जखेरा तालमा अत्याधुनिक डुङ्गा संचालन

दाङ । महाशिवरात्री पर्वको अवसर पारी देउखुरीको जखेरातालमा अत्याधुनिकी डुङ्गा संचालनमा आएको छ । केही समय अघि जखेरा ताल भित्र्याइएको ५ लाख २७ हजारको फाइवर डुङ्गामा बुधबार करिव ३ लाख बराबरको मोटर जडान गरिएको जखेरा शिवालय धार्मिक संरक्षण विकास प्रतीष्ठानका महासचिव लोकमणी बन्जाडेले जानकारी दिए ।

शिवरात्री पर्वको अवसरमा डुङ्गा सयर गरि मन्दिरसम्म पुग्ने दर्शनार्थीहरुलाई समस्या नपरोस भनी मोटर जडान गरि डुङ्गा संचालनमा ल्याइएको ताल संरक्षण समितिको भनाइ छ ।

जखेरा शिवालय धार्मिक संरक्षण विकास प्रतीष्ठानका पदाधिकारी सम्मिलित एक समारोहका बिच नेपालको राष्ट्रिय झण्डा फहराएर मोटर जडित अत्याधुनिक डुङ्गाको सुरुवात गरिएको हो ।

विस्तारितरुपमा आफ्नो रुप परिवर्तन गरिरहेको जखेरा ताल लुम्बिनी प्रदेशको केन्द्रविन्दुका रुपमा परिचित छ । साथै आउँदो बिहिवारका दिन जखेरा तालमा शिवरात्री विशेष साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ ।

ओलीले ठग्नेबाहेक केही गरेनन्, अब सित्तैमा समर्थन हुँदैनः राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई सित्तैमा समर्थन नगर्ने स्पष्ट पारेका छन् । बुधबार संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले अहिलेसम्म ठग्नेबाहेक केही नगरेको र अब सित्तैमा समर्थन नगर्ने बताए । उनले सरकार बनाउने भन्दा पनि माग पूरा गराउने आफूहरूको योजना रहेको सुनाए । उनले संविधान संशोधन, रेशम चौधरीको रिहाइलगायतका माग पूरा हुनुपर्ने बताए ।

प्रतिनिधि सभाको बैठक चैत्र ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । बुधबार बसेको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गरिएको छ । त्यसपछि प्रतिनिधि सभाको बैठक चैत्र ३ गते मंगलबारसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी गराए ।

प्रतिनिधि सभाको बैठक शुरू (भिडियो)

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरू भएको छ । आज बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नेछन् । त्यस्तै, बैठकमा सरकारले बिभिन्न अध्यादेशहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संवैधानक आयोगसम्बन्धी अध्यादेशविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले बिरोध बिरोध प्रस्ताव दर्ता गरिसकेका छन् । यसअघि आइतबार सरकारले पेश गरेका अध्यादेशविरुद्ध नाराबाजी भएपछि आजका लागि बैठक आव्हान गरिएको थियो । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु अब भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रुपमा सदनमा देखिएका छन् ।

माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । बुधबार पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस र जसपासँग सरकार गठनबारे हिजो भएको छलफलबारे जानकारी गराए । साथै आज पनि अन्य दलका नेतासँग वार्ता गर्ने जानकारी दिएका थिए । बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिन गिरीराजमणी पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले केही दिनमै प्रतिवेदन पेश गर्नेछ । पेरिसडाँडामा राखियो माओवादी केन्द्रको बोर्ड

तत्कालीन ओली समूहका केन्द्रीय सदस्य हत्या आरोपमा पक्राउ

विराटनगर । नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए । त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी परेपछि अनुसन्धानको लागि बाँस्कोटा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । संसद् विघटनपछि तत्कालीन नेकपाकाे ओली समूहले बाँस्कोटालाई केन्द्रीय सदस्य बनाएको थियो ।

राष्ट्रपतिद्वारा महाशिवरात्रिको सङ्कल्प, पशुपतिनाथमा साधुसन्तको चहलपहल

काठमाडौं । फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प गरेकी छन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले सङ्कल्प गर्ने प्राचीनकालदेखिको विधि छ । सङ्कल्पपछि नै देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल शुरु हुन्छ । राष्ट्रपतिले महाशिवरात्रिको सङ्कल्प गर्नुभएसँगै मङ्गलबार बेलुकीदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने आज बिहानदेखि भोजन र आज बेलुकीदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिए । थापाथली क्षेत्रका बैरागी, सन्न्यासी, उदासी र नाथ सम्प्रदायका अखडामा पनि आज बिहानदेखि नै साधुसन्तलाई भोजनसहित बस्ने एवं बेलुकी धुनी जगाउने व्यवस्था गरिने छ । मङ्गलबार राष्ट्रपति भण्डारीले गुठी गोश्वारा कार्यालयबाट खर्पनमा लगिएको नरिवलको जटा, पीताम्बर, फूल, प्रसाद, अक्षता, धूपदीप, कपूरलगायत सामग्रीको सङ्कल्प गरेकी थिइन् । यसैगरी साधुसन्तलाई संस्थानका तर्फबाट प्रदान गरिने शङ्ख, घण्ट, चमर, राडपाखी, त्रिशूल, कमण्डलु र पहेँलो वस्त्रसमेत सङ्कल्प गरेको कार्यालय प्रमुख आचार्यले बताए । सङ्कल्पपछि गुठी गोश्वारा कार्यालय र पशुपतिनाथ अमालकोट कचहरीका कर्मचारीलाई राष्ट्रपति भण्डारीले टीका एवं प्रसाद लगाइदिएकी थिइन् । कोरोना महामारीको जोखिम कायमै भए पनि पशुपति क्षेत्र र थापाथलीमा विगत वर्षमा जत्तिकै साधुसन्त महाशिवरात्रि मनाउन आएको कार्यालयले जनाएको छ । विशिष्ट साधुसन्त भने कम देखिएको जनाइएको छ । मूल मन्दिर क्षेत्र सफाइ महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी आशा पाण्डेले जानकारी दिए ।

भोली शिवरात्री, काठमाडौंका यी स्थानमा सवारी चलाउन नपाइने

काठमाडौं । महाशिवरात्रिका ट्राफिक जाम व्यवस्थापन गर्न केही स्थानमा सवारी साधन चलाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको हो। महाशाखाले शिवरात्रिका दिन भक्तजनहरुको चाप अत्यधिक बढ्ने भएकाले उक्त क्षेत्र वरपर सवारी आवागमन निषेध गरिएको जनाएको छ। महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सूचनामा उल्‍लेख गरेको छ।

नेकपापछि अब जसपा विभाजनको षडयन्त्र, के भन्छन् त राजेन्द्र महतो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विभाजन गराउन सफल शक्तिकेन्द्रले अब जसपालाई विभाजन गराउन खोजेको चर्चा चलेको छ । तत्कालिन समाजवादी दललाई विभाजन गर्न अध्यादेश ल्याएपछि दुई दलबीच आकस्मिक एकीकरण भएर जसपा बनेको थियो । त्यतिखेर मधेसकेन्द्रीत दुबै दलहरुले सांसद अपहरण गरेको आरोप प्रधानमन्त्री ओलीमाथि लगाएका थिए । दल विभाजन गर्न षडयन्त्र गर्दै अध्यादेश र सांसद अपहरण गरेको भन्दै प्रधानमन्त्री ओलीसँग निकै रुष्ट दलहरुले जसपा निर्माण गरेपनि अहिले भने त्यही दलका वरिष्ठ नेता महन्थ ठाकुरले गोप्यरुपमा प्रधानमन्त्रीसँग सहमति गरेका छन् । उनीहरुले रेशम चौधरीको रिहाइका लागि मात्रै वार्ता भनेपनि यसको अन्तर्यमा सत्ता समीकरण नै रहेको भन्दै आलोचना भइरहेको छ । कतिपयले भने केही सांसदहरुको मन्त्री बन्ने अभिलाषाका कारण पार्टी विभाजन नै गरेर भएपनि ओलीलाई समर्थन गर्ने मत जसपाभित्र देखिएको हो । त्यसो भए के अब नेकपापछि जसपा विभाजन हुन्छ त ? जसपा नेताहरु भने यसलाई अस्वीकार गर्छन् । कान्तिपुर दैनिकमा अन्तर्वार्ता दिँदै नेता राजेन्द्र महतो भने सबै दलहरुलाई परीक्षण गरिसकेकोले अब एजेण्डा मिल्नेसँग मात्रै वार्ता हुने बताउँछन् । इतिहास हेर्ने हो भने मधेसवादी दलका एजेण्डा सम्बोधन गर्न माओवादी केन्द्रले नै बारम्बार पहल गर्दै आएको छ । यसअघि पनि गतकालमा संविधान संशोधन गर्न तत्कालिन एमाले सरकार नमानेपछि ३ महिना लामो आन्दोलन नै चलेको थियो । के भनेका छन् त महतोले अन्तर्वार्तामा ? प्रधानमन्त्री केपी शर्मा ओलीकै गठबन्धनमा जसपा जान लागेको हो ? सहकार्यको कुरा भएको छैन । ओलीलाई राम्रोसँग चिनेका छौं । एकपटक समर्थन गर्‍यौं, पछि फिर्ता लियौं । ओलीमाथि विश्वास छैन । कांग्रेस र माओवादी केन्द्रमाथि पनि विश्वास छैन । हाम्रा मागप्रति विगतमा कोही सकारात्मक देखिएनन् । तपाईंहरू कस्तो गठबन्धनको पक्षमा हुनुहुन्छ ? खाली हात, उधारोमा कतै पनि जानेवाला छैनौं । रेशम चौधरीलगायत मधेस विद्रोहका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको सवाल हाम्रा मुख्य माग हुन् । यी सवाललाई केन्द्रमा राखेर अडान लिन्छौं । प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा जान कार्यदल बनेको भनिएको छ नि ? कार्यदलले सबैसँग कुरा गर्ने हो । जसले हाम्रो माग पूरा गर्छ, पूरा गर्ने आधार ल्याउँछ, त्यसलाई सहयोग हुन्छ । अहिलेसम्म कसैसँग विश्वास गर्ने आधार बनेको छैन । ओली, देउवा र प्रचण्डको कुरा हामीले गरेको छैन । विगतमा जस्तो धोकाधडी नहोस् भन्ने हो । तपाईंहरूले सहयोग नगरे त सरकार निर्माण नै नहुने स्थिति देखिन्छ त ? तालाचाबी कांग्रेससँग पनि छ । कांग्रेस र एमाले मिले भने हाम्रो काम छैन । कार्यदल बनाएको विषयले पार्टीमा हंगामा भयो नि ? नेत्रविक्रम चन्द छुटेपछि रेशम चौधरी पनि छुट्नुपर्छ भनेर महन्थजीले अपर्झट सरकारसँग कुरा गर्न भनेर दुई जनालाई पठाउनुभएको रहेछ । पार्टीमा जानकारी नभएपछि अलिअलि विरोध त भइहाल्छ । यसलाई पूर्णता दिन बाँकी छ । वार्ता समितिले सरकारसँग मात्रै होइन, सबै पक्षसँग सबै विषयमा खुला रूपमा छलफल गर्छ । सरकार गठबन्धनको विषयले जसपा फुट्ने त होइन ? यो बकवास कुरा हो । पार्टी कुनै हालतमा पनि फुट्दैन । राम्रो कामका लागि नेताहरूले जानकारी नदिईकन यस्ता काम गर्छन् । पार्टी एकीकरण पनि हामी आठ जना नेता मिलेर गरेको हो । महन्थजीले सरकारसँग छलफल गर्न भनेर दुई जना पठाएकै कारण पार्टी फुट्ने कुरा कहाँ, कसरी आयो ? फलानोसँग मिल्नै हुन्न भन्ने छैन । सबै परीक्षण भइसकेका नेता हुन् । त्यसैले हामीले अनुहार होइन, हाम्रो मुद्दा सम्बोधन गर्न को कसरी आउँछ, हेर्ने हो । गठबन्धनमै नजाने सम्भावना छ कि छैन ? मुद्दा सम्बोधन भएन भने कुनै पनि सरकारलाई सहयोग र समर्थन गर्ने कुरा हुँदैन । हामी आश्वासनको भरमा सरकारमा जाँदैनौं । पुरानो राजपा र समाजवादी पार्टी होइन, पाएपछि दौडिहाल्ने । अब उधारोमा हुँदैन ।

आज प्रतिनिधिसभाको बैठक, के छ कार्यसूचिमा ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । यसअघि सरकारले पेश गरेका अध्यादेशविरुद्ध नाराबाजी भएपछि आजका लागि बैठक आव्हान गरिएको थियो । आज दिउँसो १ बजे बस्ने बैठकको परिदृश्य भने फरक देखिने भएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु अब भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रुपमा सदनमा देखिनेछन् । आजको बैठकमा सरकारले बिभिन्न अध्यादेशहरु प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । संवैधानक आयोगसम्बन्धी अध्यादेशविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले बिरोध बिरोध प्रस्ताव दर्ता गरिसकेका छन् । आजको बैठकमा पनि गत आइतवारका लागि तय गरिएको कार्यसूचीले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

मोरङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

विराटनगरः श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट एक व्यक्ति पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-५ की सावित्री दाहालको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ४४ वर्षीय विष्णु ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । गत आइतबार घरमै सावित्रीको शव भेटिएको थियो । शरीरमा निलडाम देखिएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पक्राउ परेका ऋषिदेवमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

अनलाइन नविकरणकाे म्याद जेठ मसान्तसम्म थप

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन नविकरणको म्याद २०७८ चैत मसान्तसम्मका लागि थप गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, पुस मसान्तमा नवीकरण म्याद समाप्त भएको भए पनि २०७८ जेठ मसान्तसम्मका लागि समय थप गरिएको हो । मन्त्रालयले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ५ बमोजिम दर्ता भएका अनलाइन सञ्चार माध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिना अर्थात् पुस महिनाभित्र नविकरण गर्नुपर्ने व्यवस्था छ । सोही निर्देशिकाको दफा ६ को उपदफा ९१० बमोजिम खण्ड ६७, सङ्ख्या ६१ मिति २०७४ चैत १४ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सो सूचनाको खण्ड (ख) बमोजिम २०७७ पुस मसान्तसम्म नविकरण नभएका अनलाइन सञ्चार माध्यमलाई २०७८ जेठ मसान्तसम्म नविकरणको म्याद थप गरिएको हो । अनलाइन नविकरणको म्याद थपलगायत विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसंग नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले माग राखेको थियो । मन्त्रालयको सो निर्णयबाट देशैभरीका अनलाइन सञ्चालक तथा पत्रकारलाई राहत पुगेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभापति शन्तराम विडारीले बताए ।

जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पुनः भेन्टिलेटरमा राखियाे

काठमाडौंः मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था पुनः जटिल बन्दै गएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । गत १४ फागुनमा नर्भिक अस्पताल भर्ना हुनुभएका नेता जोशीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा सम्लग्न डा. राजिव झाले जोशीको श्वासप्रश्वासमा र मुटुमा स्वासप्रश्वासको समस्या भएपछि भेन्टिलेटरमा सारिएको बताए । डा. झाले दिउँसोदेखि नेता जोशीको स्वास्थ्य स्थिर तर जोखिमपूर्ण रहेको जानकारी दिए।

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका नेता डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रचण्ड र बाबुरामबचि भेटवार्ता भएको हो । माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरूबीच भेटघाट तीव्र बनेको हो ।

शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बग्ने

काठमाडौंः मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ । सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै वाग्मतीमा पानीको बहाब बढिरहेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए । गत १० गतेबाट सुरुङमा पानी पठाउन थालिएकामा अहिले सुरुङ पूरै पार गरेर गत शनिबारबाट सुन्दरीजलमा आउन थालेको हो । सुरुङमा जम्मा भएको पानी खसाल्न थालिएको उनले बताए । उनले भने, ‘पानी व्यवस्थापन गरेर खसाल्ने योजना छ ।’ पानी आएको केही समयसम्म सुरुङ सफा गर्ने योजना बनाइएको छ । अझै एक डेढ महिनासम्म सुरुङ सफा गर्न र सुरुङको परीक्षण गर्न लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ परीक्षणका क्रममा कुनै समस्या पाइएमा त्यसको समाधान गरेर उपत्यकामा नियमित रुपमा पानी वितरण हुनेछ । तीन खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार सुरुको खण्ड अम्बा थानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ । करीब ५ किमी लम्बाइको उक्त खण्ड उकालो रहेको छ । सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उनले जानकारी दिए । सो खण्डको लम्बाई ८ दशमलव २ किमी छ । तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ । झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो । एकै पटक नभरिए पनि एउटा तहसम्म पुगेपछि अर्को खण्डमा पानी पुग्ने उनको भनाइ छ ।

धादिङमा ट्रक दुर्घटना हँदा दुई जनाको मृत्यु

धादिङः बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज २ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ । दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।