कैलालीका थप एक कोरोना सङ्क्रमितको मृत्यु
धनगढी । कैलालीका थप एक कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–३ का ६२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार विहान ज्यान गएको हो । स्वास्थ्यमा समस्या आएपछि वैशाख ८ गते अस्पतालमा भर्ना भएका ती पुरुषलाई ९ गते कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो ।
अत्यधिक स्वासप्रस्वास समस्या भएपछि अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जनाइएको छ । योसँगै कैलालीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
आजदेखि चिनियाँ खोप भेरोसेल काठमाडौंका सात वटा खोपकेन्द्रबाट लगाइने
काठमाडौं । चिनियाँ खोप भेरोसेल आजबाट काठमाडौंका सात वटा खोप केन्द्रबाट लगाइने भएको छ । उक्त खाेप गत चैत २५ देखि लगाउन शुरु गरिएकाे थियाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप दिइदैछ । आजबाट कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको हो । यता माघ १४ गतेदेखि फागनु १० गतेसम्म कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई आज पनि दोस्रो डोज खोप दिने कार्यलाई निरन्तरता दिइने भएको छ । यसअघि वैशाख सातदेखि ११ गतेसम्ममात्र कोरोनाको दोस्रो मात्रा खोप दिने निर्णय गरिएको थियो । काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको भन्दै वीर अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिइने भएको हो ।
ओलीले बोलाए केन्द्रीय समितिको आकस्मिक बैठक, के होला ३२ सांसदको पद ?
काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन् । यसअघि वैशाख १० गते बसेको बैठकले स्थायी कमिटि लगायत बिभिन्न कमिटिको जिम्मेवारीको टुंगो लगाएको थियो । केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरिएको थियो । दुई दिनपछि मात्रै के कति कारणले आकस्मिक बैठक बोलाईएको हो भन्ने कुरा खुल्न सकेको छैन । तर यसअघिको बैठकमा स्पष्टिकरण सोधिएका माधव नेपाल पक्षका ३२ सांसदका बारेमा कुनै निर्णय नभएकोले आजको बैठकले उक्त विषयमा निर्णय गर्न सक्ने सम्भावना रहेको छ । नेकपा एमालेले समानान्तर गतिविधि गरेको भन्दै संघका २७ र प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो । यी मध्ये कतिपयले स्पष्टिकरण बुझाएका छन् । प्राप्त स्पष्टिकरणको अध्ययन गरी आवश्यक निर्णय गर्न स्थायी कमिटिलाई जिम्मेवारी दिइएको थियो । माधव नेपाल पक्षले स्पष्टिकरण विधान विपरित भएको भन्दै शुक्रबार नै सर्वोच्च अदालतमा निवेदन दिएको थियो । अदालतले आजका लागि सुनुवाईको मिति तोकेको छ । आज बिहान १० बजे बालुवाटारमा बस्ने गरि बोलाइएको बैठकको सम्बन्ध सर्वोच्चको निवेदनसँग त छैन भनेर समेत अड्कलबाजी भइरहेको छ । ् माधव नेपाल पक्षले भने पार्टी पुनस्र्थापित भएपछि फागुन २८ गते बोलाईको केन्द्रीय समिति र सो पछिका सम्पूर्ण निर्णय विधानविपरित रहेको बताउँदै आएको छ ।
सोमबारदेखि मुख्य सुरुङमा पानी पठाइने, सतर्क रहन आयाेजनाकाे अपील
चरीकोट, वैशाख १२ गते । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । त्यससँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ । आयोजनामा निर्मित जलाशयमा पानी भर्ने र सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने काम हुन लागेकाले सुरक्षित रहन यसरी रोक लगाइएको हाे । सुरु गरिएको पानी परीक्षणका क्रममा तामाकोसीको पानी रोक्ने र छोड्ने काम गर्नुपर्ने हुन्छ । पानी रोक्ने र छोड्ने काम गर्दा कुनै बेला एकै पटक धेरै मात्रामा पानी छोड्नुपर्ने पनि हुनसक्छ । यसो गर्दा बाँधदेखि तल्ला तटीय क्षेत्रअन्तर्गत किनारामा पर्ने स्थानमा पानी घटबढ भइरहन सक्छ । यो बेलामा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, ढुङ्गा बालुवा निकाल्ने, बस्तुभाउ ओसारपसार गर्नेलगायतका काम नगर्न आयाेजनाले आग्रह गरेको छ । आयोजनाको बाँध स्थलदेखि सिँगटी बजारसम्म प्रत्यक्ष र त्योभन्दा तल्लो क्षेत्रमा पनि अप्रत्यक्ष रूपमा पानी घटबढ भइरहने छ । सूचनाको उल्लङ्घन गरी कुनै प्रकारको क्षति भएमा आयोजना जवाफदेही नहुने आयोजनाद्वारा जारी सूचनामा उल्लेख छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै तालाबन्दी
कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालयका पदाधिकारीसित पटक–पटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए । अनेरास्ववियु अध्यक्ष गजुरेलसहित नेपाल विद्यार्थी सङ्घका विक्रम बुढा, अखिल (क्रान्तिकारी)का गणेशराज मिश्रा, अखिल (क्रान्तिकारी)का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैटौँका दीपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष शङ्कर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीका बेला परीक्षा सञ्चालन कार्य रोक्न विश्वविद्यालयसँग माग गरेका छन् । विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका छन् । कोरोनाको सङ्क्रमित विद्यार्थी, कर्मचारीलगायतको स्वास्थ्य सुरक्षा, क्वारेन्टिन र आइसोलेसनको यथाशीघ्र व्यवस्थापन गर्नसमेत उनीहरुले माग गरेका छन् ।
स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि आज कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका छन् । सिसिएमसीले गरेको ब्रिफिङपछि प्रधानमन्त्रीले केही दिन अघि जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए। ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार कोरोनाको सङ्क्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए । सिसिएमसीले यही वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, सङ्क्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो । यस्तै, सरकारको तर्फबाट आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा आवश्यक छलफल गरी खाका ल्याउन प्रधानमन्त्रीले सिसिएमसीलाई निर्देशन दिनुभएको छ । सरकारले काठमाडौं उपत्यकालगायतका जिल्लामा शैक्षिक संस्थालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने व्यवसथा मिलाएको छ । यस्तै, सवारी साधनमा मास्क तथा स्यानीटाइजरलगायतको व्यवस्था गरिको छ । मनोरञ्जन स्थल तथा भीडभाड हुने स्थानमा २५ जना बढी भेला हुन नपाउने व्यवस्था गरेको छ ।
कोरोनाबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन
नेपालगञ्ज : कोरोना संक्रमणबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । अस्पतालका अनुसार सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको हो । नेपालगञ्ज-३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए । २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बनेकी थिइन् ।
बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं : नेपालगञ्जको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका-२ की ७२ वर्षीय महिलाको उपचारका क्रममा शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । वैशाख ७ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँके जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।
दमकमा करेन्ट लागेर एक बालिकाको मृत्यु
दमक : विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडान गरिएको मोटरबाट अचानक विद्युतीय करेन्ट लागेर गम्भीर घाइते हुनुभएकी बालिकाको आज एड्भान्स अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
खोटाङमा बस दुर्घटना : एकको मृत्यु, २२ जना घाइते
खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ कदुवास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा एकको मृत्यु र २२ जना घाइते भएका छन् । शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालकसहित ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाइते र १६ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । बा ३ ख ९२८५ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सहचालक सिन्धुली घ्याङलेक गाउँपालिका-१ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायब उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटिई घाइतेलाई उपचारको लागि पठाइएको छ प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २६१९ जनामा देखियो कोरोना, १४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २६१९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक वेभपेजमा गरेको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा गरिएका ८ हजार ६६८ परीक्षणमा २६१९ जनामा संक्रमण देखिएको हो । यसमध्ये पिसिआर जाँच गर्दा २४८६ र एन्टिजेन परीक्षणमा १३३ जनामा कोरोना देखिएको हो । पिसिआर जाँच गरिएकामध्ये सबैभन्दा धेरै ६४४ जना संक्रमित काठमाडौं जिल्लामा देखिएका छन् । काठमाडौंपछि बाँकेमा ३५२ र रुपन्देहीमा २६८ जनामा कोरोना देखिएको छ । तथ्यांक अनुसार, यो अवधिमा ८ जनाको मृत्यु भएको छ । यही अवधिमा ३६८ जना कोरोनाबाट निको भएका छन् ।
त्रिकोणात्मक सिरिजमा नेपालको कीर्तिमानी जीत, नेदरल्याण्ड १४२ रनले पराजित
काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजमा नेपालले कीर्तिमान कायम गरेको छ । फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरमा हराउँदै उपाधि जितेको हो। सिरिजको अन्तिम खेलमा उत्कृष्ट बलिङ र कीर्तिमानी ब्याटिङ गर्दै नेपालले सिरिज आफ्नो हात पारेको हो । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको हो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। टस हारेर शुरुमा ब्याटिङ गरेको नेपालले कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । नेपालका तर्फबाट कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी २० प्रतियोगितामा आफ्नो चौथो अर्धशतक बनाएका थिए भने कुशल मल्लले पहिलो अर्धशतक बनाए । त्रिदेशीय शृङ्खलाको फाइनलमा निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो। टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो । कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए । नेदरल्याण्डसँगको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए । कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले अर्धशतक पुरा गरे भने दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड भने शुरुदेखि नै दबाबमा परेको थियो । उसले पहिलो पावर प्लेमा ४ विकेट गुमाउन पुगेको थियो । करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले २-२ विकेट लिए। अभिनास बोहराले १ विकेट हात पारे। नेपालले घरेलु मैदानमा पहिलो टी-२० सिरिज जित्दा ११ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो। यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेको थियो।
दुबै डोज कोरोना खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकमा समेत देखियाे संक्रमण
कोरोना खोपको पूर्ण मात्रा लगाएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । भारतमा यसप्रकारका घटना व्यापक देखिएपनि नेपालमा दुबै खोप लगाएका व्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हुनसक्छ । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपालमा कोरोना संक्रमण देखिएको हो । उनले कोरानोविरुद्धका खोपको दुबै मात्रा लगाएका थिए । चिकित्सक नेपालसँगै पत्नी पनि संक्रमित भएकी छिन् । देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए । भारतमा भएका अनुसन्धानहरुले कोरोना भाइरसको युके भेरियन्टले खोप लगाएका व्यक्तिलाई समेत संक्रमित बनाएको देखिएको छ । केही दिनअघि भारतको एम्सलगायतका अस्पतालमा खोप लगाएका दर्जनौं स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । डा. नेपालमा कोरोनाको युके भेरियन्ट हो वा होइन भन्ने कुरा भने अझै निक्र्यौल भइसकेको छैन ।
कोरोना संक्रमित भएका पूर्वराजा ज्ञानेन्द्र र कोमल शाह अस्पताल भर्ना
काठमाडौं । हरिद्वारा फर्केपछि कोरोना संक्रमण देखिएका पूर्व राजा ज्ञानेन्द्र र उनकी पत्नी कोमल शाह अस्पताल भर्ना भएका छन् । पूर्व राजारानीसँगै उनकी छोरी प्रेरणा शाहमा पनि कोरोना देखिएपछि तिनैजना नर्भिक अस्पतालमा भर्ना भएका हुन । स्वास्थ्यमा जटिलता नभएपनि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको शाह परिवार निकटले बताएका छन् । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर आइतवार फर्किएका पूर्व राजदम्पतीमा मंगलबार संक्रमण पुष्टि भएको थियो । कुम्भमेलामा सहभागी एक हजारभन्दा बढीलाई सङ्क्रमण पुष्टि भएको छ ।
दिल्लीमा अक्सिजन इमर्जेन्सी, गोल्डन अस्पतालमा २२ को मृत्यु
नयाँ दिल्ली । कोरोना भाइरस तीब्र गतिमा फैलिने क्रमसँगै दिल्लीका अस्पतालहरुमा अक्सिजनको संकट गहिरिएको छ । अक्सिजनको कमी हुँदा बिरामीको मृत्यु हुने दर समेत बढेको छ । शुक्रबार राती जयपुर गोल्डन अस्पतालमा अक्सिजनको कमीका कारण २० बिरामीको मृत्यु भएको नवभारत टाइम्सले जनाएको छ । शनिबार बिहान आधा घण्टाका लागि मात्रै अक्सिजन बाँकी रहेपछि मूलचन्द अस्पतालका मेडिकल डाइरेक्टर कुरा गर्दागर्दै रुन पुगेको टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ । जयपुर गोल्डन अस्पतालमा २० जना बिरामीको मृत्यु भएपछि आफन्तहरुले विरोध प्रदर्शन समेत गरेका थिए । अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले होहल्ला गरेपनि अस्पताल प्रशासनले भने अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै विवशता जनाएको छ । सरोज अस्पताल लगायत कैयन अन्य अस्पतालले नयाँ बिरामी लिन बन्द गरेको छ । अक्सिजनको संकट चुलिएपछि भारतका अन्य राज्यमा समेत अस्पतालहरु ठूलो संकटमा परेका छन् । दिल्लीको उच्च अदालतले जुनसुकै शर्तमा अक्सिजनको व्यवस्था गर्न निर्देशन दिएको छ । तर, सरकारको कोशिसले पनि अक्सिजनको सहज आपूर्ति हुन सकेको छैन ।
प्रधानमन्त्रीद्वारा पुननिर्मित धरहराको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको धरहराको उदघाटन गरेका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार, प्रधानमन्त्रीले आज बिहान धरहराको उदघाटन गरेका हुन् । २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको हो । शिलालेख अनावरणपछि प्रधानमन्त्री ओली लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर पुष्प वृष्टि गरेका थिए । यसअघि पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए । २२ तलाको धरहरा ८३.८५ मिटर अग्लो रहेको छ । धरहराको उदघाटन गरिए अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।

