विभूषणबारे गृहद्वारा स्पष्ट
काठमाडौं : गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।
सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अङ्कित भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई विसं २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयारी गरिएको भए पनि कोभिड–१९ का कारण २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालै मात्र उक्त सुशोभन भएको मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नक्सा अङ्कित भएको र यसको सुशोभन आगामी वैशाख १ गते गरिने पनि मन्त्रालयद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।
नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौँः वरिष्ठ नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए । शुक्रबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताए । नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भने, ‘कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प हुँदैन ।’ वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसकै केही नेताले चुनाव भनिरहेका सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने धारणा राखे । ‘जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले उपलब्धि प्राप्त गर्नुपर्छ’, नेता पौडेलले भने, ‘केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?’ देउवाको नेतृत्वमा अब सरकार बन्छः शशांक कोइराला
३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार साँझ सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए । एक वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः
बागलुङमा किङ कोब्रा भेटियो
बागलुङ । बागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ । कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्म पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार ५०० मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फिट लामो र पाँच किलोग्रामको भएको बताए । सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उनले अनुमान गरे । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताए । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उनले बताए । ‘यो सर्पले चाहेका बेला मात्र विष बमन गर्छ । विष बमन गरेको खण्डमा टोकेको ३० मिनेटमै मानिसको मृत्यु हुन्छ’, उनले भने । सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापनसमेत गर्नुपर्ने माग गरिएको छ ।
वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद छैनः प्रवक्ता शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौं सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन् । ‘कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ’, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए । कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने बताए ।
देउवाको नेतृत्वमा अब सरकार बन्छः शशांक कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुंगो लाग्ने उनको भनाइ थियो । उनले थपे, ‘जसपासँग छलफल भइरहेको छ । उहाँहरू पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।’ जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए । फरक प्रसंगमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए । उनले भने, ‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।’ रासस
ओली सरकार धेरै दिन रहँदैन, नयाँ सरकार गठन हुन्छः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकार धेरै दिन नरहने र नयाँ सरकार गठन हुने बताए । उनले भने, ‘केही दिनभित्रै कालो बादल हट्छ । यो प्रयास निरन्तर रुपमा अघि बढाइरहेका छौं ।’ उनले प्रधानमन्त्री को बन्ने भन्दा पनि लोकतन्त्र र संविधानलाई कसरी जोगाउने भन्ने कुरा नै अहिलेको चिन्ता भएको बताए । उनले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको पनि आरोप लगाए । प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताए । प्रचण्डले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको दावी गरे । प्रचण्डले नयाँ सरकार बनेपछि महंगी घटाइ कर्मचारीलाई साथ र सहयोग गर्ने प्रतिबद्धता गरे । उनले कर्मचारीको आफ्नै सीमा र मर्यादा भएकाले विवेक पुर्याएर अन्याय र अत्याचारको विरुद्धमा लड्न आह्वान गरे ।
नेपालमा बढ्यो कोरोना संक्रमणको नयाँ भेरिएन्ट, स्वास्थ्य मन्त्रालयद्वारा १० बुँदे सिफारिस
काठमाडौं । कोरोनाको नयाँ प्रकारका रुपमा चिनिने बेलायत भेरियन्ट नेपालमा पनि बढेको छ । कोरोना संक्रमणमा कमीसँगै सुरक्षाका मापदण्ड फितलो भएपछि बेलायत भेरियन्ट बढन पुगेको हो । कोरोना नियन्त्रणमा आएको भन्दै रात्रीकालिन व्यवसाय, स्कूल तथा अन्य सबै क्षेत्र खुल्ला भएसँगै कोरोनाबाट जोगिन अपनाउनुपर्ने न्यूनतम सतर्कतामा कमी आएको थियो । तर पछिल्ला दिनमा भने विश्वभरी नै फेरि कोरोनाका घटना बढ्न थालेका छन् । नेपालमा पनि कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ। मन्त्रालयले बेलायतको भेरियन्टको मात्रा बढ्दो देखिएको तथा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा ३ हप्तासम्म अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न भनेको छ। बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू, शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब स्विमिङ पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने अन्यथा बन्द गर्नरगराउन सिफारिस गरेको छ। विदेशबाट फर्केपछि घरमा क्वारेन्टिन गरेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि स्थानीय तहहरूलाई अनुरोध गर्ने मन्त्रालयले भनेको छ। रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजे पछि कडाइका साथ बन्द गर्नरगराउन तथा संक्रमणको अवस्था हेरी ठूला शहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमन व्यवस्थित गर्न मन्त्रालयले सिफारिस गरेको छ।
पर्वतमा आगलागि, ५ घर र १५ गोठ जलेर पूर्णनष्ट
पर्वत । दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा आगलागी हुँदा ५ घर र १५ गोठ जलेर पूर्णरुपमा क्षति भएको छ । डाँडाकाहुँको भिरमा रहेको जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् । आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छबिलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो । घरवारविहीन भएकाहरु अहिले आफन्तकोमा आश्रय लिएर बसेका छन् । आगालागीबाट पूर्णरुपमा क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी अन्य सामान्य क्षति पुगेकाहरुालई टेण्ट, र त्रिपाल वितरण गरिएको छ । आगलागीबाट मानविय क्षति नभएपनि केही पशुचौपाया मरेका छन् । आगो नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।
कर्मचारी संगठनको केन्द्रीय परिषद बस्दै, प्रचण्डद्वारा उदघाटन हुने
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट निजामति कर्मचारी संगठनका चौथो केन्द्रीय परिषद बैठक बस्दैछ । आज शनिबारदेखि बबरमहलस्थित कार्की ब्यांकेटमा शुरु हुने बैठकको अध्यक्ष प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको छ । संगठनका उपाध्यक्ष अम्बादत्त भट्टले दिएको जानकारी अनुसार, आज बिहान ९ बजे अध्यक्ष प्रचण्डले उदघाटन गरेपछि कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ । बन्दसत्र भने दिउँसोको खानापछि शुरु हुने बताइन्छ । बन्दसत्रमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछ ।
क्या बात ! ‘पद हैन, जनता’, त्यही भएर सांसद नरहेपनि फेरि मन्त्रीको शपथ
काठमाडौं । राजनीतिमा नैतिकताको खडेरि परेको बेला जे पनि हुन्छ । मान्छेले जे पनि बोल्छन् र जे पनि गर्छन् । माओवादीबाट निर्वाचन जितेका र नजितेका पनि मन्त्री पाउनकै लागि ओलीको पछि लागे । तर उनीहरुले लाज पचाउन भने– हामी पदका लागि हैन, विचारका लागि ओली बनेका हौं । हामीलाई पद हैन जनता प्यारो छ । यही जनता र विचार प्यारो भएर होला, कानुनतः संसद र मन्त्री पद खोसिएको २४ घण्टा नबित्दै उनीहरु संविधानले बाध्यात्मक अवस्थामा गर्न मिल्ने प्रावधान टेकेर फेरि मन्त्रीको शपथ खान पुगेका छन् । मन्त्री बन्नका लागि सांसद नै हुनुपर्दैन । तर यो स्वभाविक र प्राकृतिक अवस्थामा हुँदैन । प्राकृतिक र स्वभाविक अवस्थामा संसदमा बहुमत प्राप्त दलका सांसदहरु नै मन्त्री बन्छन् र बनाइन्छन् पनि । कार्यपालिकामा जनताबाट नजितेका व्यक्तिहरु विशेष बाध्यात्मक परिस्थितिमा संसद बन्ने गर्दछन् । जस्तो कि उनीहरु त्यहाँ जानैपर्ने अवस्था, विषय विशेषज्ञताका आधारमा गैर संसदलाई समेत मन्त्री दिनैपर्ने अवस्था र अन्य कतिपय जटिलताको बेला मात्रै । तर यहाँ प्रचण्डसँग रिस साँध्न, इगो साध्नका लागि प्रचण्डको साथ छोडेकाहरुले फेरि मन्त्री पाएका छन् । जबकि सोही योग्यता, क्षमता र बरियता भएका दर्जनौं संसदहरु नेकपा एमालेभित्र छन् । ओली नेतृत्वको नेकपा एमालेभित्र अन्य कैयन् व्यक्तिहरु छन, जसलाई उर्जा, उद्योग, खानेपानी, खेलकुद, कृषिलगायतको ज्ञान छ । उनीहरुले अहिले फेरि दोहो¥याएकाहरु भन्दा राम्रोसँग मन्त्रालय चलाउन सक्छन् । तर ‘पदका भोका नभएकाहरु’ फेरि मन्त्री बनेका छन् । अचम्म त के छ भने अहिले पनि उनीहरुले आफू पदको भोको नभएको तर्क दिइरहेका छन् । यदि उनीहरु पदका भोका नभएको भए कानुनतः रिक्त भएको पदको अवस्था स्वीकारेर अरु कसैलाई मन्त्री बनाउनुपर्यो भनेर भन्न सक्दैनथे । भैगो, अब कानुनतः नै हटियो, अब संसद नै नभएको अवस्थामा के मन्त्री बन्नु भनेर भन्न सक्दैनथे । तर उनीहरुले त्यसो भनेनन्, किनभने उनीहरु पदकै लागि माओवादी केन्द्र छोडेर एमालेमा गएका थिए । त्यो अवस्थामा नैतिकता ताकमा राख्नु कुनै ठूलो कुरा थिएन ।
संविधान नेपाल र नेपालीको भविष्यका लागि उपहार : सुवास नेम्वाङ
काठमाडौं : नेकपा (एमाले)को संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता र देशलाई स्वतन्त्र गराउन शहीद रत्नकुमार वान्तवाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । एमाले इलामले आज आयोजना गरेको वान्तवाको स्मृतिसभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शहीद वान्तवाको राजनीतिक जीवनको चर्चा गरे । नेम्वाङले देशका शहीदहरुले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपाल र नेपालीको भविष्यका लागि उपहार भएको बताए । वर्तमान सरकार असफल भएको भन्ने हल्ला गर्नेलाई पछिल्लो समय शिलान्यास गरिएका विकासका आयोजना र निर्माण भइरहेका योजना गतिलो जवाफ भएको नेम्वाङले बताए । ‘दैनिक सयौं योजना सुरु भएका छन् । प्रधानमन्त्रीले एकै ठाउँबाट विभिन्न आयोजना शिलान्याश गरिरहनु भएको छ’ एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता नेम्वाङले भने । उनले भारतले नाकाबन्दी गर्दा पनि दक्षिणी सिमानाका उब्जिएको सहज परिस्थिति भन्नेलाई उत्तरका नाका खोलेर नाकाबन्दी नहुने अवस्था सिर्जना गर्दा पनि ओली सरकारले केही गरेन र गर्न सक्दैन भन्नु हास्यास्पद रहेको बताए । सरकारले भूमिगत अवस्थामा रहेका दलहरुलाई अन्य दल सरह नेपालको झण्डामुनि उभ्याउने काम गरेको भन्दै नेम्वाङले यसलाई सफलता मान्ने कि असफलता भन्दै प्रतिप्रश्न गरे ।
सरकार बनाउन विदेशी शक्तिहरुले जुट मिलाउन खोजेका छन् : चित्रबहादुर केसी
बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनुपर्ने बताएका छन् । उनले विदेशी शक्तिहरुले सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझैसम्म नमिल्दा अलमल भएको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘बाह्य शक्तिहरुले दलहरूको जुट मिलाउन खोजेका छन् । त्यो मिलिरहेको छैन ।’ उनले विदेशीहरु आफ्नो स्वार्थ अुनसार चलाउनको लागि दलहरु विरालोले मुसो खेलाए जस्तै खेलाएको बताए । पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने खेल भइरहेको भन्दै त्यो रोक्नको लागि वामपन्थीहरूको सरकार फेरी बन्नुपर्ने बताए । उनले भने, ‘ ओली हटाएर फेरी वामपन्थीहरूको सरकार बन्नुपर्छ त्यसको लागि वामपन्थीहरूको विच कार्यगत एकता अथवा अन्य सहकार्य हुनुपर्छ ।’ उनले जनताले दिएको म्यान्डेट अनुसार २०/२२ महिला पहिले नै निर्वाचनमा जानु गलत भएको बताए । मुलुकमा वामपन्थीहरूको बहुमत हुँदाहुँदै कम्युनिष्टहरुले कुर्सीका लागि झगडा गर्दा मुलुक अहिलेको अवस्थासम्म आइपुगेको बताए । केसीले संसद खरिद विक्री गर्ने खेल भइरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई विजनेश नदिएर काम विहिन बनाएको आरोप लगाए । उनले भने भने, ‘पहिला एक ठाउँमा खरिद विक्री हुने थियो अहिले ८ ठाउँमा खरिद विक्री भएको छ ।’ जनमोर्चाको यही चैत्र २४ गतेदेखि २६ गतेसम्म भएको राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणा पत्रमा संघीयता खारेजीको मागलाई प्राथमिकताका साथ राखिएको छ । संघीयताकै कारण मुलुकको राजनैतिक अवस्था अहिलेको स्थितिमा आइपुगेको बताउँदै संघीयता खारेजको माग दोहोराए । भेलाले गणतन्त्रवादी शासकहरुको गलत नीतिका कारण वर्तमान व्यवस्थाप्रति जनताको असन्तुष्टि बढ्नुका साथै गणतन्त्रका बिरुद्ध देशमा जनमत निर्माण भएको राष्ट्रिय जनमोर्चाको सम्मेलनले ठहर गरेको उनले बताए । राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ । ३७ सदस्य पूर्ण र १० बैकल्पिक सदस्य रहेको राष्ट्रिय जनमोर्चाको सम्मेलन केन्द्रिय समिति गठन गरेको छ । जसको कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, समिव हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता, के भयो कुराकानी?
काठमाडौं : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस. जयशङ्करबीच आज भएको वार्तामा कोभिड-१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ । दुबै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे । साथै, उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका बाह्य मामिलामन्त्रीसँग अनुरोध गरेको उक्त मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रत्युत्तरमा बाह्यमामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिए ।
सकियो तीन दलबीचको बैठक, के भयो सहमति?
काठमाडौं : नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) समक्ष आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ । माओवादी केन्द्र त्यसमा सहमत भए पनि जसपाले भने यसबारे छलफल गर्न समय माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरूको धारणा के छ ?’ बैठकमा जसपा नेताहरूले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुले बताए । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए । माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।
चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । चेम्बरको आज सम्पन्न ७०औं वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो । यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् । प्रमुख निर्वाचन अधिकृत रमेश महर्जनका अनुसार चेम्बरका अन्य उपाध्यक्षमा जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य सङ्घबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।

