सुर्खेतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

सुर्खेत : कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका –९ का ५८ वर्षीय महिलाको मृत्यु भएको हो ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण उनको आज (आइतबार) दिउँसो मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मृतक महिला कोरोना र दमका कारण गम्भिर विरामी भएपछि केही दिनअघि प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । साङ्केतिक तस्बिर ।

पदमुक्तपछि बादल पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडौं । पदमुक्तपछि राम बहादुर थापा ‘बादल’ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री पुनः नियुक्त गरेकी हुन् नेकपा माओवादी केन्द्रको सिफारिस बादललाई आइतबार नै राष्ट्रिय सभा सदस्यबाट हटाइएसँगै स्वतः गृहमन्त्री पदबाट पदमुक्त भउका थिए । थापालाई आजै अपरान्ह ५ बजे सपथ खुवाउने कार्यक्रम छ । उनको सांसद पद रिक्त भएसँगै अब ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ । सम्बन्धित समाचारः थापाकाे राष्ट्रिय सभा सदस्यता खारेज, गृहमन्त्रीबाट समेत पदमुक्त पदमुक्तपछि पुनः गृहमन्त्रीको शपथ लिँदै बादल बादलको ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएको छ । बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने उनले बताए । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । उक्त बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ ।

चितवनको माडी पुगे प्रचण्ड, मतदातासँग भेटघाट गर्दै (फोटो फिचर)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र चितवनको माडी पुगेका हुन् । त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले मतदातासँग भेटघाट गरेका छन् । सो क्रममा प्रचण्डले दिवाकार स्मृति बहुप्राविधिक शिक्षालयको भवन उद्घाट गरे । राजनीतिक व्यस्तताका बीच पनि प्रचण्ड नियमितरुपमा निर्वाचन क्षेत्र जाने गरेका छन् । गत सातामात्रै उनी चितवनको भरतपुर महानगरपालिका अन्तर्गत बिभिन्न टोलमा पुगेर जनतासँग छलफल गरेका थिए । चितवनको पछाडि परेको क्षेत्रका रुपमा चिनिएको माडी नगरपालिकामा प्रचण्डले बिभिन्न विकास आयोजनाको निरिक्षण गर्नुका साथै स्थानीय जनता र जनप्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।  

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, नयाँ सरकार गठनबारे ठोस निर्णय हुनसक्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । यसअघि स्थगित भएको बैठक आज दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । आजको बैठकमा मुख्यतः नयाँँ सरकार गठन र भदौ १४ गते निर्धारित गरिएको महाधिवेशनबारे छलफल हुने बताइन्छ । नेपाली कांग्रेसको यसअघिको बैठकले सरकार बनाउने विषयमा निर्णय गर्दै प्रधानमन्त्री ओलीको राजिनामा माग गरेको थियो । यद्यपी यो विषयमा कांग्रेसका तर्फबाट पहलकदमी भने यो बीचमा भएको थिएन । आजको बैठकमा सरकारमा जाने सवालमा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने भन्ने विषयले छलफलमा प्रवेश पाउने देखिन्छ । कांग्रेसभित्रको पौडेल पक्षले अहिलेको संकटको अन्त्य र व्यवस्था जोगाउन केपी ओली सरकारको बहिर्गमन पहिलो शर्त भएको बताउँदै आएको छ । पार्टीले सरकार निर्माणका लागि पहल गर्नुपर्ने र अविश्वासको प्रस्ताव लैजानुपर्ने मत कांग्रेसभित्र बलियो रहेको छ । सम्भवतः कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गर्ने र सोही मितिमा माओवादी केन्द्रले समेत समर्थन फिर्ता लिने या कांग्रेसको अविश्वास प्रस्तावमा माओवादीले समेत समर्थन गर्ने विषयमा आज ठोस निर्णयमा पुग्ने अवस्था हुनसक्छ । कर्णाली प्रदेशमा नेकपा एमालेले दर्ता गरेको अविश्वास प्रस्ताव माओवादी, कांग्रेस र एमालेभित्रको माधव नेपाल समूहले समर्थन नगरेको घटनाले केन्द्रमा समेत प्रभाव पार्ने देखिन्छ ।

गएराति भेरी अस्पतालमा ३ कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे उहाँको मृत्यु भएको हो । भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । -गोर्खापत्रबाट

चितवनमा सडक दुर्घटना, १ जनाको मृत्यु, ४ घाइते

चितवन : चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । भरतपुर महानगरपालिका-२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना ४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर-२६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकल पछाडि सवार भरतपुर-२५ का २२ वर्षीय अमित महतो दुर्घटनामा घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यस्तै आज दिउँसो २ः५५ बजे रत्ननगर नगरपालिका-२ बेल्सिपुल नजिक भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । ना ३५प ६५०२ नम्बरको स्कुटरले विपरीत दिशाबाट आइरहेको प्रदेश ३-०३-००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा२ख ४५२२ नम्बरको बसमा ठोक्किन पुगेको थियो । सो क्रममा स्कुटर र मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो । आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्ता गर्न उत्प्रेरित र सहजीकरण गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ । जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीका लागि निरन्तर रुपमा नाम दर्ता भइरहेको जनाउँदै आयोगले राजनीतिक दललाई आफ्ना जिल्ला र स्थानीय सङ्गठनलाई त्यसबारे प्रचारप्रसार गरी सहयोग र सहजीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ । मतदाता नामावली ऐन २०७३ ले तोकिएको योग्यता पूरा भएका नागरिकको नाम र फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउन आयोगलाई जिम्मेवारी दिएको छ । मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने कार्य निरन्तर रुपमा गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ । स्थानीय तहको वडाको मतदाता नामावलीमा नाम दर्ता गराउनु नेपाली नागरिकताको प्रमाण प्राप्त गरेका हरेक व्यक्तिको कर्तव्य रहेको आयोगको भनाइ छ । मतदान गर्न योग्यता पूरा भएका कोही पनि व्यक्ति मतदानबाट वञ्चित नहुन् भन्ने आयोगको अभिप्राय छ । मतदानका लागि मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्व शर्त रहेको जनाउँदै आयोगले मतदाता नामावलीमा समयमै नाम दर्ता गराउन सबै नागरिकसँग अपिल गरेको छ ।

मुलुकको राष्ट्रियता धरापमा पर्‍यो : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गरेका छन् । अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि उनले बताए । यसलाई संस्थागत गर्न चुनौती रहेको पनि बताए । नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले अझै पनि क्रान्ति सफल नभएको बताए । क्रान्ति पुरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नु पर्ने तर अहिले सार्वभौमिकता नै धरापमा परेको बताए । कार्यक्रममा अखिल (छैठौं)ले आफ्ना पूर्व अध्यक्षहरूलाई सम्मान गरेको थियो । यस्तै नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौं)को इतिहास नामको पुस्तक विमोचन पनि गरिएको थियो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाऔं : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस सङ्क्रमणको महामारीबाट प्रदेश अझै मुक्त हुन नसकिरहेको अवस्थामा तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन आग्रह गरेका छन् । ‘बिसु’ पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा प्रदेशवासीलाई आज दिएको सन्देशमा मुख्यमन्त्री भट्टले नयाँ वर्षले प्रदेशवासीका घरघरमा उत्साह, उमङ्ग, उन्नति, प्रगति, सुख शान्ति र समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष आरम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा मात्र मनाइने ‘बिसु’ पर्व आज उल्लासपूर्वक मनाइँदै छ ।

चितवनमा सात वटा जनगणना कार्यालयको स्थापना

राष्ट्रिय जनगणना २०७८ को लागि नयाँ बर्षको पहिलो दिन चितवनमा सात वटा जनगणना कार्यालयको स्थापना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागको जनगणना सम्बन्धी तालिका अनुसार कार्यालय स्थापना गरेको जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर–१० को तथ्याङ्क कार्यालय, भरतपुर–६ को गितानगर र भरतपुर–२० वडा कार्यालयको भवन नयाँबजारमा स्थानीय जनगणना कार्यालयको स्थापाना गरिएको हो । त्यस्तै रत्ननगर नगरपालिकाको भवनमा, राप्ती र खैरहनी नगरपालिका हेर्ने गरी राप्ती नगरपालिकाको भवनमा, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका हेर्ने गरि कालिका नगरपालिकाको रेडक्रस ग्राममा कार्यालय स्थापना गरिएको हो । सार्वजनिक बिदा भएपनि केन्द्रको तालिका अनुसार बुधबार कार्यालय स्थापना गरिएको भण्डारीले बताउनुभयो । कार्यालयमा बैशाख १ देखि असार मसान्तसम्म मात्र काम हुनेछ । कार्यालयका लागि स्थानीय जनगणना अधिकारी समेत खटाइएको छ । ७ जना स्थानीय जनगणना अधिकारीलाई कार्यादेशसहित कार्यक्षेत्रमा पठाइएको छ ।

सरकारद्वारा ३८१ जनालाई ‘लोकतन्त्र योद्धा सम्मान’ प्रदान

काठमाडौं । सरकारले लोकतन्त्र प्राप्तीको आन्दोलनका ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । माओवादी जनयुद्द, २०६२–६३ को जनआन्दोलन तथा मधेस आन्दोलनमा ज्यान गुमाएका परिवार, घाइते तथा अपाङ्गगलगायत १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मानित गरिएको हो । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिएका हुन । सरकारले यो सम्मान ७७ वटै जिल्लामा गरिने जनाएको छ । जिल्लाहरुमा सिडिओको नेतृत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको र सो समितिको सिफारिसका आधारमा लोकतन्त्रका योद्धाहरुलाई सम्मान गरिनेछ ।

अपडेट: प्यूठान दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु, ९ घाइते

गुल्मी । प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिंगृ प्रहरी चौकीले जनाएको छ । नयाँ वर्षको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि लु १ ज १६ सय ५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालक केशव कार्कीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने नाम नखुलेको एक पुरुषको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।

हुन्डी कारोबार गरेको अभियोगमा एक युवक पक्राउ, ८ लाख रुपैयाँ बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले हुन्डी कारोबार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने भगवानप्रसाद कलवार रहेका छन् । उनलाई प्रहरीले वीरगञ्ज–६ स्थित बाबा होटल नजिकैबाट नियन्त्रणमा लिएर जाँच गर्दा साथमा रहेको झोलाबाट श्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँ बरामद गरेको जनाएको छ । कलवरामाथि बैकिङ्ग तथा वित्तीय ऐनसम्बन्धी कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।

नयाँ वर्षको बिहानै प्यूठानमा जीप दुर्घटना, ३ को मृत्यु

प्यूठान । नयाँ वर्षका बिहान प्यूठानमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । नयाँ वर्षका अवसरमा भ्रमण र स्वर्गद्वाराी दर्शनका लागि जाँदै गरेका यात्रुहरु बोकेको जीप दुर्घटनामा परेको हो । गुल्मीबाट हिँडेको लु१ज १६५५ नं. को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको थियो । बुधबार बिहान स्वर्गद्वारी नगरपालिकास्थित मन्दिरभन्दा ५०० मिटर तलको सडकमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। ‘दुई जनाको ‘स्पटडेथ’ भएको छ,’ प्रहरी निरीक्षक गैरेले भने,‘एक जनाको भने उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा मृत्यु भएको हो।’ १२ जना घाइते समेत भएको उनले बताए। सो जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी रहेको उनले जानकारी दिए। यद्यपी कति जना कर्मचारी सवार थिए भन्ने अहिले खुलिसकेको छैन। जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा गुल्मीका प्रशासकीय अधिकृत र चालकको मृत्यु भएको हो। जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । त्यहाँ भिङ्ग्रीको प्रहरी टोली उद्धारमा खटिएको छ ।