मौसम सुधार : मनसुन कमजोर, तर सतर्कता कायम राख्न आह्वान

काठमाडौं । बंगालको खाडीबाट विकास भएको न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएपछि मनसुन कमजोर बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो जारी विज्ञप्तिमा मौसममा सुधार आएको जानकारी दिइन् । यससँगै जनजीवन क्रमशः सामान्य हुँदै गएको छ, तर मनसुन पूर्ण रूपमा बाहिरिन बाँकी रहेकोले वर्षाको सम्भावना कायमै छ ।

अविरल वर्षाले उत्पन्न बाढी र पहिरोले कोसी प्रदेशका जिल्लाहरूमा ठूलो क्षति पुर्‍याएको छ । विशेष गरी इलाममा १३ वटा हाइड्रोपावर आयोजनाको उत्पादन बन्द भएको छ । यी आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट विद्युत् पूर्ण रूपमा ठप्प बनेको ऊर्जा मन्त्रालयले जनाएको छ । प्रभावित आयोजनाहरूमा निम्नानुसार छन् :

  • माइखोला हाइड्रोपावर : ४.५ मेगावाट
  • माइखोला क्यासकेड : ८ मेगावाट
  • माइखोला, जोगमाइखोला, तल्लो जोगमाई, माइवेनी लगायत

त्यस्तै, पाँचथर, इलाम र सिन्धुपाल्चोकका ५ वटा निर्माणाधीन हाइड्रोपावर आयोजनाहरू पनि प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अनुसार, यीमध्ये ४ आयोजनाको उत्पादन ढिलाइ हुनेछ भने ९३ मेगावाट क्षमताका ५ आयोजनामा क्षति पुगेको छ ।

मौसम विभागको विज्ञप्तिअनुसार, असोज १७ गतेदेखि १९ गते बिहानसम्म मधेस र बागमती प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशमा मध्यमदेखि अतिभारी वर्षा भएको थियो । गत २४ घण्टामा अधिकतम ३५८ मिलिमिटर वर्षा रौतहटको महेशपुरमा मापन भएको छ । ३०० मिलिमिटरभन्दा बढी वर्षा हुने केन्द्रहरूमा इलामको हिमाली गाउँ (३३२.६ मिमि), कन्याम टी-स्टेट (३१४.२ मिमि), पर्साको मुडली (३२८.६ मिमि) र रौतहटको महेशपुर (३२८.० मिमि) रहेका छन् ।

वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, सप्तकोसी लगायतका नदीहरूमा जलसतह खतरा तह पार गरेको थियो, जुन हाल घट्दो क्रममा छ । विभागले कोसी नदी चतरा केन्द्रमा खतरा तह नजिक रहेकोले असोज २० गते मध्याह्नसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रवक्ता पोखरेलले विभागको वेबसाइट, सामाजिक सञ्जाल, टोलफ्री सेवा (११५५) र एसएमएसमार्फत अद्यावधिक सूचना प्राप्त गरी सतर्क रहन सबैलाई अनुरोध गरेकी छन् । यसैबीच, यो वर्ष मनसुन जुन १३ को सरदरभन्दा १५ दिनअगावै प्रवेश गरेको थियो भने बाहिरिने सरदर मिति अक्टोबर २ रहेको छ, तर हरेक वर्षमा केही उतारचढाव हुने गर्दछ ।

बाढी, पहिरोबाट भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, मृतकका परिवारप्रति समवेदना प्रकट

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत यो धारणा राख्नुभएको हो।   उहाँले बताउनुभयो, "इलामका विभिन्न स्थानमा पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको र कैयौं बेपत्ता भएको अत्यन्त पीडादायी खबरले दुखित बनाएको छ। त्यस्तै, रसुवामा पनि केही बेपत्ता हुनुका साथै देशका अन्य क्षेत्रमा धेरै घर, राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन्। पशुबाली र अन्नबालीमा ठूलो क्षति पुग्नुका साथै जनजीवनमा गम्भीर असर परेको छ।" यसैगरी, उहाँले भन्नुभयो, "यस दुखद क्षणमा प्राकृतिक विपदाबाट ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।" प्रचण्डले अझै पनि जोखिम पूर्ण रूपमा हटेको नभएको भन्दै सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्नुभएको छ। उहाँले भन्नुभयो, "हाम्रो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देशित गर्दछु। साथै सबैस्तरका पार्टी कार्यालयमा सहायता कक्ष स्थापना गरी उद्धार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु।"

नेकपा (माओवादी केन्द्र)कोसचिवालय बैठक भोलि, यी हुन् बैठकका एजेण्डा

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले सचिवालय बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्तिले निम्ताएको समस्यालगायतका विषयमा पनि छलफल हुनेछ ।  उनका अनुसार, महाधिवेशन मिति तय गर्ने, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। यस्तै, माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो।

इलाममा पहिरोमा बेपत्ताको पनि मृत्यु, पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौं – इलाममा बाढीपहिरोका कारण १७ जनाको मृत्यु भएको छ। जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति सबैभन्दा बढी भएको छ। इलाम नगरपालिका–६, घोसेघारीस्थित डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा भित्र रहेका ६ जनाको मृत्यु भएको छ। सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो। यसैगरी, सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ। घटनास्थलबाट ४ जनाको शव निकालिएको थियो भने एक घाइतेलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सो स्थानमा मानेभञ्ज्याङबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र डोटेलको नेतृत्वमा ७ सदस्यीय टोली परिचालन गरिएको थियो। देउमाई नगरपालिका–५, घुसेनस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। एक जनालाई भने सकुशल उद्धार गरिएको छ। माङसेबुङ गाउँपालिका–५, पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिका–३, रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बु पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उद्धार कार्य जारी रहँदा थप विवरण सङ्कलन भइरहेको छ।

इलाममा पहिरोमा पुरिएर कम्तिमा दुईजनाको मृत्यु, १० जना बेपत्ता

काठमाडौं। इलाममा पहिरो गएर दुई जनाको मृत्यु भएको छ भने कम्तिमा १० जना बेपत्ता छन्। प्रहरीले मानेभन्ज्याङ, देउमाई र इलाम नगरपालिका लगायतका क्षेत्रमा घरहरू पुरिएका प्रारम्भिक विवरण पुष्टि गरेको छ, तर कठिन भूगोलले तथ्यांक संकलनमा समस्या छ। इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन् भने दुई घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको स्थानीय रेवज तामाङले बताए। माईजोगमाई–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना बेपत्ता छन्। सन्दकपुर–३ सुलुबुङमा कुमार सेढाईका दुई  र माङ्सेबुङमा थप पाँच जना हराएका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बाढी–पहिरोले क्षति पुर्‍याए पनि संख्या एकिन नभएको बताइन्। पानी रोकिएपछि बिहानैदेखि खोज तथा उद्धार कार्य तीव्र पारिएको  बताइन् । 

मौसममा आएको सुधारसँगै बन्द आन्तरिक उडान बिहानैदेखि सुचारु

काठमाडौं । हिजो बिहानदेखि देशभर मौसममा आएको खराबीका कारण बन्द रहेका आन्तरिक उडानहरू आज बिहानैदेखि सुचारु भएका छन्। जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार बागमती प्रदेशमा बदली र मध्यम वर्षाको सम्भावना रहे पनि, बिहानको समयमा मौसम सफा हुँदै गएपछि उडान सञ्चालनमा सहजता आएको हो। नेपाल वायुसेवा निगम (NAC) र विभिन्न निजी वायुसेवा प्रदायक कम्पनीहरूले काठमाडौंबाट पोखरा, भैरहवा, नेपालगञ्ज, जुम्ला लगायतका गन्तव्यतर्फका उडानहरू बिहान ६ बजेपछि क्रमशः सुरु गरेका छन्। हिजो  बिहानदेखि नै बागमती, कोशी र मधेश प्रदेशमा मेघगर्जन तथा भारी वर्षाका कारण आन्तरिक उडानहरू पूर्ण रूपमा स्थगित गरिएको थियो। यसले हजारौं यात्रुहरूलाई असुविधा भएको थियो। "मौसममा आएको सुधारले उडान सञ्चालनमा सहजता आएको छ। यात्रुहरूको मागअनुसार बिहानैदेखि उडानहरू सुरु गरेका छौं," नेपाल वायुसेवा निगमका एक अधिकारीले बताए। काठमाडौंबाट आज बिहानसम्ममा २० भन्दा बढी आन्तरिक उडानहरू सफलतापूर्वक उडेका छन्, जसमा पोखरा र भैरहवा गन्तव्यका उडानहरू सबैभन्दा बढी प्रभावित थिए। अन्य विभिन्न विमानस्थलहरूबाट पनि आन्तरिक उडानहरू क्रमशः सुचारु हुँदै गएका छन्। लुम्बिनी प्रदेशका भैरहवा र नेपालगञ्ज विमानस्थलहरूबाट काठमाडौं र अन्य गन्तव्यतर्फका उडानहरू बिहान ७ बजेपछि सुरु भएका छन्। पोखरा विमानस्थल पनि पूर्ण रूपमा सञ्चालनमा फर्किएको छ। कोशी र मधेश प्रदेशका विमानस्थलहरूमा पनि मौसम सुधारसँगै प्रगति देखिएको छ। विशेषगरी, भद्रपुर र विराटनगर विमानस्थलहरूबाट बिहानैदेखि काठमाडौं तथा अन्य गन्तव्यतर्फका उडानहरू सुरु भएका छन्। यसले पूर्वी क्षेत्रका यात्रुहरूलाई ठूलो राहत पुगेको छ। यद्यपि, जनकपुर र राजविराज जस्ता केही विमानस्थलहरूमा भने दिउँसो सम्म पनि बदली र वर्षाको सम्भावनाका कारण उडानहरू स्थगित नै छन्। विभागको पूर्वानुमानअनुसार कोशी र मधेश प्रदेशमा दिउँसो भारी वर्षाको जोखिम रहेकोले यी क्षेत्रका यात्रुहरूले थप पर्खनुपर्ने अवस्था छ। हिजोको मौसम खराबीले अन्तर्राष्ट्रिय उडानहरूलाई पनि असर पुर्‍याएको थियो। दिल्ली, दोहा र काठमाडौंका अन्तर्राष्ट्रिय उडानहरूले वैकल्पिक ल्याण्डिङ गर्नुपरेको थियो।   यद्यपि, आज अन्तर्राष्ट्रिय उडानहरू पूर्ण रूपमा नियमित सञ्चालन भइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली, दुबई, क्वालालम्पुर र अन्य गन्तव्यतर्फका उडानहरू निर्धारित समयमै उडेका छन्। विमानस्थलका अधिकारीहरूका अनुसार, अन्तर्राष्ट्रिय उडानहरूमा कुनै पनि अवरोध नभएको र यात्रुहरूको चाप रहेको छ। मौसम विभागले आज दिउँसो र राती पनि कोशी, मधेश र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना जनाएको छ। यसले गर्दा उडान सञ्चालन गर्ने कम्पनीहरूले यात्रुहरूलाई थप अपडेटका लागि आधिकारिक वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न आग्रह गरेका छन्।   यो मौसमले गर्दा देशभरका यात्रुहरूले भोग्नुपरेको असुविधापछि अब दैनिक उडानहरू सामान्यतर्फ फर्किँदै गएका छन्।  

आजको मौसम: कोशी र मधेस प्रदेशका एकदुई ठाउँमा भारी वर्षा, अन्य प्रदेशमा भारी वर्षाको सम्भावना छैन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो र राती देशभर मनसुन वायुको प्रभाव कायम रहने जनाएको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले कोशी र मधेश प्रदेशमा पूर्ण बदली र वर्षाको सम्भावना उच्च रहेको छ भने बागमती र लुम्बिनी प्रदेशमा साधारण बदली हुने अनुमान छ। विभागका अनुसार, आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रहनेछ। बागमती प्रदेश (जसमा काठमाडौं उपत्यका पर्छ) र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी र मधेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा (२४ घण्टामा ५० मिलिमिटरभन्दा बढी) को जोखिम रहेको छ। यसैगरी, आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भूभागहरूमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरू तथा देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले चेतावनी दिएको छ। मौसमविद्हरूका अनुसार, यो अवस्थाको मुख्य कारण बंगालको खाडीबाट प्रवेश गरेको मनसुन वायु हो, जसले देशभर जलवाष्पको मात्रा बढाएको छ। काठमाडौं उपत्यकामा दिउँसो साधारण बदलीसँगै हल्का वर्षा वा मध्यम वर्षाको सम्भावना छ भने राती पनि बदली कायम रहने जनाइएको छ। विभागले वर्षा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र बाढी तथा भूस्खलनको जोखिमबाट बच्न आग्रह गरेको छ। थप विवरणका लागि विभागको आधिकारिक वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न सकिन्छ। मौसम सुधार हुँदै गए पनि, यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।

काठमाडौं उपत्यकामा वर्षाको संकट समाप्त, भारी वर्षा नहुने मौसमविद्को भनाइ

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ। शुक्रबारदेखि सक्रिय पानी पार्ने प्रणाली क्रमशः पूर्वतिर सरेको छ र आइतबार साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना रहेको छ। मौसमविद् डेभिड ढकालले काठमाडौं उपत्यकामा लगातार वर्षा वा भारी वर्षा (२४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म) नहुने जानकारी दिए। 'पानी पार्ने प्रणाली पूर्वतिर सरेको छ। आइतबार साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना छ,' उनले भने, 'काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने जोखिम छैन।' शुक्रबारदेखि नेपालको मनसुन प्रणालीमा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायु र भारतको उडिसा राज्य आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले काठमाडौं उपत्यकासहित तराई–पहाडी क्षेत्रमा भीषण वर्षा भएको थियो। यसले उपत्यकामा बाढी र सडक अवरोध जस्ता समस्या निम्त्याएको थियो। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा निम्न वर्षा मापन भएको छ: नैकापमा १४१.६ मिलिमिटर, सुन्दरीजलमा १४४.६, गोदावरी ललितपुरमा १७८.८, लेलेमा १८४.२, पनौतीको खोपासीमा २१५.२, मकवानपुरगढीमा २१० र सिन्धुलीको हरिहरपुरगढीमा २९५ मिलिमिटर। यीमध्ये उपत्यकाका नजिकका स्थानहरूमा वर्षाको तीव्रता उच्च रहे पनि अब घट्दो क्रममा छ। तराईका अन्य जिल्लाहरूमा भने वर्षा अझै तीव्र देखिएको छ। रौतहटको महेशपुरमा ३५२ मिलिमिटर, गौरमा ३३४, पर्साको मुडलीमा २९०.८, वीरगञ्जमा २८८, बाराको सिमरा विमानस्थलमा २२५.४, सर्लाहीको मनुस्मारामा २३३.६, धनुषाको तुलसीमा २४५.२, सप्तरीको बरमझियामा १८५.४, सुनसरीको सप्तकोशीमा २२६.८, मोरङको हरैंचामा २४४.४ र इलामको हिमालीमा ३३५.४ मिलिमिटर वर्षा भएको छ। पूर्वी क्षेत्रमा पनि वर्षाको तीव्रता केही कमजोर भए पनि साँझसम्म पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान: आइतबार दिउँसो बागमती प्रदेशमा साधारणतया बदली रहनेछ। मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ, तर भारी वर्षाको जोखिम न्यून छ। राति पनि उपत्यकामा बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ। कोशी र मधेस प्रदेशमा भने भारी वर्षाको सम्भावना एक–दुई स्थानमा छ। मौसम महाशाखाले काठमाडौंवासीहरूलाई सतर्क रहन र बाढी प्रभावित क्षेत्रहरूबाट सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। अब मौसम सुधार हुँदै गएकाले दैनिक जीवन सामान्य हुने अपेक्षा गरिएको छ।

आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डको अपिल

काठमाडौं  । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले असोज १७ गतेदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेको बताउँदै पार्टीका सम्पूर्ण नेता-कार्यकर्तालाई प्रभावित जनताको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिनुभएको छ ।   सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उहाँले भन्नुभयो, "यहि असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ ।" उहाँले आज (शनिबार) सम्म कतिपय स्थानमा वर्षाको मापन ३०० मिलिमिटरभन्दा बढी पुगेको र यो क्रम अझै जारी रहने अनुमान गरिएको उल्लेख गर्दै चार दिनको वर्षा सामान्य नभई उच्च जोखिम बढाउने प्रकृतिको भएको बताउनुभयो । प्रचण्डले कतिपय नदीले खतराको रेखा पार गरिसकेको र लगातार पानी परिरहेकाले पहिरो र बाढीको जोखिम अझ गहिरिँदै गएको उल्लेख गर्दै माओवादी केन्द्रका सम्पूर्ण नेता-कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिनुभयो । उहाँले यतिखेर पार्टीको सहायक संगठन युवा कम्युनिष्ट लिग (YCL) का हजारौं कार्यकर्ता विपद् प्रतिकार्यमा खटिएका छन् भन्दै पार्टीका अन्य सबै तहहरू, विपद् व्यवस्थापन विभाग, स्वयम्सेवक समूह तथा भातृ-सहयोगी संगठनहरूलाई समेत खोज, उद्धार र राहतका काममा तत्काल जुट्न विशेष आह्वान गर्नुभयो । अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेको अवस्थामा उहाँले उनीहरूको खानबस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय तहका जिम्मेवार निकायहरू र आम नागरिकलाई समेत सहयोगको आग्रह गर्नुभयो । मुलुकले सामना गरिरहेको यो विशेष विपद्-परिस्थितिमा प्रचण्डले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले युद्धस्तरमा समन्वय र नेतृत्व गर्न विशेष अनुरोध गर्दै सबै राजनीतिक दलहरू, सामाजिक संघ-संस्था तथा नागरिक समाजले आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न पनि हार्दिक अपिल गर्नुभयो ।

पार्टीका सबै तह र जनवर्गीय संगठन उद्धार तथा राहत कार्यमा लाग्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको छ । यसैबीच, नेकपा माओवादी केन्द्रले सम्भावित बाढी, पहिरो र डुबानका कारण बढ्दो जोखिमलाई ध्यानमा राख्दै सबै नागरिकलाई सतर्क रहन र अत्यावश्यक काम नपरी यात्रा नगर्न अपील गरेको छ । पार्टीका प्रवक्ता अग्नि सापकोटाले आज जारी गरेको प्रेस विज्ञप्तिमा भारी वर्षाका कारण प्रमुख राजमार्गहरू बन्द भएका र हजारौं यात्रुहरू बाटोमा अलपत्र परेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार आज राति वर्षाको मात्रा अझ बढेर जोखिम थप बढ्न सक्ने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, "सम्भावित जोखिम भएका स्थानका नागरिकहरूलाई सतर्कता अपनाउन हार्दिक अपील गर्दछौं । बाढी, पहिरो, डुबान, भूक्षय लगायतका विपद्का कारण मानवीय क्षति समेत हुन सक्ने भएकोले अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन तथा सुरक्षित स्थानमा रहन सबैलाई अनुरोध समेत गरिन्छ ।" यसैगरी, विपद्बाट सिर्जित विषम परिस्थितिमा पार्टीका सबै तहका पंक्ति, जनवर्गीय संगठन र मोर्चाका नेता तथा कार्यकर्ताहरूलाई राम्रो तयारी र उच्च सतर्कता अपनाउँदै जनतासँगै रहेर उद्धार तथा राहत कार्यमा लाग्न हार्दिक अपिल गरिएको छ । प्रवक्ता सापकोटाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूलाई विपद्बाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक क्रियाशील हुन पनि अनुरोध गरेका छन् ।

काठमाडौंका नदी-खोला करिडोर सडकमा साँझ ६ देखि बिहान ६ सम्म सवारी आवागमन रोक

काठमाडौं। निरन्तर भारी वर्षाका कारण नदी-खोलाहरूको जलस्तर बढ्ने जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी-खोला किनारका सडकहरू (करिडोर सडक) मा आज साँझ ६ बजे देखि भोलि बिहान ६ बजे सम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले जारी गरेको सूचनामा उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको उल्लेख गर्दै आज राति वर्षाको मात्रा थप बढ्ने र नदी-खोला किनारका सडकहरू डुबानमा परेर जोखिम बढ्ने सम्भावना रहेको जनाएको छ । यसलाई न्यूनीकरण गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आवश्यकतानुसार सवारी सञ्चालन रोक्न निर्देशन दिइएको हो । सूचनामा भनिएको छ, ‘सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी-खोला किनारका सडकहरूमा आज साँझ ६:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा आवश्यकतानुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ ।’ यो कदमले उपत्यकाका बासिन्दा र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै विपद्को सम्भावनालाई कम गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीहरू डुबानमा, नेपाली सेना उद्दारमा खटियो

काठमाडौं। निरन्तरको अविरल वर्षासँगै काठमाडौंका विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन् । विशेष गरी बागमती खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूमा पानी पसेपछि स्थानीयवासीहरू विस्थापित हुन थालेका छन् । डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरी ती बस्तीहरू खाली गराउने कार्य सुरु गरिएको छ । सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा पुगेर अवस्था बुझिरहेका छन् भने आवश्यक परेमा नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने तथा सामान सार्न सहयोग गर्ने काम भइरहेको छ । लगातारको वर्षाले खोला–नदीको जलस्तर बढ्दै गएको र बागमती, मनोहरा तथा विष्णुमती आसपासका तटीय बस्तीहरूमा विशेष जोखिम देखिएको अधिकारीहरूले बताएका छन् । सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा रहन र स्थानीयवासीलाई सम्भावित जोखिम क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ । यसैबीच, सरकारले झरी र बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई सकेसम्म छिटो उद्धार र राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रभावितहरूले नजिकको स्थानीय प्रशासनमा फोन गरेर सहयोग माग्न सकिने व्यवस्था गरिएको छ । झरी र बाढीबाट प्रभावितहरूलाई तत्काल उद्धार गर्न आवश्यक परेमा हेलिकप्टरको व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ । गृह मन्त्रालयले झरीका कारण बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने र उनीहरूलाई बस्ने तथा खाने व्यवस्था मिलाउन स्थानीय प्रशासनहरूलाई निर्देशन दिने निर्णय गरेको हो । यो तयारीले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ ।

हमासले नेपालका विपिनसहित ४८ बन्धक हस्तान्त्रण गर्ने, ट्रम्पको गाजा शान्ति मिसनमा के हुँदैछ ?

काठमाडौं। गाजा परिवर्तनको महत्वपूर्ण चरणबाट गुज्रिरहेको छ । गाजा युद्धका मुख्य पक्षधर हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना स्वीकार गरेको छ । तर यो शान्ति योजनाको वास्तविक परीक्षा अब सुरु हुन लागेको छ । जब हमासले बन्दीहरूलाई छोड्नुपर्नेछ, यसको बदलामा इजरायलले गाजाको भूमि खाली गर्नुपर्नेछ । सबैभन्दा ठूलो चुनौती त तब आउनेछ जब हमासले आफ्ना हतियारहरू बुझाउनु पर्नेछ । इजरायलका ४८ जना व्यक्ति अझै पनि हमासको कब्जामा छन् ।  त्यसमध्ये नेपालका विपिन जोशीसमेत सामेल छन् । विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । हमाससँग इजरायलका २८ यस्ता कैदीहरू छन् जसको मृत्यु भइसकेको छ, हमासले यिनीहरूका शवहरू अझै आफूसँग राखेको छ । अक्टोबर ७, २०२३ त्यो मिति थियो जब हमासले उत्सव मनाइरहेका इजरायलीहरूमाथि आक्रमण गरेका थिए । आश्चर्यजनक यो आक्रमणमा १२०० इजरायलीहरू मारिएका थिए । यो आक्रमणबाट निस्किएका बलात्कार, हत्या र क्रूर अत्याचारका कथाहरूले मानिसहरूलाई क्रोध र दुःखले भरिदिएका थिए । हमासले सोही समयमा २५० भन्दा बढी इजरायलीहरूलाई बन्दी बनाएको थियो । यसमध्ये केही बन्दीहरूलाई हमासले फिर्ता गरिसकेको छ । यसपछि इजरायलको प्रतिशोध सुरु भयो जुन अझ भयानक र मानवताको लागि लज्जास्पद थियो । इजरायलले यो प्रतिशोधको लडाइँमा अहिलेसम्म ६६ हजार फिलिस्तिनीहरूलाई मारिदिएको छ । हमासको सैन्य र राजनीतिक नेतृत्व लगभग शून्य छ । गाजा भयानक भोकमरीको दौरबाट गुज्रिरहेको छ । बालबालिका र महिलाहरू खानाको अभावमा कराउँदै छन् । तर लगभग दुई वर्ष पूरा हुन लाग्दा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सूचना दिएका छन् जसबाट गाजामा शान्ति पुनर्स्थापनाको आशा बढेको छ । ट्रम्पले भनेका छन् कि हमासले इजरायलका बाँकी बन्दीहरूलाई रिहा गर्न राजी छ । अर्थात् हमासले शान्ति सम्झौता स्वीकार गरेको छ । यसैसँग ट्रम्पले इजरायललाई गाजामा बमबारी रोक्न भनेका छन् । ट्रम्पको प्रस्तावमा हमासले के भन्यो ? हमासलाई दिइएको ट्रम्पको शान्ति प्रस्ताव आइतबार सकिन लागेको थियो । यसअघि हमासले भनेको छ कि ऊ गाजामा गोप्य स्थानमा राखिएका सबै इजरायली बन्दीहरूलाई, चाहे जीवित होऊन् वा मृत, रिहा गर्न सहमत छ । हमाससँग इजरायलका २८ यस्ता कैदीहरू छन् जसको मृत्यु भइसकेको छ, हमासले यिनीहरूका शवहरू अझै आफूसँग राखेको छ । अब हमासले यिनीहरूका मृत शरीरहरू पनि इजरायललाई हस्तान्तरण गर्नेछ । हमासले भनेको छ कि ऊ यो शर्तमा सहमत हुँदैछ ताकि युद्धको अन्त्य होस् र इजरायली सेना गाजा पट्टीबाट पूर्ण रूपमा हटोस् । हमासले यो पनि भनेको छ कि ऊ गाजाको सत्ता फिलिस्तिनी टेक्नोक्र्याटहरूको एउटा समूहलाई हस्तान्तरण दिनेछ । हमासको निरस्त्रीकरणमा यो समूहले भनेको छ कि यसमा "एउटा व्यापक फिलिस्तिनी राष्ट्रिय ढाँचाभित्र छलफल गर्नुपर्नेछ, जसमा हमासलाई पनि समावेश गरिनेछ र ऊ यसमा पूर्ण जिम्मेवारी हुनेछ । "

अविरल वर्षाका कारण सरकारद्वारा आइतबार-सोमबार सार्वजनिक बिदा घोषणा

काठमाडौं । लगातारको अविरल वर्षासँगै उत्पन्न आपत्कालीन अवस्थालाई मूल्यांकन गर्दै सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ । देशभरका राजमार्गहरूमा खसेका पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै गृह मन्त्रालयले यो निर्णय गरेको स्रोतले जनाएको छ । सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने तयारी भइरहे पनि विपद्को जोखिमलाई न्यूनीकरण गर्न बिदा दिने निधो गरिएको हो । गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकृतहरूसँग सुरक्षाबारे छलफल गर्दै उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने र आवश्यक परेमा तत्काल परिचालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । यो बिदाले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र विपद् व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

मौसम विज्ञान विभागबाट १० बुँदे मौसमी अपडेट : यी हुन् बढी प्रभावित हुनसक्ने जिल्ला

काठमाडौं । निरन्तर वर्षाका कारण मधेश र बागमती प्रदेशका जिल्लाहरूमा आज दिउँसोदेखि नै नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ । पर्सा र रौतहट जिल्लाहरूमा पछिल्लो १२ घण्टामा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले स-साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय तथा डुबान हुने होचा भू-भागका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । विभागको बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाले आज शनिबार दिउँसो १:५० सम्म देशका सबै प्रमुख नदीहरूको जलस्तर सतर्कता तहभन्दा तल रहेको जनाएको छ । पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्का देखि मध्यम वर्षा तथा कोशी प्रदेशका धेरैजसो जिल्लाहरूमा हल्का वर्षा मापन भएको छ । काठमाडौं जिल्लास्थित बागमती जलाधारका जलमापन केन्द्रहरू र कमला जलाधार क्षेत्रका केन्द्रहरूको जलस्तर बढ्दो क्रममा रहेको तथा राति सतर्कता तह पार गर्ने सम्भावना रहेको विभागले उल्लेख गरेको छ । आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूमा बहाव उल्लेख्य बढ्न थाल्ने भएकाले आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ्ग, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी जारी गरिएको छ । भोलि आइतबार विहानदेखि बेलुकीसम्म नारायणी, कालिगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह नजिक पुग्न सक्ने जनाइएको छ । यसैगरी, आइतबार रातिदेखि कोशी, कन्काई लगायतका नदी जलाधारका क्षेत्रहरूमा समेत बहाव उल्लेख्य बढ्न सक्ने भएकाले बाढी तथा डुबान हुने तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जोड दिएको छ । कमजोर तथा भिरालो जमिनहरूमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु पर्ने चेतावनी दिँदै विभागले थप जानकारीका लागि आफ्नो सामाजिक सञ्जाल "Nepal Flood Alert-नेपाल बाढी सूचना" फेसबुक र एक्स (ट्विटर) पेजहरू हेर्न आह्वान गरेको छ । विभागका अनुसार, यो चेतावनीले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई तत्काल उद्धार तथा राहतका लागि तयारी गर्न र स्थानीय प्रशासनसँग समन्वय गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे माओवादी नेता नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका  नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।   आन्दोलनका क्रममा प्रहरीको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न र शीघ्र स्वास्थ्यलाभको कामना गर्न उनी आज अस्पताल गएका हुन् । सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले भनेका छन्, ‘चिकित्सक, नर्स तथा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाका कारण उहाँहरूको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । यसअघि ४१ जना घाइते उपचारपछि घर फर्किसक्नुभएको छ भने हाल ५ जना विभिन्न वार्डमा उपचाररत हुनुहुन्छ ।’ उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थपेका छन्, ‘साथै, उहाँहरूको सौर्यमय संघर्ष खेर जान नदिई त्यसलाई उपलब्धिमूलक बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’