निर्मला पन्त हत्याका दाेषी पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन
काठमाडौँ — निर्मला पन्त हत्याका दाेषी पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई बोलाएर निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार गृहमन्त्री खाँण र आईजीपी थापालाई बालुवाटारमा बोलाएर पन्त हत्यासँग सम्बन्धित हालसम्मको अनुसन्धानबारे जानकारी लिएका थिए ।
उनले चाँडोभन्दा चाँडाे दाेषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
आइतबार निर्मलाका आफन्तले कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
कञ्चनुपरकी बालिका निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी उनको भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा शव भेटिएको थियो ।
हिजो प्रश्न गर्यौं, आज सत्तामा छौं, निर्मलालाई न्याय दिन पहल गर्नुस- कांग्रेस प्रवक्ता शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तलाई न्याय दिन आग्रह गरेका छन् । निर्मला पन्त हत्याको तीन वर्ष पुगेपनि हत्यारा पक्राउ नपरेकोतर्फ लक्षित गर्दै नेता शर्माले विपक्षमा छँदा प्रश्न गरिएको स्मरण गराउँदै अब जनताले जवाफको अपेक्षा गरेको बताएका हुन । ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका हुन् । निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन शर्माले सरकारसँग आग्रह गरेका छन् । प्रवक्ता शर्माले लेखेका छन्, बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l निर्मला पन्तको २०६५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
२० मन्त्रीका लागि सय बढीको दौडधुप, शीर्ष नेताहरु तनावमा
आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकै दिन देउवाले आफ्नै दलका दुई जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका दुई गरी चार जनालाई मन्त्रीमा नियुक्त गरे । देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्द्वारा मुलुकको शासकीय बागडोर सम्हाल्दै आएको १३ दिन बितिसकेको छ । तर, पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा समग्र सरकारको कार्यसञ्चालन प्रभावकारी बन्न सकेको छैन । संविधानतः मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी बनाउन पाइँदैन । हाल देउवासहित पाँच जना मन्त्रिपरिषद् रहेकाले उनले अब जम्मा २० जना मन्त्री मात्रै नियुक्त गर्न पाउँछन् । त्यसमा पनि मन्त्रालयको संख्या २१ मात्रै रहेकाले फुल मन्त्री १७ जना मात्रै नियुक्त हुन सक्छन् भने बाँकी चार जना राज्यमन्त्री बनाउनुपर्छ । नयाँ मन्त्री नियुक्त गर्न नसक्दा प्रधानमन्त्री देउवा आफैं १७ वटा मन्त्रालयको जिम्मेवारी लिन विवश छन् । मन्त्रालयमा मन्त्री नहुँदा नीतिगत निर्णय लिन निकै कठिन भइरहेको छ भने प्रशासनिक कामकाजमा समेत उल्झन आइपरिरहेको सरकारी अधिकारीको भनाइ छ । मन्त्रीको अभावमा मन्त्रालयको कुनै नीतिगत निर्णय सम्बन्धमा छलफल गर्नुपरेमा सचिव फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउनुपर्ने वाध्यतामा छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
लालपुर्जा हातमा, जग्गा खोलाको बगरमा
सिरहा स् अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ। सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन। उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ। बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन्। लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए। घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए। ‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
प्रधानमन्त्री देउवाको नक्कली आइडी बनाएर बदनाम गराउनेविरुद्ध उजुरी
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत अनेकथरि सन्देश प्रवाह गर्न थालेपछि छानबिनका लागि उजुरी गरिएको छ । सभापति देउवाले प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरेको तस्बिर राखेर फेसबुक तथा ट्विटर आईडी सञ्चालन गर्दै आएका छन् तर प्रधानमन्त्रीको नाम राखेर सञ्चालन गरिएको नक्कली आईडीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्चको विषयमा उल्लेख छ । त्यसमा भनिएको छ, “हो, झलनाथजीको उपचार खर्च राज्यले बेहोरेको हो । उहाँले विश्वासको मत दिन खुला आह्वान गरेर मलाई जिताउन भूमिका निर्वाह गरेको सत्य हो । त्यसैले केही साइबर सेनाहरूले विरोध गरे पनि गरून्, उहाँलाई अझ एक करोड रुपियाँ उपचार खर्च थप्दिन्छु ।” पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दिने निर्णय गरेको थियो । यसैगरी अर्को नक्कली सन्देशमा भनिएको छ, “महान् बन्ने मेरो रहर छैन तर देश र जनताप्रति जवाफदेही बन्ने उत्कट चाहना छ । नेपालको सिमानाभित्र बसोबास गर्ने सबै उमेर समूहका (बालबालिकादेखि वृद्धवृद्धासम्म) नेपाली वा विदेशी नागरिक वा विदेशी शरणार्थी सबका सबलाई पूरा डोज खोप नलगाइकन हामी भोट माग्न आउने छैनौँ । आयौँ भने हामीलाई भोट नहाले हुन्छ ।” प्रधानमन्त्री देउवाले सबै नेपालीलाई पुग्ने गरी खोपको प्रबन्ध गर्ने र खोप लगाउने व्यवस्था गर्ने प्रतिबद्धता प्रतिनिधि सभाको बैठकदेखि अन्य कार्यक्रममा पनि सम्बोधनका क्रममा जनाउँदै आएका छन् । तर उनले त्यस क्रममा निर्वाचनको कुरा र मतदानको कुनै प्रसङ्ग उल्लेख गरेका छैनन् । यस विषयमा सम्पर्क राख्दा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले भने, “मैले केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)लाई लेखेर पठाइसकेको छु, अनुसन्धान भइरहेको छ ।” सचिव तिवारी थप्छन् , “नक्कली आईडी बनाएर प्रधानमन्त्रीको बदनाम गर्ने प्रयास भएको छ । लोकतन्त्रमा विश्वास राख्ने, देशमा सुशासन कायम गरेर राम्रो काम गर्न चाहने प्रधानमन्त्रीलाई नक्कली आईडी राखेर बदनाम गर्न खोजिएको छ । देशमा सुशासन र शान्ति सुरक्षा कायम गर्न पनि नदिनेहरूको यो चालबाजी हो ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
बढ्यो कोरोना, २४ घण्टामा ३११४ जनामा संक्रमण, १६ को मृत्यु
काठमाडौं । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणमा पनि बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सार्वजनिक तथ्यांक अनुसार, १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।
…कलियुगका हनुमान हुन, धेरै दिन ओलीलाई बोक्दैनन्– प्रचण्ड (भिडियाेसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ओलीले केपी ओली झनै एक्लिैँदै गएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै प्रचण्डले कमजोरी बनेपछि ओली बर्बराउन थालेको बताए । “अहिले ओली बर्बराउन थालेका छन । कहिले बार्दलीबाट त कहिले कताबाट ।” उनले भने “ओलीकै पार्टीले उनलाई चिन्ने क्रम सुरु भइसकेको छ । जसलाई उनले हनुमान ठान्छन् उनीहरूले पनि, त्रेतायुगका हनुमान त हैनन्, कलियुगका हनुमान हुन्, धेरै बोक्दैनन् ।”े, “ ओली आफ्नै पार्टीमा कमजोर बन्दै गएको प्रचण्डको भनाइ थियो । “केपी ओली नराम्रोसँग पछारिएका छन् । विछिप्त छन् । कहिले बालकोटको बार्दलीबाट बर्बराउछन्, कहिले कहाँ गएर बर्बराउछन् । यो बर्बराहट पनि धेरै दिन रहन्छ जस्तो लाग्दैन,” प्रचण्डले भने । केपी ओलीको कदमले संविधान र व्यवस्था नै संकटमा परेको र केपी ओली प्रवृत्ति हार्नै नसक्ने टिप्पणी भइरहेको बेला सर्वोच्च अदालतको निर्णयले प्रतिगमनविरुद्धको ठूलो लडाई जितिएको उनले बताए । “निरंकुशतावादी, प्रतिगमनकारीलाई चलखेल गर्ने ठाउँ नदिइकन फैसला दियो” उनले भने, “जेगरे पनि ओलीले जित्छन् भन्ने भनाइमा विराम लागेको छ ।” तर यो लडाई अझै नटुंगिएको प्रचण्डको भनाई थियो । नेकपा गठनपछि प्रधानमन्त्री ओलीले गरेका प्रतिगमनका सिलसिलाको व्याख्या गर्दै प्रचण्डले फरकस्वरुपका जनयुद्द लडेको बताए । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै गठबन्धन भत्काउने खेल सुरु भएको उनले बताए । अहिले पनि गठबन्धनमा कतै केही गरी चिरा पार्न सकिन्छ कि भनेर टर्च बालेर हेरिरहेको उनको भनाई थियो । ओली प्रवृति पूरै पराजित भइनसकेको र गठबन्धन भत्काउनका लागि धेरै कसरत भएको प्रचण्डको दाबी छ । एमाले नेता भीम रावलप्रति लक्षित गर्दै उनले भने, “यो गठबन्धन हुँदा टुटाउन धेरै बल भयो । सरकार गठन भन्दा पहिल्यै निकै धेरै कसरत भयो । त्यो कसरत हुँदा केही साथीहरू नपत्याउँदो किसिमले ढल्दिनुभयो । तर हामीले जसरी पनि बहुमत जुटाउनुपर्छ भनेर सकेको जति लाग्यौं,” गठबन्धन भत्काउनका निम्ति कांग्रेस र कम्युनिस्टबीच झगडा गराउने, एमालेका माधव नेपाललाई पार्टीमा विभिन्न प्रलोभन दिने, एमसीसीलगायतका मुद्दा अगाडि सार्ने काम भइरहेको प्रचण्डको भनाइ थियो । त्यस्तै, शान्ति प्रक्रियाका काम, बेपत्ता र सत्यनिरुपण आयोग एवं माओवादी सशस्त्र संघर्षका क्रममा घाइते भएकाहरूका कुरा झिकेर गठबन्धनमा दरार ल्याउने प्रयास भइरहेको प्रचण्डको दाबी थियो । सरकारले जनताका पक्षमा दिनदिनै देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिए मन्त्रीहरूलाई जनताको पक्षमा काम गर्न उनले सुझाव दिए । ओली सरकारले राज्यका विभिन्न निकायमा गरेका सेटिङ भत्काएर नयाँ सरकारले काम गर्नुपर्ने प्रचण्डको भनाइ थियो । भिडियाे लिन्क https://fb.watch/6XH2n2RTES/
कर्णाली नदीमा दाजुबहिनी वेपत्ता
बर्दिया । बर्दियामा नदीमा नुहाउन गएका २ जना कर्णाली नदीमा बेपत्ता भएका छन् । गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक र उनकी ८ वर्षिय बहिनी दिलमाया विक रहेका छन् । हिजो बिहान खाना खाएर खेल्न गएका दाजु बहिनी नुहाउने क्रममा ११ बजे बेपत्ता भएको स्थानीयले जनाएका छन् । बेपत्ता भएका बालबालिकाको प्रहरी र स्थानीयहरुले खोजी जारी राखेका छन् ।
कांग्रेसको तल्ला तहका सबै अधिवेशनहरू स्थगित
काठमाडौं । नेपाली कांग्रेसको तल्ला तहका सबै अधिवेशनहरू स्थगित भएका छन् । शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पादधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताउनुभयो । कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, क्रियाशील सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ । शनिबारको पदाधिकारी बैठकमा पनि महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरूले बताएका छन् । पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ ।
निर्वाचन आयोगमा हार्ने निश्चित भएपछि ठाकुर पुगे सर्वोच्चमा
काठमाडौं, साउन ८ । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ । आयोगले जसपा आधिकारिकता विवादको टुंगो लगाउन साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतबाट गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुग्नुभएको हो । उहाँले वारेसमार्फत सर्वोच्च अदालतमा निर्वाचन आयोग र अध्यक्ष उपेन्द्र यादवलगायतलाई विपक्षी बनाएर रिट निवेदन पेस गर्नुभएको थियो । रिट निवेदनमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति २०७८/४/७ गतेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मिति २०७३/३ १ गते पेश भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी हेरफेरबाट कायम भएको केन्द्रीय कार्यकारिणी समितिको आधारमा विवाद निरुपण प्रक्रिया अगाडी बढाउनु भनी विपक्षीका नाममा परमादेशको आदेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरि पाउँ । साथै विपक्षी निर्वाचन आयोगको उक्त मिति २०७८/४/७ गतेको निर्णय आदेह उत्प्रेषणको आदेशले बदर गरी विपक्षी उपेन्द्र यादवको एकल हस्ताक्षर रहेको मिति २०७८/३/४ को दाबी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४(१) को प्रतिकुल रहेकाले सो गैरकानुनी दाबीको आधारमा कुनै निर्णय काम कारवाही नगराउनु भनी विपक्षी उपर प्रतिषेधको आदेश समेत जारी गरी पाउँ ।’ निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउँदा आफूलगायतलाई अपूरणीय क्षति पुग्ने भन्दै रोक लगाउन आदेश माग्दै ठाकुर सर्वोच्च पुग्नुभएको हो । आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि ११ साउनमा बोलाउने निर्णय गरेको थियो ।
सुजिता मृत्यु प्रकरणमा झापाका एकजना पक्राउ
पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिए । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन । पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवै बीचको प्रेम सम्बन्धका रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रउअधिकारीले जानकारी दिए । असार ९ गते उनीहरुबीच विवाहका बिषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धी कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ । राताेपाटीबाट
ओली र राष्ट्रपति भण्डारीबीच २ घण्टा छलफल, के भयो त कुरा ?
निवर्तमान प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच लामो छलफल भएको छ । प्रधानमन्त्रीबाट बहिर्गमनभएपछि राष्ट्रपतिसँग यो पहिलो भे्टघाट हो । प्रधानमन्त्री शेर बहादुर देउवाले राखेको विश्वासको मतका पक्षमा माधव नेपाल र ओली पक्षकै २१ जना सांसद उभिएपछि रक्षात्मक बनेका ओली त्यसपछि पार्टीभित्रै माधव पक्षको दबाबमा परेका छन् । अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको थियो । आजको भेटवार्ताका बारेमा विस्तृत कुरा सार्वजनिक नभएपनि शेर बहादुर देउवा प्रधानमन्त्री भएपछि नेकपा एमालेभित्र झनै चुलिएको विवादका बारेमा उनीहरुबीच छलफल भएको बुझ्न सकिन्छ । माधव नेपाल पक्षलाई आममाफी दिने घोषणा गरेका ओलीले भावी दिनमा एमालेलाई कसरी अगाडि लैजाने भन्ने विषयमा राष्ट्रपतिसँग छलफल गरेको हुनसक्छ । यसका साथै राष्ट्रपतिमाथि महाअभियोग लाग्नसक्ने सम्भावनाका बारेमा समेत दुबैबीच कुराकानी भएको जानकार बताउँछन् । राष्ट्रपति भण्डारीले संविधानको रक्षा गर्नुको साटो केपी ओलीले सिफारिस गरेका हरेक कुरामा समर्थन गरेपछि उनीमाथि महाअभियोग लगाउनुपर्ने धारणा कतिपयले राख्दै आएका छन् । आजको भेटपछि प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका बारेमा के गर्ने भन्ने विषयमा ठोस निर्णय गर्ने आँकलन समेत गरिएको छ । राष्ट्रपति निष्पक्ष भूमिकामा देखिने भएपनि तत्कालिन नेकपा र अहिले नेकपा एमालेभित्रको विवादमा उनले सक्रिय भूमिका खेल्दै आएकी छिन् । यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो ।
प्रचण्ड, माधव र विप्लवबीच भेटवार्ता, बृहत समाजवादी केन्द्र निर्माणका लागि छलफल
काठमाडौं । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेको विप्लवले आज प्रचण्डसहित माधव नेपालसँग भेट गरेका छन् । बुधबारको भेटमा नेपालको कम्युनिष्ट आन्दोलनको विगत र भविष्यका बारेमा मोटामोटी चर्चा भएको थियो । विगतका आन्दोलनको रक्षा गर्दै नेपाली समाजलाई अग्रगमनतर्फ लैजान क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच बृहत एकतामा जोड दिँदै आएका प्रचण्डसँग विप्लवसले आफूहरुको कार्यनीतिक बाटोको बारेमा छलफल गरेका थिए । बुधबारको छलफललाई निरन्तरता दिँदै आज बिहान प्रचण्ड र विप्लव माधव नेपाल निवास पुगेका हुन । आजको भेटमा वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट आन्दोलनको भविष्यका बारेमा छलफल भएको श्रोतले बतायो । आजको भेटका बारेमा बिस्तृत विषय सार्वजनिक नभएपनि नेपाली विशेषताका आधारमा समाजवादी क्रान्तिको रणनीति निर्माण गर्ने विषयमा तीनैजनाबीच भेटघाट भएको श्रोतले बतायो । कार्यदिशाका हकमा भिन्नता भएपनि समाजवादमा जानुपर्ने सवालमा समानता भएकोले बृहत समाजवादी केन्द्र निर्माण गर्नुमा उनीहरु सबैको जोड रहेको बताइन्छ । भेटघाट र छलफललाई तीब्रता दिँदै आगामी दिनमा संयुक्त मोर्चा निर्माणको सम्भावनाबारे थप प्रयास गर्ने छलफल उनीहरुबचि भएको छ ।
निषेधाज्ञाबारे छलफल गर्न उपत्यका प्रशासन प्रमुखहरुको बैठक बस्दै
काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ । यसै विषयमा छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सन्चालनका सम्बन्धमा पनि छलफल हुने उनले बताए । उनले भने, ‘लामो दुरीका सवारी साधनबारे पनि छलफल हुन्छ, ‘लामो दुरीका गाडीबारे पनि छलफल हुन्छ, तर के गर्ने भन्ने एकिन छैन ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने बताए । स्रोतका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे प्रजिअहरुबीच छलफल भइरहेको छ । ‘चलाउने कि नचलाउने, चलाउन दिने भए कसरी चलाउने भन्ने विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।
देउवा व्यस्त भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा व्यस्त भएपछि बैठक सरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि सोही समयका लागि सारिएको छ । बैठमा सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री समेटेर मन्त्रिमण्डल गठन गर्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेर थप क–कसलाई मन्त्री बनाउने भनेर टुंगो लगाउने देउवाको तयारी छ । कांग्रेसलाई आसन्न १४ औं महाधिवेशन सम्पन्न गर्ने चुनौती पनि छ । असारभित्रै क्रियाशील सदस्यता विवाद टुंग्याउने भने पनि बारा जिल्लाका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन् ।
ओलीले एकताको ढोका बन्द गरे, एमालेसहितको राष्ट्रिय सरकार बनाउनु जरुरी– माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताविरोधी भएको बताउँदै राष्ट्रिय सरकार गठनमा जोड दिएका छन् । देश संकटपूर्ण अवस्थामा रहेकोले लोकतन्त्रवादी तथा वामपन्थीहरुबीच एकताले मात्रै संविधान र गणतन्त्र जोगाउन सकिने नेता नेपालको भनाई छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नै निवासमा भएको भेटका क्रममा नेता नेपालले संसद जोगाउँदै राष्ट्रिय सरकार गठनका लागि अग्रसर हुन देउवालाई पहलका लागि आग्रह समेत गरे । अब सिंगै एमालेले संस्थागत रुपमा सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । एमालेबाट संस्थागत निर्णय हुन सकेन भने पनि सांसदहरुले स्वतन्त्र रुपमा विश्वासको मत दिएर संसद र सरकारलाई टिकाउने नेता नेपालको भनाई थियो । अहिले कसैले पनि मध्यावधि चुनाव नचाहेको बताउँदै नेता नेपालले एमालेभित्रको एकतालाई सुदृढ बनाउँदै राष्ट्रिय समस्या समाधानका लागि संसद जोगाउनुपर्ने बताए । “कोभिडसँग जुध्नुपर्नेछ, आर्थिक संकटको सामना गर्नुपर्नेछ, बाढी पहिरो पीडितको समस्या समाधान गर्नुपर्ने छ, राष्ट्रियताको जगेर्ना गर्नुपर्नेछ, संघीयतालाई जोगाउनुपर्ने र संस्थागत गर्नुपर्नेछ र विकासका कामहरु गर्नुपर्नेछ । यी सबै कामका लागि अब लडाइँ–झगडा बन्द गरेर चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्नुपर्छ ।’ देउवासँग उनले भने । अध्यक्ष ओलीले अनावश्यकरुपमा उत्तेजित अभिव्यक्ति दिइरहेकोमा नेता नेपालले आपत्ती व्यक्त गरेका छन् । रातोपाटी दैनिकले प्रकाशित गरेको समाचार अनुसार, नेता नेपालले ओलीले नै एकताको ढोका बन्द गरेको बताएका छन् । “‘उहाँले एकताको ढोका बन्द गर्नुभएको छ, उहाँ बर्बराउन थाल्नुभएको छ, नग्न स्वरुप देखाउनुभएको छ’ उनको भनाई छ, ‘उहाँ सत्ताको नसाबाट तल आउनुपर्छ । धर्तीमा उभिनुपर्दछ । निरंकुशताबाट मुक्त हुनुपर्छ । अराजकहरुको मण्डलीबाट मुक्त हुनुपर्छ ।’ केपी ओली अराजकतत्वहरुको पछि लागेको बताउँदै नेता नेपालले अगाडि भने, ‘अराजक तत्वहरुले कम्युनिस्ट पार्टीलाई सिध्याउँछन् । ओलीले यसैगरी पार्टी र आन्दोलनलाई गलत दिशामा हिँडाउन खोज्नुभयो भने उहाँको योभन्दा ठूलो पतन हुनेछ ।’

