स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने आठ हजारलाई कारवाही

काठमाडौं : नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने ८ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको र नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाएर छाडिएको छ ।

कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रहीले कारवाही अभियानसँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । मानिसले सरकारी आदेशको उल्लङ्घन गरी जथाभावी रुपमा हिँडडुल गरेपछि सचेतनामूलक कार्यक्रम गरी सुझाव दिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले ठाउँठाउँमा प्ले कार्डसमेत प्रदर्शन गरेको तथा बटुवालाई भेटेरै मास्क लगाउन, सावधानी अपनाउन तथा अत्यावश्यक काम नपरी बाहिर ननिस्किने शर्तमा घर पठाउने गरिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ५१८ सचेतनामूलक कार्यक्रम सम्पन्न भएको र तिनमा ६८ हजार ५६७ जना सहभागी भएका छन् ।

नयाँ भेरियन्टसहितको कोभिड-१९ सङ्क्रमण बढ्दै गएका सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि अभियान चालिएको उनले बताए । नेपाल प्रहरीले सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकार पक्षसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ । रासस

नेपाल र भारतबीचका २२ नाका बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं : नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको हो । काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरु बनाइनेछ । बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने र सरकारी कार्यालय पनि एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले संघीय मन्त्रीहरुलाई प्रदेशसँग समन्वय गर्न सिफारिस गरेको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई डा. रवीन्द्र पाण्डेका १६ सुझाव

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध – डा. रवीन्द्र पाण्डे १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा\टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ । २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ । ३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ । ४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ । ५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ । ६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ । ७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन | यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ । ८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला । ९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ । १०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला । ११. पानीको बाफ लिंदा आराम हुन्छ । १२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला । १३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला। १४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला । १५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ । १६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला । त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।

कोरोना सङ्क्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक जारी

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको वेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।

खड्का होली सी र सर्बियाका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा(१)बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिए ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि तोकिए मतदानस्थल र मतदान केन्द्र

काठमाडौं । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको हो । मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकिएको छ । आयोगले निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आजै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।

उपत्यकामा २९५६ जनामा संक्रमण पुष्टि, अन्य जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ५,७२७ जनामा कोरोना संक्रमण हुँदा ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित र मृतक संख्या नेपालमा हालसम्मकै दोस्रो सर्वाधिक सङ्ख्या हुन् ।

एकैदिन थपिए ५,७२७ संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २८९ पुगेको छ । शुक्रबार संक्रमित र मृतक संख्या नेपालमा हालसम्मकै दोस्रो सर्वाधिक सङ्ख्या हुन् । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । संक्रमण बढ्दा शैया उपलब्ध गराउन सकिने अवस्था छैनः मन्त्रालय

संक्रमण बढ्दा शैया उपलब्ध गराउन सकिने अवस्था छैनः मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमण उच्च गतिमा फैलिरहेको जनाएको छ । संक्रमणका हिसावले २२ जिल्लामा संक्रमण दल डरलाग्दो रहेको मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेको र अस्पतालमा शैया उपलब्ध गराउन नसकिने अवस्था रहेको मन्त्रालयले जनाएको छ । त्यसकारण जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कोरोनाका कारण भारतका चर्चित पत्रकार शरदानाको मृत्यु

काठमाडौं । भारतका चर्चित टेलिभिजन समाचार वाचक रोहित शरदानाको मृत्यु भएको छ । कोभिड १९ बाट सङ्क्रमित शरदानाको घरमै आज बिहान हृदयघातले निधन भएको जनाइएको छ । उनी भारतको ‘आज तक’ टेलिभिजनमा कार्यरत थिए । आज तक टेलिभिजनका सम्पादक राजदीप सरदेसाइले उनको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जाल ट्वीटरमा श्रद्धाञ्जली ब्यक्त गरेका छने । भारतीय सञ्चारमाध्यम द इकोनोमिक टाइम्स र आउटलुकले ‘मृत्यु हुनु एक साता अघि उनमा कोभिड १९ को सङ्क्रमणको पुष्टि भएको थियो’ उल्लेख गरेको छ । भारतीय टेलिभिजन पत्रकारिताका उनी एक चर्चित पत्रकार थिए । कोभिड १९ बाट सङ्क्रमित शरदाना घरमै अलग्गिएर बसिरहँदा हृदयघातपछि निधन भएको हो । उनी केही वर्ष अघिसम्म जी न्यूजमा कार्यरत थिए । आज तक टेलिभिजनमा उनले ‘दंगल’ कार्यक्रम चलाउने गरेका थिए ।

ओली सरकार ढाल्ने जसपाका बहुमत सांसदको निर्णय, ३२ मध्ये १८ ले गरे हस्ताक्षर

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन् । वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमतले लुम्बिनीका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो । जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीलाई हटाउनुपर्ने पक्षमा छ भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारमा जानुपर्ने पक्षमा छन् । जसका कारण जसपामा विवाद थियो । केन्द्रीय पदाधिकारीमा भट्टराई–यादव पक्षको बहुमत छ । जसपाले निर्णय लिन ढिला गर्दा नयाँ सरकार गठनबारे अन्यौलता सिर्जना भएको थियो । जसपाको यो निर्णयपछि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव चाँडै अगाडि बढ्ने बताइएको छ ।

देउवाले पत्रकार सम्मेलन गर्दै, यस्ता छन् विषय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दैछन् । कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरेको प्रयास, सत्ता सहकार्य, समयसामयिक राजनीतिक विषय र पार्टीको आगामी महाधिवेशनको सन्दर्भमा देउवाले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा सभापति देउवाले कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण, निषेधाज्ञा र सरकारको भूमिकाका विषयमा धारणा राख्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादीबाट निर्वाचित कर्णालीका सांसदको आधा महिनाको पारिश्रमिक विपद् कोषमा

सुर्खेत । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि आधा महिनाको पारिश्रमिक कर्णाली सरकारको विपद् कोषमा सहयोग गर्ने निर्णय भएको केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन् । त्यस्तै बैठकमा दलसँग आबद्ध प्रदेशसभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारका निकायहरु, स्थानीय तह, अन्य राजनैतिक दल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार सञ्चारकर्मी, नागरिक समाजसँग समन्वय गरी कोभिड–१९ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवं अनुगमन गर्ने निर्णय भएको छ । बैठकमा दल नेता एवं मुख्यमन्त्रीले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यको काममा सरकारले गरिरहेको पहल र विकास निर्माण तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाका साथै समसामयिक राजनीतिक परिस्थिति र दलले खेल्नुपर्ने भूमिकाबारे जानकारी दिनुभएको प्रमुख सचेतक नेपालीले बताए । त्यसैगरी बैठकमा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणका कारण मृत्युवरण गर्नभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं मृतकका आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै कोभिड सङ्क्रमणका कारण बिरामी भएका दल सदस्य विन्दमान बिष्टलगायत सबै बिरामीको स्वास्थ्य लाभको कामना गरिएको छ । उनका अनुसार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले लिनुपर्ने नीति एवं प्राथमिकताका बारेमा बैठकमा सहभागी प्रदेशसभा सदस्यहरुले आवश्यक सुझाव दिएका थिए ।

घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । बिहीबार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि २० रुपैयाँ घटेको छ । बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशका पहाडी क्षेत्रमा आशिंक बदली भएर केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको मौसम पनि साान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १३ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा हुनेछ ।

संक्रमण र मृत्युदर हालसम्मकै उच्च, १८ जिल्लामा निषेधाज्ञा, आजदेखि थप कडाई

काठमाडौं । नेपालमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्यु दर आजसम्मकै उच्च देखिएको छ । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८।३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ । संक्रमण बढ्दै गएपछि देशका बिभिन्न भागमा निषेधाज्ञा जारि गरिएको छ । राजधानी काठमाडौंमा हिजो १६ गतेदेखि लागु भएको निषेधाज्ञाको पहिलो दिन सयौं सवारी साधन र सर्वसाधारण कार्वाहीमा परेका छन् । प्रशासनले थप कडाई गर्न निर्देशन गरेको छ । हालसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश २० गतेसम्म जारी रहने छ । सुर्खेत जिल्लाले वैशाख १४ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाएको छ । काठमाडौ, भक्तपुर र ललितपुरमा बिहीबारदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा छ । पाल्पा र चितवनमा हिजो राति १२ बजेदेखि निशेधाज्ञा जारी गरिएको छ भने सल्यानमा १९ गते बिहान ६ बजेदेखि आदेश कार्यान्वयनमा जाँदैछ । अन्य कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, रुपन्देही, सल्यान र सुनसरी जिल्लामा भने बिहीबार विहानदेखि निषेधाज्ञा लागू भएको छ । कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाट निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ । बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ । कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ । गृहमन्त्रालय आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । उपत्यकामा खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ ।