सुदूरपश्चिम प्रदेशमा बालबालिकासम्बन्धी विधेयक पारित
काठमाडौंः सुदूरपश्चिम प्रदेशसभाले ‘प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आजको बैठकमा सो विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।
विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सुवेदीले सुदूरपश्चिममा वर्षेनी ६३ हजार बालबालिका जन्मने गरेको तथ्याङ्क प्रस्तुत गरे । बालबालिकामाथि हुने दुव्र्यवहार, शोषण र हिंसा न्यूनीकरण गर्दै उहाँले उनीहरूको हकहित संरक्षण गर्न कानूनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर धामी, डिल्लीराज पन्त, मनाकुमारी साउद र कृष्णबहादुर चौधरीले भाग लिएका थिए ।
प्रदेशसभा, सामाजिक विकास समितिमा सो विधेयक माथि दफावार छलफलपछि तयार पारिएको प्रतिवेदन यस अघिको प्रदेशसभाको बैठकमा प्रस्तुत गरिएको थियो ।
विधेयकमा बालबालिकाको बाँच्न पाउने, नाम, राष्ट्रियता, पहिचान, भेदभाव विरुद्धको अधिकार, बाबु, आमासँग बस्ने र भेटघाट गर्ने, सहभागिता र संरक्षण, अभिव्यक्ति स्वतन्त्रता र सूचना, संस्था खोल्ने र शान्तिपूर्वक भेला हुने, गोपनियता, पोषण, स्वास्थ्य, खेलकुद मनोरञ्जन, शिक्षालगायत अधिकारका साथै अपाङ्गता भएका बालबालिकाको विशेष अधिकार समेटिएका छन् ।
यस अघि बैठक प्रारम्भ हुनासाथ विषेश समय लिएर धारणा राख्नुहुँदै प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रतिनिधिसभा विघटन भई २महिना सडकमा आन्दोलन गर्ने र पुनःस्थापित भएपछि राज्य कोषबाट तलब सुविधा लिने काम नसुहाउने तर्क गरे ।
जंगलमा लागेको आगो निभाउने क्रममा मृत्यु
डोटी । घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा डोटीमा एक जनाको ज्यान गएको छ । जंगलमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका शिखर नगर पालिका –७ का लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगर पालिका–७ को शिल्याखोला जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार साँझ अन्दाजी ६५ वर्षीय भुल गम्भीर घाइते भएका थिए । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा आगोले जलेको अवस्थामा अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
ओली समूहको संसदीय दलको प्रमुख सचेतक बने भट्टराई
काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका हुन् । दुई समूह (प्रचण्ड–नेपाल र ओली)मा विभाजित नहुनुअघि नेकपा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ थिए ।
केहीदिन भित्रै नयाँ राजनीतिक परिणाम आउँछः प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले केहीदिन भित्रै नयाँ राजनीतिक परिणाम आउने बताएका छन् । जनता टेलिभिजनसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले केहीदिन भित्रै नयाँ राजनीतिक परिणाम आउने बताएका हुन् । उनले केही दिनभित्रै राजनीतिले पनि निकास पाउने दाबी गरेका छन् । उनले संसद् पुनःस्थापनापछि कांग्रेस र जनता समाजवादी पार्टीबीच सहकार्य हुने बताए । अहिलेको लडाइँ र संघर्ष लोकतन्त्रका लागि रहेको उल्लेख गर्दै प्रचण्डले पदको लडाइँ नभएको स्पष्ट पारे । उनले आफू र माधव कुमार नेपाल नेतृत्वको नेकपाले वैधानिकता पाउने र ओली समूहलाई निर्वाचन आयोगले अर्को पार्टी खोल्न लगाउने बताए ।
काँग्रेस नेता जोशीको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर
काठमाडौं । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गएराति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पुर्याइएको र करिब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । अस्पतालका न्यूरो सर्जन डा राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । हाल उनको स्वास्थ्यावस्था स्थिर रहेको र जमेको पानी निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ । जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको थियो। ‘उहाँलाई ब्रेन ह्यामरेज भएको छ। अवस्था चिन्ताजनक नै छ’, नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले भने, ‘ड्रेन गरेर मस्तिष्कबाट रगत निकालिएको छ।’ नर्भिकको आइसियूमा राखेर उनको उपचार जारी छ। ‘केस क्रिटिकल छ। ४८ घन्टा हेरौं। अहिले केही भन्न सकिन्न,’ निर्देशक सिंहले भने ।
मस्तिष्कघात भएका कांग्रेस नेता जोशीको अवस्था गम्भीर
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान उनलाई वीरबाट नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि सहयोगी पाण्डेले बताए । उनलाई ‘थलामिक ह्यामरेज’ भएको अस्पतालले जनाएको छ । नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको छ । नेपाली कांग्रेसका सभापति देउवालगायका नेताहरूले जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह नर्भिक अस्पताल पुगेर फर्केका छन् ।
मन्त्रिपरिषद् बैठक बस्दै, संसद् बैठक आह्वानका लागि सिफारिस होला ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने तय भएको छ । गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको छ । कतिपयले संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउन सजिलो हुने गरी अध्यादेश ल्याउन सक्ने आकलन पनि गरेका छन् ।
विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । ‘दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो’, उनले भने, ‘उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो ।’ पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन् । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ पनरेका हुन् । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।
घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो । यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।
टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बाकाे गएराति नाै बजे मृत्यु भएकाे हाे । हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
१४ वर्षीय किशोरद्वारा हातखुट्टा बाँधेर एकैदिन ४ बालिकामाथि बलात्कार
गुलरिया : १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ। आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए। उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए। तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए। ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए। पाहुना आएका किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँधे अनि पालैपालो बलात्कार गरेछन्’, एक पीडितका बुवाले भने। पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन। पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ। ‘निकृष्ट एवं जघन्य अपराध भएको छ, पीडितलाई कुनै पनि हालतमा कारबाही हुनुपर्छ’, एक अभिभावकले भने। प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनालाई बालविज्ज्याईअन्र्तगत राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। उनले भने, ‘घटना प्रमाणित भए पीडकले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन्।’ -अन्नपूर्ण पोष्टबाट साभार
मास्क र सेनेटाइजरमा ठूलाे चलखेल: ९०० पर्ने सेनेटाइजर स्वास्थ्य मन्त्रालयले किन्यो ३५ सयमा
काठमाडौं । स्वास्थ्य मन्त्रालयले मास्क, सेनिटाइजर, कलोरिनलगायतका स्वास्थ्य सामग्री बजार मूल्यभन्दा झन्डै चार गुना महँगोमा खरिद गरेको पाइएको छ । बजारमा प्रतिथान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ सय देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रुपैयाँमा मन्त्रालयले खरिद गरेको हो । बजारमा सस्तोमा सहजै पाइने बेला गत माघ २२ मा स्वास्थ्य सामग्री मन्त्रालयले किनेको हो । मन्त्रालयले माघ २२ मा मुक्तिनाथ मेडिको फर्मासँग ३० हजार थान मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५ लिटरको ३५ जार सेनिटाइजर र ५ लिटरकै ३० जार क्लोरिन खरिद गरेको थियो । ती सामानको बजार मूल्य भने त्यतिबेला र अहिले उस्तै रहेको मेडिकल सप्लायर्सहरु बताउँछन् । निश्चित व्यक्तिहरुले कमिसन लिएर बजार मूल्यभन्दा महँगोमा सामाग्री खरिद गरेको हुन सक्ने मन्त्रालयका कर्मचारी बताउँछन् । ‘कमिसन नभएको भए बजार मूल्यभन्दा महँगोमा किन खरिद गर्छन् ?’ उच्च तहका एक कर्मचारीले भने, ‘यतिको महँगो त मुलुकमा स्वास्थ्य सामग्री अभाव हुँदा पनि थिएन ।’ मन्त्रालयले खरिद गरेको मूल्यभन्दा पनि सस्तोमा सबैभन्दा राम्रो मानिएको डोचेम कम्पनीकै मास्क बजारमा पाइन्छ । ‘हामीले साढे ६ रुपैयाँमा डोचेम मास्क बिक्री गरिरहेका छौं । त्रिपुरेश्वरस्थित एक मेडिकल सप्लायर्सले भने, ‘सात रुपैयाँ पर्ने मास्क कस्तो रहेछ ?’ मेलबन भएको सबैभन्दा सस्तो मास्क २ रुपैयाँमा बजारमा उपलब्ध छ । कान्तिपुर दैनिकबाट
फागुन २० गते नेकपा आधिकारिताको फैसला
काठमाडौंः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो । नेकपाका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ मा एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएकाविरुद्ध रिट निवेदन दायर गरेका थिए । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो । हाल ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्धाको फैसला अर्थपूर्ण हुन सक्नेछ । आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते रिट दायर गरेका थिए ।
नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो
काठमाडौंः झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको हो । साताको आज अन्तिम दिन नेप्सेमा झण्डै ४५ विन्दुले गिरावट आउँदा बजार पूँजीकरण रु ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ मा सीमित भएको छ । केही दिन पहिले बजार पूँजीकरण झण्डै साढे ३६ खर्बको हाराहारीमा पुगेको थियो । बजार पूँजीकरणमा ठूलो हिस्सा राख्ने पूर्वाधार बैंकको शेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो । मंगलबार र बुधबार पूर्वाधार बैंकको शेयरमा तीव्र उतारचढाव देखा परेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४४.९४ अङ्कले घटेर दुई हजार ५५४.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर ४६१.८१ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर रु छ अर्ब नौ करोड ८१ लाख ८८ हजार ४१४ मा कारोवार भयो । कारोबार भएका अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३७.४९, व्यापार ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, जलविद्युत् २७.७५, वित्त २५.७२, निर्जीवन बीमा १७६.१८, उत्पादन ७२.२७, अन्य ३६.७८, लघुवित्त ६०.४८, जीवन बीमा २९९.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ । कारोवारका आधारमा पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ९० करोड ३५ लाख ६७ हजार ५७७ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २१ करोड ६० लाख ५३ हजार ६१, नेशनल हाइड्रो पावर रु २१ करोड २६ लाख ७१ हजार ४८४, नेपाल बैंक रु २१ करोड १३ लाख ९४ हजार ७८८, एनआइसी एशिया बैंक रु २० करोड ४० लाख ४६ हजार ७०२, नेको इन्स्योरेन्स रु १८ करोड ३४ लाख ४३ हजार ५१३, ग्लोबल आइएमई बैंक रु १७ करोड ३० लाख ९० हजार ९२१, हिमालयन डिस्टिलरी रु १२ करोड ६३ लाख ५६ हजार ७०१ र नेपाल लाइफ इन्स्योरेन्स रु १२ करोड ३३ लाख ३६ हजार ४०२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
सकियो कांग्रेस पदाधिकारी-पूर्वपदाधिकारीको बैठक, निकाल्यो यस्तो निष्कर्ष
काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपा विभाजनको स्पष्टतापछि मात्र संसद् पुनःस्थापनापछिको राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘संसद्को बैठक बसोस् । अनि परिस्थिति कसरी अगाडि बढ्छ, जसरी परिस्थिति अगाडि बढ्छ त्यसलाई मध्यनजर गरेर नेपाली काँग्रेसले निर्णय लिन्छ,’ उनले भने । अहिले सरकारमा जाने वा नेकपाका कुन पक्षलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलको निष्कर्ष रहेको महतको भनाइ छ । बैठकमा सभापति देउवाले नेकपाको केपी शर्मा ओली र प्रचण्ड, माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको बताएका थिए ।

