झापामा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

झापाः झापाको सुरुङ्गामा ३ वटा सवारी साधन ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

दुर्घटना परी मृत्यु हुनेमा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

उनीहरूको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित कोटी होम नजिकै बुधबार दिउँसो प्रदेश १-०४-००१च ०१६७ नम्बरको कार, प्रदेश १-०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपसमा ठोक्किँएका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको १ ख १६८४ नम्बरको ग्याँस बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने बताइएको छ। दुर्घटनामा परी कारमा सवार ४ र मोटरसाइकलमा सवार २ गरी ६ जना घाइते भएका थिए। त्यसमध्ये कारमा सवार २ जनाको मृत्यु भएको हो।

घाइते हुनेमा कारमा सवार मृतक मगरकी श्रीमती ३० वर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ रहेको प्रवक्ता थापाले जानकारी दिए।

घाइतेको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। दुर्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।

अब स्मार्टसेलका ग्राहकले पनि नागरिक एप चलाउन पाउने

काठमाडौंः अब स्मार्टसेलका सिम प्रयोगकर्ताले पनि नागरिक एप प्रयोग गर्नसक्ने भएका छन् । त्यसका लागि हाल सिस्टम इन्ट्रिगेशनको काम अघि बढेको स्मार्ट टेलिकमले जनाएको छ । स्मार्ट टेलिकमका एक प्रतिनिधिका अनुसार हाल नागरिक एपका लागि डिएनस लगायतका सिस्टम इन्ट्रिगेशनको काम अघि बढेको छ । यसअघि नागरिक एपको सिस्टममा नजोडिएकाले स्मार्टका सिम प्रयोगकर्ताले एप प्रयोग गर्न पाएका थिएनन् । स्मार्टका अनुसार यसअघि नागरिक एपको विषयमा भएको पहिलो बैठकमा स्मार्ट टेलिकमलाई पनि बोलाइएको थियो । तर, त्यसपछि कुनै जानकारी उपलब्ध नभई एप सार्वजनिक हुँदा स्मार्टको सिममा एप प्रयोग गर्न मिलेको थिएन । त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवाप्रदायकलाई आफ्नो नेटवर्कमा नागरिक एप निःशुल्क रुपमा प्रयोग गर्न मिल्ने बनाउन निर्देशन दिएको थियो । ‘प्राधिकरणबाट उक्त पत्र पाएसँगै हामीले यस विषयमा जानकारी गराएका थियौं’, स्मार्टका प्रतिनिधिले भने, त्यसपछि बल्ल अहिले आएर हाम्रो सिस्टममा नागरिक एपलाई जोड्ने काम भएको छ । यो प्रक्रिया सकिएसँगै स्मार्टफोनका सिम प्रयोगकर्ताले पनि नागरिक एप प्रयोग गर्न पाउने छन् ।’ साथै यो एप स्मार्टका ग्राहकले निःशुल्क प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन

काठमाडौंः काठमाडौं उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौं उपत्यकाका सडक जलमग्न हुने गरेको छ । ढलको निर्माण फरकफरक निकायबाट भएकाले पनि पर्याप्त समन्वय हुन नसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । विभिन्न निकायले ढल निर्माण गरेर पनि समस्या आउँदा लिमिटेडले नै त्यसको समाधान गर्ने गरेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “फरक निकायले ढल निर्माण गरेकाले पनि व्यवस्थापन गर्न गाह्रो छ ।” मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ । वर्षामा पानीको परिमाण दोब्बर हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यस्तै लिमिटेडले आन्तरिक स्रोतबाट नौदेखि ११ करोड लिटरसम्म पानी वितरण गर्दै आएको छ । सबै गरी पानीको परिमाण बढ्दा फोहरपानीको परिमाण बढ्नु स्वभाविक भएको गुठी संस्थाका प्राविधि सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि पाइपको निर्माण गरिएपनि त्यो पानीबाट निस्कने फोहरपानी व्यवस्थापन गर्न ढल नबनेको उहाँले बताउनुभयो । फोहरपानी खोलामा पुग्नु पहिले सडकमा पानी भरिएर जलमग्न हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेबाट नै ढल व्यवस्थापनको तयारी नगर्ने हो भने भविष्यमा ठूलो समस्या आउनसक्छ ।” फोहरपानी व्यवस्थापनमा प्राविधिक हिसाबले जम्मा खपत हुने पानीमध्ये ८० प्रतिशत पानी ढलमा फर्किएर जान्छ भन्ने मान्यता छ । त्यस हिसाबले पनि ढलमा चाप बढन्े देखिएको छ । उपत्यकाका ढल भरिने विभिन्न स्थानबाट चुहावट हुँदा फोहरपानी निस्कने र खोलामा पानीको परिमाण बढ्ने देखिएको छ । सरकारले विभिन्न स्थानमा फोहरपानी प्रशोधन केन्द्रको निर्माण गरे पनि पानी त्यहाँसम्म पुग्ने ढलको व्यवस्थापनमा ध्यान नदिएको पाइएको अमात्यले बताउनुभयो । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भइसकेको छ भने बालकुमारी, सल्लाघारी र सुन्दरीघाटमा निर्माणाधीन छन् । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भए पनि फोहरपानी त्यहाँसम्म पुग्न ढल पर्याप्त नभएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हतारमा काम गर्दा त्यसको परिणाम के हुन्छ भन्ने सोचेर नगरेको पाइन्छ ।” ढल निर्माण एउटै निकायबाट नभएको र निर्माण गर्ने निकायबीच समन्वय नभएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । अहिलेसम्म कुन ठाउँमा कुन आकारको ढल आवश्यक छ भन्ने विचार नगरी ढल निर्माण भएको पाइन्छ । खानेपानी मन्त्रालय, लिमिटेड, शहरी विकास मन्त्रालय, स्थानीय तहलगायतले ढल निर्माण गरेको पाइन्छ । ढलमा फोहरपानीको परिमाण बढेपछि ढल सफा नभए मङ्गलबाट पानी निस्कने सम्भावना रहने शाक्यले बताउनुभयो । सबै निकायले आआफूले निर्माण गरेको ढल आफैँले सफा गरेमा समस्या नआउने उहाँको भनाइ छ । अरु निकायले पनि आफूले बनाएको ढल कहाँ कहाँ छ भनेर नक्सा र कुन आकारको ढल छ भनी विवरण राख्नुपर्ने उहाँको भनाइ छ । तीनले ढल आफैँ पनि सफा गर्नुपर्ने र लिमिटेडलाई पनि विवरण उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । फोहरपानीको समस्या आएपछि मात्रै लिमिटेडलाई खोज्ने प्रवृत्ति रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती निकायले निर्माण गरेपछि हामीलाई ड्रइङ उपलब्ध गराएमात्रै हामीलाई काम गर्न सजिलो हुनेछ ।” मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि फोहरपानीको परिमाण बढ्न सक्ने भएकाले आवश्यक तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । लिमिटेडले ढलको समस्या आउन सक्ने सम्भावित ठाउँको पहिचान गरेर समाधानको काम अघि बढाइरहेको छ । दीर्घकालीन समाधानका लागि भने ढल निर्माण र व्यवस्थापनको ‘गुरुयोजना’ नै आबश्यक रहेको छ । हिउँद र वर्षा जुनसुकै समयमा ढल नियमित हुने गरी चालु अवस्थामा राख्नुपर्ने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । फरक फरक निकायले राखेकाले कतै ढल आवश्यकताभन्दा सानो त कतै ठूलो आकारको छ । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन तयारी अघि बढिरहेको छ । मेलम्ची खानेपानी विकास समितिले गत साताबाट सुरुङको पुनःपरीक्षण शुरु गरेको हो । गत असारमा सुरुङको परीक्षणका क्रममा दुर्घटना भएपछि त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । परीक्षण सफल हुनासाथ उपत्यकामा नियमित पानी वितरण हुनेछ । पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने बताइएको छ । गोरखापत्रबाट साभार

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

बैतडी: किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ । आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो । दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उहाँले उक्त आरोप स्वीकारीसकेका छन् । गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो । अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधबार चौथोपटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानूनी व्यवस्था छ । सोहीअनुसार अन्तिम तथा चौथोपटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन सकेको छैन”, उहाँले भन्नुभयो, “एक/दुई दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछौँ ।” हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनुसन्धान गरिरहेको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले अदालतलाई बुझाउने जनाइएको छ । दिनेशको डिएनए परीक्षणका लागि काठमाडौँ प्रयोगशालामा पठाइएको र रिपोर्ट नआएकाले त्यसलाई पछि अनुसन्धानको प्रतिवेदनमा थप्दै जाने प्रहरीले बताएको छ । यसअघि भागरथीको पनि भजाइनल स्वाब विधिविज्ञान प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट भने आएको छैन । जिल्ला अस्पताल बैतडीमा गरिएको शव परीक्षण रिपोर्टमा भने भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा वीभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । गोरखापत्रबाट साभार

भीरबाट खसेर एक महिलाको ज्यान गयो

अछाम । भीरबाट खसेर एक महिलाको ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला बस्ने जक्ति कामीकी श्रीमती बर्ष ५३ की धर्मादेबी कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको त्यहाँका स्थानीय अगुवा जनक बटालाले जानकारी दिए । भीरबाट करिब २ सय मिटर तल खस्दा टाउकोमा गम्भीर चोट लागेर उनको घटनास्थलमै ज्यान गएको हो । मृतक कामीका श्रीमान्, २ छोरा र ४ छोरी रहेका छन् ।

चिडियाखानामा प्रधानमन्त्री ओलीः जनावरकाे अवलोकन, खाद्यान्न वितरण

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले जावलाखेलस्थित सदर चिडियाखानामा भ्रमण गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियानाको व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा आयोजित रजत महोत्सव तथा ‘एडप्ट एन एनिमल’ कार्यक्रम शुभारम्भ कार्यक्रममा सहभागी भएपछि ओलीले सो क्षेत्रमा भ्रमण गरेका हुन् । प्रम ओलीले चिडियाखानामा पुगेर त्यहाँ रहेका विभिन्न प्रकारका जंगली जनावरलाई अभिरुचीपूर्वक अवलोकन गरे । त्यसक्रममा उनले जंगली जनावरलाई खाद्यान्न वितरण गरे ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ मा सारियो

मोरङ । प्रदेश–१ को प्रदेश सभाको बस्ने भनिएको बैठक विशेष कारणले मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक यही फागुन २० गते अपराह्न १ः०० बजे बस्ने घोषणा गरिएको थियो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी चैत २ गते दिउँसो १२ः३० बस्ने सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । अधिवेशनको तेस्रो बैठकमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गरिएको थियो । सो बैठकमा प्रदेशसभाका सभामुख भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोलाई नेपालको संविधानका धारा १८८ (४४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको प्रदेश मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियम १२९(४) बमोजिम पेश गर्ने अनुमति दिएका थिए ।

आलमलाई छुटाउन पहल गरिरहेको छुः देउवा

रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज रौतहट आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए । अर्काे प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरूपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।

प्रधानमन्त्रीको लोभ छैन, तर जिम्मेवारी आए पूरा गरेरै छाडिन्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई प्रधानमन्त्री पदको लोभ छैन, टाउकोमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन । काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’ आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए । प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ । उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए । ‘म प्रधानमन्त्री भएनी पक्कै रामचन्द्रजी नि खुसी हुनुहोला । जो भएनी कांग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’, मन्चमा सँगै रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने । यसअघि बोल्ने क्रममा पौडेलले कांग्रेस हतारिएर सरकारमा जान नहुने बताएका थिए । पौडेलले कांग्रेसलाई जनताले प्रतिपक्षमै बस्ने म्याण्डेट भएकाले सोही अनुसार अगाडि बढ्नु पर्ने धारणा राखे । पुस ५ गते प्रधानमन्त्री केपी अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् ।  

संसदीय दलको नेताबाट केपी र उपनेताबाट नेम्वाङलाई हटाइयो

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ । बुधबार बसेको बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित गरेको छ । पार्टी गतिविधि विपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए । आजकै बैठकले पार्टी गतिविधि विपरीत काम गरेको भन्दै संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य नेम्वाङसहित शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ७ जनालाई निलम्बन गर्नेको निर्णय गरेको छ । आज बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बन हुनेमा शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापा रहेका छन् । बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय पनि गरेको छ । यसअघि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ ।  

पशुपतिनाथमा फागुन २५ देखि विशेष पूजा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । हाललाई एक हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते महाशिवरात्रीका दिन पाँच हजार १ सय र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजा मात्र गर्ने गरी तयारी गरिएको उनले बताए । महाशिवरात्रीका दिन पाँच हजार १ सयको रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजनालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५–७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार रुपैयाँ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोना महामारीका कारण विशेष पूजा रोकिएको थियो ।

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय कमिटी शुरू

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । पेरिसडाडाँमा बसेको बैठकले संसदीय दलको नेता पर्वतर्तन गर्ने एजेन्डा तय गरेको छ । यो एजेन्डा भर्खरै शुरू उक्त समूहको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमै शुरू भएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो । तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो । संसद् पुस्र्थापनापछि पहिलो पटक उक्त समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिकतासहित बैठकमा आउन निर्देशन दिइएको छ । बैठकमा पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दासमेत प्रक्रिया अघि बढाएको छैन ।

कांग्रेस संसदीय दलको बैठक शुक्रबारका लागि बोलाइयो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । नेता मिनेन्द्र रिजालका अनुसार आउँदो शुक्रबारका लागि संसदीय दलको बैठक बोलाइएको हो । बैठक शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जानकारी दिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते भंग गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि सत्ता समिकरणको प्रयास भइरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसदमा पार्टीको रणनीतिसहितका छलफल हुने जनाइएको छ । अब सुरु हुने संसद अधिवेशनबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया सुरु हुनेछ । प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसको भूमिका निर्णायक हुने हुँदा कांग्रेसले के निर्णय गर्छ भनी सबैको चासो रहेको छ । यसैबीच नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई अहिले काठमाडौं नछाड्न निर्देश दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गतेका लागि संसदको अधिवेशन बोलाइएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी पेरिसडाडाँमा शुरू

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरू भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरू भएको हो । स्थायी कमिटीपछि आजै दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक पेरिसडाडाँमा बस्नेछ । संसद् पुस्र्थापनापछि पहिलो पटक उक्त समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिकतासहित बैठकमा आउन निर्देशन दिइएको छ । बैठकमा पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दासमेत प्रक्रिया अघि बढाएको छैन । नेकपा केन्द्रीय समितिको बैठक पेरिसडाँडामा बस्दै, महत्वपूर्ण निर्णय हुनसक्ने

प्रचण्ड–नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए । उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए । प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’ उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।