बडा दशैंको सातौं दिन : फूलपाती भित्राइँदै, रौनक बढ्दै
काठमाडौं। नेपालीहरूको महान् चाड बडा दशैंको सातौं दिन आज देशभर घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ। आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपत्रिका अर्थात् फूलपाती भित्राउने परम्परा रहेको छ।
घटस्थापनाको दिनदेखि वैदिक विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा गरिएको दशैंघर वा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राइन्छ। नवपत्रिकालाई नौ देवीको प्रतीक मानिन्छ र शास्त्रीय विधिअनुसार यी नौवटै देवीको पूजा गरिन्छ।
धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतम भन्छन्, “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। यी देवीहरू नवदुर्गाका सहायक हुन्।”
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले फूलपाती भित्राउन कुनै विशेष साइत आवश्यक नपर्ने जनाएको छ।
हनुमानढोकामा फूलपातीको विशेष परम्परा
काठमाडौंको हनुमानढोका दरबार मा गोरखाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा कायम छ। गोरखाबाट धादिङको जीवनपुर सम्म दशैंघरका पूजारीसहित मगर समुदायका ६ जनाले फूलपाती ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म ब्राह्मण समुदायका ६ जनाले ल्याउने चलन छ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्राइन्छ। यस वर्ष हनुमानढोकामा अपराह्न फूलपाती भित्राउने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।
शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको थियो। जीवनपुरबाट स्वयम्भू हुँदै फूलपाती ल्याइँदैछ, जहाँ स्वयम्भूको वनबाट माने नामक फूल पनि नवपत्रिकामा समावेश गरिन्छ। स्वयम्भूबाट जमल पुगेपछि हनुमानढोकाबाट गएको समूहले फूलपातीको स्वागत गरी दशैंघरमा भित्र्याउने छ।
दशैंको रौनक बढ्दै
घटस्थापनादेखि सुरु भएको दशैंको चहलपहल फूलपातीको दिनदेखि थप उत्साहपूर्ण बन्छ। आजदेखि सरकारी कार्यालयहरू बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरू सपरिवार टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम तीव्र भएको छ।
यससँगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ। सधैं व्यस्त रहने सडकहरूमा सवारीसाधनको चाप कम हुँदै गएको छ। गाउँहरूमा दोबाटो, चौतारा र चोकमा लिङ्गेपिङ र रोटेपिङ हाल्ने परम्पराले दशैंको रौनकलाई अझ जीवन्त बनाउँछ। साथै, चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि यस अवसरमा जीवित रहन्छ।
सल्यानमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, दुईजना गम्भीर घाइते
सल्यान । सल्यानको कपुरकोट–चौरखोला सडकखण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार रूकुमबाट दाङतर्फ आउँदै गरेको लु२ख ६५०२ नम्बरको सवारी सडकदेखि करिब तीन–चार सय मिटर तल खसेको हो। दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ। सोही सवारीमा सवार एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सवारीसाधनमा सवार मृतक र घाइतेको नाम, ठेगाना र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
क्रिकेटका सबै फरम्याटमा आइसिसी पूर्णसदस्य वेष्टइन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
दुबई । नेपाली क्रिकेट टोलीले वेष्टइन्डिजविरुद्धको पहिलो टिट्वेन्टी क्रिकेटमा ऐतिहासिक जित निकालेको छ । सारजहाँमा नेपालले पहिलो पटक आइसिसीको फूल मेम्बर वेष्टइण्डिजलाई पहिलो पटक पराजित गरेको हो । यसअघि नेपालले आइसिसीका पूर्ण सदस्यलाई क्रिकेटका कुनै पनि फरम्याटमा पराजित गरेको थिएन् । युएईमा आजदेखि शुरु भएको युनिटी कप अन्तरगतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको छ । नेपालको यो ऐतिहासिक जित हो । नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउँदा वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमात्र बनायो। वेस्ट इन्डिजका लागि नविन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन जोडे। नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक-एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए। कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे। गुल्शन झाले २२ र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए। १२ रनमा २ विकेट गुमाएको अवस्थाबाट रोहित र मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे। तर, फिनिसिङ कमजोर हुँदा नेपाल १५० रनभित्रै रोकियो। वेस्ट इन्डिजका जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। डेब्यू खेलाडी नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट हात पारे। कप्तान अकिल होसेनले १ विकेट लिए। खेलको प्लेयर अफ दि म्याच नेपालका कप्तान रोहित पौडेल घोषित भएका छन् । उनले आजको अवार्ड र जित जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति समर्पित गरेका छन् ।
असहमति भए पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई माओवादीको समर्थन छ : राजन दाहाल
काठमाडौँ, — नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ (राजन) दाहालले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता सङ्कटमा रहेको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले यस्तो अवस्थामा विवेकपूर्ण निर्णय आवश्यक रहेको धारणा राखे। नेता दाहालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा १८ महिना सरकार सञ्चालन हुँदा सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दा अघि बढेको बताए। उनले भ्रष्टाचारविरुद्ध जनस्तरसम्म अभियान सञ्चालन भएको र हजारौँ भ्रष्टाचारीलाई अनुसन्धानको दायरामा ल्याइएको दाबी गरे। दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा निराशा फैलाएको र विचौलियाको प्रभावमा सञ्चालित भएको आरोप लगाए। उनले ओली सरकारले राजकीय संरचनाको दुरुपयोग गरेको, अदालत र अख्तियारलाई दबाबमा राखेर भ्रष्टाचारीलाई जोगाएको र कूटनीतिमा समेत असफल भएको बताए। उनले ओलीको चीन भ्रमणका क्रममा रुसका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जोङ उनको प्रभावमा परेर २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको दाबी गरे। “सामाजिक सञ्जाल दैनिक जीवन र रोजगारीको माध्यम बनिरहेको बेला विकल्पबिना प्रतिबन्ध लगाइयो, जसले युवालाई सडकमा उत्रिन बाध्य बनायो,” उनले भने। दाहालले जायज माग राखेर सडकमा उत्रिएका जेन–जी पुस्तामाथि ओली सरकारले बर्बर दमन गरेको र पहिलो दिनमै २१ जनाको ज्यान गएको बताए। “जेन–जी पुस्ताले अपराध गर्नै सक्दैन, तर धमिलो पानीमा माछा मार्ने काम भयो,” उनले भने। उनले आन्दोलनका क्रममा संसद् भवनदेखि वडा कार्यालय र व्यक्तिका घरमा आगजनी भएको उल्लेख गर्दै माओवादी कार्यकर्ताको संलग्नता पाइएमा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाए। असहमति भए पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई माओवादीको समर्थन रहेको दाहालले बताए। उनले तोकिएको समयभित्र निर्वाचन हुनुपर्ने माग राखे। साथै, विज्ञहरूको मन्त्रिपरिषद्, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माओवादीको एजेन्डा रहेको उनले प्रष्ट पारे। दाहालले ओली सरकारले सामाजिक सञ्जालमाथि कमिशन नपाएका कारण प्रतिबन्ध लगाएको आरोप लगाए। “मेटालगायतका सञ्जालले कर तिरिरहेका छन्, तर सरकारले कमिशनका लागि एजेन्सी खोज्यो। नपाएपछि प्रतिबन्ध लगाइयो,” उनले भने। उनले फेसबुकले यो वर्ष ३९ करोड राजस्व तिरेको तथ्य प्रस्तुत गरे। दाहालले २०७२ को संविधान निर्माणका बेला माओवादीले संसदीय व्यवस्थाविरुद्ध नोट अफ डिसेन्ट लेखेको स्मरण गर्दै जेन–जी पुस्ताको माग र माओवादीको एजेन्डा मिलेको दाबी गरे। उनले नयाँ परिस्थितिमा राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए।
समाजवादी मोर्चामा आवद्ध दलको निष्कर्ष : माओवादी केन्द्रको निर्णयले वामपन्थी एकताको बाटो खुल्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वामपन्थी दलहरूबीच एकता प्रक्रियालाई तीव्रता दिने निर्णय गरेसँगै समाजवादी मोर्चामा आवद्ध दलहरूले यसलाई सकारात्मक कदमका रूपमा लिएका छन्। यो निर्णयले नेपालको वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने बाटो खोलेको विश्लेषण गरिएको छ। समाजवादी मोर्चामा आवद्ध नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूले माओवादी केन्द्रको पछिल्लो निर्णयलाई स्वागत गरेका छन्। यी दलहरूले वामपन्थी एकताको आवश्यकता लामो समयदेखि उठाउँदै आएका थिए, र माओवादीको यो कदमले एकताको सम्भावनालाई थप बलियो बनाएको उनीहरूको भनाइ छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो सम्पन्न केन्द्रीय समिति बैठकमा वामपन्थी दलहरूबीचको एकता प्रक्रिया छिट्टै मूर्त रूप लिने बताउनु भएको थियो । उहाँले वामपन्थी शक्तिहरूको एकताले देशको राजनीतिक स्थायित्व र समाजवादी आन्दोलनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो। “हामीले विगतमा पनि एकताका लागि प्रयास गरेका थियौं। अब यो प्रक्रियालाई नतिजामुखी बनाउन गम्भीर छलफल र सहमति आवश्यक छ,” प्रचण्डले भन्नुभयो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता चिरन पुनले माओवादी केन्द्रको निर्णयलाई सकारात्मक कदम भन्दै यसले वामपन्थी एकताको आधार तयार गरेको बताउनु भयो। उहाँले एभरेष्ट दैनिकसँग भन्नुभयो, “वामपन्थी शक्तिहरूको वृहत्तर एकता आजको आवश्यकता हो। माओवादी केन्द्रको निर्णयले यो प्रक्रियालाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान गर्नेछ।” उहाँले राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी शक्तिहरूसँग पनि कार्यगत एकता आवश्यक रहेको उल्लेख गर्नुभयो । “यो एकता केवल वामपन्थी दलहरूमा सीमित नभई समग्र प्रगतिशील शक्तिहरूलाई जोड्ने दिशामा अघि बढ्नुपर्छ,” पुनले थप्नुभयो । यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि माओवादीको निर्णयलाई स्वागतयोग्य कदम भएको बताउनु भएको छ । उहाँले एकताले देशमा समाजवादी विचारधारा र जनताको हितमा काम गर्ने शक्तिहरूलाई बलियो बनाउने विश्वास व्यक्त गर्नु भएको छ । माओवादी केन्द्रले औपचारिक रूपमा एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेसँगै तत्कालै विप्लव नेतृत्वको नेकपा र यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता प्रक्रिया अन्तिम चरणमा पुग्ने अपेक्षा गरिएको छ। स्रोतका अनुसार, माओवादी केन्द्र, नेकपा र नेपाल समाजवादी पार्टीबीचको एकता निष्कर्षमा पुगेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकीकरणको प्रक्रिया सुरु हुनेछ। “पहिलो चरणमा विप्लव र यादव नेतृत्वका पार्टीहरूसँग एकता हुन्छ। त्यसपछि नेकपा एकीकृत समाजवादीसँग पनि छलफललाई तीव्रता दिइनेछ,” माओवादी केन्द्रका एक नेताले बताएका छन् । यो प्रक्रियाले नेपालको वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउँदै नयाँ राजनीतिक समीकरण निर्माण गर्ने अपेक्षा गरिएको छ। समाजवादी मोर्चाले वामपन्थी र प्रगतिशील शक्तिहरूलाई एकजुट बनाउने लक्ष्य राख्दै आएको छ। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आवद्ध छन्। मोर्चाले देशमा समाजवादी विचारधारालाई सुदृढ बनाउन र जनमुखी नीतिहरूलाई अगाडि बढाउन जोड दिँदै आएको छ। माओवादी केन्द्रको पछिल्लो निर्णयले मोर्चाभित्रको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। “यो निर्णयले समाजवादी मोर्चालाई थप सशक्त बनाउनेछ। हामी सबै मिलेर समाजवादी क्रान्तिको आधार तयार गर्नेछौं,” नेकपा एकीकृत समाजवादीका एक नेताले बताए। वामपन्थी दलहरूबीचको एकता प्रक्रियालाई सार्थक बनाउन विचारधारात्मक, सांगठनिक र नेतृत्वका विषयमा गम्भीर छलफल आवश्यक रहेको छ। विगतमा पनि वामपन्थी एकताका प्रयासहरू भएका थिए, तर ती पूर्ण रूपमा सफल हुन सकेका थिएनन्। यद्यपि, माओवादी केन्द्रको पछिल्लो निर्णय र समाजवादी मोर्चाको सकारात्मक प्रतिक्रियाले यो प्रक्रिया सही दिशामा अघि बढ्ने संकेत देखिएको छ। “वामपन्थी एकताले नेपालको राजनीतिमा नयाँ सम्भावना खोल्नेछ। तर, यसका लागि नेतृत्वमा इमानदारी र पारदर्शिता आवश्यक छ,” नेकपाका एक नेताले बताए। नेपालको वामपन्थी आन्दोलनमा यो एकता प्रक्रियाले नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ। यदि यो प्रक्रिया सफल भएमा, नेपालको राजनीतिक परिदृश्यमा समाजवादी शक्तिहरूको प्रभावकारी उपस्थिति स्थापित हुने विश्वास गरिएको छ।
नेपाल र वेस्ट इन्डिजबीच आज पहिलो टी-२० आई भिडन्त
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टी-२० आई सिरिजको पहिलो खेल आज हुँदैछ। यूएईको शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका ८:१५ बजे खेल सुरु हुनेछ। नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो। साथै, आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको यो पहिलो द्विपक्षीय सिरिज पनि हो। खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कप्तान रोहित पौडेलले टिमको हालको प्रदर्शन सकारात्मक रहेको बताउँदै शृंखलामा उत्कृष्ट प्रदर्शन गरी जित हासिल गर्ने विश्वास व्यक्त गरे। “हामीले आफ्नो उत्कृष्ट क्रिकेट खेल्यौं भने जित सम्भव छ। टिमको मनोबल उच्च छ, र हामी शृंखला जित्नेमा आशावादी छौं,” उनले भने। वेस्ट इन्डिजका कप्तान अकिल होसेनले नेपालसँगको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा उत्साहित रहेको बताए। उनले टिममा युवा खेलाडीको बाहुल्य रहेको र सबै खेलका लागि तयार रहेको उल्लेख गरे। “पेपरमा को बलियो छ भन्ने कुराले फरक पार्दैन, मैदानमा राम्रो खेल्ने टिमले जित्छ,” उनले भने। वेस्ट इन्डिज पछिल्लो समय खराब लयमा छ। सन् २०२५ मा खेलेका १२ खेलमध्ये उसले केवल २ खेल मात्र जितेको छ। यसले नेपाललाई ऐतिहासिक जितको अवसर प्रदान गरेको छ। नेपालको प्रदर्शन भने मिश्रित छ। सन् २०२५ मा खेलेका ८ खेलमा नेपालले ४ जित, ३ हार (एक सुपर ओभरसहित) र १ नतिजाविहीन खेल अनुभव गरेको छ। नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार र तेस्रो खेल बिहीबार हुनेछ। नेपालको टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिजको टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।
अब माओवादीमा जेनजी पुस्ता उच्च प्रथामिकतामा हुने
काठमाडौं । अब बन्ने नेकपा माओवादी वडा, पालिका, प्रदेश र केन्द्रको केन्द्रीय समितिमा जेनजी पुस्ताले उच्च प्रथामिकता पाउने भएका छन् । सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले अब जेनजी पुस्तालाई विशेष प्रथामिकता दिने भएको हो । केही अघि मात्र जेनजी पुस्ताका युवाहरुले हामीलाई प्राथमिकता दिनु पर्यो भनेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष २५ प्रतिशत सबै समितिमा समेट्न माग गरेका थिए । जस अनुसार सम्पन्न केन्द्रीय समिति बैठकले वडा, पालिका, प्रदेश र केन्द्रीय समितिमा जेनजी पुस्तालाई उच्च सहभागिता गराउने निर्णय गरेको बैठकका एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले भन्नु भएको छ, ‘जेन्जीलाई ल्याउनु पर्दा हामी अरुले कति छोड्न पर्छ छोड्दा हुन्छ । हामीले आन्दोलन जित्नु पर्ने छ । हामी राष्ट्र संकटमा परेको अवस्थामा छौँ । यो संकटबाट राष्ट्रलाई पार लगाउनु छ । त्यसकारण यो बारेमा पनि सबै कमरेडहरु सोच्न थाल्नु पर्यो । तपाईँहरु आफ्नो आफ्नो एरिया भित्र आफ्नो आफ्नो जिम्मेवारी भित्र आफ्नो आफ्नो मोर्चा भित्र जेन्जी खोज्न पर्यो । अलि गतिशील सक्रिय सक्षम त्यस्ता जेन्जीहरु लाई संगठित गरेर तिनीहरुलाई अगाडी ल्याउने साथै युवाहरुलाई उच्च प्राथमिकता दिनु पर्यो ।’ पार्टीका सबै तहमा जेनजीको प्रतिनिधित्व अनिवार्य गर्न प्रचण्डले निर्देशन दिनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकका मुख्य निर्णय यस्ता छन्ः– – बैठकले अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा “प्रभाकर”ले प्रस्तुत गर्नुभएको पार्टी रूपान्तरण सम्बन्धी महत्वपूर्ण विषयहरू समावेश गर्ने। – बैठकले जनयुद्ध, जनआन्दोलन, जेन–जी विद्रोह लगायतका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेको छ। बैठकले जेन–जी विद्रोहको भावनालाई सम्मान गर्दै पार्टीलाई शुद्धिकरण र पुनर्निर्माण गर्ने। – पार्टीको केन्द्रीय समिति भंग गरिएको छ। आगामी मंसीर मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गर्ने गरी कमरेड प्रचण्ड संयोजक रहने गरी महाधिवेशन आयोजक समिति र आयोजक समितिको सचिवालय गठन गर्ने। – विचार मिल्ने माओवादी धारा एवं वामपन्थी पार्टीहरूबीच एकता गर्ने। एकताको प्रक्रिया तत्काल अगाडि बढाई विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा सम्पन्न गर्न जोड गर्ने। तर, निर्धारित मितिभित्रै विशेष महाधिवेशन गर्ने। – अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनका पक्षमा उभिँदै निर्वाचन सफल पार्न पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय भएको छ। बैठकले फागुन २१ गतेको निर्वाचन हुन नदिने प्रवृत्तिका विरूद्ध संघर्ष गर्दै निर्वाचनका पक्षमा वातावरण बनाउने। – आसन्न निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने, समानुपातिक निर्वाचन प्रणालीका पक्षमा उभिने र विज्ञहरूबाट मन्त्री बन्ने कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने। – बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले जनस्तरबाट समेत सुझाव लिएर छानविनका आधारमा दोषीमाथि कार्वाहीको सिफारिस गर्ने। – जेन–जी आन्दोलनले उठाएको “नेपोटिज्म”को विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ। बैठकले कार्यविधि बनाएर नेता–कार्यकर्ताका परिवारको जिम्मेवारी र जीवनशैलीबारे निर्णय लिनेछ। – पार्टी केन्द्रीय कार्यालय र पार्टी नेताहरूको सचिवालयमा परिवारका सदस्यहरू नराख्ने र प्रविधिमैत्री जनशक्ति राख्नेबारे निर्णय भएको छ। महाधिवेशन आयोजक समितिको सचिवालयले कार्यविधि बनाएर उक्त निर्णय लागू गर्नेछ। – पार्टीका सबै कमिटीहरूमा जेन–जीको प्रतिनिधित्व गराउने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा युवाहरूको प्रतिनिधित्व बढाउने निर्णय भएको छ। – नेतृत्व हस्तान्तरणको प्रश्नमा बैठकमा महत्वपूर्ण बहस भएको छ। बैठकले आगामी महाधिवेशनबाट विधिसम्मत ढंगले नेतृत्व विकास, हस्तान्तरण र पार्टीमा नयाँ क्रमभंग गर्ने। – पार्टी कमिटीहरू प्रविधिमैत्री बनाउने, अभिलेखीकरणको काम व्यवस्थित गर्ने।
अध्यक्ष प्रचण्डद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नु भएकाे छ । यसका साथै उहाँले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याउनु भएकाे छ । “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भन्नुभयाे । संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उहाँकाे भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिनुभएकाे छ ।
देशको जिम्मा माओवादीमा आउँदैछ, प्रचण्डको भूमिका झन् आवश्यक: पम्फा भुसाल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले मुलुकको नेतृत्वको जिम्मेवारी माओवादीको काँधमा आउँदै गरेको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिका थप आवश्यक रहेको जोड दिएकी छन्। प्रज्ञा भवनमा जारी सातौँ केन्द्रीय समिति बैठकमा बोल्दै उनले प्रचण्डको नेतृत्वमा ठूला क्रान्ति र परिवर्तन सम्भव भएको उल्लेख गरिन्। उपाध्यक्ष भुसालले प्रचण्डको भूमिकाकै कारण संविधानसभाबाट संविधान जारी भएको र पार्टीले उठाउँदै आएका एजेन्डाहरू जेनजी आन्दोलनपछि पुनः स्थापित भएको बताइन्। “जेनजी आन्दोलनले हाम्रा एजेन्डालाई अगाडि ल्याएको छ। यस्तो बेला देशकै जिम्मेवारी हाम्रो काँधमा आउँदैछ। यसका लागि प्रचण्डको नेतृत्व झन् आवश्यक छ,” उनले भनिन्। उनले मुलुकको नेतृत्व लिन बलियो र स्पष्ट वैचारिक धार आवश्यक रहेकोमा पनि जोड दिइन्। अध्यक्ष प्रचण्डले बैठकमा वर्तमान केन्द्रीय समिति भङ्ग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। महाधिवेशनका लागि नयाँ टिम ल्याउने र वर्तमान पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ। उपाध्यक्ष भुसालले प्रचण्डको यो प्रस्तावलाई समर्थन जनाएकी छन्। भुसालले जेनजी आन्दोलनले पार्टीका एजेन्डालाई पुनर्जनन दिएको बताउँदै यस्तो अवस्थामा माओवादीले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइन्। “हाम्रा एजेन्डाहरू जेनजी आन्दोलनपछि फेरि सतहमा आएका छन्। यिनलाई अगाडि बढाउन पार्टीले दृढतापूर्वक काम गर्नुपर्छ,” उनले भनिन्।
प्रचण्डको राजीनामाको माग जेनजीको नभई बालेन र सुदन गुरुङहरूको हो, पूरा हुँदैन: लीलामणि पोखरेल
काठमाडौँ, १० असोज । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामाको माग जेनजी आन्दोलनको नभई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन्। प्रज्ञा भवन, कमलादीमा बिहीबारदेखि जारी सातौँ केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, “राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेनजीको होइन। त्यसैले त्यो माग पूरा हुँदैन।” पोखरेलले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने र प्रचण्डलाई नै संयोजक तोकेर आयोजक समिति बनाएर अगाडि बढ्नुपर्ने पक्षमा समर्थन जनाए। उनको धारणालाई बैठकमा बोल्ने अधिकांश नेताहरूले समर्थन गरेको बताइएको छ। लुम्बिनी प्रदेशबाट नेता रहिश साहले प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन भएको र मंसिरमै महाधिवेशन गर्नुपर्नेमा सबै सहमत भएको जानकारी दिए। उनले मंसिरमा महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने सुझाव प्रस्तुत भएको बताए। उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष निकालेको छ। यद्यपि, आत्मालोचना, नातागोतावाद र परिवारवाद तोड्ने प्रतिबद्धता सबैले गर्नुपर्ने सुझाव आएको छ।
अध्यक्ष प्रचण्डको प्रतिवेदन सही छ, त्यहीँबाट राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका खोजौँ : शक्तिबहादुर बस्नेत
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले जेन्जी आन्दोलनलाई देशी–विदेशी प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी शक्तिहरूले हाइज्याक गरेको बताएका छन्। प्रज्ञा भवनमा जारी पार्टीको सातौँ केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले यो आन्दोलनले राष्ट्रिय राजनीतिलाई प्रतिक्रान्तिकारी मोडमा पुर्याएको र मुलुक राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको जोखिमपूर्ण मोडमा उभिएको विश्लेषण गरे। बस्नेतले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनलाई समर्थन गर्दै भने, “जेन्जी आन्दोलनबाट उत्पन्न परिस्थिति र विकसित घटनाक्रमबारे अध्यक्ष कमरेडले तीनवटा मुख्य कुरा सटीक ढङ्गले प्रस्तुत गर्नुभएको छ। राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेको छ, राजनीतिक दलहरूले आफ्नो औचित्य पुनः पुष्टि गर्नुपर्ने चुनौती छ, र युवाहरूको भूमिका नयाँ ढङ्गले स्थापित गर्नुपर्ने आवश्यकता देखिएको छ।” उनले बैठकका छलफलहरू यिनै विषयहरूको वरिपरि केन्द्रित हुनुपर्ने बताए। जेन्जी आन्दोलनको प्रसङ्गलाई विस्तार गर्दै बस्नेतले भने, “आन्दोलनमा प्रकट असन्तुष्टिहरू समयमै हाइज्याक भयो। देशी–विदेशी प्रतिक्रान्तिकारी शक्तिहरूले यसलाई आफ्नो नियन्त्रणमा लिए। स्वयं जेन्जीका नेताहरूले नै आन्दोलन हाइज्याक भएको सार्वजनिक घोषणा गरेका छन्।” उनले आन्दोलनको नेतृत्व मात्र नभई यसको गन्तव्य नै मोडिएको र राष्ट्रिय राजनीति प्रतिक्रान्तिकारी मोडमा पुगेको बताए। “पार्टी नेतृत्वको भूमिकाले संविधानलाई केही हदसम्म जोगाएको छ, तर आजको दृष्टिकोणबाट हेर्दा यो परिस्थिति राष्ट्रिय स्वाधीनता, आत्मनिर्णयको अधिकार, लोकतन्त्रको समृद्धि र समाजवादको आधार निर्माण दुवै दृष्टिबाट अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ,” बस्नेतले थपे। उनले यो अवस्थालाई सामना गर्ने कार्यदिशा नै बैठकको केन्द्रीय विषय भएको उल्लेख गरे। बस्नेतले दलाल पूँजीवादविरुद्धको संघर्षलाई व्यवस्थित र स्पष्ट कार्यदिशामा लैजानुपर्नेमा जोड दिए। “यो संघर्ष राष्ट्रिय आन्दोलन मात्र होइन, समाजवादको आधार निर्माण, उन्नत लोकतन्त्र प्राप्ति र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि हो,” उनले भने। अध्यक्ष प्रचण्डको विश्लेषणलाई उद्धृत गर्दै बस्नेतले यो संघर्षलाई लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको आन्दोलनको ‘फ्युजन’ (संयोजन) को रूपमा अगाडि बढाउनुपर्ने बताए। “दलाल पूँजीवादविरुद्धको संघर्ष उन्नत लोकतन्त्रलाई अझ उन्नत बनाउने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने विषय हो। हामीले यही ढङ्गले अगाडि बढ्नुपर्छ,” उनले थपे। यो संघर्षलाई दृढतापूर्वक कार्यान्वयन गरे मात्र परिस्थितिको समाधान सम्भव हुने उनको भनाइ थियो। राजनीतिक परिस्थितिमा निर्वाचनको बहस भइरहेको सन्दर्भमा बस्नेतले संविधान ‘ट्र्याक आउट’ भएको तर यसलाई ‘ट्र्याक इन’ गर्ने मुख्य माध्यम निर्वाचन नै भएको बताए। “हामी निर्वाचन केन्द्रित हुनुपर्छ,” उनले भने। यद्यपि, विभिन्न आशङ्का र निर्माण भइरहेको परिस्थितिलाई हेर्दा वैकल्पिक उपायहरूमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे। “निर्वाचनका आशङ्काहरू उब्जिरहेका छन्। संविधानलाई ट्र्याकमा ल्याउने अन्य सम्भावित उपायहरूमा पनि हाम्रो ध्यान जानुपर्छ,” बस्नेतले चेतावनी दिए। उनले यो विषयलाई आजका दिनमा ध्यानमा राख्न जरुरी भएको बताए। पार्टीको औचित्य पुनः पुष्टि गर्न विचार, राजनीतिक कार्यदिशा, संगठन संरचना र प्रतिबद्धताको नयाँ स्तरमा उठ्नुपर्नेमा बस्नेतले जोड दिए। “यो सबै गर्न विशेष महाधिवेशन उपयुक्त माध्यम हो। विचारलाई अफ गर्ने, संगठनलाई नयाँ ठाउँमा लैजाने र राजनीतिक चुनौतीहरू सामना गर्ने यो बाटो हो,” उनले भने। अध्यक्ष प्रचण्डको नेतृत्वमा आयोजक समिति बनाएर विशेष महाधिवेशनमा केन्द्रित हुनुपर्ने प्रस्ताव गर्दै बस्नेतले पार्टी निर्माणको नयाँ ढङ्गलाई जोड दिए। पार्टीभित्रका छलफल र बहसलाई प्रोत्साहित गर्नुपर्ने तर निर्णयहरू दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। “बहसलाई प्रोत्साहित गरौँ, निषेध नगरी। तर बहसलाई सधैँ खुल्ला राख्ने ढङ्ग उपयुक्त हुँदैन। छलफलपछि निर्णयहरू दृढतापूर्वक लागू गरे मात्र हामीले चिन्ता गरिरहेका विषयहरू सम्बोधन गर्न सक्छौँ,” बस्नेतले भने। बस्नेतको यो धारणाले जेन्जी आन्दोलनको विश्लेषण गर्दै दलाल पूँजीवादविरुद्धको संघर्षलाई राष्ट्रिय स्वाधीनता र समाजवादी आन्दोलनसँग जोडेर पार्टीको रणनीति स्पष्ट पारेको छ। बैठकमा जारी छलफलहरूले माओवादी केन्द्रको भावी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष प्रचण्डको प्रस्तावलाई समर्थन, समालिएर महाधिवेशनमा जाऔँ: देवेन्द्र पौडेल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेल ‘सुनील’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावलाई समर्थन गर्दै समालिएर महाधिवेशनमा जानुपर्ने बताएका छन्। प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले जेनजी आन्दोलनलाई साम्राज्यवादी डिजाइनको हिस्सा भएको उल्लेख गरे। पौडेलले जेनजी आन्दोलन १४१ देशमा देखिएको र नेपालमा पनि यसको प्रभाव रहेको बताए। उनले भने, “यो आन्दोलन सेटिङमा भएको छ, तर कसैले पनि ‘म प्रधानमन्त्री हुन्छु’ भनेर नेतृत्व दाबी गरेको छैन।” उनले नेतृत्व परिवर्तन सडकको आवाजले नभई महाधिवेशनमार्फत हुनुपर्नेमा जोड दिए। उनले समाजवादी क्रान्ति, सुशासन, समृद्धि र सामाजिक न्यायको नेतृत्व गर्न पार्टीले गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए। “हामीले गणतन्त्रवादी र बामपन्थी शक्तिहरूलाई संगठित गरी संविधानको रक्षा र समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ,” उनले भने। पौडेलले प्रचण्डको नेतृत्वमा एकताबद्ध भएर चुनौती सामना गर्नुपर्ने र गुटबाजीले पार्टी कमजोर हुने चेतावनी दिए। उनले नेतृत्वको कमी–कमजोरी भए पनि अपमान नगरी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे।
नेतृत्व हस्तान्तरण व्यक्तिगत होइन, सामूहिक टिम निर्माण र बहसबाट सम्भव : वर्षमान पुन 'अनन्त'
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समकालीन समाजवादी आन्दोलनका राजनेता भएको बताएका छन्। प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले प्रचण्डको नेतृत्वमा ठूला परिवर्तन सम्भव भएको र उनी इतिहास निर्माण गर्ने नेता भएको जिकिर गरे। पुनले पार्टी नेतृत्व हस्तान्तरणको विषयमा महाधिवेशनमार्फत जनताको सुझाव संकलन गरी लोकतान्त्रिक र समावेशी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने प्रस्ताव राखे। उनले भने, “प्रश्नहरूको जवाफ महाधिवेशनबाट खोजौँ, बुद्धिजीवी र जनतासँग सुझाव लिएर विधिवत् रूपमा नेतृत्व हस्तान्तरणको प्रक्रिया बनाऔँ।” उनले प्रचण्डले नेतृत्व छाड्ने र भूमिका परिवर्तन गर्ने कुरामा सकारात्मक रहेको उल्लेख गर्दै भने, “अध्यक्षले ‘म धेरै बस्दिनँ, मेरो भूमिका फरक हुन्छ’ भन्नुभएको छ। नयाँ परिवेशमा आन्दोलनको जवाफ एक्सनबाट दिनुपर्छ भन्नुभयो। यो ठूलो र क्रान्तिकारी कदम हो, हामीले यसलाई स्वागत गर्नुपर्छ।” पुनले नेतृत्व हस्तान्तरणलाई व्यक्तिगत होइन, सामूहिक टिम निर्माण र बहसबाट सम्भव भएको बताए। उनले जनयुद्ध र जनआन्दोलनबाट आएका नेताहरूलाई संकटमा कमान्डरको भूमिका निर्वाह गर्न आह्वान गर्दै भने, “हामीले युद्धको बेला जस्तै उपाय खोज्नुपर्छ, कमान्डर भाग्ने होइन, समाधान निकाल्ने हो।” पार्टी एकताको विषयमा पनि उनले सकारात्मक धारणा राखे। “एकता हुनुपर्छ, तर नयाँ नेतृत्वको टिम बनाएर, क्रान्तिकारी स्पिरिट र विचारलाई अगाडि बढाएर गर्नुपर्छ,” उनले भने।
प्रचण्डको विकल्प खोज्नेहरू अवसरवादी: नन्दकिशोर पुन 'पासाङ'
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुन 'पासाङ'ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको बताएका छन्। प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा उनले प्रचण्ड नै नेतृत्वका लागि उपयुक्त भएको जिकिर गरे। पार्टीभित्र प्रचण्डले नेतृत्व छाड्नुपर्ने र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाउनुपर्ने आवाज उठिरहेको सन्दर्भमा पासाङले यस्तो धारणा राखेका हुन्। उनले प्रचण्डको विकल्प खोज्नेहरूलाई अवसरवादीको संज्ञा दिँदै भने, “संकटमा अवसरवाद पैदा हुन्छ, र अहिले त्यस्तै भइरहेको छ।”
माओवादी केन्द्रको नेतृत्व सडकको आवाजले परिवर्तन हुँदैन: हरिबोल गजुरेल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी छ। बिहीबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राखिरहेका छन्। शुक्रबार उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको विकल्प नभएको बताए। गजुरेलले माओवादी केन्द्रलाई आन्दोलनकारी शक्ति भएको उल्लेख गर्दै सडकको आवाजले नेतृत्व परिवर्तन नहुने स्पष्ट पारे। उनले भने, “सडकको आवाजले सरकार परिवर्तन हुन सक्छ, तर पार्टीको नेतृत्व परिवर्तन पार्टीभित्रको छलफल र महाधिवेशनबाट मात्र टुङ्गिन्छ।” नेतृत्व उमेरको आधारमा नभई विचार र क्रान्तिकारी कार्ययोजनाको आधारमा चयन हुने उनको भनाइ छ।
माओवादी केन्द्रीय समिति बैठक : अध्यक्ष प्रचण्डको प्रस्तावमा सबैको समर्थन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत समर्थन देखिएको छ । प्रज्ञा भवन कमलादीमा हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गर्ने लगायतका विषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । उक्त प्रस्ताव उपर भएका ग्रुप छलफलका क्रममा एकदुई जनाबाहेक सबैले अध्यक्षको प्रस्ताव ठिक भएको र अध्यक्ष प्रचण्डको विकल्प नभएको बताएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' र जनार्दन शर्मा 'प्रभाकर'ले राखेको विचारका सन्दर्भमा चर्को आलोचना भएको छ । श्रेष्ठ र शर्मा निकटका व्यक्तिलेसमेत अहिले नै प्रचण्डको विकल्प नभएको निष्कर्ष निकालेका छन् । श्रेष्ठ र शर्मा निकटले केही कुराहरु भने अध्यक्षको प्रतिवेदनमा नै समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् । अहिले जारी बैठकमा समूह नेताहरुले आआफ्नो ग्रुपमा आएका सुझाव तथा टिप्पणी प्रस्तुत गरिरहेका छन् । बागमती, लुम्बिनी, कोशी, मधेस, कर्णाली, गण्डकी, सुदूरपश्चिम, उपत्यका, विशेष कमिटी र प्रवास समूहमा प्रचण्डको नेतृत्वलाई निरन्तरता दिँदै महाधिवेशनमार्फत अगाडि जानुपर्ने निष्कर्ष निकालिएको छ । अध्यक्षले ग्रुपमार्फत आएका सुझाव, प्रतिक्रिया र प्रश्नको जवाफ दिएपछि आज नै केन्द्रीय समिति बबैठक सम्पन्न हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । एउटा समूगत रुपमा आएको निष्कर्ष राखेपछि एकजना पदाधिकारीले बोल्नेगरी समय मिलाइएको छ ।

