चितवनमा कोरोना रोकथामका लागि कडा नियम, भेला, मेला, महोत्सव गर्न रोक
काठमाडौं– चितवनमा कोभिड–१९ (कोरोना) भाइरसको संक्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ। प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन्।
प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ। सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ। अस्पतालहरूले पनि संक्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका छन्।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले कोरोना संक्रमितको नियमित उपचार हुँदै आएको जानकारी दिँदै हाल २८ शय्या छुट्याइएको बताए। तीमध्ये १० शय्या सघन उपचारकक्ष र १८ शय्या एचडीयू रहेका छन्। उनले आवश्यकतानुसार शय्या बढाउँदै लैजाने जानकारी दिए।
अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्यांकसमेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने उनले विश्वास दिलाए। भरतपुर अस्पतालले दुई दिनअघि कोभिड प्राविधिक समिति नै बनाएर कोभिड संक्रमितको उपचारको थप तयारीमा लागेको उनको भनाइ छ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप देवकोटाले संक्रमण बढ्न थालेपछि थप तयारी गरिएको बताए। उनले पछिल्ला दिनमा संक्रमित आउने क्रम बढेको बताउँदै हाल २५ शय्या कोभिडका लागि छुट्याइएको जानकारी दिए।
कोभिडको दोस्रो लहरसँगै सघन उपचारकक्ष र एचडीयूको संख्या बढाइएको जानकारी दिँदै देवकोटाले संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, सघन उपचारकक्ष, एचडीयू र बच्चाका लागि बाल सघन उपचारकक्षसमेत पर्याप्त रहेको जानकारी दिए। उनले पिसीआर परीक्षण गर्ने आफ्नै प्रयोगशाला रहेको समेत जानकारी दिए।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)का आवासीय निर्देशक डा मनोहर प्रधानले अस्पतालमा विगतदेखि नै कोभिडका लागि छुट्याइएको १२० शय्या अहिले पनि तयारी अवस्थामा राखिएको बताए।
अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेकाले अभाव नहुने उनले बताए। अस्पतालले पछिल्लो समय पिसीआर मेसिन पनि सञ्चालनमा ल्याएको छ। विगत दुई महिनादेखि पिसीआर मेसिन सञ्चालनमा आएको प्रधानले जानकारी दिए। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले संक्रमणलाई मध्यनजर गर्दै खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाइएको बताए। रासस
नाेबेल कलेजमा विद्यार्थीद्वारा ताेडफाेड
काठमाडौं । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि आज विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ । आज नोबेल कलेजका विद्यार्थीले तोडफोड गरेका छन् । केही विद्यार्थी घाइतेसमेत भएका छन् । विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन् । अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ । नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर आज पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो ।
तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान जिप दुर्घटनामा परेको हो। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए। sanimancitaitm सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रधानमन्त्री देउवाको आज पिसीआर परीक्षण गरिँदैे
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री देउवाको कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत आइतबार पिसीआर परीक्षण गरिन लागेको हो । शुक्रबार बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो । प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा शनिबारबाट नै होम आइसोलेसनमा बस्नु भएको छ । प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गर्नु भएको थियो । यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि आजै पिसीआर परीक्षण गर्ने तयारी छ । उहाँ पनि आइसोलेसनमा हुनुहुन्छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आउनु भएको थियो । -Imagekhabar.com बाट
राष्ट्रपति र प्रधानमन्त्री नै मिलेर दुई-दुईपटक संविधानकाे हत्या गर्न खाेजेका थिए- डा. यादव
काठमाडौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधानकाे रक्षा गरेर लाेकतान्त्रिक समाजवादकाे बाटाेमा अघि बढ्न सबैमा अपील गरेका छन् । वरिष्ठ राजनीतिज्ञ चन्द्रदेव जाेशीद्वारा लिखित मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दाेलन नामक पुस्तककाे विमाेचन गर्दै यादवले संविधानमा पटकपटक आक्रमण भएकाे बताउँदै यसकाे रक्षा गर्नुपर्नेमा जाेड दिएका हुन । “पछिल्लाे ४ वर्षयता संविधानमा पटकपटक आक्रमण भयाे । याे एक वर्षयता त दुइदुइपटक राष्ट्रपति र प्रधानमन्त्री मिलेर नै यसकाे हत्या गर्न खाेजे ।” उनले भने, “संविधान साना त्यागले बनेकाे हाेइन, यसले संघीयता, समावेशिता र धर्म निरपेक्षताकाे ग्यारेन्टी गरेकाे छ । यसकाे रक्षा गर्नु जरुरि छ ।” राजनीतिक दलहरुले वाद विचारधारामा अल्झिनु भन्दा संविधानले निर्दिष्ट गरेकाे बाटाेमा हिंडनुपर्ने उनले बताए । “संविधानले लाेकतान्त्रिक समाजवादकाे परिकल्पना गरेकाे छ ।” उनले भने, “याे वाद त्याे वाद किन भन्नुपर्याे, नेपालकाे माैलिकतामा सामाजिक न्यायसहितकाे समाजवाद भनेर संविधानमैं लेखिऐकाे छ । यसकाे कार्यान्वयनमा लाग्नु अहिलेकाे मुख्य जिम्मेवारी हाे ।” नेता जाेशीद्वारा लेखिएकाे पुस्तकामाथि राजनीतिक अर्थशास्त्री हरि राेका, राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी, राजनीतिशास्त्री इन्द्र अधिकारी लगायतले समीक्षा गरेकका थिए । पुस्तकलाइ इण्डिगाे इन प्रकाशनले बजारमा ल्याएकाे हाे । कार्यक्रममा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालले समेत सम्बाेधन गरेका थिए ।
प्रचण्डसँगै नारायणकाजी र अन्य माओवादीका नेताहरुमा पनि देखियो कोरोना
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । श्रेष्ठको पनि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’ त्यस्तै अध्यक्षका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवाेध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको छ । केहीदिन पहिले केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पुष्टि भएको थियो । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएको थियो । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डमा देखियो कोरोना, स्वास्थ्य अवस्था सामान्य
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएका छन् । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, अध्यक्ष प्रचण्डको हिजो पिसिआर र एन्टीजेन जाँच गरिएको थियो । “कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी ब्ल्त्क्ष्न्भ्ल् र च्त्(एऋच् परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।” सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ।” सचिवालयले यो बीचमा अध्यक्ष प्रचण्डको सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । अध्यक्ष प्रचण्ड स्वास्थ्यकर्मीको सल्लाह अनुसार केही दिन आइसोलेशनमा रहने समेत सचिवालयले जनाएको छ । “कोभिड १९ को कारण उहाँका केही पुर्वनिर्धारित कार्यक्रममा उहाँको सहभागिता हुन नसकेकोमा हामी दुखी छौं।” सूचनामा भनिएको छ । यसैगरी सचिवालयकै रमेश मल्लले समेत पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको जनाएका छन् ।
सार्वजनिक सम्पत्ति संरक्षण गर्न माग गर्दै युवा संघले बुझायाे मन्त्री आलेलाई ज्ञापन
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)मा निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिहरूको संरक्षण गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार युवा संघले मन्त्रालयमा सार्वजनिक सम्पत्तिहरूको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै युवासंघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दूरुपयोग गरेर स्थायी संरचना बनाइरहेकोले यो स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनको लागि भाडामा दिने कुरा लज्जाको विषय भएको बताउनुभयो । अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भए पनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दूर्लभ सम्पदाहरूको विनाश गरिएको बताउनुभयो । अध्यक्ष शाहीले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरूको दुरुपयोग रोक्न सरकारसँग माग गर्दै ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न र भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानविन गर्न पनि आग्रह गर्नुभयो ।
आज एमालेकाे जिल्ला अधिवेशन हुँदै, अधिकांश जिल्लामा चर्काे विवाद
काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन आज हुँदैछ । जिल्ला अधिवेशनका लागि सबै तयारी पूरा भएकाे एमालेले जनाएकाे छ । अध्यक्ष केपी ओलीले बिहान ११ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल माध्यमबाट ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले भरसक सहमतिमै नेतृत्व चयन गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । तर अधिकांश जिल्लामा चर्काे विवाद देखिएकाे छ । केपी ओलि पक्षकै कतिपय समूह, माधव नेपालसँग नगएकाे समूह र पुर्व माओवादीबीच चर्काे विवाद देखिएकाे हाे । चिसोको कारण केही हिमाली जिल्लामा भने आज अधिवेशन नहुने भएको छ । यसैगरि प्रदेश २ का केही जिल्लामा सदस्यता विवाद रहेकोले ती जिल्लाहरुमा पनि आज अधिवेशन हुनेछैन । जिल्ला अधिवेशनपछि एमोलले आगामी माघ ८ गते प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।
माओ दिवसमा प्रचण्डकाे सन्देश: मालेमावादी विश्वदृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित बनाैं
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वभरिका सर्वाहारा तथा उत्पीडित जनताकाे आन्दाेलनका लागि माओकाे याेगदान सार्वभाैम भएकाे बताएका छन् । माओ दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले क्रान्तिकारी विचारकाे विकनसमा समेत जाेड दिनु भएकाे छ । शुभकामनाकाे पूर्ण पाठ १२९ औं जन्मजयन्तीको अवसरमा विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । यस ऐतिहासिक सन्दर्भमा विश्वभरिका श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मालेमावादी विश्वदृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन हार्दिक अपील गर्दछु । २६ डिसेम्बर १८९३ मा जन्मिनुभएका चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता हुनुहुन्थ्यो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलूकहरूमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ । समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान माक्र्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ । मालेमावादी विश्वदृष्टिकोणको आलोकमा हाम्रो पार्टीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको छ । जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो गौरवशाली पार्टीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्दैछ । यस ऐतिहासिक अवसरमा समाजवादी क्रान्तिको सपना बोकेर उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रित हुन विशेष अपील गर्दछु ! धन्यवाद । ११ पौष, २०७८ (२६ डिसेम्बर, २०२१) …………………………… पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष
माओवादीकाे महाधिवेशन ३ बजे उदघाटन हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्र २ घण्टा पछि सारिएको छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्घाटन सत्र दुई घण्टा पछाडि सार्नुपरेको माओवादीले जनाएको छ । दिउँसो १ बजे उद्घाटन हुने भनिएकोमा अब दिउँसो ३ बजे उद्घाटन हुने भएको छ । स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ । दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा विभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको छ । उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ । यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय माओवादीले गरेको थियो । सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने निर्णय भएको थियो ।
निश्चित अवधिसम्म सामूहिक जीवन पद्धति अपनाएर जनतामाझ जाने प्रस्ताव राख्दै प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीलाई आम सर्वाहारा वर्गसँग जाेड्न निश्चित अवधिका लागि सामूहिक जीवन पद्धतिमा जानुपर्ने बताएका छन् । कुनैबेला पहिलाे पार्टीका रुपमा उदाएकाे माओवादी तेश्राे दलका रुपमा खुम्चिएकाे सन्दर्भमा कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा प्रचण्डले निर्मम ढंगले पार्टी निर्माण गर्नुपर्नेमा जाेड दिएका हुन । नेपालका परम्परागत ढंगले विकसित भएका पार्टीभन्दा नितान्त भिन्न पृष्ठभूमि, विचार, संस्कार र शैलीको पार्टी भएकाे बताउँदै प्रचण्डले जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा र गणतन्त्रसम्म नेपाललाई ल्याउन झन्डै निर्णायक र महत्त्वपूर्ण भूमिका खेलेपनि आज अरू पार्टीसँग भिन्नता देखिन छाड्दै गएकाे र सबै पार्टी उस्तै–उस्तै हुन् भनेको जस्तो बन्न जानू दुखद भएकाे बताएका छन् । “यो एउटा निश्चित विचार र उद्देश्यका निम्ति समर्पण, निष्ठा, जनता र राष्ट्रका लागि त्याग, तपस्या तथा बलिदान गर्ने दृष्टिकोणले ऐतिहासिक विरासत बोकेको पार्टी हो । तर अहिले यस्तो स्थितिमा हुनुको कारणको खोजीमा छौं ।” उनले भनेका छन् । प्रचण्डले अगाडि भनेका छन्: यो आन्दोलनको प्रमुख लिडरसिपमा हुनुको नाताले खासगरी शान्ति प्रक्रियायता के त्यस्ता कमजोरी भए, जुन कारणले हाम्रो पार्टी पनि अरूजस्तै पद, प्रतिष्ठा र स्वार्थका निम्ति लाग्ने जस्तो भयो, जनताबाट बिस्तारै कट्या जस्तो भयो, त्यसको समीक्षा मबाट नै सुरु गरेको छु । हामी केही वैचारिक विषयमा पनि जसरी जानुपर्थ्यो, त्यसरी गएनौं । त्यसले पनि राम्रो गरेन भन्नेतिर छलफल गर्दै छौं । केही विधि विधानको प्रक्रिया पालनामा पनि त्रुटि भए । त्यो समीक्षाले हामीलाई फेरि जनतातिर फर्किने, फेरि उत्पादन, श्रम र श्रमिक वर्गसँग आफूलाई लगेर जोड्नेतिर लान्छ भन्ने मेरो विश्वास छ । यो जोड्ने कसरी भन्ने पनि सवाल आउँछ । मैले अहिले छलफलमा प्रस्ताव गर्न खोजेको कुरा के छ भने अब पार्टी गाउँ र सहरका पनि श्रमिक जनता या आम जनता भएको ठाउँमा जाने हो । निश्चित अवधिसम्म सामूहिक जीवन पद्धति अपनाउने । अब सधैं त सम्भव हुँदैन तर एकचोटि दलितको घरमा गएर देखाएजस्तो पनि होइन । जनतासँगै बस्ने, जनतासँगै खाने, सँगै श्रम गर्ने, सँगै उत्पादन कार्यमा सहभागी हुने, प्रमुख नेतादेखि सबै नेता कार्यकर्ताको सेड्युल बनाएर त्यसलाई एउटा रूपान्तरण गर्ने भन्ने हो । नेता–कार्यकर्ता जनतासँगै बसेर भ्रष्टाचारविरोधी गतिविधिमा जान्छन् । आफैंलाई नबदलेसम्म राष्ट्र र जनतालाई समृद्धितिर लान सकिँदैन भन्ने मान्यतातिर हामी जाँदै छौं । अब जनतातिर फेरि एकचोटि गएर यो देशको विकास, निर्माण, समृद्धि र सुशासनका निम्ति हामी अभियान चलाउँछौं । यसले अरू पार्टी र अरू कम्युनिस्ट पार्टीका इमानदार कार्यकर्तालाई पनि हामी एकै ठाउँमा केन्द्रित हुनुपर्छ भन्ने बनाउँछ । फेरि कम्युनिस्ट आन्दोलन एक बन्छ अनि हामीले जनताका लागि हिजो देखेको सपना पूरा गर्नेतिर लान सकिन्छ भन्ने मेरो विश्वास छ ।
ओली सिंहदरबार या बालुवाटार नआए बालकाेट नै जान प्रचण्डकाे देउवालाई प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट जान प्रस्ताव गनुभएको छ । सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष दाहालले एमसीसी र संसदको अवरोधको सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा ओली नआएपछि आफूहरू नै ओलीनिवास बालकोट जान प्रस्ताव गरेको बताउनुभयो । ‘पटक–पटक प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्ष दल नआउने अवस्था आएपछि मैले प्रधानमन्त्रीज्यूलाई भनें, प्रधानमन्त्रीज्यू उहाँ आउनुभएन, उहाँ त्यस्तै हुनुहुन्छ, अब तपाईं र म नै बालकोट जाऊँ’ अध्यक्ष दाहालले भन्नुभयो, ‘सदन रोक्दिन भएन भनौं र अन्य विषयमा पनि छलफल गरौं भनेकोमा उहाँले महाधिवेशन पछि भन्नुभएको थियो ।’ आफूहरूको राष्ट्रिय सम्मेलनपछि ओली बालुवाटार वा सिंहदरबार नआए आफूहरू बालकोट जाने अध्यक्ष दाहालले बताउनुभयो । देश, जनता, प्रणाली र जनताप्रति जिम्मेवार भएका मानिसले जिम्मा लिनुपर्ने भएकाले आफूहरु नै जाने सोच बनाएको उहाँको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको दुईपटकको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली सहभागी हुनुभएको थिएन । माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादीलाई आफूहरुले राजनीतिक दल नमानेको एमालेले बताउँदै आएको छ । -इमेजखबरबाट
प्रचण्डकाे ठहर: दलाल पूँजिवाद र एकाधिकारवादी वित्तिय साम्राज्यवादसँग मुख्य अन्तरविरोध
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिको मुख्य अन्तरविरोध दलाल पूँजिवाद र वित्तिय साम्राज्यवादसँग भएको निश्कर्ष निकालेका छन् । जनयुद्ध र जनआन्दोलनका श्रृंखलामार्फत नेपाली जनताले कतिपय अधिकार प्राप्त गरेको र राजनीतिक प्रणाली नै परिवर्तन भएपनि नयाँ जनवादी क्रान्तिका कतिपय कार्यभार भने अझै पुरा हुन नसकेको र त्यसका लागि देशीय सन्दर्भममा दलाल पूँजिवाद मुख्य बाधक रहेको उनको ठहर छ । विश्वस्तरमा भने उत्पीडित देशहरुमा वित्तिय एकाधिकारवादी पूँजिवादको चरित्रमा रहेको साम्राज्यवाद नै उत्पीडित जनताहरुको मुख्य दुश्मन रहेको उनको बुझाइ छ । नेपाली समाजलाई समाजवादसम्म लैजान कैयन उपचरणहरु आवश्यक पर्ने र तत्कालका लागि लोकतान्त्रिक प्रतिष्पर्धात्मक विधिबाटै दलाल पूँजिवादका विरुद्ध निर्ममम संघर्ष गर्दै राष्ट्रिय पूँजिको विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । सामूहिक उत्पादन सम्बन्धको विकासमार्फत पार्टीभित्र नयाँ क्रान्तिकारी जीवन र गति पैदा गर्ने तथा राजनीतिकरुपमा समाजवादी क्रान्तिको कार्यदिशा अन्तर्गत कार्यनीति र रणनीति निर्माण गरी अघि बढनुपर्ने निश्कर्ष उनको देखिन्छ । प्रचण्डले राष्ट्रिय सम्मेलनका लागि नयाँ दस्तावेज लेखेका छन् । हिजो स्थायी समिति बैठकमा प्रचण्डले यही दस्तावेजको सारसंक्षेप व्याख्या गरेका थिए । नेपाली क्रान्तिले कैयन उतारचढाव झेलेको भएपनि यो मुलतः अग्रगमनकै बाटोमा गएको र यसलाई सचेततापूर्वक अगाडि बढाउन सकिने विश्वास प्रचण्डको देखिन्छ । यसका लागि क्रान्तिकारी शक्तिहरुबीच ब्यापक मोर्चाबन्दी र जनतामुखी पार्टी निर्माण आवश्यक पर्ने उनको जोड देखिन्छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने प्रतिवेदनले माओवादी आन्दोलनको समग्र वैचारिक पक्षको संश्लेषण गर्नुका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थित अनुरुप क्रान्तिको नयाँ मोडेलको खोजीका लागि मार्गप्रशस्त गर्ने आसा लिइएको छ । आफ्ना कतिपय संकटको ढाकछोप गर्न साम्राज्यवादले वित्तिय एकाधिकारवादी स्वरुप ग्रहण गर्दै विश्वभरी नै एकछत्र राज गर्न खोजेपनि साम्राज्यवादविरोधी शक्ति समेत बलियो बन्दै गएको देखिन्छ । विश्वभरी नै पूँजिवादले अघि सारेको वित्तिय, सामाजिक, सांस्कृतिक तथा विकासका मोडेलहरुले पूँजिवादलाई झनै मरणासन्न बनाउन खोजेको देखिन्छ । प्रचण्डको प्रतिवेदनले विश्व पूँजिवादको यो चरित्रलाई गहनरुपमा व्याख्या गर्ने अपेक्षा समेत गरिएको छ । अहिलेको पूँजिवादी विश्वमा कुनै एक देशमा मात्रै क्रान्ति सम्भव हुने या नहुने र विगतमा रुस, चीनका अनुभवहरुका आधारमा नयाँ मौलिक मोडेल के कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा समेत उनको प्रतिवेदनले समेटने विश्वास गरिएको छ ।
नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्नुभएको छ । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको हो । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गर्नुभएको हो । मुख्यसचिव पौडेलले भन्नुभयो, “सभापति र पदाधिकारीहरूको छलफलमा शनिबार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे विमर्श भएको छ ।” उहाँका अनुसार काँग्रेसले शनिबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ । शनिबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेर बस्ने तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम शनिबार बिहान ११ बजे रहेको बताउनुभयो । मङ्सिर २४ देखि २८ गतेसम्म चलेको १४औँ महाधिवेशनबाट काँग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री देउवा निर्वाचित हुनुभएको छ । उपसभापतिमा खड्का र गुरुङ, महामन्त्रीमा थापा र शर्मा निर्वाचन हुनुभएको छ । सहमहामन्त्रीमा डिना (महालक्ष्मी) उपाध्याय, जीवन परियार, फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, बद्री पाण्डे, महेन्द्र यादव, किशोरसिंह राठौर र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । साथै विभिन्न क्षेत्रबाट दुई निर्विरोधसहित १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
राष्ट्रिय सम्मेलनको प्रचण्ड उत्साहः क्रान्तिकारी विचारको प्रतिक्षामा माओवादी समर्थक
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलीबाट शुरु हुँदैछ । राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले करिब करिब तयारी पुरा गरिसकेको छ । साढे १५ सयको हाराहारीमा देशैभरीबाट प्रतिनिधिहरु छनौट भइसकेका छन् भने केन्द्रीय कार्यालयले मनोनित गर्ने केही संख्याबारे स्थायी समितिले सम्भवतः आज नै निर्णय गर्नेछ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा हुने सम्मेलनमा सहभागी हुन देशैभरीका प्रतिनिधि, शुभेच्छुक र समर्थकहरु राजधानी ओइरिने क्रम जारी रहेको छ । यसपटकको राष्ट्रिय सम्मेलनलाई माओवादी केन्द्रमा विशेष अर्थमा लिइएको छ । शान्ति प्रक्रियापछि विचारको संश्लेषण गर्दै नयाँ वैचारिक कार्यदिशा निर्माण गर्न नसकेको माओवादीले यसपटक भने समाजवादी क्रान्तिको तयारीका लागि ठोस कार्यदिशा निर्माण गर्ने अधिकांशको अपेक्षा देखिन्छ । गत साउनमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्न नसक्ने हो भने माओवादी विघटन हुने बताएसँगै पार्टीभित्र नयाँ विचार र संगठनका पक्षमा माहौल बनेको हो । पछिल्ला कतिपय सम्बोधनहरुमा अध्यक्ष प्रचण्डले अबको कार्यदिशा समाजवादी क्रान्तिको तयारीका लागि हुने र त्यसका लागि पार्टीभित्र क्रान्तिकरण अनिवार्य रहेको बताउँदै आएका छन् । अध्यक्ष प्रचण्डले सम्मेलनका लागि राजनीतिक प्रतिवेदन लेखन गरिसकेका छन् । हिजो सम्पन्न भएको स्थायी समिति बैठकमा प्रतिवेदन प्रस्तुत गरेका थिए । एकजना स्थायी समिति सदस्यका अनुसार, प्रचण्डको प्रतिवेदनले मूलतः वर्तमान विश्वको अन्तरविरोधको व्याख्या गर्दै वित्तिय एकाधिकारवादी पूँजिवादसँग तेश्रो विश्वका जनताको र नेपालको सन्दर्भममा दलाल पूँजिवादसँग प्रधान अन्तरविरोध रहेकोले संघर्षको कार्यनीति पनि सोही अनुरुप विकास गर्नुपर्नेमा जोड दिएका छन् । क्रान्तिकारी शक्तिहरुको ध्रुवीकरणमार्फत शान्तिपूर्ण तवरले राष्ट्रिय पूँजिको विकास गर्दै समाजवादी क्रान्तितर्फ अघि बढन सकिने उनको निश्कर्ष छ । तर त्यसका लागि क्रान्तिकारी कार्यदिशा अन्तर्गत क्रान्तिकारी चरित्रको पार्टी अनिवार्य हुने प्रचण्डको ठम्याइ छ । राष्ट्रिय सम्मेलनमा विचारको विकासका लागि घनिभूत छलफल हुने संकेत सम्मेलन ३ दिनबाट ५ दिनसम्म लम्ब्याइएकोबाट समेत देखिएको छ । सम्मेलनमा नयाँ नेतृत्वका लागि खासै हानथाप हुने अवस्था भने देखिदैन । माओवादी केन्द्रभित्र प्रचण्डको विकल्पको पक्षमा कोही पनि देखिँदैनन् । यद्यपी महासचिव र अन्य पदाधिकारीमा भने कतिपयले आकांक्षा देखाएका छन् । तर प्रचण्डले भने गुट या समूहगत भावना झल्किने कुनै पनि समीकरण या अभ्यासलाई सम्मेलनमा स्थान दिने देखिँदैन । माओवादीको राष्ट्रिय सम्मेलनले समावेशी समानुपातिक प्रणालीको पूर्ण अवलम्बन गर्दै २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने देखिन्छ । प्रदेश र तल्ला तहमा देखिएका गुटवादलाई अन्त्य गर्ने महत्वपूर्ण प्रयास सम्मेलनमा हुने देखिन्छ ।

