पार्टीलाई बलियो बनाउन गम्भीर विचार आवश्यक छ: नेपाल
काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता सजिलो भए पनि त्यसलाई बलियो र जनमुखी संगठनमा रूपान्तरण गर्न निकै मेहनत, विचार र अनुशासन आवश्यक पर्ने बताएका छन् ।
बुधबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेता भीम रावल, प्रमोद नारायण यादव, प्रकाश शाहलगायत नेताहरू औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका अवसरमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो धारणा राखेका हुन् ।
उनले भने, “एकता गर्न सजिलो हुन्छ, तर त्यसलाई बलियो बनाउन र जनताको विश्वास जित्ने संगठन बनाउन धेरै कुरामा विचार पुर्याउनुपर्छ ।” उनका अनुसार सच्चा एकता केवल नाम र संगठनको नभई विचार, नीति, व्यवहार र जनसेवाको प्रतिबद्धतामा आधारित हुनुपर्छ ।
नेपालले स्मरण गरे, “२०७५ साल जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा गठन भएको थियो । त्यसअघि २०७४ सालको चुनावमा जनताले झन्डै दुई तिहाइ मत दिए । त्यो जनादेश कम्युनिस्ट एकताको पक्षमा जनताको चाहना थियो ।” उनले थपे, “आज फेरि त्यही जनचाहनालाई बलियो बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।”
उनले नवगठित पार्टी गठनको सुरुवातसँगै केही पुराना कम्युनिस्ट नेताहरूमा असहजता देखिए पनि त्यो स्वाभाविक भएको बताए । उनका अनुसार, “विगतका कमजोरीहरूबाट सिक्दै, आत्मसमालोचना गर्दै, नयाँ सोच र क्रान्तिकारी आचरणसहित अघि बढ्न सक्यौं भने नेपाली कम्युनिस्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।”
अध्यक्ष नेपालले सबै नेतृवर्ग र कार्यकर्तालाई आत्मसुधार र अनुशासनमा जोड दिँदै भने, “कमजोरी छन् भने सुधार्ने सङ्कल्प गरौँ । सङ्कल्प गरेर व्यवहारमा उतार्नुभयो भने तपाईंहरूले यो पार्टीलाई जनताको पक्षमा ठूला उपलब्धि दिलाउनु हुनेछ । तर पुरानै गल्ती दोहोर्याइयो भने मूल्य र जनविश्वास दुबै गुम्छ ।”
उनले अन्त्यमा भने, “हामी सबैले पार्टी एकता, विचारको स्पष्टता र जनसेवाको संकल्पलाई जोड दिन सकेमा यो पार्टी सच्चा अर्थमा जनताको पार्टी बन्नेछ । नेपाललाई स्थायित्व, समृद्धि र समाजवादको बाटोमा अघि बढाउने अग्रपंक्तिको शक्ति बन्नेछ ।”
प्रतिक्रियावादीको षड्यन्त्रलाई परास्त गर्न गाउँगाउँमा, टोलटोलमा शक्ति बनाउने बारे सोच्दैछौँ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीले महाधिवेशनबाट युवाहरुलाई नेतृत्वमा स्थापित गर्ने बताउनु भएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा विद्यार्थी नेताहरुसँगको अन्तरक्रियामा प्रचण्डले आगामी महाधिवेशनबाट युवाहरुलाई नै प्राथमिकतामा राखेर नेतृत्वमा स्थापित गरिने बताउनु भएको छ । प्रचण्डले जेनजी आन्दोलनको सन्देशअनुसार आफ्नो पार्टी रुपान्तरण हुने बताउनु भयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले भएको पार्टी एकता विगतमा जस्तो नभएर दिगो हुने बताउनु भयो । उहाँले भन्नुभयो, 'विगतमा लिडरसीप ठिकठाउँमा नउभिएपछि पहिले नेकपा अगाडि बढ्न सकेन । अहिले त्यसो हुँदैन ।' पार्टीहरुलाई सिध्याएर राष्ट्रलाई उपनिवेश बनाउन एकथारी मानिसहरु लागेको बताउँदै प्रचण्डले युवा विद्यार्थीले नै त्यस्तो षड्यन्त्रलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो । प्रचण्डले राष्ट्र बचाउन पार्टीले शक्ति बनाउने बारे सोचिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, 'राष्ट्र बचाउन, आन्दोलन बचाउनका लागि हामीले शक्ति बनाउने बारे सोच्दै छाँै । गाउँ गाउँमा, टोलटोलमा, कलेज कलेजमा हामीले प्रतिक्रियावादीको षड्यन्त्रलाई पराजित गर्न कुनै न कुनैरुपमा शक्ति बताउनेबारे सोच्दैछौँ ।' प्रचण्डले नेपालको विद्यार्थी आन्दोलनले अग्रणी भूमिका खेलको भन्दै प्रसंशा गर्नुभयो । उहाँले भन्नुभयो, 'विद्यार्थी आन्दोलनले नै नेपालमा प्रगतिशील विचारको आधार तयार पारेको छ । विगतदेखि नै हामीले भोगेर आएका छौँ, देखेर आएका छौँ ।'
जुम्लाका गाउँ गाउँमा नेपाली कम्युनिष्ट पार्टीको 'एकता'को भव्य स्वागत
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्व बनेको नेपाली कम्युनिष्ट पार्टीको एकताको जुम्लाका गाउँ गाउँमा भव्य कार्यक्रम गरेर स्वागत गरिएको छ । जुम्लाका सबैजसो वडाहरुमा नेकपा माअोवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न १० पार्टी तथा समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको एकीकृत कमिटी बनाइएको छ। स्थानीय बासिन्दाले नेपाली कम्युनिष्ट पार्टीको एकतालाई स्वागत गरेका छन् । जुम्लाको हिमा गाउँपालिका ६ मा हालै एकताको सन्देश दिने कार्यक्रमसमेत अयोजना गरिएको छ । यसले पार्टीको एकीकृत कमिटी निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
गुरु फाल्गुनन्द नेपाली समाज रूपान्तरणको प्रगतिशील यात्रामा प्रेरणाका श्रोत हुनुहुन्छ: प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले समाज सुधारक तथा किराँत संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याउने राष्ट्रिय विभूति गुरु फाल्गुनन्दको १४१औँ जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । फेसबुक स्टाटसमार्फत गुरु फाल्गुनन्दको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्दै प्रचण्डले बताउनुभयो, "समाज सुधारक तथा किराँत संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याउनु भएका राष्ट्रिय विभूति गुरु फाल्गुनन्दको १४१औँ जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।" प्रचण्डले भन्नुभयो, "जहानियाँ राणा शासनकालको दमन र नियन्त्रणको कठिन परिस्थितिमा पनि उहाँले भाषा, लिपि, शिक्षा र समाज सुधारका लागि निरन्तर अभियान चलाउँदै ‘सत्य धर्म मुचुल्का’ स्थापनाद्वारा सत्य, सदाचार र सांस्कृतिक पहिचानको मार्ग प्रस्तुत गर्नुभयो। किराँत समुदायलाई सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा विकासको मूलधारमा ल्याउन, समुदायको पहिचान र आत्मसम्मानको संरक्षण र प्रवर्धन गर्न उहाँले पुर्याउनु भएको योगदान ऐतिहासिक र दिशानिर्देशक छ।" उहाँले गुरु फाल्गुनन्दलाई नेपाली समाज रूपान्तरणको प्रगतिशील यात्रामा उज्यालो प्रेरणाका स्रोत भएको बताउनु भयो । उहाँले भन्नुभयो, "गुरु फाल्गुनन्द नेपाली समाज रूपान्तरणको प्रगतिशील यात्रामा उज्यालो प्रेरणाका श्रोत हुनुहुन्छ। उहाँको आदर्श, विचार र योगदानले हामीलाई आत्मसम्मान र सांस्कृतिक रूपमा समृद्ध समावेशी समाज निर्माणतर्फ अघि बढ्न निरन्तर प्रेरणा प्रदान गरिरहनेछ।" गुरु फाल्गुनन्द किराँत समुदायका धार्मिक तथा सामाजिक सुधारक व्यक्तित्व हुन्, जसले राणा शासनकालमा नै किराँत संस्कृति, भाषा र समाज सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको कुनै विकल्प छैन: खिमलाल देवकोटा
काठमाडौँ । संविधानविद् तथा नेपाली कम्युनिष्ट पार्टीका नेता खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको कुनै विकल्प नरहेको बताएका छन्। उनले निर्वाचनमार्फत प्रतिनिधि सभा पुनर्स्थापना गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। मङ्गलवार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित 'प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकोले त्यसभन्दा दायाँबायाँ सोच्न नमिल्ने तर्क गरेका हुन्। उनले भने, "प्रतिनिधि सभाको विघटन भएको हो। त्यो प्रतिनिधि सभाको निर्वाचनमार्फत पुनर्स्थापना गर्ने कुरा हो। दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन। राष्ट्रपतिले 'फागुन २१ गते निर्वाचन गर्ने तपाईँको जिम्मेवारी हो' भनेर तोर दिनुभएको हो।" उनले थपे, "यो सरकारले फागुन २१ गते चुनाव गर्नका लागि मन्जुर गरेर त्यो कुर्सी लिएर आएको हो। त्यसकारण त्यसभन्दा भिन्न ढङ्गले मैले सोच्ने ठाउँ छैन। त्यसकारण निर्वाचनमार्फत प्रतिनिधि सभा आउने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो।" यसैगरी, नेता देवकोटाले मुलुकलाई अगाडि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने धारणा पनि व्यक्त गरे।
ओलीको रुखो बोलीसँगै केन्द्रीय सदस्य शाहले गरे एमाले परित्याग, नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने
बाजुरा । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले अध्यक्ष केपी शर्मा ओलीको रुखो बोलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेका छन् । बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुने कार्यक्रममै शाहले औपचारिक रूपमा प्रवेश गर्ने जनाइएको छ । एमाले अध्यक्ष ओलीले एघारौं महाधिवेशनमा 'कुनै छलफल नै नहुने र आफ्नो निर्देशनात्मक मन्तव्यपछि समापन हुने' भन्ने अभिव्यक्तिप्रति शाहले कडा प्रतिक्रिया दिएका छन् । उनले यसलाई 'जबजको चीरहरण' गर्ने मनसाय ठानेका छन् । शाहले ओलीको प्रधानमन्त्रीकालका घटनाहरूमाथि पनि प्रहार गरे । 'उहाँको कार्यकालमा स्कुले बालबालिका र नौजवानहरूको हत्या भयो । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र शीतलनिवासजस्ता राष्ट्रिय धरोहरहरू नष्ट भए । व्यापारिक घराना र व्यक्तिगत सम्पत्तिको रक्षा गर्नु प्रधानमन्त्रीको जिम्मेवारी थिएन,' उनले भने, 'हत्या र सम्पत्ति संरक्षण गर्न नसकेकोमा ग्लानि वा आत्मालोचना त परै जाओस्, उहाँको स्वेच्छाचारिता र निरंकुशताले सीमा नाघ्दै गएको छ । राजनीतिमा इमान, जिम्मेवारी, नैतिकता र जवाफदेहिता कुनै चीजै नहुने हो ? ओलीमा त्यस्तै देखियो ।' शाहले ओलीभन्दा बढी नैतिकता त पञ्चायतकालका प्रधानमन्त्री कीर्तिनिधि विष्टले देखाएको उल्लेख गर्दै भने, 'सिंहदरबारमा आगलागी हुँदा विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।' उनले ओलीका पछिल्ला अभिव्यक्तिलाई 'देशलाई संकट र मुठभेडतर्फ धकेल्ने' ठानेका छन् । 'राष्ट्र र जनताप्रति जिम्मेवार कुनै पनि नेताले ओलीको जस्तो हर्कत गर्न सक्दैन,' शाहले थपे । पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा एमाले संसदीय दलका नेता रहेका शाह आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिलाका मन्त्रीसमेत बनेका थिए । उनी एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बनेका थिए र लगातार दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
डा. बाबुराम भट्टराई: विद्वानको मुखौटामा लुकेको अवसरवादी छाया
भीष्म थापा आजभोलि छोरीलाई राजनीतिमा स्थापित गर्न मरिहत्ते गर्ने डा. बाबुराम भट्टराईको सक्रियता अचम्मलाग्दो छ । जसरी भए पनि छोरीलाई आफ्नो विरासत सुम्पिने गरी स्थापित गर्नका लागि तत्कालीन नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति चुनावको बेला उनले गरेका थिए । तर, छोरीको जमानत नै जफत भएपछि उनको पहिलो योजनामा धक्का लाग्यो । त्यसपछि आफू राष्ट्रपति बन्नुपर्ने भन्दै लबिङ सुरु गरे । त्यसमा पनि सफल हुन सकेनन् । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आफूलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै उनले तीव्र दबाब दिएका थिए । त्यो बेला प्रचण्डले पनि निकै कोसिस गरेर पूर्वसहकर्मीलाई राष्ट्रपति बनाउन नखोजेका होइनन् । संसदमा प्रचण्डसँग बहुमत थिएन । बहुमत नहुँदा साझेदारी गर्नुपर्ने बाध्यता प्रचण्डसँग थियो । यो कुरा बाबुरामले नबुझ्ने कुरै भएन । उनले मित्र राष्ट्रदेखि विभिन्न निकायबाट दबाब दिए । अहिले बाबुरामले हरेक दिन माओवादी पार्टीको विरासत अर्थात् पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको पार्टी र प्रचण्डको व्यक्तिगत आलोचना गर्न थालेका छन् । असान्दर्भिकदेखि तथ्यहीन आरोप लगाउँदै उनले आफू निकट अर्थात् आफूले सत्तामा हुँदा सहयोग गरेको प्रमुख अनलाइन मिडियाहरू प्रयोग गरेर भए पनि प्रचण्डको विरोध गरिरहेका हुन्छन् । डा. बाबुराम भट्टराई नेपाली राजनीतिको एक यस्तो पात्र हुन् जसलाई कहिले 'क्रान्तिकारी विद्वान्' भनिन्छ त कहिले 'राजनीतिक भेडाको टाउको' । १९५४ मा गोरखाको खाेल्पाङ गाउँमा भएको उनको यात्रा शैक्षिक उत्कृष्टताबाट सुरु भएर माओवादी आन्दोलनको उचाइमा पुग्यो, तर अन्ततः व्यक्तिवादी महत्वाकांक्षाले नै उनलाई खोक्रो बनायो । भारतको आईआईटी कानपुर र जेएनयूबाट इन्जिनियरिङ तथा विकास अर्थशास्त्रमा पीएचडी हासिल गरेका भट्टराई १९९६ मा माओवादी जनयुद्धमा सक्रिय भए । उनी पार्टीका प्रमुख रणनीतिकारमध्येका एक थिए, जसले 'जनयुद्ध' को सैद्धान्तिक आधार तयार पार्न प्रचण्डलाई सहयोग गरे । सन् २००६ को शान्ति सम्झौतापछि उनी सरकारमा सामेल भए, २००८ मा अर्थमन्त्री बने र २०११ मा प्रधानमन्त्री । तर, २०१२ मा प्रचण्डभन्दा ठूलो नेता बन्ने महत्वाकांक्षाले उनी माओवादीबाट बाहिरिए । त्यसपछि नयाँ शक्ति पार्टी (२०१६), जनता समाजवादी पार्टी (२०२०) हुँदै २०२२ मा नेपाल समाजवादी पार्टीको नेतृत्वमा पुगे । उनको राजनीतिक इतिहास क्रान्तिबाट अवसरवादतर्फको झुक्को मोड हो—जहाँ राष्ट्रिय हितभन्दा व्यक्तिगत महत्वाकांक्षा हावी छ । यिनै कमजोरीहरूले उनलाई 'क्रान्तिकारी' बाट 'कम्प्रोमाइजर' बनाएको छ । तलका तथ्यहरूले यो कुरालाई प्रमाणित गर्छन्, जसले उनको छविलाई आम नागरिकसमक्ष प्रष्ट पार्छन् । १. जनयुद्धमा बेलाबेला आन्दोलन र नेतृत्वलाई दिएको धोका: क्रान्तिको सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थ जनयुद्धको दौरानमा भट्टराईलाई 'मुख्य रणनीतिकारमध्येका एक' भनिन्थ्यो, तर उनले पटक–पटक नेतृत्व र आन्दोलनलाई धोका दिए । २००१ को पार्टीको आठौं महाधिवेशनमा प्रचण्डको नेतृत्वलाई चुनौती दिँदै उनले 'शहरी विद्रोह' को सिद्धान्त अघि सारे, जसले ग्रामीण जनयुद्धलाई कमजोर बनायो । यो प्रस्ताव असफल भएपछि पनि उनले गोप्य रूपमा भारतमा बस्दै विदेशी शक्तिहरूसँग सम्पर्क राखे, जसलाई माओवादी नेताहरूले 'धोका' नै भने । उदाहरणस्वरूप, २००४ मा उनले प्रचण्डलाई पत्र लेखेर 'राजा र सेनासँग सम्झौता' को सुझाव दिए, जुन जनयुद्धको मूल मर्मविपरीत थियो । यो कदमले हजारौं सहिदको बलिदानलाई अवमूल्यन गर्यो । महत्वपूर्ण कुरा त के छ भने, जनयुद्धको 'क्रान्तिकारी' को मुखौटामा लुकेर भट्टराईले आफ्नो शैक्षिक पृष्ठभूमिलाई हतियार बनाएर नेतृत्वलाई कमजोर पारिदिए—अन्ततः यो धोका नै थियो जसले माओवादी आन्दोलनलाई विभाजित बनायो । यदि क्रान्ति भनेको सिद्धान्त हो भने, भट्टराईको यो चरित्रले उनलाई 'सिद्धान्तहीन अवसरवादी' साबित गर्छ । २. शान्ति प्रक्रियामा पनि नेतृत्वमाथि निरन्तर प्रहार: शान्तिको नाममा व्यक्तिगत द्वेष २००६ को शान्ति सम्झौतापछि भट्टराईले प्रचण्डको नेतृत्वलाई निरन्तर आक्रमण गरे, जसले शान्ति प्रक्रियालाई नै जोखिममा पार्यो । २००८ मा उनी सरकारमा सामेल भए पनि, २०१० मा संविधान सभाको विघटनपछि उनले प्रचण्डमाथि 'अक्षमता' को आरोप लगाउँदै पार्टीभित्र विद्रोह उक्साए । यो प्रहार यति तीव्र थियो कि २०१२ मा माओवादी विभाजन भयो, जसले शान्ति प्रक्रियाको आधारभूत संरचनालाई कमजोर बनायो । तथ्यांकले प्रमाणित गर्छन्, भट्टराईको प्रचण्डविरोधी अभियानले ३० भन्दा बढी जिल्लामा पार्टी विभाजन निम्त्यायो । शान्तिको यो प्रक्रियामा लाखौंको अपेक्षा बोकेका भट्टराईले व्यक्तिगत द्वेषलाई प्राथमिकता दिए—जसले नेपालको राजनीतिक स्थिरतालाई नै धराशायी बनायो । यदि उनी साँच्चै क्रान्तिकारी थिए भने, किन शान्तिको पुललाई आफैंले काटिदिए ? यो त केवल महत्वाकांक्षाको विष थियो जसले सहकर्मीहरूलाई विषाक्त बनायो । ३. प्रधानमन्त्री बन्नका लागि भारतको समेत दबाब दिन लगाएर सफल: राष्ट्रिय स्वाभिमानभन्दा विदेशी हस्तक्षेप २०११ मा भट्टराई प्रधानमन्त्री बन्न सफल भए, तर यो सफलता उनको 'क्षमता' भन्दा भारतको दबाबले सम्भव भयो । भारतीय राजदूतको दबाबले नै उनलाई सत्तामा पुर्यायो, जसमा भारतले माओवादी विभाजनको शर्त राखेको थियो । विकीलीक्सका कागजातहरूले प्रमाणित गर्छन् कि भारतले प्रचण्डलाई हटाएर भट्टराईलाई समर्थन गरेको थियो, किनकि भट्टराईलाई 'भारत-अनुकूल' मानिन्थ्यो । यो कुरा एक क्रान्तिकारीले राष्ट्रिय स्वाभिमानलाई बेचेर विदेशी दबाबमा सत्ता कसरी सम्हाल्छ? यो घटनाले भट्टराईलाई 'भारतीय कठपुतली' को रूपमा उजागर गर्छ—जहाँ नेपालको सार्वभौमिकता उनको महत्वाकांक्षाको बलि चढ्यो । यदि उनी साँच्चै स्वतन्त्रतावादी थिए भने, किन नयाँ दिल्लीको दैलोमा पसिना बगाए? ४. श्रीमती र छोरीका लागि जे पनि गर्ने: परिवारवादको चरम रूप भट्टराईको राजनीतिक यात्रामा परिवारवादले सबैभन्दा कुरूप रूप देखाएको छ । अघिल्लो चुनावमा छोरीलाई जिताउन मरिहत्ते गरे—जसमा उनले स्थानीय कार्यकर्ताहरूलाई धम्क्याएर टिकट वितरण गरे । हालै नेपाल जेनजेड आन्दोलनपछि पनि, उनले पूर्वसहकर्मीहरू जस्तै उपेन्द्र यादव र अन्य नेताहरूमाथि धावा बोलेर छोरीलाई राजनीतिक स्पेस दिन खोजे । श्रीमती हिसिला यामीसँगको सम्बन्ध पनि राजनीतिक 'ट्रान्जेक्सन' जस्तो छ, जसमा उनीहरूले एकअर्कालाई सत्ताको सिँढी बनाए । क्रान्तिकारी भनिने व्यक्तिले परिवारलाई राष्ट्रभन्दा माथि राखेर कसरी उदाहरण बन्न सक्छ? यो परिवारवादले भट्टराईलाई 'राजनीतिक पितृसत्ताको प्रतीक' बनाउँछ—जहाँ छोरीको भविष्यका लागि सहकर्मीहरूको रगतको अवमूल्यन गरिन्छ । ५. एक प्रतिष्ठित अनलाइन र टेलिभिजनमा अदृश्य लगानी: प्रचारको हतियारमा प्रचण्डमाथि प्रहार भट्टराईले नेपालको प्रमुख अनलाइनमध्येको एकमा अदृश्य लगानी गरेर आफ्नो एजेन्डा चलाएका छन् । यी प्लेटफर्ममार्फत प्रचण्डमाथि निरन्तर प्रहार हुन्छ । भट्टराईको नयाँ शक्ति पार्टीसँग जोडिएका व्यक्तिहरू नै यी मिडियाका प्रमुख सेयरहोल्डर छन् । सत्यको नाममा द्वेष फैलाउने यो चालबारे आम नागरिकले पनि बिस्तारै बुझ्न थालेका छन् । भट्टराईमा क्रान्तिकारी सिद्धान्तभन्दा प्रचारको तलवार तेज छ । यदि उनी साँच्चै विचारक थिए भने, किन गोप्य लगानीमार्फत शत्रुता बढाउँछन्? उक्त मिडियाले अहिले पनि कुनै हैसियत नभएका बाबुरामलाई विचारको रूपमा स्थापित गरेको छ भने प्रचण्डलाई निरन्तर तथ्यहीन आरोप लगाएर खेद्ने काम गरेको छ । उक्त मिडियाका प्रमुख सञ्चालक बाबुरामको मुखपत्र अंकुरको व्यवस्थापक भएर काम गरेको कुराले यसलाई पुष्टि गर्छ । ६. अहिलेका अर्थमन्त्री उनकै सिफारिसमा: ट्याक्स हेभनबाट रकम ल्याउने भूमिका हालका अर्थमन्त्री भट्टराईकै सिफारिसमा नियुक्त भएका थिए । अर्थ मन्त्रालयका पूर्वसचिव नै हुन् । भट्टराईको भूमिका ट्याक्स हेभन देशहरूबाट 'कालो धन' फिर्ता ल्याउने विवादास्पद योजनामा पनि थियो, जसलाई 'मनी लान्ड्रिङ' को आरोप लाग्यो । भट्टराईले आफू सरकारमा हुँदा पनि बजेटमै यस्ता 'अफशोर' कम्पनीहरूसँग डिलको प्रावधान थियो । राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने नाममा विदेशी कालोधनलाई वैध बनाउने यो चालले भट्टराईलाई 'आर्थिक दलाल' साबित गर्छ—जहाँ देशको खजाना भन्दा व्यक्तिगत नेटवर्क मजबुत छ । यदि उनी विकासवादी थिए भने, किन ट्याक्स चोरहरूलाई संरक्षण? ७. उनीमाथि लाग्ने गरेको भारतीय दलालको आरोप: विदेशी हितको सेवक भट्टराईमाथि 'भारतीय दलाल' को आरोप प्रायोजित छैन—यो उनको राजनीतिक इतिहासकै हिस्सा हो । २००५ मा भारत बसाइँदै भारतीय खुफिया एजेन्सी 'रअ' सँग सम्पर्क, २०११ को प्रधानमन्त्रित्वमा दिल्लीको हस्तक्षेप, र मधेशी दलहरूसँगको गठबन्धनमा पनि भारतको 'ब्रिफिङ' को चर्चा । यो आरोपले भट्टराईको छविलाई पूर्ण रूपमा ध्वस्त गर्छ—जहाँ नेपालको स्वतन्त्रताभन्दा दिल्लीको आज्ञा प्राथमिक छ । समग्रमा, डा. बाबुराम भट्टराईको राजनीतिक इतिहास क्रान्तिको उज्यालोबाट अवसरवादको अन्धकारतर्फको यात्रा हो । यी कमजोरीहरूले प्रमाणित गर्छन् कि उनी न क्रान्तिकारी हुन्, न त राष्ट्रवादी—केवल एक महत्वाकांक्षी पात्र जसले हरेक मोडमा धोका, द्वेष र परिवारवादलाई हतियार बनायो । नेपालको राजनीतिमा यस्ता 'विद्वान्' हरूले मात्र होइन, बरु सच्चा नेतृत्वको अभाव सिर्जना गर्छन् । यदि भट्टराईले आफ्नो इतिहास सुधार्न चाहन्छन् भने, पहिले आफ्नो छायासँग सामना गर्नुपर्छ । (यो लेखकको नीजि विचार हो । )
आगामी कात्तिक २६ गते भीम रावलकाे मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
काठमाडौं । आगामी कात्तिक २६ गते तत्कालिन नेकपा एमालेबाट अलग भइ नयाँ कम्युनिस्ट समूह निमार्ण गरेका भीम रावल नव गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । रावल नेतृत्वकाे मातृभूमि जागरण अभियानकाे समूहनै कात्तिक २६ गते दिउँसाे राष्ट्रियसभागृहमा एक विशेष कार्यक्रम गरी समाहित हुने भएकाे हाे । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमाबाट रावल समूह नेपाली कम्युनिस्ट पार्टीसँग समाहित भएर एकतामा आउन हुन तयार भएकाे स्राेतकाे भनाइ छ । मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता रावल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले अलग भएका थिए । अलग भएपछि रावलले राष्ट्रको स्वाभिमान, राष्ट्रिय हित र सार्वभौमिकता सम्बन्धी राष्ट्रवादी अभियानमा चलाइरहेका थिए । रावलकाे नारा थियाे-“राष्ट्रको स्वाभिमानमा सम्झौता हुँदैन ।” उनको बुझाइमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता नेपालको मूल धरोहर हो । भारतसँगको सीमासम्बन्धी विवाद (लिपुलेक, कालापानी, लिम्पियाधुरा) मा कडा राष्ट्रिय आवाज उठाउने एक नेतामा पर्दछन् । तत्कालिन नेकपा विघटन भएपछि एमाले भित्र केपी ओलीको एकल नेतृत्व र असहमतिप्रति असम्झदारी राख्ने, वैचारिक विचलन र समाजवादी दिशाको कमजोर एकाे टिप्पणी गर्ने, एमालेमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभाव देख्ने, नयाँ राजनीतिक विकल्प खोज्ने रावलकाे चिनारी थियाे । त्यही कारणले नै एमालेले अलग भएर छुट्टै समूह निर्माण गरि मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका थिए ।
पुनर्स्थापनाको एजेन्डा: एमालेकै वरिपरी घुम्दै कांग्रेस
काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि पुनर्स्थापनाको एजेन्डा एमालेको मुख्य राजनीतिक मुद्दा बनेको छ । त्यही एजेन्डामा अहिले नेपाली कांग्रेस पनि पछि लाग्दै गएको देखिएको छ । शुरुमा निर्वाचनको पक्षमा उभिएको कांग्रेसभित्र अहिलेका निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेका छन् । यो अभियानले एमालेको मागलाई थप बलियो बनाएको टिप्पणी राजनीतिक वृत्तमा गरिएको छ । विघटित प्रतिनिधि सभाका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको अग्रसरतामा हस्ताक्षर अभियान सुरु भएको हो । घिमिरेका अनुसार सर्वोच्च अदालतमा पुनर्स्थापनाको माग दर्ता गर्न सिग्नेचर संकलन थालिएको हो । “हामीले हस्ताक्षर पार्टीमा बुझाउँछौं , निर्णय पार्टीले नै एक भएर गरोस् भन्ने हाम्रो आग्रह हो,” उनले भने । तर, कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाबारे अहिलेसम्म कुनै संस्थागत निर्णय गरेको छैन । ८८ सिटसहितको सबैभन्दा ठूलो दल भएर पनि पार्टी नेतृत्व स्पष्ट निष्कर्षमा पुगेको छैन । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पुनर्स्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाएर सडक आन्दोलनको तयारी अघि बढाइरहेका छन् । असोज अन्त्यमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पुनर्स्थापनाको माग अनुमोदन गर्दै आन्दोलनका कार्यक्रम तय गरिसकेको छ । ओली निकट स्रोतका अनुसार, “अध्यक्ष ओलीलाई कांग्रेस पनि अन्ततः यो मुद्दामा साथ दिन्छ भन्ने विश्वास थियो । अहिलेको हस्ताक्षर अभियानले त्यो विश्वास पुष्टि गरेको छ ।” तर कांग्रेसभित्र मतैक्य छैन । संस्थापन इतर नेताहरूले पुनर्स्थापनाभन्दा ताजा निर्वाचन नै निकास हो भन्दै विरोध जनाइरहेका छन् । “जेनजी आन्दोलनपछि पुनर्स्थापनातिर जानु त्यस आन्दोलनको भावना विपरीत हुन्छ,” एक नेताले भने । राजनीतिक विश्लेषकहरूको भनाइमा, एमालेको एजेन्डामा कांग्रेस पनि हिँड्नुले विपक्षी दलबीचको स्पष्ट वैचारिक भिन्नता धमिलो बनाएको छ । “ओलीको एजेन्डामा पछि लाग्दै कांग्रेसले आफ्नो स्वतन्त्र राजनीतिक दिशा कमजोर बनाएको देखिन्छ,” विश्लेषकहरू भन्छन् ।
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुन तयार
काठमाडौं । भीम रावल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुन् तयार भएका छन् । उनी नेतृत्वको मातृभूमि जागरण अभियान पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएको हो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले एभरेष्ट दैनिकलाई जानकारी दिएका छन् । मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता भीम रावल नेपाली कम्युनिस्ट पार्टीसँग संवादमा जोडिएका थिए । आइतबार उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका हुन्। हात्तीवनमा भएको छलफलमा रावलले एकताका लागि राष्ट्रिय स्वाधिनता मुख्य विषय हुने बताएका थिए। छलफलमा सहभागि एक नेताका अनुसार रावल एकहप्ता भित्रै नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुनेछन् ।
नेपाली कम्युनिष्ट पार्टी आगामी निर्वाचनपछि देशको सबैभन्दा ठूलो पार्टी बन्छ: वर्षमान पुन 'अनन्त'
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो पार्टी आगामी निर्वाचनपछि देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् । निर्वाचन आयोगको परिसरमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले आगामी प्रतिनिधिसभा निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘हामी यस पटक जेन जेड का माग र जनताको चाहना सम्बोधन गर्दै अघि बढ्नेछौं । नयाँ पुस्ता र युवाहरूको विश्वास जित्दै सबैभन्दा धेरै सिट जित्ने गरी तयारी गरिरहेका छौं । हामी नै देशको सबैभन्दा ठूलो पार्टी बन्नेछौं ।’ जनार्दन शर्मा र घनश्याम भुसालबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता पुनले ती नेताहरूलाई ‘घुम्तीका स्टेशनहरूमा चढ्ने यात्रु’ भनेर तुलना गर्दै उनीहरू अन्ततः कम्युनिस्ट आन्दोलनको मूलधारमा फर्किने विश्वास व्यक्त गरे । ‘रेल छुटेको हो, तर विभिन्न स्टेशनहरूमा रोकेर नयाँ यात्रु चढाउँदै जाने हो । अर्को स्टेशनमा उहाँहरू आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ पुनले भने ।
जनकपुरमा जेनजेड फ्रन्टको उद्घाटन: कम्युनिस्ट युवा क्रान्तिको नयाँ लहर सुरु
जनकपुरधाम । आठ वटा कम्युनिस्ट पार्टीहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन 'नेकपा–जेनजेड फ्रन्ट' श्याम साहको संयोजकत्वमा जनकपुरमा औपचारिक रूपमा घोषणा गरिएको छ । पत्रकार सम्मेलनमार्फत फ्रन्टले आफ्नो प्रस्तावना, उद्देश्य र संरचना सार्वजनिक गर्दै नयाँ पुस्ताको वैचारिक तथा नेतृत्वगत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसले कम्युनिस्ट आन्दोलनलाई आधुनिक राजनीतिक सोच र प्रविधिसँग जोड्दै समाजवाद, जनसत्ता तथा वर्गीय समानताको वैज्ञानिक स्थापनामा जोड दिएको छ । संयोजक साहले जेनजेड फ्रन्टलाई वैचारिक चेतनाको नयाँ लहर बताउँदै जनवादी क्रान्तिलाई समाजवादी रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्यसहित युवा, विद्यार्थी र श्रमिकहरूबीच अभियान सञ्चालन गर्ने बताए । यसले युवा पुस्तालाई राजनीतिक प्रशिक्षणमार्फत भावी वैचारिक अग्रणी तयार पार्ने योजना अघि सारेको छ ।
नेपाली कम्युनिष्ट पार्टीद्वारा पार्टी दर्ताका लागि आयोग समक्ष थप कागजात पेश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले दल दर्ताका लागि आवश्यक थप कागजातसहित निर्वाचन आयोगमा उपस्थिति जनाएका छन् । वर्षमान पुन, राजेन्द्रप्रसाद पाण्डे, देव गुरुङलगायतका नेताहरू आयोग पुगेर थप कागजात बुझाएका हुन् । यसअघि कात्तिक २० गते नै नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका १० वटा वाम दल र समूहको एकताबाट गठित नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिएको थियो । पार्टी एकता घोषणा र दल दर्ताको निवेदन दुवै कात्तिक २० गते नै भएको थियो । आज थप कागजात बुझाएर प्रक्रिया अघि बढाइएको नेताहरूले बताएका छन् । नवगठित पार्टीको चुनाव चिह्न 'पाँचकुने तारा' तोकिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको र थप प्रक्रिया अघि बढेको जानकारी दिएका छन् ।
नेपाल ट्रष्टको जग्गा प्रकरणमा प्रचण्डलाई जोडेर मिलेमतोमा समाचार आएको छ: राजन दाहाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'माथि नेपाल ट्रष्टको जग्गा प्रकरणमा नाम जोडेर आएको समाचार आपत्ति जनक भएको नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत दाहालले भ्रामक समाचारको खण्डन गर्नु भएको छ । उहाँले प्रचण्डको हस्ताक्षर वा लिखित निर्देशन वा अन्य केही प्रमाण भए सार्वजनिक गर्न चुनौती पनि दिनु भएको छ । प्रधानमन्त्री संरक्षक रहने संवैधानिक विषयलाई लिएर भ्रामक समाचार बनाएको प्रति दाहालले आपत्ति जनाउनु भयो । एक दैनिकले भ्रामक र तथ्यहीन आरोप लगाउँदै समाचार बनाउँदै आएको छ ।
यी हुन प्रधानमन्त्री पदेन प्रमुख हुने ५० बढी निकायहरू
काठमाडौं । नेपाली सञ्चार माध्यमले आरोप र आक्षेप लगाउनेगरी पूर्वप्रधानमन्त्रीका सन्दर्भमा समाचारहरु बनाइरहेका छन् । आज पनि एउटा दैनिक पत्रिकाले यस्तै खालको समाचार सार्वजनिक भएपछि भ्रम सिर्जना भएको छ । फलानो प्रधानमन्त्री भएको बेला यस्तो भयो भन्ने खालको भ्रमित सूचना तथा समाचार सार्वजनिक भए पनि सम्बन्धित व्यक्तिले गरेको हस्ताक्षर वा निर्णय छैन । व्यवसायिक पत्रकारिताको नाममा मिसन पत्रकारिता फस्टाउँदै गएको अवस्थामा प्रधानमन्त्री विभिन्न निकायका प्रमुख हुने कुरा र अनियमितता गर्ने कुरा फरक भएको तर्फ ध्यान दिएको देखिदैन । त्यसैले एभरेष्ट दैनिकले प्रधानमन्त्री पदेन प्रमुख हुने निकायको खोजी गरेको छ । यी हुन प्रधानमन्त्री पदेन प्रमुख हुने ५० बढी निकायहरू नेपालको संविधान र विभिन्न कानुनमा भएको व्यवस्था अनुसार, प्रधानमन्त्रीले बिभिन्न विश्वविद्यालय, कोष, परिषद् र समितिको संरक्षक (चान्सलर, अध्यक्ष वा पदेन प्रमुख) को रूपमा भूमिका निर्वाह गर्ने गरेका हुन। नेपालको संविधान, २०७२, सम्बन्धित ऐनहरू, मन्त्रिपरिषद्का निर्णय र सरकारी अभिलेखहरूको आधारमा तयार गरिएको यो सूचीमा ११ केन्द्रीय विश्वविद्यालय, १० प्रज्ञा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, १५ राष्ट्रिय परिषद् तथा आयोग, ६ कोष तथा विकास निधि र ९ बोर्ड तथा समिति समावेश छन्। पदेन भूमिकामा रहेपनि दैनिक कार्यमा भने प्रधानमन्त्रीको संलग्नता रहँदैन। श्रेणीगत विवरण केन्द्रीय विश्वविद्यालय (११): प्रधानमन्त्री चान्सलर हुने व्यवस्था छ। उदाहरण: त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय। प्रज्ञा तथा स्वास्थ्य संस्था (१०): नेपाल प्रज्ञा-प्रतिष्ठान (महासंरक्षक), नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), चिकित्सा शिक्षा आयोग (MEC) लगायत। राष्ट्रिय परिषद् (१५): राष्ट्रिय सुरक्षा परिषद् (धारा २६६), राष्ट्रिय योजना आयोग, संवैधानिक परिषद् (धारा २८४) आदि। कोष तथा ट्रस्ट (६): नेपाल ट्रस्ट, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), पशुपति क्षेत्र विकास कोष। बोर्ड तथा समिति (९): लगानी बोर्ड नेपाल, राष्ट्रिय बाघ संरक्षण समिति, काठमाडौँ उपत्यका विकास परिषद्। ऐतिहासिक थप पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकाल (२०६८) मा गठित ‘जातीय भेदभाव तथा छुवाछूत अन्त्य तथा दलितहरूको अधिकार प्रवर्धन संयन्त्र’ पनि यस सूचीमा समावेश छ। प्रधानमन्त्री नै सल्लाहकार समितिको अध्यक्ष थिए। यो संयन्त्र हाल निष्क्रिय छ। भूमिकाको प्रकृति २२ वटा संस्थामा भूमिका गैर-कार्यकारी (संरक्षणात्मक) छ। २९ वटामा नीतिगत तथा रणनीतिक अध्यक्षता हुन्छ। बाहिर राखिएका निकाय राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग जस्ता संवैधानिक निकायहरू स्वायत्त छन्। प्रधानमन्त्रीले नियुक्ति सिफारिस मात्र गर्छन्। गुठी संस्थान र प्रदेश विश्वविद्यालयहरू सम्बन्धित मन्त्री वा मुख्यमन्त्रीको जिम्मेवारीमा छन्। स्रोत नेपालको संविधान, २०७२ विश्वविद्यालय ऐनहरू, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लगायत विभिन्न अन्य ऐनहरू मन्त्रिपरिषद् निर्णयहरू सरकारी पोर्टल: pmo.gov.np, mec.gov.np, ntnc.org.np
मौलाना अजिजुर रहमानसहित सातजना इस्लामिक समुदायका नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित
काठमाडौं । जमियत अहले हदिसका महासचिव एवं समाजसेवी मौलाना अजिजुर रहमानसहित सात जना नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा समाहित भएका छन् । यो एकीकरणले पार्टीको विस्तारमा नयाँ आयाम थपेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । समाहित हुनेहरूमा मौलाना अजिजुर रहमान, अब्दुल कलाम आजाद, इन्जिनियर मजरुल हक, मौलाना हबिबुल्लाह, मौलाना अब्दुल हननान, मौलाना मनजीबुल्लाह र ताज मोहम्मद रहेका छन् । उनीहरूले आफ्नो धार्मिक तथा सामाजिक पृष्ठभूमिलाई कम्युनिस्ट आन्दोलनसँग जोडेर राष्ट्रिय एकताको पक्षमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनीहरुलाई पार्टीमा स्वागत गर्दै पार्टीको वैचारिक तथा संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान हुने बताएका छन् । रहमानसहितका सात जनाको पार्टी प्रवेशले इस्लामिक समुदाय र कम्युनिस्ट आन्दोलनबीचको समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

