भरतपुर विमानस्थल विस्तार चाँडै

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर, निरन्तर प्रयास गरिरहे सम्भव हुन्छ भन्ने उदाहरणको रुपमा भरतपुर विमानस्थल विस्तार रहेको छ । 

महानगरपालिकाका धेरै बैठक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गरिएका छन् । विमानस्थलको विस्तारका लागि महानगरपालिकाको कार्यपालिकाको निर्णय र अनुरोधपछि पहिलो २०७५ माघ २० गते पहिलो बैठक भरतपुर विमानस्थलमा बस्यो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित महानगर प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको उक्त बैठकले विमानस्थल विस्तार गर्न प्रयास गर्ने निर्णय गरेको थियो । 

प्रमुख दाहालको भनाइमा त्यसपछिका सबै पर्यटन मन्त्रीहरुसँग पटकपटक विमानस्थल विस्तारका लागि छलफल गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उनकै कार्यकक्षमा पर्यटनमन्त्री, रक्षामन्त्रीसहितको उपस्थितिमा बैठक बसेको थियो । 

यसका अतिरिक्त प्रधानमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्रीलगायतको उपस्थितिमा पटकपटक बैठक बसेका थिए । 

विसं २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थित थियो । उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरपालिकालाई दिएको थियो । 

यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने निश्चित भएको छ । सात वर्षपछिको निरन्तर प्रयासले विमानस्थल स्तरोन्नति र विस्तार हुने निश्चित बनेको प्रमुख दाहाल बताउँछिन् ।  

भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि चार अर्ब ५० करोडभन्दा बढी लगानी हुँदै छ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न रु दुई अर्बभन्दा बढी खर्च हुँदै छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु दुई अर्ब ५० करोडभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाइँदै छ । 

प्रमुख दाहालले भने, “अहिले विमानस्थल विस्तार अति आवश्यक छ, धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ ।”

चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको उनी बताउँछिन् । बिहीबार श्री एयरले परीक्षण उडान गर्दै गर्दा यहाँ उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सार्वजनिक रुपमा नै प्रमुख दाहालको निरन्तर प्रयासको प्रशंसा गरे । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनी बताउँछन् । 

विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै चौबिसै घण्टा जहाज अवतरण गर्न सकिने बताए । उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यतीलगायत एयरलाइन्सका एटीआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सकिने बताए । 

हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ । रासस

भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस

काठमाडौँ । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो। एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वसचिव चन्द्र घिमिरे र बेलायतका लागि डा. विजय पन्त सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय – आठ देशको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने । जसअनुसार अमेरिकामा चन्द्रकुमार घिमिरे, भारतका लागि लोकदर्शन रेग्मी, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कको लागि सुम्निमा तुलाधर, मलेसियाको लागि नेत्रप्रसाद तिमल्सिना, बेलायतका लागि डा।विजन पन्त, स्पेनका लागि डा। पुष्पराज राजकर्णिकार, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गर्ने । – विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने । – स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका काराण भएको क्षतिको पुनःनिर्माण र पुनःस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८।१ मिलियन पाउन्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने । न्यिदब िक्ष्mभ दबलप – राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा। राजेन्द्रप्रासद यादवलाई नियुक्त गर्ने । – अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा, अस्टे«लियाको भिक्टोरिया राज्इ कार्यक्षेत्र रहने गरी निराजन गौडेललाई नियुक्त गर्ने । – प्रतिलिपि अधिकार सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने । – विद्युत् नियमन आयोगको अध्यक्षमा डा। रामप्रसाद धिताल, सदस्यहरुमा डा। मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने ।

यस्तो छ सहकारी छानबिन समितिको कार्यविधि, हेर्नुहोस्

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको छानबिन विशेष समितिको कार्यविधि तय भएको छ। कार्यविधिमा सहकारी संस्था अनुगमन, नियमन र सुपरिवेक्षण गर्ने मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, निकाय सम्बन्धित प्रदेश सरकारको विषय हेर्ने मन्त्रालय वा निकाय, सम्बन्धित स्थानीय तह र नेपाल राष्ट्र बैंकका जिम्मेवार अधिकारीसँग सोधपुछ, अन्तर्क्रिया गरिने उल्लेख गरिएको छ। त्यस्तै, अनुसूची–२ मा “उल्लिखित सहकारी संस्थाका अध्यक्ष, सञ्चालक वा व्यवस्थापक र व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्ति, अनुसूची–२ मा उल्लिखित सहकारी संस्थाहरूबाट रकम प्रवाह भएका गोरखा मिडिया नेटवर्क प्रा.लि.लगायत अन्य कम्पनी वा संस्थाहरूका तत्कालीन र वर्तमान सञ्चालक, व्यवस्थापक वा र व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्ति, र सहकारीपीडितका तर्फबाट प्रतिनिधि, कानुन, बैंक तथा वित्तीय व्यवस्थापन क्षेत्रका विषयविज्ञहरू, समितिले उपयुक्त ठानेका अन्य सरोकारवाला व्यक्ति तथा संस्था र विषयविज्ञहरूसँग सोधपुछ गरिने” कार्यविधिमा उल्लेख छ । समितिले सभाका अन्य विषयगत समिति, मन्त्रालय, विभाग, राष्ट्र बैंक र निकायहरूसँग समन्वय गर्नसक्ने जनाइएको छ। निर्णय गर्दा बैठकबाट सर्वसहमति नभएमा बहुमत सदस्यबाट निर्णय गरिने कार्यविधिमा उल्लेख छ ।यद्यपी फरक मतलाई समितिले अभिलेख राखी प्रतिवेदनमा समावेश गरिनेछ। आवश्यक परे कार्यक्षेत्रभित्रको काम गर्नका लागि समितिकै सदस्यको नेतृत्वमा कार्यदल वा उपसमिति बनाउन सकिने कार्यविधिमा उल्लेख छ। सहकारी रकम अपचलनबारे छानबिन गर्न नेकपा (एमाले)का सांसद सूर्य थापा सभापति रहेको संसदीय समिति जेठ १५ गते बनाइएको थियो। सो समिति ७ सदस्यीय समितिले काम अगाडि बढाएको छ । 

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, ‘‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ। निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ। यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै बिकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनुहोस्।’’ छलफलमा प्रधानमन्त्रीले केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन निर्देशन दिए। उनले भने, ‘‘काठमाडौँ एयरपोर्टमा एयर ट्राफिकको समस्या छ। यसको उचित समाधान दिनुपर्ने हुन्छ। अर्कोतर्फ काठमाडौँ एयरपोर्टको सुधार र क्षमता बिस्तारको काम पनि हुँदैछ। यही बेला भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्नुपर्छ। वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुहरू र अन्य यात्रुहरूलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्छ । त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्नुपर्छ। भिसा सेन्टरका लागि कुटनीतिक पहल गर्नुपर्छ।’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि केही सहुलियत दिनुपर्ने हुन्छ । हवाइ टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धनमा केही सहुलियत दिउँ। निजी क्षेत्रसँग पनि समन्वय गरेर होटल लगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गरौँ। सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक कुटनीतिक पहल पनि गरिन्छ। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले आवश्यक गृहकार्य गर्नुस्। अरू मन्त्रालय र निकायसँग पनि समन्वय गर्नुस्। अनि छिटै हामी एउटा निष्कर्षमा पुग्छौँ।’’ छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए । पर्यटन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका बिकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताउँदै दुबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयको तर्फबाट विदेशी विमान कम्पनीहरूसँग पनि छलफल भइरहेको बताए।  प्रधानमन्त्रीले बोलाउनुभएको छलफलमा मन्त्री तामाङ, मुख्यसचिव डा। बैकुण्ठ अर्याल, पर्यटन सचिव डा. पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा.रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत सहभागी थिए ।

सकिएन गृहमन्त्री रवि लामिछानेविरूद्धको रिटको सुनुवाई, अर्को  पेसी १६ गते

काठमाडौं । गृहमन्त्री रवि लामिछाने निलम्बनको माग गरिएको रिटको सुनुवाई सर्वोच्च अदालतमा जारी छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले हेर्दाहेर्दैमा राखेको हो। उक्त रिटको अर्को पेसी १६ गतेका लागि तोकिएको छ।  अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो। अघिल्लो पेसी गत बुधबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा परेको थियो। तर, पेसी चढिसकेपछि न्यायाधीश शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर रोकिएको थियो ।

रास्वपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन्। चियापान समारोहमा प्रधानमन्‍त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन् । रास्वपाले वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

यस वर्षको एसईई परीक्षा चैत ७ देखि (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिकामा एसईई आउँदो चैत ७ गतेदेखि सञ्चालन हुने उल्लेख छ।  फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र प्रयोगात्मक अंक शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसक्नुपर्ने तालिकामा उल्लेख छ।  एसईईको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशन गरिने तथा पूरक परीक्षा साउन १९ र २० गते हुने बोर्डले जनाएको छ।  यस्तो छ तालिका 

योगलाई कुनै धर्म र जातमा सीमित गर्न हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन्।शुक्रबार १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  योग नेपाल भूमिबाट नै शुरु भएको उल्लेख गर्दै उनले योग कुनै धर्म, जाति, भुगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताए।उनले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताए। उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताए। ‘योग यसै भूमिबाट शुरु भएको थियो। हजारौं वर्षअघि । मैले आफ्ना अघिल्ला मन्तव्यमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ । आदि योगी शिवबाट योग शुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भुगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन। यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । एउटा यस्तो विधा हो, जो अत्यन्त वैज्ञानिक ढंगले शुरु भएको थियो । बीचमा अलि ओझेल पर्दै गयो।’ उनले भने, ‘अहिले योग भ्रान्तिहरुबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रुपमा समर्पित, व्यापक र विस्तृत हुन जरुरी छ । मानव समाजव्यापी हुन जरुरी छ।’​ अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए।योग भनेको अनुशासित र पवित्र जीवन रहेको उनको भनाइ छ। उनले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गरे।

मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो । बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपदबाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो। गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए ।  “बागमती प्रदेशमा मनसुन सक्रिय हुन थालेको ठूलो पानी आएर मेलम्ची नदीको पानीको बहाव बढ्नसक्ने र आयोजनामा क्षति हुनसक्ने जोखिम कम गर्न आजदेखि सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेका थियौँ”, उहाँले भन्नुभयो, “आजको अवस्था हेर्दा नदीमा पानीको बहाव बढेको छैन, नदी पनि सफा छ । तत्काल आयोजना बन्द गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाउनेछौँ ।” लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैंक (एडिबी)ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । “हामीले पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरेका पनि हालसम्म सञ्चालन गरिरहेका छौँ”,उनले भने, “उपत्यकामा मेलम्चीको पानी पठाउन कहिलेदेखि आयोजना बन्द गर्ने भनेर यकिन दिन तोक्दैनौँ, जहिलो ठूलो वर्षा भएर जोखिमको खतरा बढ्छ, तत्काल बन्द गर्नेछौँ।” समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ। मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ। मनसुनजन्य विपत्तिबाट आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले वर्षा सुरु भएसँगै खानेपानी बन्द गर्ने र वर्षा सक्रिएपछि खोल्ने गर्दै आइरहेको छ।  जल तथा मौसमविज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिनेमा यस वर्ष तीन दिन चाँडो भित्रिएको थियो। मनसुन सरदररुपमा अक्टोबर २ मा बाहिरिने गर्दछ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक देशभर मनसुन फैलिएको विभागले जनाएको छ। रासस

भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन्। पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा आफ्ना सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले पार्टीको वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर पार्टी स्थापनाको उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले पार्टी स्थापनाको दुई वर्षको यात्रा चुनौतीविहीन नभए पनि संसद् र सरकारमार्फत सबैको ध्यान तान्न सफल भएको बताए। ‘रास्वपा जन्मिएको दुई वर्ष भयो, हामी हाम्रो उद्देश्यमा अडिग छौँ, गन्तव्यमा स्पष्ट छौँ । कुरा बाटोको हो, बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाड काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ । २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, चार मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौँ’, सभापति लामिछानेले शुभकामना सन्देशमा उल्लेख गरेका छन्  । रास्वपाले स्थापना दिवसका अवसरमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली चःमतिमा चियापानको आयोजना गरेको छ । चियापान कार्यक्रमअघि पार्टी केन्द्रीय समितिको बैठक बसेको थियो। बैठकमा सदन, सरकारको सङ्क्षिप्त समीक्षा र शुभकामना आदानप्रदान भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने चियापान कार्यक्रममा विभिन्न दलका नेतासमेत सहभागी हुने उनले बताए ।

त्रिविको जग्गा र सम्पत्ति खोज्ने समितिले थाल्यो काम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा तथा सम्पत्ति खोजबिन समितिले काम थालेको छ। समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याएर काम थालेको समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिए । समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भए समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौं उपत्यकामा रहेको त्रिविका जग्गा र सम्पत्तिको खोज गर्नेछ । मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिको सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्राडा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी छन् । समितिलाई तीन महिनाको समय दिइएको छ । रासस

बुद्धिजीवीहरूसँग प्रधानमन्त्रीले भने -'परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस् '

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए । “सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पदैन ।”  नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्‍याउने भन्ने सवालमा बुद्धिजीवीहरूको निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले, “क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तीकै छ ।”  क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजीएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए। उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको बताए।  बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्‍याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट समेत पारेका छन्।

मन्त्रिपरिषद्को बैठक बस्दै, राजदूत सिफारिस गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ। बिहीबार नियमित बस्नुपर्ने बैठक मन्त्रीहरुले संसद्मा जवाफ दिनुपर्ने भएकोले स्थगित गरेर आजका लागि बोलाइएको हो। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपरान्ह चार बजे बोलाइएको छ । आजको बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी सरकारको छ। हिजो बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको बताइएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको बताइएको हो । गत जेठ २४ मा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो। तीन नेताबीचको बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका असमझदारी छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको स्रोतले बतायो ।

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे। योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याने बताए । “शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भइ कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”  तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट व्यक्तिमा नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताए । “नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपील गर्दछु ।”  योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापति हुने विश्वास व्यक्त गरे ।

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन् । विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिएवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू  गरिएको हो । यस वर्ष हामी ‘आफू र समाजका लागि योग’ भन्ने  नाराका साथ विश्व योग दिवस मनाइरहेका छौँ । राष्ट्रपति पौडेलले योग शारीरिक अभ्यास मात्र नभई  निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो  भन्दै योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । “यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त  हुनेर आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ ।योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोर्‍याउँछ । साथै, योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ”, शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति पौडेलले हाम्रा योग गुरुहरू र अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्ने बताए। भौतिक विकास गरी सुख प्राप्त गर्ने आकाङ्क्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्था छ ।   “नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन, शहर, ढुङ्गेधारा, कुवा, इनार र राजकुलोहरूको  निर्माणमा पनि योग विज्ञान एवम् वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ । साथै, हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव रहेको छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ।

वामपन्थी एकता र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन  : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प नरहेको बताएका छन् । उनले समाजवादी व्यवस्था कम्युनिष्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने बताए । ४७औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३३औँ किसान सङ्घर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासङ्घ ९क्रान्तिकारी केन्द्र०ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफ्नो पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले आशा जगाएको जिकिर गरे । पार्टीका प्रवक्ता सापकोटाले जनताले स्थायी सरकार र सत्ता चाहेकाले कम्युनिष्ट एकताले मात्रै जनताको सपना पूरा गर्ने धारणा राखे । पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरुले जनतामा भ्रम फैलाएको बताउँदै उनले भने,“लोकप्रियतावादीहरुले ठूलठूलो स्वरमा देश भक्तिको नौटङकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो भ्रमित हुनुहुँदैन ।” आयोजक सङ्गठन अखिल नेपाल किसान महासङघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान विद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्ने प्रक्रिया नरोकिएकोप्रति रोष व्यक्त गरे ।