आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्छः प्रचण्ड
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताए । त्यस्तो आन्दोलन हिंसात्मक नहुने प्रचण्डको भनाइ छ ।
उनले अघि भने, ‘प्राप्त उपलब्धीको हत्या गर्ने र एक खालको निरंकुशतातिर लैजाने भयो भने मान्य हुने छैन ।’ त्यस्तो आन्दोलन हिंसात्मक नहुने प्रचण्डको भनाइ छ।
उनले प्राप्त भएका उपलब्धि गुम्ने खतरा भए शान्तिपूर्ण क्रान्ति गर्नुपर्ने पनि बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने जस्ता निकै ठूलो षड्यन्त्र भएको छ। यो साँचो कुरा हो,’ उनले भने । उनले अब लड्नुको विकल्प नरहेको पनि बताए ।
प्रचण्डले संघीयता, गणतन्त्र, समावेशीताका पक्षमा दृढतापूर्वक उभिएकै कारण आफूलाई अहिले निशाना बनाइएको आरोप लगाए । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नचाहेका यथास्थितिवादी पक्षले २०६२/०६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको प्रस्ट पारे ।
‘परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । शान्ति सम्झौतापछि हासिल भएको यो परिवर्तनलाई उल्ट्याउन मविरुद्ध हमला भइरहेको मैले महसुस गरिरहेको छु ।’
सर्वोच्च अदालतले हालै नेपाल कम्युनिष्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै उनले जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गरे । उनले आश्चर्यमान्दै भने, यस्तो अचम्म पनि हुँदोरहेछ । यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?’
प्रचण्ड भोलि बुटवल आउँदै
बुटवलः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल आउने भएका छन् । उनी बुटवलमा हुन गइरहेको दलित पत्रकार संघको राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न आउने भएका हुन् । प्रचण्डको प्रमुख आतिथ्यतामा दलित प्रकार संघको प्रथम राष्ट्रिय अधिवेशन हुन गइरहेको संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमालेसहित सबै दलका केन्द्रीय नेता अधिवेशनमा आउनेछन्। राजधानीमा क्रियाशील विभिन्न संघ संगठनका नेताहरू आजै बुटवल आइपुगेका छन् । देशका ६५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र एक जिल्लाबाट तीन जना प्रतिनिधि र दुई जना पर्यवेक्षकसहित झिकाइएको संघका अध्यक्ष पहाडीले बताए , उनले भने, देशभरका दलित समुदायका क्रियासिल पत्रकारहरू १५ सय भन्दा बढि जमघट हुने वातावरण बनाएका छौँ ।
पेप्सीकोला-सल्लाघारी सडक ५५ प्रतिशत सम्पन्न
काठमाडौंः पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । चालू आवसम्म कालोपत्र सक्ने गरी सो सडकको उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ । स्थानीयवासीले जग्गाको समेत मुआब्जा माग गरेर लामो समयसम्म पनि निर्माण अघि बढाउन नदिएकाले अवधि सकिँदा पनि सम्पन्न नभएको काठमाडौंउपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । २० मिटर चौडाइ कायम गर्ने गरी ३ वर्ष पहिले ठेक्का सम्झौता भए पनि त्यसअनुसार सडक खाली गराउन नसकिएको आयोजनाका सूचना अधिकरी लक्ष्मण देवकोटाले बताए । बहाखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने थियो । काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि खाली गराउन सकेको थिएन । निर्माणस्थल खाली नभएकै कारण लामो समयसम्म अवरुद्ध भए पनि गत वर्ष उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयानुसार सडक कालोपत्र भइरहेको छ । उनले भने, ‘केही ठाउँमा मापदण्डअनुसार भए पनि धेरै ठाउँमा भइरहेको छैन ।’ लामो समयसम्म चौडाइ विवादका कारण निर्माण अवरुद्ध भएकामा सरकारले गत वर्ष बिस्तारका क्रममा रहेका सबै सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा काम अघि बढिरहँदा गत आवमा विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ र त्यसपछि निर्माण सामग्रीको अभाव रहेको थियो । उनले भने, ‘अहिले समस्या हटेकाले काम भइरहेको छ ।’ चार दशमलव पाँच किलोमिटर लम्बाइको सो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि गत पुसमा सकिएको थियो । उक्त सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो । काठमाडौं उपत्यकामा आयोजनाले नौ सडक विस्तारको काम सुरु गरे पनि अहिलेसम्म कुनै पनि सडक सम्पन्न भइसकेका छैनन् । काठमाडौंमा ३ र ललितपुरमा ५ तथा भक्तपुरको एउटा सडक बिस्तार सुरु गरिएको थियो । अहिले भएका सडक सम्पन्न नभएकाले सडक विभागले थप सडकमा बिस्तारको योजना बनाएको छैन ।
प्रधानमन्त्री र जसपा नेताबीचको छलफल सकियो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बिहीबार साँझ बालुवाटारमा जसपाका नेतासँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने उनले बताए । छलफलमा जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई नेता सहभागी थिए । नेकपाको तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा। राजन भट्टराई लगायत सहभागी थिए ।
एमालेमा प्रवेश गर्न लागेको भन्ने समाचार निराधार: महरा सचिवालय
काठमाडाैं । पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा एमालेमा प्रवेश गर्न लागेको भन्ने एक अनलाइनको समाचार असत्य र निराधार रहेको उनको सचिवालयले जनाएको छ । पूर्व सभामुख महराका स्वकीय सचिव प्रमोद शर्माले उनी माओवादी केन्द्रमै रहेको एभरेस्ट दैनिकलाई बताएका छन । साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको उल्लेख गरेका छन । पूर्व सभामुख कृष्णबहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्तिकारी कमन्युष्टहरुको एकताको पक्षमामा रहेको बताए । पछिल्लो समय नेपालको राजनीति घटनाक्रम अस्वाभाविक तरिकाले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रती बिचलित नहुन उनले समग्र नेपाली जनतालाई आग्रह गरेका छन । लामो समयको परिवर्तनकामी आन्दोलन पछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दृष्टान्त बताउदै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नुको साटो शिर्ष नेतृत्वले सत्ता र शक्तिको मोहमा देशको संविधानलाई नै अवज्ञा गर्नु नेतृत्वको ठूलो भुल भएको बताएका छन । नेपालमा कमन्युष्ट आन्दोलनमा लागेर राजनीति गर्ने सम्पूर्ण दलहरुको ध्रुवीकरण पछि एउटै बिशाल कमन्युष्ट पार्टी निर्माण गर्ने बाटोमा आफू भएपनी विभिन्न प्राबिधिक कारणले पार्टी एकता भाँडिएको र अब पुनः नेपालका क्रान्तिकारी पार्टीहरु एक हुनुपर्ने महराको भनाइ रहेको छ । पछिल्लो समय सामाजिक संजालहरुमा आफू एमालेमा प्रवेश गर्न लागेको भन्ने खबर पोस्ट भएको प्रती गुनासो गर्दै महराले कपोलकल्पित र भ्रमात्मक खबर प्रसारण गरेर जनतालाई दिगभ्रमित पार्नु पनि अपराध भएको बताए । आफू एमालेमा प्रवेश गर्न लागेको खबर निराधार भएको बताउदै बरु अलग अलग पार्टीको रुपमा रहेका विभिन्न क्रान्तिकारी शक्तिहरु संग आन्तरिक परामर्शमा रहेको र क्रान्तिकारी शक्ति एक गराउनको लागि आफुले सक्दो पहल गर्ने बताएका छन ।
म छोड्नेवाला छैन, लड्नेवाला छु, दुई चार व्याटल जित्न बाँकी छ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताएका छन्। फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु,’ बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा प्रचण्डले भने। उनले राजनीतिक परिवर्तनमाथि ठूला षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन्। ‘ठूला षड्यन्त्र भइरहेको छ। राजनीतिक परिर्वतनमाथि हमला भइरहेको छ। फेरि आफ्नै खुट्टामा उभिने र पुराना साथीलाई एकतावद्ध गर्दै क्रान्तिकारीहरूमाथि नै भर पर्छौं,’ उनले भने।‘म ६६ वर्ष भएँ, उमेरले कति दिन्छ। म छोड्नेवाला छैन। एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन। दुई चार व्याटल जित्न बाँकी छ,’ उनले भने।
दैलेखमा बस दुर्घटनाः २ को मृत्यु, १६ जना घाइते
दैलेख । आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए । बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ । सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्वरको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ ।
मेयर्स कपमा पारसले बनाए शानदार शतक
काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेश टिमका ब्याट्सम्यान पारस खड्काले शानदार हानेका छन् । उनले १२२ बलमा नौ चौका र दुई छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् । पारसले १३३ बलमा ११९ रन बनाए । सो क्रममा उनले ११ चौका र २ छक्का हाने । जारी प्रतियोगितामा पारसको यो पहिलो शतक हो । उनी यसअघि खेलेका तीन खेलमा सस्तैमा आउट भएका थिए । आज भने पारस लयमा देखिएका छन् । टस हारेर ब्याटिङको मौका पाएको बागमतीले पारसको शतकसँगै ४९.४ ओभरमा सबै विकेट गुमाएर आमीलाई २६७ रनको लक्ष्य दिएको छ । बागमतीका लागि पारसले ११९, नन्दन यादवले नटआउट ४२, ईशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बाँस्कोटाले १२ रन बनाए । आर्मीका सोमपाल कामीले ५ तथा विक्रम सोव, जितेन्द्र मुखिया, साहव आलम र करण केसीले समान १÷१ विकेट लिए । जारी प्रतियोगितामा बागमतीले तीन म्याच खेल्दा दुईमा हार र एक खेलमा जित हासिल गरेको छ । फाइनलमा पुग्न बागमतीले आजको खेल राम्रो नेट रनरेटमा जित्नुपर्ने हुन्छ । यतिले मात्र बागमतीलाई पुग्ने छैन । मूलपानीमा जारी पुलिस क्लबविरुद्ध मेयर्स–११ ले जित हासिल गर्नु पर्नेछ ।
माधव नेपाल आफू निकट स्थायी कमिटी सदस्यसँग छलफल गर्दै
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफू निकट स्थायी कमिटी सदस्यहरु छलफल गर्ने भएका छन् । उनले एमालेको पुनर्संरचनाबारे छलफल गर्नेछन् । हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे स्थायी कमिटी सदस्यसँग थप छलफल गरिनेछ । एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन् । दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन् ।
पशुपतिनाथमा लाखौँ भक्तजनको भीड, मूल मन्दिर प्रवेश गर्न मास्क अनिवार्य
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । तीनवटै बाहिरी लाइनमा भक्तजनको भीड यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल, दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरीरूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । आवश्यकतानुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ । बाहिरी तीनै लाइनमा अहिले भक्तजनको भीड लागेको छ । दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, उत्तरतर्फको लाइन गुह्येश्वरी र पश्चिमतिरको लाइन गौशालासम्म पुगेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाई आउने भक्तजनलाई फर्काइएको जानकारी पनि उहाँले दिनुभयो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि कोषले भक्तजनलाई आह्वान गरेको छ । कोरोना जोखिमका कारण महाशिवरात्रिका अवसरमा पशुपति आउने साधुसन्त विगतमा भन्दा आधा नै घटेको कोषले जनाएको छ । महाशिवरात्रिमा पशुपति आउने साधुसन्तलाई फाल्गुन कृष्ण एकादशीदेखि नै कोष, गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयलगायत संस्थाले निःशुल्क भोजन, धुनीलगायत व्यवस्था गर्ने प्राचीन परम्परा छ । आज आठ लाख भक्तजनले पशुपति दर्शन गर्ने कोषले अनुमान गरेको छ ।
भीम रावलविरुद्ध खनिए कर्ण थापा, शर्त माने मात्रै स्वीकार्न सकिने भनाई, सुदूरपश्चिम एमालेमा चर्कियो विवाद
धनगढी । नेकपा (एमाले)को सुदूरपश्चिम कमिटीमा विवाद चर्किएको छ । तत्कालिन नेकपाका प्रदेश अध्यक्ष रहेका कर्ण थापाले भीम रावललाई स्वीकार्न नसकिने भन्दै अभिव्यक्ति दिएपछि यसले चर्को विवादको रुप लिएको हो । बुधबार मात्रै थापाको निर्देशनमा एमालेका केही कार्यकर्ताले रावलको नेमप्लेट तोडफोड गरेका छन् । सर्वोच्चको फैसलाले ब्यूँतिएको एमालेभित्र भीम रावललाई कुनै पनि हालतमा स्वीकार्न नसकिने भन्दै धनगढीमा झडप समेत भएको थियो । थापा र रावलको झगडा भने पुरानो नै हो । पार्टी एकता भएपछि पनि उनीहरुको झगडाले उग्ररुप नै लिएको थियो । थापाहरुले रावलको बिरोधमा उनको विकल्पमा माओवादीका लेखराज भट्टलाई अघि सारेका छन् । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भीम रावलले दुई शर्त माने एमालेको साधारण सदस्य राख्न सकिने बताए । एमाले सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना पछि बोल्दै थापाले यसअघि गायब पारिएको ३० लाख रुपैयाँ ब्याज सहित फिर्ता गरी सार्वजनिक माफी मागे पार्टीको साधारण सदस्य राख्न सकिने बताउनुभयो । रावलहरुले भने उक्त रकम थापाले गलत उपयाेग गर्न सक्ने भन्दै सुरक्षितरुपमा राखिएकाे बताउँदै आएका छन् । भीम रावलले कायकर्ताले उठाएको लेबिमा आर्थिक अनियमितताको अपराध गरेको समेत थापाको आरोप छ । नेता थापाले कसैले नेकपा एमालेमा फर्किएर आफ्ना पदहरू जस्ताका त्यस्तै फिर्ता आउँछ भन्ने सोच राख्नु भ्रम भएको बताएका छन् ।
चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या साढे चार लाख नाघ्यो
काठमाडौंः देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो । लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । झण्डै १० महिनासम्म अवरुद्ध सेवा खुल्दा एकै पटक भीड भए पनि अहिले कम भइरहेको सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए। परीक्षार्थीले अनलाइनमार्फत फारम भर्न पाउने भएकाले जुनसुकै स्थानमा भए पनि फारम भरिरहेका छन् । उनले भने, ‘जुनसुकै समयमा र अनलाइन भएकाले सेवाग्राहीलाई फारम भर्न सजिलो भएको छ ।’ गत वर्ष चैतदेखि कोभिड-१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले पहिलो महिना चाप रहेको सूचना प्रविधि निर्देशक डङ्गोलले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भीड भएकाले सेवाग्राहीले भर्न सकेका थिएनन् । शुरुमा रहेको फारम भर्न नसकिने समस्या भए पनि जुनसुकै समयमा भर्न सक्ने व्यवस्था मिलाइएकाले त्यो समस्या हटिसकेको उनले बताए । उनले भने, ‘पहिले पहिले फारम नै भर्न सकिएन भन्ने गुनासो आउने गरे पनि अहिले गुनासो छैन ।’ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो सङ्क्रमित भेटिएसँग सरकारले लागू गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालय पनि बन्द भएका थिए । कोभिड-१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुले पनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गत विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो ।
हुलाकी राजमार्गमा क्रोनिक ठेक्का तोडिँदै
काठमाडौंः हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ । निर्माण सुरु भएको १० वर्षसम्म सम्पन्न नभएका ५ पुलमध्ये ३ को ठेक्का तोडिसकिएको छ भने २ पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ । आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो । एक दशक पहिले निर्माण सुरु भए पनि अघि नबढेका पुलको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । गत वर्षसम्म यस्ता क्रोनिक ठेक्का १० वटा रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । उनका अनुसार निर्देशनालयले २ को ठेक्का तोड्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा गएकाले मुद्दा विचाराधीन भएको उनले बताए । उनले भने, ‘अदालतबाट निर्णय आएपछि मात्रै नयाँ ठेक्कामा जान सकिन्छ ।’ आयोजनाअन्तर्गतका ५ पुलमा भने निर्माणको काम भइरहेको छ । १०/११ वर्ष पुरानो पुलमा अहिले निर्माण भइरहेकाले अवधि थप भएको छ । कमला र दलान नदीमा पुल सम्पन्न क्रममा रहेको छ । यी दुवै पुलको लम्बाइ ५०० मिटर छ । उनले भने, ‘यही वर्ष नै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’ आयोजनाअन्तर्गत अहिलेसम्म २ सय ४५ पुल रहेका छन् । अहिलेसम्म ७५ पुल सम्पन्न भएर प्रयोगमा आइसकेका छन् । पचहत्तर पुल डिजाइनका क्रममा र ९५ पुल निर्माणाधीन छन् । सडक बने पनि कतिपय स्थानमा पुल नबनेकाले सो सडकको प्रयोगकर्तालाई आवतजावत सजिलो भएको छैन । कतिपय स्थानमा पहिले भएका साँघुरा पुलमा पनि सवारीसधन र पैदलयात्रु आवतजावत गरिरहेका छन् । ती स्थानमा पुल निर्माणपछि आवतजावत सहज हुने अपेक्षा गरिएको छ । आयोजना आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सोही अवधिसम्ममा नै निर्माणाधीन र निर्माण सुरु नभएका पुलसमेत सम्पन्न गर्नुपर्ने चुनौती छ ।
ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ : मुख्यमन्त्री गुरुङ
कास्की: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन विकल्प रहेको बताउँदै उहाँले कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने चौथो विकल्प कठिन रहेको बताउनुभयो । कांग्रेस, माओवादी र मधेशवादीसँगै जाने कुरा धेरै गाह्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सर्वोच्चको फैसलापछि मिलीजुली सरकारको नेतृत्व गर्दै समृद्धिको अभियानको नेतृत्व गर्ने हैसियत एमालेलाई प्राप्त भएको छ । मधेशमा एउटै आधार भएका कांग्रेस र मधेशवादीदलसँगै जाने र एमालेबाहेकको सरकार बनाउने कुरा ‘घाम र जून’को मिलन जतिकै कठिन छ ।” माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने तर्क गर्दै मुख्यमन्त्रीले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए उसका लागि दुर्भाग्य र घाटा हुने भन्दै अपरिपक्क निर्णय माओवादीले नगर्ने विश्वास व्यक्त गर्नुभयो । माओवादीसँग नयाँ परिस्थितिमा छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “शुरुमा माओवादी केन्द्रको समर्थनमा केपी ओली नेतृत्वको वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा दुईअनुसार गठन भएको हो । केन्द्रमा माओवादीले समर्थन फिर्ता लिए पनि अहिले एमालेले गुमाउने केही पनि छैन । बढी घाटा उसैलाई हुन्छ, सात प्रदेशमध्ये दुई प्रदेशको मुख्यमन्त्री र अन्य प्रदेशमा सरकारबाट फिर्ता हुनुपर्दछ, त्यो उसका लागि दुर्भाग्य हो ।” सर्वोच्चको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एमाले र माओवादी कुन दलका मान्ने भन्नेमा स्पष्ट नभए पनि मुख्यमन्त्री गुरुङले सूर्य चिह्नबाट चुनाव जितेको र केपी ओलीको हस्ताक्षरबाट टिकट प्राप्त गरेकाले उनीहरू एमालेकै हुने विश्वास व्यक्त गर्नुभयो । महानगर प्रमुख मानबहादुर जिसीले देशको ठूलो महानगरलाई समृद्ध बनाउने योजनानुसार कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । स्थापना दिवसका अवसरमा बिहान महानगरपालिका कार्यालय न्यूरोडबाट प्रभातफेरी आयोजना गरी पोखरा सभागृहमा पुुगेर स्थापना दिवस समारोहमा परिणत भएको थियो । समारोहमा महानगरमा लामो समयदेखि कार्यरत कर्मचारी, स्थापना दिवसका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगितामा विजयी भएकालाई पुरस्कार प्रदान गरिएको थियो । गोरखापत्रबाट साभार
शिवरात्रिका लागि मार्ग परिवर्तन हुने गरी ट्राफिक व्यवस्थापन
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ । यहाँ विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ । धेरै टाढाटाढाबाट भक्तजन आउने हुनाले उहाँहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनलाई निर्वाध आवतजावतको व्यवस्थासमेत मिलाइएको र पार्किङ गर्ने स्थानसमेत तोकिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए । नियमितजस्तै चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखा प्रमुख भट्टराईले बताए । चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उनले जानकारी दिए । मालबाहक सवारी साधन तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामङ्गल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । दर्शनार्थी एवम् भक्तजनका सवारी साधनलाई वनकाली खुला चौर, सिफलचौर, गुह्ेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवा प्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने छ । वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्हेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ । चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ ।
नेपालमा अब कुनै प्रकारको अशान्ति छैनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताए । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उनले पृथकतावादी सोचलाई समेत टुङ्ग््याइएको बताए । ‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।’ यसका लागि सुरक्षा परिषद्को नीतिले पनि उल्लेख्य काम गरेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पारे । छिमेकी देशसितको सम्बन्ध सुमधुर बनाइएको जनाउँदै उनले केही समस्या भए वार्ताका माध्यमबाट नै हल गरिने स्पष्ट पारे । उथलपुथल र उतारचढावका समयमा परिषद्को सचिवालयको स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले हासिल गरिएका अनुभवका आधारमा काम गर्दै अघि बढ्न सुझाव दिए । नेपाली सेनाको परिचालन र प्रयोग सही ढङ्गले हुँदै आएको बताउँदै उनले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट गरे । ‘ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने । विश्वमा अर्काको अहित हुने गरी सेनाको परिचालन गर्न नहुनेमा उनले जोड दिए । असहज र अप्ठयारो अवस्थामा सेनाको प्रयोग गरिँदै आएको प्रसङ्ग जनाउँदै प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माणका काममा सेना अहोरात्र खटिँदै आएको स्मरण गरे । विश्वसनीय र भरपर्दो निकाय नेपाली सेनाले सेवा र निर्माणका क्षेत्रमा जनताको मन छुने गरी काम गर्दै आएको प्रधानमन्त्रीले बताए ।

