प्रेस संगठन नेपालको पदाधिकारी र प्रदेश कमिटी विस्तार, कसलाई के जिम्मेवारी? (नामसहित)
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको भ्रातृ सङ्गठन प्रेस सङ्गठन, नेपालको पदाधिकारी र प्रदेश कमिटी विस्तार गरिएको छ ।
गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको निर्देशनबमोजिम सङ्गठनको जिम्मेवारी हेरफेर गरिएको हो । सङ्गठनको संयोजकमा महेश्वर दाहाललाई जिम्मेवारी दिइएको छ भने सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा छन् ।
यस्तै, महासचिवमा राजेश राईले जिम्मेवारी पाउँदा कार्यालय सदस्यहरूमा अमृतनाथ तिम्सिना, कमल गिरी, गङ्गा बराल, चमिना भट्टराई, देवराम यादव, ध्रुव बुढाथोकी, नरेन्द्र साउँद, मनोज घर्तीमगर, मौसम रोकामगर, रामकुमार एलन, विवेक गौतम, सइन्द्र राई, सुरेशचन्द्र अधिकारी, सुरोजङ्ग पाण्डे, हेमकर्ण विक छन् ।
अनुशासन आयोगको संयोजकमा सन्तोष पौडेल र सहसंयोजकमा शिव ढुङ्गानालाई जिम्मेवारी दिइएको छ । लेखा आयोगमा संयोजक भवानी कार्की र सहसंयोजकमा नरेन्द्र केसीलाई तोकिएको छ । त्यस्तै प्रदेश नं १ को इन्चार्जमा राजन केडी, सहइन्चार्जद्वयमा तीर्थ सिग्देल र स्मिता निरौला, संयोजक देवेन्द्र कार्की, सहसंयोजकत्रयमा एक्सन राई, मुक्ति पौडेल र भीम राईले जिम्मेवारी पाउँदा सचिवमा सुजन तिम्सिना तोकिनुभएको छ ।
प्रदेश नं २ को इन्चार्जमा प्रकाश खतिवडा, सहइन्चार्जमा हीरालाल चौधरी, संयोजक किरण कर्ण, सहसंयोजकत्रयमा राघव शाह, विदुर खड्का र मदन ठाकुर, सचिवमा व्रिजलाल पासवान छन् ।
वाग्मती प्रदेशको इन्चार्जमा रामकुमार एलन, सहइन्चार्जहरूमा लक्ष्मण खड्का, शालिकराम नेपाल हुनुहुन्छ । यस्तै संयोजक सुनिल खड्का, सहसंयोजकत्रयमा रामकृष्ण थापा, नवीनकुमार खतिवडा र शान्ता अधिकारी तथा सचिवमा ध्रुव रायमाझीले जिम्मेवारी पाएका छन् ।
गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम, सहइन्चार्जत्रयमा त्रिभुवन पौडेल, श्रीराम सिग्देल र माधव पनेरु छन् । यस्तै, संयोजकमा अर्जुन काफ्ले र सहसंयोजकद्वयमा उर्मिला कुँवर र दीपक जलन तोकिँदा सचिवको जिम्मेवारी गणेश पौडेललाई दिइएको छ ।
लुम्बिनी प्रदेशको इन्चार्जमा विकास बन्जाडे, सहइन्चार्जद्वयमा सुशील पोखरेल, गोविन्द शर्माले जिम्मेवारी पाउँदा संयोजकमा मानसिंह विक, सहसंयोजकत्रयमा रुद्रहरि कुँवर, वीरेन्द्र मिश्र र मेनका थापा चौधरी छन् । सचिवमा भने नरेश केसीले जिम्मेवारी पाएका छन् ।
कर्णाली प्रदेशको इन्चार्जमा जीवन बिसी, सहइन्चार्जमा गोविन्ददेव भारती र देवीराम देवकोटा, संयोजकमा प्रतीक इच्छुक शर्मा, सहसंयोजकत्रयमा रमेश ऐडी, गणेशकञ्चन भारती र सुरजकुमार सिंह छन् भने सचिवमा दीपक बुढा चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेशको इन्चार्जमा रामसिंह ठगुन्ना, सहइन्चार्ज धर्मराज पाध्याय, संयोजक नवराज भण्डारी, सहसंयोजकद्वयमा मीनेन्द्र शाही र लीलाजङ्ग शाही तथा सचिवमा स्रमाट सिंहलाई तोकिएको महासचिव राजेश राईले जानकारी दिए ।
उपत्यका प्रदेशको इन्चार्जमा सुरोजङ्ग पाण्डे, सहइन्चार्जमा उपेश मर्हजन, संयोजकमा नवराज दाहाल, सहसंयोजकद्वयमा उज्ज्वल पहाडी र सागर न्यौपाने, सचिवमा सविन शर्माले जिम्मेवारी पाएका छन् ।
त्यस्तै, प्रतिष्ठान प्रदेशको इन्चार्जमा विदुर खड्का सहइन्चार्जद्वयमा तेजप्रसाद वाग्ले र बुद्ध लोप्चन, संयोजक वीरेन्द्र ओली सहसंयोजकत्रयमा रघुनाथ बजगाईं, खेम बम र रामकुमार शाही तथा सचिवमा कृपा भण्डारीलाई तोकिएको छ ।
एसोसिएट प्रदेशतर्फ इन्चार्जमा ध्रुव लम्साल, सहइन्चार्जद्वयमा केशवराज खनाल र बबिन शर्मा, संयोजक डब्बु क्षेत्री, सहसंयोजक नरेश न्यौपाने र सचिवमा रोयल आचार्यलाई तोकिएको छ ।
सङ्गठनले संविधान विपरीत प्रतिनिधिसभाको विघटन गरिएको भन्दै आफ्नोतर्फबाट निरन्तर खबरदारी गर्नेसमेत जनाएको छ । यस्तै श्रमजीवी पत्रकारको हितका खातिर सङ्गठनले विभिन्न कार्यक्रम गर्नेसमेत जनाएको छ ।
झापामा एकै दिन सशस्त्रका पाँच बिओपी स्थापना
झापाः सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन ५ वटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । ५ वटै बिओपीको मेचीनगर नगरपालिका-५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गरेका हन्। मेचीनगर-१ स्थित तिरिङ, भद्रपुर-३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो । यीसँगै जिल्लामा बिओपीको सङ्ख्या १७ पुगेको छ । एउटा बिओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक दाहालले बताए। यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बिओपी स्थापना गरी सकिएको छ । उहाँले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बिओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिए । नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनीहरुलाई बिओपीमा आवश्यक पर्ने भौतिक तथा अन्य संरचना निर्माणमा नगरले आर्थिक सहयोग गर्ने बताए। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाको १४४ दशमलव दुई किलोमिटर क्षेत्रफलमा भारतसँगको खुला सीमा रहेकाले हातहतियार, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक गतिविधि न्यूनीकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने काममा बिओपीहरुको महत्वपूर्ण योगदान रहने बताए । सीमा सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले २०७६ मङ्सिर ३० गते नै देशभरिमा ११४ वटा बिओपी थप्ने निर्णय गरेको थियो । सोहीअनुरुप नै जिल्लामा कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेटक्वार्टर चन्द्रगढीका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए।
पशुपतिमा क्षमापूजा गर्न भारतबाट बोलाइए २५ ब्राह्मण
काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ। क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरू गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। आगामी बुधबारसम्म क्षमापूजा हुनेछ। रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो। वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरू भएको हो। वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ। चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो। सुनको जलहरी निर्माण पनि सुरू भइसकेको कोषले जनाएको छ। एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ। पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ। मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले रु ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ। सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ। गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई रु ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए। मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ। यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ। रु ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ। महाशिवरात्रिको तयारी पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पनि सुरू गरिएको छ। विगत वर्षमा एक वर्षअघि नै भारतका विभिन्न अखडाबाट साधुसन्त पशुपति क्षेत्रमा आउने गरेकामा यस वर्ष अहिलेसम्म नआएको कोषले जनाएको छ। यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ। कोरोना महामारीका कारण यस वर्षको महाशिवरात्रिमा विगत वर्षमा जस्तो भीड नहुने अनुमान गरिएको सदस्य सचिव ढकालले बताए। यद्यपि मन्दिरमा आउने जति भक्तजनलाई भने दर्शन गराउने गरी कोषले तयारी सुरू गरेको छ। भारत र नेपालका विभिन्न अखडाबाट महाशिवरात्रिमा पशुपति आउने साधुसन्तको सूची विगत वर्षदेखि नै पहिले नै कोषमा आउने गरेको छ। कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि बन्द पशुपतिनाथ मन्दिर यस वर्ष पुस १ गतेदेखि बिहान ६देखि अपराह्न २ बजेसम्म खुला गरिएको छ। भक्तजनले दिनभर मन्दिर खुला हुनुपर्ने माग गर्दै आएका छन्। रासस
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको हो । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा प्रचण्ड–नेपाल पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गर । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् । मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न पनि सभामखु भण्डारीलाई दबाब दिएका थिए । तर, आज बिहान भएको छलफलमा सभामुखले मुख्यमन्त्री राईको उक्त प्रस्ताव अस्वीकार गरेका थिए । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल समुहका ३७ सांसदले पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।
प्रचण्डको गृह जिल्लामा संसद् विघटनविरुद्ध विशाल जनप्रदर्शन हुँदै
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूह फागुन १२ गते चितवनमा संसद् विघटनविरुद्ध विशाल जनप्रदर्शन गर्ने भएको छ । केन्द्रीय संघर्ष समितिको आयोजनामा उक्त समूहले विशाल जनप्रदर्शन गर्ने भएको हो । विशाल जनप्रदर्शनलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने तय भएको छ । चितवन प्रचण्डको गृह जिल्ला हो । यसअघि प्रचण्डको गृह जिल्लामा नेकपा ओली समूहले सभा गरेको थियो ।
मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्नः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वका भावनालाई मनमा राखेर राष्ट्रनिर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गरे । हाम्रो दृष्टिकोण र जानकारीको कमीका कारण हाम्रो मुलुक र समाज पछि परिरहेको बताउँदै उनले भने, ‘अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्न, हामीले सिर्जनात्मक र रचनात्मक ढङ्गले नयाँ विचार लगाएर राष्ट्र निर्माणमा अघि बढ्नु जरुरी छ ।’ मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरु क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन, सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘देश बनाउनुपर्छ र बिगार्नुपर्छ भनी विभिन्न विचार बोकेका अभियानकर्मी मात्र होइन, स्वार्थलाई केन्द्रविन्दुमा राखेर चल्ने पनि सक्रिय छन् । देश बनाउनुपर्छ भनी सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले दुनियाँ जङ्गली अवस्थामा रहँदा सभ्यता, दर्शन, चिन्तन, सामाजिक सुप्रबन्ध, ज्ञान, ध्यान, खोजअनुसन्धानको इतिहास शुरुआत भएको नेपाल स्वास्थ्य, पूर्वाधार, सामाजिक सूचकाङ्क र विकासमा पछि परे पनि अब गौरवमय इतिहाससँग तादम्यता हुने गरी पूर्वाधार, आधुनिकता, विज्ञान, सामाजिक मूल्यमान्यताको स्तरीयता र मानवीय भावनाको विकास गर्नुपर्ने औँल्याए । विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययनरत छात्रछात्रालाई अनुशासित बनाई देश र जनताप्रति बफादार, राष्ट्रिय एकताको भावना विकास, नेतृत्व क्षमता अभिवृद्धि र अनुशासित नागरिक उत्पादन गर्न २०२२ सालमा राष्ट्रिय सेवा दलको गठन गरिएको थियो । राष्ट्रलाई आपत्कालीन एवं सङ्कटको अवस्था प्राकृतिक प्रकोप तथा विपत्का बेला उद्धारमा स्वयंसेवक समूहलाई परिचालन गर्ने लक्ष्यका साथ स्थापित उक्त संस्थाबाट हालसम्म ५१ हजार ३३२ छात्रछात्रा दीक्षित भइसकेका छन् ।
विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप १ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३३६ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं पुग्यो थप १० लाख डोज कोरोना खोप
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं पुगेको जानकारी दिए । यहीँ फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आज १० लाख डोज खोप आएको हो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ । उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिनेछ । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।
अदालतले संसद् पुनःस्थापना गर्न लागेपछि प्रधानमन्त्री ओली आत्तिएः पौडेल
सुनसरी । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले आइतबार (आन) गरेको अन्तरक्रियामा नेता पौडेलले सो कुरा बताएका हुन् । ‘प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतलबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै छन्’, पौडेलले भने, ‘यो अदालतमाथि धम्की त हुँदै हो सँगसँगै अदालतले संसद् पुनःस्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो ।’ विराटनगरमा शनिबार भएको सभामा प्रधानमन्त्री ओलीले अदालतबाट प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति धम्की र आतेस दुवै भएको बताए । पौडेलले आफू सांसद् नभएकाले प्रतिनिधिसभा पुनःस्थापनाले व्यक्तिगत लाभ नभएको भन्दै कांग्रेसको स्थापना र अहिलेसम्मको निरन्तरता केकारण छ भन्ने कुरा सोच्नुपर्ने बताए ।
निर्वाचनले देशलाई स्थिरतामा लैजान्छः अध्यक्ष थापा
दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसंग आग्रह गरे । उनले भने, ‘निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।’ नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो । उनले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने बताए ।
प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव टेबल हुने
विराटनगर । माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज २ बजे बस्ने भएको छ । पहिलो पटक माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । दोश्रो पटकको बैठकमा सत्तापक्षका सांसदहरुले उभिएर अवरोध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न पनि सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर, आज बिहान भएको छलफलमा सभामुखले मुख्यमन्त्री राईको उक्त प्रस्ताव अस्वीकार गरेका छन् । आजको बैठकमा नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री राईविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची छ । तर, नेकपा ओली पक्ष भने उक्त प्रस्तावमा छलफल नै हुन नदिने गरी सदन अवरुद्ध गर्र्न तयारी छ । नेकपाका प्रचण्ड–नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।
भारतबाट १० लाख डोज खोप आज नेपाल आउँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आउने जानकारी दिए । उनका अनुसार यहीँ फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आज १० लाख डोज खोप आउन थालेको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ । उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिनेछ । उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।
बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ । चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा रु २५ ले वृद्धि भएको हो ।
उपचारका लागि बाबुराम दिल्ली जाँदै, न्यूरो–इण्डोक्राइन ट्युमर भएको आशंका
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारत गइरहेका छन् । भट्टराईको सचिवालयका अनुसार, बाबुराम भट्टराईको काठमाडौंमा निदान अस्पतालमा लामो समयदेखि उपचार हुँदै आएपनि थप उपचारका लागि दिल्ली जानुपर्ने भएको हो । चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेलाई उदृधृत गर्दै अनलाईनखबरले जनाएको छ । बाबुराममा आशंका गरिएको न्यूरोइण्डोक्राइन ट्युमर दुर्लभ रोग हो । यो शरीरको कुनै पनि भागमा हुनसक्छ । तर खासगरी आन्द्रा, फोक्सो, एपेन्डिस, रेक्टम र पित्ताशयमा यो हुनसक्छ । यिनीहरु क्यान्सरजन्य र क्यान्सररहित दुबै हुनसक्छन् । भारतका चर्चित अभिनेता इरफान खानलाई पनि यो बिरामी लागेको थियो । बाबुरामको भने दिल्लीस्थित ‘इन्स्ट्च्यिूट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने छ । भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र पाण्डे नयाँदिल्लीमा रहनेछन् । हाम्रो शरीरको इण्डोक्राइन प्रणाली हर्मोनसँग सम्बन्धित हुन्छ । यो प्रणाली हर्मोन उत्पादन गर्ने कोषहरुबाट निर्मित हुन्छ । हर्मोन्स रसायन हुन, जुन रगतको माध्यमबाट शरीरका आन्तरिक अङ्ग र कोषहरुसम्म पुग्ने गर्दछन् । यी आन्तरिक अंग र कोषहरुमा हर्मोन्सको विशेष प्रभाव हुन्छ । स्वस्थ्य कोशिकाहरुमा कुनै परिवर्तन आउन पुग्दा तिनीहरु नियन्त्रणबाहिर भएर बढन पुग्छन् र ट्युमरको आकार ग्रहण गर्छन् । ट्युमर क्यान्सर र क्यान्सररहित दुबै हुने गर्दछन् । क्यान्सर ट्युमर शरीको अन्य भागमा पनि फैलिन सक्छन् तर साधारण ट्युमर आफै बढेपनि शरीरको अन्य भागमा फैलिंदैनन् । इण्डोक्राइन ट्युमर शरीरको त्यो भागबाट शुरु हुन्छ, जहाँ हर्मोन उत्पादन हुने र त्यहाँबाट अन्यत्र जाने गर्दछ । एण्डोक्राइन ट्युमर हर्मोनको उत्पादन गर्ने कोषिकामा उत्पन्न हुन्छ । त्यसैले यसले ट्युमरको पनि हर्मोन उत्पादन गर्नसक्ने भएकोले यसलाई गम्भीर र दुर्लभ बिरामी भनिन्छ ।
७ वर्षीय बालकको अपहरण आरोपमा उनकै बुवा र मामा पक्राऊ, ७ घण्टामा सकुशल उद्धार
जनकपुर, धनुषा प्रहरीले बालक अपहरणको घटनामा अपहरित बालकका बुवा र मामासहित ३ जनालाई पक्राउ गरेको छ । अपहरणको घटनामा बुवाकै संलग्नता रहेको यो बिरलै घटना हो । शनिबार बिहान एक ७ वर्षीय बालक नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट अपहरणमा परेका थिए । प्रहरीले तदारुकता देखाउँदै जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गर्न सफल भएको हो । घटनामा बालकका पिता रमेशको पनि संलग्नता भएको आशंकामा प्रहरीले उनीलाइ पक्राउ गरेकाे छ । साथै बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् । जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । ‘फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो,’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरिएको छ ।’ बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ । बालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।
सप्तरी प्रहरीद्वारा एकैवषमा ५०५ फरार अपराधी पक्राऊ
राजविराज, विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय मो। सहादतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ । पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष छ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता रु १२ लाख ७७ हजार ७२६ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रनाउ साहको भनाइ छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उहाँले बताउनुभयो । त्यस्तै यस अवधिमा भन्सार छली गरी भित्र्याइएका ८८ मोटरसाइकल, आठ अटोरिक्सा, पाँच ट्र्याक्टर, तीन पिकअप तथा दुई टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सवारीसाधनको रु दुई करोड ३४ लाख १७ हजार ५७२ अनुमानित मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ६४१ थान विभिन्न तयारी कपडा नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा जाँच गर्ने क्रममा तयारी कपडा नियन्त्रणमा लिएको हो । प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई तस्करलाई नियन्त्रणमा लिएको छ ।

