भएको उल्लेख गर्दै भनेकाछन्, “तर विडम्बना, हाम्रो समाजको ठूलो हिस्सा (दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएका क्षेत्र तथा सम्पूर्ण उत्पीडित–उपेक्षित समुदाय) लामो समयदेखि राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको सिकार बन्दै आएका छन् ।” नागरिकले समानतापूर्वक बाँच्न पाउने वातावरण, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिकसहित सबैखाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारूलगायत समुदायको अर्थपूर्ण सहभागिताबिना समावेशी लोकतन्त्र अधुरो रहन्छ र मानव अधिकारको सार्थक प्रत्याभूति सम्भव नहुने उहाँकाे भनाइ छ । सन्देशमा भनिएको छ, “ऐतिहासिक विभेद र उत्पीडनविरुद्धको महान् जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न अधिकारमुखी आन्दोलनको बलमा प्राप्त भएको हाम्रो संविधानले यी अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ, तर अधिकार कागजमा मात्र सीमित हुनुहुँदैन, ती अधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती र दायित्व हो ।”  

०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौं, सुशासनको अभियान थालौँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा चर्चित काण्डहरू तथा २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग दोहोर्‍याउनुभएको छ। मंगलबार जारी शुभकामना सन्देशमा उहाँले भन्नुभयो, ‘‘प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिनुपर्छ। हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसद्को रोष्टमबाटै गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्‍याउँछु।’’ प्रधानमन्त्रीकालको स्मरण गर्दै उहाँले बताउनुभयो, ‘‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं। सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए। बिना कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह, भुटानी शरणार्थी प्रकरणलगायत ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो।’’ भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभएको उल्लेख गर्दै संयोजक प्रचण्डले यो निरन्तरको सङ्घर्ष भएको बताउनुभयो। यो दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास उहाँको छ।

भारतमा भएका आगलागीका घटनामा सात नेपालीको मृत्यु भएकोमा प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौँ – भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सात जना नेपालीसहित भारतीय नागरिकहरूको मृत्यु भएको दुःखद् खबरप्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गहिरो शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले मृतक नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। प्रचण्डले भन्नुभयो, "भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीलगायत भारतीय नागरिकको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु। कीर्तिशेष दाजुभाईहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।" उहाँले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गर्नुभएको छ। प्रचण्डले बताउनुभयो, "मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कूटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु।" यसैगरी, पार्टीका प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो, "साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु।"  

नेकपाले भृकुटीमण्डपमा पुस ५ गते एकता सन्देश सभा गर्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा साेमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो पार्टीका नेता ताज मोहम्मद मियाँले जानकारी दिए । पार्टीनिकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ । देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण तथा कम्युनिस्ट शक्तिबिच एकताको प्रारम्भ गरेको छ ।

रौतहटका एमाले नेता बद्रुद्दिन अरमान नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा एमाले रौतहटका नेता बद्रुद्दिन अरमान नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले अरमानलाई पार्टीमा स्वागत गरेको नेता ताज मोहम्मद मियाले जानकारी दिए ।  एमाले मधेस प्रदेश कमिटीका सदस्य एवं प्रदेश सभा सदस्य पदका उम्मेद्वारसमेत रहेका अरमानले नेपाली कम्युनिष्ट पार्टी नै सच्चा कम्युनिष्ट पार्टी भएकाले आफू पार्टी प्रवेश गरेको बताए । 

सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा सरकार ढालियो: संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताउनुभएको छ। नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताउनुभएको हो । पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन, महोत्तरीलगायतका स्थानहरूबाट भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको काम सुरु गरिएको भए पनि पछिल्ला सरकारहरूले यसतर्फ आवश्यक पहल नगरेको उहाँले उल्लेख गर्नुभयो। साथै, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि तत्काल पहल गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको हो। समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो। दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिनु आग्रह गरेको छ। समितिले राखेका प्रमुख मागहरू १. भूमिहीन किसान तथा सुकुम्बासीहरूलाई प्रति परिवार तराईमा दुई विगाह जमिन उपलब्ध गराइयोस् । तराई तथा पहाडमा भएका भझो जमिनलाई कृषि कार्यका लागि प्रयोग गर्न आवश्यक नीति बनाई लागू गरियोस् । जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्पपीडितहरू र तराई मधेशका बाढीपीडित भूमिहीन सुकुम्बासीहरूलाई तत्काल तराई क्षेत्रमा जग्गा उपलब्ध गराई बसोवासको व्यवस्था गरियोस् । २. भूमिहीन सुकुम्बासीहरूको वडा स्तरबाटै पहिचान गरी निजहरूका छोराछोरीहरूलाई कक्षा १२ सम्म छात्रवृत्तिसहित निःशुल्क अध्ययनको व्यवस्था गरियोस् र परिवारका सबै सदस्यहरूको निःशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य बीमाको व्यवस्था गरियोस् । ३. बाबु आमाको नागरिकता नभएको कारण जन्मदर्ता गर्नबाट बञ्चित दलित तथा सीमान्तकृत समुदायसमेतका बालबालिकाहरूको जन्मदर्ता सहज तरिकाले गर्न गराउनका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक निर्देशन जारी गरियोस् । समितिले भूमिहीन सुकुम्बासीको समस्या दीर्घकालीन समाधानका लागि सरकार र पार्टी नेतृत्वको प्रभावकारी हस्तक्षेप अब अनिवार्य भइसकेको बताउँदै प्रधानमन्त्रीभन्दा पहिले संयोजक प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको बताएको छ।

ओलीको नेतृत्व रह्यो भने एमाले मात्र होइन, कम्युनिस्ट आन्दोलन नै समाप्त हुन्छ : कर्ण थापा

काठमाडौं  – नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पार्टीको स्थापित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादविपरीत केपी शर्मा ओलीले पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्। सोमबार नेता ईश्वर पोखरेलको समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले ओलीको नेतृत्वमा एमाले मात्र नभई नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने चेतावनी दिए। थापाले ओलीको शैलीमाथि कडा प्रहार गर्दै भने, "केन्द्रीय कमिटी बैठकमा उहाँ उभिने, भाषण गर्ने, भाषण जति मन लाग्छ त्यति गर्ने। जे मन लाग्छ भन्ने। उहाँले भनेको कुरा मार्क्सवाद, उहाँले भनेको कुरा जबज, उहाँले भनेको कुरा पार्टी र उहाँले भनेको कुरा निर्णय। जो जनताको बहुदलीय जनवाद र मार्क्सवादसँग मेल खाँदैन। जे स्थापित गर्‍यौँ, उहाँले त्यो तोड्दै जानुभयो।" उनले १०औँ राष्ट्रिय महाधिवेशनपछि अहिलेसम्म एउटा मात्र स्थायी कमिटी बैठक बसेको उल्लेख गर्दै बैठकका नाममा माइन्युटमा तीन वटा बैठक उल्लेख गरिए पनि कुनै पनि बैठकमा छलफल नभएको बताए। थापाले जबाफदेहिताको प्रणाली नै समाप्त पारिएको आरोप लगाउँदै अन्य पार्टीबाट ल्याइएका व्यक्तिलाई जिम्मेवारी दिइएको पनि औंल्याए। "जबाफदेहिताको प्रणालीलाई उहाँले समाप्त गरिदिनुभयो", थापाले भने, "अघिल्लो एउटा निर्णय गर्ने, पछिल्लो पटक अर्को निर्णय।" दृष्टान्त पेस गर्दै उनले प्रदेश अध्यक्षलाई विधानअनुसार केन्द्रीय कमिटीको पदेन सदस्य बनाउने व्यवस्था थियो भने पछि पोलिटब्युरो सरह बनाइएको उल्लेख गरे। प्रदेश तहमा विवाद बढ्नुको कारण विधानभन्दा बाहिर गएर निर्णय गरिएको बताउँदै थापाले दुई कार्यकाल र ७० वर्षे उमेर हदजस्ता विषयमा मनपरी निर्णय गरिएको आरोप लगाए। उनले अब ओलीको नेतृत्वमा एमाले चल्न नसक्ने भन्दै उनको व्यक्तिगत चाहनामा पार्टी अघि बढे नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने दाबी गरे। यो अभिव्यक्तिले एमालेभित्रको आन्तरिक असन्तुष्टि थप उजागर गरेको छ।

नेपाली कम्युनिष्ट पार्टीको 'एकता सन्देश सभा' पुस ५ मा काठमाडौंको भृकुटीमण्डपमा

काठमाडौं  – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीभित्रको एकताको सन्देश दिन पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा 'एकता सन्देश सभा' आयोजना गर्ने भएको छ। यो सभालाई बागमती, सम्पर्क समन्वय तथा विशेष प्रदेशका इकाईहरुले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले यो निर्णय गरेको हो। बैठकले पार्टीको एकताको महत्वलाई जोड दिँदै आगामी सभालाई भव्य रुपमा सम्पन्न गर्ने योजना बनाएको जनाइएको छ। सभामा नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभालाई नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्ने तय भएको छ।  त्यस्तै, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका अन्य केन्द्रीय नेताहरुले पनि सभामा सम्बोधन गर्ने तयारी छ। सभामा पार्टीका विभिन्न तहका प्रतिनिधिहरुको सहभागिता रहने  छ। नेकपाको यो सभाले पार्टीभित्रको वैचारिक तथा संगठनात्मक एकतालाई मजबुत बनाउने उद्देश्य राखेको छ। विगतका विभाजन र एकीकरणका घटनाहरुपछि यो सभाले एकताको नयाँ सन्देश दिने बताइएको छ। सभाको तयारी तीव्र पारिएको र आवश्यक व्यवस्था मिलाइएको प्रदेश संयोजकहरुले जानकारी दिएका छन्।  

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले दर्ताका लागि परेका १२० निवेदनमध्ये १३ खारेज गर्दै १०७ दललाई निर्वाचन चिह्न प्रदान गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ११७ दलबाट निवेदन परेकोमा एउटा दलले निवेदन फिर्ता लिएको, एकले जरिवाना नतिरेकाले खारेज भएको, एक दलका दुई पक्षका छुट्टाछुट्टै निवेदनमध्ये एक खारेज भएको र दुई दलको एकल चिह्नका निवेदनमध्ये पनि एक खारेज भएको छ । आयोगमा दर्ता कायम दल १४३ मध्ये १०२ दल एक्लाएक्लै र १२ दलका पाँच समूह संयुक्त रूपमा प्रतिस्पर्धा गर्नेछन् । निर्वाचन चिह्नको क्रममा एमाले पहिलो, कांग्रेस दोस्रो, नेपाली कम्युनिस्ट पार्टी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो नम्बरमा रहनेछ । समानुपातिक प्रणालीतर्फ पहिलो दिन ३३ दलले दर्ता निवेदन दिएका छन् । आयोगले मङ्सिर २१ देखि २४ गतेसम्म दर्ता समय तोकेको छ ।