देउवाले बोलाएको तीन दलको बैठक सुरू
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक सुरू भएको छ ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शिर्ष नेताहरू सहभागी छन् । बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल हुनेछ ।
बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पुगेका छन् । जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् ।
प्रतिगमनको विरोध गर्ने सबै दलहरु एक ठाउँ हुनुपर्ने अपील माओवादी केन्द्रले बारम्बार गर्दै आए पनि नेपाली कांग्रेस र जसपाभित्र एकमत हुन नसक्दा वर्तमान सरकारको विकल्पबारे निर्णायक छलफल अघि बढ्न सकेको थिएन ।
कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।
सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार ७०० लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सविर वादे श्रेष्ठले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० आवेदक हात खाली भएका छन् । कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो । जसमध्ये दुई प्रतिशतअर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र पाँच प्रतिशतअर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण गरिएको छ । आइपिओको नतिजा मेरोशेयर, सिडीएसले आइपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
प्रधानमन्त्री बन्न देउवाले अग्रसरता लिने, पार्टीमा जुट्याे सहमति
काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिने भएका छन् । देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को यादव–भट्टराई समूहले केही समयअघिदेखि पहल गरिरहे पनि उनी आफैंले भने अग्रसरता लिइरहेका थिएनन् । पार्टीभित्रको प्रतिस्पर्धी समूहले समेत नेतृत्व लिने गरी अघि बढ्न आग्रह गरेपछि देउवा एकाएक उत्साही भएका हुन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक रूपमा उठाउँदै आएपछि देउवालाई अप्ठ्यारो परेको थियो । उनले सत्तालोलुप नभएको सन्देश दिन बिहीबारमात्रै सरकारको नेतृत्व लिन आफूले नचाहेको प्रस्टीकरण दिएका थिए । सत्ता समीकरणका लागि शुक्रबार कांग्रेस र जसपाबीच छलफल भएको थियो । त्यसअघि कांग्रेसभित्रै आन्तरिक समझदारी जुटाउन पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकले देउवालाई प्रधानमन्त्रीका रूपमा सर्वसम्मत स्विकारेपछि देउवाले वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिने बताएका थिए । ‘कांग्रेसका लागि अवसर आएको छ, अब यो अन्योललाई धेरै अघि बढ्न दिन हुन्न, हामीभन्दा तपाईं नै सत्ताको राम्रो खेलाडी हुनुहुन्छ, क–कसलाई के–के जिम्मेवारी दिने हो दिनुहोस्,’ बैठकमा सिटौलाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बनाउन अग्रसरता लिनुहोस् ।’ वरिष्ठ नेता पौडेल भने त्यहाँ उपस्थित थिएनन् । शुक्रबार बिहान आफ्नो पक्षको बैठक सकेर उनी बागलुङ पुगेका थिए । देउवाका लागि शुक्रबार बिहानको पौडेल पक्षीय बैठक नै विशेष बनेको थियो । महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकले देउवालाई प्रधानमन्त्री बन्नका लागि पार्टीभित्रबाटै सहजीकरण गरिदिएको हो । सत्ता समीकरणमा जटिलता बढ्दै गएको जनाउँदै देउवालाई सरकार निर्माणको पहल थाल्न आग्रह गर्ने धारणा पौडेल पक्षले बनाएको थियो । कांग्रेस नेतृत्वले वैकल्पिक सरकारको पहल अघि नबढाउँदा त्यसको लाभ ओलीले उठाउने आशंका बढेपछि देउवालाई नेतृत्वका लागि अग्रसर हुन आग्रह गर्ने समझदारी पौडेल पक्षले बनाएको हो । कान्तिपुर दैनिकबाट
ओलीले विधान मिच्नुभयो : भीम रावल
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गर्नुभएको भन्दै आपत्ति जनाए । सो समूहको बैठकपछि नेता रावलले भने, ‘एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।
१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ
बझाङ : बझाङमा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । बुंगल नगरपालिकामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा किशोरीकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ४४ वर्षीय बुवालाई पक्राउ गरेको हो । उनीमाथि शुक्रबार म्याद थप गरी अनुसन्धान भइरहेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए । ‘२२ गते घटना भएको, बिहीबार जाहेरी परेको र हिजो आरोपीलाई पक्राउ गरी आज म्याद थप भएको छ। उनीमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने । पीडित बालिकाको मेडिकल रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ ।
एमाले माधव पक्षले बोलायो आकस्मिक स्थायी कमिटी बैठक
काठमाडौं- नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्णयप्रति एमाले माधव नेपाल-झलनाथ खनाल पक्ष आक्रोशित भएको छ । ओलीको निर्णयविरुद्ध प्रतिक्रिया दिन नेता नेपालले आकस्मिक स्थायी कमिटी बैठकसमेत बोलाएका छन् । बैठक केही बेरअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक सुरु भएको हो । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर नवौं महाधिवेशनको कार्यसमिति पुनर्गठन गरेपछि नेपाल समूह आक्रोशित बनेको हो । ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने र प्रदेशको नेतृत्व हेरफेर गर्ने निर्णय गरेका हुन् ।
कांग्रेसलाई जसपाकाे आग्रह-‘सरकारकाे विकल्प खाेज्न अग्रसरता देखाउनुस्’
काठमाडौंः जनता समाजदावी पार्टी (जसपा) का नेताहरूले नेपाली कांग्रेसलाई वर्तमान सरकारको विकल्प खोज्न अग्रसरता देखाउन आग्रह गरेका छन् । शुक्रवार बेलुकी ४ कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा जसपाका नेताहरूले नेपाली कांग्रेसको अग्रसरतामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने धारणा राखेको पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले बताए । जसपाका नेताहरूले साझा धारणा बनाउनका लागि मतरअभिमत आएको तर ठोस निर्णय भइनसकेको प्रवक्ता शर्माको भनाइ छ । सरकारको नेतृत्वको विषयमा थप संवादपछि निष्कर्षमा पुग्ने कांग्रेसको भनाइ छ । छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायत नेताको सहभागिता रहेको थियो भने जसपाबाट अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतोलगायत रहेका थिए । जसपाका नेताहरूसँगको छलफलअघि कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । बैठकमा कांग्रेस नेताहरुले ओली सरकारको नेतृत्व हटाउने विषयमा आफ्नो धारणा राखेका थिए । ओली सरकारको विकल्प खोज्नुपर्ने कांग्रेसका नेताहरूको धारणा छ । यसअघि सिंहदरबारमा भएको संसदीय दलको बैठकपछि जसपाका नेताहरू बूढानीलकण्ठ गएका हुन् ।
एमालेद्धारा बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी
काठमाडौंः नेकपा एमालेको केपी ओली पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको माधवकुमार नेपाल पक्ष अनुपस्थित एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, वाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई तोकेको हो । त्यस्तै कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शङ्कर पोखरेल नै हुनुहुन्छ । उनीहरू ओली पक्षका नेता हुन् । यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।
बौद्धबाट युरेनियमसहित चारजना पक्राउ
काठमाडौंः काठमाडौंको बौद्धबाट साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन मार्फत पक्राउ गरेको जानकारी दिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशील सिंह राठौरले उनीहरुको बारेमा काठमाडौं प्रहरी परिसरमा अनुसन्धान भइरहेको जानकारी दिए
मंसिरमा महाधिवेशन गर्ने एमाले ओली पक्षको निर्णय
काठमाडौं । नेकपा एमालेको ओली पक्षले महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय गरेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गर्दै महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय गरेका हुन् । महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म हुनेछ । ओलीले एमाले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
झा दम्पतीको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना
काठमाडौं । महोत्तरीको पिपरा गाँउपालिका–५ सहोडवाका मुसाफिर झा दम्पतीको खोजी गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना दिइएको छ । संघले झा दम्पतीको ज्यानको सुरक्षा र यथार्थस्थितिबारे पत्ता लगाउन तथा दोषीमाथि कार्वाही गर्न माग गर्दै शुक्रबार माइतीघर मण्डलामा धर्ना दिएको हो । आगामी दुईदिन भित्रमा अपहरित दम्पतिको यथार्थस्थितिबारे जानकारी सार्वजनिक नगराइएमा र दोषी पत्ता लगाई सार्वजनिक नगरेमा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन वाध्य हुने संघले चेतावनी दिएको छ । मुसाफिर झा र उनको श्रीमती फागुन १० गते रातिदेखि बेपत्ता छन् । उनीहरू अपहरण भएको आशंका गरिएको छ । यसैबारे विभिन्न संघ संस्थाले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझानउे कार्यक्रम छ ।
५ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने युरेनियमसहित ४ जना पक्राउ
काठमाडौं । ५ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने युरेनियमसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामा र सोही ठाउँकै ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् । उनीहरुको साथबाट साढे दुई किलोग्राम युरोनियम बरामद गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आइजी हरिबहादुर पालले बरामद भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउने बताए । पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको प्रहरी समक्ष बयान दिएका छन् । उनीहरुसँग भेटिएको युरेनियम राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा सक्कली पुष्टि भएको हो । उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ । नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।
भारतमा कोठी सञ्चालन गर्ने नुवाकोटकी चमेली पक्राउ
काठमाडौं । नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ । उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको पत्ता लागेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनका विषयमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरी अनुसन्धान जारी छ । पीडित महिलालाई उनका सहयोगीले चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्ने बहानामा काठमाडौंबाट लगेको अनुसन्धानबाट देखिएको छ । त्यसपछि गिरोहले बीच बाटोमा पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्लीस्थित तामाङको कोठीमा पुर्याएर बिक्री गरेको खुलेको नेउपानेले बताए । त्यसपछि तामाङले पीडितलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाएकी थिइन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनका सहयोगी अन्यको खोजी जारी रहेको ब्युरोले जनाएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा चुँडाल र सुवेदी सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए । यसपटक दुवै न्यायाधीश न्याय सेवाबाटै आएका छन् ।
जसपा संसदीय दलको बैठक शुरू
काठमाडौं । जसपा संसदीय दलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यलयमा जारी उक्त बैठकमा संसदीय दलको नेता चयन गर्नुका साथै सांसद रेशम चौधरीको रिहाइका साथै सरकारमा जानेलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयन गर्ने संम्भावना रहेको बताइएको छ । साथै बैठकले विधान पनि पारित गर्ने सम्भावना पनि रहेको छ । यसअघिको बैठकमा विधान अध्ययनका लागि बाँडिएको थियो । दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आए पनि पार्टीका अध्यक्ष महन्त ठाकुरलाई दलको नेता चयन गर्ने गरी तयारी अगाडि बढेको स्रोतले जनाएको छ । सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाले आज नेकपा एमाले र कांग्रेससँग सत्ता समीकरणका लागि निर्णायक वार्ता गर्दैछ । तानातानमा जसपाः आजै एमाले र कांग्रेससँग सत्ता समिकरणबारे छलफल गर्दै
बाघको आक्रमणबाट बर्दियामा ८ को मृत्यु
बाँके । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । घटना बुधबार दिउँसो १ः५० बजे भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले उनको शव दुवै सामुदायिक बनको सिमानामा फेला पारेको उनले बताए । पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आतङ्क बढ्दै गएको छ । अघिल्लो साता मात्र राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो । कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा उनको शव सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी गत पुस १७ मा चिसापानी सडकखण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो । ‘उनीहरुलाई आक्रमण गर्ने बाघलाई हामी नियन्त्रणमा लिने प्रयासमा छौं’, प्रहरी नायब उपरीक्षक शाहीले भने । त्यसैगरी गेरुवा गाउँपालिका–४ गिडरपुरमा दर्जनौं खसीबाख्रा बाघले आक्रमण गरेर मारेका छन् ।

