झण्डै एक अर्ब लगानीमा शर्मा-समानान्तर जेभीले निर्माण गरेको भवन वर्षदिन नपुग्दै चुहियो, अख्तियारको टोली अनुगमनमा
काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको महान्यायाधिवक्ता कार्यालयको भवन निर्माण सम्पन्न भएको वर्षदिन नपुग्दै चुहिएपछि अख्तियारले स्थलगत अनुगमन गरेको छ ।
शर्मा-समानान्तर ज्वाइन्ट भेन्चरले निर्माण गरेको उक्त भवनको गत पौष ८ गते केपी ओलीले उदघाटन गरेका थिए ।
बिभिन्न सरकारी भवन निर्माणको ठेक्का हात पार्न सफल शर्मा कम्पनीले निर्माण गरेको भवन वर्षदिन नपुग्दै चुहिएपछि कम्पनीको गुणस्तरीयता र विश्वसनियतामा नै प्रश्न उठेको अख्तियार श्रोतले बताएको छ ।
करिब एक अर्बको लागतमा उक्त भवन बनेको हो । उक्त भवन के कति कारणले चुहिएको हो भन्ने कुरा खुल्न सकेको छैन । भवन चुहिएको विषयमा लोकान्तर अनलाईनले समाचार प्रकाशन गरेको थियो ।
त्यसपछि अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य नेतृत्वको ३ सदस्यीय छानबिन टोलीले महान्यायाधिवक्ता कार्यालय भवनको स्थलगत अवलोकन गर्नुका साथै फोटो र भिडियो समेत खिचेर लगेको छ ।
साथै टोलीले महान्यायाधिवक्ता सहित कार्यालयका अन्य कर्मचारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि र ठेकेदार कम्पनीका प्रतिनिधिलाई राखेर छलफल समेत गरेको थियो ।
शर्मा समानान्तर कम्पनीले निर्माण गरिरहेका अन्य भवनहरुबारे समेत छानबीन हुनुपर्ने माग कतिपयले गरेका छन् ।
महान्यायाधिवक्ता कार्यालयका एक कर्मचारीका अनुसार यसअघिको झरीमा पनि पानी चुहिने समस्या देखिएको लोकान्तरले उल्लेख गरेको छ। तर पटक–पटक जानकारी गराउँदा समेत ठेकेदार कम्पनीले मर्मतका लागि अटेरी गर्दै आएको थियो ।
उक्त भवनको लिफ्ट समेत बिग्रिएको छ ।
घरमाथि पहिरो खस्दा रोल्पामा दुई जनाको मृत्यु
रोल्पा — घरमाथि पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङको बाम्दा गाउँमा सोमबार दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा सोमबार बिहान उनकी आमा ७० वर्षीया गौरी थापा र ५ वर्षीय भान्जाको मृत्यु भएको हो । प्रहरीका अनुसार निरन्तर वर्षाकै बीच सोमबार बिहान २ बजेतिर पहिरो खसेको हो । करिब २ सय मिटर माथिबाट खसेको पहिरोले घर भत्कँदा चार जना भित्रै च्यापिएका थिए । घटनामा गौरीका छोरी र ज्वाइँ घाइते भएका छन् । उनीहरू पाहुना आएका थिए । पहिरोबारे खबर पाएपछि राति नै टोली खटाइएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । स्थानीयको सहयोगमा मृतकको शव निकालिएको र राति नै घाइतेको उद्धार गरिएको उनले जानकारी दिए । वडा कार्यालयनजिकैको उक्त गाउँमा अरू १० घरजति छन् । तत्काल खबर पाए पनि वर्षाका कारण सडक र गोरेटो बाटोसमेत अवरुद्ध भएकाले सदरमुकामबाट प्रहरी बिहान मात्रै पुग्न सकेको थियो । धबाङमा प्रहरी चौकी छैन । धबाङको पहिरोस्थल सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर उत्तरमा पर्छन् । वडाध्यक्ष मानबहादुर खत्रीका अनुसार घटनाबारे जानकारी पाएपछि गाउँलेले उद्धार गरेका थिए । गौरीका छोरा–बुहारी रोजगारीको सिलसिलामा काठमाडौंमा छन् । यसैबीच पूर्वी रोल्पाको सुलीचौर र रुइनीबाङको बीचमा पर्ने फगाम खोलामा बाढी आउँदा निजी विद्यालयको एउटा बस बगाएको छ । प्रहरीका अनुसार बाढीले मर्मतका लागि ग्यारेजमा राखिएको रा१ख २०६८ नम्बरको बस बगाएको हो । दुई दिनदेखिको वर्षाका कारण सदरमुकाम जोड्ने अधिकांश सडक अवरुद्ध छन् । लिबाङदेखि रोल्पा अस्पताल हुँदै माडीचौर पुग्ने सडकसमेत पहिरोले थुनिएको प्रहरीले जनाएको छ ।
शेयर बजारमा पहिरो, १४७ अंकले घट्यो नेप्से, बजार ४० मिनेटको लागि बन्द
काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । बजार खुलेसँगै ऋणात्मक कारोबारको बाहुल्यता देखिएपछि बजार निरन्तर ओरालो लागेको हो । यो समाचार तयार पार्दासम्म नेप्से १४७ अंकल घटेको छ । बजार ओरालो लाग्दा सबै सूचकहरुमा रातो छाएको छ । नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेपछि बजार ४० मिनेटको लागि बन्द भएको छ। सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ कराेड ९० लाख ३५ रुपैयाँ बराबरको १ कराेड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। यो ५.०३ प्रतिशतको गिरावट हो । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ । अहिले बजार २७७९.६८ विन्दुमा झरेको छ । अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ।
कुलमानको नियुक्तिविरुद्धको शाक्यले हालेकाे रिट प्रधान न्यायाधीशको इजलासमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराकाे इजलासमा ताेकिएकाे छ । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् । प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा दिएको छैन भन्न कुरा निर्विवाद छ। त्यसैगरी मलाई विपक्षी नेपाल सरकारले उक्त पदबाट सुनुवाइको मौका प्रदान गरी कुनै कानूनी आधारमा हटाउने निर्णय गरेको छैन भन्ने कुरा पनि निर्विवाद छ,’ उनको रिटमा भनिएको छ, ‘यस्तो अवस्थामा मेरो यथावत रहेको नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानून र औचित्यको समेत प्रतिकूल छ।’ साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेकोमा पनि उनले असन्तुष्टि जनाएका छन्। आफूले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ। ‘एउटा पदमा दुई व्यक्ति रहन नसक्ने र मलाई गरिएको ऊर्जा आयोगको विज्ञको पदलाई मैले स्वीकार गरेको अवस्था नहुँदै अप्रत्यक्ष तवरमा मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विस्थापित गर्ने उद्धेश्यले विपक्षी कुलमान घिसिङलाई उक्त पदमा नियुक्त गर्ने विपक्षीहरूको कामकारबाहीले सो पदमा रही सेवा गर्ने र प्राधिकरणको नेतृत्व गर्ने मेरो वैध अपेक्षामा प्रतिकूल असर गरेको छ।’
देशभरिकै उत्कृष्ट बन्यो भीमदत्त नगरपालिका, पायो एक लाख पुरस्कार
काठमाडौं । नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ। उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गर्ने भएको छ। कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ। नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए। रासस
आचार्य र शाक्यले एकीकृत समाजवादी रोजे प्रदेशसभामा विश्वासको मत दिने- रामकुमारी झाँक्री
विराटनगर — नेकपा एकिकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पार्टी रोजे उनीहरुलाई नै प्रदेशसभामा विश्वासको मत दिने बताएकी छन् । ‘मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले भदौ २२ गतेसम्ममा एकीकृत समाजवादी नरोजेको अवस्थामा अल्पमतमा पर्ने र त्यसपछि प्रदेशसभामा विश्वास गुमाउने बाटोबाटै प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुन्छ,’ विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानी गर्दै झाँक्रीले भनिन्, ‘तर अहिले नै कुन प्रदेशमा गठबन्धन दलभित्रका कुन पार्टीले प्रदेश सरकारको नेतृत्व गर्ने निर्णय भइसकेको छैन ।’ प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्ने अधिकार भएकोले त्यसपछि नै प्रदेश सरकार गठन र केन्द्र सरकार विस्तारको प्रक्रिया सुरु हुने झाँक्रीले बताइन् । उनले आफूहरुको दल अझै बन्ने क्रममा नै रहेकोले सरकारमा सहभागी हुन अझै निर्णय गरिनसकेको सुनाइन् । झाँक्रीले बजारमा चलेको हल्लाजस्तो गठबन्धन टुट्ने वा भत्किने अवस्था नरहेको बताइन् । ‘प्रतिनिधिसभाको पूरा कार्यकाल सञ्चालन गर्न, अहिलेसम्मका प्राप्त उपलब्धि संस्थागत गर्न, संविधान पूर्णरुपमा कार्यान्वयनका लागि अहिलेको गठबन्धन दलको सरकार गठन भएको छ,’ उनले भनिन्, ‘यो गठबन्धनको सरकार आउँदो निर्वाचन गराउनसम्मका लागि बनेकोले बजारमा चलेको गठबन्धन टुट्ने हल्ला निराधार हो ।’ प्रतिनिधिसभामा कतिपय बिजनेसहरु प्रतिपक्षीसँग पनि सहकार्य गरेर ल्याउनु पर्ने भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसका लागि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कुराकानी गर्दैमा गठबन्धन टुट्ने आशंका गर्नु व्यर्थ रहेको उनको भनाइ थियो । नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने र मुलुकमा कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने झाँक्रीको भनाइ थियो । ‘हिजो हामी सँगै को–को थियौं र को–को गए भन्ने विषयले पार्टी निर्माणमा खासै अर्थ राख्दैन,’ उनले भनिन्, ‘पार्टी निर्माणको आन्दोलनका क्रममा ट्रेनमा को–को चढ्नुभयो र को–को झर्नुभयो भन्ने कुराले महत्त्व राख्दैन ।’ उनले मुलुकमा रहेका बहुसंख्यक युवा शक्ति र आधा जनसंख्या रहेको महिलालाई लक्षित गरेर एकीकृत समाजवादी पार्टी निर्माण भएकोले उनीहरुलाई समेटेर अघि बढ्ने बताइन् । उनले युवा र महिलाको समस्या समाधानलाई केन्द्रमा राखेर एकीकृत समाजवादी अघि बढ्ने भएकोले पार्टीमा आबद्ध हुन आह्वान गरिन् । –कान्तिपुरबाट
थप १२६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ । जसमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा र २१६८ जना संस्थागत आइसोलेसनमा छन् । काठमाडौंमा २८९, कास्कीमा १४३, झापामा ७९, सुनसरीमा ६५, ललितपुरमा ५३, मोरङमा ४५, भक्तपुर र रुपन्देहीमा ४४/४४, बाँकेमा ३०, चितवनमा २६, मकवानपुरमा २५, कैलालीमा २३ जना र नवलपारी पूर्वमा ११ जना संक्रमित भेटिएका छन् ।
नेपाल र चीनबीच कुनै सीमा विवाद छैन, केही व्यक्तिले अनावश्यक विवाद निम्त्याए- चिनियाँ दूतावास
काठमाडौं । नेपालसँग सीमा क्षेत्रमा कुनै विवाद नभएको चीनले प्रष्ट गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति निकाली नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको जनाएको हो । चिनियाँ दूतावासले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सन् १९६० को दशकको शुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ । त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारी थप बलियो तुल्याउन चीनले चाहेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले, केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने प्रयास गरेको भन्दै यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरण बुझ्न पनि भनेको छ । दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको भन्दै चीनले हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको पनि उल्लेख गरेको छ । हुम्लाको सीमावर्ती नेपाल–चीन–तिब्बत क्षेत्रको केही जमीन कब्जा गरेर चीनले आफ्नो भौतिक संरचनासमेत बनाएको भन्दै यसअघि विवादमा आएको थियो । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले उक्त क्षेत्रमा भ्रमण गरेरै प्रतिवेदनसमेत बुझाएका थिए । यसै विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारले हालै एक समितिसमेत बनाएको छ । सरकारले समिति नै बनाएपछि चीनले पनि काठमाडौंस्थित दूतावासमार्फत् प्रतिक्रिया दिएको हो ।
दैलेखका २७ जनप्रतिनिधि माधव नेपालको पक्षमा
११ वटा स्थानीय तह रहेको दैलेखमा २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले समाजवादीमा सनाखत गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा ७ वटा स्थानीय तह जितेको १४ जना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष मध्ये ८ जना एमालेमै रहने बुझिएको छ भने ६ जनाले एकीकृत समाजवादीमा जाने बुझिएको छ। जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरूमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जना वडाध्यक्ष एमालेमै रहने स्रोतको भनाइ छ। दैलेखका ११ स्थानीय तहका ९० वटा वडा मध्ये ५३ वडा जितेको एमालेका ३१ जना मूल घरमा रहने बुझिएको छ भने एकीकृत समाजवादी गोलबन्द हुन चाहेका २२ जना रहेको बुझिएको छ। कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले अझै ५० भन्दा बढी जनप्रतिनिधिहरू समाजवादीमा खुल्ने दाबी गरे । -रातोपाटीबाट
वामदेव गौतमले दिए एमालेबाट राजीनामा (पत्रसहित)
काठमाडौँ — एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए । राजीनामा पत्रमा गौतमले पटक-पटक दिइएका सुझावविपरीत ओली सुध्रिनु भन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका छन् । उनले जनताको बहुदलीय जनवादले अबलम्बन गरेको संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको आरोप लगाएका छन् । दुई–दुईपटक संविधानविपरीत प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिए’, गौतमले भनेका छन्, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रुपमा सुझावहरू पनि दिए । तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’
सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेले हालेको रिट न्यायाधीश खडकाको इजलासमा
काठमाडौं । निर्वाचन आयोग र सभामुख अग्नी सापकोटाविरुद्ध दायर गरेको रिट निवेदनको पेशी न्यायाधीश एकल इजलासमा तोकिएको छ । नेकपा एमालेले बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको र सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरुको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरेको थियो ।
अफगानमा रहेको नेपालीको सुरक्षा गर्नु सरकारको दायित्व, गम्भीरतापूर्वक उद्दारकाे पहल हुँदै- देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार र समन्वयका लागि सरकार गम्भीर रहेको बताएका छन् । तालिबानको काबुल प्रवेशसँगै नेपालीहरुको सुरक्षामा खतरा रहेको भन्दै तत्काल उद्धार गर्न चौतर्फी आवाज उठिरहेको बेला प्रधानमन्त्रीले नेपालीहरुलाई उद्धारका लागि निर्देशन दिइसकेको बताएका हुन । ‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’ तालिबानको राजधानी काबुलमा शान्तिपूर्णरुपमा कब्जा लिएका तालिबानीहरुले मुस्लिम कानुन अनुसार इस्लामिक राज्य गठन गर्ने घोषणा गरिसकेका छन् । योसँगै अफगान छोडेर जानेहरुको बाक्लो संख्या विमानस्थलमा ओइरिएको छ । अन्तराष्ट्रिय समुदायले समेत देश छोडेर जान चाहने अफगानीलाई जान दिनुपर्ने अपील गरेका छन् । तालिबानले भने मुस्लिम सरिया कानुन अनुसार सत्ता सञ्चालन हुने र कुनैपनि नागरिकमाथि बल प्रयोग नगरिने बताएका छन् । तालिबानले सत्ता कब्जापछि शक्तिराष्ट्रहरुले कार्वाही गर्ने अवस्थामा रक्तपात हुने डर अधिकांशमा रहेको छ । राजधानी काबुलसमेत विद्रोहीको नियन्त्रणमा गएपछि राष्ट्रपति असरफ घानीले समेत देश छोडेका थिए । तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारलाई फर्काउन थालेका छन् । उद्धारअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ । अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु l सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ l — Sher Bahadur Deuba (@SherBDeuba) August 16, 2021 उद्धार गरिएका नेपालीलाई दुबई, दोहा र लन्डन पुर्याउन थालिएको छ । अमेरिकी दूतावासको सुरक्षामा खटिएका ३ सय ८५ जना नेपाली सुरक्षा गार्डलाई जतिखेर पनि उड्नुपर्ने गरी तयारी अवस्थामा राखिएको छ । काबुलस्थित बेलायती दूतावासमा कार्यरत ८७ जना नेपाली सुरक्षा गार्डलाई आइतबार राति नै बेलायत लैजाने गरी तयारी अवस्थामा राखिएको थियो । नेपाल सरकार पनि अफगानिस्तानमा बढ्दो द्वन्द्वलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउन एक कार्यदल बनाएको छ । रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार कार्य गर्न परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको हो । वैदेशिक रोजगार विभागका अनुसार श्रावण २८ सम्म १४ हजार ८ सय ९२ जनाले श्रम स्वीकृति लिएर अफगानिस्तान गएको तथ्यांक छ । जसमध्ये ८ हजार जनाले पहिला अफगानिस्तानमा काम गरी फर्केर श्रम स्वीकृतिको अनुमति लिई पुनः गएको रेकर्ड छ । उल्लिखित तथ्यांक म्यानपावर कम्पनी र व्यक्तिगत श्रम स्वीकृति लिई गएकाहरूको हो । अरू प्रक्रियाबाट त्यहाँ गएका नेपालीको संख्या पनि निकै रहेको बताइएको छ ।
एमसिसीका लागि अधिग्रहण गरिएको ४ सय रोपनी स्थानीयद्वारा कब्जामा
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेमा एमसीसी परियोजनाका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्थानीयले. राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएका छन् । अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर कब्जा गरेको घोषणा गरिएको स्थानीयको भनाई छ । ४०० केभी प्रशारण लाईन निर्माणका लागी सरकारले जग्गा अधिग्रहण गरेको हो । सडक योजना र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग ५१ अर्ब ३८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । साथै उक्त परियोजनाबाट नेपालमा पहिलोपटक ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो प्रसारण लाइन बनाइने तयारी छ । यस योजनाबाट लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माणको योजना अघि सारिएको छ ।
तालिबानको पुनर्उदयपछि बाबुराम भट्टराईको ट्विटः हामी पनि बेलैमा सतर्क बन्ने कि ?
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्राईले प्रगतिशील शक्ति कमजोर भए अफगानिस्तानको अवस्था दोहोरिनेतर्फ सचेत तुल्याएका छन् । तालिबानले काबुल कब्जा गरेपछि सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले सबल प्रगतिशील लोकतान्त्रिक विकल्पको अभावमा जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् । ‘भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टि भयो है,’ डा. भट्टराईले भनेका छन्, ‘हामी पनि वेलैमा सतर्क बन्ने कि?’
बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
पृथ्वी राजमार्गमा पर्ने धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। गएराति करिब २ बजे बा ३ ख ४०१४ नम्बरको बस र नम्बर नखुलेको भारतीय ट्रक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो। गम्भीर घाइते कुलुङलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रतिगामी कदम असफल तर खतरा कायमै– माओवादी केन्द्र
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिगमनको खतरा कायमै रहेकोले सचेततापूवर्क राजनीतिक पहलकदमी जारी नै राख्नुपर्ने निश्कर्ष निकालेको छ। राजधानी दुईदिनसम्म चलेको माओवादी केन्द्रका केन्द्रीय समिति बैठकले प्रतिगमनको खतराविरुद्ध लड्न संगठनात्मक सुदुढिकरण र जुझारु पाटी निर्माणमा जोड दिएको हो । बैठकपछि कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगामी खतरा बाँकी नै रहेकोले त्यसप्रति सचेत भएर अघि बढ्ने निष्कर्ष निकालिएको जानकारी दिएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । बैठकले केही समसामयिक प्रस्ताव पारित गर्दैै सरकारको ध्यानाकर्षण समेत गरेको छ । “राजनीतिक प्रतिवेदनमा मूलतः दुइटा पक्षलाई समावेश गरिएको छ । राजनीतिक कार्यभारमा समेटिएअनुसार प्रतिगामी कदम असफल भएको छ तर प्रतिगामी खतरा अन्त्य भएको छैन । त्यसैले प्रतिगामी कदमप्रति सचेत भई संविधान, लोकतन्त्रको रक्षा र कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।” प्रवक्ता श्रेष्ठले बताए । यस्तै बैठकले राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढीकरणप्रति पनि सबैलाई सचेत र एकताबद्ध हुन अपिल गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले वाम(लोकतान्त्रिक गठबन्धन र सहकार्यलाई संविधान कार्यान्वयन र लोकतन्त्र रक्षा, प्रतिगमनको खतरा र राष्ट्रिय स्वाधिनताको प्रश्नले माग गर्दासम्म कायम राख्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । त्यस्तै गठबन्धनमा आधारित सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकाल सञ्चालन गर्दै सफल पार्न अपील गरिएको छ ।


>
>
>