देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
शुक्रबार देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोधसमेत गरेको छ।
शनिबार पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार दिउँसो: देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
१२ देखि १८ वर्षका लागि ६० लाख खाेप किन्न सम्झौता
काठमाडौँ — सरकारले १२ देखि १८ वर्ष उमेर समूहका करिब ५० लाख जनसंख्यालाई लक्षित गर्दै ६० लाख खोप खरिद गर्न लागेको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भएको छ । किशोरकिशोरीका लागि आवश्यक १ करोड डोज खोपमध्ये थप ४० लाख भने कोभ्याक्सको समन्वयमा ल्याउने तयारी भएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए । ‘६० लाख खोप खरिद गर्न फाइजरसँग एग्रिमेन्ट भइसक्यो,’ उनले भने, ‘थप ४० लाख डोज भने कोभ्याक्सअन्तर्गत साझेदारी सहुलियतमा ल्याउने गरी प्रस्ताव तयार भएको छ ।’ खोप आउन ६ देखि ९ महिना लाग्ने देखिएको छ । सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीले ढिलोमा सन् २०२२ को अप्रिल (वैशाख) सम्म दिन सक्ने जनाएको छ । फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको छ । यसको अधिकार स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दिइएको छ । खरिद सम्झौतामा अर्थ मन्त्रालय समेत सहमत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विश्व बैंकसँग सम्झौता गर्न महानिर्देशकलाई अधिकार दिने निर्णय गराएका छन् । विभागले खोप खरिद गर्न अन्य कम्पनीलाई पनि पत्राचार गरेको थियो तर फाइजर सकारात्मक भएपछि प्रक्रिया अघि बढेको हो । कान्तिपुरबाट
आज केही स्थानमा भारी वर्षा हुने सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने, प्रदेश नं १ तथा बागमती प्रदेशका एक(दुई स्थान र गण्डकी, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षा हुने देशका पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको जानकारी दिएको छ भने हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। साथै, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।
राणाशासन हल्लाउने हलाे क्रान्तिकाे ७२ वर्ष पुरा
काठमाडौं । लमजुङको दुराडाँस्थित अर्चल्यानीमा ब्राहमणहरुले पहिलो पटक हलो जोतेको ८२ वर्ष पूरा भएको छ । २००६ सालमा स्थानीय पाण्डित तोयानाथ अधिकारीको नेतृत्वमा २७ जना ब्राम्हणहरुले पहिलो पटक हलो जोतेपछि हलो क्रान्तिको सुरुवात भएको थियो । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि. सं. २००६ साल साउन १२ गते लमजुङको दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामूहिक रुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको १ वर्षसम्म जताततै एउटा गीतको हल्ला खल्ला मच्चियो । ”शोककान्त लेप्टन, हरिभक्त तिघे्, तोयानाथ पण्डित हलो जोति बिग्रे” राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुले नै विरोध गर्न थाले । हलिप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेप्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिाकरीलगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए । -कारोबारबाट
देशभर ३४ सय २१ जनामा कोरोना संक्रमण, २५ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् । सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
म कुनै पक्षमा हस्ताक्षर गर्दिनँ- रेशम चाैधरी
म कुनै पक्षमा हस्ताक्षर गर्दिनँ- रेशम चाैधरी । जनता समाजवादी पार्टी (जसपा) क कार्यकारिणी सदस्य रेशम चौधरीले आफू कुनै पक्षमा नलाग्ने बताएका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् । यादवकाे पक्षमा ३४ सांसदले हस्चाक्षर सनाखत गरेका छन् ।
विदेश जाने कामदार र विद्यार्थीले २ अस्पतालबाट खाेप पाउने
सरकारले विदेश जाने कामदार र विद्यार्थीका लागि कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल निर्धारित गरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ। तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो।
अध्यक्ष यादवको पक्षमा ३४ जना केन्द्रीय सदस्यको हस्ताक्षर, माफी मागेर आए ठाकुरहरुलाई पार्टीमा ठाउँ दिने भनाई
काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले आधिकारिता पाउने स्पष्ट भएको छ । आज निर्वाचन आयोगमा उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर सनाखत गरेपछि आधिकारिता पाउने स्पष्ट भएको हो । ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष यादवले जानकारी दिए। यादवका अनुसार सनाखतका लागि सांसद रेशम चौधरीलाई पनि आयोगमा ल्याउने तयारी गरिएको छ। डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए। चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने यादवले दाबी गरेका छन्। यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन, नवलकिशोर साह, राजकिशोर यादवलगायत नेताहरू यादव पक्षमा आएका छन्। अध्यक्ष यादवले आफूहरूले महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई नलखेटेको भन्दै माफी मागेर आए पार्टीमा ठाउँ दिने बताए।
जनता समाजवादी पार्टीका नेताहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगे
पार्टीको आधिकारिता निर्धारणका लागि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेका छन् । आयोगमा आधिकारिताको विवाद भएपछि केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई प्रत्यक्षरुपमा नै बोलाएर हस्ताक्षर सनाखत गर्न लागेको हो । हस्ताक्षर सनाखतसँगै बहुमत सदस्य हुने पक्षले पार्टीको आधिकारिता पाउने छ । आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्नेछ। जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ। अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो। आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ।
महेश बस्नेतलाई खगेन्द्र संग्रौलाको प्रश्नः तह लगाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ?
काठमाडौं । लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले आफूलाई मार्ने धम्की दिएको बताउनुभएको छ । महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा संग्रौलाले लेख्नुभएको छ, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’ उहाँले तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? प्रश्न गर्नुभएको छ । ‘यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला।धन्य ओली सर’, संग्रौलाले लेख्नुभएको छ । शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका पराेक्ष धम्की झेलेकाे थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हाे कि मारेर हाे?याे अति उदार र सहिष्णु ओली सरकाे आदेशबमाेजिमकाे धम्की त हाेला।धन्य ओली सर! — Khagendra Sangroula (@belakoboli) July 25, 2021
मेलम्ची बाढीपहिरो प्रभावितले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र
काठमाडौं । मेलम्ची बाढीपहिरो प्रभावितहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाका स्थानीय बाढीपीडितहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै बाढीपीडितले तत्काल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने, नदीलाई पुरानै धारमा फर्काउन पहल गर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्न माग गरेका छन् । त्यस्तै बाढीले व्यवसाय गुमाएका व्यवसायीलाई क्षतिपुर्तिको प्याकेजको व्यवस्था, बैकबाट ऋण लिएर व्यवसाय गरेको व्यवसायीको ऋण मिनाहा र ब्याजमा सहुलियतको व्यवस्था, किसान, उद्योगी, विद्यार्थी र व्यापारीका लागि अल्पकालीन र दिर्घकाली राहत प्याकेज र हेलम्बु र मेलम्चीमा बेलिब्रिजको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् । मेलम्ची नदीमा असार १ गते आएको बाढीले हेलम्बु गाउापालिका र मेलम्ची नगरपालिकामा ठूलो जनधनको क्षति भएको थियो ।
योजना आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ
राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अपदस्थ गरेको थियो । नयाँ सरकार गठन भएसँगै तत्कालीन उपाध्यक्ष डा. पुष्पराज कँडेलसहित अन्य सदस्यहरू पदमुक्त भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १२ दिन पुगिसकेको छ । यसबीचमा सरकारले आयोगमा उपाध्यक्षसहित सदस्यहरू नियुक्त गर्न कुनै सुरसार नै कसेको देखिँदैन । प्रधानमन्त्रीले अध्यक्षता गर्ने राष्ट्रिय योजना आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, विभिन्न विषय क्षेत्रलगायतको प्रतिनिधित्व हुने गरी विज्ञता एवं समावेशी आधारमा छ जना सदस्यहरू रहने व्यवस्था छ । ती पदमा नियुक्ति सरकारले नै गर्छ । आयोगमा नेपाल निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत (सचिव) सदस्य सचिवको रूपमा रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव आयोगको पदेन सदस्य रहने व्यवस्था छ । आयोगका सदस्य सचिवले आयोगको प्रशासकीय प्रमुखको रूपमा समेत कार्य गर्ने व्यवस्था रहेको छ । अहिले पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा सचिवको भरमा आयोग चलिरहेको छ । योजनाबद्ध विकास प्रक्रियाको प्रारम्भसँगै २०१३ सालमा प्रथमपटक योजना आयोगको नामबाट प्रधानमन्त्रीको अध्यक्षतामा योजना निर्माण गर्ने निकाय गठन भएको थियो । यसलाई सक्षम र प्रभावकारी बनाउन योजना मण्डल ऐन, २०१४ अनुसार त्यही वर्ष योजना मण्डलको स्थापना भएको थियो । राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद्अन्तर्गत रहेको देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने सबैभन्दा उपल्लो निकायका रूपमा मानिने गरिएको छ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्यांकनको लागि केन्द्रीय निकायको रूपमा कार्य गर्छ । साथै आयोगले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्छ । पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइले अनुगमन, मूल्यांकन, नीति निर्माणलगायतमा आवश्यक निर्णय लिन आयोगले सकिरहेको छैन । नागरिक समाज, गैरसरकारी संस्थाहरू र निजीक्षेत्रको समस्याहरू विश्लेषण गर्ने र समाधान गर्ने संस्थाको रूपमा समेत आयोगले काम गर्ने भए पनि पदाधिकारी नियुक्ति नहुँदा यो कामसमेत रोकिएको छ । कोरोना महामारीले मुलुकको अर्थव्यवस्था नै तहसनहस भइरहेको बेला सूक्ष्म अध्ययन गरी अर्थतन्त्रको पुनरुत्थान गर्न दीर्घकालीन नीति तर्जुमा गर्ने काम आयोगको भए पनि पदाधिकारी नहुँदा काम प्रभावित बनेको छ । १५ औं पञ्चवर्षीय योजना, दीर्घकालीन सोच–२१०० मा राखिएका लक्ष्यहरू पूरा गर्न आवश्यक कार्ययोजना बनाउने कामसमेत रोकिएको छ । केपी शर्मा ओली नेतृत्वका निवर्तमान सरकारले तयार गरेको २५ वर्षे दीर्घकालीन सोचमा विसं २१०० सम्ममा उच्च आयसहितको विकसित मुलुकमा स्तरोन्नति गरी प्रतिव्यक्ति आय १२ हजार १ सय डलर बनाउने लक्ष्य अघि सारिएको छ । यो सोच सही रूपमा कार्यान्वयन लागि थप आवश्यक तयारी गर्न बाँकी नै छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
इजरायलमा १ हजार दक्ष श्रमिकको माग, केही दिनमा विज्ञापन खुल्ने
इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक÷डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए । मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट गरे । “नेपाल कोरोना सङ्क्रमण उच्च जोखिममा नै रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति दिनलाई गाह्रो मान्छ कि भन्ने मात्रै हो,” उनले भने, “विदेश जानेलाई खोप आइसकेकाले यति कारणले रोक्दैन कि भन्ने लागेको छ । ” महानिर्देशक दवाडीले इजरायल र नेपालबीच भएको समझदारीमा पहिलो चरणमा पाँच सय जना मात्रै प्रशिक्षार्थी लैजाने भनिएकाले विज्ञापन गर्दा एक हजारको गर्ने कि पाँच सय भन्ने टुङ्गो नलागेको बताउनुभयो । विभागले विज्ञापन खुलाउन आएको मागअनुसार नै खुलाउन अनुमति माग्ने तर सबै टुङ्गो पनि विज्ञापनको अनुमतिपत्रमै आउने विश्वास उनले व्यक्त गरे । उनका अनुसार केयरगिभरमा इजरायल जानका लागि २१ दिनको म्याद राखेर आवेदन खुल्नेछ र आवेदन माग गर्दा तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नेछन् । नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो । सोअनुसार पहिलो चरणमा केयरगिभरका लागि परीक्षार्थी श्रमिक पठाउने प्रक्रिया थालिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
को हुन विवादमा परेको नवनियुक्त राज्यमन्त्री मन्त्री श्रेष्ठ ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । हालसम्म नेपाली काग्रेंसको तर्फबाट गृह मन्त्रीमा बालकृष्ण खाँण र कानुन मन्त्रिमा ज्ञानेन्द्रबहादुर कार्की, माओबादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन् । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । श्रेष्ठ २०१२ सालमा भोजपुरमा जन्मिएका व्यक्ति हुन् । ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका उनी हाल शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा संलग्न छन् । हाल झम्सीखेल ललितपुरमा उनको बसोवास छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन् भने हाल सल्लाहकार छन् । उनी कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए । श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए । उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । उनको पछिल्लो समय जलविद्युत् आयोजनामा पनि लगानी छ । उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन् । यस्तै सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका पनि उनको लगानी छ । यसैगरी चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । यस्तै हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ । श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि हात हालेका छन् । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन् । उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष हुन् । यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन् । यो समाचार राजधानी दैनिकमा छ ।
आज जसपाको आधिकारिकताको टुंगो लाग्ने, चलखेल हुनसक्ने भन्दै यादव पक्षका ३२ सदस्य रिसोर्टमा
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिताको टुंगो लगाउने भएको छ । आयोगले आज प्रत्यक्ष उपस्थितिका आधारमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत कसको पक्षमा छ भन्ने निक्र्यौल गर्ने भएको हो । यसैबीच आफ्ना सदस्य तान्ने प्रयास हुनसक्ने भन्दै अध्यक्ष उपेन्द्र यादवले ३२ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई गोदावरी रिसोर्टमा लगेर राखेको छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रलोभन देखाएर सदस्य तान्न सक्ने भन्दै यादव पक्षले आफ्ना सदस्यलाई रिसोर्टमा राखेको हो । आयोगले सोमबार ‘हेड काउन्ट’ गरेर बहुमत रहेको पक्षलाई आधिकारिकता दिने बताएको छ । रिसोर्टमा १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसदसहित ३२ जना छन् । केन्द्रीय कार्यकारिणी समितिमा नरहेका दुई सांसद भने उपस्थित छैनन् । सर्वोच्च अदालतले जसपाका अध्यक्ष ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको छ । जसपा अध्यक्ष ठाकुरले भने कार्यकारिणी समितिकै विवाद निरूपण नगरी आयोगले बहुमत र अल्पमत परीक्षणमा जाने निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए । रिटमा ठाकुरले आयोगबाट सनाखत कार्य नरोकिए आफूलगायत जसपाका नेतालाई अपूरणीय क्षति हुने उल्लेख गरेका थिए । न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि दुवै पक्षलाई साउन १५ गते बोलाएको छ । ‘प्रस्तुत विवादसँग सम्बन्धित निर्वाचन आयोगको निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लाने गरी झिकाउनू,’ अदालतको आदेशमा भनिएको छ । सर्वोच्चले ठाकुरको रिटमा अन्तरिम आदेश नदिएपछि आयोगलाई अघि बढ्न बाटो खुलेको हो । आयोगले दल दर्ताका बखत सनाखत गरेका ५१ सदस्यलाई सोमबार बोलाएको छ । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिले ३२ जना यादव पक्षमा देखिएका छन् । रिसोर्टमा को–को छन् ? उपेन्द्र यादव अशोककुमार राई बाबुराम भट्टराई राजेन्द्रप्रसाद श्रेष्ठ महेन्द्र राय यादव नवराज सुवेदी परशुराम खापुङ युवराज कार्की रकम चेम्जोङ रेणुकुमारी यादव लालबाबु राउत हिसिला यमि हेमराज राई गंगानारायण श्रेष्ठ रणध्वज लिम्बू रामसहायप्रसाद यादव डम्बरबल्लभ खतिवडा दानबहादुर विश्वकर्मा प्रकाश अधिकारी मो. इस्तियाक राई दुर्गा सोंव परशुराम बस्नेत प्रशान्त सिंह भक्तबहादुर शाह सुशीला श्रेष्ठ विजयकुमार यादव रामनरेश राय यादव मृगेन्द्रकुमार सिंह नवलकिशोर साह गजाधर यादव रमेश यादव अमृता अग्रहरि
आजदेखि मनसुन सक्रिय हुने, केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ — सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मनसुन सक्रिय भएकाेले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने माैसम महाशाखाकाे अनुमान छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको हाे । आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो,’ जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आइतबार सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

