महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार
धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् ।
त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।
ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले एक्स्काभेटरले मान्छे पुर्यो भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।
त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खनेर कुमालको शव झिकेका थिए । शव घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ, सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब इन्स्पेक्टर भानुभक्त आचार्यले भने ।
शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो ।
आगजनीबाट एक्स्काभेटर क्ष्तिग्रस्त भएके छ । चालकलाई तत्काल पक्राउ गरी मानुनसम्मत कारवाही हुनुपर्ने स्थानीयको माग छ । कान्तिपुर
कांग्रेस नेता श्रेष्ठ अस्पताल भर्ना
काठमाडौंः पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठ नर्भिक अस्पताल भर्ना भएका छन्। सास फेर्न समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् । मधुमेह र ग्याष्ट्राइटिसका बिरामी उनलाई उनी सुरुमा इन्डोक्राइनोलोजिष्ट डा. ज्योति भट्टराईको क्लिनिकमा नियमित जाँचमा पुगेका थिए । उनको रगतमा अक्सिजनको मात्रा कमी देखिएपछि नर्भिक रिफर गरिएको हो। आइतबार नर्भिकमा आउँदा उनको रगतमा अक्सिजनको मात्रा ९० भन्दा कम रहेको नर्भिक् अस्पतालले जानकारी दिएको छ । चेकजाँचका क्रममा उनमा निमोनिया देखिएको र मुटुमा समेत समस्या देखिएको अस्पतालको भनाइ छ ।
कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति भण्डारी
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताइन् । राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरुको कर्तव्य भएको समेत चर्चा गरिन्। उनले स्रष्टाहरुलाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रसंसनीय र प्रेरणादायी समेत रहेको बताइन्। कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली शैलीको सङ्गीत सिर्जनामा सिद्धहस्त नातिकाजीले नेपाली आधुनिक सङ्गीतको जग निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गरिन् । उनले नातिकाजीको योगदानलाई स्मरणीय बनाउन सडकको नामाकरणको माग राख्नुहुँदै काठमाडौं महानगरपालिकाले नातिकाजीको नाममा कोष स्थापना गर्ने वचन दिएको बताइन्।
चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने
काठमाडौंः चीनले नेपाललाई अनुदानमा दिने कोभिड-१९ को खोप संख्यालाई बढाएर ८ लाख डोज पुर्याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् । सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ । चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरिसकेको छ ।
खैरो हिरोइनसहित तीन जना भारतीय पक्राउ
महेन्द्रनगरः कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित ३ भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका-१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका ३ युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले लामो समयदेखि नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका भारत सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार (डाक्टर नामले परिचित) लाई पक्राउ गरिएको बताए। उनले धर्मेन्द्रसँगै प्रहरीले भारतीय युवक २५ वर्षीय शुभ्म भसिंन र ३० वर्षीय नितिन कुमारलाई नियन्त्रणमा लिएको बताए। प्रहरीले उनीहरुको साथबाट झण्डै १० ग्राम खैरो हिरोइन र ४२ हजार ४ सय नगदसमेत बरामद गरेको छ । ‘डाक्टर नामले चिनिने धर्मेन्द्र लागुऔषध कारोवार गर्ने गिरोहका कुख्यात युवक हुन् ।’ उनले भने, ‘यसअघि पनि थुप्रै घटनामा संलग्न व्यक्ति हो ।’ प्रहरीले अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषध नियन्त्रणका लागि विगत केही महिनायता आफ्नो सक्रियता बढाएसँगै दिनहुँजसो लागुऔषधसहित अभियुक्त पक्राउ परिरहेका छन् ।
फेरी बढ्दै पेट्रोलियम पदार्थको मूल्य
काठमाडौंः भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ । फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४, डिजेल र मट्टितेलको मूल्य ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८ सय ६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १ हजार ४ सय तोकिएको छ । उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा १ अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ । नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६, डिजेलमा ८.२२, मट्टितेल नोक्सान हुने जनाइएको छ ।
श्रेष्ठ भन्छन् : वर्तमान सरकारले नै निर्वाचन गर्छ
काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् । चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उन कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गरे । वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उनले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिए । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उनले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएको बताए । ‘नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निकास पाउनुपर्छ, देश, जनता, लोकतन्त्र र संविधानले जित्नुपर्छ’, उनले भने । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यही फागुन ११ गते १३ दिनभित्र संसद् बैठक बोलाउन सरकारका नाममा परमादेश दिएको थियो । मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्टपतिसमक्ष सिफारिश गरेको छ । ‘सरकार गठन भएदेखि नै जनताको पक्षमा काम हुँदै आएको छ, तर आफ्नै पार्टीबाट असहयोग भएको छ’, मन्त्री श्रेष्ठले भने । मुलुक पुनःनिर्माण र नवनिर्माणको चरणमा तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै उनले यही सरकारले नै रानीपोखरीलगायत संरचनाको निर्माण सम्पन्न गरेको र धरहरा तथा काष्ठमण्डपको छिट्टै निर्माण सम्पन्न गरिने बताए । मन्त्री श्रेष्ठले भने, ‘आगामी वैशाख १२ गते मध्याह्न १२ बजे काष्ठमण्डपको उद्घाटन गरिन्छ ।’ प्रत्येक पालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको उद्देश्य रहेको बताउँदै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले त्यसको तयारी गरिरहेको र छिट्टै घोषणा गरिने जानकारी दिए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक दृष्टिले नगरपालिकालाई समृद्ध बनाउन लागि परेको बताए । चन्द्रागिरि नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गरिने प्रतिबद्धता पनि उनले बताए । सिटिइभिटीका सदस्यसचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षामा सबैको पुहँच पुर्याउने उद्देश्यसहित देशभर प्राविधिक शिक्षालय विस्तार गर्न लागिएको बताए । शिक्षालयका लािग जग्गा प्राप्ति भएलगत्तै निर्माण थालनी गरिने सिटिइभिटीले जनाएको छ । शिक्षालयको विस्तृत परियोजना निर्माण ९डिपिआर०को निर्माणको काम भइरहेको छ । प्राविधिक शिक्षालयको सम्पूर्ण लागत डिपिआरले तय गर्नेछ ।
टेलिकमले दिन थाल्यो नागरिक एप चलाउन निःशुल्क डाटा
काठमाडौंः नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा अब डेटा शुल्क नलाग्ने भएको छ । टेलिकमले आफ्नो नेटवर्कबाट नागरिक एप प्रयोग गर्दा शुल्क नलाग्ने गरी सिस्टममा एकीकृत गरेको हो । नागरिकलाई सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । उक्त एप सम्पूर्ण नागरिकको पहुँचमा सहजै र सर्वसुलभ रुपमा पुर्याउने उद्देश्यका साथ सरकारले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघमा दिएको निर्देशनका आधारमा दूरसञ्चार प्राधिकरणले अघिल्लो हप्तामात्रै सेवा प्रदायकलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र जारी गरेको थियो । तर नेपाल टेलिकमले परिपत्र जारी हुनु अगाडि नै नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने बनाइसकेको जानकारी दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनका अनुसार टेलिकमले माघ ६ गतेदेखि नै नागरिक एप चलाउँदा आफ्नो नेटवर्कमा कुनै शुल्क नलाग्ने बनाएको हो । तर, एनसेल र स्मार्ट टेलिकमले भने यस विषयमा हालसम्म कुनै जानकारी दिएका छैनन् ।
मोरङमा स्यानिटाइजर प्रयोग गर्दा दुई जनाको मृत्यु
विराटनगरः हातमा दल्ने स्यानिटाइजर सेवन गर्दा मोरङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका ४ घर भई विराटनगर महानगरपालिका १७ रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका ४ का ६० वर्षीय दिनेश मण्डल छन् । किटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर सेवन गर्दा सिकिस्त भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर सेवन गरेको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा लठ्ठ भएकै बेला गिरीले शनिबार राति ११ बजे आधा लिटर स्यानिटाइजर पिएकी थिइन् । मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको कोसी अस्पताल उपचारका क्रममा मृत्यु भएको बताइएको छ । स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोसी अस्पतालका मेसु चुमनलाल दासले बताए ।
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ
कास्की । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका–६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिइ ल्याएका बालबालिकाहरुलाई थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ईन्द्र उपर बालबालिका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखी उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आजदेखि सकियो यस वर्षको जाडोयाम
काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन÷चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।
प्रचण्ड–नेपाल समूहः मंगलबार स्थायी र बुधबार केन्द्रीय कमिटी बैठक बस्ने
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी बैठक भोलि मंगलबार र केन्द्रीय कमिटी बैठक पर्सि बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ । सोमबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । पार्टीको आगामी भूमिका कस्तो हुनेछ भन्नेबारे निर्णय लिन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी र केन्द्रीय कमिटी बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि ७ फागुनमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थियो । संसद् पुस्र्थापनापछि भने पहिलो पटक बैठक बस्न लागेको हो ।
विसं २०७८ को दशैं तिहारको मिति सार्वजनिक, के–कहिले ?
काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको उनले जानकारी दिए । रासस
नेकपा केन्द्रीय कमिटी बैठक बुधबार पेरिसडाँडामा बस्ने
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ गते बस्ने भएको छ । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने निर्णय गरेको हो । पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । तर, त्यसको मिति छिट्टै तय गरिने बताइएको छ । स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–नेपाल समूहको निर्णय
राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेको लागि संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्राधनमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटछन गरेकी थिइन् । तर, सर्वोच्च अदालतले फाुगन ११ गते संसद् विघटन गर्ने निर्णय बदर गर्दै पुनःस्थापना गरेको थियो । त्यसपछि पहिलोपटक संसद बैठक बस्न लागेको हो ।
स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–नेपाल समूहको निर्णय
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको हो । बैठकको मिति छिट्ट तय गरिने बताइएको छ । बैठकले पार्टीको आधिकारिकता सम्बन्धमा दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि निर्वाचन आयोगलाई अनुरोध गरेका श्रेष्ठले बताए । बैठकले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यो अमान्य हुने बताएको छ।

