झलनाथलाई एमाले नेता रिजालको कटाक्ष: वडामा ८ भोट, राष्ट्रमा पार्टी ?

काठमाडौं। नेकपा (एमाले) का नेता विष्णु रिजालले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह वडामा गत वर्ष सम्पन्न उपनिर्वाचनमा पार्टीले पाएको मत सङ्ख्यालाई लिएर कटाक्ष गरेका छन्।

रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत खनालको गृह वडा भएको इलाम–१ को उपनिर्वाचनमा एकीकृत समाजवादीको पक्षमा जम्मा ८ मत खसेको उल्लेख गरेका छन्। उनले पूरै निर्वाचन क्षेत्रमा पार्टीको जम्मा ४०८ मत आएको पनि स्मरण गराएका छन्।

‘अब ७७ वर्षमा फेरि लफ्फाजी हाँकेर अरूलाई दुःख दिनुभन्दा आराम गर्नु उचित होइन र ? जनताले ऐना देखाएकै छन् त !’ भन्दै रिजालले खनालको राजनीतिमा निरन्तरताको विषयमा प्रश्न उठाएका छन्।

यसैबीच, अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले यस्तो घोषणा गरेका हुन्।

नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ‘विसर्जन’ गरेको आरोप लगाएका छन्। ‘विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,’ खनालको भनाइ छ, ‘हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ। नभए नयाँ बनाउँछौँ ।’

एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरूसँग पार्टी एकता गर्ने माओवादी केन्द्रकाे औपचारिक निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थी दलहरूसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ ।  शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालयको बैठकले वाम एकतालाई अब ढिलाइ नगरी अगाडि बढाउने निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरूलाई जानकारी गराउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले एकताको सैद्धान्तिक र नीतिगत आधारमा सहमति भइसकेको र अब प्राविधिक तथा सांगठानिक पक्ष टुंग्याउने काम मात्र बाँकी रहेको बताए । उनका अनुसार पार्टी एकताको अन्तिम रूपरेखा कात्तिक १७ गते बस्ने माओवादी केन्द्रीय समिति बैठकले तय गर्नेछ । सापकोटाले नेकपा (एकीकृत समाजवादी) सँगै महेन्द्रराय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), साथै सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीबीच पनि एकता प्रक्रिया अघि बढाइरहेको बताए । उनका अनुसार, माओवादीले विप्लव समूहबाट अलग भएका शक्तिहरूसँग पनि एकताबारे निरन्तर छलफल गरिरहेको छ । उनले भने, “तत्काल पार्टी एकता नघटाए आगामी फागुन २१ गते निर्धारित पार्टी चुनाव नै प्रभावित हुन सक्ने अवस्था देखिएको छ, त्यसैले अब ढिलाइ नगरी एकता प्रक्रिया टुंग्याइनेछ ।” सापकोटाले एकता प्रक्रियाका कारण पार्टीभित्र विभाजन हुने कुनै सम्भावना नरहेको स्पष्ट गर्दै, बरु एकता वाम आन्दोलनलाई बलियो बनाउने दिशामा महत्वपूर्ण कदम हुने उल्लेख गरे । उनका अनुसार, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपालाई समेत एउटै छातामुनि ल्याउने प्रयास भइरहेको छ । पार्टीले आगामी महाधिवेशनअघि वाम शक्तिहरूबीचको सहकार्यलाई संस्थागत गर्दै एकीकृत पार्टीका रूपमा देशभर सांगठनिक पुनर्संरचना गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।  

मुलुकमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनका लागि देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता: संयाेजक प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनका लागि देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच गहिरो एकता आवश्यक रहेको बताउनुभएकाे छ । उहाँले देशलाई दीर्घकालीन स्थायित्व र समृद्धिको बाटोमा अघि बढाउनका लागि पनि राष्ट्रिय एकता अहिलेको अपरिहार्य आवश्यकता भएको उल्लेख भएकाे छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी अझै अधुरो रहेको स्मरण गराउनुभयो । उहाँले सरकारमा रहँदा पनि र विपक्षमा हुँदा पनि निरन्तर रूपमा राज्यलाई सचेत गराउँदै शान्ति प्रक्रियाको अपूर्ण पक्षहरू समाधान गर्न प्रयासरत रहेको बताउनुभयो । “सहिदहरूको बलिदान र बेपत्ता योद्धाहरूका सपना पूरा गर्नु हाम्रो ऐतिहासिक दायित्व हो,” प्रचण्डले भन्नुभयो, “त्यसका लागि शान्ति प्रक्रियासम्बन्धी सबै काम चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्‍याउनुपर्छ ।” उहाँले सहिद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावना सम्मानित हुनुपर्नेमा जोड दिँदै न्याय, सत्य र मेलमिलापका प्रक्रियालाई निष्पक्ष र पारदर्शी रूपमा अघि बढाउन आग्रह गर्नुभयो । वर्तमान राष्ट्रिय अवस्थाको मूल्याङ्कन गर्दै संयोजक प्रचण्डले राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि गम्भीर चुनौती उत्पन्न भएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार विदेशी हस्तक्षेप, आर्थिक संकट र राजनीतिक अस्थिरताले मुलुकलाई जटिल मोडमा पुर्‍याएको छ, जसबाट पार पाउन देशभक्त शक्तिहरूबीच सहकार्य र एकतामात्र प्रभावकारी उपाय हो । सभामा सहिद प्रतिष्ठानका पदाधिकारी, पार्टीका अग्रज नेता, पूर्व लडाकु, सहिद परिवारका सदस्य तथा विभिन्न तहका प्रतिनिधिहरूको उपस्थितिमा देशको वर्तमान राजनीतिक स्थिति, शान्ति प्रक्रियाको अवस्था र राष्ट्रिय एकतासम्बन्धी विषयमा व्यापक छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज: पार्टी एकताबारे छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकतासम्बन्धी निर्णय लिन महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विभिन्न राजनीतिक दलहरूसँगको एकीकरण प्रक्रिया केन्द्रमा रहने जनाइएको छ। बैठकमा नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी लगायतका दलहरूसँगको एकता, पदीय व्यवस्थापन र मोडालिटीका विषयमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। यसअघि शुक्रबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो। त्यस्तै, विप्लव नेतृत्वको पार्टीबाट बिद्रोह गरेको चिरन पुनको पार्टीसहित अन्य दलहरूसँग आउँदो हप्ताभित्र नै एकीकरण गर्ने तयारी भइरहेको छ। यो प्रक्रियाले वामपन्थी शक्तिको एकीकरणलाई थप गति दिने अपेक्षा गरिएको छ।

भीम रावल भन्छन् : ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने निर्णयले पार्टी फुटको संघारमा पुगेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी छाडेका सदस्यहरूलाई 'घर फर्किन' आह्वान गरेका छन्। यसप्रति पूर्वउपाध्यक्ष भीम रावलले ओलीको भनाइलाई 'ढोक्सो थाप्ने चाल' भन्दै आलोचना गरेका छन्। ओलीले शुक्रबार फेसबुकमार्फत एमाले छोडेर गएकाहरूलाई पार्टीमा फर्किन अपिल गरेका थिए। यसै सन्दर्भमा रावलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम गर्न आग्रह गर्दै ओलीको आह्वानलाई व्यंग्य गरेका हुन्। रावलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, "एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि हत्तपत्त एमाले अध्यक्ष केपी ओलीले एमाले छोडेर जहाँसुकै गएका भए पनि फर्किन सामाजिक सञ्जालमा आग्रह गरेको देखियो। साँच्चिकै अहिलेको विषम स्थितिमा जबजअनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्षअगाडि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्थ्यो।" उनले थपे, "विगतमा भएका गल्ती, कमीहरूका साथै भदौ २३ र २४ गतेको अकल्पनीय घटनामा राष्ट्रले बेहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो। त्यो केही नगरी शब्दजाल र भ्रम फिँजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।" रावलले भण्डारीको बाटो खुला नगरी ओलीको यस्तो आह्वानलाई माओवादीतर्फ नजान चाहने एकीकृत समाजवादीका सदस्यहरूलाई भ्रम दिने प्रयास ठानेका छन्। यो घटनाले नेपाली राजनीतिमा जारी गठबन्धन र फुटको चर्चालाई थप तताएको छ।

बिपी राजमार्ग अवरुद्ध, पुनर्निर्माणमा जापानको थप सहयोग

काभ्रेपलाञ्चोक । निरन्तर वर्षाका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रोसीखोलाले बाढीपहिरोले क्षतिग्रस्त सडकमा बनाइएको अस्थायी ट्र्याक कटान गर्न थालेको छ भने सडकमाथिबाट लेदोसहितका पहिरो झर्ने क्रम रोकिएको छैन । सडकका विभिन्न स्थानमा ढुङ्गा खस्न थालेपछि प्रशासनले राजमार्ग आवागमन पूर्ण रूपमा बन्द गरेको हो । काठमाडौं र पूर्वी नेपाललाई जोड्ने छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गमा दैनिक करिब तीन हजार सवारीसाधन गुड्ने अनुमान प्रहरीले गरेको छ । राजमार्ग बन्द हुँदा हजारौँ यात्रु बीचमै अलपत्र परेका छन् । वर्षाको पूर्वानुमानसँगै स्थानीय प्रशासनले यसअघि नै राति सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको थियो । शुक्रबार राजमार्ग सञ्चालनको प्रयास असफल भएपछि काठमाडौंबाट गएका सवारीसाधन धुलिखेल र काभ्रेभन्ज्याङमा रोकिएका छन् भने पूर्वबाट आएका सवारी नेपालथोकमै अड्किएका छन् । प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा चालकलाई अनुरोध गरेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार बिहीबार रातिदेखि नै राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् र तत्काल सञ्चालनको सम्भावना छैन । “सडक सफा गर्ने उपकरण परिचालन भए पनि माथिबाट निरन्तर ढुङ्गा र लेदो खसिरहेकाले काम गर्न गाह्रो भएको छ,” उनले भने । त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनील धाँजूले पनि तत्काल सडक खुल्न नसक्ने अवस्था रहेको जानकारी दिए । सशस्त्र प्रहरी बल १५ नम्बर गणका मनसुनजन्य अस्थायी बेस प्रमुख प्रहरी निरीक्षक आलोक बस्नेतका अनुसार नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोसी गाउँपालिका–७ चारसयबेँसी, वडा नं. ११ डालाबेँसी, वडा नं. ९ बिरुवाडाँडा, कोक्सिकुना बिरुवाडाँडा र नार्के क्षेत्रमा लेदो र ढुङ्गा खस्दा दुवैतर्फ बाटो अवरुद्ध भएको हो । “ढुङ्गा र लेदो खसिरहेकाले एक्साभेटर सञ्चालन गर्न नसकिएको छ,” उनले भने । वैकल्पिक रूपमा सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली, दोलखाको चरीकोट र सिन्धुपाल्चोकको खाडीचौर हुँदै काभ्रे आउन सकिने सडक खुला रहेको सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । अरनिको राजमार्ग अन्तर्गतको साँगा क्षेत्रमा पनि सामान्य वर्षाले समस्या बढाएको छ । सडकमा अत्यधिक लेदो जम्दा बिहीबारदेखि सवारीसाधन सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ । साना सवारीसाधनलाई गुड्न समेत मुस्किल परेको बताइएको छ । जापान सरकारले बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको सिन्धुली खण्डको आपत्कालीन पुनर्निर्माणका लागि २.६ अर्ब जापानी येन (करिब २.८ अर्ब नेपाली रूपैयाँ) बराबरको अनुदान सहायता दिने निर्णय गरेको छ । उक्त सम्झौतामा बिहीबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा नेपालका लागि जापानका राजदूत माइदा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका थिए । यस राजमार्गको निर्माण सन् १९९५ देखि २०१५ सम्म जापानी अनुदान सहयोगबाट सम्पन्न भएको हो । सन् २०२४ को भीषण वर्षामा आएको बाढीले करिब १० किलोमिटर सडक बगाएको थियो । जापानी दूतावासले यो परियोजना नेपालमा दिगो आर्थिक विकास र दुवै देशबीचको सौहार्दपूर्ण सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ । काठमाडौंलाई सिन्धुली हुँदै बर्दीबास जोड्ने यो राजमार्गका लागि जापान सरकारले २५.८ अर्ब जापानी येन (करिब २६ अर्ब ८ करोड रूपैयाँ) बराबरको अनुदान सहयोग गरेको थियो । यो जापानले विश्वभर पूर्वाधारका क्षेत्रमा प्रदान गरेको सबैभन्दा ठूलो अनुदान सहयोग मध्ये एक मानिन्छ । दूतावासका अनुसार, अनुदानमार्फत सडक पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्दै नेपाल–जापान मित्रतालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गर्दै शुक्रबार सकिएको छ । दुई दिनसम्म चलेको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गर्ने प्रस्ताव पेस गरेका थिए । हलले ताली बजाएर सो प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको पार्टीले जनाएको छ ।  पार्टी एकताका लागि अध्यक्ष नेपालले थप गृहकार्य गर्नका लागि सचिवालय बैठकमार्फत निष्कर्षमा पुग्ने जानकारी गराएका छन् । अब माओवादी केन्द्र र समाजवादी पार्टीबीच छिट्टै एकता हुने भएको छ । 

चिरन पुनले विप्लवलाई लेखे पत्र, 'फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु'

काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीबाट अलग भएका नेता चिरण पुनले कम्युनिस्ट क्रान्तिकारीहरूको एकता अनिवार्य आवश्यकता भएको बताएका छन् ।   सामाजिक सञ्जालमार्फत विप्लवलाई सम्बोधन गर्दै उनले बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणमा भूमिका खेल्न आग्रह गरेका छन् । ‘निकै मीठो हाम्रो सहकार्य भएको १३ वर्ष पूरा भएर १४ औं वर्षमा प्रवेश गर्दै छ,’ अलग्गिएको घोषणा गर्दै उनले लेखेका छन्, ‘एकताको विषयमा हाम्रो कुरा मिलेन ।’ बृहत् कम्युनिस्ट एकताले मात्र नेपाली विशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्ने उल्लेख गर्दै उनी थप्छन्, ‘तपाईंको भूमिका बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवश्यक छ । त्यसको निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’ नवौं केन्द्रीय समितिको विशेष बैठकको निर्देशन र वस्तुगत आवश्यकताले विभाजित कम्युनिस्ट आन्दोलनलाई सन्देश दिएको भन्दै उनले विप्लवलाई भनेका छन्, ‘छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु ।’ आज मात्र चिरण पुन पक्षले छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय गरेको छ । यस्तो निर्णयपछि उनले विप्लवलाई सम्बोधन गर्दै एकतामा आउन आग्रह गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपा औपचारिकरुपमा विभाजन: मिलन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकतामा भन्दा जेन्जी आन्दोलनबाट बिस्थापित सत्तारुढ दल एमालेसँग निकटता देखाएपछि आफूहरुको राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गरेको नवनिर्वाचित महासचिव मिलन सीले एभरेष्ट दैनिकलाई जानकारी दिए ।    काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीलाई सर्वसम्मत महासचिव चयन गरेको छ । संसदीय राजनीतिमा आउन १२ वर्ष लगाएको र क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्दा पनि नेकपा एमालेलगायतका पार्टीसँग नेतृत्वले निकटता देखाएका कारण आफूहरुले राष्ट्रिय भेला गरेर पार्टी पुनर्गठन गरेको केन्द्रीय सदस्य शरद सीले जानकारी दिएका छन् ।  पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको म्याण्डेटविपरित नेतृत्व अगाडि बढेपछि आफूहरुले राष्ट्रिय भेला आयोजना गरेको शरदले बताए । उनकाअनुसार भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर थप जानकारी सार्वजनिक गर्ने तयारी छ । आफूहरुसँग पार्टीका बहुमत केन्द्रीय सदस्यको साथ रहेको उनको दावी छ । 

मोन्था चक्रवातको प्रभावले धानखेती गर्ने देशभरका किसान मारमा

काठमाडौं । बङ्गालको खाडीमा उत्पन्न मोन्था चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मधेशमा धान भित्र्याउने समयमै वर्षा र हुरी आएपछि किसान चिन्तित बनेका छन् । बाराका किसानको काट्नै लागेको धान खेतमै भिजेको छ । बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैसवालका अनुसार खेतमा ढलेको धानले ठूलो क्षति पुर्‍याएको छ । हिउँदे मकै लगाउने तयारी पनि रोकिएको छ । गण्डकी प्रदेशका पर्वतका किसानको धान पनि वर्षाले डुबाएको छ । स्थानीय पालिकाले क्षतिको विवरण सङ्कलन र राहतको आश्वासन दिएको छ । हिमाली भेगमा निरन्तर वर्षा र हिमपातका कारण हवाई सेवा ठप्प छ । खुम्बु र मुस्ताङका किसानले भित्र्याएका आलु, फापर र स्याउ बजार पुर्‍याउन नसकेका छन् । कृषि अनुसन्धान परिषद् (नार्क) ले किसानलाई मौसम सामान्य भएपछि मात्र धान काट्न र खेतमै रहेको धान छापो हालेर जोगाउन सुझाव दिएको छ । यस वर्षाले हिउँदे तरकारी र आलुका बेर्नालाई भने लाभदायी बनाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मोन्था चक्रवातको प्रभाव शुक्रबारसम्म रहन सक्ने र शनिबारदेखि मौसम सुधार हुने अनुमान गरिएको छ । लगातारको वर्षाले बाढी–पहिरोको जोखिम बढेकाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दुरीका सवारीसाधन तीन दिनका लागि नचलाउन आग्रह गरेको छ । सिन्धुली, काभ्रे र नवलपरासीमा सवारी सञ्चालनमा पनि रोक लगाइएको छ । यस मौसमी प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिने छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृत सरह हुने छ । किसानले भर्खरै रोपेका आलु र अन्य तरकारीका बेर्नाका लागि पनि यो वर्षाले राहत दिने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मोन्था चक्रवातमा अन्य थप दुई साना चक्रवातको शक्ति मिसिएपछि यो झन् शक्तिशाली बनेकाले नेपालका केही स्थानमा ठुलो वर्षा र हिमपात गराउने सम्भावना बढाएको छ ।  त्यसैले बिहीबारसम्म गण्डकी प्रदेशसम्म सक्रिय रहेको मोन्थाको असर अहिले सुदूरपश्चिम प्रदेशसम्म नै फैलिएको छ । शुक्रबार देशका अधिकांश स्थानमा मोन्था चक्रवातको असरले निरन्तर वर्षा कायम रहने मौसमविद् बिनु महर्जनले जानकारी दिइन । शनिबार मध्याह्नदेखि भने बिस्तारै मौसममा सुधार हुँदै जाने छ ।   

रेशम चौधरीको नयाँ दल दर्ता प्रक्रियामा : कबीर सोब अध्यक्ष, जाँतो चुनाव चिन्ह

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले 'नागरिक उन्मुक्ति पार्टी, नेपाल' नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदन सनाखत प्रक्रियामा छ । बिहीबार एउटै पोशाकमा आयोग पुगेका चौधरीसहितका नेताहरूले कागजात पेश गरे । पार्टीको अध्यक्ष २८ वर्षीय कैलाली टिकापुरका कबीर सोबलाई बनाइएको छ भने चुनाव चिन्ह जाँतो प्रस्तावित छ । जनमत पार्टीबाट आएका अब्दुल खानसहित थप पाँच केन्द्रीय नेता पनि समावेश छन् । टीकापुर घटनापछि भूमिगत चुनाव जितेका चौधरीले नयाँ दल खोलेका हुन् । पछिल्लो समय पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि यो कदम चालेको देखिन्छ ।

मोन्था चक्रवातः आज-भोलि यात्रा नगर्न र अपराह्नदेखि हवाई सेवा प्रभावित हुने चेतावनी

काठमाडौं । मोन्था चक्रवातको आंशिक असरले काठमाडौं उपत्यका र मध्य-पूर्वी नेपालमा बिहानदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा उदयपुरगढीमा ४५.२ मिमि, मुर्कुचीमा ४३.८ मिमि र अन्य ठाउँहरूमा ३०-३९ मिमि वर्षा मापन भएको छ। गण्डकी, बागमती, कोशी र मधेसका जिल्लाहरूमा वर्षा जारी छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार, अहिलेको वर्षा पश्चिमी वायुको प्रभावले भएको हो, तर अपराह्नपछि मोन्था चक्रवात पूर्ण सक्रिय हुँदा मेचीदेखि गण्डकीसम्म ठूलो वर्षा र हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना छ। विनोद पोखरेलले यसलाई 'ट्रेलर' भन्दै आज रातिदेखि भोलिसम्म भारी वर्षाको पूर्वानुमान गरेका छन्। विपद् विज्ञ धर्म उप्रेतीले शुक्रबारदेखि मनसुनजस्तो लगातार वर्षा हुने बताए । उपाध्यायले आज-भोलि यात्रा नगर्न र अपराह्नदेखि हवाई सेवा प्रभावित हुने चेतावनी दिएका छन्। जल तथा मौसम विभागले कोशी, मधेस, बागमतीका सबै जिल्ला, गोरखा, नवलपुर लगायतमा सतर्कता अपनाउन र अन्य सूचित जिल्लाहरूमा अद्यावधिक रहन सुझाव दिएको छ।

‘मोन्था’ चक्रवातको असर नेपालमा पर्न थाल्यो

काठमाडौं । बङ्गालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा पर्न थालेको छ । अरेबियन सागर हुँदै आएको उक्त चक्रवातले कात्तिक महिनामै हिमाली क्षेत्रमा हिमपात गराउँदै देशभर मौसम प्रभावित पारेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार विगतका चक्रवातभन्दा ‘मोन्था’ बढी शक्तिशाली भएकाले यसको असर आगामी तीन दिनसम्म (शनिबारसम्म) नेपालमा रहनेछ । विभागका अनुसार उक्त चक्रवात भारतको आन्ध्र प्रदेशमा जमिनमा खसेपछि बलियो न्यूनचापीय प्रणालीमा परिणत भई बुधबारदेखि नेपाल प्रवेश गरेको हो । भारतका विभिन्न क्षेत्रमा यसले भीषण वर्षा र आँधीहुरी ल्याई जनजीवन अस्तव्यस्त पारेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभावले नेपालको पूर्वदेखि गण्डकीसम्मका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात र तल्लो भूभागमा भारी वर्षा गराउने सम्भावना छ । महर्जनका अनुसार बिहीबार र शुक्रबार देशभर मध्यमदेखि भारी वर्षा हुने र शनिबार बिहानसम्म चक्रवातको प्रभाव बलियो रहने देखिन्छ । शनिबार मध्याह्नपछि भने प्रभाव क्रमशः कमजोर हुँदै पूर्वतिर सर्नेछ । महाशाखाका अनुसार लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा लगातार वर्षा जारी छ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातसहित एकाध स्थानमा भीषण वर्षा हुने सम्भावना छ । विभागले पर्वतारोहण, कृषि र पर्यटनजस्ता क्षेत्रमा प्रत्यक्ष असर पर्न सक्ने बताउँदै मौसमको अवस्था बुझेर मात्र गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । चक्रवातका कारण वर्षा बढ्ने भएकाले बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाब उच्च हुँदै सतर्कता तहमा पुग्न सक्ने चेतावनी दिइएको छ ।  त्यस्तै कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बहने साना नदी–नालामा आकस्मिक बहाब हुन सक्ने सम्भावनासमेत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी बागमती प्रदेशका काठमाडौं उपत्यकासहितका जिल्ला तथा मधेश प्रदेशका बारा, पर्सा र सर्लाहीमा बाढी र डुबानको जोखिम बढेको बताइएको छ । कोशी प्रदेशका पहाडी जिल्लाहरूमा पनि आकस्मिक बाढी र पहिरोको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ । ‘मोन्था’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित जिल्लाका विपत् व्यवस्थापन समितिहरूलाई जिउधनको सुरक्षाका तयारी गर्न निर्देशन दिएको छ । प्राधिकरणका अनुसार कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरीमा तयारी थालिएको छ । त्यस्तै बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुलीमा पनि तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अत्यावश्यक नभई सकेसम्म आगामी तीन दिन यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । डुबान हुन सक्ने बस्ती र नदीकिनारका बासिन्दालाई वर्षा सुरु भएपछि सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । त्यसैगरी धान तथा अन्य बाली नकट्ने, काटिसकेका बाली तत्काल भित्र्याई सुरक्षित राख्न समेत सुझाव दिइएको छ । सरकारका तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला निकायलाई सतर्क रहन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

बालुवाटारको त्रिपक्षीय छलफल: नेकपा (माओवादी केन्द्र)ले राख्यो यी पाँच विषयमा धारणा

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीको आह्वानमा आज भएको त्रिपक्षीय छलफलमा नेकपा (माओवादी केन्द्र)ले चुनावकेन्द्रित धारणा राखेको छ। सरकार, राजनीतिक दल र जेन्जीका विभिन्न समूहका प्रतिनिधिबीच भएको छलफलमा नेकपा (माओवादी केन्द्र)बाट नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', वर्षमान पुन 'अनन्त' र माधव सापकोटा 'सुबोध'  बालुवाटार पुगेका थिए। बैठकमा माओवादी केन्द्रको तर्फबाट मुख्य पाँच विषयमा धारणा राखिएको नेता वर्षमान पुन 'अनन्त'ले एभरेष्ट दैनिकलाई जानकारी दिए। माओवादी केन्द्रले बैठकमा चुनावकेन्द्रित धारणा राखेको थियो। नेकपा माओवादी केन्द्रले बैठकमा राखेका मुख्य विषयहरू १. नेकपा (माओवादी केन्द्र)ले जेन्जीले राखेका मागलाई पहिले पनि समर्थन गरेको र अहिले पनि समर्थन गर्दै आइरहेको छ। अहिले पनि जेन्जीका मागमा हामी साथमै छौं। २. अहिले राजनीतिक र संवैधानिक प्रक्रियाअनुसार नागरिक सरकार बनेको छ। हामीले सरकार गठनकै बेलामा संसद्बाट अनुमोदन गर्दा राम्रो हुन्छ भनेका थियौं, त्यसो भएन। अब चुनाव गरेर राजनीतिक प्रक्रियालाई संवैधानिक प्रक्रियामा ल्याउनुपर्छ। चुनावको अर्को विकल्प अहिले छैन। ३. संविधान बन्ने बेला नै हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा संविधानमा असहमति नै राखेका थियौं। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दालाई प्रमुख बनाएर हामी अब चुनावमा जान्छौं। जेन्जी  र हाम्रा मागहरू एकै प्रकारका भएकाले सके हामी सहकार्य गर्छौं। त्यसो भएन भने पनि हामी मुद्दामा सँगै हुन्छौं। ४. जेन्जी  आन्दोलनको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायमलगायतका विषयमा सरकारले ध्यान दिनुपर्छ। सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि अहिले सकिने कामहरू गरोस्। हाम्रो पार्टीको साथ र सहयोग रहन्छ। ५. जेन्जी सँग राजनीतिक संवाद र सहमति गर्न हाम्रो पार्टी तयार छ। जेन्जीहरूले संविधान, लोकतन्त्र र चुनावप्रति गरेको प्रतिबद्धताप्रति हाम्रो पार्टी आभार व्यक्त गर्दछ।

बिहीबार बिहानदेखि शुक्रबारसम्म: हिमपात, बाढी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले विक्रम संवत् २०८२ कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ । विभागको कार्तिक १२ गतेको अद्यावधिक मौसम पूर्वानुमानअनुसार सोही अवधिमा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने उल्लेख छ । यस्तो वर्षा र हिमपातले जनजीवनमा असर पार्न सक्ने भएकाले सम्बन्धित प्रदेशका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । मौसम पूर्वानुमानमा उल्लेखित क्षेत्रका बासिन्दा, यातायात तथा कृषकहरूलाई सडक अवरोध, भूस्खलन र बाढीको जोखिमबाट बच्न पूर्व तयारी गर्न सल्लाह दिइएको छ । थप जानकारीका लागि विभागको वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

माओवादी संयोजक प्रचण्डले कारागारमा पुगेर महराको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई भेट्नुभयो । सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई प्रचण्डले काठमाडौंको जगन्नाथदेवल कारागार (सुन्धारा) मा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । यसअघि साधारण तारेखमा बाहिर रहेका महरालाई पछिल्लो समय जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो । महराको स्वास्थ्य अवस्था राम्रो नभएको जनाइएको छ । भेटमा महराले प्रचण्डसँग आफू निर्दोष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "म निर्दोष छु । म, मेरो पार्टी माओवादी केन्द्र र मेरो राजनीतिक करियरलाई समाप्त पार्ने षड्यन्त्रस्वरूप मलाई झुटो आरोप लगाइएको छ । म कानुनी रूपमा पनि फेस गर्छु । कसैसँग फोनमा कुराकानी भएको आधारमा तथ्यहीन आरोप लगाएर फसाउने काम गरिएको छ ।" भेटवार्तामा प्रचण्डले पार्टीले कानुनी उपचारका लागि सहयोग गर्ने बताउनुभयो । महरामाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ ।