खाली रहेका सिलिण्डर भर्न ग्यास उद्योग सङ्घकाे आग्रह

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ। सङ्घले शु्क्रबार एक सूचना जारी गर्दै आग्रह गरेको हो।

महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।

छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ। यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ। नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेको छ।

गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो। आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले एकैपटक खाली सिलिण्डर भर्न खोज्दा केही दिन वितरणमा समस्या देखिएको थियो। त्यतिबेला निगमको सहयोग र उद्योगीको समन्वयबाट ग्यास वितरणमा देखिएको समस्या समाधान गरिएको थियो।

‘विगतको जस्तै समस्या आम उपभोक्ताले व्यहोर्नु नपरोस् भनेर यसपटक बेलैमा सचेत गराइएको हो’, अध्यक्ष भण्डारीले भने। अहिले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको पनि उनले बताए। हाल नेपालभर दैनिक एक लाख सिलिण्डर ग्यासको माग रहेको छ। ग्यास उद्योगीसँग १५ हजार मेट्रिकटन एलपी ग्यास भण्डारण क्षमता छ। उद्योगीसँग कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको अध्यक्ष भण्डारीले जानकारी दिए। -रासस

माधव नेपालनिकट नेता रिजाल ओली समूहको बैठकमा !

काठमाडौं । एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका नेता विष्णु रिजाल सहभागी भएका छन् । बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सो बैठकलाई नेपाल–खनाल पक्षले बहिष्कार गरेको छ । रिजाल नेपालपक्षका सक्रिय नेता थिए । उनी नेपालनिकट नेता हुन् । नेपाल प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले ओलीको आलोचना गर्दै नेपालपक्षको अभियानलाई साथ दिँदै आएका थिए । नेता रिजालले पछिल्लो समय समाजिक सञ्जालमा पार्टी एकता र प्रधानमन्त्री ओली नेतृत्वको सरकारको निरन्तरताको पक्षमा लेख्दै आएका थिए ।

संसद् अधिवेशन अन्त्यबारे सरकारले सल्लाह गरेनः सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्नेबारे सरकारले संसद्सँग सल्लाह नगरेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभामुख सापकोटाले सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्यबारे आफूसँग केही सल्लाह नगरेको बताए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद् अधिवेशन अन्त्य गरेकी छन् । संसद अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय, अब के होला ?

त्रिकोणात्मक सिरिजः नेपाल र मलेसियाको खेल सुरू (LIVE)

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले टस जितेर बलिङ गरिरहेको छ । यी दुई टिमबीचको खेल १ः१५ बजे पछिदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ । नेपालले प्लेइङ–११ मा आज एक खेलाडी परिवर्तन गरिएको छ । नेपालले आरिफ शेखलाई विश्राम दिँदै कुशल मल्ललाई मौका दिएको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । पहिलो खेलमै फराकिलो जित हासिल गरेको नेपाली टिममा आत्मविश्वास भरिएको छ । नेपालको प्लेइङ–११:  ज्ञानेन्द्र मल्ल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा र साहब आलम ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको कांग्रेस प्रदेशसभा प्रमुख सचेतक ​फखरुदिन खानले बताए । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन् । दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ । प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका २०, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।

कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । अब विद्यालयलेअनलाइन कक्षा सञ्चालन गर्नुपर्ने छ । आजको निर्णयपछि काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालय बैशाख मसान्तसम्म बन्द रहनेछन् ।

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय, अब के होला ?

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले संसदको जारि हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो । संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो । सरकारले सिफारिस गरेपछि आजै राष्ट्रपतिबाट संसदको अधिवेशन अन्त्य भएको घोषणा हुनेछ । यसअघि प्रधानमन्त्रीले संसदमा सभामुखले एमसिसीको एजेण्डा प्रवेश गर्न नदिएको भन्दै आलोचना गरेका थिए । आजको बैठकले आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरेको हो । सरकारले भने जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको दावी गरेको छ । संसद पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । सरकारले जेठ १५ मा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने प्रचलन रहेको छ । संसद अधिवेशन अन्त्य भएपछि अविश्वासको प्रस्तावको तयारीमा रहेका दलहरुले के गर्छन् भन्ने प्रश्न समेत उठेको छ । सम्भवतः संसद अधिवेशन अन्त्य भएपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने देखिन्छ । त्यसो भएमा एकमहिनाभित्रै सरकारले विश्वासको मत लिनुपर्ने र त्यसका लागि तत्कालै संसदको बजेट अधिवेशन बोलाउनु पर्ने हुन्छ । यदि यसो नभएमा विशेष अधिवेशनको माग समेत सांसदहरुले गर्न सक्नेछन् ।

बालुवाटारमा मन्त्रीपरिषद बैठक, स्कूल बन्द र नयाँ मापदण्ड जारि गर्ने विषयमा निर्णय हुनसक्ने

काठमाडौं । मन्त्रीपरिषदको बैठक बालुवाटारमा बोलाइएको छ । अहिले नौ बजेका लागि बोलाइएको बैठकका लागि मन्त्रीहरु बालुवाटार पुगेका छन् । आज बस्ने बैठकमा कोरोना नियन्त्रणका लागि यसअघि सिएमसिले दिएको सुझावमाथि सरकारले निर्णय गर्ने सम्भावना छ । खासगरी बालबालिकामा कोरोना संक्रमण बढ्दै गएका कारण स्कूल बन्द गर्ने विषयमा मन्त्रीपरिषदको छलफल हुने बताइन्छ । “भारतमा कोरोना निकै बढेकोले नेपालमा समेत सतर्कता अपाउने विषयमा आवश्यक निर्णय हुनसक्छ ।” एक मन्त्रीले भने, “पछिल्लो अवस्थाबारे छलफल गरेर उचित निर्णय होला ।” सिएमसीको बैठकले शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्न सिफारिस गर्दै अनलाइनबाट कक्षा सञ्चालन गर्न सुझाव दिएको छ । यसैगरी सीमा नाकाहरुमा चेकजाँच, कोरोनाबाट बच्न नयाँ मापदण्ड जारि गर्ने जस्ता विषयमा पनि आजको बैठकले निर्णय गर्न सक्छ । आजको बैठकमा जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्न अघि सारेका मागका बारेमा समेत छलफल हुनसक्ने देखिन्छ । जसपाका नेताहरुले कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता र संविधान संशोधनका लागि सरकारले छिट्टै ठोस निर्णय गर्ने आश्वासन दिएको बताएका थिए । अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनका लागि आयोग नै गठन गर्ने विषयमा समेत छलफल भएको सार्वजनिक गरेका थिए ।

भारतमा कहालीलाग्दो अवस्थाः एकैदिन थपिए पौने ३ लाख संक्रमित, अक्सिजनको हाहाकार, आइसियू बेड भरिए

नयाँ दिल्ली । भारतमा कोरोनाले कहालीलाग्दो अवस्था सिर्जना भएको छ । सोमबारका दिन आजसम्मका सबै रेकर्ड तोड्दै पौने तीन लाख कोरोना संक्रमित भएका छन् । कोभिड१९इण्डियाका अनुसार, भारतमा आइतबार २ मात्रै लाख ७४ हजार ९४४ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १६२० जनाको मृत्यु भएको छ । संक्रमण तीब्र भएसँगै देशका प्रमुख शहरका अस्पतालका आइसियू कक्ष भरिएका छन् । दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले एक दुईदिन भित्रै तीनहजार नयाँ बेड थपिने बताएका छन् । कतिपय अस्पतालमा अक्सिजनको कमी देखिएको छ । आइतबार मात्रै शहडोल मेडिकल कलेजमा अक्सिजन नभएकै कारण २२ जना बिरामीको मृत्यु भएको थियो । कोरोना संक्रमण चुलिएपछि महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश, बिहार राजस्थानलगायतका राज्यमा लकडाउन घोषणा गरिएको छ । कक्षा १० र १२ का सबै परीक्षा स्थगित गरिएका छन् । भारतमा शनिबार शनिबार २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका थिए भने शुक्रबार २ लाख ३४ हजार थपिएका थिए । कोरोना संक्रमणका कारण प्रवासी मजदूरहरु सबैभन्दा बढी मारमा परेका छन् । कैयन राज्यले उनीहरुलाई सहयोग गरेको भएपनि घर फर्किने मजदूरहरुको ठूलो संख्या रेल्वे र बस स्टेशनमा देखिन थालेको छ ।

ओली पक्षले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक नेपाल पक्षले बहिस्कार गर्ने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले महाधिवेशन आयोजक कमिटीको बैठक बहिस्कार गर्ने भएको छ । ओली पक्षले आज आव्हान गरेको महाधिवेशन आयोजक कमिटिको बैठक अवैधानिक भएको भन्दै एमाले पक्षले बिरोध गर्ने बताएको हो । यसअघि रहेको केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितको नाम दिइएको छ । ओली पक्षले २६१ जना महाधिवशेन आयोजक समिति सदस्यलाई बैठकका लागि बोलाएको छ । ओली पक्षले भने पछिल्लो राजनीतिक परिस्थिति, उप निर्वाचन लगायका विषयमा छलफल गर्ने बताएको छ । माधव पक्षले भने ओलीले गठन गरेको महाधिवेशन आयोजक समिति अवैधानिक भएको र सर्वोच्चको फैसलापछि ओली पक्षबाट भएगरेका निर्णय विधानविपरित भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । आइतबार मात्रै एमाले अनुशासन समितिका अध्यक्ष अमृतकुमार बोहोराले एकपक्षीयरुपमा गरिएका निर्णय खारेज गर्दै पार्टीलाई एकताबद्ध बनाउन अपील गरेका थिए ।  

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारबाट समर्थन फिर्ताको निर्णय हुनसक्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक बस्दैछ । आज दिउँसो एकबजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने बताइएको छ । सत्तारुढ ओली नेतृत्वको सरकारको आलोचक रहेपनि संसद विघटनको खतरा रोक्न समर्थन फिर्ता नलिएको माओवादी केन्द्रले बताउँदै आएको थियो । नेपाली कांग्रेसले माओवादीले समर्थन फिर्ता नलिएसम्म वर्तमान सरकार बहुमतको सरकार नै हुने भएकोले सरकार परिवर्तनका लागि आफूहरुले केही गर्न नसक्ने बताएसँगै माओवादीले समर्थन फिर्ता लिनसक्ने देखिएको हो । आजको स्थायी कमिटी बैठकले पछिल्लो राजनीतिक विकासक्रम र त्यसमा माओवादीले खेल्नुपर्ने भूमिकाका बारेमा थप छलफल गर्ने बताइन्छ । सोही आधारमा प्रतिनिधि सभाको बैठकमा सरकारबाट समर्थन फिर्ता लिने निर्णय हुनसक्नेछ । त्यसो भएको खण्डमा ओली सरकारले विश्वासको मत लिनुपर्नेछ । सकेसम्म नेपाली कांग्रेसको अविश्वास प्रस्ताव र माओवादीको समर्थन फिर्ता सँगै लिने कसरत पछिल्लो दिनमा भएको छ । माधव नेपाल पक्षले समेत सरकारविरुद्ध अविश्वास प्रस्ताव आएमा आफूहरुले फ्लोर क्रस गरेर भएपनि समर्थन गर्ने बताइसकेको छ । यसैगरी आजको बैठकमा पार्टीको संठनात्मक पक्षका बारेमा समेत छलफल हुनसक्ने देखिन्छ । माओवादीले संगठनको पछिल्लो अवस्थाका बारेमा अध्ययन गरी रिक्त स्थान पूर्ति गर्न र आवश्यक निर्णयका लागि यसअघि नै एक कार्यदल गठन गरिसकेको छ ।  

प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दै छन् : प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले देशमा भएको परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल सुरू भएको बताएका छन् । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उनले गत पुस ५ गतेको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रहार भएको भन्दै देशमा अझै खतरा नटरेको बताए । उनले भने, ‘अहिलेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । एकथरि तत्व लागिपरेका छन् ।’ संविधानको समानुपातिक र समावेशी चरित्रमाथि प्रहार भएसँगै यसको फाइदा लिँदै परिवर्तन नचाहने यसलाई उल्ट्याउन लागिपरेको उनको भनाइ थियो । गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै प्रचण्डले भने, ‘७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।’ केही दिनमा नै नयाँ युगको शुरुआत हुने भन्दै उनले कांग्रेससहित दलसँग सरकार परिवर्तनका विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘प्रदेशबाट सुरू भएको परिवर्तन केही दिनमा नै केन्द्रमा पनि हुँदैछ ।’ आफू अहिले पनि कम्युनिष्ट एकताका पक्षमा रहेको बताउँदै उनले प्रतिक्रियावादी शक्ति लागेर पार्टी विभाजन गराएको दाबी गरे । आफ्नो इच्छा कम्युनिष्ट आन्दोलनका शक्तिलाई एक ठाउँमा ल्याउने रहेको भन्दै उहाँले अन्तिम अवस्थासम्म एकता गराउने बताए । फरक प्रसङ्गमा उनले निकुञ्ज र माडीवासी बीचको सम्बन्ध सुधारका लागि निकुञ्ज ऐन संशोधनका लागि आफू लागिपरेको जानकारी दिए । कार्यक्रममा वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउने तवरले आफ्ना कार्यक्रम गाउँस्तरमा पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशकै उत्कृष्ट

स्याङ्जा : जिल्ला प्रहरी कार्यालय उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ । गण्डकी प्रदेश भरिका ११ जिल्ला प्रहरी कार्यालय मध्ये स्याङ्जा उत्कृष्ट छनौट भएको हो । वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि-२०७७’ अनुसार उत्कृष्ट छनौट गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ट उपरीक्षक पोखरेलले बताए । यस्तैगरी जिल्ला प्रहरी कार्यालय कास्की द्वितीय, जिल्ला प्रहरी कार्यालय तनहुँ तृतीय भएका छन् ।

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताउनुभएको छ । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताउनुभयो । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो”, उहाँले भन्नुभयो । गौतम बुद्ध जन्मेको देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति अघि बढाइएको ज्ञवालीले सुनाउनुभयो । “शान्ति हाम्रो परराष्ट्र नीतिको अभिन्न अङ्ग हो, हामीले संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विश्वका अन्य देशमा समेत शान्ति कायम गर्न चाहेका छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयो । नेपालले सधैँ हातहतियार निशस्त्रीकरणका लागि जोड दिँदै आएको र यसमै नेपालको विदेश नीति केन्द्रित रहेको उहाँको भनाइ थियो । परराष्ट्र नीतिमा जलवायु परिवर्तनलाई विषेश प्राथमिकतामा राखेको मन्त्री ज्ञवालीले सुनाउनुभयो । आन्तरिक नीतिको विस्तारित नीति नै परराष्ट्र नीति भएको मन्त्री ज्ञवालीको भनाइ थियो । “आर्थिक कूटनीतिमा जोड दिएका छौँ, लगानी र पर्यटन प्रवद्र्धन मुख्यरुपमा अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । झण्डै ५० लाख नेपाली विदेशमा रहेको सुनाउँदै मन्त्री ज्ञवालीले दक्ष र बौद्धिक जनशक्ति रहेकाले त्यसलाई नेपालको हितमा उपयोग गरिने स्पष्ट पार्नुभयो । परराष्ट्र सम्बन्ध राम्रो बनाउनमा सबै तह र तप्काको भूमिका आवश्यक हुने उहाँले उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले विदेश नीतिका मामिलामा सत्ता पक्ष र प्रतिपक्ष एउटै ठाउँमा उभिनुपर्ने बताउनुभयो । “सत्तामा छँदा होस् वा बाहिर रहँदा होस् विदेश नीति सबैको एउटै हुनुपर्छ”, उहाँले भन्नुभयो । परराष्ट्र नीति सार्वजनिक गरे पनि सरकारले सबै निकायसित आवश्यक छलफल र परामर्श नगरेकामा उहाँले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष आपत्ति प्रकट गर्नुभयो । “परराष्ट्र नीतिबारे सबैसित गहनरूपमा छलफल गरिनु पर्छ”, नेपालले भन्नुभयो । समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले नेपालको परराष्ट्र नीति बेलाबेलामा परिवर्तन हुँदै आएको र अबका दिनमा त्यस्तो हुन नहुने बताउनुभयो । उहाँले सन्तुलनको कूटनीति आवश्यक भएको उल्लेख गर्नुभयो । राणाकालीन अघिको सन्तुलित नीतिबारे सरकारद्वारा जारी परराष्ट्र नीतिमा उल्लेख नगरिएकामा कार्कीले आपत्ति प्रकट गर्नुभयो । “सरकारले जारी गरेको परराष्ट्र नीति परिस्कृत र परिमार्जन गरिनु आवश्यक छ”, उहाँले भन्नुभयो । समितिका अर्का सदस्य दिव्यमणि राजभण्डारीले बाह्य सम्बन्धबारे सबै पार्टीको धारणा एउटै हुनुपर्ने बताउनुभयो । सबैको अनुभव समेटेर परराष्ट्र नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै समतिका सदस्य मोहन बानियाँले सरकारैपिच्छे फरकफरक परराष्ट्र नीति हुन नहुनेमा जोड दिनुभयो । समितिका अर्का सदस्य डा दीपकप्रकाश भट्टले परराष्ट्र नीतिबारे विस्तृतरूपमा छलफल आवश्यक भएको बताउनुभयो । “विभिन्न कालखण्डमा विभिन्न काम भए, व्यवस्था फेरिए त्यो फरक कुरा हो, कोहीलाई कुनै व्यवस्था मन प¥यो, कोहीलाई मन परेन, तर त्यसबेला अपनाइएको उचित परराष्ट्र नीति अबका दिनमा पनि अवलम्बन गरिनुपर्छ”, उहाँले भन्नुभयो । सरकारले जारी गरेपनि परराष्ट्र नीतिबारे सांसदहरु नै अनविज्ञ रहेको उहाँको भनाइ थियो । उक्त छलफलमा समितिका सदस्यहरू प्रेमलाल तुलाचन र रेनुका गुरुङलेसमेत छलफलमा भाग लिनुभएको थियो । बैठकको अध्यक्षता समितिका सभापति पवित्रा निरौला खरेलले गर्नुभएको थियो । रासस 

शैक्षिक संस्था बन्द गर्नुपर्नेमा काठमाडौं उपत्यकाका सिडिओको जोड

काठमाडौं : काठमाडौं उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले कोरोना रोकथामका लागि यहाँका शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नु आफूहरुले सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले भने, हिजो सीसीएमसीले विभिन्न निर्णय गरेर मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । उक्त प्रस्तावबारे मन्त्रिपरिषदले निर्णय लिए त्यसको कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।’ उनका अनुसार भीडभाड हुने अन्य क्षेत्र र होटल-रेस्टुरेटलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि तीन जिल्लाका सिडिओ सुझाव थियो । शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न र मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै डान्सबार र दोहोरी साँझ अहिले बन्द गर्न सिफारिस गरेको थियो । रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं  : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेन बीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भर्खरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले भने, ‘बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अझ प्रचारप्रसारका लागि क्याथेरेश शहरमा स्थापना हुने गार्डेनले महत्वपूर्ण भूमिका खेल्नेछ, बौद्ध दर्शन र धर्ममा लाग्नेलाई गौतम बुद्धको जन्मथलोको भ्रमण गर्न प्रेरित गर्नेछ, नेपाल र यहाँका कला संस्कृति, जातीय विविधता, हिमाल र प्रकृति बुझ्न सहज हुनेछ ।’ स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्य मुनि बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुरोध गरिएको जानकारी दिए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुरोध गर्दै उहाँले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृति प्रतिको नवीनतम सोच भएको र खुशी प्राप्तिका लागि कसैले अर्को जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राखेका थिए । लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूमि र दुुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राखे । फाउण्डेशनको उपाध्यक्ष गोविन्द सुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरे । कतिपय विकसित मुलुक सम्पन्न हुँदाहुँदै पनि हत्या र हिंसाका घटना भइरहेका र शान्तिको खोजीमा रहेको परिस्थितिमा बौद्ध दर्शनको महत्वपूर्ण पाटो अहिंसा र शान्तिलाई अघि बढाउन चाहेकाले स्पेनले शान्ति प्रवद्र्धनका लागि सम्मेलनको आयोजना गरेको जनाइएको छ । स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुुइलेरम्मो फर्नाण्डेज भारका निमन्त्रणामा त्यहाँ आयोजित शान्ति सम्मेलनमा भाग लिने सिलसिलामा उनले गत चैत २३ देखि यही वैशाख १ गतेसम्म भ्रमण गरेका थिए । लुम्बिनी गार्डेन फाउण्डेशनका आयोजनामा भएको सम्मेलनमा अध्यक्ष तिमिल्सिनाका साथ लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीलगायतका सहभागिता थियो । बुद्ध र बौद्ध दर्शनसँग जोडिएका चारवटै पालिकाबाट लगिएको माटामा नेपालकै पीपलको वृक्ष रोपेर उद्यान निर्माणको शुभारम्भ भएको जनाइएको छ । उद्यानमा अत्यन्तै महँगो अर्थात् रु दुई अर्ब मूल्य अनुमान गरिएको धातुको ४० मिटर अग्लो बुद्धको मूूर्ति स्थापना गर्ने सोच अघि बढाइएको छ । एकसय सात हेक्टर जमीनमा निर्माण हुने उद्यानको मुख्य प्रवेशद्वारमा बुद्ध नेपालमा जन्मिएका हुुन् भन्ने सन्देश लेखिने जानकारी दिइएको छ । उद्यानमा नेपालको कला, कौशल, सांस्कृतिक वेषभूषा, पोखरी, ढुङ्गेधारा, शान्ति स्तूप, अशोकस्तम्भजस्ता संरचना निर्माणले नेपालको लुम्बिनी क्षेत्रका झझल्को दिनेछ । उद्यान स्थापनाले दुुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ । रासस