जेन जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या कम्तिमा १४ जना पुग्यो

काठमाडौं — जेन जी पुस्ताको प्रदर्शनका क्रममा हालसम्म १४ जनाको मृत्यु भएको छ। उपत्यकाका विभिन्न अस्पतालमा उपचारका क्रममा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, दिउँसो ३:३० बजेसम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ। एकजनाको नयाँ बानेश्वरमा ज्यान गएको छ । 

घाइतेहरूको यकिन विवरण भने हालसम्म प्राप्त हुन सकेको छैन।

जेनजी आन्दोलनमा प्रहरीको दमन : कम्तिमा सातजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा आज जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर कम्तिमा ७ जना प्रदर्शनकारीको मृत्यु भएको छ। आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा उनीहरूले ज्यान गुमाएका हुन्। मृतकहरूको पहिचान अझै खुल्न सकेको छैन। प्रहरी स्रोतका अनुसार सिभिल अस्पतालमा उपचारका क्रममा दुई जना घाइतेको मृत्यु भएको छ।  त्यस्तै अस्पताल नपुराउँदै नयाँ बानेश्वरमै थप एकजनाको मृत्यु भएको छ ।  यसैगरी, ट्रमा सेन्टर स्रोतले चार प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । ्् आन्दोलनका क्रममा सयौँ घाइते भएका छन् । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीको गोली लागेर थप एकजनाको मृत्यु

काठमाडौं । प्रहरीको गोली लागेर थप एकजनाको मृत्यु भएको छ । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा एकजनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अर्का एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

जेनजीको प्रदर्शनमा भएको घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, माग तत्काल सम्बोधनमा जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेन जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको र अन्य घाइते भएको घटनाले आफूलाई स्तब्ध र गम्भीर बनाएको उनले बताएका छन्।   प्रचण्डले मृतक युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सामाजिक सञ्जालमा जारी एक वक्तव्यमार्फत जेन जी पुस्ताले उठाएका मागहरू तत्काल सम्बोधन गर्न र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन्। "जेन जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्," प्रचण्डले भने। उनले स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चाल्नुपर्नेमा जोड दिए। जेन जी पुस्ताले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्त प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले 'भ्रष्टाचार रोक', 'स्वतन्त्र आवाज हाम्रो अधिकार' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। यो घटनाले देशभर तनावको स्थिति सिर्जना भएको छ। प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा भएको यो दुखद घटनाप्रति विभिन्न क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ।

माओवादीप्रति जनताको आस्था र विश्वास बलियो बन्दै गएको छ : अध्यक्ष प्रचण्ड

गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई गोरखा भिमसेन गाउँपालिका–माझथोकमा स्थानीय जनताले भव्य स्वागत गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हालै तराई–मधेसमा सञ्चालन गरिएको अभियानप्रति जनताको साथ उत्साहजनक रहेको स्मरण गर्दै  उहाँले भन्नुभयो, “मधेसको एक जना विज्ञले अब मधेसी जनताले माओवादी केन्द्रलाई नै साथ दिन्छन् भन्ने विश्वास व्यक्त गर्नुभयो।” त्यसैगरी उहाँले मध्यपहाडी लोकमार्गको बैतडीदेखि सुरु गरिएको अभियानमा लाखौं जनता जोडिएको र पार्टीप्रति जनताको उत्साह अझै उच्च बनेको उल्लेख गर्नुभयो। अभियानको क्रममा गाउँ–गाउँमा भएको सहभागिताले माओवादी केन्द्रप्रति जनताको आस्था र विश्वास बलियो बनेको अध्यक्ष प्रचण्डले बताउनुभयो।  माझथोकमा नेपाली कांग्रेस परित्याग गरी इश्वर बराम र लिलाधर बगाले माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उहाँहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै नयाँ ऊर्जासहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु, सय बढी घाइते

काठमाडौं । नयाँ वानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सिभिल अस्पतालको इमजेन्सी कक्षमा उपचारका क्रममा उनको निधन भएको हो । उनको परिचय खुल्न बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । वानेश्वर क्षेत्रमा प्रहरीले रबरको गोली लागेपछि दर्जनौं प्रदर्शनकारी घाइते भएका हुन । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।  प्रदर्शन नियन्त्रणबाहिर, सेना परिचालन, ३ जना सञ्चारकर्मीलाई गोली लाग्यो नयाँ बानेश्वर क्षेत्रमा जारी प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रशासनले सेना परिचालन गरेको छ । जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेलगत्तै आन्दोलन थप उग्र बनेपछि सुरक्षा स्थिति नियन्त्रण गर्न सेना पठाइएको हो। प्रदर्शनका क्रममा सञ्चारकर्मीहरू समेत घाइते भएका छन्। नयाँ पत्रिकाका ढुंगाना, नेपाल प्रेसका कार्की र कान्तिपुरका श्यामकुमार श्रेष्ठ रबरको गोली लागी घाइते भएका छन्। उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ। यस्तै, झडपमा केही प्रहरीसहित दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन्। सुरक्षाकर्मीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्ने र रबरको गोली चलाउने कार्य गरेका थिए।

सिंहदरबार लगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यू

काठमाडौं। काठमाडौंमा जेन जी आन्दोलनका क्रममा सुरक्षा अवस्था जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले संवेदनशील क्षेत्रमा समेत कर्फ्यू आदेश जारी गरेको छ। यसअघि माइतीघर, नयाँ बानेश्वर, तीनकुने र शंखमुल क्षेत्रमा राति १० बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको थियो। तर दिउँसो प्रदर्शन नियन्त्रणमा नआएपछि प्रशासनले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका क्षेत्रलाई पनि कर्फ्यू क्षेत्रमा विस्तार गरेको हो।   प्रशासनका अनुसार शीतल निवास आसपासको महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास रहेको लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई थप संवेदनशील क्षेत्र घोषित गर्दै कर्फ्यू आदेश जारी गरिएको छ। सुरक्षा निकायका अनुसार आन्दोलनकारीहरूले संसद भवन परिसरसम्म प्रवेश गरेको र झडपमा घाइते हुने घटना बढेसँगै उच्च तहका सत्ता–निवास र प्रमुख प्रशासनिक संरचना सुरक्षालाई प्राथमिकतामा राखिएको हो। प्रशासनले सर्वसाधारणलाई कर्फ्यू अवधिभर अनावश्यक बाहिर ननिस्कन र तोकिएको आदेश पालना गर्न आग्रह गरेको छ। आज बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु नाराबाजी गर्दै संसदभवन नयाँ वानेश्वरतिर लागेका थिए । सुरुमा शान्त किसिमले प्रदर्शन सुरु भएपनि आन्दोलनमा अपाच्य भाषा लेखेका नारा र प्लेकार्ड देखिन थालेका थिए । आन्दोलन वानेश्वर पुगेपछि एभरेष्ट होटेभन्दा केही अगाडि सुरक्षाकर्मीहरुले बारकेड लगाएर रोकेका थिए । तर प्रदर्शनकारीहरुको एक समूह प्रहरीको अवरोध तोड्दै संसदभवनको गेटतर्फ अघि बढ्यो । सामान्यतः जतिसुकै ठूला आन्दोलन भएपनि प्रहरीले एभरेष्ट होटल अगाडि नै प्रदर्शनकारीलाई तीन चारवटा बारकेडका घेरा लगाएर रोक्ने गरेको इतिहास छ । प्रदर्शनकारीहरु त्यो घेरा तोडने कुरा निकै असम्भव नै हुन्छ । तर आज भने सुरक्षा निकाय पूर्णरुपमा असफल रह्यो । सुरक्षाकर्मीको प्रतिरोध छिचोल्दै आन्दोलनकारीहरु गेट नं २ निकट पुगे । त्यहाँ समेत सुरक्षा व्यवस्था फितलो रहेको थियो । यो बीचमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपनि आन्दोलनकारीहरुलाई रोक्न सकेन । आन्दोलनकारीको एक समूहले गेट नम्बर दुईको पर्खालमा निरन्तर प्रहार गर्दा पर्खाल ढल्न पुग्यो । पर्खाल भत्किएसँगै प्रदर्शनकारीको एक समूह संसदभवन परिसरमा पसेको थियो । संसदभवनमा परिसरमा आज राष्ट्यिर सभाको बैठक बस्ने कार्यतालिका रहेको थियो । तर अत्यन्तै संवेदनशील स्थानमा समेत प्रहरीले कमाण्ड सम्हाल्न नसक्दा अराजक प्रदर्शनकारीहरु संसदभवन छिरेका हुन । अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले रबरको गोली चलाउने आदेश दिएको छ । रबरको गोली लागेर कान्तिपुरका पत्रकार श्यामकुमार श्रेष्ठलगायत एक दर्जनबढी सर्वसाधारण घाइते भएको सार्वजनिक भएको छ । यसैबीच मुख्य आयोजक जेन जेडले भने आन्दोलनमा घुसपैठ भएको भन्दै सुरक्षितरुपमा घर फर्किन अपील गरेको छ । यसअघि जेनजी आन्दोलनका अगुवा भन्दै आएका केही युवाहरुले दुर्गा प्रसाईलाई भेटेको विषयले समेत निकै आलोचना खेपेको थियो । दुर्गा प्रसाईको आव्हानमा तीनकुनेमा भएको आन्दोलन समेत अराजक बनेको थियो ।

जेनजीको आन्दोलनमा घुसपैठ, पत्रकारमाथि गोली प्रहार, सुरक्षा तयारीमा प्रश्न चिन्ह

काठमाडौं, भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेन-जेड पुस्ताको आन्दोलनमा अराजक समूहको घुसपैठ भएको भन्दै स्थिति झन् तनावपूर्ण बनेको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन संसद भवनसम्म पुग्दा हिंसात्मक रुप लिँदै सुरक्षा निकायको तयारी नै प्रश्नमा परेको देखिएको छ। आज बिहान ११ बजेदेखि सुरु भएको र्‍यालीमा सुरुवाती चरणमा शान्तिपूर्ण नाराबाजी भए पनि केही समयमै अपाच्य भाषा लेखिएका प्लेकार्ड र उत्तेजनापूर्ण नारा देखा पर्न थाले। वानेश्वर पुग्दा प्रहरीको बारिकेड तोड्दै प्रदर्शनकारीको एउटा समूह संसद भवनतर्फ अघि बढ्यो। सामान्यतया, एभरेष्ट होटल अगाडि नै तीन–चार तहको घेरा हालेर प्रहरी आन्दोलन नियन्त्रण गर्ने परम्परा रहे पनि यसपटक सुरक्षा व्यवस्थाले प्रतिरोध गर्न सकेन। संसद भवन परिसरमा प्रवेश सुरक्षाकर्मीको अवरोध पार गर्दै आन्दोलनकारीहरू संसद भवनको गेट नं. २ नजिक पुग्दा पनि सुरक्षा व्यवस्था कमजोर देखियो। प्रहरीको अश्रुग्यास प्रहारले प्रदर्शनकारीलाई रोक्न नसकेपछि उनीहरूले लगातार ढुंगामुढा प्रहार गरी पर्खाल भत्काए। पर्खाल ढल्दै गर्दा एक समूह संसद भवन परिसरभित्रै प्रवेश गरेको पुष्टि भएको छ। त्यही समयमा राष्ट्रिय सभाको बैठक बस्ने कार्यतालिका रहेको थियो। गोली प्रहार र घाइते स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले रबरको गोली चलाएको जनाएको छ। त्यस क्रममा कान्तिपुर दैनिकका पत्रकार श्यामकुमार श्रेष्ठसहित तीन सर्वसाधारण घाइते भएका छन्। पत्रकारमाथि गोली प्रहार भएको घटनाले प्रेस स्वतन्त्रता र प्रहरीको कार्यशैलीबारे थप बहस सुरु गरेको छ। आयोजकको अपील मुख्य आयोजक जेन-जेड आन्दोलनले प्रदर्शनमा बाह्य घुसपैठ भएको दाबी गर्दै सहभागीलाई सुरक्षितरूपमा घर फर्किन आग्रह गरेको छ। उनीहरूले आन्दोलनलाई शान्तिपूर्ण बाटोमै अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। यसअघि जेन-जेड आन्दोलनका अगुवाहरू दुर्गा प्रसाईसँग भेट गरेको समाचार सार्वजनिक भएपछि आन्दोलनको विश्वासनीयतामाथि प्रश्न उठेका थिए। प्रसाईको आव्हानमा तीनकुनेमा भएको अर्को आन्दोलनसमेत अराजक बनेको थियो। यसपटकको घटनाले आन्दोलनको मूल स्वरुप शान्तिपूर्ण हो वा अन्य शक्तिले प्रभावित गरेको हो भन्ने बहस थप चर्किएको छ।

काठमाडौंमा तनावपूर्ण स्थिति : जेनजी आन्दोलन भड्कियो

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेन-जेड पुस्ताको शान्तिपूर्ण प्रदर्शन राजधानी काठमाडौंमा हिंसात्मक बनेको छ। संसद भवनअगाडि प्रहरीसँग झडप भएपछि प्रशासनले माइतीघर–बानेश्वर–तीनकुने–शंखमूल क्षेत्रमा राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। स्रोतका अनुसार हजारौं युवा—विशेष गरी विद्यालय पोसाकमा देखिएका १६ देखि २८ वर्ष उमेर समूहका प्रदर्शनकारी—माइतीघर मण्डलाबाट संसद भवनतर्फ अघि बढेका थिए। उनीहरूले पारदर्शिता, जवाफदेही सरकार र फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन्। आगजनी र झडप र्‍याली बानेश्वर पुग्दा प्रदर्शनकारीहरूले संसद भवनको २ नम्बर गेटमा आगजनी गरे। अपर्याप्त अग्निनियन्त्रण स्रोतका कारण आगो फैलिएको र दमकल समयमै पुग्न नसक्दा थप कठिनाइ भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गर्दा २ नम्बर गेटको पर्खाल भत्किएको छ। प्रहरीले सुरुमा पानीको फोहोरा प्रयोग गरेर भीड नियन्त्रण गर्न खोजे पनि नसक्दा अश्रुग्यास प्रहार गरिएको थियो। सामाजिक सञ्जालमा उपलब्ध भिडियोहरूमा स्कूले विद्यार्थी र युवाहरू अश्रुग्यासको धुवाँबीच प्रहरीसँग भिडन्त गरिरहेको देखिन्छ। प्रशासनको कर्फ्यू आदेश जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदर्शनमा "घुसपैठ" भएको र स्थिति नियन्त्रणबाहिर जाँदै गएको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यू आदेश जारी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले शान्ति–सुरक्षा कायम गर्न यो कदम अनिवार्य भएको बताए। कर्फ्यू अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि सभा, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ। घाइते र अपील कर्फ्यूको बावजुद दिउँसोसम्म सडकमा हजारौं प्रदर्शनकारी उपस्थित रहेको बताइएको छ। प्रहरी र आन्दोलनकारीबीचको झडपमा केहीलाई रबरको गोली लागेको र ठूलो संख्यामा घाइते भएको समाचार छ। यसैबीच जेन-जेड आन्दोलनका आयोजकहरूले आन्दोलनमा बाह्य घुसपैठ भएको भन्दै सहभागीहरूलाई संयमित रहन र अनावश्यक भिडन्तबाट फर्किन अपील गरेका छन्।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू  : आन्दोलनकारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू  आदेश जारी भएको छ । दिउँसो १२ बजेदेखि जारी कर्फ्यु आदेश राति १० बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।  नयाँ बानेश्वरमा अश्रु ग्याँससँगै प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले रबरको गोली चलाएको छ । प्रदर्शनकारी संसद भवन परिषरमा प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ । 

जनताको विश्वास माओवादी प्रति छ,  हामी जुरुक्कै उठे देशभर चुनाव जित्छौं : अध्यक्ष प्रचण्ड

गोरखा। जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा महान् सहिद सुरेश वाग्ले ‘वासु’, भिमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम सम्पन्न भएको छ । जनयुद्धको क्रममा गोरखा जिल्लामात्रै १८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने २० जना बेपत्ता पारिएका थिए। स्मृति सभामा जनजागरण अभियान टिम, गण्डकी प्रदेशका नेताहरू, स्थानीय नेता, कार्यकर्ता तथा ठूलो संख्यामा आम जनसहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदहरूको योगदान स्मरण गर्दै उनीहरूका अपूर्ण सपना पूरा गर्ने संकल्प व्यक्त गर्नुभयो। उहाँले सहिद सुरेश वाग्ले ‘वासु’ जस्तो उच्च क्षमताका नेताको हत्या पार्टीका लागि ठूलो पीडा भएको उल्लेख गर्दै भाद्र २३ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुभयो। प्रचण्डले भन्नुभयो, “यो देशमा उत्पीडित वर्ग, लिङ्ग र समुदायका नागरिकले पाएको अधिकार सहिदहरूको योगदानकै कारण सम्भव भएको हो। तिनै सहिदहरूको त्यागलाई सम्मान गर्दै तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने काम सम्पन्न भयो। सत्य निरूपण तथा बेपत्ता आयोग गठन, सहिद परिवारलाई आर्थिक सहयोगका लागि कोष स्थापना, परिवारका सदस्यलाई रोजगारी दिने, र विभिन्न क्षेत्रमा विशेष सुविधा दिने व्यवस्था गरिएको छ।” उहाँले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानबारे अनुभव बाँड्दै जनतासँग प्रत्यक्ष संवाद यस अभियानको प्रमुख उपलब्धि भएको बताउनुभयो। लम्जुङदेखि गोरखासम्म देखिएको जनसहभागिताले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ थियो।  अध्यक्ष प्रचण्डले पालुङटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि चीनसँग भएको सहमतिको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो। साथै, सुशासन, सामाजिक न्याय, नागरिकता समस्या समाधान, मिटरव्याज पीडितलाई न्याय दिने पहल, नागरिकलाई सामाजिक सुरक्षामा समावेश गर्ने, सिमा समस्यामा कूटनीतिक पहल, भारत–चीनसँगको विद्युत् तथा व्यापारिक सहकार्य, कृषि क्षेत्रमा प्रविधि भित्र्याउने लगायतका उपलब्धिहरूलाई आफ्नो कार्यकालका ठोस कामका रूपमा प्रस्तुत गर्नुभयो। बुढीगण्डकी जलविद्युत आयोजना, धुले सडक पिच गर्ने, औद्योगिक पार्क निर्माणजस्ता योजनामा स्रोत सुनिश्चित गरी काम अघि बढाइने अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “गोरखा ऐतिहासिक जिल्ला हो। अबको गोरखा अझ राम्रो गर्ने क्षमता राख्छ। माओवादी जुरुक्कै उठे क्लिन सुइप गर्ने गरी चुनाव जित्न सकिन्छ।” कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेलगायतका नेताहरूले पनि सम्बोधन गर्दै माओवादी केन्द्र नेतृत्वको सरकार र पार्टीले जनतामुखी काम गरिरहेको धारणा राख्नुभयो। सभामा सहभागी जनसमुदायले सहिदहरूको बलिदानलाई अविस्मरणीय मान्दै माओवादी आन्दोलनप्रति विश्वास प्रकट गर्नुभयो।

माओवादी जनजागरण अभियान : पालुङटारमा सहिद स्मृति सभा तथा जनसम्वाद

गोरखा, । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा महान् सहिद सुरेश वाग्ले ‘वासु’, भिमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम  भएको छ । जनयुद्धको क्रममा गोरखा जिल्लामा मात्रै १८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने २० जना बेपत्ता पारिएका थिए। स्मृति सभामा जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान टिम ,  गण्डकी प्रदेसका नेताहरू, स्थानीय नेता, कार्यकर्ता तथा आम जनसहभागिता रहेको छ।

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजीको प्रदर्शन

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ता (जेन जी) का युवाहरूले प्रदर्शन सुरु गरेका छन्। उनीहरू स्वतःस्फूर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भई प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीले ‘जेन जी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन्। कतिपय युवा स्कूल र कलेजको पोशाकमा समेत सहभागी छन्। पहिले सामाजिक सञ्जालमा सीमित रहेको सरकारप्रतिको आक्रोशलाई जेन जी पुस्ताले सडकमा उतारेको हो। यो प्रदर्शनलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, पेशाकर्मी र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन्।

गोरखा पालुङटारकी नेसपा नेतृ सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

गोरखा । पालुङटार नगरपालिका उपाध्यक्ष तथा नेसपा नेतृ सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उहाँ माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो । पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपा बाट देश र जनताको लागि ठोस काम गर्न नसकिएको महसुस भएकाले माओवादी केन्द्रमै फर्किएको बताउनुभयो । उहाँले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रुपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले श्रेष्ठको आफ्नै घर आगमनले पार्टी संगठन थप सबल हुने विश्वास व्यक्त गर्नु का साथै अन्य नेताकार्यकर्तालाई पुरानै घर फर्किन अपिल गर्नुभयो ।

माओवादीको जनजागरण अभियान : आज दिनभर के-के हुन्छ ?

पालुङटार । नेकपा (माओवादी केन्द्र)ले  सुरु गरेको  'जनतासँग माओवादी: 'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान" अन्तरगत आज बिहानैदेखि गोरखाको पालुङटार भेटघाट कार्यक्रम सुरु भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'सहितका पदाधिकारी रहेको टोलीले बिहानैदेखि नागरिकसँग भेटवार्ता थालेको हो ।  अध्यक्ष प्रचण्डले बिहान पालुङटारमा मर्निङ वाक गरेर जनतासँग भेटवार्ता थाल्नु भएको थियो । अहिले पनि जनसंवादलगायतका कार्यक्रम चलिरहेको छ । आज दिनभर प्रचण्डसहितको टोली गोरखाका विभिन्न कार्यक्रममा ब्यस्त हुनेछ ।   

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार, सेप्टेम्बर ८, २०२५) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद र बिक्री दर निम्नानुसार छ: मुद्रा एकाइ खरिद दर (रु.) बिक्री दर (रु.) भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५ अमेरिकी डलर (USD) १ १४०.९३ १४१.५३ युरोपियन युरो (EUR) १ १६५.१६ १६५.८६ बेलायती पाउन्ड (GBP) १ १९०.३९ १९१.२० स्विस फ्र्यांक (CHF) १ १७६.५७ १७७.३२ अस्ट्रेलियन डलर (AUD) १ ९२.४१ ९२.८० क्यानेडियन डलर (CAD) १ १०१.९१ १०२.३४ सिंगापुर डलर (SGD) १ १०९.६९ ११०.१६ जापानी येन (JPY) १० ९.५६ ९.६० चिनियाँ युआन (CNY) १ १९.७६ १९.८४ साउदी रियाल (SAR) १ ३७.५६ ३७.७२ कतारी रियाल (QAR) १ ३८.५६ ३८.७२ थाई भाट (THB) १ ४.३९ ४.४१ यूएई दिरहम (AED) १ ३८.३७ ३८.५४ मलेसियन रिंगिट (MYR) १ ३३.३६ ३३.५० दक्षिण कोरियाली वन (KRW) १०० १०.१७ १०.२१ स्विडिस क्रोनर (SEK) १ १५.०० १५.०६ डेनिस क्रोनर (DKK) १ २२.१२ २२.२१ हङकङ डलर (HKD) १ १८.०८ १८.१५ कुवेती दिनार (KWD) १ ४६१.३१ ४६३.२७ बहराइन दिनार (BHD) १ ३७३.८१ ३७५.४१ ओमानी रियाल (OMR) १ ३६६.०६ ३६७.६२ राष्ट्र बैंकले यी दरहरू आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्छ। अद्यावधिक विनिमय दरका लागि नेपाल राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिन्छ।