नेपालमा मनसुनको प्रभावः सोमबार पहाडी र तराई क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसोको मौसम
देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार रातिको मौसम
राति कोशी, मधेस र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, मधेस र बागमती प्रदेशको पहाडी क्षेत्रका केही स्थान र अन्य पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध माइतीघरमा पत्रकारको वृहत् प्रदर्शन
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा पत्रकारहरूले वृहत प्रदर्शन गरेका छन्। सरकारको उक्त कदमलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, र नागरिक अधिकारमाथिको हस्तक्षेपको रूपमा लिँदै पत्रकारहरूले कडा विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वमहासचिव रोसन पुरीको संयोजनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरु, पूर्वकेन्द्रीय सदस्यहरुको सक्रिय सहभागिता थियो । विरोध प्रदर्शनमा नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाललगायत विभिन्न सञ्चारमाध्यमका सम्पादकहरू, स्वतन्त्र पत्रकारहरू, नागरिक समाजका अगुवाहरू, र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकमाथि गम्भीर आघात पुगेको बताएका छन्। प्रदर्शनकारीहरूले सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा पूर्ण रूपमा बन्द गर्न खोजेको आरोप लगाएका छन्। कार्यक्रमलाई नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वमहासचिव रोसन पुरी, महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, पत्रकार रिषी धमला, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी र प्रेस युनियनका महासचिव दीलिप पौडेललगायतले सम्बोधन गरेका थिए । विरोध प्रदर्शनका क्रममा सहभागीहरूले "प्रेस स्वतन्त्रता खोस्न पाइँदैन", "सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता गर", र "अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ" जस्ता नाराहरू लेखिएका प्लेकार्ड र ब्यानरहरू बोकेका थिए। प्रदर्शनमा सहभागी एक पत्रकारले भने, "सामाजिक सञ्जाल नागरिकको आवाज र सूचनाको पहुँचको महत्त्वपूर्ण माध्यम हो। यसलाई नियन्त्रण गर्नु भनेको लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि प्रहार गर्नु हो।" पूर्वमहासचिव पुरीले यो निर्णय तत्काल फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने चेतावनी दिए। उनले भने, " यदि यो निर्णय नसच्याइए हामी सडकमै उभिएर नागरिक अधिकारको रक्षा गर्नेछौँ।" यसैबीच, सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई "सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाका लागि आवश्यक" भएको दाबी गरेको छ। तर, प्रदर्शनकारीहरूले यो तर्कलाई अस्वीकार गर्दै सरकारको नियतमा प्रश्न उठाएका छन्। उनीहरूले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नियमन गर्न सकिने भए पनि पूर्ण प्रतिबन्धले नागरिकको सूचना र अभिव्यक्तिको अधिकार हनन हुने जिकिर गरेका छन्।
लम्जुङमा काँग्रेस सहित विभिन्न पार्टी परित्याग गरी ३५ जना माओवादी केन्द्रमा प्रवेश
लम्जुङ । नेपाली काँग्रेस परित्याग गरी नन्दलाल परियार र दानबहादुर परियार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गर्नुभयो। माओवादी केन्द्र प्रवेश गर्दै नन्दलाल र दानबहादुर परियारले प्रतिबद्धता पत्रमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभयो। उहाँहरूले भन्नुभयो, “२०४६ सालदेखि नेपाली काँग्रेसमा आबद्ध भई २०७९ सालसम्म निरन्तर सक्रिय राजनीतिमा लाग्दा पनि काँग्रेसले दलित समुदायको अधिकार र मुक्तिका लागि कुनै ठोस योजना नबनाएको अनुभव गर्यौं। शताब्दीयौँदेखि जातीय विभेदको चपेटामा परेको दलित समुदायलाई काँग्रेसले गम्भीरतापूर्वक नलिएको मात्र नभई, पार्टीभित्र उच्च वर्गीय राजनीति र नेताहरूको भ्रष्ट आचरण देखियो। त्यसैले आजकै दिनदेखि दलित समुदायको मुक्ति, सबै वर्ग–जाति–लिङ्ग र क्षेत्रको पक्षमा काम गर्ने तथा भ्रष्टाचार उन्मूलन र सुशासनको अभियान चलाउने माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछौं।” उहाँहरूसँगै विभिन्न दल परित्याग गरी ३५ जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। प्रवेश गर्नेहरूमा धारापानी क्षेत्रका कुमराज गुरुङ, धनमाया गुरुङ, इन्द्रबहादुर गुरुङ, मिना कुमारी गुरुङ, सबिना गुरुङ, पार्वती गुरुङ, सुकदेव तामाङ, राममाया तामाङ, बुदीबहादुर तामाङ, राशीमाया तामाङ, सोममाया गुरुङ, सुकबहादुर परियार, चेनकुमारी भुजेल, कमला सुनार, लक्ष्मी सुनार, गौबहादुर गुरुङ, जगत पाण्डे, दुर्गामान बिक, योगबहादुर बिक, रामबहादुर गुरुङ, मेन परियार, आउता परियार, जमदार बलबहादुर गुरुङ, प्रवाह गुरुङ, मिनमाया घले, कविता गुरुङ, संसार गुरुङ, मोहन विक, खुशीराम बिक, प्रकाश विक, गणेश विक, कृष्ण बिक, धर्म गुरुङ र सुस्मिता दवाडी रहेका छन्। अध्यक्ष प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई स्वागत गर्दै माओवादी केन्द्रले जनताको पक्षमा निरन्तर संघर्ष गर्ने र सामाजिक न्यायसहितको रूपान्तरणको यात्रामा सबैलाई सम्मानजक हैसियतमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
लम्जुङ कृषि क्याम्पसको अध्यक्ष प्रचण्डद्वारा अवलोकन, समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता
लम्जुङ। पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार लम्जुङ कृषि क्याम्पसमा पुगेको छ। क्याम्पस प्रमुख रामकुमार श्रेष्ठले अध्यक्ष प्रचण्ड सहितको टोलीलाई क्याम्पसबारे जानकारी गराउँदै यस संस्थानलाई मध्यपहाडी क्षेत्रकै स्रोत केन्द्र र कृषि अनुसन्धानको प्रमुख आधारका रूपमा विकास गर्न सकिने बताउनुभयो। उहाँले भौतिक संरचना अभाव, जनशक्ति कमी र प्रयोगशालाको सीमितताजस्ता समस्या क्याम्पसले व्यहोर्दै आएको जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले कृषि विद्यार्थीको हैसियतले पनि क्याम्पसप्रति आफ्नो विशेष चासो रहेको बताउँदै यहाँको सम्भावना निकै ठूलो भएको उल्लेख गर्नुभयो। उहाँले क्याम्पसलाई मध्यपहाडी क्षेत्रकै कृषि अनुसन्धान र कृषकहरूको सहयोगी केन्द्र बनाउन सकिने प्रस्ट पार्दै पार्टीतर्फबाट समस्या समाधानमा सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। साथै, मध्यपहाडी लोकमार्ग र क्याम्पसका बीच रहेको समस्या समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने पनि अध्यक्ष प्रचण्डले विश्वास दिलाउनुभएको छ।
लोकतन्त्रप्रति जनताको विश्वास मजबुत बनाउन निजामती कर्मचारीको भूमिका महत्वपूर्ण- प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजामती दिवस–२०८२ का अवसरमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले जारी गर्नुभएको शुभकामना सन्देशमा राजनीतिक परिवर्तन, विकास निर्माण, सेवा प्रवाह र सुशासन प्रवर्द्धनमा निजामती कर्मचारीहरूको योगदान अतुलनीय रहेको उल्लेख गरिएको छ। सन्देशमा भनिएको छ, “हासिल भएका उपलब्धिहरूलाई संरक्षण गर्दै लोकतन्त्रप्रति जनताको विश्वास मजबुत बनाउन निजामती कर्मचारीहरूको व्यावसायिक दक्षता, निष्ठा र समर्पणले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।” त्यसैगरी संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै, पारदर्शी, जवाफदेही, परिणाममुखी र प्रविधिमैत्री प्रशासन निर्माणमा निजामती कर्मचारीहरूको भूमिका अझ प्रभावकारी हुने विश्वास पनि उनले व्यक्त गरेका छन्। शुभकामना सन्देशमा अन्त्यमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “यस ऐतिहासिक दिनमा पुनः सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूमा हार्दिक शुभकामना।” पूर्ण पाठ निजामती दिवसको अवसरमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। राजनीतिक परिवर्तन, विकास निर्माण, सेवा प्रवाह र सुशासन प्रवर्द्धनमा निजामती कर्मचारीहरूको योगदान अतुलनीय छ। हासिल भएका उपलब्धिहरूलाई संरक्षण गर्दै लोकतन्त्रप्रति जनताको विश्वास मजबुत बनाउन तपाईंहरूको व्यावसायिक दक्षता, निष्ठा र समर्पणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै, पारदर्शी, जवाफदेही, परिणाममुखी र प्रविधिमैत्री प्रशासन निर्माणमा तपाईंहरूको भूमिका अझ प्रभावकारी हुनेछ भन्ने विश्वास गर्दछु। पुनः हार्दिक शुभकामना।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध माइतीघरमा आज पत्रकारको विरोध प्रदर्शन
काठमाडौं। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको कडा विरोध गरेका छन्। दर्ता नभएको बहानामा लगाइएको यो प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको भन्दै उनीहरूले तत्काल प्रतिबन्ध हटाउन माग गरेर आज दिउँसो २ बजे प्रदर्शनको तयारी गरेका छन् । पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायुका रूपमा उल्लेख गर्दै नेपालको संविधानको धारा १७, १९ र २७ ले प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको प्रत्याभूति गरेको स्मरण गराएका छन्। “यी संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ। उनीहरूले सामाजिक सञ्जालमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति गम्भीर आपत्ति जनाएका छन्। यो निर्णयले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारबीचको सम्पर्क टुटेको, बालबालिकाको सिकाइमा दीर्घकालीन प्रभाव परेको र हजारौं व्यक्तिको रोजीरोटी खोसिएको उनीहरूको ठहर छ। “सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय र विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी विधिसम्मत समाधान खोज्न सकिन्छ। तर, सञ्जाललाई पूर्णरूपमा बन्द गर्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ,” विज्ञप्तिमा उल्लेख छ। सरकारलाई दबाब दिन पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले दिउँसो २ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनको आह्वान गरेका छन्। नागरिक स्वतन्त्रताका पक्षधर सबैलाई उक्त प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ। उनीहरूले बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न सरकारसँग जोडदार माग गरेका छन्। साथै, सामाजिक सञ्जालको दीर्घकालीन र विधिसम्मत नियमनका लागि विज्ञसहितको कार्यदल गठन गर्न सरकारलाई आह्वान गरिएको छ।
मोर्निङ वाकमा सहिद परिवार भेट र विद्यालय अवलोकन
लम्जुङ, भदौ २२। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गर्नुभयो। यस क्रममा उहाँले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गर्नुभयो। सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उहाँले विद्यालयप्रति चासो व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डको मर्निङ वाकका क्रममा स्थानीय बासिन्दा को सहभागिता हुनुका साथै ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन।
माओवादी केन्द्रको जनजागरण अभियान: अध्यक्ष प्रचण्ड सहिद राममणि भट्टराईको घरमा
भोर्लेटार । नेकपा (माओवादी केन्द्र)को 'जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' अन्तरगत बिहानैदेखि भेटघाट कार्यक्रम सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहान मर्निङ गरेर जनयुद्धका सहिद राममणि भट्टराईको घरमा पुग्नु भएको छ । अध्यक्ष प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्नुका साथै सहिद राममणी भट्टराईको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। परिवारसँग अन्तरक्रिया पनि गर्नु भएको छ । अभियान अन्तरगत हिजो बेलुकी भोर्लेटारमा बास बस्नु भएका अध्यक्ष प्रचण्डसहितका नेताहरुले बिहानैदेखि मर्निङसँगै जनतासँग प्रत्यक्ष संवाद थाल्नु भएको छ । आज दिनभर अध्यक्ष प्रचण्डसहितका नेताहरु लमजुङमा विभिन्न कार्यक्रममा व्यस्त रहने कार्यक्रम छ ।
माओवादी केन्द्रको जनजागरण अभियान : आज दिनभर यी हुन् कार्यक्रम
भोर्लेटार । नेकपा (माओवादी केन्द्र)को 'जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान" आज लमजुङमा केन्द्रित हुने भएको छ । यसअघि बैतडीको पाटनबाट सुरु भएको अभियान पोखरा पुगेर रोकिएकोमा हिजोदेखि फेरि सुरु भएको हो । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गर्नु भएको थियो । अभियान अन्तरगत हिजो बेलुकी भोर्लेटारमा बास बस्नु भएका अध्यक्ष प्रचण्डसहितका नेताहरुले बिहानैदेखि मर्निङसँगै जनतासँग प्रत्यक्ष संवाद थाल्नु भएको छ । आज दिनभर अध्यक्ष प्रचण्डसहितका नेताहरु लमजुङमा विभिन्न कार्यक्रममा व्यस्त रहने कार्यक्रम छ ।
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्रा विनिमय दर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (सेप्टेम्बर ७, २०२५) का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४०.९३ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ तोकिएको छ। प्रमुख मुद्राहरूको विनिमय दर भारतीय रुपैयाँ (INR): १०० को खरिद दर १६०.०० रुपैयाँ, बिक्री दर १६०.१५ रुपैयाँ अस्ट्रेलियन डलर (AUD): खरिद दर ९२.२२ रुपैयाँ, बिक्री दर ९२.६२ रुपैयाँ क्यानेडियन डलर (CAD): खरिद दर १०२.१६ रुपैयाँ, बिक्री दर १०२.५९ रुपैयाँ युरोपियन युरो (EUR): खरिद दर १६४.६६ रुपैयाँ, बिक्री दर १६५.३६ रुपैयाँ युके पाउन्ड स्टर्लिङ (GBP): खरिद दर १८९.९२ रुपैयाँ, बिक्री दर १९०.७३ रुपैयाँ स्विस फ्र्याङ्क (CHF): खरिद दर १७५.४० रुपैयाँ, बिक्री दर १७६.१४ रुपैयाँ जापानी येन (JPY): १० येनको खरिद दर ९.५१ रुपैयाँ, बिक्री दर ९.५५ रुपैयाँ चिनियाँ युआन (CNY): खरिद दर १९.७४ रुपैयाँ, बिक्री दर १९.८३ रुपैयाँ सिंगापुर डलर (SGD): खरिद दर १०९.५२ रुपैयाँ, बिक्री दर १०९.९८ रुपैयाँ अन्य मुद्राहरू साउदी रियाल (SAR): खरिद दर ३७.५६ रुपैयाँ, बिक्री दर ३७.७२ रुपैयाँ कतारी रियाल (QAR): खरिद दर ३८.६७ रुपैयाँ, बिक्री दर ३८.८३ रुपैयाँ थाई भाट (THB): खरिद दर ४.३८ रुपैयाँ, बिक्री दर ४.४० रुपैयाँ युएई दिरहम (AED): खरिद दर ३८.३७ रुपैयाँ, बिक्री दर ३८.५३ रुपैयाँ मलेसियन रिंगिट (MYR): खरिद दर ३३.३६ रुपैयाँ, बिक्री दर ३३.५० रुपैयाँ दक्षिण कोरियाली वन (KRW): १०० को खरिद दर १०.१३ रुपैयाँ, बिक्री दर १०.१८ रुपैयाँ स्विडिस क्रोनर (SEK): खरिद दर १४.९७ रुपैयाँ, बिक्री दर १५.०३ रुपैयाँ डेनिस क्रोनर (DKK): खरिद दर २२.०६ रुपैयाँ, बिक्री दर २२.१५ रुपैयाँ हङकङ डलर (HKD): खरिद दर १८.०६ रुपैयाँ, बिक्री दर १८.१४ रुपैयाँ कुवेती दिनार (KWD): खरिद दर ४६१.०१ रुपैयाँ, बिक्री दर ४६२.९७ रुपैयाँ बहराइन दिनार (BHD): खरिद दर ३७३.८१ रुपैयाँ, बिक्री दर ३७५.४१ रुपैयाँ ओमानी रियाल (OMR): खरिद दर ३६६.०६ रुपैयाँ, बिक्री दर ३६७.६२ रुपैयाँ नेपाल राष्ट्र बैंकले यी विनिमय दरहरू आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरहरू केही फरक हुन सक्ने र अद्यावधिक दरहरू राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बताइएको छ। विदेशी मुद्रा कारोबार गर्ने व्यक्ति र व्यवसायीहरूलाई राष्ट्र बैंकले तोकेको दरलाई आधार मानेर कारोबार गर्न सुझाव दिइएको छ।
नेपालमा आज खग्रास चन्द्रग्रहण: राति १०:११ देखि अवलोकन गर्न सकिने
काठमाडौं । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन नेपालमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श हुनेछ, ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मीलन र १:४१ बजे मोक्ष हुनेछ। यो ग्रहणको खग्रास अवधि १ घण्टा २३ मिनेट र सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यो चन्द्रग्रहण सुरुदेखि अन्त्यसम्म अवलोकन गर्न सकिनेछ। खगोलशास्त्रीहरूका अनुसार यो ग्रहण विशेष खगोलीय घटनाका रूपमा हेरिएको छ, जसले खगोल प्रेमीहरूका लागि अवलोकनको राम्रो अवसर प्रदान गर्नेछ। ज्योतिषीय प्रभाव र सावधानी ज्योतिषशास्त्रअनुसार यो चन्द्रग्रहणले विभिन्न राशिमा फरक–फरक प्रभाव पार्ने मान्यता छ। प्रा. अधिकारीका अनुसार राशिअनुसार प्रभाव निम्नानुसार छ: मेष: लाभ वृष: शुभ मिथुन: माननाश कर्कट: कष्ट सिंह: स्त्रीपीडा कन्या: सौख्य तुला: चिन्ता वृश्चिक: व्यथा धनु: श्रीप्राप्ति मकर: क्षति कुम्भ: घात मीन: व्यय यस आधारमा मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाहरूलाई ग्रहण नहेर्न सुझाव दिइएको छ। मेष, वृष, कन्या र धनु राशि भएकाहरूले भने ग्रहण अवलोकन गर्न सक्नेछन्। विशेषगरी, शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मिएका तथा कुम्भ राशि भएकाहरूका लागि यो ग्रहणले अति कष्ट दिन सक्ने ज्योतिषीहरूको भनाइ छ। सावधानी र धार्मिक मान्यता ज्योतिषीय मान्यताअनुसार ग्रहणको समयमा विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ। ग्रहण अवधिमा खानपान, पूजा–पाठ र बाहिरी गतिविधिबाट टाढा रहन सल्लाह दिइन्छ। साथै, ग्रहणपछि स्नान गरी धार्मिक कार्य गर्न सकिने प्रा. अधिकारीले बताए। यो चन्द्रग्रहण नेपालमा रातिको समयमा देखिने भएकाले मौसम अनुकूल भएमा स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ। खगोल प्रेमीहरूलाई सुरक्षित स्थानबाट ग्रहण अवलोकन गर्न र ज्योतिषीय सावधानी पालना गर्न सुझाव दिइएको छ।
मनसुनी प्रभाव: कोशी र कर्णालीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानमा र पश्चिमी क्षेत्रमा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभावले नेपालको पूर्वी भूभागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्तमान मौसम अवस्था हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडका थोरै स्थानहरूमा र अन्य भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोको मौसम पूर्वानुमान आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। आज रातिको मौसम राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग र कोशीको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला र खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई यात्रा, कृषि कार्य र दैनिक गतिविधिमा सावधानी अपनाउन सुझाव दिइएको छ। महाशाखाले मौसमको नियमित अनुगमन गरी अद्यावधिक जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट र सम्पर्क केन्द्रहरूमा सम्पर्क गर्न आग्रह गरेको छ।
अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौं : अध्यक्ष प्रचण्ड
लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताउनुभएको छ । लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं ।” उहाँले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साट्नुभयो । उहाँले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भन्नुभयो, “मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लम्जुङ आइपुग्दा तराई–मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।” अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको स्मरण गर्नुभयो । दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको बताउनुभयो । तेस्रो कार्यकालमा सुशासन अभियान सञ्चालन, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले जोड दिनुभयो, “हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन् । तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ । यो अभियानले जनतालाई सत्य तथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु ।” यसअघि लम्जुङको रामबजारमा अध्यक्ष प्रचण्डलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । अभियानमार्फत जनतामाझ प्रत्यक्ष संवाद गर्दै अगाडि बढिरहेका उहाँले हरेक सम्बोधनमा जनताको अपार समर्थनले आफूलाई नयाँ ऊर्जा दिएको र अब देशको वास्तविक शक्ति माओवादी केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पत्रकारद्वारा भोलि सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
काठमाडौं। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको कडा विरोध गरेका छन्। दर्ता नभएको बहानामा लगाइएको यो प्रतिबन्धले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको भन्दै उनीहरूले तत्काल प्रतिबन्ध हटाउन माग गरेका छन्। पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायुका रूपमा उल्लेख गर्दै नेपालको संविधानको धारा १७, १९ र २७ ले प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको प्रत्याभूति गरेको स्मरण गराएका छन्। “यी संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ। उनीहरूले सामाजिक सञ्जालमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति गम्भीर आपत्ति जनाएका छन्। यो निर्णयले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारबीचको सम्पर्क टुटेको, बालबालिकाको सिकाइमा दीर्घकालीन प्रभाव परेको र हजारौं व्यक्तिको रोजीरोटी खोसिएको उनीहरूको ठहर छ। “सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय र विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी विधिसम्मत समाधान खोज्न सकिन्छ। तर, सञ्जाललाई पूर्णरूपमा बन्द गर्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ,” विज्ञप्तिमा उल्लेख छ। सरकारलाई दबाब दिन पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले भदौ २२ गते (आइतबार) दिउँसो २ बजे काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शनको आह्वान गरेका छन्। प्रेस र नागरिक स्वतन्त्रताका पक्षधर सबैलाई उक्त प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ। उनीहरूले बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न सरकारसँग जोडदार माग गरेका छन्। साथै, सामाजिक सञ्जालको दीर्घकालीन र विधिसम्मत नियमनका लागि विज्ञसहितको कार्यदल गठन गर्न सरकारलाई आह्वान गरिएको छ। “हामी प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सधैं प्रतिबद्ध रहनेछौं,” विज्ञप्तिमा भनिएको छ। १. तारानाथ दाहाल– पूर्व अध्यक्ष २. गोविन्द आचार्य– पूर्व अध्यक्ष ३. रमेश विष्ट– पूर्व कार्यवाहक अध्यक्ष ४. खिलबहादुर भण्डारी– पूर्व उपाध्यक्ष ५. उदय जीएम– पूर्व उपाध्यक्ष ६. रोशन पुरी– पूर्व महासचिव ७. ध्रुव लम्साल– पूर्वसचिव ८. प्रकाश थापा– पूर्व सचिव ९. पवन आचार्य– पूर्व सचिव १०. लक्ष्मी पुन– पूर्व सचिव ११. धमेन्द्र कर्ण– पूर्व सचिव १२. लेखनाथ न्यौपाने– पूर्व लेखा समिति संयोजक १३. विकास कार्की– पूर्व केन्द्रीय सदस्य १४. उज्वल आचार्य– पूर्व केन्द्रीय सदस्य १५. ध्रुव रावल– पूर्व केन्द्रीय सदस्य १६. भीषण राई– पूर्व केन्द्रीय सदस्य १७. प्रकाश तिमल्सिना– पूर्व केन्द्रीय सदस्य १८. कृति भट्टराई– पूर्व केन्द्रीय सदस्य १९. माधव पौडेल– पूर्व केन्द्रीय सदस्य २०. अजय फुयाँल– पूर्व केन्द्रीय सदस्य २१. माधव दुलाल– पूर्व केन्द्रीय सदस्य २२. दीपेन्द्र कुँवर– पूर्व केन्द्रीय सदस्य
माओवादी केन्द्रको 'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' सुरु
पोखरा । नेकपा (माओवादी केन्द्र)को 'जनतासँग माओवादी:'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' पुनः सुरु भएको छ । यसअघि बैतडीको पाटनबाट सुरु भएको अभियान पोखरा पुगेर स्थगित भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गर्नु भएको हो । शिक्षकसमेत रहेका खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उहाँका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता हुनु भएको थियो । माल्यार्पण कार्यक्रममा शहीद खनालकी श्रीमती राधिका खनाल पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै उपस्थित हुनुहुन्थ्यो । जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सात जना शहीद र एक जना बेपत्ता भएका थिए। अभियानको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धलाई महान् क्रान्ति भन्दै शहीदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताउनु भयो। उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्न खोजे पनि तेस्रो कार्यकालमा मात्र त्यो सम्भव भएको स्मरण गर्नुभयो । सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको बताउनु भयो। हुलाकी राजमार्ग केन्द्रित अभियान सफलतापूर्वक सम्पन्न गरेको माओवादी केन्द्रले मध्यपहाडी अभियान अन्तर्गत बिभिन्न जिल्लाहरुमा जनतासँग अन्तक्र्रिया, शहीदहरुहरुको सम्मान, नागरिक समाजसँग छलफल लगायतका कार्यक्रम सञ्चालन गरेको थियो । अभियानका लागि पार्टीका पदाधिकारीहरु आज नै पोखरा पुगेका थिए । कास्कीको कार्यक्रम सकेर नेताहरु लमजुङ बासबस्नका लागि प्रस्थान गर्दै छन् । साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने गरी कार्यतालिका तयार गरिएको छ । गण्डकी प्रदेशको गोरखासम्मको तालिका तयार भएको छ । त्यसपछि बाँकी जिल्लाको तालिका पछि तयार हुनेछ । कार्यक्रम अन्तरगत सबै जिल्लामा सार्वजनिक संवाद, अन्तरक्रिया र प्रशिक्षणलगायतका कार्यक्रम तय गरिएको छ ।
एमाले-कांग्रेस दलाल पूँजिवादको कब्जामा: अध्यक्ष प्रचण्ड
२१ भदौ २०८२, पोखरा । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गर्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।” अध्यक्ष प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ। म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु।” उहाँले महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राख्नुभयो। अध्यक्ष प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भन्नुभयो, “हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं। ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्।” उहाँले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताउनुभयो। सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।” माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।” सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाउनुभयो। “हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन,” उहाँले भन्नुभयो। संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको प्रचण्डले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेका छौं।” उहाँले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै भने, “उही नियम, उही परम्परा चलिरहेको छ। परिवर्तनको लडाइँ अझै बाँकी छ।” पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताउनुभयो। उहाँले भन्नुभयो, “नपत्याउने गरी जनमत बढिरहेको छ। नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौं। जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो।” कार्यक्रमको विशेष क्षणमा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन गरिएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहारस्वरूप प्रदान गर्नुभयो। कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष खिमलाल भण्डारीले गर्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको सहभागिता रहेको थियो। सरकार बिचौलियाको धम्कीबाट बनेको हो” – अध्यक्ष प्रचण्ड २१ भदौ २०८२, पोखरा । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गर्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।” अध्यक्ष प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ। म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु।” उहाँले महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राख्नुभयो। अध्यक्ष प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भन्नुभयो, “हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं। ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्।” उहाँले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताउनुभयो। सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।” माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।” सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले

