माओवादी अध्यक्ष प्रचण्डको आव्हानमा सिंहदरबारमा विपक्षी दलको बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको संयुक्त बैठक आह्वान गर्नु भएको छ । जेनजी युवाले गरेको सरकारविरुद्धको प्रदर्शनमा ठूलो जनधनको क्षति भएपछि अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाउनु भएको हो । 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु बैठकमा पछिल्लो राजनीतिक अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलहरूको आगामी रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन्।

बिहानैदेखि कर्फ्यु लागेकाले रास्वपालगायत केही दिनका प्रतिनिधि भने सिंहदरबार पुग्न सकेका छैनन् । उनीहरुसँग भर्चुअल संवाद भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन् । 
 

माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठकले प्रदर्शनमा मारिएकालाई शहीद घोषणा गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको थियो।  

ललितपुरमा फेरि सुरु भयो कर्फ्यु, मध्यरात १२ बजेसम्म कायम रहने

ललितपुर। ललितपुर जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ बजेदेखि मध्यरात १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिकाका वडा नम्बर २, ४, ९, १८ र २५ मा कर्फ्यु लागू गरिएको हो। भैंसेपाटी क्षेत्र (वडा ४, १८, २५): कर्फ्युको चार किल्ला पूर्वमा भैंसेपाटी–बुंगमती सडक, पश्चिममा सिजी हाउजिङ–चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्प नजिकको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओरालो क्षेत्रसम्म तोकिएको छ। सानेपा क्षेत्र (वडा २): सानेपाको इन्द्राणी मार्ग आसपासमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउमा रोक लगाइएको छ। कर्फ्यु क्षेत्रमा पूर्वमा सानेपा चोक–इन्द्राणी मन्दिर पक्की सडक, पश्चिममा बल्खु पुल–मनमोहन पार्कसम्मको बागमती करिडोर, उत्तरमा चक्रपथको सर्भिस लेन (बल्खु पुल–सानेपा चोक) र दक्षिणमा इन्द्राणी मन्दिर–बागमती करिडोर पक्की सडक पर्छ। च्यासल क्षेत्र (वडा ९): च्यासलमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा पश्चिम मल पोखरी जाने बाटोसम्म कर्फ्यु लागू गरिएको छ।

सरकार हट्यो पछि, सामाजिक सञ्जाल खुल्ला

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक सञ्जालहरू सञ्चालनमा आएको उनले बताए। तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका लागि सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङको भनाइ छ। ‘आन्दोलनलाई बहाना बनाएर सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरिएको हो,’ उनले स्पष्ट पारे। प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालमध्ये एउटा ‘एक्स’ ले नेपालको राष्ट्रिय स्वाभिमानको सम्मान नगर्ने गरी जवाफ दिएको प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा जानकारी गराएका थिए। एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नगर्ने अडान लिएको छ। प्रधानमन्त्री ओलीले भने, ‘हामीले डेढ वर्षदेखि सूचीकृत गर्न र नेपालको कानुन मान्न आग्रह गरेका थियौं। तर, यो हाम्रो स्वाभिमानमाथिको हमला हो। कुनै देशलाई यसरी हेप्न पाइन्छ र? राष्ट्रको अपमान गर्नेगरी उनीहरूलाई खुला राख्ने कि?’ जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए। चर्को विरोध र सत्तारुढ दलको दबाब थेग्न नसकेपछि सरकारले निर्णय फिर्ता लिएको विश्लेषण गरिएको छ। सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरी सामाजिक सञ्जाल बन्द गरेको थियो।

यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता रहेन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्ता (जेन-जी) को शान्तिपूर्ण आन्दोलनमा भएको हिंसा र दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् । आज जारी गरेको विज्ञप्तिमा थापाले सरकारको असंवेदनशीलताका कारण अनाहकमा युवाहरूले ज्यान गुमाउनु परेको उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् । विज्ञप्तिमा थापाले भनेका छन्, "आज युवा पुस्ता (जेन-जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद छ, अस्वभाविक छ । आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ ।" उनले सरकारको यो शैली कुनै पनि कोणबाट जायज नहुने र असंवेदनशीलताका कारण हृदयविदारक घटना भएको बताएका छन् । थापाका अनुसार, आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ । साथै, समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने तर यो मात्र पर्याप्त नभएको उनको भनाइ छ । महामन्त्री थापाले युवाहरूले उठाएका मुद्दाहरू—सुशासन, भ्रष्टाचारको छानबिन र संलग्नमाथि कारबाही—आम सरोकारका विषय भएको बताएका छन् । यो मुद्दा निरन्तर रूपमा उठिरहेको उल्लेख गर्दै उनले संविधान संशोधनदेखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कानुनमा आवश्यक संशोधन गरी द्रुत गतिमा काम गर्नुपर्ने माग गरेका छन् । तत्काल भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन तथा सबै भ्रष्टाचार काण्डको छानबिनका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने उनको सुझाव छ । सामाजिक सञ्जाललाई बन्द गर्नु गलत भएको भन्दै थापाले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्ने कुनै पनि प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । "सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० संविधान र कानुनसम्मत नभएकाले किन्तु-परन्तु नभनीकन निर्देशिकालाई खारेज गरी सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ," विज्ञप्तिमा उल्लेख छ । थापाले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको भन्दै दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारको आवश्यकता नरहेको बताएका छन् । यो विषयमा नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्ने उनको आह्वान छ । विज्ञप्तिमा उनले नेपाली कांग्रेसको पदाधिकारी बैठकमा राखेको कुराको सार यही नै भएको जनाएका छन् । साथै, थापाले आम युवाहरूसँग अपिल गर्दै शान्तिपूर्ण आन्दोलनलाई संवादमार्फत संयमतापूर्वक अगाडि बढाउन र संयम अपनाउन आग्रह गरेका छन् । "हामी थप अप्रिय घटना नघटुन् भन्ने चाहन्छौँ, र तपाईंका मुद्दामा हामी उत्तिकै सजग छौँ, जिम्मेवार छौँ," उनले भनेका छन् । विज्ञप्ति आजको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। आज युवा पुस्ता (जेन-जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद छ, अस्वभाविक छ। आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको चरम दमन निन्दनीय र अक्षम्य छ। कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ। आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीज्यूले राजीनामा दिनुपर्छ (दिनुभएको छ)।  यो समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ। तर यो मात्र प्रायाप्त छैन। युवाले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय हुन। मुख्य विषय सु-शासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हो। यो आज मात्र होइन, निरन्तर रूपमा उठिरहेको छ। यसको लागी संविधान संशोधन गर्ने देखी भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुनलाई आवश्यक संशोधन गरेर द्रुत गति मा काम गर्नुपर्छ। तत्काल भ्रष्टाचार नियन्त्रण,सुशासन लगायतका सन्दर्भमा २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र सबै भ्रष्टाचारको काण्डको छानबिन गर्न आम नागरिकले भरोसा गरेको पूर्व प्रधान न्यायधिशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडी बढाउनुपर्छ।  आजको दिनमा नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च बनेको सामाजिक सञ्जाल बन्द गर्नु गलत छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पारेको छ। त्यसकारण सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० संविधान र कानुन सम्मत नभएकाले किन्तु-परन्तु नभनीकन निर्देशिकालाई खारेज गरी सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउनुपर्छ।                                                                                                                                                                             जनतालाई सुशासनको प्रत्याभूति दिने गरी दुई ठुला दल मिलेर बनाएको सरकारले त्यो नै गर्न नसकेका कारण यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता रहेन। यो विषयमा नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्छ। मैले नेपाली कांग्रेसको पदाधिकारी बैठकमा राखेको कुराको सार यही नै हो।यो सँगै आम युवा सँग अपिल गर्दछु, आज तपाईँहरूको शान्तिपूर्ण आन्दोलनमा अवाञ्छित र हिंसात्मक गतिविधि भएकोले आन्दोलनका कार्यक्रम संवादमार्फत संयमतापूर्वक अगाडि बढाउन र संयम अपनाउनु होला। हामी थप अप्रिय घटना नघटुन् भन्ने चाहन्छौ, र तपाई का मुद्दामा हामी उत्तिकै सजग छौ, जिम्मेवार छौ। गगन कुमार थापा महामन्त्री, नेपाली कांग्रेस

यी हुन् माओवादी पदाधिकारीको आकस्मिक बैठकले गरेका निर्णय (भिडियोसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आकस्मिक रुपमा बसेको पार्टीको पदाधिकारी बैठकले सरकारको बर्बर दमनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ ।    माओवादी बैठकले आज भएको नरसंहारको जिम्मेवारी लिदै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।  यी हुन् माओवादी बैठकले गरेका निर्णय 

वर्तमान सरकारको औचित्य समाप्त भयो : डा. शेखर कोइराला

काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको हत्याको कडा निन्दा गर्दै वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन्। फेसबुकमार्फत उनले सरकारको निरंकुश र क्रूर दमनले युवा विद्यार्थीहरूको ज्यान गएको भन्दै गहिरो दुख व्यक्त गरेका छन्।   “हातमा किताब–कापी बोकेर उज्ज्वल भविष्यको परिकल्पना गरिरहेका कलिला युवा विद्यार्थीहरूमाथि बर्बर ढंगले गोली प्रहार भएको छ। यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन,” कोइरालाले लेखेका छन्। “यो हत्याले मलाई मर्माहत बनाएको छ। श्रद्धाञ्जलीका शब्दले राष्ट्रको यो अपूरणीय क्षतिलाई मल्हम लगाउन सक्दैन।” उनले जेन जी पुस्ताका मागहरू समयसापेक्ष र जायज भएको बताउँदै सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई अधिनायकवादी कदमको संज्ञा दिए। “आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादबाहेक के होला? देशबाट भ्रष्टाचार निर्मूल हुनैपर्छ,” उनले भने। कोइरालाले यो दुखद घडीमा आफू प्रदर्शनकारी युवा र तिनका अभिभावकहरूसँगै रहेको उल्लेख गर्दै सरकारले जनताको आवाज नसुनेको र अनुत्तरदायी बनेको आरोप लगाए। उनले वर्तमान सरकारको औचित्य समाप्त भएको भन्दै सबैलाई एकजुट भएर विधिसम्मत समाधान खोज्न आह्वान गरेका छन्।

जेनजीको आन्दोलनमा दमन भएपछि युवासंघका प्रदेश अध्यक्ष खरेलले त्यागे एमाले

काठमाडौं — नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले पार्टीको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले नेकपा एमालेको सदस्यता त्यागेको जानकारी दिए। “आजदेखि म नेकपा एमालेसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछु,” खरेलले लेखेका छन्। जेन जी पुस्ताको आन्दोलनमाथि सरकारले गरेको दमन र निर्दोष युवाहरूमाथि रगत बगाएको भन्दै उनले यस्तो पार्टीमा बस्नु नैतिक र मानवीय रूपमा अस्वीकार्य भएको बताए। “निर्दोष युवाहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने र जनताको आवाज दबाउने पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिकोणले अस्वीकार्य छ,” उनले थपे। खरेलले अब आफू पीडितको पक्षमा, न्यायको पक्षमा र जेन जी पुस्ताको आवाजसँगै रहने उल्लेख गरेका छन्। यसअघि राष्ट्रिय युवा संघले खरेललाई पार्टी र नेतृत्वको मर्यादाविपरीत गतिविधि गरेको भन्दै जिम्मेवारीबाट निलम्बन गरेको थियो। युवा संघको पोखरामा सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार सुमन पुरीको पक्षमा लागेका खरेल पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा खुलेका थिए।

ठूलो मानवीय क्षति भयो, नैतिकताका आधारमा राजीनामा दिन्छु: गृहमन्त्री रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा दिने जानकारी नेपाली काँग्रेसका सभापतिलाई गराएका छन् । काँग्रेसको पदाधिकारी बैठकमा उनले ठूलो मानवीय क्षति भएकाले आफूले नैतिकताका आधारमा राजीनामा दिने बताएका एक पदाधिकारीले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले भने, 'ठूलो मानवीय क्षति भयो, यसको जिम्मेवारी लिन्छु । नैतिकताका आधारमा राजीनामा दिन्छु ।'   

जेन जी आन्दोलनमा प्रहरी दमनबाट कम्तीमा २० जनाको मृत्यु, ७ जनाको पहिचान

काठमाडौं — जेन जी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोगबाट कम्तीमा २० जनाको मृत्यु भएको छ। काठमाडौंमा १८ र सुनसरीमा २ जना प्रहरीको गोलीबाट मारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ८ जनाको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृतकमध्ये ७ जनाको पहिचान भएको छ। ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, गौरव जोशी र स्टप अधिकारी। बाँकी तीन जनाको पहिचान हुन बाँकी छ। यस्तै, काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकामध्ये शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ। गम्भीर घाइते अवस्थामा अस्पताल ल्याइएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको हो।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठक आज बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ । जेनजी आन्दोलनकारीमाथि सरकारले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा २० जनाको मृत्यु भएपछि माओवादीले अभियान नै स्थगित गरेर नेताहरु काठमाडौं फर्किदैछन् ।  अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका पदाधिकारीहरु गोरखाबाट काठमाडौं आएपछि आजै केन्द्रीय पदाधिकारीको बैठक बस्ने तय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।  माओवादी केन्द्रले सरकारका कारण ठूलो मानवीय क्षति भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । 

जेनजी आन्दोलनमा भएको बल प्रयोगको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिनुपर्छ : वर्षमान पुन 'अनन्त'

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले जेन जी आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पुनले सोमबार भएको घटनामा सरकारको अत्यधिक बल प्रयोग र दमनका कारण परिस्थिति बिग्रिएको बताए। “यो घटनामा प्रधानमन्त्री ओलीको अधिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ। उनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्छ,” उनले भने। जेन जी पुस्ताले उठाएका जायज मागप्रति समर्थन जनाउँदै पुनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन्। “अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सामाजिक सञ्जालमा लगाइएको बन्देज अस्वीकार्य छ,” उनले भने। शान्तिपूर्ण प्रदर्शन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारीमाथि भएको बल प्रयोग र दमनको स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने माग गरे। साथै, उनले आन्दोलनरत जेन जी पुस्तालाई सार्वजनिक वा निजी सम्पत्तिमा तोडफोड र आगजनी नगर्न आह्वान गरेका छन्।

जेनजी आन्दोलनमा भएको हिंसाप्रति माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा दु:ख व्यक्त

काठमाडौं — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जेन जी पुस्ताको विरोध प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र प्रहरीको गोली प्रहारबाट भएको मानवीय क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन्। प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।   श्रेष्ठले सरकार र राजनीतिक नेतृत्वलाई युवाहरूको असन्तुष्टि, विरोध र आक्रोशको वास्तविक कारण बुझेर समयमै सम्बोधन गर्न आग्रह गरेका छन्। “अन्धाधुन्ध बलप्रयोग समस्याको समाधान होइन र हुन सक्दैन। दर्जनौंको हताहत र सयौं घाइते हुने गरी भएको अत्यधिक बलप्रयोग र दमनको भर्त्सना गर्दछु,” उनले भने। जेन जी पुस्तालाई शान्तिपूर्ण र संयमित आन्दोलन गर्न आह्वान गर्दै श्रेष्ठले अवाञ्छित तत्व र प्रवृत्तिको घुसपैठप्रति सतर्क रहन अपील गरेका छन्। “सबै स्पष्ट हुन जरुरी छ; आजको आवश्यकता जनताले बलिदानीपूर्ण संघर्षबाट हासिल गरेका सकारात्मक उपलब्धिहरूको रक्षा, संविधानको सकारात्मक संशोधन, राज्यका अंगहरूको पुनर्संरचना र रूपान्तरण, राजनीतिक शुद्धीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासन अभियान सञ्चालन गरी समृद्धिको दिशामा गुणात्मक फड्को मार्नु हो,” उनले भने। उनले सबै पक्षलाई यो लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर एकताबद्ध भई उपयुक्त कदम चाल्न आग्रह गरेका छन्।

जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट कम्तिमा १८ जनाको मृत्यु, २५० भन्दा धेरै घाइते

काठमाडौं । काठमाडौंमा भएको जेनजी प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । २५० भन्दा धेरै घाइते भएका छन् । त्यसमध्ये २० जनाको अवस्था गम्भीर भएको अस्पतालहरुले जनाएका छन् ।  ट्रमा सेन्टरमा उपचाररत ७ जनाको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले जानकारी दिए ।  यस्तै, नयाँ बानेश्वरको एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।  उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।  त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए।   

नेपाली कांग्रेसका नेता पोखरेलद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले उनलाई फिर्ता बोलाउनुपर्ने बताएका छन्। “गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। यदि दिएनन् भने पार्टीले तुरुन्त फिर्ता बोलाउनुपर्छ,” उनले लेखेका छन्।

जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर कम्तिमा १६ जनाको मृत्यु

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा ज्यान गुमाउनेको संख्या कम्तिमा १६ जनाको मृत्यु भएको छ । सयौँ घाइते भएका छन् । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या १६ पुगेको हो ।  ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।  त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिएका छन् ।    

सिभिल बाहेक अन्य अस्पतालमा मात्रै सय बढी घाइते

काठमाडौं । जेन जी पुस्ताको प्रदर्शनमा प्रहरीले संयम गुमाएर अन्धाधुन्ध गोली चलाउँदा दुई सय बढी घाइते बनेका छन् ।  अहिले चारबजेसम्मको तथ्यांक हेर्दा बिभिन्न अस्पतालमा दुई सय बढी घाइते रहेका हुन । घाइतेहरुको पूर्ण विवरण अहिलेसम्म संकलित भइसकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको विवरण संकलन गरिरहेको छ ।  प्राप्त जानकारी अनुसार, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् । यसैगरी केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्‍याइएको छ ।  सबैभन्दा धेरै घाइते घटनास्थल नजिकै रहेको सिभिल अस्पतालमा रहेका छन् । सिभिल अस्पताल श्रोतका अनुसार सय जना भन्दा बढी घाइतेहरु अस्पतालमा भर्ना भएका छन् ।  प्रहरीको गोली लागेर अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ ।