एकैपटक ३१ सहसचिवको सरुवा, को कहाँ? (सूचीसहित)
काठमाडौं : सरकारले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका शिवकुमार कार्कीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
अन्य सहसचिवको सरुवा कहाँ? सूची :
स्रोत नखुलेको २५ लाखसहित भारतीय पक्राउ
बारा । बारा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलनको आयोजना गरी अवैध नेपाली रकमसहित दुई जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो । भारतको पूर्वी चम्पारण विहार राज्यको नरकटिया पञ्चायत वडा नं.७ नरकटिया टोल निवासी ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई अवैध नेपाली रकमसहित पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए । कलैया–मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिका वडा नं.८ बरेवा टोलमा भारतीय नम्बर प्लेट भएको बी आर ०५ के ०७९८ मोटरसाइकलमा शङ्का लागि चेक जाँच गर्दा उनीहरूको साथबाट अवैध रकम भेटिएपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । उनीहरूको साथबाट नेपाली हजारको १ हजार ७ सय ७२ थान नोट १७ लाख ७२ हजार र नेपाली ५ सयको १ हजार ५ सय २६ थान नोट ७ लाख ६३ हजार गरी २५ लाख ३५ हजार अवैध नेपाली रकम हित पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना भारतीय नागरिकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मनकामना मन्दिरमा चोरी
बागलुङ । बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए । मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको अध्यक्ष थापाले बताए । उनका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ । पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ । आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको पुजारीले जानकारी दिएका थिए । शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ । चोर्न आउने व्यक्तिले मन्दिरमा रुमाल छोडेको बताइएको छ । चोर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।
पुस ६ देखिको तलब सांसदले एकमुष्ट पाउने
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ६ गतेदेखिको तलब एकमुष्ट पाउने भएका छन् । पुस ५ गते संसद् विघटन भएपछि सांसदहरूले पुस ५ गतेसम्मको तलब मात्रै पाएका थिए । तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि प्रतिनिधि सभाका सांसदहरूले पुस ६ देखिको तलब सांसदले एकमुष्ट पाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ ।
प्रचण्ड–गौतमबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । भेटका लागि गौतम बिहीबार बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । खुमलटारमा प्रचण्ड र गौतमबीच झण्डै १ घण्टा छलफल भएको थियो । छलफलमा संसद् पुनःस्थापनापछिको राजनीतिक अवस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले संसद् विघटन गरेपछि गौतम कुनै समुहमा नलागेका पार्टी एकताका लागि लागेका थिए । आजको भेटमा पनि प्रचण्डसँग गौतमले पार्टी एकतामा जोड दिए । सो क्रममा उनले ओलीको सम्मानजनक विदाई गरेर एकता बचाउन प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ । साथै उनले नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री छान्नुपर्ने बताएका छन् । ओलीले आत्मआलोचना गरेर राजीनामा दिए एकताका बारेमा सोच्न सकिने जवाफ पनि प्रचण्डले गौतमलाई दिएका थिए । संसद् पुनःस्थापनापछि ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गौतकले गरेका थिए । साथै उनले नेकपा अध्यक्षद्धय ओली र प्रचण्डलाई पार्टी कार्यालयमा सचिवालय बैठक बोलाउन माग पनि गरेका थिए ।
आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । जाडो याम सकिनै लाग्दा ‘प्रि–मनसुन’ को संकेत देखिन थालेका छन्। मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि शनिबारसम्म पहाडी भेगका विभिन्न स्थानमा मेघगर्जन रचट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार डिसेम्बरदेखि यही फेब्रुअरी महिनासम्मको अवधिलाई विन्टर मानिन्छ भने मार्चदेखि मौसम प्रि–मनसुनमा प्रवेश गर्छ। मेसम्म जारी रहने प्रि–मनसुनमा मेघगर्जन, चट्याङसहित वर्षा हुने गर्छ। उनका अनुसार अहिले देशभर न्यूनतम तापक्रम पनि निकै बढेको छ। उनका अनुसार आज बिहान ५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस छ। आज बागमती प्रदेशको पहाडी भेगमा वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने मौसम बदली मात्र हुने तर पानी पर्ने सम्भावना नरहेको जानकारी पनि उनले दिइन्। मौसमविद्का अनुसार प्रि–मनसुन सकिएपछि मनसुन अर्थात् वर्षा याम सुरु हुन्छ। यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान बिहीबार (आज) दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राती : प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शुक्रबार दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शनिबार दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
भागरथी हत्या घटनामा सफल अनुसन्धान गर्ने दुई प्रहरीको बढुवा
काठमाडौं : बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा भएका छन् । सोही घटनाको अनुसन्धानमा सफल नेतृत्व प्रदान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीसहित पाँच जनालाई नगद पुरस्कार प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरिएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापाको प्रहरी हवल्दार पदमा पदोन्नति गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह पदोन्नति गरिएको प्रधान कार्यालयले जनाएको छ। तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाएको भन्दै महानिरीक्षक क्षेत्रीले दुई जनालाई एक तह पदोन्नति र अन्य पाँच अधिकृतलाई नगद पुरस्कारले पुरस्कृत गरेका हुन्। बढुवा गरिएका थापाले भागरथी प्रकरणसँगै कैलालीमा भएको दुई प्रहरीको हत्या, कञ्चनपुरमा भएको खण्टी भुलको हत्या लगायतका घटनाको प्रतिवादी समात्न महत्वपूर्ण भूमिका खेलेको प्रधान कार्यालयले जनाएको छ। जवान नरबहादुरले भागरथी, दुई प्रहरीको हत्यासहित बझाङमा भएको सम्झना विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए। यस्तै भागरथी प्रकरणको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुवेदी आफैं अपराधस्थलमा खटिएका थिए। तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान सफल बनाउन भूमिका खेलेको भन्दै उनलाई नगद पुरस्कार दिइएको छ। पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर छन्। पाँचै जनाले भागरथी प्रकरणको अनुसन्धानमा देखाएको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी नगद पुरस्कार दिइएको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालयमा अध्ययनरत भागरथीको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको अवस्थामा गाउँकै जंगलमा शव फेला परेको थियो। घटनमा संलग्न गाउँकै भाइ नातापर्ने दीनेश भट्टलाई पक्राउ गरी प्रहरीले अनुन्धान थालेको छ।
महन्थ ठाकुर भन्छन् : अब जुन दिन सरकार बन्छ, दिनगन्ती सुरु हुन्छ
काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल भएको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादतर्फ संकेत गर्दै ठाकुरले भने- ‘कम्युनिष्टले आफ्नो पार्टी र सरकारको पनि रक्षा गर्न सकेन ।’ बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै ठाकुरले प्रतिनिधिसभाको पुनर्बहालीसँगै अस्थायी सरकार मात्र बन्ने बताए । ‘अब, जुन दिन सरकार बन्छ उसको दिनगन्ती सुरु हुन्छ’ ठाकुरले भने-‘एउटा शक्ति असफल भयो तर उसले सरकार छाड्न चाहेको छैन ।’ सशस्त्र द्वन्द गर्नेहरु देशको मन्त्री भएको बताउँदै रेशम चौधरी र मधेश आन्दोलनका आफ्ना नेता कार्यकर्तालाई जेलबाट नछाडेकोमा उनले आक्रोश व्यक्त गरेका छन् । ‘अत्याचार भएको छ’ ठाकुर भन्छन्-‘गोली चलाउनेहरूको प्रमोशन भएको छ, गोली खानेहरू जेलमा छन्, यो कहाँको न्याय हो ?’ आफ्ना साथीहरु जेलमा रहेसम्म संघर्ष जारी राख्ने जिकिर गर्दै महन्तले भने-‘विभेद रहेसम्म संघर्ष भइरहन्छ, अधिकार प्राप्तिको लागी संघर्ष जारी रहन्छ ।’
प्रवीन हत्या प्रकरण : ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा
विराटनगर : मृत भेटिएका मोरङका ३१ वर्षीय प्रवीन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उर्लाबारी नगरपालिका-५ प्रवीनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तव्र्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो । जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यका अनुसार प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका-९ का ३४ वर्षीय कुमार राई र प्रवीनका साथी मोरङ रतुवामाई नगरपालिका– १० का २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको हो । सोही मुद्दामा प्रवीनका साथीहरू उर्लावारी-६ का १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका-९ का ३१ वर्षीय दीपेश पौडेल र प्रवीनको शव भेटिएको घरधनी उर्लावारी–६ का ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो ।
नवलपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु चार घाइते
कावासोतीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ । दुर्घटनामा परी ४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्नेमा आज दिउँसो बस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा ना६ख ५०३५ को बस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसका चालक दाङ घोराही उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको हो । बस सडक छेउमा खस्दा चालक अचानक खस्दा मृत्यु भएको हो । चालक सडकदेखि २०० मिटर तल खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । बसमा सवार यात्रु भने सबै सकुशल रहेको उनले बताए। यस्तै बौदिकाली गाउँपालिका-६, कोटरथमा लु१ज ३३२९ नम्बरको जिप पल्टिँदा तीन घाइते भएका छन् । घाइते हुनेमा बौदिकाली गाउँपालिका-४ बस्ने ३१ वर्षीय मोहनसिंह थापा, २२ वर्षीय यमबहादुर गाहा, ३७ वर्षीय पीताम्बर गाहा, २५ वर्षीय कुलबहादुर गाहा घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
सरकारले थप्यो कोरोनाका ६१८ मृतक
काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट भएको मृतकको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्याले ६१८ जना मृतक थपिएको जनाएको छ । मन्त्रालयका अनुसार कोभिड १९ को सङ्क्रमणबाट हालसम्म दुई हजार ६६ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको हो । कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६१८ जना मृतक थपिएको बताए । उनका अनुसार नेपाली सेनाले शव व्यवस्थापन गर्दा आएको तथ्याङ्क र मन्त्रालयको तथ्याङ्कबारे विस्तृत अध्ययनपछि नेपालमा हाल दर्ता गरिएको मृतकको संख्याभन्दा ६१८ जना थपिएका हुन् । मन्त्रालयले यसअघि दुबै निकायबाट मृतकको फरक तथ्याङ्क आएपछि समिति गठन गरेको थियो । उक्त समितिले कोभिड १९ सम्बन्धी उच्च स्तरीय समितिमा आफ्नो प्रतिबेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा मृतकको संख्या थपिएको प्रवक्ता गौतमले प्रष्ट्याए । शव ब्यवस्थापनका लागि तयार गरिएको निर्देशिका बमोजिम नेपाली सेनाले शव ब्यवस्थापन गर्दा मृतकको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले अद्यावधिक गर्न सकेको थिएन । बिरामीको दाह संस्कारपछि मात्रै कोभिड पोजिटिभ भएको प्रतिवेदन आएको घटनाहरु समेत उक्त तथ्याङ्कमा जोडिएको प्रवक्ता गौतमले खुलाए ।
सर्वोच्चको फैसला सामान्य हो, सरकार फेरिँदैनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई सामान्य भन्दै सरकार नफेरिने बताएका छन् । राजधानीमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले भने, ‘हामी हाम्रो कर्तव्यमा जुट्छौँ र देश बनाउँछौँ । यो सङ्कल्प निरन्तर अघि बढ्छ । अहिले यो सरकार छ । सरकार रहन्छ । विकासको काम अघि बढिरहेको छ । तपाईँहरू विकासको मार्गमा निश्चिन्त निस्फिक्री ढङ्गले अघि बढ्नूस् ।’ ओलीले मङ्गलवारको संवैधानिक इजलासको निर्णयपछि नेकपाको प्रचण्ड माधवकुमार नेपाल समूहले खुसीयाली मनाएको तर्फ इङ्गित गर्दै भने, ‘मेरा केही भाइले लड्डु खाए । खुसी भए । के जिते मलाई थाहा छैन । के पाउँछन् हेर्नु छ ।’ उनले उक्त समूहले पुनः आफ्नो राजीनामा माग्ने आफूलाई लागेको उल्लेख गर्दै जस्तोसुकै अवस्थामा पनि आफ्नो ‘देश विकासको सङ्कल्प’ परिवर्तन नहुने उल्लेख गरे ।
प्रचण्डको कदम सही भयो, ओलीले आत्मआलोचना गरेर पार्टीमा फर्किनुपर्छः वामदेव गौतम
काममाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष प्रचण्डको कदम सही भएको बताएका छन् । साथै, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकाे कदम गतल सावित भएको उनको दाबी छ । न्युज एजेन्सी नेपाल एनएएनसँग कुरा गर्दै गौतमले भनेका छन्, ‘जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरू हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुनेँ । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ । र त्यो असंवैधानिक छ भनेर भन्ने छ ।’ यस्तो अवस्थामा पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने उनले बताए । ‘उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भएँ भनेर भन्छ उसले भन्ने हो । तर प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ’, गौतमले भने । गौतमले प्रधानमन्त्री ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिए । उनले औपचारिक र अनौपचारिक रुपमा पार्टी एकताको निम्ति प्रयत्न गर्ने बताए । उनले भनेका छन्, ‘पहिला म दुई वटा अध्यक्षलाई नै गएर भन्छु, महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस भनेर ।’ ओलीले असंवैधानिक कामलाई सर्वोच्च अदालतले त्यसलाई सुधार गरेको भन्दै गौतमले ओलीले पार्टीमा फर्केर आत्मआलोचना गर्नुपर्ने बताए । ‘केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ । मैले यस्तो गरेँ त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अब म आत्मआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरू पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिलेसम्म मैले सुनेको छैन’, गौतमको भनाइ छ ।
माडीमा राम मन्दिर बनाएर ओलीलाई मुल पुजारी बनाऔंः सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डले प्रधानमन्त्री केपी ओलीलाई मुल पुजारी बनाउनुपर्ने बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा उनले माडीमा राम मन्दिर बनाएर ओलीलाई मुल पुजारी बनाएर राख्नुपर्ने बताए । उनले भने, ‘ओलीलाई प्रधानमन्त्री पद रुचेन, अब माडीमा राम मन्दिर बनाएर मुख्य पुजारी बनाऔं, चित्त बुझ्छ ।’ संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयपछि ओलीको अहंकारको पतन भएको उनले बताए । ओली राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोल्नुपर्ने पाण्डेको बताए ।
ओली समूह बैठकः अदालतको फैसलालाई सम्मान गर्ने, समयमै संसद् अधिवेशन बोलाउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने, संसद् अधिवेशन सरकारले निर्धारित समयमै बोलाउने निर्णय भएको उक्त समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने पनि निर्णय गरेको ज्ञवालीले जानकारी दिए । साथै बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय पनि बैठकले गरेको छ । संसद् विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए । ‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन् । तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने, ‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ । त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौ ।’ ओली समूहको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेछ । प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरेपछि भावी रणनीतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका थिए । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओलीले अब आफूनिकटलाई के भने भन्ने कुरा सार्वजनिक भएको छैन ।
विवेकशील साझाद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग
काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै त्यस्तो माग गरेको हो। । प्रवक्ता शरदराज पाठकले एक विज्ञप्तिमा अदालतको फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको बताइएको छ । विज्ञप्तिमा लेखिएको छः ‘अदालतको कदमले संविधानवादको रक्षा भएको छ, विधिको शासनको पुनर्बहाली भएको छ र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको छ। योसँगै हाम्रो न्यायालय कुनै पनि खाले दबाव र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश पनि प्रवाह भएको छ ।’ राष्ट्रपति भण्डारीले राजीनामा नदिए पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाउन संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई पार्टीले आह्वान गरेको छ ।



