कारागार फर्किए एमाले नेता टोपबहादुर रायमाझी

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका नेकपा एमालेका नेता तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ कारागार फर्किएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझी आफैं कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले बताए।

चापागाईंका अनुसार, सोही प्रकरणमा थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे भने अझै फर्किएका छैनन्। उनले केही व्यक्तिलाई खोज्ने कार्य भइरहेको र कतिपयले आफैं फर्किने जानकारी दिएको बताए।

यसैगरी, सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि कारागार फर्किएको चापागाईंले जानकारी दिए।

पार्टी पुनर्संरचनाका लागि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते आव्हान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्संरचनाका लागि असोज ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव बैठकमा लैजाने निर्णय भएको छ। आइतबार बसेको पदाधिकारी बैठकमा यो प्रस्ताव पारित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार असोज ८ गते स्थायी समिति र ९ गते केन्द्रीय समिति बैठक बस्नेछ। पेरिसडाँडामा बिहान २ बजेदेखि बसेको पदाधिकारी बैठकमा प्रचण्डले समसामयिक विषयमा विस्तृत धारणा राखेका थिए। नेतृत्व चयन र पार्टीको भावी रणनीतिबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ।

पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विशेष महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गर्नु भएको एक पदाधिकारीले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  पार्टीको केन्द्रीय समितिमा युवालाई नेतृत्वमा ल्याउनेगरी सबै कमिटीको अधिवेशन हुने र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेगरी प्रचण्डले बैठकमा प्रस्ताव राख्नु भएको उनले जानकारी दिए ।  प्रचण्डले पार्टीलाई तत्काल पुनर्संंरचना गर्नका लागि तलसम्मका सबै तहको अधिवेशनका लागि आजैदेखि खट्नका लागि पनि नेतृत्वलाई निर्देश गर्नुभयो ।  बैठकमा समसामयिक विषयमा बोल्दै प्रचण्डले अहिलेको परिवर्तनपछिको संक्रमण अन्त्यका लागि चुनावमा भाग लिएर जानुपर्ने बताउनु भयो । उहाँले चुनाव नै अहिलेको निकास भएकाले आजैदेखि सबै तहका कमिटिहरुलाई चुनाव केन्द्रित कार्यक्रम गर्ने प्रस्ताव गर्नु भएको छ ।  नेपाली काँग्रेस र नेकपा एमाले जस्तै माओवादी पनि भएको आरोपको खण्डन गर्दै प्रचण्डले बैठकमा भन्नुभयो, 'काँग्रेस र एमाले जस्तो हाम्रो  पार्टी हुनै सक्दैन । हामीले अहिलेसम्म पनि कुनै पनि प्रकारको बहुमत पाएर अर्थात एकल सरकारको नेतृत्व पनि गरेका छैँनौ । हामीले सुशासन दिँदा सरकार ढलाइएको हो । हामीले पहिले नै प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको राख्दा नमानिएको हो । आज त्यहीँ कुरा पुष्टि भएको छ ।' प्रचण्डले अब सबै पदाधिकारी र केन्द्रीय समिति भंग गरेर आयोजक समिति राख्ने प्रस्ताव गर्नु भएको छ । यो प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेपछि लागू हुने एक पदाधिकारीको भनाइ छ । केन्द्रीय समिति बैठक अर्को बस्ने तयारी छ । 

जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबारमा धर्ना

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र प्रवेश गराइएको छ । आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका घाइतेहरूलाई प्रहरीको गाडीमार्फत गृहमन्त्रालयमा पुर्‍याइएको छ । यद्यपि, गृहमन्त्री बाहिर रहेकाले जेनजी आन्दोलनका घाइतेहरू मन्त्रीको प्रतीक्षा गरिरहेका छन् । यसअघि उनीहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

काठमाडौँ । हालैको जेनजी आन्दोलनपश्चात देशको राजनीतिक परिदृश्यमा देखिएको अस्थिरता र पार्टीभित्र उत्पन्न आन्तरिक विवादबारे विस्तृत छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज सुरु भएको छ । पार्टीका उपमहासचिव हरिबोल गजुरेलका अनुसार बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको हो । बैठकमा हालको राष्ट्रिय राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी, पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीति लगायतका विषयमा गहन बहस भइरहेको उहाँले जानकारी दिनुभयो । गएको भदौ २३ र २४ गते भएको जेनजीको विद्रोहपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । सो घटनाले मुलुकमा नयाँ सत्ता समीकरणको बाटो खोल्दै हालको राजनीतिक समीकरणलाई परिवर्तन गरेको  छ। त्यसको केही दिनमै सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्दै आगामी राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।

महावीर पुनलाई शिक्षा मन्त्रीको अफर

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई शिक्षा, विज्ञान र प्रविधि मन्त्री बन्न प्रस्ताव गरेकी छन्। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी कार्कीले पुनसहित केही पत्रकारहरूसँग छलफल गरेकी छन्। पुनले प्रस्तावबारे स्पष्ट जवाफ दिएका छैनन्।  हाल तीन मन्त्री रहेको अन्तरिम सरकारमा कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत, सिंचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ, तथा गृह र कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले ताररहित इन्टरनेट सेवामार्फत नेपालमा ख्याति कमाएका छन्। उनले रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका छन् र हालै किताब बिक्रीबाट कृषि औजार कारखाना सञ्चालनका लागि रकम संकलन गरेका छन्।  

आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । हालैको जेनजी आन्दोलनपश्चात देशको राजनीतिक परिदृश्यमा देखिएको अस्थिरता र पार्टीभित्र उत्पन्न आन्तरिक विवादबारे विस्तृत छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आज पदाधिकारी बैठक बोलाएको छ । पार्टीका उपमहासचिव हरिबोल गजुरेलका अनुसार बैठक आज (आइतबार) दिउँसो १ बजे राजधानीको कोटेश्वरस्थित केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ । बैठकमा हालको राष्ट्रिय राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी, पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीति लगायतका विषयमा गहन बहस हुने उहाँले जानकारी दिनुभयाे ।  गएको भदौ २३ र २४ गते भएको जेनजीको विद्रोहपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । सो घटनाले मुलुकमा नयाँ सत्ता समीकरणको बाटो खोल्दै हालको राजनीतिक समीकरणलाई परिवर्तन गरेको बताइन्छ । त्यसको केही दिनमै सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्दै आगामी राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्ने योजना अघि सारेको छ । माओवादी केन्द्रको आजको बैठकले अन्तरिम सरकारप्रति पार्टीको धारणा स्पष्ट गर्ने, निर्वाचनमा पार्टीको भूमिका तय गर्ने र हाल देखापरेका आन्तरिक मतभेद समाधानतर्फ कदम चाल्ने अपेक्षा गरिएको छ ।

जेनजी आन्दोलनको कारण ओली सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध : लीलामणि पोखरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको बताएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। पोखरेलले शासन प्रणालीमा बढ्दो अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवाहरूमा निराशा बढेको र सरकारको नेतृत्वमा रहेकाहरू परिवारवादमा लिप्त हुँदा जेनजी पुस्ता आन्दोलित भएको बताए। उनले संवैधानिक आयोग र राज्यका निकायहरूमा क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिले जनतामा आक्रोश बढेको उल्लेख गरे। साथै, उनले जेनजी आन्दोलनमा व्यवस्था विरोधी र वैदेशिक शक्तिहरूको घुसपैठ भएको आशंका व्यक्त गरे। मुलुकमा राजनीतिक शून्यता रहेको बताउँदै उनले पार्टी संगठनलाई बलियो बनाएर जनतामाझ जाने नेकपा (माओवादी केन्द्र) को दृढता रहेको जनाए।

जेनजी प्रदर्शनमा सहभागी हुम्लाका युवा थुक्तेन ११ दिनदेखि बेपत्ता

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–३, खगालगाउँ स्थायी घर भएका थुक्तेन पाल्वर तामाङ भदौ २४ गते काठमाडौंको जेनजी आन्दोलनमा सहभागी भएपछि ११ दिनदेखि बेपत्ता छन्। हाल काठमाडौंमा बस्दै आएका २४ वर्षीय तामाङको खोजीका लागि परिवार र स्थानीय समाजले आग्रह गरेका छन्। तामाङका बुबा टसी छिरिङका अनुसार, होटलमा बिहानको सिफ्टमा काम गर्ने थुक्तेन भदौ २४ गते दिउँसो २ बजे कोठाबाट जेनजी प्रदर्शनमा सहभागी हुन बौद्धतर्फ गएका थिए। त्यसयता उनी कोठा फर्केका छैनन्। काठमाडौंका विभिन्न ठाउँमा खोजी गर्दा पनि उनको अत्तोपत्तो नलागेको बुबाले बताए। थुक्तेन नारायणथान गुम्बामा लामा ज्ञान अध्ययन पूरा गरेर हाल तीनचुलीमा भतिजोसँग कोठा लिएर बस्दै आएका थिए। उनका दुई छोरामध्ये थुक्तेन कान्छा हुन्। नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले बेपत्ता तामाङको खोजीका लागि सूचना जारी गर्दै सहयोगको आग्रह गरेका छन्। समाजले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजीमा सहयोग गर्न माग गरेको छ।

अमेरिकाले उच्च सीप भएका व्यक्ति भित्र्याउन सुरु गर्यो विभिन्न 'कार्डहरु'

एजेन्सी . अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसाको आवेदन शुल्क १ लाख डलर तोकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसमा यो घोषणा गरेका हुन्। यसअघि यो भिसाको शुल्क १,२५० देखि ७,५०० डलरसम्म थियो। नयाँ नीतिसँगै ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ सुविधा पनि सुरु गरिएको छ। गोल्ड कार्डले अमेरिकामा असीमित बसोबासको अधिकार प्रदान गर्नेछ। यो परिवर्तनले कम्पनीहरूलाई उच्च सीप भएका कर्मचारी मात्र अमेरिका पठाउन प्रोत्साहन गर्नेछ, जसको प्रत्यक्ष असर आईटी क्षेत्रका दक्ष जनशक्तिमा पर्नेछ। भारत र चीनका दक्ष जनशक्ति बढी प्रभावित : यो नीतिले भारत र चीनका दक्ष जनशक्तिलाई सबैभन्दा बढी प्रभाव पार्ने अनुमान छ। गत वर्ष एच-वानबी भिसामा भारतबाट ७१% र चीनबाट ११.७% आवेदन स्वीकृत भएका थिए। नयाँ शुल्कले मध्यम तहका र नयाँ कर्मचारीलाई भिसा प्राप्त गर्न कठिन हुने देखिन्छ। यसले इन्जिनियर, कोडर र उच्च सीप भएका जनशक्ति तथा विद्यार्थीहरूलाई युरोप, क्यानडा, अष्ट्रेलिया र मध्यपूर्वी देशतर्फ आकर्षित गर्न सक्छ। भिसा दुरुपयोग रोक्ने उद्देश्य : ट्रम्प प्रशासनले एच-वानबी भिसा दुरुपयोग रोक्न यो कदम चालेको बताएको छ। ह्वाइट हाउसका स्टाफ सेक्रेटरी विल शार्फका अनुसार, यो कार्यक्रमको उद्देश्य अमेरिकी कामदारले गर्न नसक्ने क्षेत्रमा उच्च सीप भएका विदेशी कामदार ल्याउनु हो। नयाँ नियमले कम्पनीहरूले कर्मचारीलाई भिसा स्पोन्सर गर्न १ लाख डलर तिर्नुपर्नेछ, जसले केवल उच्च सीप र तलब भएका व्यक्तिलाई प्राथमिकता दिनेछ। अमेरिकी वाणिज्यमन्त्री हाउवार्ड लटनिकले भने, “कम्पनीहरूले १ लाख डलर तिर्न तयार हुनुपर्छ। तालिम चाहिने भए अमेरिकी विश्वविद्यालयका स्नातकलाई दिनुहोस्, विदेशी कामदार ल्याएर अमेरिकी रोजगारी खोस्न बन्द गर्नुहोस्।” नयाँ गोल्ड र प्लेटिनम कार्ड : नयाँ व्यवस्थाअनुसार सरकारले आवेदनका लागि वेबसाइट सञ्चालन गरेको छ, जहाँ नाम, इमेल र क्षेत्रको जानकारी दिएर आवेदन सुरु गर्न सकिन्छ। आवेदकले १५,००० डलर जाँच शुल्क तिर्नुपर्नेछ र कडा सुरक्षा जाँच पास गर्नुपर्नेछ। गोल्ड कार्डले ईबी-१ र ईबी-२ भिसालाई प्रतिस्थापन गर्नेछ। ट्रम्प गोल्ड कार्डका लागि १० लाख डलर तिर्नुपर्ने र प्लेटिनम कार्डका लागि ५० लाख डलर तिरेर विशेष सुविधा प्राप्त गर्न सकिन्छ। प्लेटिनम कार्डले विदेशी आयमा कर छुट र वर्षमा २७० दिन अमेरिका बस्ने अधिकार दिन्छ, तर यसलाई कंग्रेसको अनुमोदन आवश्यक पर्छ। कर्पोरेट गोल्ड कार्डअन्तर्गत कम्पनीहरूले प्रति कर्मचारी २० लाख डलर तिरेर बसोबास सुविधा लिन सक्छन्। एच-वानबीको इतिहास : एच-वानबी भिसा सन् १९९० मा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रका स्नातकलाई लक्षित गरी सुरु भएको हो। यो भिसा ३ देखि ६ वर्षसम्मका लागि दिइन्छ। ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले सन् १९९६ मा मोडलिङका लागि यही भिसा प्राप्त गरेकी थिइन्। हाल अमेरिकाले लोटरीमार्फत वार्षिक ८५,००० एच-वानबी भिसा जारी गर्छ, जसमध्ये अमेजनले २०२५ मा १०,००० भन्दा बढी भिसा प्राप्त गरेको छ।  

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच टेलिफोनमा कुराकानी भएको छ। ट्रम्पले यो जानकारी सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमार्फत दिएका छन्। ट्रम्पले लेखे, "मैले भर्खरै चिनियाँ राष्ट्रपति शी जिनपिङसँग अर्थपूर्ण कुराकानी सम्पन्न गरेँ। हामीले व्यापार, फेन्टानिल, रुस-युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको स्वीकृतिलगायतका धेरै महत्त्वपूर्ण विषयमा प्रगति गरेका छौँ।" "मैले राष्ट्रपति शी सँग दक्षिण कोरियामा हुने एपीईसी शिखर सम्मेलनमा भेट्ने कुरा पनि तय गरेको छु। म अर्को वर्षको सुरुमा चीन भ्रमण गर्नेछु र राष्ट्रपति शी पनि उपयुक्त समयमा अमेरिका आउनुहुनेछ। यो कुराकानी निकै राम्रो भयो। हामी फेरि टेलिफोनमा कुरा गर्नेछौँ। टिकटकको स्वीकृतिका लागि धन्यवाद र हामी दुवै एपीईसीमा भेटघाटको प्रतीक्षामा छौँ।" चीनले जारी गरेको वक्तव्यमा भनिएको छ कि राष्ट्रपति शी जिनपिङले कुराकानीमा चीन र अमेरिका मिलेर समृद्धि हासिल गर्न र विश्वमा शान्ति ल्याउन सक्ने बताएका छन्, तर यसका लागि आपसी सम्मान र सहकार्य आवश्यक छ। वक्तव्यअनुसार, "उनले (शी जिनपिङ) ले यो पनि भने कि अमेरिकाले एकतर्फी व्यापार प्रतिबन्धबाट जोगिनुपर्छ र टिकटकको विषयमा निष्पक्ष समाधानलाई प्रोत्साहन गर्नुपर्छ।"

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं,   –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको संकेत गर्दै गम्भीर चुनौतीहरूसँग जुध्न अहिलेको आवश्यकता राष्ट्रिय एकता रहेको बताउनुभएको हो। बैठकमा अध्यक्ष प्रचण्डले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिकालाई उल्लेख गर्दै भन्नुभयो, “७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान बनाउने काम जनयुद्धका क्रममा हजारौंको त्यागबिना सम्भव थिएन।” उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक प्रतिनिधित्व जस्ता विषय संविधानमा समावेश गर्नुपर्ने कुरा आफुहरुले उठाउँदै आएका विषय भएकाले देशमा अहिले माओवादी केन्द्रको विचारको महत्व झनै बढेर गएको बताउँनुभयो । हालै सम्पन्न जेन्जी आन्दोलनको सन्दर्भमा अध्यक्ष प्रचण्डले सरकारको बल प्रयोगप्रति आपत्ति जनाउँदै, माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको स्मरण गराउनुभयो।  उहाँले प्रतिकुलताकाबीच देशलाई सहज निकास दिन आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्दै संविधानको रक्षामा माओवादी केन्द्र महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।  “हामीले जेन जीहरुको बलिदानको सम्मान गर्दै संविधानको रक्षा र राष्ट्रपतिको गरिमा कायम राख्ने खालको राजनीतिक विकल्प प्रस्तुत गरेका हौं,” प्रचण्डले भन्नुभयो। उहाँले अन्तरिम सरकार र निर्वाचनको तोकिएको मिति अनुसार अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालले यति ठुलो चुनौती कहिल्यै भोगेको थिएन। पूर्खाले मिहिनेत गरेर जोगाएको राष्ट्र हामीले बचाउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न अहिले हाम्रासामू छ। त्यसैले सम्पूर्ण राष्ट्रप्रेमीहरू एकताबद्ध हुनु जरुरी छ।” बैठकमा माओवादी केन्द्रका नेताहरू र जनप्रगतिशील मञ्चका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकको अध्यक्षता सनि कुमार ओलीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भवानी पन्तले गर्नुभएको थियो।

प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठनको कुनै विकल्प नभएपछि यो कदम चालिएको हो : राष्ट्रपति

यहाँ तपाईंले प्रदान गरेको समाचारलाई सम्पादन गरिएको छ। सम्पादनमा स्पष्टता, संक्षिप्तता र प्रवाहमा सुधार ल्याउने प्रयास गरिएको छ, साथै अनावश्यक विज्ञापनहरू हटाइएको छ र भाषालाई थप परिष्कृत बनाइएको छ। काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्न सम्भव नभएपछि सर्वसहमतिमा नयाँ सरकार गठन गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। राष्ट्रपतिले भने, “प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठनको कुनै विकल्प नभएपछि सर्वसहमतिमा यो कदम चालिएको हो। सबैले यो कुरा बुझौँ र आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न एकजुट होऔँ।” उनले भदौ २३ र २४ गतेको आन्दोलनले मुलुकले अपूरणीय क्षति व्यहोरेको उल्लेख गर्दै विशेषगरी युवाहरूको नोक्सानीप्रति आफू संवेदनशील रहेको बताए। आन्दोलनपछिको जटिल परिस्थितिलाई सम्हाल्न सरकारले सक्दो प्रयास गरेको उनको भनाइ छ। राष्ट्रपति पौडेलले भने, “मुलुक नयाँ सपना र मार्गमा अघि बढेको छ। नयाँ जनादेशले लोकतन्त्रलाई थप सुदृढ गर्दै देशको भविष्य निर्धारण गर्नेछ भन्ने मेरो विश्वास छ।” उनले हाल गठित अन्तरिम सरकारले राष्ट्रिय क्षतिको मूल्याङ्कन, पुनर्निर्माण र ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने दायित्व लिएको बताए। “यो नै अहिले सबै नेपालीको प्रमुख कार्यभार हो,” उनले जोड दिए। अन्तमा, राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, नागरिक र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व त्यागेर पूर्वाग्रहरहित भएर निर्वाचनमा सक्रिय हुन आह्वान गरेका छन्।

देउवा दम्पतीको उपचार : शेरबहादुरको टाउको र गर्धनमा चोट, १२ टाँका लगाइयो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोको पछाडी भाग र गर्धनमा चोट लागेको छ। चोटमा १२ वटा टाँका लगाइएको छ। बूढानीलकण्ठस्थित निवासमा जेनजी प्रदर्शनकारीले आक्रमण गर्दा देउवा दम्पती घाइते भएका थिए। नेपाली सेनाले उद्धार गरी उनीहरूलाई शिवपुरीस्थित सैनिक अस्पतालमा उपचारका लागि लगेको थियो। आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे छलफल भएको छ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले देउवा दम्पतीको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए। “सभापतिज्यूको टाउकोको पछाडी भागमा गम्भीर चोट छ, जहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनमा पनि चोट छ। दुवै चोट निको हुँदै गएको छ। उहाँ सामान्य बोलचाल र हिँडडुल गर्न सक्नुहुन्छ,” विश्वकर्माले भने। “तर, उठ्दा चक्कर लाग्ने र बोल्न असजिलो हुने भएकाले केही दिन उपचारमै रहनुहुनेछ।” उनले सभापति देउवा पार्टीका नेताहरूसँग संवाद गर्न सक्ने अवस्थामा रहेको र उनकी पत्नी आरजु राणा देउवाको स्वास्थ्यमा पनि सुधार आएको बताए। घाउको प्रकृतिबाट सिसा, रड वा धारिलो हतियारले आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।  

अध्यक्ष प्रचण्डको खुलासा : 'संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भयो"

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज, र राष्ट्रपतिलाई पदबाट हटाउने प्रयास भएको कुरा बताउनु भएको छ । संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभयो। “इतिहास, घटनाक्रम, र संयोगले मलाई यो प्रक्रियामा सहजीकरण गर्ने अवसर प्राप्त भएको छ,” प्रचण्डले भन्नुभयो, “संसद् विघटन मात्र होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने कसरतहरू भएको मैले नजिकबाट देखेको र बुझेको छु।” वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै उहाँले राष्ट्रपति र प्रधानसेनापतिको भूमिकाको प्रशंसा गर्नुभयो । “मैले राष्ट्रपतिमाथि आएको अप्ठ्यारो अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएँ । उहाँले संविधानको पक्षमा अडान राख्नुभयो,” प्रचण्डले भन्नुभयो । उहाँले थप्नुभयो, “नेपाली सेनाको प्रधानसेनापतिको भूमिकाको पनि म प्रशंसा गर्छु । संविधान जोगाउन राष्ट्रपति र प्रधानसेनापतिको भूमिका सकारात्मक थियो ।” प्रचण्डले संविधानको रक्षामा आफ्नो भूमिकाबारे पनि उल्लेख गर्नुभयो । “संविधान जोगाउन अप्ठ्यारो अवस्थामा मैले सहजीकरण गर्ने अवसर प्राप्त गरेँ,” उहाँले भन्नुभयो । प्रचण्डले आफ्नो पार्टीले गल्ती र कमजोरी स्वीकार्दै जनतासँगको सम्बन्ध सुधार गर्न अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सदन र सडकबाट खबरदारी गरेका थियौँ, तर त्यसलाई नबुझ्दा विद्रोहको अवस्था आयो । हाम्रो पार्टीले कमजोरी स्वीकारेर जनतामाझ गएर सुधारको प्रयास गरेको छ ।”  

अहिले सबैलाई एउटै डालोमा हालेर पुर्ने प्रयास गरिएको छ, यो सही होइन : अध्यक्ष प्रचण्ड

काठमाडौं । संविधान दिवस २०८२ को अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले संविधान निर्माण, संशोधनको आवश्यकता र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना धारणा व्यक्त गर्नुभयो ।   उहाँले भन्नुभयो, “हामीले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थाका लागि प्रयास गरेका थियौँ, तर नेपाली काँग्रेस र एमालेले मानेनन् । हाम्रै पहलमा संविधान बनेको हो, तर सम्झौता गरेर जारी गर्नुपरेको थियो ।” उहाँले संविधान अपूरो भएको कारणले नै हाल ‘जेनजी विद्रोह’ जस्ता आन्दोलनहरू देखिएको बताउनुभयो । प्रचण्डले संविधान संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै भन्नुभयो, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विभिन्न जातजाति, वर्ग र समुदायका मुद्दालाई सम्बोधन गर्न संविधान संशोधन जरुरी छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ । हामीले यो भन्दा राम्रो संविधान बनाउन सकिन्छ भन्ने भिन्न मत राखेका छौँ, र ती मुद्दा अहिले जीवन्त रूपमा आएका छन् ।” उहाँले संविधान निर्माणका क्रममा आफूले धेरै दबाब र धम्की खेपेको स्मरण गर्नुभयो । “एकथरी मानिस र आन्तरिक-बाह्य शक्तिहरूले संविधान बन्न नदिने प्रयास गरेका थिए । मैले नै कसैको दबाबमा नझुक्किकन संविधान बनाउने अडान लिएको हुँ,” उहाँले भन्नुभयो । वर्तमान ‘जेनजी विद्रोह’ र जनयुद्धको चर्चा गर्दै प्रचण्डले भन्नुभयो, “जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थियो । अहिले जनयुद्धको नेतृत्व, संविधानको नेतृत्व र सुशासनको नेतृत्वलाई भ्रष्टाचारी भन्नु इतिहास र जनताप्रतिको विश्वासघात हो ।” उहाँले दुई ठूला पार्टीहरूको अहंकार र गलत नीतिका कारण यस्तो अवस्था आएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबैलाई एउटै डालोमा हालेर पुर्ने प्रयास गरिएको छ, यो सही होइन । यो इतिहास र त्यो इतिहास एउटै होइन ।” उहाँले इतिहासका विभिन्न घटनालाई एकै रूपमा प्रस्तुत गर्नु गलत भएको बताउनुभयो । पार्टीभित्र चलिरहेको नेतृत्व हस्तान्तरणको बहसबारे बोल्दै प्रचण्डले भन्नुभयो, “हाम्रो पार्टीमा नेतृत्व हस्तान्तरणको विषयमा छलफल भइरहेको छ । यो विषय विधि र प्रक्रियाबाटै अगाडि बढ्छ ।” वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै उहाँले राष्ट्रपति र प्रधानसेनापतिको भूमिकाको प्रशंसा गर्नुभयो । “मैले राष्ट्रपतिमाथि आएको अप्ठ्यारो अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाएँ । उहाँले संविधानको पक्षमा अडान राख्नुभयो,” प्रचण्डले भन्नुभयो । उहाँले थप्नुभयो, “नेपाली सेनाको प्रधानसेनापतिको भूमिकाको पनि म प्रशंसा गर्छु । संविधान जोगाउन राष्ट्रपति र प्रधानसेनापतिको भूमिका सकारात्मक थियो ।” प्रचण्डले संविधानको रक्षामा आफ्नो भूमिकाबारे पनि उल्लेख गर्नुभयो । “संविधान जोगाउन अप्ठ्यारो अवस्थामा मैले सहजीकरण गर्ने अवसर प्राप्त गरेँ,” उहाँले भन्नुभयो । प्रचण्डले आफ्नो पार्टीले गल्ती र कमजोरी स्वीकार्दै जनतासँगको सम्बन्ध सुधार गर्न अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सदन र सडकबाट खबरदारी गरेका थियौँ, तर त्यसलाई नबुझ्दा विद्रोहको अवस्था आयो । हाम्रो पार्टीले कमजोरी स्वीकारेर जनतामाझ गएर सुधारको प्रयास गरेको छ ।” जेनजी आन्दोलनका एजेन्डालाई ठीक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जेनजी आन्दोलनका मुद्दालाई समर्थन गर्ने पार्टी नेकपा माओवादी केन्द्र नै हो ।” उहाँले अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा पनि सदनमार्फत पटक-पटक जानकारी गराएको स्मरण गर्नुभयो ।