सरकारले देशका विभिन्न आठ स्थानमा कोरोना खोप भडारण गृह बनाउँदै
काठमाडौः सरकारले देशका विभिन्न ८ स्थानमा कोभिड-१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एकरएक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो ।
सोहीअनुसार प्रदेश नम्बर १ को विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, बागमती प्रदेशको राजधानी हेटौँडास्थितमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिँदैछ ।
त्यस्तै लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका-१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालीम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ ।
मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलका अनुसार प्रति भण्डारण गृह रु एक करोड २० लाखका दरले आठ वटा भण्डारण गृह निर्माणमा कुल रु नौ करोड साठी लाख खर्च हुनेछ । उनका अनुसार प्रदेश-२, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ ।
बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सूचना प्रकाशन भएको पौडेलले बताए । कार्यादेश दिएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोग गर्न मिल्ने बताइएको सो भण्डारण गृहमा सम्बन्धित प्रदेशहरुका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप आवश्यकता बमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ ।
ललितपुर महानगरले थाल्यो निःशुल्क चिकित्सक विशेषज्ञ सेवा
ललितपुरः ललितपुर महानगरपालिकाले आफ्ना नगरका सबै जनालाई स्वास्थ्य सेवा दिनका लागि सोमबारदेखि निःशुल्क चिकित्सक विशेषज्ञ सेवा सुरु गरेको छ । महानगरपालिकामा नै निःशुल्क चिकित्सक विशेषज्ञ सेवा सुरु गर्दै मेयर चिरीबाबु महर्जनले सेवाग्राहीहरुलाई निःशुल्क औषधि वितरण समेतको व्यवस्था मिलाएका हुन् । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालसँगको सहकार्यमा उनले निःशुल्क चिकित्सक विशेषज्ञ सेवा सुरु गरेका हुन् । सोमबार जनरल फिजिसियन, बाथरोग र महिला तथा प्रसुतिरोग विशेषज्ञबाट सेवाग्राहीहरुलाई सेवा दिइएको अल्का अस्पतालले जनाएको छ । महानगरपालिकाको यस अभियानलाई लाइन्स क्लव अफ काठमाडौं अल्का लगायतका संघ संस्थाले समेत सहयोग गरेका छन् । हरेक १५-१५ दिनमा नगरवासीले निःशुल्क उपचार गर्न पाउने व्यवस्था मिलाइएको मेयर महर्जनले बताए ।
जनयुद्धका ११२ चिठी समेटिएको भण्डारीको पुस्तक प्रचण्डले विमोचन गर्दै
काठमाडौं । नेकपा युवा नेता तिलकराज भण्डारीले लेखेको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक अध्यक्ष प्रचण्डले विमोचन गर्ने भएका छन् । जनयुद्धका ११२ चिठीपत्र समेटिएको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तकलाई प्रचण्ठले मंगलबार बिहान एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानमा विमोचन गर्देछन् । विमोचन कार्यक्रममा वक्तामा प्रचण्डसँगै, नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई, युवा नेता रमेश मल्ल र समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराई रहेका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका विभिन्न ११२ वटा चिठी पत्रहरुलाई सम्पादन गरेर भण्डारीले पुस्तक लेखेका हुन् । २०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमा भूमिगत राजनीतिमा होमिएका थिए । २०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए । त्यसबेला जनयुद्ध व्यवस्थापनदेखि विभिन्न आक्रमण हुँदा चिठी पत्र आदनप्रदान हुन्थे । ती चिठीपत्रलाई भण्डारीले पुस्तकका रुपमा ल्याएका हुन् ।
दुई वर्षमै निक्कै चमत्कार भयोः प्रधानमन्त्री ओली
कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकासको लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल सुखी नेपालीको आधार भन्ने मूल नारासहित आज दैजी –छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । त्यस क्रममा उनले औद्योगिक क्षेत्रमा विशेष प्याकेजसहित उद्योग कल कारखाना स्थापना हुने उल्लेख गरे । उनले ग्रामीण औद्योगिक क्षेत्र देखि ठुला–ठुला उद्योगधन्दा सञ्चालन गर्न सरकार तल्लीन रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको दार्चुलास्थित गुमेको भूमि फिर्ता ल्याउने दाबी समेत गरे । तुइन विस्थापित गरी सकभर पक्की पुल, नभए झोलुङ्गे पुल भए पनि निर्माण गरिने उनले बताए । सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको उल्लेख गर्दैै प्रधानमन्त्री ओलीले प्राचीन इतिहासको साक्षी सुदूरपश्चिमको विकासका लागि अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्री ओलीले भूमिहीन, सुकुम्वासी, आरक्षपीडित र मुक्त कमैया, मुक्त हलिया जस्ता अव्यवस्थित बोसवासीहरूको उचित व्यवस्थापनका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिए । नेपालको हकमा दुई वर्षमै निक्कै चमत्कार भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । अब नेपालमा कहिल्यै पनि लोडसेडिङ नहुने दाबी गर्नुहुँदै अबको दुई वर्षपछि नेपालले उत्पादन गरेको विद्युत् विदेशी मुलुकलाई बिक्री गर्ने योजना रहेको बताए । उनले पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रको गौरवको योजनाका रूपमा स्थापित गरिने उल्लेख गरे । उनले केही दिन भित्रै प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला आउने उल्लेख गरे । ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश फेरि राजनीतिक रुपमा अस्थिर र विकृति बन्ने चेतावनी दिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने बताए । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने भनेर दिएको अभिव्यक्तिबारे स्पष्टीकरण समेत दिए । आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पार्दै उनले ओलीले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताए । प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिए । ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दाबी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिए । आज मात्रै प्रधानमन्त्री ओली कञ्चनपुर पुगेका बेला पन्तको न्यायको माग गरिरहेका अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१२५ संक्रमित थपिँदा ९० निको, शुन्य मृत्यु
काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । जसमध्ये १ हजार ५२९ सक्रिय संक्रमित छन् । सोमबार ९० जना निको हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म कोरोनाबाट २ हजार ६१ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री ओलीको कार्यक्रममा निर्मलालाई न्याय माग्दा ६ पक्राउ
कञ्चनपुर । कञ्चनपुरको दैजीमा महिला अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेका बेला निर्मला पन्तको न्यायको माग गरिरहेका चन्दसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ । निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट २ जनाले लगाएको र ४ जनाले टिसर्ट नलगाएको अवस्थामा नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
बाबुराम भट्टराई भोलि अस्पताल भर्ना हुने
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भोलि मंगलबार अस्पताल भर्ना हुने भएका छन् । भारतको नयाँ दिल्लीस्थित ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई उनको स्वास्थ्यको थप परीक्षण हुनेछ । भट्टराईले सोमबार स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएका छन् । डा. प्रोफेसर विक्रम भाटियासँग उनले परामर्श लिएका हुन् । भट्टराई स्वास्थ्योपचारका लागि आइतबार दिल्ली गएका थिए । डा. बाबुराम भट्टराईको उपचार आजदेखि शुरु हुने, के हो त उनलाई लागेको दुर्लभ रोग ?
प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच आकस्मिक भेटवार्ता, राजनीतिक वृत्तमा तरंग
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका बेला सेनापति थापा आकस्मिक रुपमा सोमबार दिउँसो प्रधानन्यायाधीश जबरालाई भेट्न सर्वोच्च अदालत पुगेका थिए । भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलेको छैन । तर, अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले जबरालाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ । संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यसको विरोध गरिरहेको सत्तारुढ दलकै अर्को समूह प्रचण्ड–नेपाल खेमाका नेता दुवै पक्षले सर्वोच्चले आफ्नो पक्षमा फैसला नगरे आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । यही पृष्ठभूमिमा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेटले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरिदिएको छ ।
ओलीको प्रतिगमनलाई नारायणहिटीबाट अनेरास्ववियूको जुत्ता प्रहार
काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको छ । अनेरास्ववियूको चौंथो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरिएको हो । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सांकेतिक तस्बिर बनाएर त्यसलाई जुत्ताले हानेका थिए । सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विभिन्न नारावाजी गर्दै जुत्ता हानेका थिए । जुत्ता हान्ने कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता रञ्जित तामाङले अहिले सांकेतिक विरोध मात्रै गरेको जनाए । ‘प्रतिगमनकोविरुद्ध अनेरास्ववियूले अहिले सांकेतिक विरोध मात्र गरेको हो । प्रतिगमनका मतियारहरुलाई पञ्च भेला गरेर र्याली गरेर तमासा देखाउने हैन भन्न चाहन्छौँ,’ तामाङले भने, ‘केपी ओली र तिनका मतियारका पञ्च भेला हामीलाई चाहिएको छैन । आज हामीले संकेत मात्र गरेर जुत्ता हानेका छौँ । प्रतिगमन नसच्याउने हो भने मतियारहरुलाई जुत्ताको माला लगाउने दिन आउने छ ।’ लोकतन्त्र र संविधानको चिरहरण गर्दै असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले एकपछि अर्को गर्दै चाल्दै आएको प्रतिगमनकारी कदमका विरुद्ध गत पुष ५ गतेदेखि नै निरन्तर आन्दोलन गर्दै आएको अनेरास्ववियूले जनाएको छ । प्रतिगमन नसच्चिंदासम्म आन्दोलन निरन्तर जारी रहने जनाइएको छ । यसविचमा प्रतिगमनकारी तत्वहरु चौतर्फी रुपमा एक्लिँदै गएको र प्रतिगमन विरोधी शक्तिहरुको मोर्चा र आन्दोलन थप व्यापक, सशक्त र फराकिलो वन्दै गएको अनेरास्ववियूले जनाएको छ । चौंथो चरणका सङ्घर्षका कार्यक्रमहरु : ०७७ फागुन ११ गते ११ वजे – त्रिवि घेराउसहित मागपत्र पेश गर्ने । ०७७ फागुन १३ गते १ वजे – सम्माननीय सभामुखलाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने । ०७७ फागुन १४ गते – प्रतिगमनविरुद्ध मार्चपास । ०७७ फागुन १६ गते ११ वजे – प्रतिगमन , महङ्गी र भष्ट्रचारका विरुद्ध सिंहदरबार अघि थाल ठटाउने जुलुस । उपत्यका बाहिर सिडियो कार्यालय अगाडि । ०७७ फागुन १८ गते १ वजे – प्रतिगमनका विरुद्ध शंख जुलुस सहित वालुवटार घेराउ । उपत्यका बाहिर सिडियो कार्यालय अगाडि ।
काँग्रेस नेता तथा पूर्व सांसद रानाभाटको निधन
भरतपुर । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण विगत १६ दिनदेखि चितवन मेडिक कलेजमा उपचार गराई रहेका रानाभाटको सोमबार दिउसो निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । १६ दिन अघि उच्च रक्तचापका कारण घरमै लडेका रानाभाटलाई चितवन मेडिकल कलेजमा ल्याएर भर्ना गरि उपचार गरिएको थियो । उनको अचेत अवस्थामा नै अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो । रत्ननगर नगरपलिका वडा नम्वर १४ निवासी रानाभाटले २०२७ साल देखि नेपाली काँग्रेसमा आवद्ध भई विभिन्न मोर्चामा रहेर काम गरेका थिए । हरेक संर्घष र आन्दोलनको अग्रमोर्चामा रहेर काम गरेका रानाभाटले नेपाली काँग्रेस चितवनको सचिव, नेपाल किसान संघको केन्द्रिय सदस्य, प्रतिनिधी सभाको सदस्य जस्तो जिम्मेवारी बहन गरिसकेका थिए । उनका एक श्रीमती एक छोरा एक छोरी छन् । नेता रानाभाटको पार्थिव शरिरलाई भोली बिहान ७ वजे घरवाट शवयात्रा निकाली नारायणगढस्थित काँग्रेस जिल्ला कार्यालयमा एक घण्टा राख्ने र दिउँसो देवघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम चितवन काँग्रेसले तय गरेको सभापति श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीद्धारा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास
महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । सोमबार निर्माणस्थलमा पुगेर प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् । २०५३ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सो क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न बजेट छुट्टाएपनि त्यसपछि कुनै सरकारले त्यसलाई वास्ता गरेनन् । पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको विस्तारका लागि वर्तमान सरकारले चासो दिएर शिलान्यास नै गरेको छ । २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुने वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए । अहिलेलाई ४०० बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् । जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।
सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाव दिँदैन: पोखरेल
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशंका गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यापद रहेको उनको भनाइ थियो । उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’ उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । अर्को एक प्रसंगमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राखे । सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दबाव नदिने प्रष्ट पार्दै उनले भने, ‘सरकारले कुनै दबाव दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।’
अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली
मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पुनर्बहाली गरेकी छन्। लिखित राजीनामा दिएको भन्दै गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए। उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गरिएको बताइन्। आफूले उक्त अवैध राजीनामालाई बदर गरी साबिक बमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी गत पुस २८ गते निवेदनपत्र दर्ता गरेको उनले बताइन्। यही फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साबिक बमोजिमै पुनर्बहाली गर्नु भनी आदेश दिएको थियो।
मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण शुरू
काठमाडौं । मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण शुरू भएको छ । सोमबार साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण शुरू भएको गरिएको हो । खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर पानी पठाए । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिएको छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौं आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्चीको पानी काठमाडौं आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । सम्बन्धित समाचारः मेलम्ची सुरुङ परीक्षण गरिँदै, पानी काठमाडौं आउन दुुई महिना लाग्ने
गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला
गोरखा । सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ रहेको गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए । हिजो राति सुतेका उनीहरू सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् । बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए । उनीहरूको मुखमा फिँज आएको छ । अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिए । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उनको भनाइ छ ।
मेलम्ची सुरुङ परीक्षण गरिँदै, पानी काठमाडौं आउन दुुई महिना लाग्ने
काठमाडौं । मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदैछ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदैछ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौं आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ । मेलम्चीको पानी काठमाडौं आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने, ‘यसलाई पुनः परीक्षणका रूपमा लिइएको छ । विगतमा परीक्षण गर्दा दुर्घटना भयो, अहिले पुनः निर्माण गरी पथान्तरण गरिम्दै छ । विज्ञ समूहको अनुगमनले दिएका सुझावअनुसार थप काम गरेर परीक्षण गर्न लागेका हौँ । प्राविधिक रूपमै करिब दुई महिना परीक्षणको समय लाग्छ, त्यसपछि सुन्दरीजलमा पानी ल्याउन सकिन्छ ।’ काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ तर काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर मात्रै आपूर्ति गर्दै आएको छ । निजी क्षेत्रबाट करिब दैनिक चार लाख लिटर आपूर्ति भएको छ । काठमाडौं उपत्यकामा दैनिक ३१ करोड लिटर खानेपानीको अपुुग रहेको छ ।

