अञ्जना विशंखेले छाडिन् जनार्दन शर्माको अभियान, नेपाली कम्युनिस्ट पार्टीमै रहेको प्रष्टिकरण
काठमाडौं । जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील अभियान, नेपालकी नेतृ अञ्जना विशंखेले प्रगतिशील अभियान नेपाल परित्याग गरेकी छन् । शर्मा नेतृत्वको अभियानमा विशंखेलाई दोस्रो वरियता अर्थात वरिष्ठ उपाध्यक्षको पदमा राखिएको थियो ।
विशंखेले आफू नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विभिन्न पार्टी र समूहको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीमै रहेको बताएकी छन् । उनले आफू व्यक्तिगत सम्बन्धका हिसाबले गए पनि अभियानमा नरहेको प्रष्ट पारेकी छन् ।
शर्माले भने विशंखेलाई वरिष्ठ उपाध्यक्ष पदमा राखेका छन् । शर्मा निकटहरुले विकिपिडियामासमेत विशंखेलाई वरिष्ठ उपाध्यक्ष भनेर अपडेट गरेका छन् । विशंखेले भने केन्द्रीय समिति बैठक र राष्ट्रिय सम्मेलनको माइनुटमा हस्ताक्षर गरेको नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग एकताका लागि अशोक राई नेतृत्वको जसपा सकरात्मक
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकताका लागि सकरात्मक रहेको निष्कर्ष निकालेको छ । पार्टी एकता र सहकार्यका लागि पार्टी बैठकबाट तयार गरिएको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकता र तालमेलको विकल्पमा निष्कर्षमा पुग्न सकिने जनाइएको छ । कार्तिक १९ र २० गते बसेको केन्द्रीय समितिको बैठकमा विभिन्न तीन विकल्पबारे विस्तृत छलफल भएको हो । ती विकल्पहरू मध्ये पहिलो, थ्रेसहोल्ड नकट्ने अवस्था भएमा विचार र सिद्धान्त मिल्ने साना पार्टीसँग एकता गर्ने । दोस्रो, हालै प्रचण्डको नेतृत्वमा एकीकृत भएको नेपाली कम्युनिष्ट पार्टीसँग एकता वा तालमेल गर्ने । र तेस्रो, नेकपा (एमाले) र नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने । केन्द्रीय समितिको बैठकमा यी तीनै विकल्पमा छलफल भएको जसपाका केन्द्रीय सदस्य तथा युवा नेता दुर्गा सुवेदीले बताउनुभयो । उहाँका अनुसार, केन्द्रीय समितिले यी विकल्पहरूलाई कार्यकारिणी समितिको बैठकमा पठाएको छ । छिट्टै बस्न लागेको कार्यकारिणी समितिको बैठकमा यी विकल्पहरूबारे थप छलफल र निर्णय हुने उहाँले जानकारी दिनुभयो । जसपाका एक पदाधिकारीका अनुसार, ६–७ वटा दलबाट एकताका लागि प्रस्तावहरू आएका छन् । कुन दलसँग एकता गर्ने, कुनसँग कार्यगत एकता वा चुनावी तालमेल गर्ने भन्ने विषयमा कार्यकारिणी समितिको बैठकले नै टुङ्गो लगाउने छ । उक्त पदाधिकारीले भन्नुभयो, "हामीले पहिचानवादी शक्तिसँग एकता र सहकार्य गर्ने खुला गरेपछि विभिन्न दलबाट प्रस्ताव आएका छन् । ती प्रस्तावहरूको बारेमा हामी छलफल गर्दैछौं ।" लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी लगायतका दलबाट जसपालाई एकताका लागि प्रस्ताव आएको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले एकताका लागि आधिकारिक पत्र नै पठाएको थियो । पार्टीको रणनीति अनुसार, विभिन्न साना दलसँग एकता गरेर थ्रेसहोल्ड काट्ने अवस्था भएमा मात्र एकता गर्ने, नभए चुनावी तालमेल गरेर अगाडि बढ्ने योजना छ । जसपा नेताहरुका अनुसार प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग एकताका लागि पार्टी तयार छ । त्यसका लागि अब छलफललाई निरन्तरता दिने तयारी गरिएको छ । साना दलसँग एकता नभएको अवस्थामा कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने रणनीति जसपाको रहेको छ । "कांग्रेस र एमालेसँग चुनावी तालमेल मात्र हुन्छ, एकता हुँदैन । किनभने यी दलसँग पहिचानको मुद्दा छैन । त्यही भएर आवश्यक ठाउँमा चुनावी तालमेल मात्र हुन्छ ।" प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग भने जसपाले चुनावी तालमेल र एकताका लागि सकरात्मक विकल्प खुला राखेको छ । नेकपासँग पहिचानका पक्षमा धेरै हदसम्म कुरा मिलेको र अन्य मुद्दा तथा एजेन्डामा पनि समान विचार रहेका कारण यो पार्टीसँग एकताका लागि छलफल गर्ने, एकता नभए तालमेलका लागि पहल गर्ने तयारी जसपाको छ । यी तीनै विकल्पको बारेमा कार्यकारिणी समितिको बैठकले अन्तिम टुङ्गो लगाउने जसपाका नेताहरूले बताएका छन् ।
"सकारात्मक भूमिका निर्वाह गरेर नै प्रचण्ड र मदन भण्डारीहरू उत्तराधिकारी भएका हुन्—यो कुरा भुल्नु हुँदैन ।"
काठमाडौं, । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले पार्टीको एकता र सुदृढीकरणका लागि सबै सदस्यहरूलाई सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ । फेसबुकमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा गजुरेलले पार्टीलाई 'आशाको दियो' को संज्ञा दिँदै यसलाई निभ्न नदिनु पर्नेमा जोड दिनुभएको छ । गजुरेलको पोस्टमा भनिएको छ, "नेपाली कम्युनिष्ट पार्टी आशाको दियो हो—निभ्न नदिऔँ ! सकिन्छ भने घिउ थपौं, सकिँदैन भने धारे हात नलगाऔँ !" उहाँले थप्नुभयो, "सकारात्मक भूमिका निर्वाह गरेर नै प्रचण्ड र मदन भण्डारीहरू उत्तराधिकारी भएका हुन्—यो कुरा भुल्नु हुँदैन ।" पार्टीभित्रका हालका चुनौतीहरूको सन्दर्भमा गजुरेलले आत्मकेन्द्रित सोच त्यागेर रचनात्मक आलोचना गर्न आग्रह गर्नुभएको छ । "अबको सन्दर्भमा—आफूतिर फर्कौं, आत्मरति त्यागौं । नकारात्मक मात्र नदेखौं, रचनात्मक आलोचना गरौं, जिम्मेवार बनौं, पार्टीलाई बलियो र विश्वासिलो बनाऔं !" भन्ने उहाँको भनाइ छ । नेकपा हाल माओवादी केन्द्रसहितका विभिन्न घटकहरूसँग एकीकरणको प्रक्रियामा छ । यसरी एकताबद्ध हुँदै जाँदा पार्टीभित्रका आन्तरिक द्वन्द्वहरू सम्बोधन गर्न आवश्यक रहेको गजुरेलको यो अपिलले संकेत गरेको छ । प्रचण्डसँगको आफ्नो निकटताको सन्दर्भमा पनि उहाँले सकारात्मक इतिहासलाई स्मरण गर्दै भविष्योन्मुख सोच विकास गर्न जोड दिनुभएको छ । यो सन्देशले पार्टीका कार्यकर्ता र नेताहरूबीच सकारात्मक छलफलको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचन आयोगको आग्रह: ‘मतदाता नामावली दर्ताको प्रचार गर्नुस्’
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि राजनीतिक दलहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले बिहीबार जारी सूचना मार्फत् राजनीतिक दल, आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई मतदाता नामावली दर्ता सम्बन्धी प्रचारप्रसार गर्न अनुरोध गरेका हुन् । सूचनामा भनिएको छ, ‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गर्न सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यमलगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ ।’ आयोगका अनुसार मतदाता नामावलीमा समावेश भएका व्यक्तिले मात्र मतदान गर्न पाउने व्यवस्था छ । यदि कसैको नाम नामावलीमा दर्ता नभएको भए नागरिकता प्रमाणपत्रसहित आयोगको वेबसाइटमा गएर प्रि–रजिष्ट्रेसन प्रणालीमार्फत आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको मिति, समय र स्थानमा गई फोटो र बायोमेट्रिक विवरण दिन सकिनेछ । विवाह, बसाइँसराइ वा अन्य कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा सम्बन्धित कागजातसहित आवेदन दिन सकिने व्यवस्था छ । त्यस्तै, मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि स्थानीय तहहरूमार्फत प्रचारप्रसार र सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि आयोगले गरेको छ । पछिल्लो विवरण अनुसार देशभर एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये ८१ हजार ८६४ पुरुष, ५४ हजार १७८ महिला र १८ अन्य रहेका छन् । केवल बिहीबार मात्रै ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । आयोगले हालै जेनजी पुस्ता (१६ वर्ष उमेर समूह) लाई लक्षित गर्दै अध्यादेशमार्फत कानुनी बाटो खुला गरेको थियो । उक्त अध्यादेशअनुसार असोज ९ गतेबाट सुरु भएको मतदाता नामावली संकलन आगामी कात्तिक ३० गतेसम्म जारी रहनेछ । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलनलाई तीव्र पारेको हो । १६ वर्ष पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूमा गई नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदा बाहेक प्रत्येक दिन बिहान ८ बजे देखि बेलुकी ६ बजेसम्म मतदाता नामावली दर्ता प्रक्रिया सञ्चालन भइरहेको आयोगले जनाएको छ ।
बाढी पीडितकाे माग पुरा नभएपछि मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नुभएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोेदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्णरूपमा रोकिएको छ ।” विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो । मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।
यी हुन् पार्टी एकताअघि नै एकीकृत समाजवादीबाट कारबाहीमा परेका नेता
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा हुनुभन्दा अघि नै नेकपा एकीकृत समाजवादीका छ नेतामाथि पार्टी कारबाही गरिएको तथ्य बाहिर आएको छ । घनश्याम भूसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट निष्कासन गरिएको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गर्नुभएको विज्ञप्तिमा यो उल्लेख छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका १० विभिन्न घटकसँग एकीकृत भइसकेको छ । पार्टी केन्द्रीय कमिटीको निर्णय उल्लंघन गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नै यो निर्णय गरेको हो ।
एमाले मुगुका नेता उब्जनबहादुर शाही एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौं। नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगुको खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले एमालेबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान पार्टीका सहसंयोजक माधवकुमार नेपालले स्वागत गरे । स्वागत कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही र ठगेन्द्रप्रकाश पुरीलगायत सहभागी थिए । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित १० राजनीतिक दलहरूको एकीकरणबाट गठित यो नयाँ पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' राखिएको छ । एकीकृत पार्टीको दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिइसकिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले बिहीबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरेको छ । विभिन्न १० वाम दल र समूहको एकताको परिणाम स्वरूप बनेको यो पार्टीले आफ्नै चुनाव चिह्न ‘पाँचकुने तारा’ राखेको छ । पार्टीका नेता शिव खकुरेलले जानकारी दिँदै भने, “दलको विधान पूर्णरूपमा तयार भएपछि आयोगमा सम्बन्धित दस्तावेज पेश गरिनेछ । निवेदनसँगै दलबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्र पनि संलग्न गरिएको छ ।” साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको मिलनबाट गठन भएको नयाँ पार्टी आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने तयारीमा छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन् । निर्वाचन आयोगले तोकेको अनुसार, आगामी २१ फागुनको निर्वाचनमा भाग लिने दलहरूले यही ३० कात्तिकभित्र आफ्नो दल दर्ता प्रमाणपत्र लिनुपर्नेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन: पुस २० गतेपछि उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उक्त कार्यतालिका अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी दर्ता, दाबी–विरोध, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत प्रक्रिया सञ्चालन हुने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि कार्यतालिका स्वीकृत गरिएको हो । उनले भने, “आयोगको आन्तरिक कामलाई व्यवस्थित बनाउन कार्यतालिका स्वीकृत गरिएको हो । दलहरूसँग परामर्श गरी विस्तृत निर्वाचन कार्यक्रम पछि सार्वजनिक गरिनेछ ।” कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता दल दर्ता आह्वान गर्नेछ । दर्ताका लागि एक साताको समयसीमा तोकिँदै आएको छ । प्राप्त निवेदनहरूको छानबिनपछि आयोगले मङ्सिर दोस्रो साता दल दर्ता स्वीकृत गरी निर्वाचन चिन्ह प्रदान गर्नेछ । आयोगले स्वीकृत कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम मङ्सिर दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसअघि मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान, मौज्दात विश्लेषण र अनुमानजस्ता प्रारम्भिक काम कात्तिकभित्रै सम्पन्न गरिने आयोगले जनाएको छ । मतदाता नामावली भने पुस पहिलो साता सार्वजनिक गरिनेछ । विद्यमान कानुनी व्यवस्थाअनुसार सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र त्यहीँका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुख सम्मिलित निर्वाचकमण्डलले राष्ट्रिय सभाका सदस्यका लागि मतदान गर्नेछन् । आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदैछ । तीमध्ये १८ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्छन् । यसपालि कोशीबाट तीन, मधेशबाट चार, लुम्बिनीबाट तीन, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई जना सदस्य निर्वाचित हुनेछन् । एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् । पदावधि सकिनुभन्दा करिब ४० दिनअघि निर्वाचन हुने तयारी आयोगले गरेको छ । कार्यतालिकाअनुसार पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण, पुस दोस्रो साता निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । पुस अन्तिम साता मतपत्र छपाइलगायतका कार्य समानान्तर रूपमा अघि बढाइनेछ । माघ पहिलो साता प्रचार–प्रसार अवधि रहनेछ भने मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुनेछ । नेपाल सरकार मन्त्रीपरिषद्को गत कात्तिक १२ गतेको बैठकले माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन मिति तोकेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार रिक्त हुने पदको निर्वाचन पद रिक्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सरकारले मिति तोकेलगत्तै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी सुरु गरेको हो ।
को हुन न्यूयोर्क सिटीका नयाँ मेयर, के छ कम्युनिष्टसँग उनको साइनो ?
अमेरिकाको न्यूयोर्क सहरको इतिहासमा पहिलोपटक सबैभन्दा कान्छा र मुस्लिम समुदायका व्यक्ति मेयर पदमा निर्वाचन जितेपछि संसारभरि चर्चा चुलिएको छ । निर्वाचन अभियानमा रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई कम्युनिष्ट भन्दै चर्को आलोचना मात्र गरेनन् बरु उनी विजयी भएमा संघ सरकारबाट सहयोग नै रोकिदिने चेतावनी समेत दिए । तर बहुमत ल्याएर निर्वाचित हुनबाट कसैले रोक्न सकेन । भारतीय आमा र अफ्रिकी बुवाका सन्तान जोहरान मामदानी को हुन त ? के छ उनको भारतसँगको सम्बन्ध ? कस्तो परिवारमा जन्मिए उनी र उनको राजनीति कसरी सुरु भयो ? पढ्नुस विस्तृतमा जन्म र विश्वव्यापी बाल्यकालको यात्रा जोहरान क्वामे मामदानीको जन्म सन् १९९१ अक्टोबर १८ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो। उनको जन्मको समय युगान्डा राजनीतिक रूपमा अस्थिर थियो; योवेरि मुसेभेनीको शासनकालको प्रारम्भिक वर्ष थियो। कम्पालाको एक मध्यमवर्गीय बौद्धिक परिवारमा जन्मिएका जोहरानले आफ्ना प्रारम्भिक दिनहरू स्वाहिली लोरी, युगान्डाली सडकको खाना र परिवारका राजनीतिक छलफलहरूमा बिताए। उनको जन्मको केही हप्ता अघि मात्र भारत र पाकिस्तानको विभाजन भएको थियो, जसको प्रभाव उनको पारिवारिक इतिहासमा गहिरो छ। उनी पाँच वर्षको उमेरमा सन् १९९६ मा परिवारसँग दक्षिण अफ्रिकाको केपटाउन सरे। यो समय दक्षिण अफ्रिकामा रंगभेदको अन्त्यपछि पुनर्मिलनको चरण थियो। केपटाउनमा उनले स्थानीय स्कूलमा पढे, अफ्रिकान्स र खोसा भाषाको प्रभाव लिए र नेल्सन मण्डेलाको मेलमिलापको साक्षी बने। सात वर्षको उमेरमा सन् १९९८ मा परिवार न्यूयोर्क सिटीको म्यानहट्टनको अपर वेस्ट साइडमा बसाइँ सरे। यो बसाइँ उनको बुबा महमूद मामदानी कोलम्बिया विश्वविद्यालयमा प्राध्यापक बन्न गएपछि भएको थियो। न्यूयोर्कमा उनले अमेरिकी नागरिकता प्राप्त गरे र आफूलाई युगान्डाली–अमेरिकी भनेर चिनाए। उनको बाल्यकाल तीन महादेशमा बित्यो—अफ्रिका, दक्षिण अफ्रिका र अमेरिका—जसले उनलाई "जरा जोडिएको विश्व–नागरिक" बनायो। केही स्रोतहरूले उनलाई मुम्बईमा जन्मिएको भनेर दाबी गर्छन्, तर यो पूर्ण रूपमा गलत हो। यो भ्रम उनको बुबा महमूद मामदानी मुम्बईमा जन्मिएकाले उत्पन्न भएको हो। द न्यूयोर्क टाइम्स, भोग इन्डिया र द गार्जियन का २०२५ का प्रोफाइलहरूले स्पष्ट रूपमा कम्पालालाई उनको जन्मस्थल भनेका छन्। परिवारको गहिरो प्रभाव र मातापिताको बौद्धिक विरासत जोहरानको विचार, भाषा, कला र राजनीतिमा उनको परिवारको प्रभाव अत्यन्त गहिरो छ। उनको परिवार दक्षिण एसियाली, अफ्रिकी र विश्व बौद्धिक परम्पराको संयोजन हो। बुबा महमूद मामदानी सन् १९४७ अप्रिल २३ मा भारतको मुम्बई (तत्कालीन बम्बई) मा जन्मिएका थिए। उनी गुजराती मुस्लिम व्यापारी परिवारका सन्तान हुन् जसले सन् १९५० को दशकमा युगान्डा बसाइँ सरे। महमूद कोलम्बिया विश्वविद्यालयका प्राध्यापक, माकरेयर इन्स्टिच्युट अफ सोशल रिसर्चका पूर्वनिर्देशक र Citizen and Subject (१९९६), When Victims Become Killers (२००१) जस्ता पुस्तकका लेखक हुन्। उनको काम उपनिवेशवाद, पूँजीवाद, उत्तर–उपनिवेशिक राज्य र अफ्रिकी राजनीतिमा केन्द्रित छ। घरमा हुने छलफलहरूमा इदी अमिनको एसियाली निष्कासन (१९७२) को प्रभाव, अफ्रिकी स्वतन्त्रता आन्दोलन र भारतीय विभाजनका कथाहरू सुनेर जोहरान हुर्किए। महमूदको गुजराती मुस्लिम पृष्ठभूमिले जोहरानलाई इस्लामिक संस्कृति र व्यापारिक नैतिकताको शिक्षा दियो। आमा मीरा नायर सन् १९५७ अक्टोबर १५ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा जन्मिएकी थिइन्। उनी ओडिया हिन्दू मध्यमवर्गीय परिवारकी थिइन्। उनले दिल्ली विश्वविद्यालयको मिरान्डा हाउसमा समाजशास्त्र पढिन् र हार्वर्डबाट चलचित्रमा एमएफए गरिन्। मीरा विश्वप्रसिद्ध चलचित्रकार हुन् जसले Salaam Bombay! (१९८८, कान्समा पुरस्कार), Mississippi Masala (१९९१), Monsoon Wedding (२००१, भेनिस गोल्डेन लायन) र The Namesake (२००६) बनाइन्। उनको फिल्मले आप्रवासी अनुभव, सांस्कृतिक संकरता र सामाजिक न्यायको कथा भन्छन्। मीरा र महमूदको सन् १९८८ को विवाहले हिन्दू र मुस्लिम संस्कृतिको संयोजन गर्यो—विवाहमा हिन्दू रीतिरिवाज र मुस्लिम निकाह दुवै भए। घरमा अंग्रेजी, हिन्दी, उर्दू, स्वाहिली र गुजराती बोलिन्थ्यो। सत्यजित रायका फिल्म, बॉलीवुडका गीत, युगान्डाली कविता र अमेरिकी हिप–हप सँगै छलफल हुन्थ्यो। जोहरानले आफ्नो र्यापमा मातापिताको प्रभावलाई "देशी मसला, अफ्रिकी बीट र न्यूयोर्कको स्व्याग" को संयोजन भनेका छन्। उनको दाइ Adam Mamdani सफ्टवेयर इन्जिनियर र संगीतकार हुन् भने बहिनी Zaya Nair कलाकार र फिल्मकार। यो परिवारले जोहरानलाई कला, न्याय र बहुभाषिकताको शिक्षा दियो। शिक्षा र बौद्धिक तथा सामाजिक जागरण जोहरानको शिक्षा प्रगतिशील र आलोचनात्मक सोचमा आधारित थियो। न्यूयोर्कको बैंक स्ट्रीट स्कूल फर चिल्ड्रेन मा उनले सन् १९९८–२००६ सम्म प्रारम्भिक शिक्षा लिए। यो निजी प्रगतिशील स्कूलमा खेल–आधारित शिक्षा र सामाजिक न्यायका परियोजनाहरू थिए। यहाँ उनले खेलमैदानको समानतामा पहिलो "मेनिफेस्टो" लेखे। सन् २००६–२०१० मा उनले ब्रोन्क्स हाइ स्कूल अफ साइन्स मा पढे। यो न्यूयोर्कको प्रतिष्ठित सार्वजनिक विज्ञान–केन्द्रित स्कूल हो जसमा प्रवेश एसएचएसएटी परीक्षाबाट हुन्छ। यहाँ उनले क्रिकेट क्लबको सह–संस्थापना गरे (जो पछि न्यूयोर्कको सार्वजनिक स्कूल प्रणालीमा आधिकारिक भयो), फुटबल खेले, र्याप लेखे र विद्यार्थी उपाध्यक्षको चुनाव लडे (हारेँ)। उनको जीपीए ३.५ थियो; उनी विज्ञानभन्दा मानविकीमा रुचि राख्थे। सन् २०२० मा उनले स्कूलको परीक्षा–आधारित भर्ना प्रणालीलाई शैक्षिक विभेदको कारण भनेर आलोचना गरे। सन् २००९–२०१४ मा उनले बोवडिन कलेज, मेन राज्यको ब्रन्सविकमा अफ्रिकाना स्टडीजमा बीए गरे। उनको थेसिस युगान्डाली हिप–हप र प्रतिरोधमा थियो। यहाँ उनले स्टुडेन्ट्स फर जस्टिस इन प्यालेस्टाइन को शाखा खोले, फोसिल फ्युलविरुद्ध प्रदर्शन गरे र एसीएलयूमा इन्टर्न गरे। उनले "मिस्टर कार्डामम" नामले र्याप गर्न थाले। सन् २०१४ मा उनले कुम लाउड सम्मानका साथ स्नातक गरे। कलेजपछि उनले चेन्ज कोर्प्स मा एकवर्षे सामुदायिक संगठन तालिम लिए तर छ महिनामै "शोषणकारी संरचना" भन्दै मजदुर युनियन बनाउन छोडे। यो उनको पहिलो "स्ट्राइक नेतृत्व" थियो। कलात्मक यात्रा र "मिस्टर कार्डामम" को उदय सन् २०१५ मा जोहरानले "मिस्टर कार्डामम" नामले र्याप गर्न थाले। उनको पहिलो मिक्सटेप Sidda Mukya (२०१६) मा पंजाबी भांगडा, युगान्डाली रुम्बा, गुजराती लोक र न्यूयोर्कको इस्ट कोस्ट हिप–हप मिसाइएको थियो। "Nani's Recipes" गीतमा नानीको रेसिपीमार्फत सांस्कृतिक हानिको कथा छ। "Yankee Doodle Desi" (२०१८) भाइरल भयो र Pitchfork ले "पोस्टकोलोनियल स्व्याग" भनेर प्रशंसा गर्*यो। उनले दक्षिण एसियाली अमेरिकी कार्यक्रमहरूमा प्रस्तुति दिए। उनको गीतहरूमा आप्रवासी अलगाव, इस्लामोफोबिया र श्रम अधिकारका कुरा छन्। उनले संगीतलाई "राजनीतिक शिक्षा" मानेका छन्, व्यापारिक होइन। उनको र्यापमा मीरा नायरको फिल्मको दृश्यात्मकता र महमूदको सैद्धान्तिक गहिराइ झल्किन्छ। राजनीतिक उदय, काम र उपलब्धिहरू जोहरानको राजनीतिक यात्रा सन् २०१४ को सामुदायिक संगठनबाट सुरु भयो। सन् २०१६ मा उनी न्यूयोर्क फर्किए र डेमोक्र्याटिक सोशलिस्ट्स अफ अमेरिका (डीएसए) मा सामेल भए। क्वीन्सको एस्टोरियामा उनले भाडा हडताल अभियान चलाए र २०० भन्दा बढी किरायालाई निष्कासनबाट जोगाए। सन् २०२० नोभेम्बर ३ मा उनले न्यूयोर्क स्टेट एसेम्बलीको जिल्ला ३६ बाट चुनाव जिते। उनले ५८% मतका साथ वर्तमान अरावेला सिमोटासलाई पराजित गरे र सबैभन्दा कान्छा मुस्लिम विधायक बने। सन् २०२२ मा ७२% मतले पुनःनिर्वाचित भए। एसेम्बलीमा उनले निम्न काम गरे: आवास: भाडा स्थिरीकरण विधेयक प्रायोजन, सार्वजनिक आवास पुनर्निर्माण। आपराधिक न्याय: पुलिस सुधार, $१ बिलियन मानसिक स्वास्थ्यमा पुनर्विनियोजन। श्रम: डीएसए कर्मचारी युनियन (२०२३)। विदेश नीति: प्यालेस्टाइन समर्थन, बीडीएस प्रस्ताव। जलवायु: न्यूयोर्कको लागि हरित नयाँ डील सह–लेखन। सन् २०२५ जनवरीमा उनले मेयरको उम्मेदवारी घोषणा गरे। जुनमा डेमोक्र्याटिक प्राइमरीमा एरिक एडम्सलाई ५२%–४८% ले हराए। नोभेम्बर ४ मा सामान्य चुनावमा उनले स्वतन्त्र एन्ड्रयू कुओमो (३०%) र रिपब्लिकन कर्टिस स्लिवा (१८%) लाई ५०% मतका साथ पराजित गरे। उनी न्यूयोर्कको पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली र एक शताब्दीभन्दा कान्छा मेयर बने। उनको "पिपल्स ग्रोसरी" (सरकारी पसल), निःशुल्क बस र वैकल्पिक सुरक्षा एकाइको योजना जनप्रिय भयो। विचारधारा, दर्शन र राजनीतिक प्रभाव जोहरान आफूलाई लोकतान्त्रिक समाजवादी भन्छन्, उनको विचार फ्रान्त्ज फानोन, अड्रे लोर्डे, मातापिताको उपनिवेशवाद–विरोधी सिद्धान्त र डीएसएको व्यावहारिक समाजवादमा आधारित छ। उनको नारा "सोलिडारिटी ओभर च्यारिटी" (दानभन्दा एकता) हो। उनी शाकाहारी छन् (सन् २०१८ देखि, भारतीय अहिंसाबाट प्रेरित), पाँच वखत नमाज पढ्छन् तर धर्मनिरपेक्ष शासनको पक्षधर छन्। उनले नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादलाई "अधिनायकवादी" भनेका छन् र कश्मीर–प्यालेस्टाइनबीच समानता देखेका छन्। उनले एओसी, बर्नी स्यान्डर्स र डीएसएको समर्थन पाए। ट्रम्पले उनलाई "कम्युनिस्ट" भने पनि PolitiFact र FactCheck.org ले खण्डन गरेका छन्। जोहरान मामदानी र लोकतान्त्रिक समाजवादको सम्बन्ध न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मामदानी अमेरिकाको लोकतान्त्रिक समाजवाद आन्दोलनका प्रमुख प्रतिनिधि हुन्, जसले डेमोक्र्याटिक सोशलिस्ट्स अफ अमेरिका (DSA) को सदस्यको रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। सन् २०१७ मा DSA मा सामेल भएका मामदानीले क्वीन्सको एस्टोरियामा भाडा हडताल र श्रम युनियन अभियानहरू चलाएर प्रगतिशील राजनीतिको आधार तयार पारे, जसले उनलाई सन् २०२० मा न्यूयोर्क स्टेट एसेम्बलीको सबैभन्दा कान्छा मुस्लिम सदस्य बन्न मद्दत गर्यो। DSA को प्रभावमा उनले आवास नियन्त्रण, पुलिस सुधार, हरित नयाँ डील र प्यालेस्टाइन समर्थन जस्ता नीतिहरू अगाडि सारेका छन्, जुन लोकतान्त्रिक समाजवादको मूल सिद्धान्त—आर्थिक समानता र लोकतान्त्रिक प्रक्रियाबाट सामाजिक परिवर्तन—सँग जोडिएका छन्। सन् २०२५ को मेयर चुनावमा DSA को समर्थन र बर्नी स्यान्डर्स तथा एलेक्जान्ड्रिया ओकासियो–कोर्टेज जस्ता नेताहरूको प्रभावले उनलाई ५०% मतका साथ विजयी बनायो, जसले न्यूयोर्कलाई "लोकतान्त्रिक समाजवादी शहर" को रूपमा स्थापित गर्दै अमेरिकाको प्रगतिशील राजनीतिमा नयाँ अध्याय थप्यो। यस सम्बन्धले मामदानीको युगान्डाली–भारतीय जरा र अमेरिकी आप्रवासी अनुभवलाई समाजवादी न्यायसँग जोडेर युवा पुस्तालाई प्रेरित गरेको छ। व्यक्तिगत जीवन, शौक र विरासत जोहरान एस्टोरियामा बस्छन्। उनी अविवाहित छन्। उनको घरमा "रोसा" (लक्जमबर्गका नाममा) र "फानोन" नामका बिरालाहरू छन्। उनी क्रिकेट, बॉलीवुड म्याराथन र युगान्डाली–भारतीय फ्युजन खाना (जस्तै मटुके बिरयानी) मन पराउँछन्। उनको जीवन कम्पालादेखि सिटी हलसम्मको "र्याडिकल अमेरिकी सपना" हो। सन् २०२६ मा मेयरको रूपमा उनले ट्रम्प प्रशासनको संघीय कटौती र न्यूयोर्कको असमानतासँग लड्नेछन्। उनको कथा भारत, अफ्रिका र अमेरिकाको संयोजन हो जसले नयाँ पुस्तालाई "जरा जोडिएको विश्व–नागरिकता", सामाजिक न्याय र सांस्कृतिक संकरताको सन्देश दिन्छ। उनको विरासत आवास, श्रम, जलवायु र आप्रवासी अधिकारको लडाइँमा जीवित रहनेछ।
नेपाली कम्युनिष्ट पार्टीको घोषणा: २० प्रतिशत जेनजी सहभागिता र वैज्ञानिक समाजवादको मार्गमा नयाँ सुरुवात
काठमाडौं । विभिन्न १० वटा वामपन्थी दलहरूको एकताबाट गठन गरिएको नयाँ राजनीतिक शक्ति “नेपाली कम्युनिष्ट पार्टी (नेकपा)” ले समावेशी नेतृत्व र वैज्ञानिक समाजवादका आधारमा नयाँ राजनीतिक यात्रा सुरु गरेको घोषणा गरेको छ । पार्टीले नेतृत्व विकास, हस्तान्तरणको वैज्ञानिक विधि, आन्तरिक लोकतन्त्र र पारदर्शी शासन प्रणालीको मर्म अनुसार देशमा समाजवादी रूपान्तरणको अभियान अघि बढाउने जनाएको छ । घोषणापत्रअनुसार पार्टीका सबै तहका कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी/नवयुवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व अनिवार्य गरिनेछ । यसले समावेशी राजनीतिक संरचना र नयाँ पुस्ताको सहभागितालाई संस्थागत रूप दिन सहयोग पुर्याउने बताइएको छ । पार्टीले “जनवादी केन्द्रीयता” को सिद्धान्तअनुसार सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको संयोजनमा आधारित संगठनात्मक संरचना अपनाउने निर्णय गरेको छ । रणनीतिक लक्ष्यका रूपमा “नेपाली माैलिकताकाे वैज्ञानिक समाजवाद” लाई अघि सारेको पार्टीले जनसहभागितामार्फत शासनमा निगरानी र उत्तरदायित्व सुनिश्चित गर्ने नीति लिएको छ । जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था समेत घोषणापत्रमा समावेश छ । अर्थतन्त्रका क्षेत्रमा, सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा आधारित तीनखम्बे समाजवादी अर्थतन्त्र निर्माण गर्ने नीति पार्टीले अघि सारेको छ । स्वदेशी कच्चापदार्थ र श्रमशक्तिको प्रयोगमा जोड दिँदै उत्पादनमुखी उद्योगधन्दा विस्तार र रोजगारी सृजनालाई प्राथमिकता दिइनेछ । “योग्यताअनुसारको काम र कामअनुसारको दाम” सुनिश्चित गर्ने गरी आर्थिक नीति अघि बढाइने उल्लेख छ । घोषणापत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता गरिएको छ । भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती अन्त्य गर्दै सुशासन, पारदर्शिता र सामाजिक न्याय को वातावरण निर्माण गर्न पार्टीले विशेष जोड दिएको छ । शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवामा आमजनताको सहज पहुँच सुनिश्चित गर्न राज्यसेवा प्रवाहलाई छरितो र चुस्त बनाउने नीति पनि तय गरिएको छ । विगतका अनुभव र कमजोरीको आत्मसमीक्षा गर्दै पार्टीले आफ्नो कार्यशैलीमा सुधार, पुनर्संरचना र रूपान्तरणको दिशामा अघि बढ्ने घोषणा गरेको छ । नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने प्रतिबद्धता समेत जनाइएको छ । साविककाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) लगायतका १० दलहरूको एकताबाट बनेको यस पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल चयन हुनुभएकाे छ । नयाँ पार्टीले प्रस्तुत गरेको समावेशी, पारदर्शी र युवा–मुखी दृष्टिकोणले नेपाली वाम आन्दोलनलाई नयाँ दिशातर्फ उन्मुख गराउने आशा गरिएको छ ।
आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विशेष हाे: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विशेष र ऐतिहासिक भएको बताउनु भएकाे छ । बुधबार आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले सम्भवत: एकैदिन १० वटा कम्युनिस्ट घटकहरू मिल्ने यो घटना पहिलो पटक भएको हुन सक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, “आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै बिर्सन नसकिने दिन हुनेछ । सबै घटकका नेताहरूले आ–आफ्नो वैचारिक संघर्ष पार गर्दै यो एकता हासिल गर्नु साँच्चै अभूतपूर्व छ ।” प्रचण्डले यो दिन केवल कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिले मात्र ऐतिहासिक नभई नेपाली राजनीतिमा देखिएका चुनौती र संकट समाधान गर्न राष्ट्रिय एकताको आधार तयार गर्ने असाधारण दिन पनि भएको बताउनुभयाे । “यो दिन हामी सबैका लागि गर्वको कुरा हो। अब इतिहासमा यसलाई कसैले बिर्सन सक्दैन,” उहाँले भन्नुभयाे ।
नव गठित नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक (घोषणापत्रसहित)
काठमाडाैं । नव गठित नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेकाे छ । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी को घोषणापत्र सार्वजनिक गरिएको हाे । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए । पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल चयन भएका छन् । यस्तो छ घोषणापत्र:
नेपाली कम्युनिस्ट पार्टीकाे घाेषणा: संयाेजक प्रचण्ड र सहसंयाेजकमा माधव
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकताबाट बनेकाे नेपाली कम्युनिस्ट पार्टीकाे संयाेजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन हुनु भएकाे छ । भृकुटीमण्डपमा आज आयोजित राष्ट्रिय सम्मेलनबाट माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणाबाट संयाेजक प्रचण्ड र सहसंयाेजक माधवकुमार नेपाल चयन हुनु भएकाे हाे । नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो । एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो । नेपाली कम्युनिस्ट पार्टीले आफ्नो २३ बुंदे घोषणापत्र सार्वजनिक गरेकाे छ ।
म पार्टी फुटोस् भन्ने मेरो चाहनामा छैन, वाम एकताकाे पक्षमा छु: झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटोस् भन्ने कुनै समय आफूले नचाहेको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै खनालले भने, “हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं । तर पार्टीभित्र केही कुरा पसे, त्यसकारण पार्टीमा समस्या देखियो । अब त्यसलाई निकालेर फ्याँक्नुपर्छ र नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ ।” उनले स्पष्ट पारे, कम्युनिस्ट एकतालाई कसैले जलाउन वा टुटाउन नसक्ने बताए । खनालले आफूले पूर्वप्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्डसँग केही महत्वपूर्ण कुरा मिलाउने विषयमा स्पष्ट वार्ता गरेको र त्यसको प्रतिबद्धता पाएपछि मात्र एकता सभामा उपस्थित भएको पनि बताए । साथै, उनले राष्ट्रको एकता र नेपालको साझा भविष्यका लागि पार्टी एकताको आवश्यकतालाई जोड दिए । खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताए । ‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं,’ उनले भने । यसअघि पनि कम्युनिस्ट एकता भएको जिकिर गर्दै ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भएको बताए । ‘यो भन्दा अगाडि पनि हामीले एकता त गर्यौं नि कमरेडहरू । तर ए बेग्लै भयो कता कता भयो । अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं,’ उनले भने । कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोप नगर्न पनि आग्रह गरे ।
भृकुटीमण्डपमा पार्टी एकता कार्यक्रम सुरु, प्रचण्डको संयोजकत्वमा बन्नेछ नेपाली कम्युनिष्ट पार्टीको कार्यसमिति
काठमाडौं – नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ राजनीतिक दल तथा समूहबीच एकता घोषणा कार्यक्रम सुरु भएको छ। यस एकताबाट गठित नयाँ पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' राखिने र निर्वाचन चिह्न 'तारा' प्रस्ताव गरिएको छ। एकतामा सहभागी दलहरूले भृकुटीमण्डपमा विशेष सभा आयोजना गरी एकीकरण औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम सुरु भएको हो। यो सभालाई एकतामा सामेल सबै दलहरूको संयुक्त बैठकको रूपमा लिइएको छ। एकीकरणमा सहभागी प्रमुख दलहरू नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी जनसमाजवादी पार्टी नेपाल समाजवादी पार्टी विप्लव समूहबाट अलग भएको नेकपा नेकपा समाजवादी नेकपा माओवादी समाजवादी नेकपा साम्यवादी गोपाल किराँती नेतृत्वको समूह (माओवादी केन्द्रसँग विलय) यो एकीकरण पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा हुन लागेको हो। राजनीतिक विश्लेषकहरूका अनुसार, यसले वामपन्थी शक्तिहरूको एकीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। एकतापछि नयाँ पार्टीको संगठनात्मक संरचना र नेतृत्व चयनबारे थप छलफल हुने बताइएको छ। एकतापछिको पार्टीको नेतृत्व प्रचण्डले गर्ने सहमति भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस पार्टीका सहसंयोजक बन्नेछन्।

