फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ ।

विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए । विसं २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ । विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए ।

त्यसैगरी विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए । विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हँुदा २९ परिवार विस्थापित भएका थिए  ।

त्यसैगरी मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुनपुगेको ताप्लेजुङ जिल्लाको तथ्याङ्कमा रहेको छ ।

 

क्रियाशील सदस्यताको काम रोकिएपछि छानबीन समितिले सातवटै प्रदेशमा प्रतिनिधि पठाउने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणमा देखिएको विवाद निरुपण गर्न तीब्रता देखाएको छ । कतिपय जिल्लामा विवादका कारण सदस्यता नवीकरण र वितरण हुन सकेको छैन । यही कामलाई अघि बढाउन यसअघि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा सदस्यता छानबिन समिति बनेको थियो । समितिको मंगलबार बसेको बैठकले सदस्यतासम्बन्धी देखिएका विवाद हल गर्न सातवटै प्रदेशमा प्रतिनिधि खटाउने निर्णय गरेको छ। नागरिक दैनिकमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार, क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न छानबिन समितिले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको थियो। तर नेता रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा दुई÷दुईजना नेता पठाउनुपर्ने पक्षमा उभिएपछि समितिले पहिलो चरणमा आफ्नै सदस्यहरूलाई खटाएको हो। मंगलबार समितिले यी सबै विषयमा गहन छलफल गर्दै सबै प्रदेशमा समितिका प्रतिनिधि खटाउने निर्णय गरेको हो । यो निर्णय अनुसार, संयोजक लेखक सुदूरपश्चिम प्रदेश, कल्याण गुरुङ र योगेन्द्र चौधरी कर्णालीसँगै प्रदेश नम्बर पाँच, श्यामकुमार घिमिरे र प्रदीप पौडेल प्रदेश चार र वाग्मती प्रदेश, आनन्दप्रसाद ढुंगाना र जीवन परियार प्रदेश नम्बर एक र दुईमा जाने भएका छन्। उनीहरुले मुख्यतः सदस्यता नवीकरण र नयाँ वितरणका लागि सहजीकरण गर्नेछन् । कांग्रेस महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पटकपटक म्याद थप गर्दासमेत अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन। सदस्यता वितरण र नवीकरण सुरु भएको एक वर्ष बढी भए पनि मंगलबारसम्म ४८ जिल्लामा मात्र सदस्यता नवीकरण र नयाँ वितरणको काम सुरु भएको छ। २९ जिल्लामा अझै सदस्यता वितरण सुरु भएको छैन। प्रदेश नम्बर दुईमा रौतहटबाहेक अन्य जिल्लामा वितरणको काम सुरु भएको छैन भने सप्तरी, सिन्धुपाल्चोक, डोल्पासहितका जिल्लामा संगठन समायोजनको काम नै सकिएको छैन। बारामा केही दिनअघि मात्र निर्वाचन समितिको टोलीले विवाद समाधान गरेको छ। सदस्यता नवीकरण र नयाँ वितरणका लागि सफ्टवेयरको विकास गरेर जिल्ला र निर्वाचन क्षेत्रबाट नै सदस्यता अपडेट गर्ने व्यवस्था मिलाए पनि अहिलेसम्म नयाँ सदस्यता ९० हजार र नवीकरण १ लाख २० हजार मात्र भएको छ। कांग्रेसमा अहिले झण्डै पाँच लाख क्रियाशील सदस्य छन् भने त्यति नै संख्यामा नयाँ सदस्यता वितरण गर्ने निर्णय भएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा नयाँ सदस्यता वितरणको अपडेट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट र नवीकरणको काम जिल्लाबाट तथा एउटा मात्र क्षेत्र भएका जिल्लाको हकमा दुवै काम जिल्लाबाटै भइरहेको छ। कुनै जिल्ला र क्षेत्रबाट कति नयाँ सदस्यता वितरण र नवीकरण भयो भनेर केन्द्रीय कार्यालयबाटै देशभरिको सूचना लिन सकिने छ। क्षेत्रले जिल्ला र जिल्लाले केन्द्रलाई बुझाएपछि तल्लो निकायले संशोधन वा हेरफेर गर्न नसकिने केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। अहिले देशका दुई सय बढी ठाउँबाट सदस्यता नवीकरण र वितरणको काम हुँदै आएको छ।

संसद बैठकका बारेमा सभामुखद्वारा राजनीतिक दलहरुसँग परामर्श शुरु

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । आगामी आइतवार संसद बैठक आव्हान गरिएको छ । बैठकमा प्रस्तुत हुने कार्यसूचि तथा अन्य विषयमा सभामुखले राजनीतिक दलहरुसँग परामर्श गर्न थालेका हुन । यसअघि सभामुख सापकोटा हिजो संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गरेका थिए । सो क्रममा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सापकोटाले आजदेखि दलहरुसँग परामर्श गर्ने बताए । सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित भएको प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच संसद बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नु सभामुख सापकोटाका लागि निकै चुनौतीपूर्ण देखिन्छ । बैठक सञ्चालनको लागि संसद सचिवालयले आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको जनाएको छ ।

पूर्वमन्त्री बाँस्कोटालाई पितृ शोक

बनेपाः नेकपाका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पितृ शोक परेको छ । बाँस्कोटाका ९४ बर्षका पिता हरिप्रसाद बाँस्कोटाको मङगलबार साँझ ५.३० बजे मन्डनदेउपुर नगरपालिका ४ चैनपुरस्थित निवासमा मृत्यु भएको हो । बाँस्कोटाका चार छोरा र तीन छोरी रहेका छन् । मृतक बाँस्कोटामा कुनै रोग नरहेको जनाइएको छ । उनको मन्डनदेउपुरस्थित चाखोलामा दाहसंस्कारको तयारी भएको जनाइएको छ ।

ज्योती लाइफको आईपीओ फागुन २१ गतेबाट खुल्ने

काठमाडौंः ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ आगामी फागुन २१ गतेबाट खुल्ने भएको छ । यसअघि फागुन २३ गतेलाई तोकिएको कम्पनी आईपीओ निष्काशनको मिति परिवर्तन हुँदै २१ गतेलाई तोकिएको हो । कम्पनीले १ सय दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्दैछ । जसमध्य ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको हो । फागुन २१ गतेबाट खुल्ने कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले ढिला गरि फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर लगानीमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागिसम्म आवेदन दिन सक्नेछन् ।  

भोलि सांसद र मन्त्रीले कोराना खोप लगाउने

काठमाडौंः भोलि सभामुख,मन्त्री र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा तीन हजार २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा सङ्क्रमण देखिएको थियो । अन्य प्रदेशका ५९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो । प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये सात हजार ३८१ सङ्क्रमणमुक्त भएका हुन् । कर्णालीमा सङ्क्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन् ।  

मलाई अन्याय भएमा जनताको अदालत जान्छुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अन्याय भएमा सर्वोच्च अदालत नगई जनताको अदालत जाने बताएका छन् । नेपाली जनताको न्याय नै सही न्याय भएको उनले चर्चा गरे । पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार विर्तामोडको झापामा उदघाटन गर्दै ओलीले भने, ‘अरु मानिस मुद्दा हाल्न अदालत धाइरहेका छन्, तर म मुद्दा हाल्न अदालत जान्न, जनतामाझ जान्छुँ ।’ सरकारको उद्देश्य नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकाले गलत बाटोमा नहिड्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । देशमा उद्योग कलकारखानाको स्थापना गरी युवाका लागि स्वदेशमै रोजगारीको व्यवस्था सरकारले गरिरहेको उनले बताए । ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरे ।

सरकारपछि विप्लव समूहले पनि बनायो वार्ता टोली

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले सरकारसँग वार्ताको लागि टोली गठन गरेको छ । उक्त समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरिएको हो । मंगलबार सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली गठन गरेको थियो । सरकारले विप्लव समूहको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । वार्ता गर्न टोली गठन गरे पनि प्रतिबन्ध फुकुवा भने अझैं गरेको छैन ।

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन

काठमाडौं । नेपाल सरकारले नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । समितिको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई रहेको छन् । सरकारले वार्ता टोली गठनपछि विप्लव समूहले पनि टोली गठन गर्ने र वार्ता हुने गुरुङले विश्वास व्यक्त गरे । सरकारले विप्लव समूहको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले विप्लव समूहसँग वार्ता गर्न टोली गठन गरे पनि प्रतिबन्ध फुकुवा भने अझैं गरेको छैन ।

दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट, आगो नियन्त्रणभन्दा

फुङलिङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौं ।’ ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

सउल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो । गत माघ २१ गते बिहान विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो । उक्त समाचार आएपछि सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि ‘भागरथीकी आमाका आँशु पुछौँ’ अभियान सुरु गरेको थियो । उक्त अभियानमा कोरियामा रहेका १६९ सहयोगीहले स्वःस्फूर्तरूपमा सहयोग गरेका थिए । अभियानबाट कूल २७ लाख ३८ हजार ३९१ कोरियन वन रकम सङ्कलित भएको र सोही रकम भट्टको परिवारलाई हस्तान्तरण गरिएको सुदूरपश्चिम समाज कोरियाले जनाएको छ । भट्टको हत्यारा भनिएका एक किशोरलाई यसअघि नै प्रहरी सार्वजनिक गरिसकेको छ ।  

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने अनेस्ववियूको चेतावनी

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता माग गर्दै यसअघि आयल निगममा ज्ञापन पत्र बुझाउँदै सहसंयोजक तामाङ/फाइल फोटो । काठमाडौं । नेकपाको विद्यार्थी संगठन अनेस्ववियूले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अनेस्ववियूका सहसंयोजक रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलनमा उत्रन वाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । यस आर्थिक वर्षमा मात्रै नवौं पटक पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गर्नु अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपुर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । ‘आवश्यकता परेमा पेट्रोलियम पदार्थमा लगाइएको करको मात्रा घटाएर र अन्य कतिपय अपारदर्शी शिर्षकमा छुट्याइएको रकम हटाएर अविलम्ब मुल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौं’, अनेस्ववियूका सहसंयोजक तामाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ ।

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । मंलगबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १७ सयले घटेर ८७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ८८ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

डिभोर्स गरेको ५५ वर्षपछि पुन: श्रीमानसँग बिहे गरिन यी महिलाले

काठमाडौं । सम्बन्धविच्छेदका कैयन कारण हुन्छन् । तर एउटा कालखण्ड बिताएर सम्बन्धविच्छेद गरेपनि मनले भने बिर्सिन सकेको हुँदैन । यो कुराको पुष्टि अमेरिकाको एउटा घटनाले पुष्टि गरेको छ । अमेरिकाको लास भेगासमा बस्दै आएका ७८ वर्षीय डिएन रेनाल्डले श्रीमानसँग सम्बन्धविच्छेद गरेको ५५ वर्षपछि फेरि बिहे गरेको समाचार अहिले चर्चामा छ । बिवाह सम्बन्धी एउटा साइटमा उनले आफ्ना अनुभूति सार्वजनिक गरेकी हुन । सन् १९५६ मा उनी र डेनिसको भर्ना एउटै स्कूलमा भएको थियो । १३ वर्षका उनीहरु सँगै कक्षामा बस्थे । बिस्तारै यो सहयात्रा घुमघाम र प्रेममा बदलियो । सने १९६१ मा उनीहरुले बहिे गरे । त्यतिबेला डिएन १८ वर्षकी थिइन । बिहेकै वर्ष उनी गर्भवति भइन । २ वर्षभित्रै उनी २ बच्चाको आमा समेत बनिन । डेनिस भने काममा जान्थे र घर फर्किंदा थाकेर सुत्थे । बिस्तारै उनीहरुबीचको प्रेमको स्थान दैनिक जीवनको व्यस्तताले लियो । कुराकानी समेत राम्रोसँग हुन पाएन । यही उनीहरुको दिनचर्या बन्न पुग्यो । कुनै बेला बर्खाको भेलजस्तो बहकिएको उनीहरुको मन जीवनका यी कठोर वास्तविकतामा भने सँगै हुन सकेन । उनीहरुको दूरी बढ्दै गयो । अन्ततः उनीहरुले वर्ष १९६५ मा सम्बन्धविच्छेद गरे । दुबै आफ्नो बाटो लागे । यही बीचमा उनलाई डेनिसले उनीसँग सम्बन्धविच्छेद गरेर अरु दुई जनासँग बिहे गरेको थाहा भयो । दोश्रो श्रीमतीसँग ३१ वर्ष सँगै बसेका डेनिसले उनको मृत्युपछि तेश्रो बिहे गरेका रहेछन् । तर उनकी तेश्रो श्रीमतीको पनि २०१७ मा मृत्यु भएछ । उता डिएनले पनि एकजना जोन जुबली नाम गरेका व्यक्तिसँग बिहे गरिन । दुबैका चार छोराछोरी भए । तर १७ जुला १९७२ मा श्रीमानको मृत्युपछि उनले ६ वटा बच्चा एक्लै हुकाईयन । यही बीचमा पहिलो श्रीमान (डेनिस)बाट जन्मिएका दुई बच्चाको निधन भयो । दोश्रो छोराको अन्तिम संस्कारको बेला ५४ वर्षपछि उनले डेनिसलाई भेटिन । २०१९ मा उनी बिरामी भएर अस्पताल भर्ना हुँदा डेनिसले फूल पठाएछन् । पछि बुझ्दै जाँदा उनकी छोरी र डेनिस फेसबुकमा साथी रहेछन् । घर आएपछि उनी र डेनिसको फेरी भेट शुरु भयो । बिस्तारै बिस्तारै उनीहरु फेरि नजिक हुन थाले । त्यसपछि उनी फेरि बिरामी परिन । अनि डेनिसले उनको रेखदेख गरे । अनि उनीहरुले जीवन सँगै बाँच्ने निर्णय गरे । गत ११ नोभेम्बर २०२० मा उनीहरुले बिहे गरे । उनी लेख्छिनः हामी १८ वर्षको छँदा एकअर्काको आवश्यकता थियो । अहिले हामी बुढा भएका छौं । र, अहिले पनि हामीलाई एकअर्काको उत्तिकै आवश्यकता छ । हामी त्यही प्रेमको सहारामा फेरी एक बनेका छौं । साँचो अर्थमा हाम्रो सम्बन्ध त अहिले पो पूर्ण भएको छ ।

प्रधानमन्त्री ओली आज मोरङ जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ जाँदै छन् । आज अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको छ । सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओली शिलान्यास र उद्घाटनका कार्यक्रममा सहभागी हुने गरेका छन्।