प्रतिनिधि सभा पुनर्स्थापनामा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइको समयमा नै माग दाबीका विषयमा छलफल हुने भन्दै अहिले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

इजलासले रिट निवेदनको मागबमोजिम किन आदेश जारी गर्न नपर्ने हो, त्यसको कानुनी आधार र कारण खुलाएर सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ ।

आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय संवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आव्हान गरेकाे सरकार, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय संवाद आज हुने भएकाे छ ।  भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि गठित वर्तमान सरकारको अग्रसरतामा पहिलोपटक यस्तो त्रिपक्षीय संवाद हुन लागेको हो । प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न सम्बद्ध पक्षहरूसँग निरन्तर वार्ता र छलफल गर्दै आएकी छिन् । सोही क्रममा उनको आह्वानमा आज (बुधबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच निर्वाचनकेन्द्रित संवाद हुने भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल तयार पार्ने उद्देश्यले पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीबीच संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सरोकारवाला पक्षसँग चरणबद्ध रूपमा वार्ता र समन्वय भइरहेको जानकारी दिए । यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग पनि संवाद गरेकी थिइन । उक्त बैठकमा दलहरूले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षहरूसँग निरन्तर संवाद जारी राखेकी छिन् । यसबीचमा सरकारले निर्वाचन तयारीका काम अघि बढाएको छ । साथै, निर्वाचन आयोगसँग विभिन्न चरणमा भएको छलफलमार्फत आयोगको प्राविधिक तयारीबारे पनि गृहकार्य अघि बढाइएको छ । निर्वाचन आयोगले आफ्नो अधिकार क्षेत्रभित्रका कार्यहरू सुरु गरिसकेको बताइएको छ ।

दक्षिण कोरियामा माओवादी केन्द्र र समाजवादीका प्रवास संगठनबीच एकता, केन्द्रमा नमिले पनि कोरियामा नफुट्ने

काठमाडौं– नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन 'नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया' र नेकपा एकीकृत समाजवादी पार्टीको प्रवास संगठन 'प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया' बीच भव्यतापूर्वक ऐतिहासिक एकता सम्पन्न भएको छ। यो एकीकरणले दक्षिण कोरियास्थित नेपाली प्रवासीहरूको राजनीतिक एकताको नयाँ अध्याय सुरु गरेको छ। दक्षिण कोरियामा आयोजित विशेष कार्यक्रममा दुवै संगठनका नेताहरूले एकताको घोषणा गर्दै पुनर्गठन र रूपान्तरणको अभियान तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्। एकीकृत संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "दक्षिण कोरियाबाट पुनर्गठन र रूपान्तरणको अभियान सुरू भइसक्यो। हाम्रो विशेष सन्देश छ कि पार्टी केन्द्रले पनि चाँडो यस अभियानलाई महाअभियानमा रूपान्तरण गरोस्।" यो एकताले प्रवासी नेपालीहरूबीचको राजनीतिक सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

निर्वाचन वातावरण निर्माणका लागि सरकार, दल र जेनजीबीच बुधबार त्रिपक्षीय छलफल

काठमाडौं  – आगामी निर्वाचनको शान्तिपूर्ण वातावरण निर्माण गर्न प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दलहरू र जेन–जी आन्दोलनबीच बुधबार त्रिपक्षीय छलफल हुने भएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे आयोजना हुनेछ। उक्त छलफलमा सरकार, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू र जेन–जी आन्दोलनका नेताहरू सहभागी हुनेछन्। प्रधानमन्त्री कार्कीले सबै पक्षबीच विश्वास र संवादको माध्यमबाट निर्वाचनसम्म सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै यो छलफल बोलाएकी हुन्। बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा आन्दोलन पक्षका मागहरू सम्बोधन गर्ने विषयमा विस्तृत बहस हुने अपेक्षा गरिएको छ।  यो छलफलले राजनीतिक तनाव न्यूनीकरण गरी निर्वाचन प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

विप्लवको पार्टी 'कम्युनिस्ट पार्टी नेपाल' नामले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन

काठमाडौं ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले 'कम्युनिस्ट पार्टी नेपाल' नाममा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। विप्लवले प्रस्ताव गरेको यो नामलाई पार्टीले अनुमोदन गरेपछि नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र कर्णजित बुढा लगायतले आयोगमा निवेदन पेश गरेका हुन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको समयसीमा कात्तिक ३० सम्म रहेको छ। प्रवक्ता विश्वकर्माले निवेदनपछि भने, "चुनावमा भाग लिएर नेपालको राजनीतिक आन्दोलनमा अगाडि बढ्ने हाम्रो उद्देश्य हो।" आयोगले निवेदनमाथि अध्ययन गरेर नाम र अन्य विषयमा निर्णय दिनेछ। यसपछि दलले आधिकारिता प्राप्त गर्नेछ। अहिले आयोगमा १२४ दल दर्ता छन् भने १७ वटा नयाँ दलका निवेदन विचाराधीन छन्।

शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशका नदीहरूमा बाढीको उच्च जोखिम

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाले बागमती, मधेश कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा बहने साना नदीहरूमा आकस्मिक बाढी बहावको सम्भावना उच्च रहेको जनाएको छ। विभागले कार्तिक १३ देखि १५ सम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुली जिल्ला भई बहने साना नदीहरूमा बाढीको जोखिम बढी छ। त्यस्तै, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्ला तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको हो। "यी क्षेत्रका साना नदीहरूमा वर्षाको प्रभावले गर्दा अचानक बहाव बढ्न सक्छ, जसले स्थानीय बस्ती, सडक र कृषि क्षेत्रमा क्षति पुर्याउन सक्छ," विज्ञप्तिमा भनिएको छ। विभागले सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पूर्व तयारी गर्न र आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ। विभागका अनुसार, यो चेतावनी मौसम पूर्वानुमानमा आधारित छ र आगामी तीन दिनभरि यी प्रदेशहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाढीको पूर्वसूचना प्रणालीमार्फत थप अपडेटहरू जारी गरिने जनाइएको छ। स्थानीय बासिन्दाहरूलाई नदी किनारका क्षेत्रबाट टाढा रहन, साना पुलपुलिया र खोला नजिकका यात्राबाट बच्न तथा विपद् व्यवस्थापन समितिसँग समन्वय राख्न आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यस्ता पूर्वसूचनाहरू मार्फत जनधनको क्षति न्यूनीकरण गर्न कटिबद्ध रहेको उल्लेख गर्दै थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट वा हटलाइनमा सम्पर्क गर्न सुझाव दिएको छ।

सर्वोच्च फूलकोर्टको निर्णय : देशभरका अदालत तोडफोडका दोषीविरुद्ध प्रहरीमा जाहेरी दिने

काठमाडौं – सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले गत आइतबार देशभरका अदालतहरूमा भएको तोडफोड, आगजनी र क्षतिका लागि संलग्नहरुविरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्ने निर्णय गरेको छ। जाहेरी तयारी चलिरहेको छ र भोलिसम्म काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता हुने सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए। "प्रहरीले अनुसन्धानबाट दोषी यकिन गरी कारबाही गरोस् भन्ने हाम्रो अपेक्षा हो," उनले भने। जाहेरी मुख्य रजिष्ट्रार वा रजिष्ट्रारको नामबाट पेश हुनेछ। जेन–जी आन्दोलनको दमनपछि भएको देशव्यापी हिंसामा सर्वोच्च सहित काठमाडौंका विशेष तथा जिल्ला अदालतहरू क्षतिग्रस्त भएका थिए। सर्वोच्चमा मात्रै २० हजार विचाराधीन र १ लाख ९७ हजार फैसलाका फाइल नष्ट भएका छन्। ५० भन्दा बढी चारपाङ्ग्रे गाडी, १५० मोटरसाइकल र सेवाग्राहीका सवारीसाधन पनि जलेका थिए। फूलकोर्टले यस्ता घटनाका दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ।

माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डकाे आव्हान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन आव्हान गर्नु भएकाे छ । देशमा देखिएका राजनीतिक जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि परेका चुनौती समाधान गर्न अग्रगामी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी अपरिहार्य रहेको उल्लेख गर्दै आज फेसबुकमार्फत  एक वक्तव्य जारी गर्दै आव्हान गर्नु भएकाे हाे । प्रचण्डले वक्तव्यमा भन्नुभएकाे छ- “यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ ।” देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै वक्तव्यमा उल्लेख गरिएकाे छ । “राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।” वक्तव्यमा दाबी गर्नुभएकाे छ । यसै सन्दर्भमा देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरिएको छ । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्नुभएकाे छ । वक्तव्यको अन्त्यमा भन्नुभएकाे छ- “यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु । धन्यवाद ।”

नेपालले भारतलाई २-१ ले हरायो : ट्राई-नेसन्स कपमा सावित्राको दोहोरो गोल

काठमाडौं – ट्राई-नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई रोमाञ्चक खेलमा २-१ को फराकिलो अन्तरले पराजित गरेको छ। शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको यो खेलमा कप्तान सावित्रा भण्डारीको दोहोरो गोल निर्णायक साबित भयो। खेलको सुरुवाती दुई मिनेटमै सावित्राले गोल गरी नेपाललाई अग्रता दिलाइन्। विमला विकको मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेन्डरलाई पछि पार्दै गोलपोस्टतर्फ प्रहार गरिन्। दोस्रो हाफको ६२औं मिनेटमा उनले फ्रिकिक मार्फत उत्कृष्ट प्रहार गर्दै नेपालको अग्रता दोब्बर पारिन्। घरेलु टोली भारतले भने ८१औं मिनेटमा गोल फर्काएर खेललाई रोमाञ्चक बनायो। भारतका लागि करिश्मा श्रीरभोइकारले यो गोल गरिन्। ट्राई-नेसन्स कपमा इरानले पहिले नै भारत र नेपाललाई हराएर उपाधि जितिसकेको थियो। यसकारण यो खेल प्रतिष्ठाको लडाइँको रूपमा सरेको थियो। नेपालले भारतलाई उसकै मैदानमा हराएर इतिहास रच्यो। यो जितमा सावित्रा फेरि एकपटक नायिका बनेकी छिन्। उनले भारतविरुद्ध अहिलेसम्म ९ गोल गरिसकेकी छिन् भने समग्रमा नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन्। पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो भने भारत पनि इरानसँग २–० ले हारेको थियो। उपाधि जित्ने लक्ष्यसहित शिलोङ पुगेको नेपाली टोली पहिलो खेलमै पराजित भएपछि सम्भावना सकिएको थियो। तर यो जितले टोलीको मनोबल बढाएको छ। पछिल्लो समय महिला फुटबलमा भारतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। यो नेपालको भारतविरुद्ध चौथो जित हो। यसअघि सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई हराएको थियो। भारतलाई उसकै मैदानमा दोस्रो पटक पराजित गरेको यो जितसँगै पछिल्लो पाँच खेलमा नेपाल भारतसँग अपराजित छ। काठमाडौंमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई हराएको थियो। यो खेलबाट युवा फरवार्ड मिना देउवाले नेपालको सिनियर महिला टिमबाट डेब्यु गरिन्। नेपाल यू–१९ महिला टिमकी फरवार्ड मिनाले ७६औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिमबाट पहिलो पटक खेलिन्। मुख्य प्रशिक्षक नवीन न्यौपानेले पनि महिला टिमको प्रशिक्षकको रूपमा यो पहिलो जितलाई आत्मसात् गरेका छन्। उनले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी खेलहरूमा अझ राम्रो नतिजा ल्याउने बताए। यो जितले नेपाली महिला फुटबलको उज्ज्वल भविष्यको संकेत गरेको छ।

प्रचण्डद्वारा निर्वाचनलाई प्राथमिकता : 'विकल्प छैन, शान्तिपूर्ण चुनावमार्फत समृद्धिको यात्रा'

भरतपुर । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिस्थिति सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत समृद्धिको बाटोतर्फ लैजानुको कुनै विकल्प नरहेको बताउनुभयो । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले पछिल्लो समय देशमा उत्पन्न परिस्थिति सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै पक्षलाई त्यसमा होमिनुपर्नेमा जोड दिनुभयो । संयोजक प्रचण्डले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकोले तल्लो तहसम्मका नेताकार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन। चुनावको विकल्प छैन। त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ।’ उहाँले थप्नुभयो, ‘मैले नेपाली कांग्रेसलगायतका दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु। चुनावको वातावरण बनाउन हामी सबै लागौँ। सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु।’ संयोजक प्रचण्डले अन्य कुरामा अल्मलिएर निर्वाचनमा केन्द्रित नहुन सरकारलाई आग्रह गर्नुभयो । यसैगरी, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ। यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ।’

छठले राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्व २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो, संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ, विभिन्न जाति, धर्म र समुदायका मौलिक संस्कृति अनुसारका चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन् ।’ विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको उनको भनाइ छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबिचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई नदी वा जलाशयको छेउमा रातभर व्रत बसेर बिहानपख उदाउँदो सूर्यलाई अर्घ्य दिनु छठ पर्वको मुख्य विशेषता हो । मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान दर्साउने गरेको पाइन्छ । उनले भनेका छन्, “परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससाथ मनाइने छठ पर्वले हामी सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रचण्डद्वारा छठको शुभकामना: सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणमा अघि बढ्न सकौँ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।  लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताका प्रतीक छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिँदै उहाँले बताउनुभयो, “परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौँ भन्ने विश्वास व्यक्त गर्दछु ।” आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्त्वपूर्ण बनेको उहाँको भनाइ छ । यसै सन्दर्भमा उहाँले थप्नुभयो, “छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने हार्दिक कामना गर्दछु ।” मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने यो पर्व हाम्रो संस्कृति, परम्परा, श्रम–सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको छ । यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने प्रचण्डले उल्लेख गर्नुभयो ।

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइने

काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरू बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने गर्छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । पौराणिक आधार महाभारतका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सूर्यदेवको आराधना गरेका थिए । उक्त आराधनाको फलस्वरूप उनीहरूको गुप्तवास सफल भएको विश्वास छ । लोककथन अनुसार सोही समयदेखि छठ पर्व मनाउने परम्पराको थालनी भएको मानिन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रि ऋषिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । त्यसको फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । यही कारण सूर्य आराधनाको यो परम्परा ‘छठ पर्व’को रूपमा स्थायी भएको उल्लेख पाइन्छ । सूर्य आराधनाको महत्त्व संसारका सम्पूर्ण भौतिक विकास सूर्य ऊर्जामाथि निर्भर छन् । सूर्यका किरणविना रुख, बिरुवा, वनस्पति, प्राणी तथा जीवजन्तुको अस्तित्व रहँदैन । आयुर्वेद र आधुनिक चिकित्सा दुवैमा सूर्यकिरणको उपचारात्मक प्रभावका बारेमा विस्तृत वर्णन पाइन्छ । साम्ब पुराणमा उल्लेख भएअनुसार श्रीकृष्णका पुत्र साम्ब महर्षि दुर्वासाको श्रापले कुष्ठरोगी बनेका थिए । सूर्य आराधनाबाट उनी रोगमुक्त भएको कथा प्रसिद्ध छ । यसै सन्दर्भमा छठ व्रत गरे दुःख, दरिद्रता र रोगबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहँदै आएको छ । व्रतविधि र मान्यता कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक मात्र भोजन गर्ने चलन छ । दोस्रो दिन (पञ्चमी) मा सखर हालेर बनाइएको खीर अर्थात् खरना षष्ठी मातालाई अर्पण गरिन्छ र व्रतालुहरूले त्यसलाई प्रसादस्वरूप ग्रहण गर्छन् । मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन व्रतालुले कठोर निराहार व्रत बस्छन् र बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य अर्पण गर्छन् । रातभर जाग्राम बसेपछि भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ । धार्मिक विश्वासअनुसार यसरी सूर्यको आराधना गर्ने व्यक्तिलाई छालासम्बन्धी रोग लाग्दैन । सामाजिक र सांस्कृतिक विस्तार विसं २०४६ अघि छठ पर्व मुख्यतः तराई क्षेत्रमा सीमित थियो । त्यसपछि यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । सोही वर्षदेखि सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बीचका केही वर्षमा बिदा काटिएको भए पनि अहिले पुनः प्रदान गर्न थालिएको छ । राजधानी काठमाडौँमा गुह्येश्वरी–गौरीघाट क्षेत्र, कमलपोखरी, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारहरूमा छठका अवसरमा विशेष सजावट गरिएको छ । व्रतालुहरूले चतुर्थीदेखि नै चोखो खानपान र सात्विक जीवनशैली अपनाउने गर्छन् । कतिपय व्रतालुहरूले कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याजजस्ता तामसी पदार्थ त्यागी सात्विक भोजनमा बस्ने परम्परा समेत पालना गर्छन् । यस कारण छठ पर्व आज धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि अत्यन्त पवित्र र आस्थासँग मनाइने महान् चाडका रूपमा स्थापित भएको छ ।  

अझै प्रधानमन्त्री कार्कीको काँधमा ७ मन्त्रालयकाे जिम्मेवारी

काठमाडौं । जेनजी आन्दोलनको बलमा गत भदौ २३ र २४ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । हिजाे आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा डा. सुधा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन् । तर तेस्रो पटकको विस्तारपछि पनि प्रधानमन्त्री कार्कीले अझै ७ मन्त्रालयको जिम्मेवारी आफ्नै काँधमा राखेकी छन् । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्र, रक्षा, खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कार्कीकै जिम्मामा रहेका छन् । यस विस्तारसँगै मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । प्रधानमन्त्री कार्कीबाहेक तीन मन्त्रीले एकभन्दा बढी मन्त्रालय सम्हालेका छन् । तीमध्ये दुई मन्त्रीले तीन–तीन मन्त्रालय र एक मन्त्रीले दुई मन्त्रालयको जिम्मेवारी पाएका छन् । बाँकी मन्त्रीहरूले एक–एक मन्त्रालय सम्हालेका छन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला, र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हालेका छन् । त्यस्तै रामेश्वर खनालले अर्थ तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । बाँकी मन्त्रीहरूमा ओमप्रकाश अर्यालले गृह, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियारले कृषि तथा पशुपक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि, डा. सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या, र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् ।

''अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो” –संयोजक प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भयो। कार्यक्रममा पार्टीका संयोजक  तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता तथा संयोजकका रूपमा उपस्थित हुनुभएको छ। कार्यक्रममा संयोजक प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिनुभयो। संयोजक प्रचण्डले भन्नुभयो, “जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।” उहाँले हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै थप्नुभयो, “केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो। जेन–जि आन्दोलन हाम्रा उत्तराधिकारी हुन्, र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।” चुनावको सन्दर्भमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै भन्नुभयो, “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन।” त्यस्तै उहाँले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको बताउँदै भन्नुभयो, “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।” जेन–जि पुस्तासँगको सम्बन्धबारे प्रचण्डले भन्नुभयो, “अब जेन–जि युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ।” उहाँले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने संकल्प व्यक्त गर्दै भन्नुभयो, “हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ। विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।” कार्यक्रममा संयोजक प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भन्नुभयो, “अहिले पनि प्रतिगामी खतरा कायम छ। तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन्। त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ।”

खगेन्द्र सुनारको नाम फिर्ता, फौजदारी मुद्दाका प्रतिवादी भएपछि मन्त्री बन्न पाएनन्

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले उनको नाम मन्त्री सूचीमा समावेश नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार आदर्शकुमार श्रेष्ठले दिएको जानकारीअनुसार, सुनारको नाम सुरुदेखि नै लिस्टमा थिएन। यो स्पष्टीकरण सुर्खेत जिल्ला अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो। दैलेखको नारायण नगरपालिका–२ निवासी सुनारविरुद्ध २०८१ असार १४ मा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपातको आरोपमा मुद्दा दर्ता भएको थियो। यो मुद्दा गुर्भाकोट–८ को मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीमा आधारित छ। अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै प्रहरीलाई पत्राचार गरेको थियो, र पछि २०८१ मङ्सिर २१ मा पनि दोहोर्याएको जनाइएको छ। शपथ ग्रहणको पूर्वसन्ध्यामा यो विवरण बाहिरिएपछि सुनारको सम्भावित नियुक्ति विवादास्पद बनेको थियो।