जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई कारबाही हुन्छ: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई कारबाही गरिने प्रतिबद्धता जनाएकी छन् ।
बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाएकी हुन । उनले जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताइन् ।
निर्वाचन भयरहित हुने, युवाका माग संवैधानिक प्रक्रियाबाट
कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताएकी हुन् ।
उनले विदेशमा रहेका नेपालीहरूलाई समेत मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । योग्य र सक्षम जनप्रतिनिधि छनोट गर्न सबै नागरिकलाई आग्रह गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध हुन आह्वान गरिन् ।
हालै भएको युवा पुस्ताको आन्दोलनलाई 'अभूतपूर्व' प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री कार्कीले दोषीहरूलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका कतिपय विषयहरू तत्काल सम्बोधन गर्न नसकिने प्रकृतिका भएकाले आगामी निर्वाचनपश्चात् संवैधानिक प्रक्रियाबाट समाधान खोजिने पनि उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले क्षति भएका भवनहरूको पुनर्निर्माण कार्यमा सबै जुटिसकेको जानकारी दिँदै सुरक्षा निकायलाई पूर्ववत् अवस्थामा फर्काउने कार्य सुरु भइसकेको पनि बताइन् । आफ्नो ६ महिनाको कार्यकालमा इमानदार प्रयासका साथ धेरै काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारी सेवालाई झन्झटमुक्त बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने बताएकी छन् ।
सेवाग्राहीको काम सहज बनाउन उजुरीको व्यवस्था गर्ने र तीनै तहमा हटलाइन सेवा सञ्चालन गरिने जानकारी दिइन् । आर्थिक क्रियाकलापलाई सहज बनाउन एकीकृत कार्ययोजना ल्याइएको पनि प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा उल्लेख गरिन् ।
कार्कीले सरकारले फागुन २१ गते हुने निर्वाचनको लागि प्रारम्भिक कार्य सुरु गरिसककेको बताएकी छन् । यसका लागि निर्वाचनसम्बन्धी कानूनमा अध्यादेशमार्फत संशोधन गर्दै मतदाता नामावली अद्यावधि गरेका, निर्वाचन आयोगसँग सुरक्षा, निर्वाचन सामाग्री तथा सुरक्षाबारे छलफल गरेको र विदेशमा रहेका नागरिकसमेत निर्वाचनमा सहभागी हुन पाउने विषयमा समेत परामर्श गरिएको उनले बताइन् ।
भ्रष्टाचार न्यूनीकरण लागि सरकार दृढ
कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट पारेकी छिन् ।
प्रधानमन्त्री कार्कीले सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध गरिएको जानकारी दिइन ।
प्रधानमन्त्री कार्कीले संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसद्बाट गर्न आग्रह गर्दै जेनजी समूहको आन्दोलनको मर्म र भावनाबमोजिम सरकार सञ्चालन गरिरहेको सरकारलाई सहयोग गन सबैसँग आग्रह गरिन । उनले चालु आर्थिक वर्षअन्तर्गतका स्रोत सुनिश्चित नभएका र टुक्रे आयोजनाका नाममा विनियोजित बजेट खारेज गरिएको जानकारी गराउँदै क्षतिग्रस्त भौतिक संरचना निर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गरिएको बताइन ।
प्रधानमन्त्री कार्कीले परिवर्तित स्थितिमा मनोबन गिराउने खालका काम नगर्न र रुपान्तरित भएर सेवाप्रवाह गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीसँग अपिल गरिन ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, अध्यक्ष प्रचण्डको प्रस्तावमा छलफल हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बिहान ११ बजे प्रज्ञा भवन, कमलादीमा बस्दैछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको पुनर्संरचनाका विषय, जेनजी विद्रोहपछिको राजनीतिक अवस्था र भावि रणनीति समेटेर राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । अध्यक्षले प्रस्ताव प्रस्तुत गरेपछि समूहगत छलफल हुनेछ । विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण र जनपरिचालनलगायतका विषयमा पनि पार्टीको केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । अध्यक्ष प्रचण्डले पार्टीभित्र युवाहरुलाई नेतृत्वमा ल्याउनका लागि विशेष प्रस्ताव गर्नुहुने स्रोत भनाइ छ । पार्टीको पुनर्संरचना गरेर निर्वाचनमा जानका लागि विशेष महाधिवेशन गर्नुपर्ने माओवादीको तयारी छ । केन्द्रीय समिति बैठकका एजेण्डा: १. श्रद्धाञ्जली २. अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रस्ताव प्रस्तुति ३. प्रस्तावमाथि छलफल ४. विशेष महाधिवेशन सम्बन्धमा ५. फागुन २१ गतेको आम निर्वाचन सम्बन्धमा ६. पार्टी एकता तथा ध्रुवीकरण ७. राहत तथा पुनर्निर्माण ८. जनपरिचालन र जनसम्बन्ध ९. विविध
गाेलीकाण्डका दोषीमाथि कारबाही गर्न बालेनकाे प्रधानमन्त्री कार्कीसँग माग
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुधबार बालुवाटारस्थित सरकारी निवास पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । संघीय सरकारसँग प्रायः तिक्त सम्बन्ध देखाउँदै आएका शाहका लागि यो भेट विशेष बनेकाे छ । भेटमा उनका सहकर्मी कुमार बेन र सुनील लम्साल पनि सहभागी थिए । शाहले प्रधानमन्त्रीसमक्ष तीन मुख्य माग राखेका छन् । पहिलाे जेनजी आन्दोलनको माग सम्बोधन छ । जसमा सुशासनको पक्षमा उठेको जेनजी आन्दोलनका मागलाई ढिलाइ नगरी कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् । प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको साथ माग्दै सकारात्मक प्रतिक्रिया जनाइन् । यसैगरी दाेस्राेमा भदौ २३ गोलीकाण्डका दोषीमाथि कारबाहीकाे माग छ । तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकसहित घटनामा संलग्न र आदेश दिनेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग उनले दोहोर्याएका छन् । कारबाही नभएसम्म आन्दोलन निरन्तर रहने चेतावनी पनि दिएका छन् । मन्त्रिपरिषद्मा युवा पुस्ताको सहभागिता तेस्राे छ । जसमा वर्तमान क्याबिनेट योग्य देखिए पनि नयाँ पुस्ताको प्रतिनिधित्व नदेखिएको भन्दै शाहले बाँकी पदमा युवालाई छिटो नियुक्त गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री कार्कीले संविधान र कानुनअनुसार सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सबै मागमा सकारात्मक संकेत दिएकी छन् । भेटमा पारिवारिक र व्यक्तिगत विषयमा पनि कुराकानी भएको जनाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यो जानकारी उनको निकट स्रोतले पुष्टि गरेको छ। उक्त सम्बोधन कार्यक्रमको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ। गत २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। उनको नेतृत्वमा रहेको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा निर्वाचनको मिति घोषणा गरेको छ।
यी हुन् नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकका एजेण्डा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय भएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज बसेको स्थायी समिति बैठकमा एजेण्डा प्रस्तुत गर्नु भएको थियो । भोलिको केन्द्रीय समिति बैठकमा जेनजी आन्दोलनपछि विकसित भएको राजनीतिक घटनाक्रम समेटेर तयार गरेको राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने तयारी छ । त्यस्तै विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण र जनपरिचालनलगायतका एजेण्डा तय भएको छ । यी हुन् केन्द्रीय समिति बैठकका एजेण्डा १. श्रद्धाञ्जली २. अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रस्ताव प्रस्तुत ३. प्रस्तावमाथि छलफल ४. विशेष महाधिवेशन सम्बन्धमा 5. ५. फागुन २१ गतेको आम निर्वाचन सम्बन्धि ६. पार्टी एकता तथा ध्रुवीकरण सम्बन्धमा ७. राहत तथा पुनर्निर्माण ८. जनपरिचालन तथा जनसम्बन्धबारे ९. विविध
माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो, केन्द्रीय समिति बैठकका एजेण्डा तय
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी बिद्रोहपछिको राजनीतिक अवस्था, पार्टीको आगमी रणनीति, फागुनमा हुने निर्वाचन र पार्टी पुनर्संरचनालगायतका विषय बैठकमा राख्नु भएको थियो । भोलिको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने, केन्द्रीय समितिसहित सबै कमिटी विघटन गर्ने र जेनजीको भावनाअनुसार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेलगायतका प्रस्ताव राख्नु हुनेछ । आजको बैठकले भोलि बस्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । यसअघि असोज ५ गतेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटनको प्रस्ताव राख्नु भएको थियो ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार राष्ट्रपति भवन, शीतल निवासमा भएको यो भेटमा समसामयिक राजनीतिक अवस्था, फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, र देशको सुरक्षा अवस्थाबारे छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ। राष्ट्रपतिसँगको भेटअघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सीआईबी प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्। यस्तै, मङ्गलवार साँझ उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि छलफल गरेकी थिइन्।
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी बिद्रोहपछिको राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति र पार्टी पुनर्संरचनाका विषयमा धारणा राख्नुहुनेछ । बैठकमा अध्यक्ष प्रचण्डले यसअघि पार्टीको पदाधिकारी बैठकमा प्रस्ताव गर्नु भएको पार्टीको पुनर्संरचनालगायतका विषयमा गहन छलफल हुने नेताहरुले बताएका छ्न । अध्यक्ष प्रचण्डले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने, केन्द्रीय समितिसहित सबै कमिटी विघटन गर्ने र जेनजीको भावनाअनुसार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेलगायतका प्रस्ताव पदाधिकारी बैठकमा गर्नु भएको थियो । आजको बैठकले भोलि बस्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । यसअघि असोज ५ गतेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटनको प्रस्ताव राख्नु भएको थियो ।
रास्वपाको वेबसाइट ह्याक, रविलाई लक्षित सन्देश: "न माफी दिन्छौँ, न बिर्सन्छौँ"
काठमाडौँ - ‘जेनजी राइजिङ नेपाल’ नामक ह्याकर समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ह्याक गरेको छ। रवि लामिछानेको नेतृत्वमा रहेको उक्त पार्टीको वेबसाइटमा ह्याकरहरूले अनधिकृत पहुँच बनाएर सन्देश राखेका छन्। ह्याकर समूहले वेबसाइटको ‘प्रेस विज्ञप्ति’ खण्डमा एसक्यूएल इन्जेक्सन आक्रमणमार्फत आफ्नो सन्देश राखेको हो। सन्देशमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेलाई लक्षित गर्दै लेखिएको छ: "न क्षमा दिन्छौँ, न बिर्सन्छौँ।" ह्याकरहरूले गत भदौ २३ र २४ गतेको ‘जेन-जी विद्रोह’ को क्रममा नख्खु जेलमा थुनिएका लामिछानेलाई रास्वपाले छुटाएको घटनाको बदलास्वरूप यो आक्रमण गरेको दाबी गरेका छन्।
युएईमा अब नेपाली कामदार जान रोक, बंगलादेश र पाकिस्तानीलाई जस्तै युएईको 'नेपाल नीति'
दुबई । नेपाली नागरिकलाई भिजिट भिसा रोक लगाएको संयुक्त अरब इमिरेट्स युएईले नेपाली श्रमिकलाई अब भिसा दिन रोक लगाएको छ । युएईको यो कदमले हजारौँ नेपाली प्रभावित हुनेछन् । भिसा प्रोसेस सुरु गर्न लागेका हजारौँ नेपाली युएईको यो निर्णयबाट प्रभावितभएका छन् । सोमबारदेखि भिजिट भिसा दिन रोक लगाएको युएईले मंगलबारदेखि नेपाली श्रमिकलाई भिसा दिन अस्वीकार गरेको छ । बंगलादेशमा आन्दोलन भएपछि अहिले पूर्णरुपमा बंगलादेशी श्रमिकलाई युएईले प्रतिबन्ध लगाएको छ । पाकिस्तानीबाट पनि श्रमिक ल्याउन रोक लगाइएको छ । युएईमा रहेका नेपालीले पनि अब पहिले जुन कम्पनीमा गएको हो, अब त्यहीँ कम्पनीबाट मात्र भिसा आवेदन दिन पाउने छन् । पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलन, त्यसपछिको अस्थिरता र युएईका विभिन्न अपराधिक क्रियाकलापमा नेपालीको संलग्नताका कारण युएईले नेपालीलाई भिसा दिन अस्वीकार गरेको बताइएको छ । युएईका अध्यागमन अधिकारीहरूका अनुसार, नेपालबाट भिजिट भिसामा आएका व्यक्तिहरूले सम्भावित अपराध गर्न सक्ने भयले यो निर्णय लिइएको हो। आन्दोलनपछि नेपालका विभिन्न कारागारबाट हजारौं कैदीहरू फरार भएका थिए। यी फरार कैदीहरू भिजिट तथा कामदार भिसाको दुरुपयोग गरी युएई प्रवेश गर्न सक्ने आशंकामा भिसा प्रक्रिया स्थगित गरिएको छ। युएईका लागि नेपाली दूतावासका एक अधिकारीले भने, 'हामीलाई औपचारिक जानकारी दिइएको छैन, तर अनौपचारिक रूपमा थाहा भएअनुसार नेपालको पछिल्लो आन्दोलन नै मुख्य कारण हो। आन्दोलनमा कैदीहरू भागेको र उनीहरूले युएईमा अपराध गर्न सक्ने डरले भिसा अस्वीकार गरिएको पाइन्छ।' यद्यपि, युएईले यसबारे औपचारिक सूचना वा घोषणा गरेको छैन। नेपाली दूतावासले यस विषयमा थप जानकारी प्राप्त गर्न प्रयास गरिरहेको छ। हालैका घटनाक्रमहरूमा भदौँ २३ र २४ गतेको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरूले नेपालको स्थिति अस्थिर बनेको थियो, जसको प्रभाव वैदेशिक रोजगारी र पर्यटनमा परेको छ। यस निर्णयले नेपाली नागरिकहरूलाई युएई यात्रा गर्न कठिनाइ भएको छ । नेपाली दूतावासले यसलाई सम्बोधन गर्न कूटनीतिक प्रयास गरिरहेको स्रोतको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि देशैभरका कारागारबाट कैदी बन्दी फरार भएका थिए । उनीहरुमध्ये केही सम्पर्कमा आएपनि अझै केही फरार छन् । युएईको पछिल्लो निर्णयले नेपाली क्रिकेट टोलीको युएई भिजिट पनि तीन दिन ढिला भएको थियो । पहिले भिसा दिन अस्वीकार गरेको युएईले कूटनीतिक पहलपछि मात्र नेपाली खेलाडीको भिसा स्वीकृत दिएको थियो ।
माओवादी केन्द्रको स्थायी समिति बैठक आज, यी हुन् मुख्य एजेन्डा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ। बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि पार्टीको पदाधिकारी बैठकमा प्रस्ताव गर्नु भएको पार्टीको पुनर्संरचनालगायतका विषयमा छलफल हुनेछ । अध्यक्ष प्रचण्डले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने, केन्द्रीय समितिसहित सबै कमिटी विघटन गर्ने र जेनजीको भावनाअनुसार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेलगायतका प्रस्ताव पदाधिकारी बैठकमा गर्नु भएको थियो । आजको बैठकले भोलि बस्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयो । यसअघि असोज ५ गतेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटनको प्रस्ताव राख्नु भएको थियो ।
दसैँ–तिहारमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन अनिश्चित
काठमाडौं । सरकारले दसैँ–तिहार लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी गरे पनि हालसम्म टुङ्गो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले असोज ४ गते मन्त्रालयमा बसेको बैठकमा चाडपर्वका लागि सुरुङमार्ग खोल्ने निर्देशन दिएका थिए । तर आवश्यक तयारी नपुगेकाले निर्माण कम्पनी र परामर्शदाता कम्पनीले तत्काल सञ्चालन असुरक्षित हुने भन्दै स्वीकृति नदिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव ई. केशवकुमार शर्माका अनुसार परीक्षण र सुरक्षा पूर्वतयारी अधुरो हुँदा सुरुङमा सवारी चलाउँदा दुर्घटना, उद्धार कठिनाइ तथा आक्सिजन अभावजस्ता जोखिम रहन्छन् । सम्झौता अनुसार निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण नगरेसम्म सुरुङ सञ्चालनको अधिकार निर्माण कम्पनीकै रहने भएकाले उनीहरूको स्वीकृतिबिना संचालन गर्न नपाइने आयोजनाका प्रमुख ई. सञ्जय पन्थीले स्पष्ट पारे । पन्थीका अनुसार सुरुङमार्गको भौतिक प्रगति करिब ९५ प्रतिशत पुगेको छ । सुपर स्ट्रक्चरको काम सकिएको छ भने परीक्षण र फिनिसिङ बाँकी छ । निर्माण कम्पनीले पुस मसान्तसम्म काम सकाएर सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । त्यसपछि मात्र ठेक्कामार्फत नियमित सञ्चालन सुरु हुने र सञ्चालनको सम्पूर्ण जिम्मेवारी तोकिएको कम्पनीको हुने उनले बताए । गत वर्ष असोजमा पहिरोका कारण नागढुङ्गा–नौबिसे सडक अवरुद्ध हुँदा उद्धारका क्रममा सुरुङमार्ग केही समय प्रयोग गरिएको थियो । तर हालको अवस्थामा नियमित सञ्चालनका लागि थप समय लाग्ने निर्माण कम्पनीको भनाइ छ ।
मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन आज दिनभर लाग्ने वैकल्पिक सडक प्रयोग गर्न अनुराेध
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । तुइन खोला पुल नजिकै मंगलबार दिउँसो ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ । पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले वैकल्पिक सडक प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ । मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ । साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ। मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ । यस सम्बन्धमा आवश्यक सूचना तथा जानकारीको लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाल (मो. ९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (मो. ९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (मो. ९८५५०९२२१८) लाई सम्पर्क गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।
एक हप्तामा दुई लाख ३२ हजारले उपत्यका छोडे
काठमाडौँ । दसैँका लागि पछिल्लो ६ दिनमा दुई लाख ३२ हजार ३३८ भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरुका अनुसार मङ्गलबार मात्रै ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । उनका अनुसार गएको भदौ ३१ गते ३४ हजार ५५६, असोज १ गते ३६ हजार एक सय, असोज २ गते ४० हजार ५५५, असोज ३ गते ३४ हजार ८७९ र असोज ४ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । यसैगरी, काठमाडौँ उपत्यका भित्रिनेको सङ्ख्या गएको भदौ ३१ गते ३० हजार ५७४, असोज १ गते ३० हजार ४२२, असोज २ गते ४० हजार ९४, असोज ३ गते ३४ हजार ८७९, असोज ४ गते २८ हजार ८९६ र असोज ६ गते २८ हजार ८९६ रहेको छ । डीएसपी सिंहका अनुसार यो वर्ष बाटो राम्रो नभएका कारण उपत्यकाबाट बाहिरिनेको सङ्ख्या भने विगतका वर्षभन्दा कम रहेको छ ।
तस्बिरमा हेर्नुस् शिक्षामन्त्री महावीर पुनको मन्त्रालयको बास
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाएका छन्। केशरमहलस्थित मन्त्रालयको अस्थायी भवनमा उनको कार्यकक्षसँगै जोडिएको कोठालाई सुत्ने र खाने व्यवस्थासहित तयार गरिएको छ। सहसचिव अनिता निरौलाका अनुसार मन्त्री पुन मंगलबार बेलुकादेखि मन्त्रालयमै बस्नेछन्। सुरक्षाकर्मीका लागि पनि मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएको छ। सोमबार पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने निर्णय लिएका हुन्। उनले भने, "काममा लागेपछि २४ घण्टा मन्त्रालयमै बसेर काम गर्छु। आविष्कार केन्द्रमा बस्दा र यहाँ बस्दा फरक पर्दैन। समय छोटो छ, आनन्दले काम गर्ने समय छैन।" उनले उद्घाटन र सम्मेलनमा समय नबिताउने बताउँदै राम्रा सुझाव दिन सबैलाई आग्रह गरे। मन्त्रीको कोठामा स्वप्न बाटिकाको मनोरम दृश्य देखिन्छ। कोठामा प्रेसर कुकर, कराही, डेक्ची, प्लेट, गिलास, ग्यास चुल्हो, सिलिन्डर, डाइनिङ टेबल, पलङ, बेडसिट, कार्पेट, पर्दा, डोर म्याटलगायत सामान व्यवस्थापन गरिएको छ। सामान साँझ ६ बजेपछि ढुवानी भएको थियो। कर्मचारीले कोठाको भेन्टिलेशनमा ध्यान दिनुपर्ने बताएका छन्, किनकि झ्याल खोल्दा लामखुट्टे र बन्द गर्दा अक्सिजनको समस्या हुन सक्छ। जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय भवन जलेपछि केशरमहलबाट सेवा प्रवाह भइरहेको छ। सिंहदरबारमा मन्त्रालय सरेपछि पनि मन्त्री पुन त्यहीँ बस्ने योजनामा छन्।
मुग्लिन-नारायणगढ सडकखण्ड अनिश्चितकालका लागि बन्द
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै मंगलबार साँझ ५ बजे फेरि ठूलो पहिरो खसेको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भएको छ र कहिले खुल्छ भन्ने यकिन छैन। कार्यालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यसअघि मंगलबार दिउँसो १ बजे दुवैतर्फ अवरुद्ध सडक केहीबेर सञ्चालनमा आएको थियो। तर, पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। गत शुक्रबार साँझ पनि सोही स्थानमा पहिरो खसेको थियो, जसले सवारी आवागमन दुवैतर्फ बन्द भएको थियो। करिब ४५ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको थियो। तर, माथिबाट निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक सहज हुन सकेको छैन। दसैँका लागि घर फर्कने यात्रुहरू अलपत्र परेका छन्।

