बिबिसीको प्रश्नः के चुनाव घोषणा गरिसकेपछि सरकारले नियुक्ति–सरुवाजस्ता काम गर्न पाउँछ ?

शुक्रवार सरकारले प्रदेश नम्बर-२ का प्रमुख हटाएर नयाँ नियुक्ति गरेसँगै त्यसलाई चुनाव घोषणा गरेको सरकारको ‘अर्को एउटा स्वार्थ बाझिने काम’का रूपमा कतिपय विज्ञहरूले औँल्याएका छन्।

सरकारको उक्त निर्णयबारे संसद्‌मा मुख्य विपक्षी दल नेपाली कांग्रेसले शुक्रवार नै ‘काम चलाउ हैसियतमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न बिल्कुलै मिल्दैन र पाइँदैन’ भनेर एक विज्ञप्तिमार्फत् विरोध जनाएको थियो।

यसअघि नै चुनाव घोषणा गरेपछि सरकारले संवैधानिक निकायहरूमा नियुक्ति गरेको र सचिवहरू एवम् चुनावी संवेदनशीलता जोडिने बरिष्ठ अधिकारीहरूको सरुवा गरेको भन्दै आलोचित बनेको थियो।

के सरकारले त्यस्तो काम गर्न मिल्छ?
सामान्यत: निर्वाचनको मिति घोषणा गरेपछि करिब १२० दिनको आचारसंहिता सक्रिय हुन्छ। त्यसबीचमा चुनावलाई प्रभावित हुने काम सरकार, उम्मेदवारदेखि लिएर नागरिक समाजसम्मले गर्न नहुने प्रचलन रहेको छ।

यतिखेर संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ भने सत्तारूढ नेकपाका देखा परेको दुई खेमाको आधिकारिकताको समेत टुङ्गो लागिसकेको छैन।

तर सरकारले तोकेको चुनावको मिति आउन अब दुई महिनाभन्दा केही बढि समय मात्र बाँकी छ।

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सरकारले मिति घोषणा गरे पनि ‘निर्वाचनको अवस्था सिर्जना नभइसकेको’ले सरकारले सोही अनुसारको आफ्ना कदमका औचित्य पुष्टि हुनेगरी तर्क राख्न सक्ने ठान्छन्।

“निर्वाचन आचारसंहिता समेत लागु भइनसकेकोले उहाँहरू नियुक्ति-सरुवामा नहिचकिचाएको हुनसक्छ,” पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले बीबीसीलाई भने।

“निर्वाचन आयोगले आफूले गर्नुपर्ने कुरा गर्न सकेको छैन भने ती विषयमा सरकारलाई सजग गराउने र आदेश दिन सक्नुपर्छ। तर यहाँ उल्टो हुन थाल्यो कि भन्ने शङ्का उत्पन्न हुनथालेसँगै अवस्था अलि जटिल हुन थालेको देखिन्छ।”

‘नैतिक रूपमा मिल्दैन’
एकजना पूर्व मुख्यसचिव विमल कोइरालाका भनाइमा सामान्यत: चुनाव घोषणा गरेको सरकारले गर्ने सरुवा, नियुक्तिजस्ता कामले चुनावी स्वच्छतालाई प्रतिकूल प्रभाव पार्ने भएकाले नैतिक रूपले त्यसो गर्न मिल्दैन।

“त्यसले स्वार्थहरू बाँझिने अवस्था निम्त्याउँछ। र यस्ता कुराहरू कुनै पनि लोकतान्त्रिक देशमा मूल्यसम्वत हुँदैनन्,” कोइराला भन्छन्।

चुनाव घोषणा गर्नु भनेको सरकार चुनावी माहोल प्रवेश गरिसकेको अवस्था हुने भन्दै आचारसंहिता लागु भएपछि मात्र नियुक्ति वा सरुवाजस्ता काम गर्न नपाइने भनेर उम्कन नमिल्ने कोइरालाजस्ता पूर्वप्रशासकहरूको मत पाइन्छ।

एकजना पूर्वसचिव श्रीकान्त रेग्मीका विचारमा आचारसंहिताको खास अर्थ ‘चुनावमा खटिने कर्मचारीहरू सरकारप्रति प्रतिबद्ध नभइ निर्वाचन आयोगको स्वतन्त्र, निस्पक्ष , भयरहित र पारदर्शी रूपमा चुनाव गराउने प्रतिबद्धताप्रति संकल्पबद्ध हुनका लागि’ भएको बताउँछन्।

रेग्मी थप्छन्, “तर सरकारले जसरी काम गरिरहेको छ त्यसले उसले नै निर्वाचनलाई प्रभावित पार्न खोजेको देखिन्छ। कार्यकारी प्रमुखले नै निर्वाचन आयोगलाई प्रभावित पार्न खोजेको देखिन्छ।”

शान्तिपूर्ण रूपबाट चुनाव हुने माहोल नबन्दाको असर मानिसहरूको लोकतन्त्रप्रतिको विश्वास र त्यसको भविष्यमै पर्नसक्ने जोखिम आफूले देखेको पूर्वसचिव रेग्मी बताउँछन्।

आजसम्म विश्वभर २० करोडले लगाए कोरोनाविरुद्धको खोप

पेरिसः कोभिड-१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् ।ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म चीन र रूसबाहेकका विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको एएफपीलाई प्राप्त तथ्यांकमा उल्लेख छ । चीन र रूसले भने खोप प्रयोगबारे प्रगति विवरण पछिल्ला केही दिनमा सार्वजनिक गरेका छैनन् । विश्वभर प्रयोग भएका खोपको मात्राको करिब ४५ प्रतिशत जी-७ समूह राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटली र जापानमा प्रयोग भएको बताइएको छ । यी देशहरूमा विश्वको कूल जनसङ्ख्याको १० प्रतिशत जनसंख्या रहेको छ । यद्यपि यी मुलुकहरूले शुक्रबार आफूहरू खोपलाई बढी प्रभावित मुलुकमा न्यायोचित रूपमा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । जी-७ सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी कोरोनाभाइरस खोपका लागि उनीहरूको कुल सहयोगलाई दोब्बरभन्दा बढी अर्थात् ७.५ अर्ब अमेरिकी डलर गर्ने योजना बनाएको बताएका छन् । उक्त सहयोगलाई विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभाक्स योजनामार्फत अघि बढाइने छ ।

जनकपुरधामस्थित एक होटेलमा युवतीको शव फेला

जनकपुरः जनकपुरधामस्थित एक होटेलमा एक युवती मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा अन्दाजी २२ वर्षीया एक युवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनी होटेलको कोठामा झुण्डिएको अवस्थामा शनिबार साँझ फेला परेको मिश्रले बताए । उनी त्यस गेस्ट हाउसमा विगत २ दिनदेखि बस्दै आएकी थिइन् । मृतकको परिचय खुल्न सकेको छैन । घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

संसद् विघटनबारे सर्वोच्चको फैसला स्वीकार गछौँ : वर्षमान पुन

संखुवासभा : नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूले स्वीकार गर्ने बताएका छन् । जननिर्वाचित संसद विघटनको विरोधमा नेकपाले शनिबार खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले फैसला स्वीकार गर्ने बताएका हुन् । पुनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे । ‘न्यायालयले संविधानको अक्षर, भावना र मर्म तथा संविधानसभाको विधायकी मनसायअनुसार फैसला गनर्छ भन्ने हाम्रो विश्वास छ’, पुनले भने, ‘न्यायालयले गर्ने फैसला हामी स्वीकार गर्छौं ।’ फरक प्रसंगमा पुनले जनयुद्धका घाइते, अपांग र शहीद परिवारको भावनामा नलेख्न सरकारलाई समेत चेतावनी दिए ।

ओली निकटको युवा संघले साइबर सेना बनाउने

काठमाडौं : नेकपा ओली समूहनिकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने भएको छ । माघ २५ र २६ गते बसेको संघको केन्द्रीय समिति बैठकले साइबर सेना बनेर काम गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले सामाजिक सञ्‍जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने बताए । आफूलाई वुद्धिमान ठान्‍नेहरूले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्‍जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए । यस्तै, अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको समिति निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरू र वडाहरूमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेकोसमेत बताए ।

संसद् पुनःस्थापना भए आन्दोलन गर्ने ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन सर्वोच्च अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै उक्त समूहका अध्यक्ष समेत रहेको ओलीले उक्त चेतावनी दिएका हुन् । उनले संसद् पुनःस्थापनाका  लागि सेटिङ भइरहेको आरोप लगाए । उनले भने, ‘कुनै सेटिङ–फेटिङ भएर संसद् विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’ ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई निर्देशन दिए । ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए । कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उनले बताए ।

चुनाव हुन्छ, तयारी गर्नुस्ः ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बैशाखमा चुनाव हुने दाबी गरेका छन् । नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा ओलीले सो कुरा बताएका हुन् । उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसका लागि तयारी गर्न आग्रह गरे ।

आपसी विवादमा श्रीमतीको हत्या

दोलखा । दोलखाको लापिलाङमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिवार बिहान करिब साँढे दुई बजे आपसी विवादमा कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ आग्रालयका २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरी २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए । हत्याको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक अञ्जन कोइरालाको नेतृत्वमा गएको टोलीले आरोपी हिमाल थामीलाई कालिन्चोक गाउँपालिकाकै वडा नम्बर ७ सिसागोलाईबाट पक्राउ गरेको थियो । आरोपी हिमालको पहिलो श्रीमतीले तीन वर्ष अघि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आरोपीको पहिलो श्रीमती पट्टीबाट चार वर्ष र मृतक सुनिताका तर्फबाट १३ महिनाको छोरा छन् ।

सरकारसँग वार्ताका लागि सकरात्मक : विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाले सरकारसँग वार्ताका लागि सकरात्मक रहेको बताएको छ । उक्त समूहका महासविच विप्लवले जन समुदायका गतिविधि सहज र कार्यक्रम बन्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताका लागि सकरात्मक भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण, जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो,’ विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं।’ सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

निर्मला पन्तको हत्यामा संलग्नलाई छिट्टै पक्राउ गर्छौः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न कानुनको पञ्जा नजिक आइसकेको दाबी गरेका छन् । साथै उनले दोषीलाई छिट्टै पक्राउ गरिने बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’

प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री ओली दुई सय प्रतिशत विश्वस्तः नेम्वाङ

काठमाडौं । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्ने कुरामा प्रधानमन्त्री केपी ओली दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन् । ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूले भनिसक्नु भएको छ संसद् विघटन गर्ने मेरो अधिकार हो । मैले संविधानबमोजिम लोकतान्त्रिक अभ्यासबमोजिम, लोकतन्त्रमा जनताका बीचमा नगएर कहाँ जाने त त्यसो भए । मैले जनताका जाने जे निर्णय गरेँ त्यो निर्णय यताउति हुँदैन भन्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू १ सयमा २ सय प्रतिशत विश्वस्त हुनुहुन्छ ।’ पुनः आफ्ना कुरा नभन्ने दोहोरÞ्याउँदै नेम्वाङले भने, ‘म आफ्नो कुरा भन्दिनँ, अदालतले फैसला गरेको भोलिपल्ट म त्यसबारेमा भन्छु । प्रधानमन्त्री १ सय मा २ सय प्रतिशत संसद् विघटनको निर्णय फिर्ता हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीप्रति मलाई धेरै विश्वास छ । हामीलाई प्रधानमन्त्रीप्रति धेरै विश्वास छ ।’ सर्वाेच्च अदालतमा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए । सर्वोच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनर्स्थापना नहुने संकेत गरे । झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद भंग गरेको भन्दै उनले देशव्यापी रुपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दाबी गरे ।  

मालपोत कार्यालय बाराका निमित्त प्रमुख ६ लाख घुससहित नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडालाई पक्राउ गरेको छ । सेवाग्राहीसँग जग्गा फुकुवा गरिदिने भनि घुस लिंदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनलाई ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै लिएको ६ लाख रुपियाँसहित पक्राउ गरिएको हो । उक्त रकमसहित दुवै जनालाई शुक्रवार जितपुर सिमरा उ.म.न.पा. वडा नं.२२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

विराटनगरमा ओलीलाई देखाइयो कालो झण्डा

विराटनगर । प्रधानमन्त्री केपी ओलीलाई विराटनगरमा कालो झण्डा देखाइएको छ । नेकपा ओली समूहका अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीलाई प्रचण्ड–नेपाल समूहका विद्यार्थी नेतासहितको समूहले विराटनगरमा कालो झन्डा देखाएको हो । ओली समूहको आमसभाको लागि विराटनगर गएका ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएको हो । विद्यार्थी नेता वसिम आलमको नेतृत्वमा एयरपोर्टमोड पुगेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले केपी ओली मुर्दावाद भन्दै कालो झन्डा देखाए । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरे । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आगामी तीन दिन मौसम सफा हुने

काठमाडौं । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ । पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझापख मौसममा परिवर्तन भएको मौमसविद्को भनाइ छ । अबको तीन दिन भने मौसम सफा हुने बताइएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

उपचारपछि स्वदेश फर्किंदै खनाल

काठमाडौं । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उपचारका लागि भारत गएका नेकपाका वरिष्ठ नेता झलनाथ खनाल आज फर्किंदैछन् । खनालको पारिवारिक श्रोतले दिएको जानकारी अनुसार, उनी आज दिउँसो ४ बजे नेपाल पुग्ने भएका हुन । खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भएको थियो । हाल उनको स्वास्थ्य अवस्थामा सुधार भएको छ । आजै नेकपानिकट बुद्धिजीवि र पेशागत संगठनहरुले अन्तक्र्रिया कार्यक्रम राखेका छन् ।

भरतपुर मेट्रो प्लाजाको काम शुरु हुँदै, ५ तारे होटलदेखि बैंक, बजार र पार्कसम्म एउटै ठाउँमा

जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आउँदो चैत महिनाभित्रमा निर्माणको सम्झौता हुने गरी काम अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको हो । दाहालको भनाइमा भवन निर्माणका लागि निजी क्षेत्रबाट सातवटा कम्पनीले मनसाय पत्र पेश गरेका थिए । जसमध्ये चारवटाको मनसाय पत्र स्वीकृत भएको थियो । तीमध्ये तीन वटा कम्पनीले प्रस्ताव पत्र पेश गरेका छन् । प्राविधिक मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, नियमावलीबमोजीम एकाइ प्रवद्र्धन समिति गठन गरी काम अघि बढाइएको छ । समितिको अध्यक्ष प्रमुख दाहाल हुनुहुन्छ भने सदस्य सचिवमा महानगरकै वरिष्ठ इ भरतकुमार आचार्य हुनुहुन्छ । आचार्यका अनुसार हाल प्रस्ताव पत्र पेश गरेका पिजन इञ्जिनीयरिङ, आर्य विल्डर्स र इनोभेटीव इञ्जिनीयरिङमध्येका एउटा कम्पनी छनोटमा परी चैत महिनाभित्रमा ठेक्का सम्झौता हुने छ । तीमध्ये छनोटमा परेका कम्पनीले करिब रु दुई अर्ब लगानी गरेर भवन बनाउने छन् । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ भने उनीहरुले निर्माण पछि उपयोग गर्ने अवधि २७ वर्ष पाउने छन् । प्रस्ताव पेश गर्ने कम्पनीले १२ देखि १४ तल्ला बनाउने प्रस्ताव गरेका छन् । दुई तला भूमिगत पार्किङ हुनेछ । आचार्यका अनुसार कम्तीमा २५ लाख वर्ग फिटको भवन बन्ने छ । जहाँ २०० भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने छ भने २०० भन्दा बढी दुई पाङ्ग्रे सवारी पार्किङ गर्न सकिने छ । पेश भएका प्रस्तावमा पाँच तारे होटलसमेत उल्लेख छन् । महानगरपालिकाले नै कम्तीमा तीन तारे होटल हुनैपर्ने उल्लेख गरेको छ । महानगरले मानव केन्द्रित अवधारणामा निर्मित खुला स्थान, कार्यालय तथा बैंकिङ सेवाका लागि पर्याप्त सुविधा, होटल, बालबालिका खेल्ने क्षेत्र, रेष्टुराँ तथा खाद्य सूविधा, सिनेमाहल तथा मनोरञ्जन केन्द्र बनाउनु पर्ने गरी प्रस्ताव माग गरेको दाहालले जानकारी दिनुभयो । शुरुमा आफैँ निर्माण गर्ने भनिएकोमा पछि सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम भवन बनाउन लागिएको हो । महानगरपालिकाले नागरिक उड्डयन प्राधिकरणसँग राय लिएर भवनको उचाइ तय गरेको हो । दाहालका अनुसार कूल जग्गाको क्षेत्रफलमध्ये आधा भागमा भवन बन्नेछ । उहाँले भन्नुभयो, “यो भरतपुर महानगरको गहना हुनेछ ।” जिल्लाको प्रमुख शहर नारायणगढमा पार्किङको अभावमा व्यवसाय प्रभावित भएको छ । यो भवन बनेसँगै महानगरवासी पूर्णरुपमा लाभान्वित हुने दाहालको भनाइ छ । नेपालमा ऐन नियमावली बनाएर निजी क्षेत्रको सहकार्यमा बनाउन लागिएको यो पहिलो र ठूलो परियोजना हो । उहाँले भन्नुभयो, “यो परियोजना देशकै नमूना बन्ने छ ।” एउटै भवनभित्र सबै खालका सुविधा प्राप्त गर्ने भएकाले भरतपुर महानगरको शहरभित्रको एउटा महत्वपूर्ण शहरको रुपमा व्यावसायिक भवन बन्ने अपेक्षा गरिएको छ । भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डित नारायणगढ बजारको सुन्दरता भवनले बढाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नारायणगढको भविष्यसँग जोडिने गरी हामी भवन बनाउँदै छौँ ।” देशकै मध्यभागमा रहेको नारायणगढ बजार राजधानी बाहिरका ठूलो बजारमध्येको एक हो । स्थान अभावका कारण सङ्कटमा पर्दै गएको अवस्थामा महानगरपालिकाले बेलैमा दीर्घकालीन सोचका साथ भवन बनाउन लागेको पण्डितको भनाइ छ । उपयुक्त प्रस्ताव छनोटका लागि महानगरपालिकाले मूल्याङ्कन समितिमा विरोक एण्ड कम्पनीका अध्यक्ष राधेश पन्तसहित चार जना विषय विज्ञलाई आमन्त्रण गरी काम गरिरहेको छ । पन्तले विगत तीन वर्षयता सार्वजनिक निजी साझेदारीसम्बन्धी कानून निर्माण र परियोजना सहजीकरणमा सहयोग गर्दै आउनुभएको छ । महानगरका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारी कहिल्यै पुरानो नहुने गरी आधुनिक र सुविधा सम्पन्न व्यावसायिक भवन बन्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रमुख दाहालले दीर्घकालीन सोचका साथ नारायणगढ बजारलाई जीवन्त राख्ने गरी यो महत्वपूर्ण योजना ल्याउनुभएको हो ।”