माथिल्लो तामाकोसीले वैशाखभित्र ७६ मेगावाट विद्युत् दिने

नयाँ वर्ष २०७८ का अवसरमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले देशवासीलाई उपहारस्वरूप ७६ मेगावाट विद्युत् दिने भएको छ ।

१० वर्षदेखि दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले वैशाखभित्र पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन थाल्ने बताइएको छ । हाल आयोजनाको मुख्य निर्माणअन्तर्गत बाँध, इन्टेक, मुख्य सुरुङ, टेलरेस सुरुङ, विद्युत् गृहलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रो मेकानिकल उपकरणको समेत प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । त्यस्तै बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायत संरचनाका सिभिल र मेकानिकलतर्फका सानासाना काम भइरहेको र माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङ बीच भागमा राखिएको अन्तिम पेनस्टक पाइपको जडान कार्य भइरहेको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ, त्यसको परीक्षण र पेन्टिङको काम आगामी वैशाखको १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ । हाल हाइड्रो मेकानिकलतर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटिङको काम मात्रै बाँकी रहेको र सो काम भइरहेको छ ।

यी सबै काम वैशाख १५ गतेसम्म सम्पन्न गरेपछि मुख्य सुरुङमा पानी हाली प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पानी भर्ने क्रममा सिभिल र हाइड्रो मेकानिकल संरचनामा कुनै जटिल समस्या नआएमा सातदेखि नौ दिनभित्र परीक्षण कार्य सम्पन्न गरिने बताउँदै उहाँले भन्नुभयो, मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका छवटा टर्वाइन र छवटा जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ प्रारम्भ हुनेछ ।

यसक्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्रै विद्युत् उत्पादन सुरु हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । आयोजनामा ७६÷७६ मेगावाटका छवटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत् उत्पादन हुने उल्लेख गर्दै उहाँले चालू आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनेमा आशावादी रहेको बताउनुभयो ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो मेकानिकल लट–२ ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले आयोजना निर्माणमा ढिलाइ भएको थियो । भूकम्पले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजना निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो ।

८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ । २०६७ भदौबाट मुख्य सिभिल निर्माण कार्यको सुरुवात गरिएको यस आयोजना ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्य वृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने ब्याज, प्रशासनिक खर्चलगायतका कारण ब्याजसहित ४९ अर्ब रुपियाँको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ८४ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।
-गोर्खापत्र दैनिकबाट

लकडाउन गर्नु नपरोस् भनेर सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउनको परिस्थिति नरहेको बताएका छन् । नयाँ वर्षका अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कतिपय देशहरुले अवस्था बिग्रेपछि लकडाउन गर्नुपरेको उल्लेख गर्दै नेपालमा त्यो अवस्था नआवोस भनेर सतर्कता अपनाउनुपर्ने बताए । सरकारले जारी गरेका सुरक्षाका मापदण्ड पालना गरेर नागरिक आफैं सुरक्षित रहे कोरोना नियन्त्रणका लागि लकडाउन गर्न आवश्यक नरहेको उनको आशय थियो । सरकारले सतर्कता विधिलाई नै कोरोना नियन्त्रणका लागि अघि सारेको बताउँदै प्रधानमन्त्रीले परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको बताए । “ सबैले मापदण्ड पालना गर्दै सावधानी अपनाउन अपील गर्दछु ।” उनले भने । कतिपयले प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको भन्दै आफू त्यो पक्षमा नरहेको उनले बताए । सम्बोधनका क्रममा ओलीले सरकारले असहज परिस्थितिमा पनि उल्लेख्य उपलब्धि हासिल गरेको बताए । सरकारले विकास निर्माणका कामलाई उच्च प्राथमिकताका राखेकाले निराशा जगाउन खोजिएका प्रयासहरु मान्य नहुने उनको भनाई थियो। लामो समयदेखिको प्रतीक्षामा रहेका मेलम्ची खानेपानी काठमाडौंमा ल्याएको, पुनर्निर्माणका काममा प्रगति भएको, कृषि उत्पादनका कारण अर्थतन्त्र निराशाजनक नभएको, यातायात क्षेत्रमा प्रगति भएको जस्ता उपलब्धिको सूचि समेत सार्वजनिक गरेका थिए । प्रधानमन्त्री ओलीले विदेशा असुरक्षा रहेकाले देशभित्रै रहेर उपयुक्त रोजगारीका अवसर खोज्न आग्रह गरे ।

सभापति देउवाः समतामूलक समृद्ध नेपाल निर्माणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नयाँ वर्षले राजनीतिक एकता कायम गर्दै समृद्ध नेपालकोतर्फ अघि बढ्ने प्रेरणा दिने कामना गरेका छन् । नयाँ वर्ष २०७८ का अवसरमा शुभकामना दिँदै सभापति देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन समेत आग्रह गरेका छन्। अनिवार्यरूपमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन उनका आग्रह छ । कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पुर्‍याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनले भनाइ छ। सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न नसकेका बाबजुद पनि नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दूरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ। देउवाले आमनेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न सबैका लागि नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् भन्ने कामना गरेका छन्। उनले यो वर्ष विश्वले कोभिड–१९ माथि पूर्णरूपले विजय पाउन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन शुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् । नयाँ वर्ष २०७८ सालका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले सम्बोधनमा सरकारले गरेका उपलब्धिहरुका बारेमा जानकारी दिइरहेका छन् । प्रधानमन्त्रीले यातायातका क्षेत्रमा सरकारले उल्लेख्य उपलब्धि हासिल गरेको बताए । यसैगरी सुरक्षा भत्ता कार्यक्रममा ६० लाख जना सहभागी भएको उनले बताए । प्रतिकूलताकाबीच असाधारण काम भएको उनको भनाई छ । पुनर्निर्माण प्राधिकरणले समेत असाधारण काम गरेको उनले बताए । रानीपोखरी पुरा भएको र धरहराको काम समेत समाप्त भएकोले यसै महिनाको ११ गते उदघाटन हुने उनले बताए । मेलम्चीको सपना पुरा भएको बताउँदै प्रधानमन्त्रीले जस लिने होडबाजीमा सहभागी हुने रहर नभएको बताए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

सभामुख सापकोटाको सन्देशः सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने

सभामुख अग्नी सापकोटाले देशमा उत्पन्न राजनीतिक समस्या हल गर्न सहमति र सहकार्यमा जोड दिएका छन् । नयाँ वर्षका अवसरमा शुभकामना दिँदै सापकोटाले सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको बताएका हुन। अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक रहेको भन्दै सभामुखले प्रतिबद्धताहरू व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने बताएका छन् । सन्देशमा उनले भनेका छन्, “हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुने गरी फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक सङ्कट ब्योहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौँ ।” सङ्कट अझै टरेको छैन भन्दै सभामुखले हामीले गत वर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था रहेको तथा महामारीविरुद्ध सङ्घर्ष जारी रहेको स्पष्ट पारेका छन् । उनले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अधिक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । सभामुखले संविधान सभामार्फत नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनको चरणमा रहेको र संविधानको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम बाँकी नै छन् भनेका छन् । उनले विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरूभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भइरहने छ भन्ने आशा व्यक्त गरेका छन् । सभामुखले अनुशासित भएर कोभिड–१९ लाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीद्वारा सावधानीका उपाय अवलम्बन गर्दै दैनिक जीवन जारी राख्न आह्वान

राष्ट्रपति भण्डारीले वर्ष २०७७ मा देशले धेरै उपलब्धि हासिल गरेको भन्दै नयाँ वर्षमा कोरोनाको चुनौतीसँग सामना गर्न आव्हान गरेकी छिन् । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले वर्ष २०७८ मा सरकारका तर्फबाट धेरै उपलब्धि हासिल गरेको उल्लेख गरेकी हुन । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको भण्डारीले उल्लेख गरेकी छन् । उनले संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनुजस्ता कार्य सकारात्मक उपलब्धि भएको जनाइन् । “तथापि कोरोनाको कहर हाम्रासामु अझै चुनौतीको रूपमा उभिएकै छ । कोभिड–१९ विरुद्धको खोप क्रमशः सबै नागरिकका लागि उपलब्ध हुँदै जानेछ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पूर्वसावधानीका उपाय अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्नका लागि म सबैलाई आह्वान गर्दछु”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ । उनले कोरोना कहरको बीचमै रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाको पुनःनिर्माण सम्पन्न हुनुका साथै चिर प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण शुरु गरिनुलाई २०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धिको रूपमा लिन सकिने पनि जनाइन् । राष्ट्रपतिको सन्देशमा भनिएको छ, “समयरूपी नदी निरन्तर बगिरहेको छ । समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । जुन राष्ट्रले अमूल्य समयको अधिक उपयोग गर्न सके, ती राष्ट्रले सामाजिक आर्थिक विकासका शिखर चुमेका छन् । हामीले पनि समयको महत्वलाई आत्मसात् गर्दै पूर्वाधार विकासको प्रक्रियामा तीव्रतम रूपमा अगाडि बढ्नु पर्दछ ।”

आजदेखि वर्ष २०७८ शुरु, नयँ संकल्पका साथ मनाईंदै

काठमाडौँ : आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्‌को व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्‌को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्‍ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । रासस

बागमती प्रदेशसभा बैठक बैशाख २ गते बस्ने

मकवानपुर  : बागमती प्रदेशसभा बैठक आगामी वर्ष २०७८ वैशाख २ गते बस्ने भएको छ । बागमती प्रदेशसभा सचिवालय सचिव कृष्णहरि खड्काले वैशाख २ गते १ बजेका लागि बैठक आह्वान गरीएको जानकारी दिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरीएको सचिव खड्काले बताए । २ गते बस्ने प्रदेशसभा बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डा प्रस्तुत गरिने उनले बताए । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण यसअघिका प्रदेशसभा बैठकहरू अवरुद्ध हुँदै आएको थियो । यसअघि गत चैत २४ गतेदेखि २६ गतेसम्म तिन दिन संचालन भएको प्रदेशसभाको सातौं अधिवेशन बैठक प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो । चैत २६ गतेको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका इन्द्र बहादुर बानियाँ, नेमकिपाका सुरेन्द्र गोरसाई, साझ विवेकशील दलका रमेश पौड्याल र राप्रपाकी रिता माझीले प्रदेश सरकार जनताको स्वाथ्य उपचारमा गम्भिर नभएको र मापदण्ड बिना नै विद्युतीय बस खरिद प्रकृया अगाडी बढाएर भ्रष्टाचारलाई प्रत्साहन गर्न तर्फ लागेको भन्दै प्रकृयाको खारेजीको माग गरेका थिए । उनीहरुको सम्बोधन सकिए लगतै मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय सरोकारका विषयमा जवाफ माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको थियो । नेकपा र नेकपा एमालेको विवादका कारण लामो समयदेखि रोकिएको प्रदेशसभा बैठक पुनः अवरुद्ध बनेको थियो । बैठक संचालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।

कोरोनाविरुद्धको दोस्रो चरणको खोप बैशाख ७ देखि लगाइने

काठमाडौं : पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी बैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ । खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ र लुम्बिनीका केही ठाउँमा भने खोपको दोस्रो मात्रा लगाइसकिएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।  

एनबिए ब्याडमिन्टन अनिश्चितकालका लागि स्थगित

काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको संघले जनाएको छ । कोरोनाको कहर बढे संगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भइरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सूचनाअनुसार अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको संघद्वारा जानकारी गराइएको छ । साथै खेलाडी सम्मानलाई पनि सोहि समयमा गरिने जानकारी गराएको छ । यस अघि चैत्र १५ गते देखि आयोजना गर्ने भनिएको प्रतियोगिता बैशाख ४ देखि ८ सम्मका लागि सारिएको थियो ।

गुल्मीमा खोलामा डुबेर २ बालकको मृत्यु

गुल्मी : गुल्मीमा खोलामा डुबेर २ बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ३ सिर्सेनीमा डुबेर २ बालकको मृत्यु भएको हो । मदाने गाउँपालिका १ अग्लुङ घर भएका ५ वर्षीय सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ वर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा बालकको डुबेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेले जानकारी दिए । प्युठान गौमुखी गाउँपालिका ५ खुँगकी बिष्णु विकका छोरा गोविन्द सहित सोमबार मात्रै सिर्सेनी माइती घर आएकी थिइन् ।

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणका लागि ३२ सदस्यीय टोलीको घोषणा गरेका हुन् । एन्फाका अनुसार बन्द प्रशिक्षण एक महिनापछि मई १७ देखि सुरु हुनेछ । गोलरक्षकमा ४ जना, डिफेन्समा ९ जना, मीडफिल्डमा १५ जना तथा फरवार्डमा ४ जना खेलाडी अटाएका छन् । बन्द प्रशिक्षणमा गोलरक्षकको रुपमा कप्तान समेत रहेका किरणकुमार लिम्बु, बिकेश कुथु, दीप कार्की र विशाल सुनार छनोट भएका छन् । रक्षात्मक पंक्तिमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ र विकास खवास छन् । त्यसैगरी, मीडफिल्डमा त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, सञ्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, शेशाङ आङदम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बूढाथोकी, श्यान्सु भूषाल, अञ्जन विष्ट र सुमन लामा रहेका छन् । फरवार्डमा दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास र नवयुग श्रेष्ठ रहेका छन् ।  

नयाँ सरकार गठनबारे देउवा, उपेन्द्र र बाबुरामबीच बूढानीलकण्ठमा भेटवार्ता

काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उनीहरूबीच देउवा निवास बूढानीलकण्ठमा मंगलबार भेटवार्ता भएको हो । भेटमा नयाँ सरकार गठनबारे कुराकानी भएको बताइएको छ । गत शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई आफ्नै निवासमा बोलाएर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव राखेका थिए । त्यसमा माओवादी सकरात्मक भए पनि जसपाले कुनै निर्णय गरेको छैन ।

५१७ संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौं । नेपालमा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये ३ हजार ६०८ सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १६१, ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार १५३ जना संक्रमित निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । मंगलबार कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ ।

रमजान पर्व सुरू भोलिदेखि हुँदै

विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरू हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व सुरू हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बुधबार बिहान ४ः१५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर आंैधी रमाउने प्रचलन छ । सुनसरी चाँदबेलाका मोहम्मद इनुसले रमजान महिना हाम्रो लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलको भनाइ छ । व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गछैन् । एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको बताइएको छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् । देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ । रासस

रेसुङ्गा वनमा भीषण आगलागी

गुल्मी : गत ३ दिनदेखि गुल्मीको सदरमुकाम तम्घासको रेसुङ्गा वन क्षेत्रमा लागेको नियन्त्रण बाहिर गएको छ । दक्षिण उर्लेनी र देउराली वन क्षेत्रबाट लागेको आगो शनिबार साझ उर्लेनीबाट उत्तर र तम्घासबाट पूर्वमा पर्ने बुढिचौर टोल बस्ती माथि फैलिएको छ । आगो नियन्त्रणमा सेना प्रहरी र सशस्त्र प्रहरी खटिए पनि जिल्लाका अधिकांश स्थानमा आगलागीमा स्थानीयबासी नै बढी सकृय हुनुपर्ने देखिएको छ ।