दातृ संस्थाद्धारा सिलिचोङ याफूवासीलाई ६३ खानेपानी धारा हस्तान्तरण

किमाथाङ्काः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-५ याफूवासीलाई खानेपानीका धारा हस्तान्तरण गरिएको छ । दातृ संस्थाको सहयोगमा ६३ खानेपानी धारा हस्तान्तरण गरिएको हो ।

घरघरमै खानेपानीको धारा आएपछि घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासी खुसी भएका छन् । सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिले निर्माण गरेको खानेपानी स्थानीयवासीलाई गत शनिबार हस्तान्तरण गरिएको हो ।

कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन ब्रिटिस गोखार्ज पोखरा र स्थानीय उपभोक्ताको ६० लाख ९३ हजार २२२ रुपियाँ ८७ पैसाको कूल लागतमा खानेपानी निर्माण भएको हो । सिलिचोङ गाउँपालिका-५ मा रहेको सिम्ले, पिसुवा, बडाहारे र खाम्खु टोलका ६३ घरमा खानेपानी धारा पुगेको छ ।

कादुरीले ४९ लाख ६८ हजार ७२२ रुपैयाँ ८७ पैसा र उपभोक्ताको ११ लाख २४ हजार ५०० बराबरको श्रमदानबाट यो आयोजना सम्पन्न भएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसिएशन ब्रिटिस गोर्खाज पोखरा खानेपानी आयोजना २०७६ मङ्सिर ११ गतेबाट काम सुरु गरेको थियो । घरघरमै खानेपानीको धारा आएपछि घण्टौँ लगाएर पानी बोक्न जानुपर्ने बाध्यता हटेको याफुका स्थानीयवासी खेगेन्द्र राईले जानकारी दिए ।

सिम्लेमा आयोजित हस्तान्तरण कार्यक्रममा सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङ र वडाध्यक्ष ईश्वर कुलुङलाई परियोजना प्रबन्धक देवान राईले सिम्ले पिसुवा खानेपानी आयोजना हस्तान्तरण गरेका थिए ।

खानेपानी योजनामा २ वटा इन्टेक, कलेक्सन च्याम्बर २ वटा, रिजर्भ ट्याङ्की ४ वटा, डिष्ट्रियुसन च्याम्बर १ मिटर जडित धारा ५९ वटा र ४ हजार ८८२ मिटर लम्बाइमा पाइप लाइन रहेको छ ।

उनन्साठी घर उपभोक्ता धारा, बरुण माविमा २ धारा, कृषि सहकारीमा १ धारा र सामुदायिक वनको भवनमा १ धारा गरी जम्मा ६३ धारा निर्माण गरी हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङले जानकारी दिए ।

सत्ता सहकार्यका लागि एमाले–जसपाद्धारा संयुक्त कार्यदल गठन

काठमाडौं । सत्ता सहकार्यका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त कार्यदल गठन गरेका छन् । कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको स्रोतले जनाएको छ । ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले असहमति जनाएका छन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल छ । तर, बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ । संसदमा जसपाका ३२ सिट (दुई निलम्बितबाहेक) रहेका छन् । सरकारमा सहभागिताका लागि जसपाले निलम्बित सांसद रेशम चौधरीको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा खारेजी र संविधान संशोधन गर्ने लिखित सहमति गर्नुपर्ने सर्त अघि सारेको छ। सरकारमा सहभागिता निश्चित भए रेशम चौधरीको रिहाई फास्ट ट्रयाकमा गर्ने प्रधानमन्त्री केपी ओलीले प्रतिबद्धता नै जनाएका छन् । टीकापुर घटनामा संलग्न रहेको भन्दै चौधरीलाई अदालतले जन्मकैद सुनाएको छ। २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। पुर्पक्षका लागि जेलमै रहँदा उनले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेसमार्फत उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा उनले कैलाली १ बाट भारी मत ल्याएर सांसदमा निर्वाचित भएका थिए ।  

एमाले नेता पन्तविरुद्ध एमाले सांसद वलीद्धारा गाली बेइज्जती मुद्दा दर्ता

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पुर्याएको जनाउँदै गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् । मंगलबार अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिएकी हुन् । वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा भनिएको छ, ‘मेरो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या भएको छ ।’ मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०५ (१), (२) कसूरबमोजिमको सजायँका साथै विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र रु दश हजार जरिवानासमेत गरी हदैसम्मको सजायको माग नेकपा (एमाले)का नेता पन्तविरुद्ध गरिएको छ । कसूरको गम्भीरता र प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चारमाध्यमबाट भएको बेइज्जती आदि विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट भराई पाऊँ भन्ने मागसमेत फिरादपत्रमा गरिएको छ । पूर्वमन्त्री पन्तले यही फागुन १५ गते राजनीतिक दलको कार्यक्रममा वलीप्रति लक्ष्य गर्दै उनले कसरी सांसद पद पाएको भन्ने अभिव्यक्ति दिएका थिए । तर, आलोचनापछि पन्तले माफी मागिसकेका थिए ।

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक, चैत्र १ गते कार्यकर्ता भेला

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठक फाुगन २९ गतेका लागि बोलाइएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै, चैत्र १ गते कार्यकर्ता भेला गरिने उनले बताए । बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने निर्णय गरेको छ । सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी केन्द्रको निर्णय

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सेहरी क्षेत्रमा दुई गैँडा जुधेर घाइते हुँदा एउटा गैँडा मरेको जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन २४ गते उक्त गैँडा मृत फेला परेको थियो । गैँडाको खाग र खुर सुरक्षित रहेको सहायक संरक्षण अधिकृत अधिकारीले बताए । चालू आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा २२ प्राकृतिक र चार चोरीशिकारले गैँडा मरेका थिए । हरेक पाँच वर्षमा हुँदै आएको राष्ट्रिय गैँडा गणना यस वर्ष आगामी चैत ९ गतेदेखि हुने जनाइएको छ । गैँडा गणनाको तयारी शुरु भइसकेको छ । निकुञ्जमा पाटे बाघसमेत मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारीका अनुसार यही फागुन २३ गते सौराहा क्षेत्रमा पर्ने निकुञ्जको मुख्य क्षेत्र चपरचुली खहरे खोलामा करीब चार वर्षीय बाघ मृतावस्थामा भेटिएको हो । प्राकृतिक कारणबाट मरेको सो बाघको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जले जनाएको छ । चालू आव २०७७÷७८ मा निकुञ्जमा मृत्यु भएको यो पहिलो बाघ हो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको हो । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता वा नलिनेबारे निर्णय गर्न सक्ने बताइएको छ । त्यस्तै, बैठकमा सत्ता समिकरण र पार्टी संरचनाका लागी कार्यक्रमहरु तय गर्ने बताइएको छ । माओवादीको केन्द्रको युवा संगठन वाइसिएल नेपालले पनि फागुन २९ गतेका लागि पदाधिकारी बैठक बोलाएको छ ।

विप्लव सार्वजनिक हुने, प्रधानमन्त्रीको उपस्थितिमा भोली विशेष समारोह आयाेजना

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लव सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमति अनुसार, भोली एक समारोहबीच विप्लव सार्वजनिक हुने भएका हुन । दुबै पक्षबीच तीन बुँदे सहमति भएको वक्तव्यमा उल्लेख छ । वार्ता टोलीहरुका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र खडक बहादुर विश्वकर्माले एक संयुक्त वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन । बुधबार र बिहिबार विप्लव र सरकारका वार्ता टोलीबीच छलफल भएको थियो । भोली नै दुबै पक्षबीच भएको सहमति सार्वजनिक गरिनेछ । विप्लव समूहले वार्ताको वातावरण बनाउन आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग राखेको थियो ।

आज देशभरिका अदालत बन्द, नेकपाको नाम–विवादको फैसला पनि सर्‍यो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो । आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ । पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा वि सं. १९८८ साल फागुन ३ गते जन्मनुभएका सिंह २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो । यसैबीच सर्वोच्च अदालतले नेकपाको नामको विवादमा निर्णय सुनाउने मिति फेरि सरको छ । सर्वोच्चले गत विहिबार सो विवादबारेका फैसला सुनाउन आजको मिति तय गरेको थियो । तर आज शोक बिदा परेकाले नाको विवादबारे फैसला गर्ने मिति पछि धकेलिएको हो । तत्कालीने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको थियो । कट्टेललले आफ्नो पार्टीको नामसँग मिल्नेन नाम राखेको भन्दै निर्वाचन आयोगविरुद्ध २०७५ मंसिर ५ गर्ते सर्वोच्चमा रिट निवेदनदर्ता गराउनुभएको थियो ।

नेकपाद्वारा आज १२ बजे पेरिसडाँडामा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसदहरुलाई बैठकमा उपस्थित हुन निर्देशन गरेको छ । संसद बैठक आव्हान भएकोले आवश्यक छलफल गर्न आज अपरान्ह १२ बजे सबै सांसदहरुलाई पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो । पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ले क्रम बढेको अवस्थामा सो समूह पक्षले सांसदहरुलाई आज मध्यान्ह १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो । हिजोको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन सांसदहरुलाई पार्टी कार्यालय बोलाइएको नेताहरुले बताएका छन् । यसैबीच, ओली समूहतर्फ गएको भनेर प्रचार गरिएका सांसद गंगा चौधरी र गोपाल वमले आफू नेकपाको दाहाल–नेपाल समूहमै रहेको बताएका छन् । हिजो एक विज्ञप्ति जारी आफू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै रहेको उनीहरुले बताएका हुन । आजको बैठकमा संसदमा खेल्नुपर्ने भूमिका, केन्द्रीय समिति र स्थायी समितिमा भए गरेका छलफल, निर्वाचन आयोगमा थाती रहेको औपचारिकताको विषय लगायतमा छलफल हुनेछ ।  

सरकार र विप्लव समूहबीच आज चौथो चरणको वार्ता हुँदै, राष्ट्रिय सरकार गठन गर्न विप्लवको माग

काठमाडौं । विप्लव समूह र सरकारका तर्फबाट औपचारिकरुपमा अघि सारिएका प्रस्तावमाथि थप छलफलका लागि आज समेत वार्ता हुने भएको छ । मंगलबार काठमाडौं आएका विप्लवको वार्ता टोली र सरकारको टोलीबीच बुधबार तीन चरणमा वार्ता भएको थियो । हिजो दुईवटा बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र अन्तिम वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको थियो । सरकारी पक्षले वार्तामा समान धारणा विकास भएको दावी गरेको छ । विप्लव समूहले भने संयुक्त सरकार, शासकीय प्रणालीका बारेमा जनमत संग्रह र नेता, कार्यकर्ताको रिहाईलाई आधारभूत शर्तका रुपमा लिएको छ । सरकारले विप्लवका कार्यकर्ता रिहाई गर्न भने सकारात्मक भूमिका निर्वाह गरेको र आगामी चुनावलाई जनमत संग्रहको रुपमा उपयोग गर्न सकिने धारणा राखेको श्रोतले बतायो । विप्लव समूहले अघि सारेका समिक्षा सभा, संयुक्त सरकार र वैज्ञानिक समाजवादका बारेमा जनमत संग्रहका मागहरुका बारेमा ठोस निष्कर्शमा पुगिएको छैन । पछिल्लो समयमा मोहन वैद्य, आहुती र ऋषि कट्टेल नेतृत्वका पार्टीहरुसँग रणनीतिक संयुक्त मोर्चा बनाएको विप्लवले अहिलेको वार्तालाई रणनीतिक लक्ष्यप्राप्तीका लागि उपयोग गरेको देखिन्छ । वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समुहको तर्फबाट खड्गबहादुर विश्वकर्माले नेतृत्व गरिरहनुभएको छ । वार्तामा सरकारी टोलीले विप्लव समुहलाई सम्पूर्ण रुपले हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै आफुसँग भएको हतियार बुझाउन आग्रह गरेको छ । विप्लव समुहले भने आफुसँग कुनै प्रकारको हतियार नभएको दावी गरेको छ । सकेसम्म वार्तालाई आजै निष्कर्षमा पु¥याउने तयारी दुबै पक्षले गरेका छन् ।

हतियार फिर्ता गरेमात्रै प्रतिबन्ध फुकुवा गर्ने सरकारकाे प्रस्ताव

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता खोजेको छ । बालुवाटारमा बुधबार दुई पटक भएको वार्तामा सरकारी टोलीले चन्द समूहसँग हिंसात्मक गतिविधि त्याग्ने र हातहतियार फिर्ता गर्ने प्रतिबद्धता जनाए प्रतिबन्ध फुकुवा, मुद्दा फिर्ता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइको प्रक्रिया अघि बढाइने औपचारिक प्रस्ताव राखेको हो ।   चन्द समूहले मूल रूपमा तीन एजेन्डा राखेको छ । संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह, संयुक्त राष्ट्रिय सरकार गठन र त्यसका लागि सर्वपक्षीय भेलाको प्रस्ताव उसले अघि सारेको छ । आधारभूत सर्तका रूपमा प्रतिबन्ध फुकुवा, हिरासत र कारागारमा रहेका नेता/कार्यकर्ताको निःसर्त रिहाइ र मुद्दा फिर्ता हुनुपर्ने माग चन्द समूहको छ । त्यसको जवाफमा सरकारले प्रतिबन्ध फुकुवा, मुद्दा फिर्ता, थुनामा रहेका नेता–कार्यकर्ता रिहा गर्न सकिने संकेत गर्दै पूर्वसर्तका रूपमा हिंसा त्यागेको लिखित प्रतिबद्धता मागेको स्रोतले बतायो । कान्तिपुरबाट

पृतनापति समन्वयात्मक बैठक सुरू

काठमाडौंः जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक-२०७७’ सुरु भएको छ। तीन दिने सो बैठक अन्तर्गत आज प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा शुरू भएको हो । शुभारम्भ मन्तब्यको क्रममा ओलीले नेपाली सेनाको व्यवसायिकता, लगनशिलता र कर्तव्यबोधको भावनाको उच्च प्रशंसा गर्दै ६-६ महिनामा आयोजना हुने रणनीतिक तहको यस बैठकले विगतको गहन समीक्षा सहित नेपाली सेनाको भावि कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास व्यक्त गरे । सम्बोधनकै क्रममा उनले यस प्रकारको बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषत नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरुका लागि मार्गदर्शन हुने कुरामा आफू पूर्ण रुपले विश्‍वस्त रहेको समेत बताए । यसैगरी प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रुपमा विकास गर्ने लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थीकरण गर्दै कार्यसंस्कृतिका रुपमा स्थापित गर्दै लानु पर्ने आवश्यकता रहेको र यो समन्वयात्मक वैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भईरहेका कार्यहरुको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरे। कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, ब्यवसायीक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे । समन्वयात्मक बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । बैठक फागुन २१ गतेसम्म चल्नेछ।

अर्थ मन्त्रालयद्धारा स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड निकासा

काठमाडौंः अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएका हुन् । स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार २ हजार ६ सय २६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताका आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिन्छ । अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड २८ लाख ५८ हजार निकासा भइसकेको जानकारी दिए । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत रु ५७ अर्ब ९७ करोड बराबरको स्रोत सुनिश्चित गरेको थियो । सोहीअनुसार गत मङ्सिर १५ गते ३०८ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

दाङमा १३ वर्षीय बालकद्वारा ११ वर्षीया बालिका बलात्कृत

दाङः दाङमा ११ वर्षकी बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिकामा पर्ने ट्वाङखोलाको जङ्गल हुँदै नजिकैको गाउँमा जाँदै गर्दा बेलुकी ६ बजेतिर बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ । प्रहरीले बलात्कारको आरोपमा १२ र १३ वर्षका किशोरलाई पक्राउ गरेको छ । माछा मारेर फर्कदै गरेका किशोरहरुले बालिकालाई जङ्गलको बाटोमा एक्लै भेटेपछि १३ वर्षको किशोरले बलात्कार गरेको र १२ वर्षको किशोरले बालिकालाई समातेको प्रहरीको भनाइ छ । बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

दोस्रो चरणको कोरोना खोप २० दिन चल्ने

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड-१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए । उनले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गरे । यसैगरी आजै सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलगायतले पनि कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो । सो अवसरमा खोप नेपालको कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सोमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत ४ लाख २९ हजार ७०५ जनालाई खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि कोभिशिल्ड’ नै प्रदान गरिने छ ।

भारतमा एक करोड ११ लाखभन्दा बढी कोरोना सङ्क्रमित

एजेन्सी: भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ११ लाख ३९ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९८ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५७ हजार ३४६ जना पुगेको छ । हाल भारतमा एक लाख ७० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने १ करोड ८ लाख १२ हजारभन्दा बढी कोराना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म १ करोड ५६ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी र प्रत्यक्ष रुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्गलबारसम्म देशभर २१ करोड ८४ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । मङ्गलबार एकै दिनमा मात्र सात लाख ८५ हजार २२० जना व्यक्तिको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ । भारतमा गत सोमबारबाट ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भएको छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु गरिएको अधिकारीको भनाइ छ ।