माओवादी नेतृत्वविरुद्ध झुटो प्रचार गर्नेलाई कारबाही नभए वाइसिएल र अखिल क्रान्तिकारीले प्रतिवाद गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र युवा संगठन वाइसिएल नेपालले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा जेनजी बिद्रोहको एक महिनापछि पनि देशमा विधिको शासन, शान्ति-सुरक्षा र राजनीतिक स्थायित्व कायम नभएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
दुवै संगठनका नेतृत्वले तोकिएको मितिमा आगामी फागुनको निर्वाचन सुनिश्चित गर्न, जेनजी आन्दोलनका घटनाहरूको छानबिन गर्न र माओवादी नेतृत्वमाथिको पूर्वाग्रहपूर्ण व्यवहार रोक्न सरकारसँग जोडदार माग गरेका छन्।
अखिल (क्रान्तिकारी)का अध्यक्ष विजयप्रकाश सापकोटा र वाइसीएल नेपालका अध्यक्ष पुष्प ओलीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “जेनजी बिद्रोह सम्पन्न भएको एक महिना पुग्दासम्म पनि देशमा विधिको शासन, शान्ति–सुरक्षा र स्थायित्व कायम हुन नसकेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
राष्ट्रिय सार्वभौमिकता, लोकतन्त्र, सुशासन र समृद्धिको यात्रामा सिर्जित अवरोधले मुलुक पुनः अनिश्चिततातर्फ धकेलिएको उल्लेख गर्दै संविधानले नागरिकलाई प्रदान गरेका मौलिक अधिकारहरूको व्यवहारिक कार्यान्वयन नभएको र शान्ति-सुरक्षाको अवस्था दिनानुदिन जटिल बन्दै गएको चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा जेनजी बिद्रोहको मूल मर्मअनुसार सुशासन र विधिको शासन सुदृढ हुनुपर्नेमा उल्टै शासन व्यवस्था कमजोर हुँदै गएको भन्दै सरकार तथा विभिन्न प्रतिगामी शक्तिहरूले राजनीतिक दलप्रति निषेधात्मक व्यवहार गरेको आरोप लगाइएको छ। यसले फागुनमा निर्धारित निर्वाचनप्रति नै शंका उत्पन्न गरेको बताउँदै तयारी सुस्त गतिमा अगाडि बढिरहेकोमा चिन्ता व्यक्त गरिएको छ। “निर्वाचन सुनिश्चित गर्न देशभक्त, वामपन्थी र जनपक्षीय सबै शक्तिहरू एकताबद्ध हुनुपर्ने आजको आवश्यकता हो,” विज्ञप्तिमा उल्लेख छ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) र यसका शीर्ष नेताविरुद्ध नियोजित रूपमा झुट्टा, भ्रामक र तथ्यहीन प्रचार–प्रसार भइरहेको र केही सञ्चार माध्यमहरूले यसलाई प्राथमिकता दिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ। “भ्रामक सूचना फैलाउने व्यक्तिहरूविरुद्ध दर्ता गरिएको किटानी जाहेरीमा प्रहरीले कुनै कारबाही नगरेकोप्रति हामी दुःख व्यक्त गर्दछौँ। यथाशीघ्र कानूनी कारबाही नभएमा हामी आवश्यक कदम चाल्न बाध्य हुनेछौँ,” विज्ञप्तिमा भनिएको छ। यस्ता पूर्वाग्रहपूर्ण कार्य निरन्तर रहेमा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिँदै यसको जिम्मेवारी तथ्यहीन प्रचार गर्ने व्यक्ति र प्रशासनले वहन गर्नुपर्ने उल्लेख गरिएको छ
हालका घटनाक्रममा जेलबाट निस्किएका कैदीबन्दी, हराइरहेका हतियार र उत्पन्न असुरक्षालाई मुख्य चुनौती मानेर राजनीतिक दलका नेता–कार्यकर्ता, निर्वाचन कर्मचारी र आम मतदाताको सुरक्षा सरकारको प्राथमिक जिम्मेवारी भएको जोड दिइएको छ। भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा नागरिकमाथि भएको दमन र हत्याको छानबिन गर्न सरकार असफल भएको भन्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरिएको छ। त्यसैगरी, भदौ २४ गतेका विध्वंसकारी क्रियाकलापमा संलग्नहरूलाई कारबाही नगरेकोप्रति असफलता ठहर गर्दै सुरक्षाकर्मीमाथिका आक्रमण, हत्या र हतियार लुटपाटका दोषीहरूलाई तुरुन्त कारबाही गर्न तथा सुरक्षाकर्मीलाई आवश्यक प्राविधिक र सुरक्षात्मक सामग्री उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ।
राजनीतिक दलका नेताहरूमाथिको पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण व्यवहार तत्काल अन्त्य गर्न, अनावश्यक पक्राउ र सास्ती रोक्न तथा विश्वासिलो राजनीतिक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक रिक्तता र अस्थिरताको समाधान घोषित मितिमै हुने निर्वाचनबाट मात्र सम्भव भएको भन्दै संविधान र विधिको शासनलाई सही मार्गमा ल्याउन चुनावी वातावरण निर्माण सरकारको प्रमुख कर्तव्य भएको उल्लेख छ। वामपन्थी, जनपक्षीय, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूसँग हातेमालो गरी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई सहकार्यको आव्हान गरिएको छ।
जेनेरेसन जेडको आवाज हाम्रो पनि आवाज हो, माओवादी मुलधारको पार्टी बन्छ : सयोजक प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जहाँ पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राख्नुभएको छ । कार्यक्रमअघि उहाँले बिहान चितवन देवघाटसम्म मोर्निङ वाकसमेत गर्नुभएको थियो । संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई “नयाँ राजनीतिक चेतना” को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताउनुभयो। उहाँले भन्नुभयो, “युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।” संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको “गम्भीर सुरक्षा लापरवाही” लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भुमिकाको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।” संयोजक प्रचण्डले घटनापछि २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको बताउनुभयो । “हामीले आन्दोलनलाई वैधानिकता दियौं, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो, र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो,” उहाँले भन्नुभयो । २४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसंग पनि उहाँले स्पष्ट गर्नुभयो ।“हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौं,” उहाँले भन्नुभयो । संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन् ।” संसद पुनःस्थापना हुनसक्ने भएपनि उक्त एजेन्डा अब गौण बनिसकेको र एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको उहाँले बताउनुभयो। एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।” पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई लक्षित गर्दै संयोजक प्रचण्डले विगतका गल्तीहरूबाट कुनै आत्मसमिक्षा नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर आज पनि कुनै पश्चाताप छैन ।” पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिनुभयो ।उहाँले स्पष्ट पार्नुभयो, “समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ । त्यो घोषणा केही दिनभित्र हुनेछ । हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो ।” पार्टीको भविष्यप्रति विश्वस्त देखिनुभएका संयोजक प्रचण्डले हालै देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको बताएको उल्लेख गर्नुभयो ।“तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेका छन्,” उहाँले भन्नुभयो । कार्यकर्ताहरूलाई अबको प्राथमिक कार्य निर्वाचन तयारी रहेको स्मरण गराउँदै संयोजक प्रचण्डले निर्वाचनमा सहभागी भई जनताको पक्षमा काम गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ । हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ ।”
विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक: दुई तिहाइ सदस्यद्वारा माओवादीसँग तत्काल एकतामा जोड
कपिलवस्तु– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा बोल्ने दुई तिहाइभन्दा बढी सदस्यले नेकपा (माओवादी केन्द्र) र समाजवादी मोर्चासँग तत्काल पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन्। कपिलवस्तुको शिवगढीमा चार दिनदेखि जारी यो बैठक पार्टीको भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण छलफलमा केन्द्रित छ। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले माओवादी केन्द्रसँगको एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका एक नेताले बताए। प्रदेशगत रूपमा पनि एकताको पक्षमा मत व्यक्त भएको छ। "पार्टी एकताका लागि सबैजसो प्रदेशबाट मत आएको छ," ती नेताले भने। यसैगरी, विभिन्न अनलाइन र व्यक्तिहरूबाट भइरहेको एकता तथा ध्रुवीकरण विरोधी क्रियाकलापबारे पनि बैठकमा छलफल भएको थियो। अनौपचारिक रूपमा धेरै केन्द्रीय सदस्यहरूले महासचिव विप्लवलाई भेटेर तत्काल ठोस निर्णय गरी एकताका लागि पहल लिन आग्रह गरेका थिए। "हामीले महासचिव कमरेडलाई ग्राउण्डको भावना सुनाएका छौँ र तत्काल निर्णय गर्न आग्रह गरेका छौँ। यदि निर्णय भावनाअनुसार नआएमा नयाँ ढङ्गले बहसमा लाग्नेछौँ," ती सदस्यले थपे। बैठकमा बोल्ने अधिकाँशले पार्टी एकतामा जोड दिएका हुन् । उनले भने, 'हाम्रो केन्द्रीय समिति बैठकमा बोल्ने दुई तिहाई केन्द्रीय समितिका सदस्यले तत्काल नेकपा माओवादी केन्द्र र समाजवादी मोर्चामा आवद्ध दलसँग पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय समिति सदस्यले बोल्नेक्रम सकिएको छ ।' कपिलबस्तुको शिवगढीमा जारी बैठकमा प्रदेशगतरुपमा नै पार्टी एकतामा जोड दिइएको नेताहरुले बताए । अर्का एक केन्द्रीय सदस्यले भने, 'पार्टी एकताका लागि सबैजसो प्रदेशबाट मत आएको छ । तर, केही नेताहरुले भने आफूलाई केन्द्रमा राखेर माओवादी धारलाई कमजोर बनाउने प्रयास गर्नु भएको छ । विभिन्न अनलाइन र व्यक्तिसँग पार्टी एकता तथा ध्रुवीकरण विरोधी काम गरिरहेका विषयमासमेत बैठकमा पनि कुरा भएको छ ।' अनौपचारिकरुपमा धेरै नेताहरुले महासचिव विप्लवलाई भेटेरै तत्काल ठोस निर्णय गरेर पार्टी एकतका लागि पहल लिन आग्रह पनि गरेका छन् । ती केन्द्रीय सदस्यले भने, 'हामीले महासचिव कमरेडलाई अनौपचारिकरुपमा ग्राउण्डको भावनाको कुरा पनि गरेका छौँ । तत्काल ठोस निर्णय गरेर पार्टी एकताका लागि पहल लिन पनि आग्रह गरेका छौँ । निर्णय भावनाअनुसारको आएन भने त्यसपछि हामी नयाँ ढंगले बहसमा लाग्ने नै छौँ ।' बैठकमा केही नेताहरूले विप्लवलाई केन्द्रमा राखेर माओवादी धारलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे। केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सकिएपछि महासचिव विप्लवले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि समसामयिक प्रस्ताव पारित गर्दै बैठक आज नै समापन हुने बताइएको छ। यस बैठकले भूमिगत राजनीतिबाट व्यवस्थागत राजनीतितर्फको संक्रमणलाई पनि उजागर गरेको छ, जसले पार्टीको ऐतिहासिक क्षणको रूपमा हेरिएको छ।
टिट्वेन्टी विश्वकप छनोट : अपराजित नेपालद्वारा ओमान ३८ रनले पराजित
काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्रशान्त क्षेत्र (ईएपी) छनोट प्रतियोगितामा नेपालले अपराजित यात्रा कायम राख्दै उपाधिको बलियो दाबेदार बनेको छ। बुधबार ओमानविरुद्धको खेलमा ३८ रनको सहज जित निकालेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली शीर्ष स्थानमा उक्लिएको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको मध्यम लक्ष्य दिएको थियो। ओमानले यो लक्ष्य पछ्याउँदा २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका लागि विनायक शुम्लाले १९ बलमा ३२ रनको सर्वाधिक योगदान दिए भने मोहम्मद नदीमले २५ रन थपे। अन्य ब्याट्सम्यानले उल्लेख्य स्कोर गर्न सकेनन्। नेपालका स्पिनर गुल्शन झाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ३ विकेट हात पारे। नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट कब्जा गरे। नेपालका बलरहरुले ओमानलाई दबाबमा राख्दै लगातार विकेट झार्दै जित सुनिश्चित गरे। त्यसअघि ब्याटिङ गर्दा नेपालका ओपनर कुशल भुर्तेलले संयमित तथा आक्रामक इनिङ्ग खेल्दै ५१ बलमा ६९ रनको अमूल्य योगदान दिए। आसिफ शेखले २४ रन, गुल्शन झाले २ छक्कासहित १८ रन तथा आदिल आलमले १६ रन जोडे। अन्य ब्याट्सम्यानबाट उल्लेख्य स्कोर नआए पनि राम्रो सुरुवाती साझेदारीले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्यायो। पावरप्लेमा विकेट नगुमाई ५३ रन जोड्ने क्रममा नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाए पनि भुर्तेलको अर्धशतकीय पारीले टिमलाई मजबुत आधार दियो। ओमानका बॉलरहरूले भने राम्रो प्रतिक्रिया दिए। नदीम खानले ४ ओभरमा मात्र २० रन दिएर ४ विकेट लिँदै नेपालको मध्यमक्रमलाई धराशायी बनाए। शुफिया मेहमुद र जितेन रामानन्दीले समान २–२ विकेट हात पारे। यो जितसँगै नेपालले ४ खेलमा ४ जित बटुलेर ८ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। नेपाल र ओमान दुवै टोली पहिल्यै टी–२० विश्वकपका लागि छनोट भइसकेका छन्। यसअघि नेपालले आइतबार यूएई र सोमबार कतारलाई हराएको थियो भने ओमानले पनि सोही दिनहरूमा कतार र यूएईलाई पराजित गरेको थियो। नेपालको यो अपराजित यात्राले टोलीको मनोबल उच्च बनाएको छ। आगामी टी–२० विश्वकपमा नेपाली क्रिकेटप्रेमीहरूले थप उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन्।
प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलतामा बधाई, पूर्वाधार विकासका लागि अनुरोध
काठमाडौं – नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शनलाई उच्च प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक बधाई व्यक्त गर्नुभएको छ। ओमानमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोटमा लगातार दोस्रो पटक विश्वकपका लागि छनोट हुन सफल भएकोमा उहाँले शुभकामना दिनुभएको हो। प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी सन्देशमा भन्नुभएको छ, "ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरी लगातार दोस्रो पटक टी–२० विश्वकपका लागि छनोट हुन सफल भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) लगायत सम्पूर्ण खेल परिवारप्रति हार्दिक बधाई व्यक्त गर्दछु।" देशमा राजनीतिक जटिलता र असहज वातावरण कायम रहेको समयमा पनि नेपाली खेलाडीहरूले देखाएको धैर्य, संयमता र अनुशासनलाई प्रचण्डले 'साँच्चै प्रशंसनीय उपलब्धि' को रूपमा उल्लेख गर्नुभएको छ। उहाँले यो प्रदर्शनलाई राष्ट्रिय एकताको प्रतीकको रूपमा पनि व्याख्या गर्नुभयो। यसैगरी, प्रचण्डले नेपालमा क्रिकेट खेलको विकास, स्टेडियम निर्माण तथा अन्य भौतिक पूर्वाधारहरूको विस्तार, खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्ने क्षेत्रमा सरकारको नेतृत्वकालमा आरम्भ गरिएका पहलहरूलाई थप सशक्त र सघन रूपमा अगाडि बढाउन अनुरोध पनि गर्नुभएको छ। उहाँले भन्नुभयो, "नेपालमा क्रिकेट खेलको विकास, स्टेडियम निर्माण लगायत भौतिक पूर्वाधारहरूको विकास, खेलाडीहरूलाई प्रोत्साहन लगायतका क्षेत्रमा मैले सरकारको नेतृत्वमा रहँदा आरम्भ गरिएका पहलकदमीहरूलाई अझ सशक्त र सघन रूपमा अगाडि बढाउन पनि अनुरोध गर्दछु।" सन्देशको अन्त्यमा प्रचण्डले फेरि एकपटक सम्पूर्ण नेपाली क्रिकेट टोलीप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी विश्वकपमा सफलताका लागि शुभकामना दिनुभएको छ। "फेरि एकपटक, सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई र आगामी विश्वकपमा सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु," उहाँको सन्देशमा उल्लेख छ।
यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल विश्वकपमा
काठमाडौं । नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ । ओमानमा जारी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) ले बुधबार सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । नेपाल तेस्रो पटक टी–२० विश्वकपमा पुगेको हो । यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो । यसपटक नेपाल लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो । अब नेपालले भारत र श्रीलंकामा सन् २०२६ मा हुने टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । नेपालसँगै आयोजक ओमान पनि विश्वकपका लागि छनोट भएको छ । दुबै टोलीले दुई खेल बाँकी रहँदै विश्वकपमा स्थान बनाएका हुन् । जितका लागि यूएईले दिएको दुई सय २६ रनको लक्ष्य पछ्याउँदै सामोआ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रनमै सीमित भएको थियो । अब यूएई र जापानमध्ये एक टोलीले बाँकी रहेको स्थान पाउनेछ । सुपर सिक्स चरणमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । अंकतालिकामा ओमान र नेपाल समान ६–६ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने यूएईले ४ अंक जोडेको छ । यूएईले आफ्नो अन्तिम खेल जापानसँग खेल्नेछ ।
राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । विश्वभरका सांसदहरूको संगठन अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न लागेका अध्यक्ष दाहालले त्यससम्बन्धी जानकारी गराउन आज बिहान शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । अध्यक्ष दाहाल आगामी असोज ३१ गते जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनको नेतृत्वमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरी पाँच सदस्यीय टोली सहभागी हुने जनाइएको छ । यसअघि आइतबार अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरी सम्मेलनमा उठाउने विषयहरूबारे छलफल गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कार्कीले बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे सुस्पष्ट रूपमा नेपालको पक्ष प्रस्तुत गर्न सुझाव दिएकी थिइन् । ‘अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको वास्तविक अवस्था स्पष्ट रूपमा राख्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन् । राष्ट्रपति पौडेलसँगको भेटमा अध्यक्ष दाहालले आईपीयू सम्मेलनका तयारीबारे जानकारी गराउनुका साथै राष्ट्रिय सभाको आगामी निर्वाचन सम्बन्धी विषयमा पनि छलफल भएको जनाइएको छ ।
सर्वदलीय बैठकमा चुनावमै जानुकाे विकल्प नभएकाे माओवादी केन्द्रकाे सुझाव
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अहिलेको राजनीतिक संकटको समाधान संविधानका प्रावधानमा मात्रै खोज्न सम्भव नभएको बताउँदै आगामी निर्वाचनमार्फत नै निकास खोज्नुपर्ने धारणा व्यक्त गरेको छ । बुधबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट नेता हितराज पाण्डेले हालको परिस्थितिमा संसद् पुनर्स्थापनाको माग यथार्थपरक नहुने टिप्पणी गरे । उनले भने, “संविधानको किताब हेरेर अहिलेको निकास ननिस्कन्छ । परिस्थिति हेरेर अघि बढ्नुपर्छ ।” पाण्डेले जेन–जी आन्दोलनलाई “इतिहासकै दुर्लभ घटना” भन्दै माओवादीसहित सबै दलले आफ्ना कमजोरीहरूको इमानदार समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । “संविधानको किताब हेर्दा अहिलेको सरकार गठन र विघटन असंवैधानिक देखिन सक्छ,” उनले थपे, “तर अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो । सरकारले त्यसका लागि वातावरण तयार गर्नुपर्छ ।” यसै बैठकमा नेकपा (एमाले) ले भने प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै त्यसलाई लोकतान्त्रिक बाटोबाट अघि बढाउन सबै दलसँग सहयोगको अपेक्षा व्यक्त गरेको छ । एमाले नेता महेश बर्तौलाले प्रतिनिधिसभा विघटनलाई “अलोकतान्त्रिक र असंवैधानिक कदम” भनेका छन् । दलहरूले निकासका लागि विभिन्न धारणा प्रस्तुत गरिरहँदा माओवादी केन्द्रले भने संविधानका प्रावधानभन्दा पनि राजनीतिक यथार्थ र जनमतको आधारमा चुनावमै जोड दिनुपर्ने मत प्रस्तुत गरेको छ ।
सिंहदरवार सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख घिमिरेले संसद् विघटनसम्बन्धी दलहरूको धारणा बुझ्न बैठक आह्वान गरेका हुन् । प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित अदालत जाने वा नजानेबारे निर्णय लिनुअघि उनले दलहरूको राय लिन लागेका छन् । विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधि सहभागी छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी पनि बैठकमा सहभागी छन् । तर रास्वपा छलफलमा अनुपस्थित छ । दलहरूको धारणा संकलन गरेपछि सभामुखले पूर्वमहान्यायाधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बार संघका पदाधिकारीहरूसँग पनि छुट्टाछुट्टै छलफल गर्ने तयारीमा छन् । प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने विषयमा सरोकारवालाहरूले सभामुखलाई दुवै खाले सुझाव दिएका छन् । अब सभामुखले दल, पूर्वमहान्यायाधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बार संघका पदाधिकारीको धारणा लिएर निर्णय लिने तयारीमा छन् ।
टी–२० विश्वकप छनोट : नेपाल र ओमान आज भिड्दै
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल आज घरेलु टोली ओमानसँग भिड्दैछ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे ओमान क्रिकेट एकेडेमी मैदानमा सुरु हुनेछ । ओमानलाई पराजित गर्न सके नेपालको आगामी टी–२० विश्वकपमा सहभागिता लगभग पक्का हुने छ । साथै, जित हात पारे नेपाल उपाधि नजिक पुग्नेछ । नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्ने अभियानमा छ । चालु प्रतियोगितामा नेपाल र ओमान दुवै टिम समान ६ अङ्कका साथ शीर्ष स्थानमा छन् । यद्यपि रनरेटका आधारमा ओमान शीर्षमा रहेको छ । आजको खेलले यी दुईमध्ये एकको अपराजित यात्रा अन्त्य गर्नेछ । ओमानलाई घरेलु मैदान र वातावरणको फाइदा भए पनि अल अमिरातस्थित खेल मैदानमा नेपाली समर्थकहरूको उपस्थिति प्रबल हुने अपेक्षा छ । त्यसैले ओमानविरुद्धको खेलमा पनि नेपाललाई ‘घरमै खेल्दैछ’ भन्ने अनुभव हुने देखिन्छ । इतिहास हेर्दा हेड–टु–हेडमा नेपाल स्पष्ट रूपमा अगाडि छ । यी दुई टिमबीच अहिलेसम्म भएका सात खेलमध्ये नेपालले पाँच र ओमानले दुई खेल जितेका छन् । तर, अहिलेको लय हेर्दा विगतका नतिजाले निर्णायक प्रभाव नपार्ने सम्भावना छ । ओमानले यस प्रतियोगितामा यूएई बाहेकका खेल सहजै जितेको छ भने नेपालले प्रायः खेलमा संघर्षपछि जित हात पारेको छ । यद्यपि अन्तिम क्षणसम्म हार नमान्ने नेपाली खेलाडीहरूको जुझारूपन नै टोलीको मुख्य शक्ति बनेको छ । सुपर सिक्स चरणका दुवै खेलमा नेपालको अविश्वसनीय पुनरागमनले अन्तर्राष्ट्रिय क्रिकेट जगतलाई चकित पारेको छ । यूएई र कतारविरुद्ध हारको मुखबाट फर्किँदै नेपालले जित निकालेसँगै विश्वभर नेपाली क्रिकेटको चर्चा फेरि बढेको छ । नेपालका जितमा फरक–फरक खेलाडी नायक बनेका छन् । ओमानविरुद्ध पनि स्टार लेग स्पिनर सन्दीप लामिछाने, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, गुल्सन झा र आसिफ शेखबाट टोलीलाई ठूलो अपेक्षा रहनेछ । कतारविरुद्धको पछिल्लो खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नेपालले पाँच रनले जित हात पारेको थियो । बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन भए पनि नेपालको ब्याटिङ अझै कमजोर देखिएको छ । नेपालले हालै दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको शृङ्खला जित्दै उच्च आत्मविश्वासका साथ ओमान पुगेको हो । सुपर सिक्सका दुवै खेलमा बलिङ र फिल्डिङ नै जितको मेरुदण्ड बनेका छन् । तर, कमजोर स्ट्राइक रेट र मिडल ओभरमा सुस्त रन गति अझै चुनौती बनेको छ । नेपाली टोली आजको खेलमा त्यही कमजोरी सुधार्दै जित निकाल्ने आत्मविश्वासमा छ । नेपालले सुपर सिक्स चरणको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ ।
संसद् पुनर्स्थापनाबारे आज दलहरूसँग छलफल गर्दै सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी विषयमा आज प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बिहान ९ बजे १० दलका नेताहरूको बैठकका लागि बोलाइएको छ । उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दायर रिटपछि त्यसबारे राजनीतिक धारणा बनाउन सभामुखले बैठक बोलाएका हुन् । बैठकमा सभामुख घिमिरेले दलहरूको सुझाव र राय लिने अधिकारीले जानकारी दिए ।
सभामुखले बोलाए १० दलको बैठक, कानुन व्यवसायीसँग समेत छलफल गर्ने
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी विषयमा छलफल गर्न १० राजनीतिक दलका नेताहरूलाई बैठकमा आमन्त्रण गरेका छन्। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले दिएको जानकारीअनुसार, उक्त बैठक बुधबार बिहान ९ बजे आयोजना हुनेछ। अधिकारीका अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई बैठकमा बोलाइएको छ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएपछि सभामुख घिमिरेले यो विषयमा दलहरूको राय बुझ्न बैठकको आयोजना गरेका हुन्। बैठकमा दलहरूको धारणा संकलन गर्ने उनको योजना छ। थप रूपमा, सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूसँग छलफल गर्न छुट्टै बैठक बोलाएको पनि अधिकारीले बताए।
विपिन जोशीको निधनप्रति प्रचण्डद्वारा दुख व्यक्त “आफन्तको मृत्युको पीडा नजिकबाट महसुस गरेको छु”
२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासद्वारा हत्या गरिएका नेपाली युवा विपिन जोशीको निधनलाई अत्यन्त पीडादायी घटना भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले विपिनलाई जीवित फर्काउन नसकिएकोमा गहिरो दुख व्यक्त गरेका छन्। प्रचण्डले लेखेका छन्, “विपिनको अपहरणपछि उनको सुरक्षित रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रयास भए। तथापि, उनलाई जीवित फर्काउन नसक्नु अत्यन्त दुखद् र पीडादायी छ।” उनले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। “आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो कठिन समयमा धैर्य राख्दै अघि बढ्न म परिवारलाई अनुरोध गर्छु,” उनले भने। हमासद्वारा अपहरणमा परेका विपिन जोशीको करिब दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ। उनले फेसबुकमा लेखेका छन् हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उहाँकै भएको दुःखद् समाचारले म अत्यन्त मर्माहित भएको छु। विपिनको अपहरणपश्चात उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो। यस दुःखद् घडीमा म वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु।
महराको इन्कारी बयान, भोलि थुनछेक बहस
२८ असोज, काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दालाई जिल्ला अदालत काठमाडौंले हेर्दाहेर्दैमा राखेको छ। अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठका अनुसार, आज महराको बयान लिने कार्य सम्पन्न भएको छ। उनले बताएअनुसार, महराविरुद्ध दायर रिट निवेदनमाथि भोलि थुनछेक बहस हुनेछ। अभियोजनमा उल्लेखित बयानमा महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। उनले चिनियाँ नागरिक दाओजिन वाङसँग आफू सञ्चारमन्त्री हुँदा बधाई दिन फलफूल लिएर घरमा आएको बेला परिचय भएको बताएका छन्।
विप्लव नेतृत्वको नेकपाको बैठकमा तत्काल माओवादी केन्द्रसँग पार्टी एकतामा जोड
कपिलबस्तु– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा माओवादी धाराका विभिन्न पार्टीहरूबीच एकीकरणको मुद्दा तीव्र रूपमा छलफल भएको छ। कपिलबस्तुको शिवगढीमा आइतबारदेखि जारी यो बैठकमा अधिकांश नेताहरूले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्नुपर्ने धारणा राखेका छन्। बैठकमा एउटै बलियो कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकतामा जोड दिँदै ठोस निर्णय आजै नै लिने तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए। बैठकको दोस्रो दिन सोमबार केन्द्रीय समिति सदस्यहरूले आफ्ना धारणाहरू व्यक्त गरेका थिए। आइतबार बैठकको उद्घाटन गर्दै महासचिव विप्लवले समसामयिक राजनीतिक प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा देशको वर्तमान राजनीतिक परिदृश्य, कम्युनिष्ट आन्दोलनको एकताबद्धता र माओवादी धारालाई मजबुत बनाउने रणनीतिमा जोड दिइएको थियो। विप्लवले बैठक सुरु गर्दै 'एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्दै अगाडि बढ्नुपर्छ' भन्ने कुरामा स्पष्ट जोड दिएका थिए। सोमबारको छलफलमा बोल्ने अधिकांश नेताहरूले माओवादी केन्द्रसँगको तत्काल एकताको पक्षमा मत व्यक्त गरे। एभरेष्ट दैनिकसँग कुरा गर्दै एक केन्द्रीय सदस्यले भने, 'बोल्ने सबैजसो साथीहरूले माओवादी धाराका पार्टीहरूबीच एकता गरेर एउटा बलियो कम्युनिष्ट पार्टी निर्माण गर्न सकिने धारणा राख्नुभयो। यसका लागि जति छिटो सम्भव छ, नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढाउनुपर्नेमा हाम्रो जोड छ।' नेपालको कम्युनिष्ट आन्दोलनमा विगतका वर्षहरूमा विभिन्न फुट र एकताका घटनाहरू घट्दै आएका छन्। बैठकमा उठेका धारणाहरूले यस्तो एकीकरणले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ दिन सक्ने अपेक्षा गरिएको छ। बैठकमा पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण, जनआन्दोलनको तयारी र राष्ट्रिय राजनीतिमा कम्युनिष्ट शक्तिको भूमिकाबारे पनि विस्तृत छलफल भएको छ। तर, मुख्य फोकस पार्टी एकतामा नै केन्द्रित रह्यो। बैठकका सहभागीहरूका अनुसार, यो एकताले कम्युनिष्ट धारालाई एकीकृत गर्दै राष्ट्रिय राजनीतिमा नयाँ गतिशीलता ल्याउन सक्ने सम्भावना छ। एक केन्द्रीय सदस्यका अनुसार, 'आजै बैठक समापन गर्दै एकताका लागि आवश्यक कदमहरूको खाका तयार पार्ने तयारी छ। यसले हाम्रो पार्टीको भविष्यलाई नयाँ दिशा दिनेछ।'
हमासले इजरायललाई बुझायो विपिन जोशीको शव, नेपाल ल्याउने तयारी
काठमाडौं– प्यालेस्टिनी सशस्त्र समूह हमासले सोमबार राति रेड क्रसको मध्यस्थतामा विपिन जोशीसहित चार जनाका शव इजरायललाई हस्तान्तरण गरेको छ। यो घटनाले विपिनको मृत्युको पुष्टि भएको छ र अब उनको शव नेपाल ल्याउने प्रक्रिया सुरु हुने भएको छ। इजरायली सेना (आइडीएफ) ले सोमबार साँझ रेडक्रस मार्फत चारवटा बाकस प्राप्त गरेको पुष्टि गरेको छ। ती बाकसहरूमा नेपाली नागरिक विपिन जोशी, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजका शव रहेका छन्। विपिन जोशी इजरायलमा कामका लागि आइपुगेको एक महिनामै ७ अक्टोबर २०२३ को हमासको आक्रमणमा बन्दी बनाइएका थिए। बन्दीहरू मुक्त हुने दिनसम्म उनको स्थिति अज्ञात नै थियो। सोमबार नै आइडीएफले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग भिडियो संवाद गरी विपिन जीवित नरहेको जानकारी गराएको थियो। साँझतिर हमासले पनि विपिनसहित चार जनाको मृत्यु भएको पुष्टि गर्दै शव हस्तान्तरण गर्ने घोषणा गरेको थियो। प्राप्त शवहरूको फरेन्सिक जाँचका लागि तिनलाई तेल अविभ स्थापित अबु काबिर फरेन्सिक संस्थानमा लगिएको छ। इजरायली अधिकारीहरूका अनुसार पहिचान प्रक्रियामा दुई दिन लाग्न सक्छ, र त्यसपछि विपिनको शव नेपाल पठाउने तयारी गरिनेछ। यो हस्तान्तरण अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत भएको हो, जसमा हमासले ७२ घण्टाभित्र जीवित बन्दीहरू र मृतकका शवहरू इजरायललाई फिर्ता गर्ने प्रतिबद्धता गरेको थियो। तर, चार शव हस्तान्तरण भए पनि अझै २४ जना मृत बन्दीका शवहरू फिर्ता भएका छैनन्। इजरायली रक्षामन्त्री इसराइल कात्जले सम्झौता उल्लङ्घन भए कठोर कारबाही गर्ने चेतावनी दिएका छन्। हमासले भने आफ्नो सीमितताका कारण सबै शव फिर्ता गर्न नसकेको र कतिपय शवहरू इजरायली सेनाको नियन्त्रण क्षेत्रमा रहेको दाबी गरेको छ। यो घटनाले नेपालमा शोकको छायाँ छाएको छ।

