मन्त्रिपरिषद् बिस्तार : चार नयाँ मन्त्रीको आज नै सपथको तयारी
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्व वाली सरकारमा थपिने चार जना मन्त्रीहरूको नामावली अन्तिम रूप पाएको छ। उनीहरूको शपथ ग्रहण आजै हुने तयारी भइरहेको छ।
नयाँ नियुक्त हुने मन्त्रीहरूमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। प्रधानमन्त्री कार्कीले उनीहरूलाई निम्न मन्त्रालयहरूको जिम्मेवारी तोकेकी छन् :
नयाँ मन्त्रीहरूको विवरण
| नाम | मन्त्रालय |
|---|---|
| सुधा गौतम | स्वास्थ्य तथा जनसंख्या |
| गणपति लाल श्रेष्ठ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन |
| खगेन्द्र सुनार | श्रम तथा रोजगार |
| बब्लु गुप्ता | युवा तथा खेलकुद |
प्रधानमन्त्री कार्कीले चारै जनाको नामावली राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन्। स्रोतले दिएको जानकारीअनुसार, "चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ। आजै शपथ ग्रहण हुन्छ।"
माओवादी केन्द्रले भन्यो : 'कुनै दलसँग एकताबारे अन्तिम निर्णय भएको छैन'
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीहरूसँग एकताको चर्चा भइरहेकावेला प्रचण्डको सचिवालयले कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय नभएको जनाएको हो । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको निर्णय तथा आवश्यकता अनुसार समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरूमा घनिभूत छलफल जारी रहेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए । यद्यपि, कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय वा टुंगो लागिसकेको छैन । विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र संघर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको पार्टीको ठहर रहेको आचार्यले उल्लेख गरे । इतिहासको यही आवश्यकतालाई मनन गर्दै विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ ।
विप्लवको पाँच बुँदे धारणा : कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले समाजवादी मोर्चा र अन्य सहमति पार्टीहरूबीच एकताबारे विभिन्न प्रचार भइरहेको बताएका छन् । समाजवादी मोर्चामा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), विप्लवको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी समावेश छन् । पार्टी एकताबारे आफ्नो पाँच बुँदे धारणा शुक्रबार सामाजिक सञ्जालमा सार्वजनिक गर्दै महासचिव विप्लवले एकताबारे गम्भीर छलफल भइरहेको तर टुंगो नलागेको उल्लेख गरेका छन् । महासचिव विप्लवको ५ बुँदे धारणा : कम्युनिस्ट एकताको आवश्यकता : कम्युनिस्टहरूबीचको एकताको आवश्यकता झन् बढेको छ । व्यापक एकताको पक्ष : एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन । सकारात्मक दृष्टिकोण : यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ । शत्रुतापूर्ण सोच त्याग्नु : कम्तिमा कम्युनिस्टहरूबीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्छ । मोर्चा निर्माण : देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनुपर्दछ ।
मन्त्री घिसिङको खण्डन : कुनै पार्टीमा जोडिने विषयमा छलफल भएको छैन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई कुनै राजनीतिक पार्टीमा आबद्ध गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई 'उज्यालो नेपाल' पार्टीमा आबद्ध गराउने तथा अध्यक्ष बनाउने भन्दै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा प्रचारित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । "सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताबारे कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागिता समेत नभएको प्रष्ट पार्छु," उनले भने, "मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्छु । सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्छु ।"
तिहार सकिए पनि आज शुक्रबार सार्वजनिक बिदा
काठमाडौँ । नेपाल सरकारले तिहार पर्व सकिएको भए पनि आज (शुक्रबार) पनि तिहारकै नाममा सार्वजनिक बिदा घोषणा गरेको छ । यम पञ्चक अर्थात् तिहार बिहीबार नै समाप्त भएको हो । गृह मन्त्रालयले प्रकाशित राजपत्रअनुसार कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा कायम रहने उल्लेख छ । तिथिमा घटबढ हुँदा बिदा लम्बिएको हो । यसअघि लक्ष्मीपूजा र भाइटीकाबीच कात्तिक ४ गते पनि एक दिन बिदा थपिएको थियो । कुनै पर्व नपरेको मंगलबार पनि तिहारकै बिदा थियो । गएको सोमबारदेखि बन्द सरकारी कार्यालयहरू आगामी आइतबारदेखि मात्र सञ्चालन हुने भएका छन् ।
राष्ट्रियसभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच द्विपक्षीय भेट
जेनेभा – राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अन्तरराष्ट्रिय व्यवस्थापिका संघ (IPU) को १५१औं महासभाको सन्दर्भमा जेनेभामा रहँदा अष्ट्रेलियाको संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित, सहयोग तथा संसदीय सहकार्यका विषयमा गहन छलफल भएको थियो। अध्यक्ष दाहालले अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा तथा स्थानीय सुशासन जस्ता क्षेत्रमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले अष्ट्रेलियामा १ लाख ८० हजारभन्दा बढी नेपालीहरू बसोबास गरिरहेको र ६० हजारभन्दा बढी नेपाली विद्यार्थीहरू त्यहाँ अध्ययनरत रहेको उल्लेख गर्दै ती समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान तथा सहयोगी वातावरण सुनिश्चित गरेकोमा अष्ट्रेलियाली पक्षप्रति कृतज्ञता ज्ञापित गर्नुभयो। साथै, शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान–प्रदान जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गर्नुभयो। अध्यक्ष दाहालको भारतीय प्रतिनिधिमण्डल र IPU महासचिवसँग भेट यसैबीच, अध्यक्ष दाहालले जेनेभामै अनुराग सिंह ठाकुरको नेतृत्वमा रहेको भारतको संसदीय प्रतिनिधिमण्डल तथा IPU का महासचिव मार्टिन चुङोङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष दाहालले नेपाल–भारत सम्बन्ध औपचारिक र देशीय तहको मात्र नभई जनता–जनताबीचको पनि निकै बलियो रहेको बताउनुभयो। नेपालमा पछिल्लो समय भएको जनआन्दोलन, त्यसबाट सिर्जित नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै उहाँले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्र सुदृढीकरणका लागि नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण तथा आगामी निर्वाचनका लागि मित्रराष्ट्रहरूको साथ र सहयोगको अपेक्षा गर्दै अध्यक्ष दाहालले सहयोगका लागि आग्रह गर्नुभयो। IPU महासचिवसँगको भेटमा अध्यक्ष दाहालले नेपालको बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभा निर्वाचन तोकिएको मिति अनुसार सम्पन्न हुने र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताउनुभयो। उहाँले संसदीय अभ्यासलाई थप परिष्कृत गर्न तथा लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन IPU सँग सहकार्य गर्न इच्छुक रहेको पनि स्पष्ट पार्नुभयो।
एनआरएनए विवाद समाधानतर्फ : दुई अध्यक्षीय प्रारूपमा एकता महाधिवेशनको तयारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चार वर्षदेखि चलेको आन्तरिक विवाद अन्त्यतर्फ उन्मुख भएको छ । अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठका मुख्य दुई घटकबीच एकताको अन्तिम तयारी भइरहेको छ । दुवै पक्षले दुई अध्यक्ष रहनेगरी एकता महाधिवेशन आयोजना गर्ने सहमति जनाएका छन्, जसले विश्वभरका करिब ८० लाख नेपालीहरूको छाता संगठनलाई नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ । एनआरएनएको स्थापना वि.सं. २०६० (सन् २००३) मा भएको थियो, जसलाई गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ र नियमावली २०६६ मार्फत वैधानिकता दिइएको थियो । संघको प्रारम्भिक छैटौं, सातौं र आठौं कार्यसमिति विवादरहित रूपमा सञ्चालन भए पनि नवौं कार्यसमितिको कार्यकाल सकिन लाग्दा दशौं महाधिवेशनको प्रतिनिधि छनोटमा धाँधलीको आरोप लागेपछि विवाद सुरु भयो । वि.सं. २०७८ चैतमा दुई ठाउँमा दुई अलग महाधिवेशन भए: याक एण्ड यति होटलमा विनोद कुवर अध्यक्ष निर्वाचित भए भने होटल सोल्टीमा कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई तीनजना अध्यक्ष घोषणा गरियो । यसपछि ११औं महाधिवेशनमा पनि बद्री केसी पक्षले प्राविधिक धाँधली गरी आफूलाई अध्यक्ष घोषणा गरेपछि आर.के. शर्मा र महेश श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । यो विवादले विश्वभरका ८७ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई प्रभावित बनायो । सर्वोच्च अदालतले वि.सं. २०८० चैत २१ गते परमादेश जारी गरी एकताको महाधिवेशनको आदेश दियो, जसअनुसार वैशाख २०–२२, २०८२ (मे ३–५, २०२५) मा काठमाडौँमा एकता महाधिवेशन भयो र महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भए । तर, बद्री केसी पक्षले यसलाई अस्वीकार गर्दै समानान्तर समिति सञ्चालन गरे, जसले राजनीतिक हस्तक्षेपलाई पनि निम्त्यायो । परराष्ट्र मन्त्रालयले एकता महाधिवेशनलाई वैधानिक ठहराए पनि विवाद पूर्ण रूपमा शान्त हुन सकेन । वार्ता टोलीहरू र एकताको आधार एक महिनादेखि चलिरहेको छलफललाई औपचारिकता दिन दुवै पक्षले वार्ता टोली गठन गरेका छन् । डा. बद्री केसी समूहबाट डा. हेमराज शर्मा, सोम सापकोटा र रामशरण सिंखडा रहेको टोली सक्रिय छ भने महेश श्रेष्ठ पक्षबाट महेश श्रेष्ठ स्वयं, आर.के. शर्मा र महासचिव बाबुराम लामाको नेतृत्वमा रहेको समितिले एकताको आधार तयार पारेको छ । स्रोतका अनुसार, दुवै पक्षले दुई अध्यक्ष रहने प्रारूपमा सहमति जनाएका छन्, जसमा भावनात्मक, सैद्धान्तिक र कानूनी एकताको जोड दिइएको छ । अबको केही दिनमै एकता महाधिवेशनको मिति तय गरिने र यसलाई सर्वोच्चको परमादेशअनुसार विधिसम्मत बनाइने बताइएको छ । यो प्रयासले एनआरएनएलाई नेपालको विकास, लगानी, पर्यटन र उद्धार कार्यमा फेरि सक्रिय बनाउने अपेक्षा गरिएको छ । विवादका बाबजुद संघले २०७२ को भूकम्प र २०७६ को कोभिड महामारीमा महत्वपूर्ण सहयोग गरेको थियो ।
मधेसमा भैयादुजको उत्सव: दिदीबहिनीको निम्तामा दाजुभाइको सम्मान
महोत्तरी । महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइहरूले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यस वर्ष धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत शनिबार सुरु भएको दीपावली आज ‘भैयादुज’ मनाएर सकिने छ । मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीहरूले दाजुभाइहरूलाई सामान्यतया आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनीहरू माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ । विवाहित बहिनीहरूले भने दाजुभाइहरूलाई निम्ता गर्ने चलन छ । निम्ता मान्न जाने दाजुभाइहरूले नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीहरूले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइहरूलाई बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइहरूको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छन् । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइहरूलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीहरूले सप्तरङ्गी टीका लगाइदिन्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूहरूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । सत्ययुगमा राजा वलिका बहिनीहरू गङ्गा र यमुनाले देवतासँगको युद्धअघि दाजुभाइको सौर्यवृद्धि, युद्धमा विजय, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथा नै यो पर्वको आधार रहँदै आएको मिथिला लोकपरम्पराका जानकार संस्कृतिविद् जलेश्वर–५ का ध्रुव राय बताउँछन् । मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीहरूले दाजुभाइहरूको गङ्गा र यमुनाको जस्तै वेग र कीर्ति होस् भन्दै गीतबाट भाव व्यक्त गर्छन् । यसै क्रममा सुकेको केराउको दाना दाजुभाइहरूलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइहरूको शरीर बज्रसमान कठोर होस् भन्ने रहेको रायको भनाइ छ । मिथिलाभरिका सबै गाउँ सहरका दिदीबहिनीहरूले बुधबार ओखलमा गोबरसँगै कुटिएको केराउका दाना (बजरी) गोबरबाट झिकेर धोई पखाली ल्याइएकामा आज ती केराउका दाना आ–आफ्ना दाजुभाइहरूलाई मिठाई, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाएर भैयादुज पर्व मनाउने गर्छन् । दिदीबहिनीहरूले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात् ‘बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु’ भन्ने भनाइका साथ दाजुभाइहरूलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाई बजरी खुवाएर भैयादुज पर्व मनाउने गर्छन् । यो विधि सकिएपछि दाजुभाइहरूले आफ्नो गच्छे र क्षमताअनुसार दिदीबहिनीहरूको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा उपहार तथा कोसेली दिने चलन छ । त्यसपछि दिदीबहिनीहरूले दाजुभाइहरूलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।
आज तिहारको मुख्य दिन भाइटीका: टीकाको उत्तम साइत बिहान ११:३९ बजे
काठमाडौँ । तिहारको मुख्य पर्व भाइटीका आज मनाइँदैछ । दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदै छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यो दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार सामान्यतया पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३९ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनीहरू पूर्व फर्कनुपर्ने र लगाइमाग्ने दाजुभाइहरू पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गर्दा तुला राशिमा रहेको चन्द्रमालाई सम्मुख पर्नेछ । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पतिजन्तु देवता तथा नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीहरूले दाजुभाइहरूलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता अनुसार तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पञ्चरङ्गी नै उल्लेख गरिएको धर्मशास्त्रविद् भट्टराईले सुनाए । टीका लगाएपछि दिदीबहिनीहरूले दाजुभाइहरूलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइहरूले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ ।
अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो : संयोजक प्रचण्ड
रामगोपालपुर, महोत्तरी – नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । “अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु।”उहाँले भन्नुभयो ।“तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन। अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन।” कार्यक्रमको मुख्य आकर्षण बनेका संयोजक प्रचण्डले सम्बोधनमार्फत पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पार्नुभयो। देशमा परिवर्तित समयमा मधेशमा जेन्जी युवाहरू सहितको सहभागीतमा आयोजित कार्यक्रम भव्य भएको र कार्यक्रममा ठूलो जनसहभागिता र पार्टी प्रवेशले पार्टी पंक्तिलाई उत्साहित गरेको बताउँदै उहाँले नयाँ युगको सुरुवात भएको घोषणा समेत गर्नुभयो। संयोजक प्रचण्डले आफू जेन्जी आन्दोलनपछिको नयाँ अवस्था र पहिलोपटक मधेशमा आयोजित ठुलो कार्यक्रममा सहभागी भएको बताउँदै भन्नुभयो,“हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा हामी जेन्जी थियौँ। आजको दिनमा मधेशमा पहिलो पटक ६०५ जना जेन्जी युवाहरूसहति माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो।” “अब जेन्जी र माओवादी मिलेर चुनाव लड्नुपर्छ। अरुले जेन्जीका मागहरू पूरा गर्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ।” संयोजक प्रचण्डले देश संकटमा रहेको भन्दै राष्ट्रिय सहमतिको खाँचोमा जोड दिनुभयो।“यदि हामीले संविधान निर्माणका बेला राष्ट्रिय सहमति कायम नगरेको भए, यो देश भयानक दुर्घटनामा जान्थ्यो। हाम्रो भूमिकाले संविधान बचाएको छ।” उहाँले माओवादी केन्द्रलाई नै राष्ट्रिय एकताको पर्याय भएको बताउँनुहुँदै भन्नुभयो,“मधेश केन्द्रित पार्टीलाई उपराष्ट्रपति बनाएर राष्ट्रिय एकता कायम गर्ने दल माओवादी केन्द्र नै हो। समावेशी लोकतन्त्र सुनिश्चित गर्ने शक्ति हामी हौँ।” संयोजक प्रचण्डले सरकारको नेतृत्व गर्दा माओवादी केन्द्रले सामाजिक न्यायका मुद्दा, नागरिकता समस्या, मिटरब्याज पीडित, मधेशी जनताको विकासका विषयमा ठोस काम गरेको दाबी गर्दै भन्नुभयो,“भ्रष्टाचारविरुद्धको अभियान हामीले सुरु गरेका थियौँ। तर केही मिडिया, विदेशी दलाल र अपराधीहरूले हाम्रो बदनाम गर्न खोजेका छन्।” उहाँले आत्मालोचना गर्दै भन्नुभयो ,“हामीबाट पनि त्रुटि भयो, कहिलेकाहीँ जनतासँग सम्बन्ध कमजोर भयो। तर अब हामी जनताको बीचमा फर्किएका छौँ।” संयोजक प्रचण्डले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लिएर कुनै अन्योल नराख्न आग्रह गर्दै भन्नुभयो,“चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो।”उहाँले निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्दै भन्नुभयो,“मतदाता नामावली अद्यावधिक गर्नुहोस्। नयाँ मतदाताहरूको नाम लेख्नुहोस्। हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ— संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेन्जी युवाका माग सम्बोधन र समानुपातिक प्रणाली।” संयोजक प्रचण्डले वामपन्थी एकताको नयाँ अभियान सुरु भएको जानकारी गराउँदै भन्नुभयो,“यो देशमा वामपन्थी जनमत सबभन्दा धेरै छ। समाजवादी मोर्चा बनाइसकेका छौँ। अब एमालेभित्रका इमानदार देशभक्तहरूसँग पनि एकता गर्ने तयारी भइरहेको छ।” उहाँले २०७४ सालको दुई तिहाइको जनमत वामपन्थी एकताको उदाहरण दिँदै भन्नुभयो,“त्यतिबेला नेतृत्व केपी ओली जस्ता प्रवृत्तिको हातमा परेकोले त्यो असफल भयो। अब माओवादी केन्द्रका नेतृत्वमा नयाँ एकता गरिन्छ।” उहाँले २४ गते र त्यसपछिको समयमा देशभर जनताको सुरक्षामा खटिएका प्रहरीमाथि भएका ज्यादती, हत्या र पीडामा आफू गहिरो रूपमा भावुक बनाएको बताउनुभयो। “मैले प्रत्यक्ष देखेँ, प्रहरी दाजुभाइ–दिदीबहिनीहरूमाथि गलत तत्वहरूले कस्तो व्यवहार गरे। त्यसैले म देश र जनताको सुरक्षामा अहोरात्र खट्नुहुने सुरक्षाकर्मीप्रति सहानुभूति प्रकट गर्न चाहन्छु।” सो अवसरमा उहाँले विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका जेन्जी युवासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ६०० भन्दा बढी नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो।
समाजवाद नआएसम्म राजनीतिबाट विश्राम लिन्नँ, पद ठूलो कुरा होइन : संयोजक प्रचण्ड (भिडियोसहित)
महोत्तरी । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले समाजवादी क्रान्ति पूरा नगरेसम्म राजनीतिबाट विश्राम नलिने बताउनुभयो । महोत्तरीको रामगोपालपुरमा आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिबाट सन्यास नलिने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै आफूले नेपाली राजनीतिमा गरेको योगदानको स्मरण गर्नुभएका प्रचण्डले जनतालाई फेरि एकपटक एकताबद्ध गर्ने बताउनुभयो । उहाँले राजनीतिबाट विश्राम नलिने प्रष्ट पार्नुभयो । प्रचण्डले भन्नुभयो, "म भर्खरै ७० पार गरेको छु । तपाईँहरूले तराई-मधेस अभियानमा देखिराख्नुभएकै छ मेरो सक्रियता । फेरि एकपटक समाजवादी क्रान्तिका लागि राजनीतिबाट विश्राम लिने वाला छैन । हाम्रो पार्टीमा पनि बेलाबेला नेतृत्वका बारेमा कुरा चल्ने गरेको छ । म जिम्मेवारीबाट पछाडि हट्ने वाला छैन ।" संयोजक प्रचण्डले आफू पार्टीको नेतृत्वमा रहिरहने पक्षमा नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, "केन्द्रीय समितिको बैठकमा पनि नेतृत्वको बारेमा कुरा चल्यो, म जिम्मेवारीबाट पछि हट्दिनँ । समाजवाद नआएसम्म विश्राम लिन्नँ । तर, म अध्यक्ष भइरहनुपर्छ भन्ने छैन । राजनीतिबाट भने म विश्राम लिने पक्षमा पनि छैन । मेरा लागि पद ठूलो कुरा होइन ।" प्रचण्डले छठपछि पार्टी एकताले तीव्रता पाउनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "छठपछि पार्टी एकताले मूर्त रूप लिन्छ । पहिला समाजवादी मोर्चामा आवद्ध दलसँग एकता हुन्छ । त्यसपछि सम्पूर्ण बामपन्थी दलसँग पार्टी एकता र मोर्चाबन्दी हुन्छ । केही दिनमै तपाईँहरूले फेरि एकपटक राम्रो समाचार सुन्नुहुनेछ । हामी अब जनतालाई एकताबद्ध बनाएर प्रतिक्रियावादी र साम्राज्यवादीविरुद्ध राष्ट्रिय मोर्चा बनाएर अगाडि बढ्नेछौं ।" कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनजागरण आन्दोलनका नाममा घुसपैठिएबाट प्रहरीलगायतका सुरक्षाकर्मीमाथि भएको क्रूर व्यवहारको निन्दा गर्नुभयो । उहाँले भन्नुभयो, "प्रहरीमाथि घुसपैठिएहरूले ज्यादती गरे । प्रहरी भाइ, बहिनीहरूप्रति मेरो ठूलो सहानुभूति छ । म अप्ठ्यारो अवस्थामा पनि सुरक्षा दिन खटिने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।"
महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रको विशाल सभा : हजारौँले गरे माओवादी प्रवेश
रामगोपालपुर । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रको विशाल सभा गरेको छ । माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आथिथ्यतामा सुरु सभामा हजारौँको सहभागिता छ । जेनजी आन्दोलनपछि विशाल सभा गर्ने पहिलो दल नेकपा माओवादी केन्द्र बनेको छ । कार्यक्रममा विभिन्न पार्टी छाडेर हजारौँले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी नेता मात्रिका यादवले एभरेष्ट दैनिकलाई जानकारी दिए । हजारौँले विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका यादवले बताए । कार्यक्रमलाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकालाई संयोजक प्रचण्डसहितका माओवादी नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।
महोत्तरीको रामगोपालपुरमा नेकपा (माओवादी केन्द्र)को विशाल सभा (भिडियो)
रामगोपालपुर । मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)को विशाल सभा सुरु भएको छ । माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख आथिथ्यतामा सुरु सभामा हजारौँको सहभागिता छ । कार्यक्रमलाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्नेछन् । जेनजी आन्दोलनपछि विशाल सभा गर्ने पहिलो दल नेकपा माओवादी केन्द्र बनेको छ । कार्यक्रममा विभिन्न पार्टी छाडेर हजारौँले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने नेता मात्रिका यादवले एभरेष्ट दैनिकलाई जानकारी दिए ।
लोकतन्त्रको अग्रगामी 'सर्भिसिङ' बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन : संयोजक प्रचण्ड
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले लोकतन्त्रको अग्रगामी 'सर्भिसिङ' बिना अहिलेका जटिल समस्या समाधान गर्न नसकिने बताउनुभएको छ। नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रलाई पुन: एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, "आज हामी राष्ट्रलाई पुन: एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौं। लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौं। लोकतन्त्रको अग्रगामी 'सर्भिसिङ' बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन।" प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको स्मरण गर्दै वि.सं. २०८० मा नेपाल सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, "यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता हो। संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ।"
माओवादी केन्द्र नै निर्वाचन केन्द्रित हुने पहिलो पार्टी हो : संयोजक प्रचण्ड
जनकपुरधाम – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सरकारलाई आवश्यक वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, "निर्वाचन तोकिएको समयमा नै हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर वातावरण बनाउनुपर्छ। दलहरूबीचको वार्ताबाट सरकार निर्वाचनतर्फ गम्भीर हुँदै गएको देखिन्छ, तर अझै पूर्ण तयारी भएको छैन।" असाधारण परिस्थितिमा गठित अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै राजनीतिक दलहरू निर्वाचनमै केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। माओवादी केन्द्र नै निर्वाचन केन्द्रित हुने निर्णय गर्ने पहिलो पार्टी भएको दाबी गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि काठमाडौं उपत्यका बाहिर मधेश प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पहिलो पार्टी पनि आफ्नो भएको उहाँले उल्लेख गर्नुभयो। आजै महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रले पार्टी प्रवेश तथा जनसभा आयोजना गरेको छ। वामपन्थी एकता र ध्रुवीकरणबारे बोल्दै प्रचण्डले समाजवादी मोर्चाअन्तर्गतका दलबीच एकीकरण प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। "निर्वाचन त हुनैपर्छ। वामपन्थी एकता र ध्रुवीकरण पनि क्रमशः मजबुत हुँदै जानेछ," उहाँले भन्नुभयो।
तिहारको पाँचौं दिन : आज गौमाताको रुपमा गाई पूजा गरिँदै
काठमाडौं – कात्तिक शुक्ल प्रतिपदाका अवसरमा यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाई पूजा गरिँदैछ। वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र मानी पूजाआजा गरी मीठा परिकार खुवाउने यो पर्वले गौमाताको महत्वलाई झल्काउँछ। गाईको दूध आमाको दूधजत्तिकै पौष्टिक मानिने भएकाले यसलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईको जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा अवशोषण गरी दूध, गहुँत र गोबरमार्फत मानिसलाई शक्ति प्रदान गर्ने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। धार्मिक विश्वासअनुसार, गाई पूजा गरी मीठा खानेकुरा खुवाउँदा गाईबाट प्राप्त हुने शुद्धता जीवनभर कायम रहन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, "कतिपय भाग र समुदायमा कात्तिक कृष्ण औंसीकै दिन गाई पूजा गर्ने चलन छ, तर शास्त्रीय मान्यता अनुसार औंसीको अन्त्यदेखि प्रतिपदाको सुरुवातसम्म यो पूजा गर्नुपर्छ।" वैदिक सनातन हिन्दू कर्मकाण्डमा गाईदानको विशेष स्थान छ। गाईको अभावमा अहिले पैसाले सङ्कल्प पढेर प्रतीकात्मक रूपमा यो विधि पूरा गरिन्छ। गाईलाई राष्ट्रिय जनावरका रूपमा मान्यता दिइएको नेपालमा यो पूजाले पर्यावरणीय र सांस्कृतिक महत्व पनि बोकेको छ। साउन शुक्ल पूर्णिमामा दाहिने हातमा बाँधिएको रक्षाबन्धनलाई आज गाईको पुच्छरमा बाँधिदा मृत्युपछि वैतरणी नदी तारेर स्वर्ग पुग्ने विश्वास छ।

