विराटनगरबाट काठमाडौं उडेको जहाज पोखरामा अवतरण

काठमाडौं – खराब मौसमले काठमाडौंको आकाश अवरुद्ध हुँदा विराटनगरबाट उडेको यति एयरलाइन्सको उडान पोखरामा आपतकालीन अवतरण गरेको छ।

काठमाडौंमा निरन्तर वर्षा र कुहिरोले दृश्यता शून्य बनेपछि पाइलटले सुरक्षित रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उतारेका थिए। यात्रुहरूलाई तनावमुक्त रहन र आवश्यक सहयोग उपलब्ध गराइएको छ।

अहिले मौसममा सुधार देखिएपछि पोखराबाट काठमाडौंका लागि उडान भर्ने तयारी भइरहेको छ। यति एयरलाइन्सले यात्रुहरूलाई जानकारी दिँदै क्षतिपूर्ति तथा विकल्प उडानको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

मौसम पूर्वानुमान अनुसार, आगामी घण्टाहरूमा उडान सामान्य हुन सक्ने अपेक्षा गरिएको छ। यात्रुहरूले एयरलाइन्सको आधिकारिक च्यानलमार्फत अपडेट लिन सुझाव दिइएको छ।

ट्रम्पको धम्कीपछि हमास युद्धबिरामका लागि तयार, नेपाली विपिन जोशीको अवस्था पत्ता लाग्नसक्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको केही घण्टामै हमासले गाजामा युद्धविराम गर्न सहमति जनाएको छ। हमासले शुक्रबार राति जारी गरेको घोषणामा ट्रम्पको २० बुँदे शान्ति योजनाअनुसार सबै बन्दीहरू (जीवित वा मृत) रिहा गर्ने र गाजाको प्रशासन हस्तान्तरण गर्ने तयारी भएको उल्लेख छ। हमासले भनेको छ कि यस योजनाका केही भागहरूमा थप वार्ता आवश्यक छ। अल जजीराको रिपोर्टअनुसार, हमासको जवाफमा हतियार छोड्ने विषय उल्लेख गरिएको छैन। हमासको घोषणापछि ट्रम्पले इजरायललाई तत्काल गाजामा सैन्य कारबाही रोक्न निर्देशन दिएका छन्। प्रतिक्रियामा इजरायलले पनि ट्रम्पको योजनामा सहयोग गर्ने जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा इजरायल पहिलो चरणको कार्यान्वयनका लागि ट्रम्प र उनकी टोलीसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। इजरायली सेनाको रेडियो प्रसारणअनुसार, सरकारले सेनालाई गाजामा कब्जा गर्ने कारबाही रोकेर आवश्यकतामा मात्रै अगाडि बढ्ने आदेश दिएको छ। विपिनसहित ४८ बन्दीहरू रिहा गर्ने तयारी हमासले नेपालका विपिन जोशीसहितका सबै ४८ बन्दीहरू रिहा गर्ने जनाएको छ। यसअघि हमासले सार्वजनिक गरेको 'बिदाइ सूची' मा विपिनको तस्वीर पनि समावेश थियो। यी बन्दीहरू युद्धविराम लागू भएको ७२ घण्टाभित्र रिहा गरिनेछन्। यसको बदलामा इजरायलले २,००० भन्दा बढी प्यालेस्टिनी सुरक्षा कैदीहरू र मारिएका गाजावासीहरूको शव फिर्ता दिनेछ। त्यसपछि इजरायलले गाजाबाट फिर्ताको पहिलो चरण पूरा गर्नेछ। बन्दीहरूको रिहाइका लागि आवश्यक परिस्थितिहरू तयार भएपछि मात्रै यो प्रक्रिया अगाडि बढ्ने हमासले बताए पनि ती परिस्थितिका विवरण खुलाएको छैन। ट्रम्पको भिडियो सन्देश : 'यो विशेष दिन हो' हमासको घोषणापछि ट्रम्पले जारी गरेको भिडियो सन्देशमा यसलाई 'विशेष दिन' भनेका छन्। उनले बाँकी मुद्दाहरूमा थप काम आवश्यक रहेको उल्लेख गर्दै बन्दीहरू चाँडै घर फर्कने आशा व्यक्त गरे। 'यी बन्दीहरू चाँडै आफ्ना आमाबुबासँग भेट्नेछन्,' ट्रम्पले भनेका छन्। यसअघि ट्रम्पले शुक्रबार नै हमासलाई आइतबार साँझसम्म (स्थानीय समय ६ बजे) युद्धविराम योजना स्वीकार्न चेतावनी दिएका थिए। सामाजिक सञ्जाल पोस्टमार्फत उनले अस्वीकार गरेमा 'कहिल्यै नदेखिएको कठोर कदम' चाल्ने धम्की दिएका थिए।

अविरल वर्षाका कारण काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध, अन्य कुन कुन जिल्ला जोखिममा ?

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षा जारी छ। विशेष गरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा अविरल वर्षा भइरहेको छ। यो क्रम कम्तीमा असोज २० सम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गरेको बादलको बाहिरी घेराले यो वर्षा गराएको हो। मौसमविद्हरूका अनुसार, अर्को मौसमी प्रणाली पनि नेपाल भित्रिने र केही क्षेत्रमा अत्यधिक वर्षा गराउने संकेत देखिएको छ। आजको वर्षा पूर्वानुमान : मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्छ। यो बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म फैलिएको छ भने भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा केन्द्रित छ। खासगरी हेटौंडादेखि ललितपुर आसपासमा मध्यम वर्षा जारी रहने अनुमान छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। पहिरोले सडक अवरुद्ध, यात्रु अलपत्र : अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्डहरू अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङ खोलामा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, आज बिहान २ बजेतिर जवाङखेलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो। प्रहरी, स्थानीय र यात्रुहरूको प्रयासमा केही खुलाए पनि फेरि माथिबाट ढुङ्गा–माटो झर्ने क्रम जारी रहँदा पूर्ण अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, तुइन खोला पुल नजिकैको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा थियो, तर यो समाचार तयार पार्दासम्म दुईतर्फी नै अवरुद्ध छ। वर्षा जारी रहँदा पहिरो हटाउन समस्या भएको छ। यस सडकखण्डमा पटक–पटक पहिरो खसेर यात्रुहरूले सास्ती भोग्दै आएका छन्। चितवन प्रहरी प्रमुख गोविन्द पन्थीले भने, "जवाङ खोलामा गएको पहिरोले मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएको छ। यात्रामा निस्कनेहरू सतर्क रहनुहोस्। अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्। दुई दिन भारी वर्षाको सम्भावना छ।" प्रहरीले वैकल्पिक मार्गको प्रयोग गर्न र अत्यावश्यक नभई यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। नदीहरूमा बहाव बढ्ने, आकस्मिक बाढीको जोखिम:  जल तथा मौसम विज्ञान विभागले आज दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरु भई नदीहरूको बहाव बढ्न थाल्ने बताएको छ। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, शनिबार दिउँसोसम्म प्रमुख नदीहरूको अवस्था सामान्य रहने भए पनि रातिदेखि बहाव बढ्न थाल्नेछ। "शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरूबाट बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम छ," उनले भने। आइतबार बिहानदेखि बेलुकीसम्म नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कताको तह नजिक पुग्न सक्नेछ। आइतबार रातिदेखि यो प्रणाली पूर्वतर्फ सर्दै कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव बढ्न सक्ने उनको भनाइ छ। बाढी, डुबान र पहिरो हुन सक्ने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभिन्न ठाउँमा वर्षा: उच्च सतर्कता अपनाउन तथा मौसमी सूचना हेरेर मात्र यात्रा गर्न अनुरोध

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायु) को प्रभावले देशभर सामान्यतया बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोको पूर्वानुमान देशभर सामान्यतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। आज रातिको पूर्वानुमान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा सामान्यतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचना हेरेर मात्र यात्रा गर्न सर्वसाधारण र सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

जनार्दनप्रति युवराज दुलालको टिप्पणी, 'अति भो, लाज लजायो, धैर्यताको बॉध थेग्न सकिएन्'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टीका महाधिवेशन आयोजक समितिका संयोजक (तत्कालीन अध्यक्ष) पुष्पकमल दाहाल 'प्रचण्ड' सँगको फोन कुराकानीको भिडियो सार्वजनिक गरेपछि चर्को आलोचना भएको छ। यसै सन्दर्भमा माओवादी केन्द्रका अर्का नेता युवराज दुलाल सरदले यो घटनाले आफूलाई गहिरो लज्जावोध गराएको टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा शर्माले प्रचण्डसँग जेनजी आन्दोलनका विषयमा छलफल गरेको देखिन्छ। यसलाई 'प्रचारका लागि रेकर्डिङ' भनेर आलोचना भइरहेको बेला युवा नेता सरदले यस घटनालाई पार्टीको नेतृत्व र कार्यकर्ताहरूप्रति अपमानपूर्ण ठहर गर्दै कडा प्रतिक्रिया जनाएका हुन्।   सारदले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, "कमरेड, म तपाईंलाई राम्रोसँग जान्दछु। मैले जान्दछु भन्ने कुरामा यहाँको विवेकहीनता पक्कै छैन भन्ने विश्वास गर्दछु। कमरेड, क्षमताको प्रस्तुति त विनम्रतामा हुन्छ। यो अहंकारलाई हामीले कसरी नेतृत्व मान्ने रु तपाईंको रेकर्ड गरी पब्लिक खपतका लागि ब्रोडकास्ट गरिएको फोन संवादभन्दा तपाईं नेताहरूलाई हामीले धेरै सुझाव दिएका छौं। सुझाव मात्र दिएका छैनौं, पार्टी कार्यकर्ता र नेताबीच जस्तोसुकै संकटमा पनि जीवन्त सम्पर्क, सुझाव र मार्गदर्शन गरिरहेकै छौं।"   उनले थपे, "यस्ता कुरामा बोल्न मन त थिएन, तर तपाईंप्रति भ्रममा रहेका र हामीप्रति आशा गरेका कार्यकर्ता र शुभचिन्तकलाई केही स्पष्ट होस् भनेर बोल्न विवश भएँ। आफ्नो अध्यक्षलाई गरेको फोनको भिडियो र अडियो रेकर्ड गराएर प्रचार गर्ने हैसियत र चेतनाले हामीलाई लज्जाबोध गराएको छ। हाम्रो लागि त्यो त सामान्य कुरा हो, यस्तो कुरा भन्न पनि लाज लाग्छ। तपाईंलाई बाघ नै मारे जस्तो लाग्यो होला है!" सारदले यो घटनालाई पार्टीको आन्तरिक एकताका लागि हानिकारक ठहर गर्दै विनम्र अनुरोध गर्दै लेखेका छन्, "माफ पाउनुहोस् आदरणीय कमान्डर, अति भयो, लाज लाग्यो, धैर्यताको बन्ध थेठ्न सकिएन। विनम्रतापूर्वक अनुरोध छ, हामी यो देशको परिवर्तन र विकासको लागि हिंडेको बाटोमा जस्तोसुकै कठिन घडीमा जुनसुकै आरोपहरूबाट किन्चित विचलित नभई अविराम यात्रा गरिरहनेछौं। लाल सलाम!"

जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न नेता–कार्यकर्तालाई संयोजक प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन आह्वान गर्नु भएको छ ।  शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी सन्देशमा उनले मौसम विभागको चेतावनीअनुसार विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएकाले जनसमुदायलाई सुरक्षित रहन अपिल गर्नुभयो ।    प्रचण्डले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दै पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशनसमेत दिनु भएको छ ।   

देशका मुख्य राजमार्गमा दुई दिन सकभर यात्रा नगर्न आग्रह, भारी वर्षाबाट काठमाडौं पनि उच्च जोखिममा

काठमाडौं । भारी वर्षाका कारण बाढीपहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरूमा राजमार्गहरू बन्द गर्नु नै उचित हुने मौसमविद्हरूले सुझाव दिएका छन्। सामान्य झरीमा पनि जोखिमपूर्ण मानिएका यी क्षेत्रहरूमा जनहितका लागि पूर्वतयारीस्वरूप सडकहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने उनीहरूको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दशैंको दिन देखि नै सामान्य वर्षा हुँदै आएको थियो भने  अपराह्नदेखि काठमाडौं उपत्यका लगायतका क्षेत्रहरूमा पानी पर्ने क्रम तीव्र हुनेछ। भारतको ओडिसा नजिकबाट विकसित भएको मौसमी प्रणाली बिहार हुँदै  नेपाल प्रवेश गर्नेछ। यसले मधेश प्रदेशका केही भागहरूमा भारीदेखि अति भारी वर्षा गराउने अनुमान गरिएको छ। भारतको मौसम विज्ञान विभागले पनि बिहार क्षेत्रमा अति भारी वर्षाको अलर्ट जारी गरेको छ। यो प्रणाली वीरगञ्ज आसपास हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने बताइएको छ। प्रभावित क्षेत्रहरू र वर्षाको अनुमान: शनिबारदेखि वीरगञ्जदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेश प्रदेशभर सामान्यदेखि भारी वर्षा हुनेछ। पश्चिमी क्षेत्रमा बुटवल–भैरहवाबाट चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै गोरखा र तनहुँसम्म प्रभाव पार्ने आकलन छ। यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका जिल्लाहरूमा शनिबार र आइतबार (असोज १९) सम्म सक्रिय रहने छ। आइतबार रातिसम्म कोशी प्रदेशमा भारी वर्षा हुनेछ भने सोमबार (असोज २०) बिहानदेखि देशभर मौसममा क्रमिक सुधार आउने पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए। मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले फरक–फरक अवस्था देखाए पनि गत वर्ष असोज ११–१२ तिरजस्तै यस पटक पनि भारी वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अध्यापक डा. विनोद पोखरेलले बताए। "भोलि (शनिबार) अपरान्हदेखि नै राजमार्गहरू बन्द गरिदिनु उपयुक्त हुन्छ," उनले भने, "चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। यात्रुहरूको चाप बढी हुने यी राजमार्गहरू बन्द गर्नु नै उचित हो।" यसपालि काठमाडौं उपत्यका, विशेष गरी दक्षिणी भागमा भारी वर्षाको जोखिम देखिएको उल्लेख गर्दै उनले राजमार्ग सञ्चालन गरेर यात्रुहरूको ज्यान जोखिममा पार्नुभन्दा बन्द गर्नु नै राम्रो विकल्प भएको बताए। काठमाडौं भित्रिने मुख्य नाका नारायणगढ–मुग्लिन–नागढुंगा राजमार्गका विभिन्न खण्डहरू पहिरोको उच्च जोखिममा छन्। त्यस्तै, हेटौंडाबाट काठमाडौं जोड्ने सडक, बनेपा–बर्दिबास राजमार्ग तथा वरपरका जिल्लाबाट प्रवेश गर्ने सडकहरू पनि बन्द गर्नुपर्ने सुझाव छ। केही मोडेलहरूले मुग्लिन आसपासमा पनि भारी वर्षा देखाएका छन्। उपत्यकाभित्र पनि आवतजावत नियन्त्रण गर्न आवश्यक : विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले जोखिमयुक्त राजमार्गहरू मात्र नभई अति भारी वर्षाका बेला काठमाडौं उपत्यकाभित्रकै आवतजावत पनि नियन्त्रित गर्नुपर्ने बताए। "झरी बढ्दै गएमा होचो ठाउँका सडकहरू डुबानमा पर्न सक्छन्। अत्यावश्यक काम नपरी उपत्यकाभित्र यात्रा नगर्नु उचित हुन्छ," उनले भने। साथै, हनुमन्ते, बागमती, धोबीखोला, नख्खु र विष्णुमती नदी किनारका बस्तीहरूलाई सतर्क बनाउनुपर्ने सुझाव दिए। गत वर्षजस्तो डुबानले जनधनको क्षति हुन सक्ने भन्दै कम्तीमा मानिसको ज्यान जोगाउन प्रयास गर्नुपर्ने उनको जोड छ। प्रशासनिक तयारी र प्रतिबन्धहरू भारी वर्षाको प्रक्षेपणसँगै विभिन्न जिल्लाहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० सम्म देशव्यापी वर्षाको पूर्वानुमान जारी गरेपछि निम्न कदम चालिएका छन् : काभ्रे : बीपी राजमार्ग (काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली खण्ड) मा असोज १६ रातिदेखि २१ (मंगलबार) सम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक। मकवानपुर : हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा असोज १७ देखि २० सम्म अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म तथा हेटौंडा–भैंसे–काठमाडौं सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी रोक्ने। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले यो सूचना जारी गरेका छन्। मनाङ : मनाङ–लमजुङ सडकमा बेलुका ६:३० देखि बिहान ७ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जारी गरेको सूचनामा ठूलो वर्षाले जोखिम बढ्ने भनिएको छ। मोरङ : केशलिया, सिंगिया र दरैया खोला आसपासका बस्तीहरूमा बाढी तथा प्रकोपबारे माइकिङमार्फत सचेतना अभियान चलाउने। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक परे स्थानान्तरणको तयारी गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, रात्रिकालीन लामो दूरीका बस सेवाहरू स्थगन गर्ने विचार गरिएको छ। सबै स्थानीय विपद् व्यवस्थापन समितिहरू सक्रिय रहनेछन् भने स्वयंसेवक, गैरसरकारी संस्था र निजी क्षेत्रलाई सहभागिताका लागि अनुरोध गरिएको छ। नेपाली सेनाको टोलीसहित हेलिकप्टर तयारी अवस्थामा छ। उच्च जोखिमयुक्त स्थानहरूमा सुरक्षा निकायलाई सचेत गराइएको छ भने ठूला अस्पतालहरूलाई आपत्कालीन सेवाका लागि तयार रहन निर्देशन दिइएको छ। विपद् व्यवस्थापन कमान्ड पोस्टमार्फत सम्पर्कका लागि नेपाल प्रहरीको टोलफ्री नम्बर १००, सशस्त्र प्रहरीको १११४ लगायतका प्रत्यक्ष सम्पर्क नम्बरहरू सार्वजनिक गरिएका छन्। सम्भावित उद्धारका लागि हेभी इक्विपमेन्ट डिभिजन, स्थानीय तह र निजी क्षेत्रलाई सक्रिय सहयोगका लागि आग्रह गरिएको छ। मौसमविद् लामिछानेले पहिरोको जोखिममा रहेका राजमार्गहरू, काभ्रे–दोलखा जस्ता सडकहरू र खोला किनारका बस्तीहरूमा सतर्कताको सूचना प्रवाह गर्नुपर्ने बताए। "कम्तीमा दुई दिन सरकारीस्तरदेखि आम नागरिकहरू पनि सजग रहनुपर्छ," उनले भने। विपद् प्रतिकार्य : सरकारको तयारी के छ ? यो भारी वर्षासँगै बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सरकारले विपद् पूर्वतयारीलाई प्राथमिकता दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि रात्रिकालीन आवतजावत नगर्न आग्रह गरेको छ। यसले यात्रुहरूको सुरक्षालाई सुनिश्चित गर्दै क्षतिको सम्भावना कम गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कुनै पनि दलमा म संलग्न छैन, जुम मिटिङमा पनि सहभागी हुन्न: कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा) सँग कुनै पनि सम्वाद वा संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि सहभागी नहुने उनको भनाइ छ। निर्वाचन आयोगमा दर्ताका लागि कागजात पेस गरेको उनेपाले नयाँ दल गठनबारे कुलमान घिसिङसहितका विज्ञहरूसँग जुम मिटिङ गर्ने भनेर प्रचार गर्दै आएको थियो। यस सम्बन्धमा समाचार सार्वजनिक भएपछि कुलमानले त्यसको खण्डन गरेका हुन्। समाचारमा आएको कुरामा सत्यता नभएको बताउँदै घिसिङले विभिन्न सञ्चार माध्यमसँग भने, "नयाँ दल भनिएकोसँग कुनै कुरा भएको छैन, यसअगाडि पनि छलफल भएको होइन। प्रचार गरिएजस्तो जुम मिटिङमा पनि म सहभागी हुन्नँ।" उनेपाको पृष्ठभूमि उनेपाको अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन्। यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को कार्यालय सदस्य थिए। गत साउन ३१ गते उनले विज्ञप्ति जारी गरी आजपा परित्याग गरेको घोषणा गर्दै 'उज्यालो नेपाल अभियान' गठन गरेका थिए। यस अभियानका गतिविधिमा कुलमान घिसिङ पनि सहभागी थिए, जसले गर्दा उनेपासँग कुलमानको सम्बन्धबारे चर्चा चलेको थियो।

आजदेखि चारदिनसम्म विभिन्न ठाउँमा घनघोर वर्षाको अनुमान, सतर्कता अप्नाउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो कारण जोखिमयुक्त स्थानमा बाढी, पहिरो तथा भू–क्षयजस्ता विपदजन्य घटना हुन सक्ने भएकाले सतर्कता तथा सावधानी अपनाउन अनुरोध गरेको छ। प्रशासन कार्यालयले अत्यन्त जरुरी नभए सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न तथा काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरूलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ। विपद्को समयमा तत्काल उद्धार, सहयोग तथा राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ। मनसुनी प्रणाली फेरि सक्रिय  जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीले अबका दिनमा नेपालमा पनि घनघोर वर्षा गराउने सम्भावना औंल्याएको छ। बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने विभागले जनाएको छ। हालको विश्लेषणअनुसार उक्त अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी तथा यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ। यसका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत तथा चुरे हुँदै बहने साना–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना पनि देखिएको छ। उच्च जोखिममा यी १७ जिल्ला उक्त अवधिमा बागमती प्रदेशका काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन ; कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा ; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, मोरङ र आसपासका जिल्ला हुँदै बहने साना–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले बताएको छ। विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। "नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ," महाशाखाले जनाएको छ।  महाशाखाले भदौ १७ देखि २० गतेसम्म रूपन्देहीदेखि सर्लाहीसम्मका ९ जिल्लालाई 'रेड अलर्ट' नै जारी गरेको छ। मनसुन ढिला बाहिरिने नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (बिहीबार) रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुनः सक्रिय भएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिने पनि केही समय ढिला हुने बताए। मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बन्दली देखिएको उनले जानकारी दिए। वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हुँदै जाने बताए। "त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ," उनले भने। यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो। असार ६ देखि भने देशभर फैलिएको थियो।

दसैँको टीका र जमरा लगाउने क्रम एकादशीमा पनि जारी

काठमाडौं । दसैँको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने प्रक्रिया कोजाग्रत पूर्णिमाका दिन अखिल बली पूर्ति नभएसम्म चलिरहन्छ । नेपालीहरूले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म बडादशैं पर्व भव्य रूपमा मनाउँछन् । नजिकका परिवारका सदस्य तथा मान्यजनहरूबाट दशमीका दिन टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तहरू पुग्न नसकेकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने प्रक्रिया विजयादशमीका दिन बिहान देवी विसर्जनपछि नै सुरु हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराईका अनुसार, कसैले विजयादशमीका दिनमात्र टीका लगाउने चलन अपनाए पनि कसैले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा पनि छ । यसलाई अन्यथा लिनु हुँदैन । उनले भने, ‘नेपाली समाजको परम्परा आफ्नै विशिष्टता र विशेषतायुक्त छ । ठाउँअनुसार आफ्नै खालका परम्पराहरू छन् । पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छ । पश्चिम नेपालका कैयौं ठाउँहरूमा दुर्गा विसर्जन गरेको एक दिनमात्र टीका ग्रहण गर्ने चलन बसेको छ । आ–आफ्नै परिवेशअनुसार चलेका चलनलाई अन्यथा लिने कुरा भएन ।’ यसैबीच, आज आश्विन शुक्ल एकादशीका अवसरमा पापाङ्कुशा एकादशी मनाइँदैछ । यस दिन व्रत बस्दा विगतमा जानी–नजानी भएका पापहरूमा अंकुश लाग्ने धार्मिक विश्वास छ ।

प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई

काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसर पारेर जेन-जी आन्दोलनका सहिद परिवारहरूसँग भेटघाट गरेकी छन्। उनीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि थिए। प्रधानमन्त्री कार्कीले बागलुङ घर भएका सहिद सौरन किशोर श्रेष्ठको परिवारलाई काठमाडौंको वनस्थली पुगेर भेटिन्। यसैगरी, नागार्जुन–३ मा सहिद कान्छी नगरकोटीको परिवार र कीर्तिपुरको मैत्रीनगरमा सहिद बुद्धिबहादुर तामाङको परिवारसँग पनि भेटघाट गरिन्। प्रधानमन्त्रीको सचिवालयले यो जानकारी दिएको छ। यो भेटघाटले आन्दोलनका सहिद परिवारप्रतिको सरकारको संवेदना र समर्थनलाई प्रतिबिम्बित गर्दछ। आन्दोलनको पृष्ठभूमि गत भदौ २३ र २४ गते जेन-जीको नेतृत्वमा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीसमेत ७६ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। आन्दोलनमा मारिएका युवाहरूलाई सरकारले सहिद घोषणा गरिसकेको छ। यसैबीच, घाइतेमध्ये ३८ जना अझै उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जेनजी युवाहरूले भने, 'हामी संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको पक्षमा छौँ'

काठमाडौं— जेन-जी आन्दोलनमा संलग्न विभिन्न समूहका युवाहरूले नयाँ राजनीतिक परिस्थितिप्रति आफ्नो धारणा सार्वजनिक गर्दै गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भदौ २३ गते माइतीघरमा प्रदर्शन आयोजना गर्न अनुमति लिएका पुरुषोत्तम यादव र उनको समूहले जारी गरेको विज्ञप्तिमा आन्दोलनपछि उत्पन्न परिस्थिति, तत्कालीन सरकारको अदूरदर्शिता तथा घुसपैठ तत्वहरूका कारण भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। "हामीले यो आन्दोलन महिनौंअघिदेखि तयारी गरी संयमित र संवैधानिक ढङ्गले सञ्चालनमा ल्याएका थियौं। त्यसैले यसमा भएको अराजकता र क्षतिको जिम्मेवारी हामीले होइन, राज्य र आन्दोलनमा स्वार्थवश घुसपैठ गर्ने तत्वहरूले लिनुपर्छ," विज्ञप्तिमा यादवले भनेका छन्। विज्ञप्तिमा थप भनिएको छ, "हाम्रो आन्दोलन शान्तिपूर्ण, उद्देश्यपरक र जनताको आवाज उठाउने माध्यम थियो, जसले भ्रष्टाचार र कुशासनविरुद्ध जनचेतनाको लहर सिर्जना गर्‍यो। हामी सदैव शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्छौं र त्यही बाटोमा हिँडिरहेका छौं।" आन्दोलनको सफलतापछि यसको संरक्षण र विस्तार गर्ने जिम्मेवारी केवल जेन-जी पुस्तामा मात्र नभई सम्पूर्ण पुस्तामा आएको उल्लेख गर्दै युवाहरूले देशभरका युवाहरूलाई एकीकृत गर्ने, जनताको समस्यालाई सरोकारवालासम्म पुर्‍याउने र आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा असोज २३ (अक्टोबर ९) गते जेन-जी आन्दोलनको अर्को कार्यक्रम हुने हल्ला फैलिएको भए पनि त्यस दिन कुनै कार्यक्रम नगरेको यादवले स्पष्ट पारेका छन्। "हाम्रो आन्दोलन कुनै दल, संस्था वा स्वार्थका लागि होइन। यो जनताका लागि, जनताको आवाजका लागि हो," उनले थपेका छन्। भ्रष्टाचार र कुशासनविरुद्धको संघर्ष निरन्तर जारी रहने पनि विज्ञप्तिमा उल्लेख छ। यसैबीच, इन्डिजिनियस जेन-जी कलेक्टिभ, जेन-जी मुभमेन्ट अलायन्स र हाउ टु देश विकासजस्ता समूहहरूले पनि अवधारणापत्रसहित विज्ञप्ति जारी गरेका छन्। उनीहरूले तेस्रो पुस्ताका नेताहरूलाई आफ्ना दलभित्र हस्तक्षेप गरी रूपान्तरणमा भूमिका खेल्न आग्रह गरेका छन्। युवाहरूको आन्दोलनले परिवर्तनको माग गरेको र त्यसलाई प्रत्येक राजनीतिक दलले आत्मसात् गरी रूपान्तरणको लहर ल्याउनुपर्ने उनीहरूको भनाइ छ। उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता तथा पूर्ण समानुपातिक, समावेशी र अर्थपूर्ण सहभागिताको अवधारणालाई स्वीकार गरेको बताएका छन्। "हामीले अहिलेको व्यवस्थाभन्दा पनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएका हौं। हाम्रो शंका राजनीतिक नेतृत्व, राजनीतिक इच्छाशक्ति, दलीय नैतिकता, कार्यप्रणाली र व्याप्त दलियकरण तथा दलतन्त्रप्रति हो। हामी वर्तमान राजनीतिकर्मीलाई खबरदारी पनि गर्न चाहन्छौं," विज्ञप्तिमा भनिएको छ। पुराना राजनीतिक दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटिएको धन फिर्ताको पहल गर्न आह्वान गर्दै उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतलाई पक्राउ गरी छानबिन अघि बढाउन माग गरेका छन्।    

बडादसैँको उत्साह : टीका र आशीर्वाद ग्रहण गर्दै दसैँको उल्लास साटासाट

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन आज मनाइँदै छ। आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गर्दै दशैंको उल्लास साटासाट भइरहेको छ। घटस्थापनाका दिन दशैं घर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रूपमा टीका–जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ। दशैं आफैं शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत हेर्नु पर्ने छैन। तर, राज्य सञ्चालकहरूका लागि बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिए पनि दिनभर टीक लगाउन मिल्छ ।  ‘दशैंको बिहानदेखि दिनभर र अपराह्नसम्म पूरै साइतको दिन हो। अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि सर्वसाधारणलाई टीका थाप्न साइत कुर्नु पर्दैन,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई भन्छन्, ‘तर राजकाज चलाउनेहरूले उत्तम साइतमै टीका लगाउँदा राम्रो हुने शास्त्रीय मान्यता छ।’ दशैंको बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन सकिन्छ। ‘यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा तोकिएको थियो। तर, काम विशेषले चाँडै घर निस्कनुपरेमा झुल्को घाममै विसर्जन गरी टीका लगाउन सकिन्छ,’ प्रा.डा. भट्टराईले थपे। उनका अनुसार, टीका लगाउनुअघि देवी विसर्जन अनिवार्य छ। दशैंका दिन नित्यपूजा गरी आरती र पुष्पाञ्जलि गरेर दुर्गा विसर्जन गरिन्छ। विसर्जनपछि कलश उठाएर त्यसको जल घरका विभिन्न ठाउँमा छर्केर शान्ति, प्रगति र उन्नतिका कामना गरिन्छ। धार्मिक मान्यताअनुसार, यो जल अत्यन्त पवित्र हुन्छ। कलशको जलले तयारी गरी इष्टदेवता र कुलदेवतालाई सम्झेर जमरा काटिन्छ। त्यसपछि सुरुमा कुलदेवता र पितृदेवतालाई टीका–जमरा चढाइन्छ। कतिपय ठाउँमा घरको मूल ढोका (दैलो) माथि तथा चारै दिशामा टीका–जमरा चढाउने चलन छ। यी काम सम्पन्न भएपछि मात्र मान्यजनबाट टीका लगाइन्छ। टीका लगाउँदा गुरुपुरोहित स्थापना भएको भए उनीबाट, नभए मान्यजनबाट लगाउने गरिन्छ। त्यसपछि अन्य आफन्तहरूबाट। पञ्चाङ्ग समितिका अनुसार, टीका लगाइदिने  व्यक्ति पश्चिम र लगाउने व्यक्ति पूर्व फर्किनुपर्छ।

दसैँको टिका आज : टिकाको साइत बिहान ११:५३ मा, कता फर्किएर टिका लगाउने ?

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन आज मनाइँदै छ। आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गर्दै दशैंको उल्लास साटासाट भइरहेको छ। घटस्थापनाका दिन दशैं घर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रूपमा टीका–जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ। दशैं आफैं शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत हेर्नु पर्ने छैन। तर, राज्य सञ्चालकहरूका लागि बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ। ‘दशैंको बिहानदेखि दिनभर र अपराह्नसम्म पूरै साइतको दिन हो। अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि सर्वसाधारणलाई टीका थाप्न साइत कुर्नु पर्दैन,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई भन्छन्, ‘तर राजकाज चलाउनेहरूले उत्तम साइतमै टीका लगाउँदा राम्रो हुने शास्त्रीय मान्यता छ।’ दशैंको बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन सकिन्छ। ‘यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ। तर, काम विशेषले चाँडै घर निस्कनुपरेमा झुल्को घाममै विसर्जन गरी टीका लगाउन सकिन्छ,’ प्रा.डा. भट्टराईले थपे। उनका अनुसार, टीका लगाउनुअघि देवी विसर्जन अनिवार्य छ। दशैंका दिन नित्यपूजा गरी आरती र पुष्पाञ्जलि गरेर दुर्गा विसर्जन गरिन्छ। विसर्जनपछि कलश उठाएर त्यसको जल घरका विभिन्न ठाउँमा छर्केर शान्ति, प्रगति र उन्नतिका कामना गरिन्छ। धार्मिक मान्यताअनुसार, यो जल अत्यन्त पवित्र हुन्छ। कलशको जलले तयारी गरी इष्टदेवता र कुलदेवतालाई सम्झेर जमरा काटिन्छ। त्यसपछि सुरुमा कुलदेवता र पितृदेवतालाई टीका–जमरा चढाइन्छ। कतिपय ठाउँमा घरको मूल ढोका (दैलो) माथि तथा चारै दिशामा टीका–जमरा चढाउने चलन छ। यी काम सम्पन्न भएपछि मात्र मान्यजनबाट टीका लगाइन्छ। टीका लगाउँदा गुरुपुरोहित स्थापना भएको भए उनीबाट, नभए मान्यजनबाट लगाउने गरिन्छ। त्यसपछि अन्य आफन्तहरूबाट। पञ्चाङ्ग समितिका अनुसार, टीका लगाइदिने  व्यक्ति पश्चिम र लगाउने व्यक्ति पूर्व फर्किनुपर्छ।

देशभरका विभिन्न ठाउँमा वर्षा : यी हुन् बाढी तथा पहिरोको जोखिममा रहेका जिल्ला

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले मनसुन पुनः सक्रिय हुन थालेको भन्दै असोज १८ देखि २० गतेसम्म बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि सबैलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ। विभागका अनुसार, असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वर्षा सक्रिय हुने सम्भावना छ। बंगालको खाडीमा विकसित न्यूनचापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिन हुँदै मध्य भारततर्फ सर्ने क्रममा यसको प्रभावले नेपालमा व्यापक वर्षा गराउने अनुमान गरिएको छ। यस वर्षाले बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन जिल्लामा बाढी, पहिरो तथा डुबानको उच्च जोखिम निम्त्याउने जनाइएको छ। यसैगरी, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ जिल्ला तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही र रौतहट जिल्लाहरू पनि जोखिमपूर्ण छन्। यी जिल्लाहरूमा नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले विभागले विशेष बुलेटिन जारी गर्दै सतर्क रहन आग्रह गरेको छ। हालको विश्लेषणअनुसार, नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढेर खतरा तह नजिक पुग्न सक्छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत तथा चुरे क्षेत्रबाट बहने स-साना नदीनालाहरूमा पनि आकस्मिक बाढी आउन सक्ने खतरा छ। यस वर्षाका कारण बाढी, डुबान, पहिरो, भूक्षयजस्ता प्राकृतिक विपत्तिसँगै सडक तथा हवाई यातायातमा अवरोध पुग्न सक्ने भएकाले सम्भावित क्षतिलाई न्यूनीकरण गर्न विभागले जारी गर्ने अद्यावधिक पूर्वानुमान तथा सूचनाहरूमा ध्यान दिन र आवश्यक सावधानी अपनाउन सबैलाई निर्देशन दिएको छ। मौसमविद्हरूका अनुसार, विभिन्न मौसमी मोडलहरूको विश्लेषणले दशैंलगत्तै गत वर्षजस्तो भिषण वर्षा हुने सम्भावना देखिएको छ। त्यसैले, स्थानीय तह, सुरक्षा निकाय र जनतालाई तयारी अवस्थामा रहन विभागले थप जोड दिएको छ।  

पूर्वी नेपालबाट वर्षा सुरु, देशका धेरै ठाउँमा भारी वर्षा हुने अनुमान

काठमाडौं। दसैंको बीचमा सक्रिय मनसुनका कारण पूर्वी नेपालबाट वर्षा सुरु भएको छ। अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहँदा महोत्तरीको गौशालामा मुसलधारे वर्षा मापन भएको छ। यसले दसैं लगत्तै देशका धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा हुने जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ६ घन्टामा गौशालामा १४१ मिलिमिटर वर्षा भएको जानकारी दिएको छ। सामान्यतया २४ घन्टामा १०० देखि २०० मिलिमिटर वर्षालाई भारी वर्षा मानिन्छ, तर ६ घन्टामै परेको यो पानी मुसलधारे नै हो। यसले स्थानीय बाढी र सडक अवरोधको खतरा निम्त्याएको छ। छोटो अवधिको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति सबै प्रदेशमा सामान्यतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ। बिहीबार दिउँसोसम्म सबै प्रदेशमा सामान्यतया बदलीको अवस्था कायम रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा पनि यस्तो वर्षा हुन सक्छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम छ। मनसुन पुनः सक्रिय : दसैंभर वर्षाको सम्भावना मनसुन बाहिरिने बेलामा पनि वर्षा गराउने प्रणाली पुनः सक्रिय भएको छ। महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि बंगालको खाडलमा विकसित न्यूनचापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्ने क्रममा छ। यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गराउने सम्भावना देखिएको छ। यस नयाँ मनसुनी प्रणालीको प्रभावले असोज १७ (एकादशी) देखि देशका अधिकांश भागमा वर्षा हुने अनुमान छ। विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा असर पर्ने छ। महाशाखाले यस वर्ष दसैं अवधिभर मनसुनी प्रभाव कायम रहने जनाएको छ। दसैं लगत्तैको विस्तृत पूर्वानुमान असोज १७ (एकादशी) : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि यस्तो वर्षा। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम। असोज १८ (द्वादशी) : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा। बाँकी प्रदेशका केही स्थानहरूमा पनि वर्षा। यी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना। असोज १९ (त्रयोदशी) : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको जोखिम। महाशाखाले असोज १९ मा ९ जिल्लामा रेड अलर्ट जारी गरेको छ। रूपन्देही, नवलपरासी (सुस्ता पूर्व र पश्चिम), चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाहरूमा अति भारी वर्षा प्रक्षेपण गरिएको छ। यस दिन नारायणगढ–बुटवल, नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आह्वान गरिएको छ। बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिम रहेको छ। मौसम विभागले यात्रु, किसान र स्थानीयलाई सतर्क रहन र अद्यावधिक सूचना लिन आग्रह गरेको छ। थप विवरणका लागि महाशाखाको वेबसाइट वा हटलाइन सम्पर्क गर्न सकिन्छ।