कोलकाताविरुद्ध दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध दिल्ली क्यापिटल्स ७ विकेटले विजयी भएको छ ।

केकेआरले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

उसका लागि पृथ्वी शाले शानदार पारी खेले । उनले ४१ बलमा ११ चौका र तीन छक्कासहित ८२ रन बनाए ।

त्यस्तै, शिखर धवनले ४६, कप्तान ऋषभ पन्तले १६ र मार्कस स्टोइनिसले अविजित ६ रनको योगदान दिए ।
बलिङमा प्याट कमिन्सले तीन विकेट लिए ।

त्यसअघि, अहमदबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

उसका लागि छैटौँ नम्बरमा ब्याटिङका आएका अलराउन्डर आन्द्रे रसेलले आक्रामक पारी खेले । उनले २७ बलमा दुई चौका र चार छक्कासहित नटआउट ४५ रन बनाए ।

रसेलको आज जन्मदिन पनि हो ।

शुभमन गिलले ४१, राहुल त्रिपाठीले १९, नीतिश राणाले १५, दिनेश कार्तिकले १४, प्याट कमिन्सले अविजित ११ रनको योगदान दिए ।

बलिङमा ललित यादव, अक्षर पटेलले दुई/दुई, आवेश खान र मार्कस स्टोइनिसले एक/एक विकेट लिए ।

आजको जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ७ म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

केकेआरले भने सात म्याच खेल्दा दुई म्याचमा मात्र जित हासिल गरेको छ ।

सेनाको गस्तीः हतियार र जडिबुटी बरामद

काठमाडौैं : नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको गस्तीले मुगुको सोरु गाँउपालिका रारा राष्ट्रिय निकुञ्जको सानो बजार इलाकाबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका स्थानीय प्रेमबहादुर शाहीलाई निकुञ्ज कर्मचारीको रोहवरमा मुचुल्का तयार गरी हतियारसहित आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालय, हुटुलाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्जको मकालु गाँउपालिका-३ स्थित नयांँ रणभीम गुल्मको गस्ती टोलीले लुकाइछुपाई ल्याएको जडिबुटीसहित एक जनालाई पक्राउ गरेको छ । गोला बसपार्कबाट खाँदबारीतर्फ जाँदै गरेको को१ज २३२१ नं. को बोलेरो जिप चेक जाँच गर्ने क्रममा त्यसमा सवार ५३ डिन्मा फिन्जो भोटेको साथबाट पाखनबेद, ठूलो ओखती ८० किलो, टिमुर ११ किलो, रातो गुराँसको फुल एक बोरा, हर्चुरो १५ किलोलगायतका जडिबुटी बरामद भएको जानकारी दिइएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री बनेका लुम्बिनीका ४ सांसद पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । पदमुक्त भएका यादव, पाण्डेय र रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर, पछि मन्त्री बनेका थिए ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनः ५ दलले भाग लिने

काठमाडौं । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि एमालेलाई सूर्य र क्रम १, काँग्रेसलाई रुख र क्रम २, नेकपा (माओवादी केन्द्र) लाई गोलाकार भित्र हँसिया हथौडा चिह्न र क्रम ३, राप्रपालाई हलो चिह्न र क्रम ४ तथा नेमकिपालाई मादल चिह्न र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने भएको छ । आगामी जेठ ६ गते बिहीबार हुने प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ । उपनिर्वाचनका लागि ३४८ मतदाता कायम उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कामय भएको छ । आयोगका अनुसार, स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म नाम समावेश हुन छुटेका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ । मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजूरी दिनसकिने छ । उपनिर्वाचनका लागि तयार भएको नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

सरकारी आदेश पूर्ण पालना गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ । गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गरे । कोभिड–१९ सङ्क्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा आजदेखि एक साताका लागि निषेधको आदेश जारी भएको छ । काठमाडौँ उपत्यकामा समेत निषेधाज्ञा जारी भएको छ । मुलुकमा आज झण्डै पाँच हजार नयाँ सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये करीब आधा काठमाडौँ उपत्यकामा देखिन थालेका छन् ।

नवनियुक्त खेलकुदमन्त्री मनाङेले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद विस्तार गरेका छन् । गण्डकी प्रदेशमा हाल रहेका मन्त्रालयलाई छुट्टाएर युवा तथा खेलकुद मन्त्रीमा मनाङबाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे)लाई नियुक्त गरेका हुन् । गत प्रदेशसभाको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा विजयी गुरुङ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेपनि सर्वोच्चको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएपछि स्वतन्त्र हैसितमा रहेका थिए । प्रदेशसभा आफूलाई स्वतन्त्र सदस्यको हैसित दिन माग सहित निवेदन दिनुभएका गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने अनुमान गरिएको थियो । अविश्वासको प्रस्तावमा मतदान हुने दिन प्रदेशसभामा अनुपस्थित गुरुङले मनाङका जनताको आग्रहमा अविश्वासको प्रस्तावको पक्षमा जान नसकिएको बताएका थिए । नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराए । मन्त्रीमा नियुक्तीपछि गुरुङले युवा तथा खेलकुद क्षेत्रमा केही नयाँ काम गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका एक सदस्य सम्पर्कमा नआएपछि प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । छ वटा मन्त्रालय रहेको गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्तिसँगै मन्त्रालयको सङ्ख्या सात पुगेको छ ।

एकैदिन २८ संक्रमितको मृत्यु, सक्रिय संक्रमित १९ हजार नाघे

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ । आज देशभर ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको छ । हाल १९ हजार ३८३ सक्रिय संक्रमित छन् । एकैदिन ३ हजार बढी संक्रमित थपिए, उपत्यकामा मात्रै १४९८

कोरोना पोजिटिभ श्रीमतीका लागि अक्सिजन भएको एम्बुलेन्स नै अपहरण गरेपछि…

नयाँ दिल्ली । कोरोना संक्रमणका कारण अक्सिजनको हाहाकार मच्चिएको बेला एकजना युवकले भने अक्सिजन भएको एम्बुलेन्स नै अपहरण गरेका छन् । गर्भवती श्रीमतीको ज्यान जोगाउन उनले एम्बुलेन्स चालकलाई कब्जामा लिएर अपहरण गरेका हुन । गर्भवती श्रीमतीको अवस्था बिग्रिन थालेपछि ती युवकले एम्बुलेन्स बोलाएका थिए । तर त्यसपछि भने उनले एम्बुलेन्स नै कब्जा गरे । मध्यप्रदेशको विदिशा जिल्लाको पुतली घाट क्षेत्रको मुखर्जी नगरमा ४ दिन अघि एकजना कोरोना पोजिटिभ गर्भवती महिलालाई अक्सिजन आवश्यक परेको थियो । त्यसो त ती युवकले अक्सिजन सिलिण्डरको व्यवस्था गरेका थिए । तर गत राती ११ बजेदेखि भने ती युवकले एम्बुलेन्स भएको खण्डमा अस्पताल लैजाने कुरा गर्न थालेको आजतकले जनाएको छ । यहीबीचमा ती युवकलाई अस्पतालमा नयाँ बिरामी भर्ना नलिने कुरा थाहा पाएपछि राती उनको घरमा एम्बुलेन्स पुगेपछि उनले चालकलाई बन्धक बनाएर गाडी नै कब्जा गरेका थिए । करिब २ घण्टापछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले निकै अनुरोध गरेपछि बल्ल ती युवकले एम्बुलेन्स फिर्ता गरेका थिए । प्रहरीले उनकी श्रीमतीलाई त्यही एम्बुलेन्समा अस्पताल पुर्याएर भर्ना गरेको छ । गर्भवती महिलामा ४ दिन अघि कोरोना देखिएको थियो । उनले शुक्रबार राती ११ बजेदेखि लगातार अस्पतालमा फोन गरेर एम्बुलेन्स पठाउन अनुरोध गरेको थियो । तर एम्बुलेन्स भने अर्को दिन साढे नौ बजेमात्रै उनको घर पुगेको थियो ।

दिल्लीमा हाहाकारः मसानघाटमा ठाउँ नपाएपछि पार्कमै शवको अन्तेष्टि गरिँदै

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणले हाहाकार मच्चाएको छ । मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि दिल्लीका मसानघाटमा शवको अन्तेष्टी गर्न नमिलेपछि पार्कमा नै व्यवस्थापन हुन थालेको छ । आजतकका अनुसार, मसानघाटमा मृतकको शव बोकेर घण्टौ लाइन लाग्नुपर्ने बाध्यता रहेको छ । दिल्लीको सराय काले खाँ क्षेत्रमा मसानघाटमा ठाउँ नपाईपछि दाहसंस्कारका लागि पार्कमा अन्तिम संस्कारको व्यवस्था बनाइएको छ । सराय काले खाँमा शवदाहका लागि २० स्थान तयार गरिँदैछ । शवदाहका लागि दाउराको समेत संकट भएको छ । शुक्रबार र शनिबारका दिन अक्सिजनको कमीका कारण दर्जनौं संक्रमितको मृत्यु भएको थियो । आइतबार पनि मृत्यु दर उच्च रहेको समाचारमा उल्लेख छ । शनिबार मात्रै दिल्लीमा अढाइ सय बढीको मृत्यु भएको थियो भने ३४ हजार भन्दा बढी संक्रमित भएका थिए । भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाख जना संक्रमित भएका छन् । संक्रमणले ठूलो त्रास मच्चाउन थालेपछि दिल्ली सरकारले थप एक साताका लागि लकडाउन थपेको छ ।

एकैदिन ३ हजार बढी संक्रमित थपिए, उपत्यकामा मात्रै १४९८

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिमार्फत ३ हजार ३२ र एन्टीजेन परिक्षणमार्फत ९० गरि ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौं उपत्यकामा मात्रै १ हजार ४९८ संक्रमित थपिएका छन् । भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । आज ४५० जना संक्रमित निको भएका छन् ।  

१० को परीक्षण गर्दा ९ जनामा संक्रमण, अस्पताल बन्द

नेपालगञ्ज । एक जना विशेषज्ञ चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सबै सेवा बन्द गरिएको छ । क्यान्सर अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर राखेर आइतबारदेखि शुक्रबारसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको हो । उनले सो अस्पतालका चिकित्सकसहित १० जनाको कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएकोले अस्पताललाई सिल गरिएको बताए । संक्रमण पुष्टि भएका ९ जना मध्ये एक जना विशेषज्ञ चिकित्सक, ५ जना स्टाफ नर्स, एक जना ल्याब प्राविधिक र दुई जना कर्मचारी रहेको अस्पतालले जनाएको छ । संक्रमित भएका मध्ये ६ जना अस्पतालकै आइसोलेसनमा रहेका छन् भने ३ जना होम आइसोलेसनमा रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैगरि बाँकेको राप्तीसोनारी गाउँपालिकाका १७ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ र गाउँपालिकाको कार्यालयलाई सिल गरिएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई संक्रमण भएपछि अन्यको परीक्षण गर्दा थप १७ जना सबै कर्मचारी संक्रमित भेटिएका थिए । सोहि प्रकारले नेपालगञ्जस्थित जनक शिक्षा सामाग्रीका केही कर्मचारीमा पनि संक्रमण देखिएपछि सो कार्यालय पनि बन्द गरिएको जनाईएको छ ।  

२ अर्ब राजस्व छलेका अभियोगमा १३ फर्मसहित १६ विरुद्ध मुुद्दा

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एशोसिएट्सका सञ्चालक अनिलकुमार गुप्ता तथा अङ्कुश ट्रेड एण्ड सप्लायर्सका व्यवस्थापक प्रवीणकुमार महतो तथा १३ फर्मका सञ्चालकसहित १६ जनाविरुद्ध रु दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ बिगो असुल गरी जरिवाना र कैद सजायको माग गर्दै उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको हो । निकी ट्रेडर्सका भुलावन महरा चमार, एनकेडी ट्रेडर्सका सञ्चालक दीपककुमार कायस्थ, जिएन ट्रेडर्सका वकिल देवान, सुवर्ण ट्रेड लिङ्कका सरोज श्रेष्ठ, सञ्जय इण्टरनेशनल इण्टरप्राइजेजका व्यवस्थापक सञ्जय श्रेष्ठ, अंशु ट्रेड लिङ्कका वाणेश्वर महतो, कोमल ट्रेड लिङ्कका सरोज ढकाल, पिएनआर इण्टरप्राइजेजका सञ्चालक राधेश्यामप्रसाद साह तेली, आयान ट्रेड लिङ्कका रत्नगोपाल श्रेष्ठ, सन्ध्या ट्रेडर्सका अभिमान महतो कोहरी, अङ्कुश ट्रेड एण्ड सप्लायर्सका प्रवीणकुमार, लक्की ट्रेड लिङ्कका सञ्चालक अकली हजरा दुसाध, मुअन ट्रेडिङ कन्सर्नका मुअन महरा र दिव्या इण्टरप्राइजेजका सञ्चालक रामचन्द्र माझीविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता शिवलाल तिवारीले राससलाई जानकारी दिए । अभियुक्तले विभिन्न फर्मका नाममा नक्कली बिक्री बिजक जारी गरी बीजकबमोजिमको रकम भुक्तानी लिएर बीजकमार्फत असूल गरेको भ्याट सरकारी कोषमा दाखिल नगरी भ्याट र आयकरसमेत छलेको विभागको अनुसन्धानबाट पुष्टि भएकाले उक्त रकम असूल गरी जरिवाना र कैदसजायको मागदाबीका साथ मुद्दा दायर गरिएको उनले बता । अघिल्लो साता पनि विभागले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित ॐ सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारी तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेलसहित चार जनाले रु एक करोड छ लाख ७२ हजार ९०९ राजस्व चुहावट गरेका अभियोगमा बिगो जफत एवं असूल गरी जरिवाना र कैद सजाय मागदावीका साथ सोही अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्काल देशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन् । बालुवाटारमा आइतबार बिहान बसेको नेकपा एमालेको बैठकपछि मन्त्री ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताएका हुन् । उनले भने, ‘देशव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ, केही ‘हटस्पट’ मा भने स्थानीय तवरबाटै लकडाउनको निर्णय हुन सक्छ ।’ लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए । ‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो । आफैंमा अन्तिम समाधान होइन,’ मन्त्री ज्ञवालीले भने, ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ । त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।’ बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेको केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक सुरू भएको छ । बैठक आज बिहान १० बजे बोलाइएको भए पनि साढे १२ बजे सुरू भएको हो । आकस्मिक बठकअघि एमालेका शीर्ष नेताले छलफलमा जुटेका थिए । यसअघि वैशाख १० गते बसेको बैठकले स्थायी कमिटिलगायत बिभिन्न कमिटिको जिम्मेवारीको टुंगो लगाएको थियो । केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरिएको थियो । बैठकमा स्पष्टिकरण सोधिएका माधव नेपाल पक्षका ३२ सांसदका बारेमा कुनै निर्णय नभएकोले आजको बैठकले उक्त विषयमा निर्णय गर्न सक्ने सम्भावना रहेको छ । नेकपा एमालेले समानान्तर गतिविधि गरेको भन्दै संघका २७ र प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो । यी मध्ये कतिपयले स्पष्टिकरण बुझाएका छन् । प्राप्त स्पष्टिकरणको अध्ययन गरी आवश्यक निर्णय गर्न स्थायी कमिटिलाई जिम्मेवारी दिइएको थियो । माधव नेपाल पक्षले स्पष्टिकरण विधान विपरित भएको भन्दै शुक्रबार नै सर्वोच्च अदालतमा निवेदन दिएको थियो । अदालतले आजका लागि सुनुवाईको मिति तोकेको छ । माधव नेपाल पक्षले भने पार्टी पुनस्र्थापित भएपछि फागुन २८ गते बोलाईको केन्द्रीय समिति र सो पछिका सम्पूर्ण निर्णय विधानविपरित रहेको बताउँदै आएको छ ।

बाँकेमा १२ घण्टामा ४ सङ्क्रमितको मृत्यु, एकले गरे आत्महत्या

बाँके । बाँकेका दुई अस्पतालमा पछिल्लो १२ घण्टा शनिबार साँझदेखि आइतबार विहानसम्म चारजना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार राती कोहलपुर शिक्षण अस्पतालमा कोहलपुर १० कि ३६ वर्षिया महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा खजुरा ३ कि ४७ वर्षिया महिला र नेपालगन्ज ११ का ६० वर्षिया पुरुषको निधन भएको हो । शनिबार राती नै संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भयो । कोरोना सङ्क्रमण भएपछि उनलाई भेरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बाँकेको कोहलपुरमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । कोहलपुर ९ का ६० वर्षिय पुरुषले शनिबार राती घरमै आत्महत्या गरेको जिल्ला कोभिड १९ सङ्कट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । बैशाख ३ गते पोजिटिभ भए पनि स्वास्थ्य अवस्था सामान्य भएका कारण उनी घरमै आइसोलेसनमा बसेका थिए । चैतयता कोरोना सङ्क्रमण बढेपछि बाँकेको भेरी अस्पताल र शिक्षण अस्पतालमा विरामीको चाप अत्याधिक बढेको छ । नेपालगञ्जमा बैशाख ९ गतेदेखि बन्दाबन्दी घोषणा गरिएको छ । कोहलपुर नगरपालिकाले बन्दाबन्दी घोषणाका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा सिफारिस गरेको कार्यपालिका सदस्य डिलवहादुर परियारले जानकारी दिए ।

ओलीले बोलाएको आकस्मिक बैठक अझै सुरू भएन

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेको केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक अझै सुरू भएको छैन । बैठक आज बिहान १० बजे बोलाइएको भए पनि अहिलेसम्म बैठक सुरू भएको छैन । आकस्मिक बठकअघि एमालेका शीर्ष नेताले छलफलमा जुटेका छन् । यसअघि वैशाख १० गते बसेको बैठकले स्थायी कमिटिलगायत बिभिन्न कमिटिको जिम्मेवारीको टुंगो लगाएको थियो । केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरिएको थियो । बैठकमा स्पष्टिकरण सोधिएका माधव नेपाल पक्षका ३२ सांसदका बारेमा कुनै निर्णय नभएकोले आजको बैठकले उक्त विषयमा निर्णय गर्न सक्ने सम्भावना रहेको छ । नेकपा एमालेले समानान्तर गतिविधि गरेको भन्दै संघका २७ र प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो । यी मध्ये कतिपयले स्पष्टिकरण बुझाएका छन् । प्राप्त स्पष्टिकरणको अध्ययन गरी आवश्यक निर्णय गर्न स्थायी कमिटिलाई जिम्मेवारी दिइएको थियो । माधव नेपाल पक्षले स्पष्टिकरण विधान विपरित भएको भन्दै शुक्रबार नै सर्वोच्च अदालतमा निवेदन दिएको थियो । अदालतले आजका लागि सुनुवाईको मिति तोकेको छ । माधव नेपाल पक्षले भने पार्टी पुनस्र्थापित भएपछि फागुन २८ गते बोलाईको केन्द्रीय समिति र सो पछिका सम्पूर्ण निर्णय विधानविपरित रहेको बताउँदै आएको छ ।