दसैँ सकिएसँगै काठमाडौँ उपत्यका भित्रिने नागरिकको सङ्ख्या उच्च
काठमाडौँ । दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । दसैँ मनाउन आआफ्ना गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौँ उपत्यका फर्किन थालेपछि यहाँका प्रमुख नाका र सडकमा यात्रु तथा सवारीसाधनको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दसैँको भोलिपल्ट अर्थात् असोज १७ गतेदेखि बुधबार साँझसम्म काठमाडौँ उपत्यकामा एक लाख ५५ हजार ६९७ जना भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, “दसैँ सकिएको र बाढी पहिरो तथा वर्षात्ले अवरुद्ध राजमार्ग पनि सञ्चालन भएका छन् । राजमार्गहरूमा सवारीसाधनको सङ्ख्या पनि बाक्लिँदै गएको छ ।”
दसैँको भोलिपल्ट अर्थात् असोज १७ गते ११ हजार ९५५ जना, १८ गते दुई हजार ६४८ जना, १९ गते १६ हजार ६९४ जना, २० गते ४० हजार ८७७ जना, २१ गते ६७ हजार ६९२ जना, २२ गते १५ हजार ८३१ जना गरी कुल एक लाख ५५ हजार ६९७ जना उपत्यका भित्रिएका प्रवक्ता सुवेदीले बताए ।
उनका अनुसार दसैँका लागि भन्दै काठमाडौँ उपत्यकाबाट आठ लाख ६८ हजार ७२ जना बाहिरिएका छन् । हिजोआज काठमाडौँ प्रवेश गर्ने नाकाहरू विशेषगरी नागढुङ्गा, फर्पिङ, साँगाचोक, बलम्बु, जगातिलगायत स्थानमा दैनिक हजारौँको सङ्ख्यामा यात्रु तथा सयौँको सङ्ख्यामा सवारीसाधन उपत्यका भित्रिने र बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।
दसैँ मनाएर फर्किनेमध्ये प्रायः रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा राजधानी फर्किने रहेका प्रहरीले जनाएको छ । दसैँको बिदापछि अहिले काठमाडौँको जनजीवन पुनः सक्रिय भएको छ। मन्त्रालय, कार्यालय, पसल तथा अन्य सङ्घसंस्था क्रमशः सञ्चालनमा आएका छन् ।
बाढी पहिराेबाट कोशी प्रदेशमा मात्रै २ अर्ब ६ करोड बराबरको भौतिक संरचनामा क्षति
विराटनगर । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट कोशी प्रदेश सरकारले बनाएका सडक, पूर्वाधार तथा खानेपानी आयोजनाहरु गरेर २ अर्ब ६ करोड बढीको क्षति भएको सरकारले जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजना मात्रै १ अर्ब ९८ करोड बराबरको क्षति भएको छ भने ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय अन्तर्गतका ८ करोड रुपैयाँ बढीको आयोजनामा क्षति पुगेको छ । भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार पूर्वाधार विकास कार्यालय इलाम अन्तर्गत मात्रै सडक बगाउँदा १९ करोड बराबर क्षति भएको अनुमान छ । यस्तै झापामा १ करोड ५० लाख बराबरको क्षति भएको छ । सबैभन्दा बढी इलामका सडक पुलमात्रै ३८ करोड ५० लाख बराबरको क्षति भएको छ । सङ्खुवासभामा सडक, सडक पुल र भवन गरेर २ करोड ६५ लाख, तेह्रथुममा २ करोड ४० लाख, उदयपुरमा १५ लाख, खोटाङमा ४५ लाख, ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी) अन्तर्गत ८० लाख ५० हजार, ताप्लेजुङमा ४ करोड ७५ लाख, पाँचथरमा सडक मात्रै ३२ करोड र सडक पुल १० करोड बराबरको क्षति भएको छ । यस्तै ओखलढुंगामा सडक तथा सडक पुल गरेर ११ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको आकलन छ । सोलुखुम्बुमा ८ करोड ५० लाख, मोरङमा ५ करोड २० लाख, भोजपुरमा ४४ लाख र धनकुटामा २ करोड ५ लाख गरी सडक तथा सडक पुल गरेर १ अर्ब ९८ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म ७३ वटा सडकमध्ये ४४ वटा सडक अवरुद्ध भएको र २९ वटामा आंशिक क्षति भएको जनाइएको छ । यस्तै २३ वटा सडकपूलमध्ये १२ वटा पूर्ण क्षति भएको र ११ वटामा आंशिक क्षति भएको छ । २९ वटा झोलुङ्गे पुलमध्ये २० वटा पूर्ण रूपमा क्षतिग्रस्त बनेको मन्त्रालयले जनाएको छ । ९ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ भने ३ वटा भवनमा आंशिक क्षति पुगेको जनाइएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवाले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलाम अन्तर्गत ३ करोड ७६ लाख बराबरको खानेपानी र सिँचाइ आयोजनामा क्षति पुगेको छ । यस्तै कन्काई सिँचाइ व्यवस्थापन कार्यालय झापामा १ करोड ४५ लाख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरमा २ करोड ८१ लाख १० हजार बराबरको भौतिक क्षति भएको जनाइएको छ । सो मन्त्रालयका अनुसार ९९ वटा विभिन्न खानेपानीका र सिंचाईका आयोजनाहरूमा क्षति भएको छ । यसैबिच कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले विपद्पीडित नागरिकको तत्कालको आवश्यकतादेखि दीर्घकालीन पुनर्स्थापनासम्मका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त बैठकले राहत, पुनर्निर्माण र अत्यावश्यक सेवा सञ्चालनलाई तत्काल प्रभावकारी बनाउन ३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी रहेका छन् । कार्यदलले तत्कालै आफ्नो कार्ययोजना बनाएर काम थाल्ने जनाइएको छ । बैठकले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल खर्च गर्न सक्ने गरी विभिन्न जिल्लाहरूलाई रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । जसमा इलामका लागि २५ लाख रुपैयाँ, झापाका लागि १० लाख रुपैयाँ र पाँचथर, मोरङ र सुनसरीका लागि प्रतिजिल्ला ५/५ लाख रुपैयाँ दिने उल्लेख छ । ‘यो रकम तत्काल आवश्यक पर्ने सानातिना मर्मत, अस्थायी बसोबास व्यवस्थापन तथा अन्य आकस्मिक कार्यमा खर्च गरिने मन्त्री भण्डारीले जानकारी दिए ।
टिट्वेन्टी विश्वकप क्रिकेटको छनोटमा नेपालको विजयी सुरुवात, पहिलो खेलमा कुवेत ५८ रनले पराजित
काठमाडौं । टिट्वेन्टी विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्यो । ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १ मा भएको समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको हो। जितसँगै नेपालले अंक तालिकामा महत्वपूर्ण २ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको छ। कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रनको योगफल तयार पारेको थियो। कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याउँदा १८.१ ओभरमा ८३ रनमात्र बनाउँदै अलआउट भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले २० रन बनाउँदा रन आउट भए भने गुल्सन झाले २० रनमा अनुदिप चेन्थामाराको बलमा बोल्ड आउट भए। कप्तान रोहित पौडेलले १६ रन बनाउँदा क्याच आउट भए। सन्दीप जोराले ५ र कुशल मल्लले ४ रन बनाउँदै आउट भए। सोमपाल कामी १ रनमा तथा नन्दन यादव २ रनमा अविजित रहे। नेपालले अन्तिम ओभरमा २ विकेट गुमाएको थियो। कुवेतका लागि नवीनराज राजेन्द्रनले २ विकेट लिए भने मोहम्मद आकिफ फारुक, अनुदिप चेन्थामारा र मोहम्मद अस्लामले समान १ विकेट हात पारे। कुवेतको इनिङमा नेपालका स्पिनरहरूले कमाल देखाए। १५ औं ओभरमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिँदै मेडन ओभर फाल्दै कुवेतलाई दबाबमा राखे। सन्दीपसहित कप्तान रोहित पौडेल र ललित राजवंशीले समान २ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान १ विकेट हात पारे। कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले २६ रनको सर्वाधिक योगदान दिए। यासिन पटेलले १९ र मति भास्करले ११ रन बनाए। अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्। नेपाल रहेको समूह 'बी' मा कुवेतसँगै जापान छन्। समूह 'ए' मा मलेसिया, कतार र युएई तथा समूह 'सी' मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्सको शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। समूह चरणको दोस्रो खेलमा नेपालले शुक्रबार जापानविरुद्ध भिड्नेछ।
माओवादी केन्द्र चुनाव केन्द्रित अभियानमा : मतदाता नामावली दर्ता र अद्यावधिक गर्न परिपत्र
काठमाडौं– आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सबै तहका पार्टी पङ्क्तिलाई मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ। पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले जारी गरेको परिपत्रमा निर्वाचन कार्यालयहरूसँग समन्वय गरी यो अभियान चलाउन आह्वान गरिएको छ। परिपत्रअनुसार, कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह वा बसाइँसराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपर्ने अवस्थामा आवश्यक प्रक्रिया पूरा गर्न, तथा नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा सच्याउन पहल गर्न कार्यकर्ताहरूलाई निर्देशित गरिएको छ। 'निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ,' परिपत्रमा उल्लेख छ।
जेन-जी आन्दाेलनपछी सौराहा आउन थाले पर्यटक
चितवन । सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे । गत वर्षहरूमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरूमा केही उत्साह थपिएको छ । यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँ–ठाउँको पहिरोका कारण पर्यटकहरूले बुकिङ रद्द गरेपछि व्यवसायी निरास भएका थिए । क्षेत्रीय होटल सङ्घका उपाध्यक्षसमेत रहेका थपलियाले मङ्गलबारदेखि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताए । उनले भने, “दसैँको समयमा पाँच प्रतिशत हाराहारी मात्र पर्यटक भएकामा हिजोदेखि राम्रो बढ्दै गएको छ ।” आजको अवस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उनको भनाइ छ । गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथे । क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्यान्डमार्कसहित होटलहरूमा पर्यटक आउन थालेको बताए । जेनजी आन्दोलनअघि नेपाल आएका पर्यटक सडक राम्रो भएसँगै सौराहा आउन थालेको उनि बताउँछन् । नेपालीहरु न्यून भए पनि विदेशीको सङ्ख्या बढ्दो छ । उनले भने, “बुकिङ राम्रो नभए पनि सोझै आउनेहरू बढ्न थालेका छन् ।” साह्रै न्यून पर्यटक रहेकामा केही आउन थालेपछि आफूहरूमा आशा जगाएको पाण्डे बताउँछन् । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे क्रमशः पर्यटक आउन थालेको बताउँछन् । तिहारसँगै स्वदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको अनुमान छ । उनले भने, “आन्तरिक तथा बाह्य पर्यटक क्रमशः बढ्ने हामीले अपेक्षा गरेका छौँ ।” निकुञ्जभित्रको जङ्गल सफारीसमेत खुलेकाले यहाँ आउने पर्यटक बढेको उनले बताए । चितवन आउन चाहने पर्यटकका लागि सबैतिरका सडक सञ्जाल राम्रो भएको भन्दै उनले बिदाका दिनमा पर्यटकको आगमन बढ्ने बताए । होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउँछन् । विभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक बढ्नेमा आफु विश्वस्त रहेको उनको भनाइ छ । सौराहाका पर्यटन व्यावसायी दीपेन्द्र खतिवडा रेष्टुराँहरूमा पर्यटकको आगमन बढेको बताउँछन् । हात्ती सफारी गर्नेहरू पनि क्रमशः बढ्दै गएको उनको भनाइ छ । विगत वर्षहरूमा दसैँको समयमा हात्ती चढ्नेहरूका लागि पुर्याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दसैँभर सुनसान अवस्थामा रहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन् । उनीहरु निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन् । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटे बाघलगायतका जनावर हेर्न उनीहरू रुचाउँछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा नै परिचित छ । रासस
पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले फिर्ता गरे सरकारी गाडी
काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गरेका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सापकोटाले बुधबार सरकारी गाडी सचिवालयलाई बुझाएका हुन् । हालै सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्न पूर्व पदाधिकारीहरूलाई प्रयोगमा रहेका सरकारी गाडी फिर्ता गर्न निर्देशन दिएको थियो । सोही अनुसार सापकोटाले गाडी बुझाएका हुन् । यसअघि पूर्वसभामुखद्वय ओनसरी घर्ती र कृष्णबहादुर महरा, साथै राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन् । सचिवालयका अनुसार अब पूर्वसभामुख तारानाथ रानाभाटले मात्र सरकारी गाडी फिर्ता गर्न बाँकी छ । मन्त्रीपरिषद्को निर्णयअनुसार उनीहरूले पदमा रहेकै बेला प्रयोग गरेका गाडी फिर्ता गर्नुपर्ने व्यवस्था लागू भएको हो । पदबाट हटिसकेका पदाधिकारीहरूले सरकारी गाडी निरन्तर प्रयोग गरेको विषयमा जनस्तरमा आलोचना हुँदै आएको छ ।
नेपाली महिला क्रिकेट टोलीको सफलता: मलेसियाविरुद्धको टिट्वेन्टीआइ सिरिज ३-२ ले जित्यो
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टिट्वेन्टीआइ सिरिज ३-२ ले जितेको छ । अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्यो । अन्तिम तथा निर्णायक खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीले पाँच खेलको टी-२० शृङ्खला ३–२ ले जितेको छ। मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो। नेपालले १८ औँ ओभरमा ५ विकेटको क्षतिमा १०४ रनको लक्ष्य पछ्याएर जित हात पारेको हो। शृङ्खलाको पहिलो खेलमा नेपाल ३ रनले हारेको थियो भने दोस्रो र चौथो खेलमा ६–६ विकेटको जित दर्ता गरेको थियो। तेस्रो खेल भने मलेसियाले १३ रनले जितेको थियो। नेपालको ब्याटिङ ओपनर सम्झना खड्का: १० बलमा १३ रन (१ चौका) रुवि पोद्दार: २५ बलमा २६ रन (२ चौका) कविता कुँवर: १९ बलमा १४ रन (१ चौका) कप्तान इन्दु वर्मा: १३ बलमा ८ रन पूजा महतो: २३ बलमा २३ रन रुविना क्षेत्री: १५ रन मलेसियाको ब्याटिङ र नेपालको बलिङ मलेसियाका लागि कप्तान तथा ओपनर विनिफ्रेड दुराईसिंघम ले सर्वाधिक ४६ बलमा ४० रन (५ चौका) जोडे। मारिया इजाती इस्माइल ले १८ बलमा १९ रन (१ चौका), आइना हमिजा हसिम ले १९ बलमा १५ रन र नुर दानिया सुहादा ले १४ बलमा ११ रन बनाइन्। नेपालकी कविता कुँवर ले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन्। त्यस्तै, राजमती ऐरी ले ३ ओभरमा १५ रन दिएर ३ विकेट हात पारिन्। रचना चौधरी को नाम १ विकेट रह्यो। यो जितसँगै नेपाली महिला टोलीले शृङ्खलामा कब्जा जमाएको छ।
असोजको तेस्रो सातामै खुम्बु क्षेत्रमा हिमपात
सोलुखुम्बु । सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ । असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ । यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन् । गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबार परेको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो । “नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ”, अधिकारीले भने, “दिङ्बोचे क्षेत्रमा पाँच वटा होटल हिमपातबाट प्रभावित भएका छन्, तर मानवीय क्षति भने भएको छैन ।” दिङ्बोचे क्षेत्रका पाँच होटल जस्तासहितका संरचना हिउँको भार सहन नसकी भास्सिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले भने, “हिउँको भार र लगातारको वर्षाले छानाको संरचना भत्किँदा पाँच होटल भासिएका हुन् । मानवीय क्षति नभए पनि आर्थिक क्षति भने भएको छ ।” पर्यटन याम सुरु भइसकेका बेला परेको हिमपातले व्यापारीलाई थप चिन्तित बनाएको उहाँको भनाइ छ । असामान्य मौसमी परिवर्तन खुम्बुमा असोजमै हिउँ पर्नु असामान्य मानिन्छ । सामान्यतया मङ्सिरदेखि माघमा मात्र यहाँ बाक्लो हिमपात हुन्छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाले भने, “हिउँ असोजमा पर्नु जलवायु परिवर्तनको सङ्केत हो । मैले असोज महिनामा हिउँ परेको घटना कमै मात्रामा देखेको छु । यो दुर्लभ घटना हो ।” उनका अनुसार, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको छ । पहिले निश्चित समयमा हिउँ पर्ने र पग्लिनेक्रम हुन्थ्यो, अहिले त्यो तालमेल हराएको उनको भनाइ छ । जीवनशैली र कामकाज प्रभावित हिमपातपछि खुम्बुका बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ । असोज २० गते बिहान मौसम खुलेपछि केही हिउँ पग्लिए पनि चिसोले जनजीवन सुस्त बनेको स्थानीयको भनाइ छ । हिउँ परेपछि तापक्रम घटेको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले भने। हिउँका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम पनि रोकिएको छ । वडाध्यक्ष अधिकारीका अनुसार कामदारहरू चिसोका कारण नाम्चे झरेका छन् । मौसम अनुकूल भएपछि मात्रै काम सुरु हुनेछ उनको भनाइ छ । जलवायु परिवर्तनको प्रभावमा हिमाली जीवन खुम्बु क्षेत्रमा पछिल्ला वर्षमा मौसममा अप्रत्यासित परिवर्तन देखिएको छ । कहिले असोजमै हिउँ पर्ने, कहिले माघमा हिउँ नपर्ने अवस्था बनेको छ । वातावरणविद्हरूका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमालमा हिउँको मात्रा घट्दै गएको छ । तर छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन् । “पहिले असोजदेखि मङ्सिरसम्म पर्यटकीय याम रहन्थ्यो, अहिले हिउँ र वर्षाका कारण बाटो बन्द हुने, उडान रोकिने, होटल खाली हुने समस्या छ”, स्थानीय व्यवसायी तोयकुमार श्रेष्ठले भने । हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ खुम्बुका बासिन्दाले असोजमै हिमपातपछि जलवायु सन्तुलनका लागि स्थानीय तह र सरकार दुवैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । “हामीले केही वर्षयता जलवायु परिवर्तन महसुस गर्दै आएका छौँ”, नाम्चेका सुमन मोक्तानले भने, “अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ ।” स्थानीय जनप्रतिनिधिले पनि जलवायु अनुकूलन कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । “हिउँ असामान्य समयमा परेपछि ढुवानी, पर्यटन र जनजीवन सबै प्रभावित हुन्छ”, खुम्जुङका वडाध्यक्ष लक्ष्मण अधिकारीले भने, “हाम्रो आर्थिक जीवन हिउँसँगै बाँधिएको छ, त्यसैले राज्यले पनि यस क्षेत्रमा विशेष योजना ल्याउनुपर्छ ।” कोरियाली आरोहीको मृत्यु महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा यही असोज २० गते कोरियाली नागरिक टेजुुन पार्कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । डिएसपी मनोजित कुँवरका अनुसार पार्क असोज १८ गते मेरापिक हिमाल आरोहणका क्रममा छ हजार ४६० मिटर उचाइमा पुगेका थिए । मौसम प्रतिकूल भएपछि पार्क र नेपाली गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए । खोजतलास गर्दा तेम्बा शेर्पा छ हजार १०० मिटर उचाइमा जीवित फेला परेका थिए भने पार्क मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पार्कको शव हेलिकप्टरमार्फत लुक्ला ल्याई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँको शिक्षण अस्पतालमा शव परीक्षणका लागि पठाइएको कुँवरले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान अनुसार, अत्यधिक चिसो र अक्सिजनको कमीका कारण पार्कको ज्यान गएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दसैँ सौहार्दपूर्ण वातावरणमा सम्पन्न हिमपात, दुर्घटना र आरोहणका घटनाबिच पनि सोलुखुम्बुमा यस वर्षको दसैँ उत्साहपूर्वक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुनै ठुलो अप्रिय घटना भएको छैन । “छिटफुट घटनाबाहेक दसैँ शान्तिपूर्वक बित्यो”, डिएसपी कुँवरले भने । यद्यपि यही असोज १५ गते माप्य दूधकोसी गाउँपालिका–१ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका थिए । प्रहरीका अनुसार ४९ वर्षीय मंगलमान राईले मादक पदार्थ सेवनपश्चात् आफ्नी श्रीमती र दुई छिमेकीलाई खुकुरी प्रहार गरेका थिए । हाल राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । साथै शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका–३ फलामखानीका प्रविण विश्वकर्माको घर बगाएको छ । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाका अनुसार रातको समयमा आएको पहिरोले घर पूर्ण रूपमा क्षति पुर्याएको भने परिवारका सदस्य सकुशल छन् । उक्त घटनामा एक राँगो र चार वटा बाख्रा मरेका छन् । स्थानीयले बिहान पहिरोको अवस्था स्थलगत अवलोकन गरी राहतको पहल थालेका छन् ।
यूएईमा भिजिट भिसा स्पोन्सर: परिवारलाई ४ हजारदेखि साथीलाई १५ हजार दिराम
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ । यसअनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न प्रायोजकको न्यूनतम मासिक तलब तोकिएको छ । पहिलो तहका आफन्त (बुबा-आमा, श्रीमान/श्रीमती, छोराछोरी) का लागि ४ हजार दिराम, दोस्रो तहका (दाजुभाइ, दिदीबहिनी, हजुरबा-हजुरआमा, नाति-नातिनी) र तेस्रो तहका (काका-काकी, मामा-फुपु, कजिन) का लागि ८ हजार दिराम तथा नन-रिलेटिभ साथीका लागि १५ हजार दिराम आवश्यक पर्छ । आईसीपी (पहिचान र नागरिकता प्राधिकरण) ले यो प्रावधान पारदर्शिता बढाउन, आर्थिक विविधीकरण समर्थन गर्न र प्रतिभालाई आकर्षित गर्न लागू गरेको हो । आवेदनका लागि कम्तीमा ६ महिनाको मान्य राहदानी, फिर्ता टिकट र नाता प्रमाण बुझाउनुपर्छ । यसैगरी, यूएईले चार नयाँ भिजिट भिसा वर्गीकरण गरेको छ: कृत्रिम बुद्धिमत्ता (एआई), मनोरञ्जन, कार्यक्रमहरू, क्रुज जहाज र मनोरञ्जन । मानवीय बसोबास अनुमतिपत्र १ वर्षको जारी हुने छ, जसलाई विशेष सर्तमा विस्तार गर्न सकिन्छ । यसले विदेशी विधवा वा सम्बन्धविच्छेदित एकल महिलालाई प्रायोजकबिना नै बसोबासको सुविधा दिन्छ । आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले यी संशोधनहरूले जीवनको गुणस्तर सुधार, व्यापार वृद्धि र प्रविधि क्षेत्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
माओवादी सक्रिय रूपमा चुनावमा जान्छ: संयाेजक प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुने बताउनु भएकाे छ । सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयाे, “घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल त्यसमा सहभागी हुनुपर्छ ।” उहाँका अनुसार माओवादी केन्द्र निर्वाचनमा पूर्ण सक्रियताका साथ भाग लिने तयारीमा छ । “हाम्रो पार्टी सक्रिय रूपमा चुनावमा जान्छ र त्यसका लागि तयारी अघि बढाइरहेको छ,” प्रचण्डले स्पष्ट पार्नुभएकाे छ । उहाँले अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनका विषयमा संवाद भइरहेको जानकारी दिनुभएकाे छ । “अन्य दलहरूसँग निरन्तर कुराकानी भइरहेको छ, केही समयपछि त्यसको परिणाम देखिनेछ,” उहाँले भन्नुभयाे । आजकाे बैठकले देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र त्यसपछिका कार्ययोजनाबारे पनि छलफल गरेको पनि बताउनु भएकाे छ ।
भीषण बाढीपहिरोको प्रकोप : ५२ को ज्यान लियो, ७ बेपत्ता (नामावलीसहित)
काठमाडौं । लगातारको भीषण वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशकारी घटनामा देशभर ५२ जनाले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, शुक्रबार र शनिबारको वर्षापछि अहिलेसम्म ५२ को मृत्यु र ७ जना बेपत्ता भएका छन् । कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । तीमध्ये इलाममा ३७, पाँचथरमा ८, उदयपुरमा २ र खोटाङमा २ जनाको मृत्यु भएको छ । बाँकी मृतकमा रौतहटमा ३ र काभ्रेमा १ जना छन् । बेपत्ता भएकाहरूमा बारामा १, रसुवामा ४, इलाममा १ र काठमाडौंमा १ जना रहेका छन् ।
आजको मौसम पूर्वानुमान : कहाँ-कहाँ सम्भावना छ वर्षाको ?
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । यसैगरी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज कोजाग्रत पूर्णिमा : विजयादशमीबाट सुरु भएको टीका-जमरा लगाउने क्रम आज समाप्त हुने
काठमाडौं । आज कोजाग्रत पूर्णिमामा रातभर जाग्राम बसी महालक्ष्मीको पूजा गरी दसैंको बिदाइ गरिदैँछ । यस अवसरमा धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ, जसलाई कौमुदी पूर्णिमा पनि भनिन्छ । विजयादशमीबाट सुरु भएको टीका-जमरा लगाउने क्रम आज समाप्त हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, सबै बलि पूर्ति नभएसम्म टीका लगाउन शास्त्रसम्मत छ । बिहान दशैंघरका फूलप्रसाद र जमराको अवशेष नदी-तलाउमा विसर्जन गरिन्छ । धार्मिक विश्वासअनुसार, जाग्राम बस्ने घरमा लक्ष्मी प्रवेश गरी समृद्धि दिन्छिन् । भोलिबाट कात्तिक स्नान र आकाशदीप दान सुरु हुने छ, जसलाई दशैं बिदा र तिहार तयारी मानिन्छ । लक्ष्मीपूजा १५ दिनपछि हुने भएकाले यो पर्वको विशेष महत्व छ ।
नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज, यी हुन् बैठकका एजेण्डा
काठमाडौं – नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्तिले निम्ताएको समस्या तथा पार्टीका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी कार्यालयमा हेप्प डेस्क स्थापना र उद्दार, राहतमा लाग्न दिएको निर्देशनको कार्यान्वयन लगायतका विषयमा पनि छलफल हुनेछ । त्यस्तै विपद्पछिको उद्दार तथा राहत, विभिन्न बामपन्थी पार्टीहरुसँग हुने भनिएको पार्टी एकतालगायतका विषयमा पनि आजको बैठकमा छलफल गर्ने तय भएको छ । उनका अनुसार, महाधिवेशन मिति तय गर्ने, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। यस्तै, माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो।
काठमाडौंका बाढी प्रभावित बस्तीमा वाइसिएलको सरसफाइ अभियान
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले डुबानमा परेका काठमाडौंका नदी तथा खोला किनारका बस्तीहरूमा वाइसिएल नेपालले शनिबार सरसफाइ तथा उद्धार कार्य सञ्चालन गरेको छ । वाईसिएल नेपालका कार्यकर्ताहरूले डुबानग्रस्त घरहरूको सफाइ गर्दै घरभित्र भरिएको फोहोर पानी निकालेर स्थानीयलाई सफा गर्न सहयोग गरेका छन् । यसैगरी, बाढीले क्षति पुर्याएका सामग्रीहरूको उद्धार कार्य पनि गरिएको वाइसिएल नेपालले जनाएको छ । बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि अध्यक्ष पुष्प ओली नेतृत्वमा वाइसिएल नेपालले देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरेको छ ।
मौसम सुधार : मनसुन कमजोर, तर सतर्कता कायम राख्न आह्वान
काठमाडौं । बंगालको खाडीबाट विकास भएको न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएपछि मनसुन कमजोर बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो जारी विज्ञप्तिमा मौसममा सुधार आएको जानकारी दिइन् । यससँगै जनजीवन क्रमशः सामान्य हुँदै गएको छ, तर मनसुन पूर्ण रूपमा बाहिरिन बाँकी रहेकोले वर्षाको सम्भावना कायमै छ । अविरल वर्षाले उत्पन्न बाढी र पहिरोले कोसी प्रदेशका जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ । विशेष गरी इलाममा १३ वटा हाइड्रोपावर आयोजनाको उत्पादन बन्द भएको छ । यी आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट विद्युत् पूर्ण रूपमा ठप्प बनेको ऊर्जा मन्त्रालयले जनाएको छ । प्रभावित आयोजनाहरूमा निम्नानुसार छन् : माइखोला हाइड्रोपावर : ४.५ मेगावाट माइखोला क्यासकेड : ८ मेगावाट माइखोला, जोगमाइखोला, तल्लो जोगमाई, माइवेनी लगायत त्यस्तै, पाँचथर, इलाम र सिन्धुपाल्चोकका ५ वटा निर्माणाधीन हाइड्रोपावर आयोजनाहरू पनि प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अनुसार, यीमध्ये ४ आयोजनाको उत्पादन ढिलाइ हुनेछ भने ९३ मेगावाट क्षमताका ५ आयोजनामा क्षति पुगेको छ । मौसम विभागको विज्ञप्तिअनुसार, असोज १७ गतेदेखि १९ गते बिहानसम्म मधेस र बागमती प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशमा मध्यमदेखि अतिभारी वर्षा भएको थियो । गत २४ घण्टामा अधिकतम ३५८ मिलिमिटर वर्षा रौतहटको महेशपुरमा मापन भएको छ । ३०० मिलिमिटरभन्दा बढी वर्षा हुने केन्द्रहरूमा इलामको हिमाली गाउँ (३३२.६ मिमि), कन्याम टी-स्टेट (३१४.२ मिमि), पर्साको मुडली (३२८.६ मिमि) र रौतहटको महेशपुर (३२८.० मिमि) रहेका छन् । वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, सप्तकोसी लगायतका नदीहरूमा जलसतह खतरा तह पार गरेको थियो, जुन हाल घट्दो क्रममा छ । विभागले कोसी नदी चतरा केन्द्रमा खतरा तह नजिक रहेकोले असोज २० गते मध्याह्नसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान गरेको छ । प्रवक्ता पोखरेलले विभागको वेबसाइट, सामाजिक सञ्जाल, टोलफ्री सेवा (११५५) र एसएमएसमार्फत अद्यावधिक सूचना प्राप्त गरी सतर्क रहन सबैलाई अनुरोध गरेकी छन् । यसैबीच, यो वर्ष मनसुन जुन १३ को सरदरभन्दा १५ दिनअगावै प्रवेश गरेको थियो भने बाहिरिने सरदर मिति अक्टोबर २ रहेको छ, तर हरेक वर्षमा केही उतारचढाव हुने गर्दछ ।

