संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने जसपाको निर्णय
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ । आज बसेको पार्टी पदाधिकारीको बैठकले देशव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ओलीको पुस ५ गतेको जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध जारी जनसंघर्षलाई निरन्तरता दिँदै आन्दोलन कार्यक्रम जारी गरेको बताएका छन् ।
जसपाले फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर/उपमहानग/नगर/गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा र काठमाडौंको रत्नपार्कमा पार्टीनिकट सबै भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला पार्टीले संयुक्त जनप्रदर्शन तथा विरोधसभा गर्ने कार्यक्रम तय भएको बताएका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै अनेरास्ववियूद्वारा आन्दोलन घोषणा
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेकपा (प्रचण्ड–नेपाल समूह) निकट अनेरास्ववियूले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बुधबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन् । साथै उनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सार्वजनिक आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि फागुन ६ गते बिहीबार बिहान साढे ८ बजे देशभरका कलेज अगाडि विरोध प्रदर्शन गर्ने र दिउँसो १ बजे नेपाल आयाल निगम घेराऊ तथा ज्ञापनपत्र वुझाइने छ । सङ्घर्षका बाँकी कार्यक्रम आयल निगमको प्रतिक्रियापछि घोषणा गरिनेछ । ‘असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनको दिशामा निरन्तर अघि वढिरहेको ओली सरकारले पेट्रोलियम पदार्थमा एक हप्तामा दुई पटक मुल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ’, अनेरास्ववियूका सहसंयोजक तामाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखिको कोरोना कहर र लकडाउनका कारण थिलोथिलो भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरुको चुलो चौकोमै वज्रप्रहार गरेर पेट्रोल, मट्टीतेल र ग्याँसमा गरिएको मुल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं ।’ मूल्य वढाउँदा पेट्रोलियम पदार्थको स्वाचालित मुल्य कार्यान्वयन निर्देशिका, २०७१ को हवाला दिएर वढाउने तर अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेको वेला यहाँ नघटाउने प्रवृत्ति विगतदेखि नै देखिँदै आएको विज्ञप्तिमा भनिएको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिले अन्य तमाम क्षेत्रलाई समेत प्रभावित गर्ने भएकाले वढाइएको मुल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै यस जनविरोधी निर्णयका विरुद्ध सङ्घर्षमा उत्रन आह्वान गरिएको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य वृद्धि गरेको थियो ।
भारतको त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड–नेपाल समूहकाे आपत्ति
काठमाडौं । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–नेपाल समूहले आपत्ति प्रकट गर्दै विरोध गरेको छ । उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै विरोध गरेका हुन् । विप्लवले छलफलका क्रममा तत्कालीन भारतीय जनता पार्टीका अध्यक्ष एवम् भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाललगायतका देशमा भाजपाले पार्टीका संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अत्यन्त संवेदनशिल विषयमा व्यक्त अभिव्यक्तिले दुई छिमेकी मित्र राष्ट्रबीचको सम्बन्धमा भ्रम छर्ने र नकरात्मक असर पुर्याउने भएकाले भारत सरकार र गृहमन्त्री शाहबाट स्थिति स्पष्ट पारिने अपेक्षा विज्ञप्तिमा गरिएको छ । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा भाजपाका तत्कालीन अध्यक्ष अमित शाह त्रिपुरा भ्रमणमा आउँदाको प्रसंग सार्वजनिक भनेका थिए, ‘‘अमित शाह त्रिपुरा आउनुभएको थियो, हामी स्टेट गेस्टहाउसमा उहाँसँग कुरा गर्दै थियौँ । (भाजपा महासचिव) अजय जमवालले भारतका सबैजसो राज्यमा सरकार बनाएको प्रसंग उठाउनुभयो । जवाफमा अमित शाहले भन्नुभयो– श्रीलंका र नेपालमा सरकार बनाउन अझै बाँकी छ । हाम्रो पार्टीलाई श्रीलंका र नेपालमा विस्तार गर्नुपर्छ र त्यहाँ पनि सरकार बनाउनुपर्छ ।’ नारायणकाजीको चिन्ताः देश गम्भीर संकटबाट गुज्रिँदैछ, वैदेशिक हस्तक्षेप बढ्दैछ
भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपित सार्वजनिक
बैतडीः दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोप लागेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले भागरथीको बलात्कार तथा हत्या आरोपी सोही ठाउँका १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । त्रकार सम्मेलनमा सुदूरपश्चिमका डीआईजी उत्तमराज सुवेदीले भट्टले नै भागरथीको हत्या गरेको दाबी गरे । उनले प्रत्यक्षदर्शीले दिएको जानकारी, प्रविधिले देखाएको प्रमाण र आरोपीले दिएको बयानका आधारमा किशोरले नै भागरथीको हत्या गरेको जिकिर गरे । सुवेदीका अनुसार बलात्कार र हत्या आरोपी दिनेश दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए । ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेका थिए । माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए । साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए । ‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो,’ डिआइजी सुवेदीले भने । पक्राउ परेका भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ । भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । माघ २१ गते स्थानीय सनातन माद्यमिक विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् । भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् । भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको थियो । घटनाको अनुसन्धानका लागि सुवेदी आफैं घटनास्थलमा बसेका थिए । त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको थियो ।
नारायणकाजीको चिन्ताः देश गम्भीर संकटबाट गुज्रिँदैछ, वैदेशिक हस्तक्षेप बढ्दैछ
काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले देश गम्भीर संकटबाट गुज्रिरहेको र पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको श्रेष्ठको आरोप छ । विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेको श्रेष्ठको भनाइ छ । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सम्पुर्ण देशभक्त शक्तिहरु एक हुनुपर्ने, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न श्रेष्ठले सबैलाई आग्रह गरेका छन् । देश गँभीर संकटबाट गुज्रदैछ। सम्पुर्ण देशभक्त शक्तिहरु एक होऔं ।प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं । https://t.co/xWyXyHSYt3 — NKShresthaPrakash (@nksthaprakash) February 17, 2021
गोर्खा भूपू सैनिकद्वारा प्रधानमन्त्री ओलीको कदमको भर्त्सना
काठमाडौं । गोर्खा भूतपूर्व सैनिकहरुको संगठन ‘गेसो’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ससंद् विघटन गर्ने कदमको आलोचना गरेको छ । गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको कदमको भर्त्सना गरेका हुन् । ‘नेपाली जनताले नेकपालाई दुुईतिहाइ बहुमत दिएर पाँच वर्ष शासन गर्न सत्तामा पठाएको ओली सरकारले नेपाली जनताको मतलाई लत्याउँदै शक्तिशाली राष्ट्रका गिरोहलाई रिजाउन संसद् विघटन गरी राष्ट्र र जनतालाई भडखालोमा जाकेको’ आरोप उनले लगाएका छन् ।
संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल
काठमाडौं । संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले बताएका छन् । संसद् विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको बताए । कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुने तर संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय हुने खरेलको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली, उनका निजी वकिल र सरकारी कानुन व्यवसायीले संसद् विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए । साथै उनीहरूले संसद् विघटन राजनीतिक विषय भएको भन्दै अदालतले त्यसमा हात हाल्न नहुने बताएका थिए । खरेलले संसद् विघटन असंवैधानिक भएको बताए । नेपालको संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार नदिएको खरेलले दाबी छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्दा अराजकता मात्र आउने वरिष्ठ अधिवक्ता खरेलले बताए । ‘माथिकाले सीमा नाघ्यो भने तल भएकाहरुले पनि सीमा नाघ्छन्, त्यसैले विघटनलाई असंवैधानिक भनेर खारेज गर्नुपर्छ,’ उनले भने, ‘प्रणाली ध्वस्त हुने संघारमा छ, एउटा कम्पन हामी पनि ल्याउँ भन्ने लागेको भए सदर गर्नुस् । विकल्प श्रीमानहरुसमक्ष छ ।’
ट्रकको ठक्करबाट हरिणको मृत्यु
चितवन । पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान करिब ४ः३५ बजेको समयमा रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना६ख १४६० नं को ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै हरिण मरेको हो । घटनापछि फरार भएका चालक र ट्रकलाई प्रहरीले भरतपुर महानगरपालिका–१ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाइएको थापाले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
फाइल फोटो । झापा । आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति झापामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं ७ स्थित कानोमाई खोलाको पुलमा पश्चिमबाट पूर्व जाँदै गरेको को १३ प ९०० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं ६ शरणमती बस्ने वर्ष २२ का सनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । आज (बुधबार) सुनको मुल्य तोलामा रु ११ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला रु ९० हजार ९ सय रुपौयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा रु ११ सय रुपैयाँले घटेर प्रतितोला रु ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै, तोजावी सुनको मुल्य प्रति तोला रु ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । चाँदी मंगलबार तोलामा १३६० रुपैयाँमा कारोबार भएको थियो ।
भोलिदेखि देशभर मौसम सफा हुने
काठमाडौं । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार यस प्रणाली सक्रिय नभएकाले ठूलो हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै प्राप्त मात्रमा जलवाष्युक्त बहनुपर्छ । हाल देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, कार्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –२.७ डिग्री सेल्सियस रहेको छ ।
अविश्वास प्रस्ताव छल्न बाग्मती प्रदेशसभा बैठक पुनः अनिश्चितकालिन स्थगित
हेटौंडा । अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूचि रहेको बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । गत माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी भएपनि विशेष कारण भन्दै बैठक स्थगित गरिएको सूचना टाँस गरिएको हो । प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको उल्लेख छ । यसअघि माघ १९ गते बोलाइएको बैठक विशेष कारण भन्दै स्थगित गरिएको थियो ।
भागरथी हत्याकाण्डः खोचलेकबाट फर्कियो डिआइजी सुवेदीसहितको अनुसन्धान टोली
काठमाडौं, भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानका लागि घटनास्थलमा रहेको डिआईजी उत्तमराज सुवेदी नेतृत्वको टोली फर्केको छ । स्थानीयले फूलमाला लगाएर उनीहरुको विदाई गरेका हुन । घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्। भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथीको हत्या गर्ने अभियुक्तलाई कानूनी कठघरामा उभ्याउदै प्रहरी संगठनप्रतिको गुमेको साख एकपटक पुनः जिवित तुल्याउने अवसरको नेतृत्व गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।
११ बजे पौडेल पक्षको बेग्लै भेला, महाधिवेशनको मिति र आन्दोलनबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले आज दिउँसो आयोजना गरेको केन्द्रीय कार्यसमिति बैठक अघि नै पौडेल पक्षले भेला बोलाएको छ । पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुसँग अहिले ११ बजे पार्टी कार्यालय सानेपामा छलफल गर्ने भएका हुन । आज हुने बैठकमा आफ्नो पक्षको धारणा तय गर्न पौडेल पक्षले भेला बोलाएको बुझिएको छ । पौडेल पक्षले फागुनभित्र क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्ने र जेठभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिँदै आएको छ । क्रियाशील सदस्यतामा विवाद भएको कारण अहिलेसम्म अर्घाखाँचीबाहेक अन्य जिल्लाले विवरण बुझाउन सकेका छैनन । सभापति देउवाको कार्यकाल यही फागुन १९ सम्म मात्र रहेको छ । उनको म्याद यसअघि नै समाप्त भएपनि थपिएको थियो । आजको बैठकमा म्याद थपको प्रस्ताव समेत आउने देखिन्छ । तर पौडेल पक्षले भने जेठभन्दा पर महाधिवेशन लैजान नहुने अडान लिएको छ । आजको पौडेल पक्षको भेलामा संसदविघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने विषयमा समेत धारणा बनाउने बताइन्छ । कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याए पनि महाधिवेशन उक्त मितिमा नहुने निश्चित भएपछि नयाँ मिति तय गर्न लागिएको हो। पौडेलले यसअघि जिल्ला सभापतिहरूको भेला पनि बोलाएका थिए। आजका लागि जिल्ला सभापति भेला बोलाए पनि सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएपछि जिल्ला सभापति भेला स्थगित गरिएको थियो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, संयुक्त आन्दोलनका पक्षमा निर्णय हुनसक्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न गइरहेको छ । पार्टी कार्यालयले दिएको जानकारी अनुसार, बैठक आज दिउँसो दुई बजे केन्द्रीय कार्यालयमा बस्नेछ । आजको बैठकमा समसामयिक परिस्थिति र कांग्रेसले त्यसबारेमा अपनाउनुपर्ने धारणाका बारेमा छलफल हुनेछ । बैठकको अघिल्लो दिनमात्रै नेपाली कांग्रेसका नेता एनपी साउदलगायतका नेतामाथि बैतडीको डिलासैनीमा भएको हातपात भएको थियो । आजको बैठकमा प्रतिनिधि सभा विघटनपछि कांग्रेसले गरेको आन्दोलन र अब संयुक्त आन्दोलनमा जाने या नजाने भन्ने विषयमा छलफल हुने एक नेताले बताए । कांग्रेसभित्र एउटा समूहले प्रतिगमनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताएको छ । तर नेकपाको आधिकारिकताको टुंगो नलागेको र अदालतको निर्णय समेत सार्वजनिक नभएकोले तत्काल आन्दोलना जान नहुने सभापति देउवा समूहको अडान रहेको छ । सम्भवतः यो साता नै प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्चमा परेको रिट सुनुवाईको फैसला आउन सक्ने भएकोले सोका आधारमा के गर्ने भन्ने निर्णय कांग्रेसले लिन सक्ने देखिन्छ । यता नागरिक समाजले समेत फागुन सातदेखि संयुक्त आन्दोलनमा जानुपर्ने भन्दै कांग्रेसका नेताहरुसँग लबिङ गर्दै आएका छन् । नेकपाको प्रचण्ड–माधव समूहले भने न्यूनतम एजेण्डामा आम सहमति गर्दै एकीकृत आन्दोलनका लागि आव्हान गर्दै आएको छ । अहिलेको परिस्थितिमा निर्वाचन हुन नसक्ने र संयुक्त आन्दोलनमा नजाने हो भने यसले व्यवस्थालाई नै उल्टो दिशामा लैजाने भएकोले विगतमा कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने मत कांग्रेसमा बलियो बन्दै आएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति हुने कांग्रेसले जनाएको छ ।
भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपी आज सार्वजनिक गरिँदै
काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकालाई प्रहरीले बुधबार सार्वजनिक गर्दैछ । पक्राउ पर्ने व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्ट भएकाे प्रहरीकाे दावी छ । कक्षा ११ मा अध्ययनरत ती युवक भागरथीको छिमेकीसमेत रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शंकाको घेरामा राखेको ती युवक भागरथीको बलात्कार तथा हत्या आरोपी पक्राउ गर्न गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए । सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्रर्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ। तर प्रर्दशनका क्रममा देखाउने शंकास्पद गतिविधिका कारण प्रहरीले सुरुदेखि नै निगरानीमा राखेर उनका गतिविधि अध्ययन गरिरहेको थियो। मृतक भागरथीका परिवारले समेत उनीमाथि आशंका गरेका कारण निगरानी बढाएको प्रहरीेले अन्ततः उनैले बलात्कारपछि भागरथीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ। यथेष्ठ प्रमाण पश्चात मंगलबार उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा भागरथीलाई बलात्कार र हत्या गरेको ती युवकले स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । भागरथीको बलात्कार पछि हत्या भएको १२ दिनपछि प्रहरीलाई सफलता मिलेको हो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो । यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने । अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।


>
>
>